एआई प्रविधिमा अगाडि बढ्दै ‘एनथ्रपिक’, १३ अर्ब डलर लगानी संकलन

काठमाडौं । अमेरिकी कृत्रिम बाैद्धिकता (एआई) स्टार्टअप एनथ्रपिकले १३ अर्ब अमेरिकी डलरको लगानी जुटाएको छ । यो लगानी आईकोनिक नामक लगानी संस्थाको नेतृत्वमा सिरिज एफ चरणमा गरिएको हो । कम्पनीको पछिल्लो मूल्यांकन १८३ अर्ब डलर पुगेको छ ।  ‘एनथ्रपिक’ एक अमेरिकी एआई प्रविधि कम्पनी हो, जसले सुरक्षित, पारदर्शी र उत्तरदायी एआई प्रणालीहरू विकास गर्ने लक्ष्य राखेको छ ।  सन् २०२१ मा पूर्व ओपनएआई अनुसन्धानकर्ताहरूले स्थापना गरेको यो कम्पनी विशेषगरी ‘क्लोड’ नामक उन्नत भाषा मोडेलहरू निर्माण गरेर चर्चित भएको हो । एनथ्रपिकको मुख्य उद्देश्य मानवीय मूल्यसँग मेल खाने र दीर्घकालीन रूपमा सुरक्षित रहने एआई प्रविधि तयार गर्नु हो । यस कम्पनीले व्यवसायिक प्रयोगका लागि भरपर्दो एआई समाधानहरू प्रदान गर्दैछ, जसमा भाषा प्रशोधन, ज्ञान सहायता र निर्णय समर्थन प्रणालीहरू पर्छन् । यस लगानी चरणमा फिडेलिटी म्यानेजमेन्ट एन्ड रिसर्च कम्पनी र लाइटस्पिड भेन्चर पार्टनर्सले पनि सह–नेतृत्व गरेका छन् । कम्पनीका अनुसार, यो लगानीले व्यवसायिक माग पुरा गर्न क्षमता विस्तार, सुरक्षा अनुसन्धानमा गहिराइ ल्याउन तथा अन्तर्राष्ट्रिय विस्तारमा सहयोग पुर्याउनेछ । 'हाम्रो सम्पूर्ण ग्राहक समूहमा माग तीव्र रूपमा बढिरहेको छ,' एनथ्रपिकका आर्थिक प्रमुख (सीएफओ) कृष्ण रावले बताए । यसअघि मार्च महिनामा, कम्पनीले सिरिज ई चरणमा ३.५ अर्ब डलर जुटाउँदै ६१.५ अर्ब डलरको मूल्यांकन प्राप्त गरेको थियो । कम्पनीका अनुसार, २०२३ को मार्चमा क्लोड नामक एआई मोडेल सार्वजनिक गरेपछि एनथ्रपिकको विकास दर निकै तीव्र भएको हो । रासस

आइतबार राति हुने पूर्ण चन्द्रग्रहणमा देखिनेछ ‘ब्लड मुन’

काठमाडौं । खगोलविद्हरूले आइतबार राति दुर्लभ दृश्यको आनन्द लिने मौका पाउनेछन् । एसिया, युरोप र अफ्रिकाका विभिन्न भागमा देखिने यस पूर्ण चन्द्रग्रहणका क्रममा ‘ब्लड मुन’ उदाउनेछ । जब सूर्य, पृथ्वी र चन्द्रमा एउटै रेखामा पर्छन्, पृथ्वीको छायाँले चन्द्रमामा परेर यसलाई डरलाग्दो गाढा रातो रङमा देखाउँछ । यो अद्भुत दृश्यले सहस्राब्दीयौँदेखि मानिसलाई आकर्षित गर्दै आएको छ । भारत र चीनसहित एसियाका मानिसहरू यस ग्रहण अवलोकनका लागि सबैभन्दा अनुकूल स्थानमा हुनेछन् । साथै, अफ्रिकाको पूर्वी किनार र पश्चिमी अस्ट्रेलियामा पनि ब्लड मुन देखिनेछ ।  