गाजामा युद्ध रोक्न ट्रम्प र अरब–इस्लामिक देशका नेताहरूको बैठक
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको विषयमा अरब र इस्लामिक देशका नेताहरूसँग बैठक गरेका छन् । ह्वाइट हाउसले उक्त बैठकको भिडियो सार्वजनिक गरेको छ। भिडियोमा ट्रम्प सबै नेताहरूलाई सम्बोधन गर्दै गरेका देखिन्छन् । उनले भनेका छन्, ‘यो बैठक निकै महत्त्वपूर्ण छ । हामी गाजामा युद्ध अन्त्य गर्न चाहन्छौं । सायद हामी यसलाई अहिले नै अन्त्य गरौं ।’ पाकिस्तानको प्रधानमन्त्री कार्यालयले पनि यस बैठकबारे जानकारी दिएको छ । पीएमओले जनाएको छ, ‘प्रधानमन्त्री शहबाज शरीफले न्युयोर्कमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारका अमिर शेख तमीम बिन हमाद अल(थानीले आयोजना गरेको अरब–इस्लामिक नेताहरूको बैठकमा सहभागिता जनाए ।’ यस बैठकपछि शहबाज शरीफ र ट्रम्पबीच अनौपचारिक कुराकानी पनि भएको थियो । यसको भिडियो पाकिस्तानी विदेश मन्त्रालयले सार्वजनिक गरेको छ । पाकिस्तानी विदेश मन्त्रालयका अनुसार ट्रम्पसँगको उक्त बैठकमा आठ वटा अरब र इस्लामिक देशका नेताहरू सहभागी भएका थिए ।
अष्ट्रेलियामा सामाजिक सञ्जाल प्रयोगमा कडाई गरिँदै, नियम तोड्नेलाई ४ करोड ९५ लाख डलर जरिवाना
काठमाडौं । अष्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालको पहुँचबाट टाढा राख्ने कानुनी प्रक्रिया अगाडि बढाएको छ । यस अन्तर्गत अब ह्वाट्सएप, रेडिट, ट्विच, रोब्लक्सजस्ता प्लेटफर्महरू पनि प्रतिबन्धको सूचीमा पर्न सक्ने सम्भावना देखिएको छ । यसअघि नै फेसबुक, स्न्यापच्याट, टिकटक र युट्युबजस्ता सामाजिक सञ्जालहरूमा बालबालिकालाई प्रतिबन्ध लगाइएको छ । अष्ट्रेलियाको ई–सुरक्षा आयोगका प्रमुख जुली इनम्यान ग्रान्टले थप १६ कम्पनीहरूलाई पत्र पठाई आफ्नो सेवा प्रतिबन्धको दायरामा पर्छ कि पर्दैन भन्ने ‘आत्म–मूल्याङ्कन’ गर्न निर्देशन दिएका छन् । नयाँ सूचिमा पिन्टरेस्ट, लेगो प्ले, किक, स्टिमजस्ता सेवा प्रदायकहरू पनि परेका छन् । यी कम्पनीहरूले यदि आफ्नो सेवा बालबालिकालाई सुरक्षित रहेको दाबी गर्न चाहन्छन् भने त्यसको प्रमाणसहितको निवेदन दिनुपर्ने हुन्छ । इनम्यान ग्रान्टले भने, 'केही सेवाहरू स्पष्ट रूपमा प्रतिबन्धको दायरामा पर्छन्, तर हामी सबै कम्पनीलाई न्यायपूर्ण प्रक्रिया दिनेछौं । सबै पक्षलाई सुनिनेछ ।' प्राथमिकतामा बढी प्रयोग हुने प्लेटफर्महरू नियामक निकायले सुरुवाती चरणमा सबैभन्दा बढी प्रयोगकर्ताहरू भएका प्लेटफर्महरूमा ध्यान केन्द्रित गर्ने