ट्रान्सटेकद्वारा निर्मित निसौर स्क्वायर परियोजना सम्पन्न, ट्राफिक सहज
काठमाडौं । चिनियाँ कम्पनी ट्रान्सटेकद्वारा निर्मित निसौर स्क्वायर विकास परियोजनाको सोमबार उद्घाटन गरिएको छ । दशकौंको युद्ध र द्वन्द्व, विशेष गरी २००३ को अमेरिकी आक्रमणले इराकको सडक सञ्जाल सहितको पूर्वाधारमा गहिरो दाग छोडेको छ । यो परियोजनाले इराकको राजधानीमा लामो समयदेखि रहेको पुरानो भीडभाडलाई कम गर्न बहु–स्तरीय यातायात केन्द्र निर्माण गर्ने लक्ष्य राखेको छ । जुलाई २०२३ मा शुरु गरिएको यस परियोजनामा दुई ओभरपास र पाँच सुरुङहरू छन् । ट्राफिकका लागि खुलिसकेपछि यसले बगदादमा भीडभाडलाई उल्लेखनीय रूपमा कम गरेको छ । ध्वनि प्रदुषण कम गरेको छ । ट्रान्सटेकद्वारा निर्मित निसौर स्क्वायर विकास परियोजना पूरा भएको र ट्राफिकको लागि खुला गरिएको छ । परियोजनामा दुई ओभरपास, पाँच सुरुङहरू साथै १६८ किलोमिटर भूमिगत पाइपलाइन र केबलहरूको मर्मतसम्भार समावेश छ ।
अष्ट्रेलियामा बढ्दो समुद्री सतह, १५ लाख मानिस जोखिममा
सिड्नी । जलवायु परिवर्तनका कारण बढ्दो समुद्री सतहले सन् २०५० सम्ममा १५ लाखभन्दा बढी अष्ट्रेलियाली नागरिकको घर र जीवनशैलीमा गम्भीर सङ्कट उत्पन्न गर्ने चेतावनी एक महत्वपूर्ण प्रतिवेदनले दिएको छ । सरकारका लागि स्वतन्त्र रूपमा तयार गरिएको यो राष्ट्रिय जलवायु जोखिम मूल्याङ्कन प्रतिवेदन अष्ट्रेलियाको जीवनशैलीमा तापमान वृद्धिले ‘सिलसिलाबद्ध, जटिल र एकैपटक असर पार्ने’ प्रभाव पार्ने उल्लेख गरिएको छ । 'हामी अहिले जलवायु परिवर्तनको प्रभाव अनुभव गरिरहेका छौं । यो अब केवल पूर्वानुमान होइन, वास्तविकता हो,' वातापरणमन्त्री क्रिस बोवेनले भने । रिपोर्ट अनुसार, सन् २०५० सम्म १५ लाख अष्ट्रेलियालीहरू समुद्री सतह वृद्धिको जोखिममा पर्नेछन्, र यो सङ्ख्या सन् २०९० सम्म दोब्बर भएर ३० लाख पुग्न सक्नेछ । विशेषगरी उत्तरी अष्ट्रेलियास्थित टोरेस स्ट्रेट टापुहरूमा समुद्री सतह औसत दरभन्दा छिटो बढिरहेको छ । एडिथ कोवान विश्वविद्यालयकी सामुदायिक समन्वयकर्ता तथा स्वदेशी समुदायकी जोएन हिलले भने, 'अब हामीले ढिला गर्न मिल्दैन । यदि तुरुन्त कदम चालिएन भने, टोरेस स्ट्रेटका टापुहरूमा बसोबास गर्ने समुदायले आफ्नो घर, संस्कृति र परम्परा गुमाउनेछन् ।' यो रिपोर्ट सार्वजनिक भएको केही दिनभित्रै अष्ट्रेलियाले पेरिस जलवायु सम्झौताअन्तर्गत नयाँ उत्सर्जन कटौती लक्ष्य सार्वजनिक गर्नेछ भन्ने अपेक्षा गरिएको छ । डरलाग्दो अवस्था रिपोर्ट अनुसार, सन् २०५० सम्म अष्ट्रेलियाली सम्पत्तिको मूल्यमा ६११ अर्ब अष्ट्रेलियन डलर बराबरको गिरावट आउन सक्नेछ, जुन सन् २०९० सम्म ७७० अर्ब डलरसम्म पुग्न सक्छ । यदि तापक्रम ३ डिग्री सेल्सियसले बढ्यो भने, सिड्नी जस्ता शहरहरूमा गर्मीका कारण हुने मृत्युहरू ४०० प्रतिशतभन्दा बढीले वृद्धि हुन सक्छ । रिपोर्टमा जलवायु परिवर्तनका कारण अष्ट्रेलियाका अनगिन्ती प्रजातिहरू लोप हुन बाध्य हुने उल्लेख गरिएको छ । जलवायु काउन्सिलकी प्रमुख कार्यकारी अमान्डा म्याकेन्जीले रिपोर्टलाई ‘डरलाग्दो’ भन्दै भने,“हामी अझ तीव्र र कडा रूपमा कार्बन उत्सर्जन घटाएर राम्रो भविष्य निर्माण गर्न सक्छौं । यसको पहिलो कदम भनेको सन् २०३५ सम्मको बलियो जलवायु लक्ष्य निर्धारण गर्नु र नयाँ प्रदूषक परियोजनाहरू रोक्नु हो ।” नीति र व्यवहारबीचको द्वन्द्व यद्यपि अष्ट्रेलियाले पछिल्ला