पूर्ण चन्द्रग्रहण १७ः३० जिएमटीदेखि १८ः५२ जिएमटीसम्म रहनेछ । युरोप र अफ्रिकाका खगोलविद्हरूले चन्द्रमाको उदयसँगै आंशिक ग्रहण देख्ने मौका पाउनेछन् । तर अमेरिकाका दर्शकहरूले भने यसपटक ग्रहण गुमाउनेछन् । उत्तरी आयरल्यान्डको क्विन्स युनिभर्सिटी बेलफास्टका खगोलशास्त्री रायन मिलिगनका अनुसार चन्द्र ग्रहणको समयमा चन्द्रमा रातो देखिनुको कारण पृथ्वीको वायुमण्डल हो । उनले भने, 'सूर्यको प्रकाश वायुमण्डलमा प्रतिबिम्बित र छरिएको हुन्छ । नीलो तरङ्ग आयाम छोटो भएकाले सजिलै फैलिन्छ, तर रातो तरङ्ग आयाम लामो भएकाले चन्द्रमा पुग्छ र यसलाई रक्तिम रङ दिन्छ ।' सूर्य ग्रहणजस्तो चश्मा वा पिनहोल प्रोजेक्टरको आवश्यकता नपर्ने भएकाले चन्द्र ग्रहण हेर्न सजिलो हुन्छ । स्पष्ट मौसम र उपयुक्त स्थान भए पर्याप्त हुन्छ । यसअघि यस वर्ष मार्चमा पूर्ण चन्द्रग्रहण भएको थियो । त्यसअघि सन् २०२२ मा भएको थियो । आफूलाई ‘सूर्य ग्रहण चेजर’ भनी चिनाउने मिलिगनले आइतबारको घटना आउँदो वर्ष हुने ‘ठूलो घटना’ को प्रस्तावना भएको बताए । सन् २०२६ अगस्ट १२ मा युरोपको केही भागमा दुर्लभ पूर्ण सूर्यग्रहण देखिनेछ । त्यसबेला चन्द्रमाले सूर्यलाई पूर्ण रूपमा ढाक्नेछ । मिलिगनले पछिल्ला एक दशकमा संसारभर १२ वटा पूर्ण सूर्यग्रहणको अवलोकन गरेका छन् । आउँदो वर्षको पूर्ण ग्रहण स्पेन र आइसल्यान्डमा देखिनेछ । यो सन् २००६ पछि मुख्यभूमि युरोपमा पहिलो हुनेछ । अन्य मुलुकहरूले आंशिक ग्रहण देख्न सक्नेछन् । स्पेनमा, मेड्रिड र बार्सिलोना बीचको करिब एक सय ६० किलोमिटर ९एक सय माइल० लामो क्षेत्रमा समग्रता देखिनेछ । तर यी दुवै सहरले पूर्ण घटना अवलोकन गर्न नपाउने मिलिगनले बताए । सन् २०२४ अप्रिलमा उत्तर अमेरिकामा भएको पूर्ण सूर्य ग्रहणपछि यो पहिलो पूर्ण सूर्य ग्रहण हुनेछ । रासस  

सर्वोच्च अदालतमा ट्यारिफ मुद्दा : अमेरिकी व्यापार रणनीतिमा अनिश्चितताको बादल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति सर्वोच्च अदालतलाई आफ्ना ट्यारिफलाई अवैध ठहर गर्ने तल्लो अदालतका फैसलालाई उल्ट्याउने अपिल तत्काल स्वीकार गर्न र त्यसमा छिटो निर्णय दिन आग्रह गरेका छन् । यो अनुरोध अमेरिकाको फेडरल सर्किट अपिल अदालतले ७–४ मतान्तरमा दिएको फैसलापछि आएको हो । उक्त फैसलामा ट्रम्पले प्रायः सबै देशमाथि कडा ट्यारिफ लगाउँदा आफ्नो अधिकार नाघेको ठहर गरिएको थियो। यस फैसलाले ट्रम्पको व्यापार नीतिको मुख्य आधारलाई अनिश्चिततामा पारेको छ । ट्रम्पले सर्वोच्च अदालतलाई नोभेम्बर