बताएको छ, जहाँ बालबालिकामाथि हानिको जोखिम पनि बढी हुने गर्छ । यद्यपि अष्ट्रेलिया इन्टरनेट प्रयोगमा बालबालिकाको सुरक्षाका लागि कानुनी पहलमा अगाडि देखिए पनि हालको कानुन कार्यान्वयन कसरी गर्ने भन्नेमा अस्पष्टता देखिएको छ । यसले विज्ञहरूमा यो कानुन व्यवहारमा लागू गर्न गाह्रो हुने भन्दै चिन्ता उत्पन्न गराएको छ । यदि कुनै कम्पनीले नियमको उल्लङ्घन गर्यो भने, ई–सुरक्षा आयोगले ती कम्पनीलाई चार करोड ९५ लाख अष्ट्रेलियन डलरसम्म जरिवाना गर्न सक्नेछ । कैयौं सामाजिक सञ्जाल कम्पनीहरूले भने यो कानुनलाई ‘अस्पष्ट’ र ‘अव्यवस्थित’ भनेर आलोचना गरेका छन् । उमेर प्रमाणित गर्ने प्रणालीमा अन्योल कसरी प्रयोगकर्ताको उमेर प्रमाणित गर्ने भन्ने विषयमा सरकार अझै स्पष्ट छैन । सरकारको निर्देशनमा गरिएको एउटा स्वतन्त्र अध्ययनले उमेर प्रमाणीकरण गोप्य, प्रभावकारी र सरल रूपमा गर्न सकिने देखाए तापनि एउटै उपाय सबै प्लेटफर्ममा लागू गर्न नसकिने उल्लेख गरिएको छ । बालबालिकाको सुरक्षाका लागि अन्य कडा नियम ई–सुरक्षा आयोगले यसै वर्षदेखि केही नयाँ नियमहरू लागू गर्दैछ, जसले ‘कानुनी तर हानिकारक’ सामग्रीहरूबाट बालबालिकालाई जोगाउने प्रयास गरिनेछ । यसै सन्दर्भमा, रोब्लक्सले अष्ट्रेलियामा बालबालिकालाई अनलाइन दुर्व्यवहारबाट जोगाउन केही कडाइ अपनाउने निर्णय गरेको छ । रासस
१७ वर्षको यात्रापछि वारेन बफेटले चीनको बीवाईडी छाडे
काठमाडौं । वारेन बफेटको बर्कशायर हाथवे चीनको बीवाईडीबाट पूर्ण रूपमा बाहिरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । वारेन बफेटको बर्कशायर हाथवेले चिनियाँ अटोमेकर बीवाईडीबाट पूर्ण रूपमा लगानी फिर्ता लिएको फाइलिङमा देखाइएको छ । यससँगै १७ वर्षको लगानी अन्त्य भएको छ, जसको मूल्य यस अवधिमा २० गुणाभन्दा बढी बढेको थियो । बर्कशायरको ऊर्जा सहायक कम्पनीको फाइलिङअनुसार २०२५ मार्च अन्त्यसम्म बीवाईडीमा गरिएको लगानीको मूल्य शून्य देखाइएको छ, जुन २०२४ अन्त्यमा ४१५ मिलियन डलर थियो । बफेटको कम्पनीले सन् २००८ मा सेन्जेनमा आधारित बीवाईडीमा करिब २२५ मिलियन सेयर खरिद गर्दै २३० मिलियन डलर लगानी गरेको थियो, जसले त्यतिबेला कम्पनीमा करिब १० प्रतिशत स्वामित्व दिएको थियो । २०२२ मा बर्कशायरले ती सेयर बेच्न सुरु गर्यो, जब बीवाईडीको सेयर मूल्य २० गुणाभन्दा बढी बढिसकेको थियो। सोमबार टिप्पणीका लागि गरिएको अनुरोधमा बर्कशायरले तत्काल प्रतिक्रिया दिएको छैन । सीएनबीसीले आइतबार बर्कशायरले आफ्नो हिस्सेदारी