कच्चा तेलको उत्पादन घट्यो, विश्व बजारमा तेलको मूल्यवृद्धि
टोकियो । विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप बृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको हो । जुन महिनामा ब्रेन्ट कच्चा तेलको मूल्यमा शून्य दशमलब ५ प्रतिशत अर्थात ३४ सेन्टले बृद्धि भई प्रति ब्यारेल ६७.९२ अमेरिकी डलर कायम भएको छ । यो मूल्यवृद्धि पहिलो चौमासिकमा २७ प्रतिशत हो । अमेरिकी वेस्ट टेक्सास इन्टरमेडियट (डब्लुटीआई)मा शून्य दशमलब ५ प्रतिशत वृद्धि भई प्रति ब्यारेल ६०.४४ डलर भएको छ । जनवरीदेखि मार्च महिनाको अवधिमा कच्चा तेलको मूल्यमा ३२ प्रतिशत वृद्धि भएको हो । इरान र भेनेजुएलामाथि अमेरिकी प्रतिबन्ध तथा ओपेक र अरु मुख्य तेल उत्पादक राष्ट्रहरुले गरेको आपूर्ति कटौतीले पनि यस वर्ष तेलको मूल्यवृद्धि भएको छ । यी प्रतिबन्ध र आपूर्ति कटौतीले विश्व अर्थतन्त्रको वृद्धि र अमेरिका–चीन व्यापार युद्धजस्ता जल्दाबल्दा विषयलाई समेत ओझेलमा पारेका छन् । अमेरिकी उप अर्थमन्त्री सिगेल माल्डेल्करले सिंगापुरमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै संयुक्तराज्य अमेरिकाले इरानमाथि थप दबाब सिर्जना गर्ने बताए । अमेरिकी अधिकारीहरु मलेसिया, सिंगापुर र अरु मुलुकहरु गैरकानुनी इरानी तेलको कारोबार तथा प्रतिबन्ध छल्न इरानीहरुले अपनाउन सक्ने विधिका बारेमा पूर्ण जानकार रहेका छन्, मन्त्री माल्डेल्करले भने । अमेरिकाले तेलको व्यापार गर्ने कम्पनी र रिफाइनरीहरुलाई भेनेजुएलासँग सम्झौताहरु कम गर्दै लैजान आग्रह गरेको छ । त्यसो नगरिए त्यस्ता व्यापारिक फर्ममाथि अमेरिकाले प्रतिबन्ध लगाउने चेतावनी दिइसकेको छ । ओपेक र यसका गठबन्धन मुलुकहरु जस्तै रुसबीचको सम्झौतामा प्रतिदिन करिब १२ लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने उल्लेख छ । यो सम्झौता गत जनवरी १ बाट कार्यान्वयनमा आएकाले पनि तेलको मूल्यमा क्रमिक रुपमा वृद्धि हुन थालेको छ । अमेरिकी तेल उत्पादन पनि मध्य फेब्रुअरीदेखि स्थिर छ । अमेरिकी सरकारको शुक्रबार प्रकाशित एक प्रतिवेदनमा विश्वकै ठूलो तेल उत्पादक राष्ट्र अमेरिकाको तेल उत्पादन जनवरी महिनामा प्रतिदिन १ करोड १९ लाख ब्यारेल रहेको देखाइएको छ । रासस/एपी
चिनियाँ कारखानाको उत्पादन मार्चमा बढ्यो, सरकारले के के गर्यो प्रयत्न ?
