नयाँ तारामण्डल शोले वैज्ञानिकहरूलाई ब्रह्माण्डीय रहस्य खोल्न सहयोग
काठमाडौं । वैज्ञानिकहरूले एउटा अप्रत्याशित स्रोतबाट सौर्यमण्डलका धेरै रहस्यमध्ये एक खोलेका छन् : तारामण्डल शो सोमबार जनताका लागि खुला गरिएको छ । अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीमा गत शरद ऋतुमा विशेषज्ञहरू ‘एन्काउन्टर्स इन द मिल्की वे’ तयार गर्न कडा मेहनत गरिरहेका थिए । यो ताराहरू र अन्य आकाशीय वस्तुहरूको चालद्वारा आकार पाएको हाम्रो घर आकाशगङ्गाको गहिरो अध्ययन थियो । उनीहरूले ओर्ट क्लाउड भनिने क्षेत्रलाई चित्रित गर्ने दृश्यलाई ठीक गरिरहेका थिए । यो प्लुटोभन्दा धेरै टाढाको क्षेत्र हो र यो सौर्यमण्डलको गठनबाट हिउँले भरिएको अवशेषले भरिएको क्षेत्र हो । धूमकेतुहरू यस बादलबाट पृथ्वीतर्फ दौडन सक्छन्, तर वैज्ञानिकहरूले यसको वास्तविक आकार कहिल्यै देखेका छैनन् । 'एक साँझ ओर्ट क्लाउडको दृश्य हेर्दा वैज्ञानिकहरूले तारामण्डलको गुम्बजमा प्रक्षेपित केही अनौठो कुरा देखे ।त्यहाँ किन कुण्डली छ ?', सङ्ग्रहालयका ज्याकी फाहर्टीले भने । अर्बौं धूमकेतुहरू मिलेर बनेको ओर्ट क्लाउडको भित्री भाग हाम्रो मिल्की वे आकाशगङ्गाको आकार जस्तै दुई लहरदार हातहरू भएको बार जस्तो देखिन्छ । वैज्ञानिकहरूले लामो समयदेखि ओर्ट क्लाउडलाई गोलाकार वा च्याप्टो खोलाको आकारको भएको, अन्य ग्रहहरू र आकाशगङ्गाको धक्का र तानाबाट विकृत भएको ठानेका थिए । तारामण्डल प्रदर्शनीले भित्र अझ जटिल आकार हुन सक्ने सङ्केत गर्यो । सङ्ग्रहालयले सोका लागि ओर्ट क्लाउड डेटा प्रदान गर्ने शोधकर्तालाई सम्पर्क गर्यो । उनीहरू पनि कुण्डली देखेर पनि चकित भए । 'यो वास्तवमा भएको एक प्रकारको संयोगजन्य दुर्घटना हो', साउथवेस्ट रिसर्च इन्स्टिच्युटका डेभिड नेस्भोर्नीले भने । अनुसन्धानकर्ताहरूले केही नयाँ कुरामा ठक्कर खाएको महसुस गरेपछि उनीहरूले यस वर्षको सुरुमा द एस्ट्रोफिजिकल जर्नलमा आफ्ना निष्कर्षहरू प्रकाशित गरे । 'यो कुण्डली ‘बाहिरी सौर्यमण्डलको हाम्रो बुझाइमा एक उल्लेखनीय परिवर्तन’ हो', अध्ययनमा संलग्न नभएका राइस विश्वविद्यालयका ग्रह वैज्ञानिक आन्द्रे इजिडोरोले इमेलमा भने । इजिडोरोका अनुसार आकाशीय वस्तुहरूको चालका डेटा र सिमुलेशनको प्रयोग गरेर गरिएको यो खोज अवलोकनद्वारा पुष्टि गर्न गाह्रो हुनेछ । तर टाढाका धूमकेतुहरूको कक्षाको बारेमा थप जान्नाले वैज्ञानिकहरूलाई केही सुराग दिन सक्छ । तारामण्डल शो तयार गर्दा सङ्ग्रहालयका विशेषज्ञहरूले ब्रह्माण्डको आन्तरिक कार्यप्रणालीमा झ्यालको अपेक्षा गरेका थिएनन् । सङ्ग्रहालयका जोन पार्करका अनुसार अभिनेता पेड्रो पास्कलले वर्णन गरेको यो शोमा धेरै जीवन्त दृश्यहरू छन् जसले ओर्ट क्लाउडभन्दा दर्शकहरूलाई बढी आकर्षित गर्न सक्छ, जसमा मिल्की वेसँग धनु मिनी आकाशगङ्गाको चलिरहेको मिश्रण समावेश छ । शोका दृश्यहरू जतिसुकै आकर्षक र सुन्दर भएता पनि ङ्ंग्रहालय यसलाई वैज्ञानिक रूपमा सटीक बनाउन प्रतिबद्ध थियो । यसैले केही नयाँ कुरामा ठक्कर खाने उत्तम अवस्था सिर्जना भएको सङ्ग्रहालयका कार्टर एमार्टले बताए । 'तपाईँले के फेला पार्न जाँदै हुनुहुन्छ भन्ने तपाईँलाई कहिल्यै थाहा हुँदैन', एमार्टले भने । रासस
युक्रेनी आक्रमणपछि रुसले गर्यो जापोरिजियामा बिजुली कटौती
