नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान, अध्ययन रिपोर्ट कृषि व्यवसायका लागि पनि उपयोगी
काठमाडौं । नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौं आएको रुसी विमान स्वदेश फर्किएको छ । एसियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौँ आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो । रुसी महासंघले पठाएको उक्त विमानसँगै अमेरिका, बेलायत, इटाली, स्वीट्जरल्याण्ड, जर्मनीलगायत देशबाट करिब २५० वैज्ञानिक टोली मौसम अध्ययन गर्न आएका थिए । उक्त वैज्ञानिकको टोलीले नेपाल विज्ञान प्रज्ञा प्रतिष्ठान (नास्ट) को समन्वय तथा नेपालका लागि जर्मन राजदूतावासको सहकार्यमा मौसमी अध्ययन गरेको थियो । युरोपली संघको लगानी रहेको यो आयोजनाको कूल लागत करिब रु एक अर्ब ४५ करोड २० लाख (१२ मिलियन यूरो) रहेको बताइएको छ । यस किसिमको अध्ययन नेपालको नागरिक उड्डयन र कृषि व्यवसायका लागि उपयोगी हुने विज्ञ बताउँछन् । नास्टका उपकूलपति प्रा डा जीवराज पोखरेलले उचाइमा जलवायुको प्रकृति कस्तो हुन्छ भनी अध्ययन गरी तथ्य पत्ता लगाउने र त्यसको आधारमा आउँदा दिनमा विपद् व्यवस्थापनमा प्रयोग गरिने बताए । उनले अध्ययनको विस्तृत विवरण आइसकेपछि सरकारले के गर्न सक्छ भनेर भावी रणनीति तय गर्न उपयोगी हुने बताए । नाष्टले यो परियोजनाको लागि केही समयअघि समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । करिब ७० हजार फिट उचाइसम्म उड्ने सो विमान नेपालको मौसमबारे विस्तृत अध्ययन गर्न पहिलोपटक नेपाल आएको थियो । जर्मनीबाट आएको ‘एम–५५ जिओफिजिका’ नामको यो विमानको ‘ग्राउण्ड ह्यान्डलिङ’ निजी वायुसेवा कम्पनी बुद्ध एयरले गरेको थियो । विमानले नेपालको हिमाली तथा दक्षिण तराई भेगको अध्ययन गरेको थियो । झण्डै एक वर्षभित्र मात्र अध्ययनको विस्तृत विवरण आउने छ । एकजना विमान चालक (पाइलट) मात्र बस्न मिल्ने विमानमा अत्याधुनिक मौसमी उपकरण जडित थिए । विमानस्थलबाट दैनिक चार घण्टाको आठवटा उडान भएको थियो । अध्ययनमा संलग्न वैज्ञानिक समूहका संयोजक जर्मनी नागरिक प्रोफेसर मार्कस रिक्सले प्राकृतिक र भौगोलिक अनुकूलताले अध्ययन गर्न सहज भएको र यो अध्ययनबाट आफूहरु निकै उत्साहित भएको बताए । नेपालको उच्च भेगमा मनसुनी अवस्था र यसको विकसित प्रक्रियाबारे अध्ययन गरी सतर्कताका उपायबारे रणनीति बनाउन सहज हुने उहाँको भनाइ छ । यो अध्ययनमा प्राध्यापक रिक्स, थोमस पिटर, फ्रिड स्ट्रोचलगायतका वैज्ञानिकको नेतृत्व खटिएको थियो । स्वचालित उपकरण जडित यो विमानले ७० हजार फिटको उचाइमा गएर उडान भरी स्वचालित विवरण रेकर्ड गरेर फर्केपछि अध्ययनमा संलग्न वैज्ञानिकले उपकरणको व्यवस्थापन गर्ने गरेका थिए । रुसको जहाज निर्माता कम्पनी मायसिस्चेभले उत्पादन गरेको यस्तो जहाजले सन् १९८८ मा पहिलो उडान गरेको थियो । सुरुमा यो जहाज रुसी सरकारी वायुसेवा कम्पनी एरोफ्टले