बिक्री पूरा गरेको समाचार पहिलो पटक दिएको थियो । बीवाईडीका ब्रान्डिङ र सार्वजनिक सम्बन्धका महाप्रबन्धक ली युनफेईले आफ्नो आधिकारिक वेइबो खातामा पोष्ट गर्दै बर्कशायरलाई ‘गत १७ वर्षमा गरेको लगानी, सहयोग र साथका लागि’ धन्यवाद दिएका छन् । उनीहरूले यस हिस्सेदारी बिक्रीलाई ‘सामान्य’ सेयर लगानीको कारोबारको रूपमा वर्णन गरेका छन् । थप टिप्पणीका लागि गरिएको अनुरोधमा बीवाईडीले तत्काल प्रतिक्रिया दिएको छैन । टेस्लाको सबैभन्दा ठूलो प्रतिस्पर्धी बीवाईडीको साढे तीन वर्षपछि पहिलो पटक त्रैमासिक नाफा घटेको छ, किनकि मूल्ययुद्धविरुद्धको सरकारी अभियानबीच यसको विस्तारमा अवरोध आएको छ । बीवाईडीको घरेलु बिक्री, जसले यसको विश्वव्यापी आपूर्तिको करिब ८० प्रतिशत हिस्सा ओगटेको छ, अगस्त महिनामा लगातार चौथो पटक घटेको छ । रोयटर्सका अनुसार कम्पनीले वार्षिक बिक्री लक्ष्य १६ प्रतिशतसम्म घटाएर ४.६ मिलियन गाडी बनाएको छ । विशेषज्ञहरूका अनुसार बर्कशायरले लामो समयपछि नाफा काट्ने रणनीति अपनाएको र चीनको बजारमा बढ्दो प्रतिस्पर्धा तथा राजनीतिक जोखिमलाई ध्यानमा राखी सेयर बिक्री गरेको अनुमान गरिएको छ । चीन–अमेरिका सम्बन्धमा चिसोपन बढ्दै जाँदा विदेशी लगानीकर्ताहरू सतर्क देखिएका छन् । बीवाईडी हाल विश्वकै ठूलो विद्युतीय गाडी उत्पादक कम्पनीमध्ये एक बनेको छ र टेस्लासँग प्रत्यक्ष प्रतिस्पर्धामा छ । तर हालको मूल्यांकन उच्च भइसकेको र भविष्यमा मुनाफा घट्नसक्ने सम्भावनाले बर्कशायरले लगानी फिर्ता गरेको हुनसक्ने विश्लेषण गरिएको छ । बर्कशायर हाथवे विश्वकै सबैभन्दा सफल लगानी कम्पनीमध्ये एक मानिन्छ। प्रारम्भमा कपडा उद्योगका रूपमा स्थापना भएको यो कम्पनीलाई बफेटले सन् १९६५ मा नियन्त्रण लिएर लगानी होल्डिङ कम्पनीमा रूपान्तरण गरेका थिए । हाल बर्कशायर हाथवेले बीमा, रेल्वे, ऊर्जा र उपभोक्ता उत्पादन क्षेत्रमा ठूलो लगानी गरेको छ । यसका पूर्ण स्वामित्वका कम्पनीहरूमा गाइको, बीएनएसएफ रेल्वे , डेरी क्विन र ड्युरासेल जस्ता प्रसिद्ध ब्रान्डहरू छन् । साथै एप्पल, कोका–कोला, अमेरिकन एक्सप्रेस र बैंक अफ अमेरिका जस्ता बहुराष्ट्रिय कम्पनीमा यसको ठूला हिस्सेदारी रहेको छ । संसारकै सबैभन्दा महँगो सेयरको रूपमा चिनिने बर्कशायर हाथवेका क्लास–ए सेयरको मूल्य लाखौं अमेरिकी डलरसम्म पुग्छ । दीर्घकालीन लगानी रणनीतिका लागि चिनिने वारेन बफेटलाई ‘ओराकल अफ ओमाहा’ नामले समेत पुकारिन्छ । हुवावेको एटलस ९५० : एनभीडीयालाई हल्लाउने ‘एआई बम’ !