वर्षहरूमा हरित ऊर्जा र नवीकरणीय स्रोतहरूको विकासमा जोड दिएको छ । हालै सरकारले उत्तर–पश्चिमी क्षेत्रमा रहेको एक प्रमुख एलएनजी परियोजनालाई ४० वर्षको म्याद थपेको छ, जसले वातावरणीय तथा स्वदेशी समुदायहरूमा आक्रोश फैलाएको छ । उक्त ‘एलएनजी’ परियोजनाबाट प्रत्येक वर्ष १० मिलियन टनभन्दा बढी एलएनजी र पेट्रोलियम उत्पादन हुन्छ । वातापरणमन्त्री बोवेनले भने ,'हरित भविष्यतर्फको यात्रा जटिल छ, तर हामीसँग विश्वकै उत्कृष्ट नवीकरणीय ऊर्जा स्रोतहरू छन् । ग्यास निकट भविष्यमा वैकल्पिक स्रोतको रूपमा आवश्यक हुनेछ ।' रासस
टिकटकको भविष्य चीनमा निर्भर : राष्ट्रपति ट्रम्प
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा टिकटकको भविष्य अझै अनिश्चित रहेको बताउँदै अन्ततः चीनले नै यसको भाग्य निर्धारण गर्ने सङ्केत दिएका छन् । 'हुन पनि सक्छ, नहुन पनि सक्छ । हामी अहिले टिकटकसँग वार्ता गरिरहेका छौँ । हामी यसलाई बन्द गर्न सक्छौँ, वा अघि बढाउन सक्छौँ, ठ्याक्कै थाहा छैन । यो अन्ततः चीनमा निर्भर छ । यसले धेरै फरक पार्दैन । तर म यो बच्चाहरूको लागि गर्न चाहन्छु, किनभने उनीहरूलाई यो मन पर्छ', न्युजर्सीमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, 'स्वार्थी रूपमा भन्नुपर्दा, मैले टिकटकसँग राम्रो काम गरेँ र युवाहरूको भोट पाएँ । त्यस्तो समर्थन सङ्ख्या रिपब्लिकन पार्टीमा अरू कसैले कहिल्यै पाएन ।' न्युयोर्क टाइम्सका अनुसार टिकटकलाई यसको चिनियाँ मालिक बाइटडान्सबाट अलग गर्ने वा अमेरिकामा प्रतिबन्धको सामना गर्ने कानून लागू गर्न वा फेरि ढिलाइ गर्न ट्रम्पसँग सेप्टेम्बर १७ सम्म समय छ । उनले यसअघि नै तीन पटक कानून लागू गर्न ढिलाइ गरिसकेका छन् । गत वर्ष अमेरिकी सदनले द्विदलीय समर्थनसहित पारित गरेको कानूनअनुसार गैर–चिनियाँ मालिक नभेटिएसम्म टिकटकले देशमा सञ्चालन गर्न पाउने छैन । यसका कारण चीनसँगको सम्बन्धले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गरेको मानिन्छ । चीनसँगको वार्ता अझै जटिल बनेको छ । अप्रिलमा ट्रम्पले चिनियाँ आयातमा एक सय ४५ प्रतिशत कर लगाएका थिए, पछि घटाएर ३० प्रतिशतमा ल्याए । त्यसको जवाफमा चीनले अमेरिकी उत्पादनमा १० प्रतिशत कर लगायो । गत शनिबार चीनले अमेरिकामा बनेका केही माइक्रोचिपहरूको निर्यातबारे अनुसन्धान सुरु गरेको घोषणा गर्यो । अघिल्लो दिन अमेरिकी वाणिज्य मन्त्रालयले चिनियाँ चिप कम्पनीहरूलाई व्यापारको कालो सूचीमा राख्ने जनाएको थियो । यी कदमहरूले दुवै देशबीचको वार्तामा थप दबाब बढाएको छ । अमेरिका र चीन अहिले थप कर कटौती, दुर्लभ पृथ्वी खनिज र चुम्बकको ढुवानीमा चीनले लगाएको प्रतिबन्धबारे छलफल गरिरहेका छन् । चीनले अमेरिकी कृषि उत्पादन, विशेषगरी सोयाबिन खरिद गर्न रोकेकोमा ट्रम्प प्रशासन चिन्तित छ, जसले अमेरिकी किसानहरूको जीविकोपार्जनमा ठूलो असर पारेको छ । यससँगै अमेरिकी अधिकारीहरूले चीनको अत्यधिक औद्योगिक क्षमतालाई असन्तुलित अर्थतन्त्रको कारण भन्दै आलोचना गरेका छन् र चिनियाँ पक्षलाई रुस र इरानबाट तेल खरिद नगर्न आग्रह गरेका छन् । ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आगामी महिना दक्षिण कोरियामा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेशन फोरममा भेट्ने तय भएको छ । साथै सीको निमन्त्रणामा कुनै समय चीन भ्रमण गर्न सक्ने सङ्केत पनि ट्रम्पले दिएका छन् । रासस