सञ्चालन गरेको थियो । यस्तो जहाजले २१ हजार ३६० मिटर ९७० हजार ८० फिट० उचाइसम्म उडान गरेको रेकर्ड छ । यो जहाजको लम्बाइ २२ मिटर र चौडाइ (एक पखेटाबाट अर्को पखेटासम्म)३७ मिटर छ । यसको उचाइ भने करिब पाँच मिटर छ । खाली अवस्थामा जहाजको तौल १३ हजार ९९५ किलो हुन्छ । अधिकतम १० हजार किलो तौल बोकेर उड्न सक्छ । यस्तो विमान विश्वमा दुईवटा अमेरिकामा एक र रुसमा एक रहेको छ । यो विमान विश्वयुद्धताका प्रयोग गरिएको बताइन्छ । युरोपेली संघको आर्थिक सहयोगमा जर्मनीको ‘अल्फ्रेड वेग्नर इन्स्टिच्युट’ ले यो जहाजलाई काठमाडौँं ल्याएको हो । यही संस्थाले सञ्चालन गरेको मौसमसम्बन्धी अभियान ‘स्ट्राटोक्लिल क्याम्पेन’ पूरा गर्न जहाज नेपाल आएको थियो । यो जहाजले नेपाली आकासमा ७० हजार फिटसम्मको उचाइमा गएर मौसमसम्बन्धी विस्तृतमा अध्ययन गरी तथ्यांक संकलन गरेको थियो । संकलित तथ्यांकलाई वैज्ञानिकले थप अध्ययन गरी अन्तिम विवरण पठाउने छन् । यहाँस्थित युरोपेली संघका वरिष्ठ कार्यक्रम प्रबन्धक रञ्जनप्रकाश श्रेष्ठका अनुसार यो आयोजनामा साझेदार गर्ने ११ देश क्रमशः जर्मनी, फ्रान्स, नेदरल्याण्ड, इङल्याण्ड, नर्वे, स्वीटजरल्याण्ड, डेनमार्क, स्पेन, इटाली, हंगेरी र रुसी महासंघ छन् । युरोपेली संघको ‘सेभेन रिसर्च फ्रेमवर्क प्रोग्राम’ (एफपी–७ ) अन्तर्गतको परियोजना सन् २०१३ मा सुरु भएको थियो । यसको कूल बजेट ५० विलियन युरो रहेको बताइएको छ । इयुमा ‘होराइजन २०२०’ जस्ता थुप्रै अवसर रहेको र अनुसन्धानका लागि नेपाली वैज्ञानिकले लाभ लिनसक्ने प्रबन्धक श्रेष्ठको भनाइ छ । जर्मनी वैज्ञानिकको संलग्नतामा भएको अध्ययन नेपाली वैज्ञानिकका लागि ठूलो अवसर भएको र यसलाई व्यावहारिक प्रयोग गर्नसकेको खण्डमा फाइदा पुग्ने नास्टको भनाइ छ । रासस
सुपरस्टार अमिताभ बच्चन माथि कर छलीको आरोप, भारतीय कर विभागले थाल्यो छानबिन
काठमाडौं । भारतको आयकर विभागले कर छली गरेको आरोपमा वलिउड सुपरस्टार अमिताभ बच्चनमाथि छानबिन सुरु गरेको छ । पनामा पेपर्सले अमिताभले कर छलिगरेको विवरण सार्वजनिक गरेपछि कर विभागले उनीमाथि अनुसन्धान थालेको हो । छानबिनमा बच्चन लगायत कैयौं हस्तीहरुको नाम खुलासा भएको थियो । यस मामिलामा भारतको विभाग निकै ’आक्रमक’ रुपमा काम गरिरहेको त्यहाँको चर्चित अखबार टाइम्स अफ ईण्डियाले जनाएको छ । विभागले यसबारे थप अनुसन्धानका लागि ब्रिटिस भर्जिन आइल्याण्डमा आफ्नो एक उच्च पठाएको अखबारले उल्लेख गरेको छ । क्यारेबियन द्विपमा अवस्थित ब्रिटिस भर्जिन आइल्याण्ड (कर तिर्नुनपर्ने (ट्याक्स हेभेन) मूलुकको रुपमा गनिन्छ । अमिताभबारे सोधपुछमा एक अधिकारीले भने, ’मिस्टर बच्चनले पनामा पेपर्समा आएका कुनै फर्ममा पनि आफ्नो सम्बन्ध नरहेको बताएका छन् । त्यसैले हामीले सिधै सोधपुछ गर्न सकेनौं । हामीलाई अन्य जानकारी जुटाउनु आवश्यक छ ।’ टाइम्स अफ इन्डियासँग कुरा गर्दै विभागका एक अधिकारीले भने, ’हामीले थप जानकारी जम्मा गर्नका लागि सीबीडीटी (सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्स) को कर्मचारीलाई ब्रिटिस भर्जिन आइल्यान्ड पठाइएको छौं । हामी अन्य मूलुकबाट पनि जानकारी खोजिरहेका छौं । सबै जानकारी लिइसकेपछि मात्र कानुन तोडिएको हो कि होइन पत्ता लाग्नसक्छ ।’ पनामा पेपर्समा थुप्रै भारतका ठुला फिल्मी कलाकार, राजनेता तथा व्यापारीको नाम सार्वजनिक भएको छ। अमिताभले आफूले कुनै गलत काम नगरेको दाबी गरेका थिए । बच्चनले भारतीय नियम अनुसार विदेशमा रकम पठाउने गरेको दाबी गरेका थिए । अधिकारीले भने, ’सार्वजनिक भएका कतिपय खाताका वास्तविक हुन् । जानकारी जम्मा गर्न धैरै समय लाग्छ ।’ इनकम ट्याक्स विभागले पनामा पेपर्समा देखापरेका मध्ये ३३ नाममाथि मुद्दा दायर गरिएको छ र बाकी विरुद्ध छानबिन चलिरहेको छ । पनामा पेपरले विदेशमा सम्पत्ति जोडेको विवरण सार्वजनिक गरेपछि पाकिस्तानी प्रधानमंत्री नवाज शरीफलाई त्यहाँको सर्वोच्च अदालतले पदच्युत गरेको छ । यता भारतमा करको घटना लम्ब्याइएको भनेर कर विभागको आलोचना भइरहेको छ । पनामा पेपर्सका दस्तावेज पनामास्थित एक ल फर्म ( मोसेक फोन्सेकाले ’लीक’ गरेका थिए । यो फर्मको ३५ वटा मूलुकमा ब्युरो छ । दस्तावेजमा ५० देशका १४० राजनेताहरुको नाम उल्लेख छ जसको विभिन्न तरिकाबाट विदेशमा रकम जम्मा रहेको दाबी गरिएको छ । यसमा १२ भुतपूर्व राष्ट्राध्यक्षहरुको नाम पनि उल्लेख छ। खेलाड़ी, प्रशासक तथा फोर्ब्समा सूचीकृत २९ अर्बपतिको पनि नाम पेपर्समा उल्लेख छ । भारतले ग्लोबल टास्क फोर्ससँग सहकार्य गरेर पनामा पेपर्सले सार्वजनिक गरेका दोषिमाथी अनुसन्धान गरिरहेको छ ।
छुट्टै गोर्खाल्यान्ड राज्य माग गर्नेलाई असहयोग गर्न दार्जिलिङमा नाकाबन्दी
दार्जिलिङ । छुट्टै गोर्खाल्यान्ड राज्य माग गर्दै एक महिनादेखि जारी आन्दोलन दबाउन मुख्यमन्त्री ममता बेनर्जीको सरकारले सिलिगुडीबाट दार्जिलिङसहितको पहाडी क्षेत्रमा ल्याउने खाद्यान्नमा रोक लगाएपछि मजदुर र विपन्न समुदायमा भोकमरी सुरु भएको छ । गोर्खाल्यान्ड आन्दोलनलाई आतंककारी आन्दोलनको संज्ञा दिँदै बंगाल सरकारले तराईबाट भित्रिने खाद्यान्न रोकेपछि दार्जिलिङमा रहेका भरिया, चिया बगानका मजदुर, ग्रामीण क्षेत्रका विपन्न परिवार भोकभोकै पर्न थालेका हुन् । दार्जिलिङ नगरपालिका १ की वडा सदस्य तथा गोर्खा जनमुक्ति मोर्चाकी नेत्री निरा शर्माले बंगाल सरकारले पहाडमा मानवीय संकट पैदा गरेको बताइन् । नागरिकको खान पाउने अधिकारको समेत बंगाल सरकारले हनन गरेको उनको आरोप छ । यसअघि सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले पनि अत्यावश्यक सामग्रीमा रोक लगाउने बंगाल सरकारको कदमको विरोध गरेका थिए । चाम्लिङले मोदी सरकारका गृहमन्त्रीलाई फोन गरी औषधि, बालबालिकाले खाने दुग्ध पाउडर, अन्नजस्ता सामग्री आपूर्ति सहज बनाउन आग्रह गरेका छन् । अन्नपूर्ण पोस्टबाट ।