ट्रम्पको एक ट्वीटले खस्कियो एसियाली शेयर बजार

हङकङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लागू हुनेगरी २०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा करबृद्धि गर्ने चेतावनी दिएसँगै सोमबार एसियाली शेयर बजारमा ठूलो गिरावट आएको छ । विश्व अर्थतन्त्रका पहिलो र दोस्रो स्थानमा रहेका संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापारिक तनाबलाई मत्थर बनाउन र नयाँ व्यापार सम्झौता गर्न केही महिनादेखि जारी वार्ता दुबै पक्षबाट “सकारात्मक” रहेको बताइए पनि तार्किक निष्कर्षमा पुग्न सकेको छैन । तर, व्यापार वार्ता निकै सुस्त किसिमबाट अघि बढेको भन्दै राष्ट्रपति ट्रम्पले चीनमाथि थप दबाब दिन चाहनु भएको केही विश्लेषकको भनाई छ । शाङ्घाई शेयर बजार एकै दिन ५ प्रतिशतले घटेको छ भने एसियाका अन्य शेयर बजारमा पनि मन्दी छाएको छ । “विगत १० महिनादेखि चीनले ५० अर्ब डलर बराबरका उच्च प्रविधिका सामग्रीका लागि २५ प्रतिशत कर तिर्दै आएको छ, र २०० अर्ब डलर बराबरका सामानमा थप भएको १० प्रतिशत कर तिरिरहेको छ,” राष्ट्रपति ट्रम्पले स्थानीय समयअनुसार आइतबार राति ट्वीट गर्दै भने, “अब आगामी शुक्रबारदेखि त्यो १० प्रतिशत करलाई २५ प्रतिशत बनाइनेछ ।” राष्ट्रपति ट्रम्पको ट्वीटसँगै अर्को चरणको वार्ता हुने वा नहुने भन्नेमा अन्यौल बढेको छ । यसैसाता चिनियाँ व्यापार वार्ताकारहरु वार्ताका लागि अमेरिका प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो । ब्लुमबर्ग न्यूजका अनुसार चिनियाँ पक्षले आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । अमेरिका र चीनले गतवर्ष एकअर्का विरुद्ध ३६० अर्ब अमेरिकी डलर बराबरका सामानमा करबृद्धि गरेका छन् । तर, राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच थप करबृद्धि नगर्ने र वार्ताद्वारा समस्याको समाधान निकाल्ने सहमति भएपछि गतवर्ष डिसेम्बर १ तारिख व्यापार वार्ता जारी छ । उक्त सहमति भएपछि शेयर बजारको गिरावट रोकिएको थियो । हङकङको शेयर बजार पनि ३.३ प्रतिशत घटेको छ । सिंगापुरको शेयर बजार ३.३ प्रतिशत र ताइपेईको शेयर बजार १.८ प्रतिशतले घटेको छ । सिड्नी र वेलिङ्टनको शेयर बजारमा एकएक प्रतिशत घटेको छ । रासस/एएफपी

बेइजिङमा अमेरिका–चीन व्यापार वार्ता शुरु, यसपटक निर्णायक हुन सक्ने

बेइजिङ । संयुक्तराज्य अमेरिका र चीनबीच उत्पन्न व्यापार तनाबलाई सम्झौता मार्फत सहज तुल्याउने उपाय खोज्न दुबै मुलुकबीच व्यापार वार्ता बेइजिङमा बुधबार पुनः शुरु भएको छ । व्यापार वार्तामा सहभागी हुन अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अर्थमन्त्री स्टिभेन मन्चिन बेइजिङमा छन् । उनीहरुलाई चिनियाँ प्रतिनिधिमण्डलका नेता एवं उपप्रधानमन्त्री लिऊ हेले स्वागत गरेका थिए । अमेरिकी प्रतिनिधिहरुले यसपटकको वार्ता निर्णायक हुन सक्ने बताएका छन् । दुवै देशका व्यापार प्रतिनिधिबीच वासिङ्टनमा गत शुक्रबार पनि वार्ता भएको थियो । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले केही महत्वपूर्ण विषयमा सहमति हुन अझै बाँकी रहेको प्रतिक्रिया दिएका थिए । अमेरिका र चीनले एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । यो करवृद्धि हाल १० प्रतिशत रहे पनि व्यापार वार्तामा सहमति नभए २५ प्रतिशत पुर्याइने अमेरिकी राष्ट्रपतिले चेतावनी दिएका छन् । अमेरिकाले खासगरी अमेरिकी प्रविधि जबर्जस्ती चीनले चोरी गरेको, बौद्धिक सम्पत्तिको संरक्षण गर्न नसकेको, चिनियाँ बजार विदेशी कम्पनीहरुका लागि खुला नगरेको तथा चिनियाँ कम्पनीहरुलाई सरकारले अनेक सहुलियत उपलब्ध गराएर विदेशी कम्पनीको प्रतिस्पर्धी क्षमता कमजोर बनाएको आरोप लगाएको छ । चीनको संरक्षणमुखी नीतिकै कारण अमेरिकासँग चीनको व्यापार घाटा छ खर्ब डलरभन्दा माथि पुगिसकेको अमेरिकी भनाई छ । चीनले अमेरिकी आरोपको खण्डन गरिरहेको छ । चीनले खुला विश्व व्यापारमा अमेरिकी नीतिहरु बाधक बन्न थालेको र अमेरिकी राष्ट्रपतिका नीतिहरु संरक्षणवादी शैलीका रहेको बताउँदै आएको छ । रासस/एएफपी

श्रीलङ्काका प्रहरी प्रमुख निलम्बित, नयाँ सुरक्षा प्रमुख नियुक्त

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी प्रमुखलाई सोमबार निलम्बन गरेको श्रीलङ्काको राष्ट्रपतिको कार्यालयले सोमबार जनाएको छ । एक हप्ता अगाडि भएको विस्फोटनका घटनामा परी साढे दुई सय भन्दा बढीको मृत्यु भएको घटनालाई लिएर उनले प्रहरी प्रमुख पुजिथ जयासुन्दरालाई निलम्वन गरेका हुन् । इस्लामिक स्टेट (आईएस)का लडाकूहरुले आक्रमण गर्ने चेतावनी दिएको भएपनि सुरक्षा निकायको नेतृत्वले वेवास्ता गरेको आरोप उनीमाथि लाग्दै आएको छ । राष्ट्रपति सिरिसेनाले यसअघि सुरक्षा सचिवलाई पनि बर्खास्त गरेका थिए । उनले त्यस ठाउँमा सोमबार नै नयाँ सचिव नियुक्त गरेका छन् । अघिल्लो आइतबार चर्च र होटलहरुमा भएका विस्फोटनमा परी कम्तीमा २५३ जनाको मृत्यु भएको थियो भने ५०० भन्दा बढी घाइते भएका छन् । प्रहरी प्रमुख जयासुन्दरालाई निलम्बन गरेपछि बरिष्ठ प्रहरी उपमहानिरिक्षक चन्दन विक्रमासिङघेलाई कार्यबाहक प्रहरी प्रमुख बनाइएको छ । उनले सोमबार नै सेनाका पुर्व प्रमुख शान्ता कोट्टेगोडालाई देशको सुरक्षा प्रमुखमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । तत्कालिन राष्ट्रपति महिन्दा राजापाक्षेले सन् २००५ मा सेना प्रमुख रहनु भएका ६९ बर्षीय कोट्टाटेगोडालाई आक्रमणको जिम्मेवारी लिँदै राजिनामा दिन दवाव दिनुभएको बताइएको छ । रासस/एएफपी