बेइजिङ । संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाबका कारण केही महिनादेखि समस्यामा परेको चिनियाँ कारखानाको उत्पादन क्षमता सरकारको विशेष प्रयत्नका कारण मार्च महिनामा सुधार भएको छ । चिनियाँ तथ्याँक ब्यूरोले आइतबार सार्वजनिक गरेको विवरणमा चीनको मासिक खरिद सूचक ५०.५ रहेको देखाइएको छ । गत फेब्रुअरीको तुलनामा यो १.३ विन्दुले वृद्धि भएको हो । गत महिना यो सूचक ५० थियो । गत वर्ष चीनको निर्यात घट्नुका साथै चिनियाँ उपभोक्ता मागमा समेत कमी आएका कारण कारखानाको उत्पादन न्यून भएको थियो । निर्यात, रोजगारी र नयाँ मागमा भने सुधार आएको तथ्याँक ब्यूरोले जनाएको छ । अमेरिकी राष्ट्रपतिका कारण सिर्जित समस्यासँग जुध्न चीन सरकारले ऋण लगानीमा रहेका नियन्त्रणहरुलाई खुकुलो पार्नुका साथै सरकारी खर्चमा वृद्धि गरेको थियो । तर अधिकारीहरुले भारी ऋणवृद्धि हुन नदिन विस्तारै सरकारी नियन्त्रण अपनाएका थिए । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले पनि नयाँ नयाँ रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा प्रभावशाली भूमिका बढाउने कार्यमा सघाउने प्रतिबद्धता जनाएको थियो । निजी क्षेत्रका प्रक्षेपकहरुले पनि आर्थिक वृद्धि सामान्य हुने बताउँदै आएका थिए । चिनियाँ नेताहरुले अर्थतन्त्रमा सामान्य वृद्धि हुने बताउँदै तर अघिल्लो दशकको दुई अङ्कको वृद्धिजस्तो अवस्था आउन नसक्ने बताएका थिए । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनको गत वर्षको आर्थिक वृद्धि तीन दशककै न्यून विन्दु अर्थात् ६.६ प्रतिशतमा आइपुगेको थियो । अमेरिकासँगको जारी व्यापार तनाव कारण सरकारले यस वर्षका लागि ६ देखि ६.५ प्रतिशत मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । सन् २०१९ को पहिलो दुई महिनामा चीनको निकासी अघिल्लो वर्षको तुलनामा ४.६ प्रतिशतले घटेको छ । संयुक्तराज्य अमेरिका र चीनका व्यापार वार्ताकारहरुले गत साता बेइजिङमा दुई देशबीच जारी व्यापार तनावका बारेमा वार्ता गरेका छन् । निकै रचनात्मक भनिएको उक्त वार्तामा पनि सहमति छैन । दुबै पक्ष अर्को साता अमेरिकाको वासिङ्टनमा भेट्न र वार्तालाई निरन्तरता दिन सहमत भएका छन् । रासस/एपी
फिएट क्रिस्लरले १५०० कामदार कटौती गर्ने, सबै कर्मचारीलाई अवकाश प्याकेज
मोन्ट्रियल । फिएट क्रिस्लर अटोमोबाइल्स (एफसीए)ले क्यानाडाको विन्डसरस्थित कारखानामा कार्यरत करिब एक हजार ५०० कामदार हटाउने घोषणा गरेको छ । इटालियाली–अमेरिकी कार निर्माताले उक्त कम्पनीले आगामी सेप्टेम्बरको अन्त्यदेखि कामदार कटौती योजना लागू हुने जनाएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा विश्व बजारमा कारको मागलाई ध्यानमा राखेर यस्तो निर्णय लिनुपरेको उल्लेख छ । कटौतीमा पर्ने सबै कर्मचारीलाई अवकाश प्याकेज उपलब्ध गराइने छ । टोरन्टो नजिक ओशावामा रहेको जनरल मोटर्सको प्लान्टबाट पनि जनरल मोटर्सले सन् २०१९ को अन्त्यदेखि दुई हजार ५०० भन्दा बढी कामदार कटौती गर्दैछ । युनिफर युनियनका अध्यक्ष जेर्री डायसले गर्नुभएको ट्वीटमा भनिएको छः “म फिएटको निर्णयबाट निकै दुःखी छु ।” उनले एफसीएसँग तत्कालै आपतकालीन बैठक गर्नु आवश्यक रहेको समेत बताए । विन्डसरस्थित क्रिस्लरको प्लान्टमा करिब ६ हजार १०० कामदार छन् । यस प्लान्टबाट क्रिस्लर प्यासिफिका र डज ग्रान्ड काराभान नामको मिनिभ्यान उत्पादन हुने गर्दछ । फिएट क्रिस्लरले गत फेब्रुअरीमा संयुक्तराज्य अमेरिकाको “मोटर नगर” नामबाट चिनिने डेट्रोइटमा नयाँ कार प्लान्ट स्थापना गर्ने घोषणा गरेको थियो । करिब ४ अर्ब ५० करोड डलरमा निर्माण गरिने नयाँ प्लान्टले झण्डै ६ हजार ५०० लाई रोजगारी दिने बताइएको छ । रासस/एएफपी