सुरुमा अपिलमा बहस सुन्न र त्यसपछि छिट्टै अन्तिम निर्णय दिन आग्रह गरेका छन्, एनबीसी न्युजले मुद्दाका वादीतर्फबाट प्राप्त कागजात उद्धृत गर्दै जनाएको छ । सामान्यतया सर्वोच्च अदालतले यस्तो निर्णय आउँदो समर (२०२६) सम्म दिन सक्छ। ट्रम्पको निवेदनसँग संलग्न अर्थ सचिव स्कट बेसन्टको घोषणामा अपिल अदालतको निर्णयले ‘राष्ट्रपतिको वास्तविक कूटनीति गर्ने क्षमता, राष्ट्रिय सुरक्षा र अमेरिकी अर्थतन्त्र जोगाउने क्षमतामा गम्भीर चोट पुर्‍याएको’ उल्लेख गरिएको छ । ट्रम्पले दायर गरेका निवेदनमा भनिएको छ— ‘यदि निर्णय २०२६ को जुनसम्म ढिलाइ भयो भने यसबीचमा ७५० अर्बदेखि १ ट्रिलियन डलरसम्मको ट्यारिफ उठाइसकिएको हुन्छ, जसलाई फिर्ता गर्नुपर्ने अवस्थामा ठूलो अव्यवस्था सिर्जना हुन सक्छ ।’ ट्रम्पले अन्य देशहरूसँगको अमेरिकी बजेट घाटालाई ‘राष्ट्रिय आपतकाल’ घोषणा गर्दै  इन्टरनेशनल इमर्जेन्सी पावर्स एक्ट (आईईईपीए) प्रयोग गरी कडा ट्यारिफ लगाएका थिए । तर अदालतले भनेको छ, ‘ट्यारिफ तोक्ने अधिकार मूलतः कंग्रेसको शक्ति हो, राष्ट्रपति होइन ।‍’ ‘संविधानले ट्यारिफ जस्ता कर तोक्ने मूल अधिकार केवल विधानमण्डललाई दिएको छ,’ अदालतले स्पष्ट पारेको छ । अपिल अदालतले आफ्नो फैसलाको कार्यान्वयनलाई अक्टोबर १४ सम्म स्थगित गरेको छ, जसले ट्रम्पलाई सर्वोच्च अदालतमा अपिल गर्ने र आवश्यक परे उच्च अदालतलाई उक्त निर्णयलाई अनिश्चितकालसम्म रोक्ने समय दिएको छ । वादी पक्षको प्रतिनिधित्व गरेको लिबर्टी जस्टिस सेन्टरका वरिष्ठ वकिल जेफ्री श्वाबले विज्ञप्तिमा भनेका छन्— ‘अब सरकारले यो मुद्दा सर्वोच्च अदालतले समीक्षा गर्न माग गरेको छ । यसअघि दुवै संघीय अदालतले आईईईपीएले राष्ट्रपतिलाई असीमित ट्यारिफ अधिकार दिन्न भन्ने ठहर गरेका थिए ।’ ‘हामीलाई विश्वास छ, ‘लिबरेशन डे’ भनेर नाम दिइएका यी ट्यारिफविरुद्ध हाम्रा कानुनी तर्क अन्ततः सफल हुनेछन् । यी अवैध ट्यारिफले साना व्यवसायमा गम्भीर क्षति पुर्‍याइरहेका छन् र तिनको अस्तित्वसमेत संकटमा पारेका छन् । हामी हाम्रा क्लाइन्टहरूका लागि छिटो समाधानको आशा गर्दछौं,’श्रावले थपे । सान्दर्भिक सामग्री :   चीनको सैन्य परेडमा विश्वको नजर, अमेरिकासँग झन् बढ्दै तनाव हाँसोभित्र लुकेको कुटनीति : पुटिन, मोदी र सी जिनपिङको तिआनजिन संवाद ‘शीतयुद्ध मानसिकता’ अस्वीकार, चिनियाँ राष्ट्रपति सीको एआईमा सहकार्य गर्न आह्वान भारतको त्रिदेशीय सन्तुलन : शुल्क, तेल र असजिलो हस्तमिलन