मास्को । जापोरिजीया क्षेत्रको उत्तरपश्चिमी भागका बिद्युत स्टेसनहरूमा लक्षित गरी युक्रेनले आक्रमण गरे पछि रूसी अधिकारीहरूले मङ्गलबार यस क्षेत्रमा बिजुली कटौतीको घोषणा गरेका छन् । जापोरिझिया क्षेत्रका गभर्नर येवगेनी बालिट्स्कीले टेलिग्राम मार्फत युक्रेनले गरेको आक्रमणले यस क्षेत्रको उच्च भोल्टेज स्टेसन क्षतिग्रस्त भएकाले बिद्युत कटौती गरिएको जनाएका छन् । उनले ऊर्जा मन्त्रालयलाई छिटै मर्मत गरी बिद्युत प्रवाह सुरु गर्न निर्देशन दिएका छन् । दुई दिन अघि युक्रेनले रूसी हवाई अड्डाहरूमा ड्रोन आक्रमण गरेको घोषणा गरेको थियो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आधार शिविरमा गरिएको आक्रमणमा ११७ वटा ड्रोन प्रयोग गरिएको बताएका छन् । रूसी रक्षा मन्त्रालयले रूसी आर्कटिक र पूर्वी साइबेरियामा अवस्थित मरमेन्स्क र इर्कुत्स्क क्षेत्रमा ड्रोन प्रक्षेपण गरेपछि धेरै विमानहरूमा आगलागी भएको पुष्टि गरेको छ । मन्त्रालयले रूसको पूर्वमा चिनियाँ सीमा नजिकैको इभानोभो, रियाजान र अमुर क्षेत्रका अन्य विमानस्थललाई लक्षित गरी आक्रमण गरिएको उल्लेख गरेको छ । रासस
अमेरिका र चीनबीच आरोप-प्रत्यारोप, दूर्लभ खनिज विवादले झनै तनाव
काठमाडौं । विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रहरू- अमेरिका र चीनबीचको सम्बन्ध दिन प्रतिदिन बिग्रँदो छ । चीनबाट अमेरिका जाने जहाजहरूको सङ्ख्यामा लगातार गिरावट आइरहेको छ । पछिल्ला १५ दिनमा यो सङ्ख्या फेब्रुअरीपछि सबैभन्दा न्यूनतम् तहमा पुगेको छ । अप्रिलको मध्यदेखि यसमा ५० प्रतिशत गिरावट आइसकेको छ । अमेरिकाका वित्त मन्त्रीका अनुसार चीनले विभिन्न प्रकारका सामग्रीहरू रोकिरहेको छ, जसमा रेयर अर्थ (दुर्लभ खनिज) पनि समावेश छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चीनले गत महिना दुबै देशबीच भएको व्यापार सम्झौताको उल्लङ्घन गरेको बताएका छन् । सो सम्झौता पछि दुबै देशबीच चलिरहेको ट्यारिफ युद्ध रोकिएको थियो । अर्कोतर्फ चीनले अमेरिकामाथि नयाँ आर्थिक तथा व्यापारिक विवाद भड्काएको आरोप लगाएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी चीनले व्यापार वार्ताको सम्झौतालाई कडाइका साथ कार्यान्वयन गरिरहेको जनाएको छ । उसले अमेरिकाले यसलाई गम्भीर रूपमा कमजोर पारिरहेको आरोप लगाएको छ । मन्त्रालयका अनुसार अमेरिकाले एकतर्फी रूपमा नयाँ आर्थिक तथा व्यापारिक विवादहरू उत्पन्न गराइरहेको छ, जसले द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्धमा अनिश्चितता र अस्थिरता बढाइरहेको छ । यदि अमेरिका आफ्ना निर्णयहरू आफैले मात्र गर्न खोजिरहन्छ र चीनका हितहरूलाई कमजोर बनाउँदै जान्छ भने चीनले आफ्ना वैध अधिकार र हितहरूको रक्षाका लागि कडा र प्रभावकारी कदम चाल्ने मन्त्रालयको चेतावनी छ । जेनेभामा भएको सम्झौता यो घटनाक्रम ट्रम्पको शुक्रबार दिएको अभिव्यक्तिबाट आएको हो । उनले भनेका थिए कि चीनले अमेरिकासँग भएको सम्झौतोलाई पूर्ण रूपमा उल्लङ्घन गरेको छ । ट्रम्पले ट्रूथमा पोस्ट गर्दै भनेका छन् कि उनले चीनलाई एक अत्यन्तै खराब स्थितिबाट जोगाउन त्यससँग हतारमा सम्झौता गरेका थिए । उनले लेखका छन्, ‘मिस्टर नाइस गाइ बन्नुको यही नतिजा हो ।’ दुबै देशबीच केही हप्ताअघि जेनेभामा एउटा सम्झौता भएको थियो, जसअनुसार अप्रिलमा एकअर्कामाथि लगाइएको ट्यारिफमा कटौती गरिएको थियो । यो व्यवस्था ९० दिनका लागि मात्र गरिएको थियो । तर अब यो सम्झौता टुट्ने नजिक पुगेको छ, किनभने दुबै पक्षले एकअर्कामाथि सम्झौताको भावना विपरीत कार्य गरिरहेको आरोप लगाइरहेका छन् । अमेरिकी अधिकारीहरूका अनुसार दुबै पक्षबीचको वार्ता हाल रोकिन पुगेको छ । उनीहरूले वार्तामा प्रगति ल्याउन राष्ट्रपति ट्रम्प र चिनियाँ नेता सी चिनफिङको सहभागिता आवश्यक रहेको बताउँछन् । दुर्लभ खनिजमा प्रतिबन्ध अमेरिकी अधिकारीहरूले सम्झौता भएपछि चीनले दुर्लभ खनिज निर्यातमा लगाइएको प्रतिबन्ध घटाउने आशा गरेका थिए । यी खनिजहरू आईफोन, इलेक्ट्रिक गाडीहरूदेखि एफ-३५ लडाकु विमानहरू र क्षेप्यास्त्र प्रणालीहरूमा प्रयोग हुँदै आइरहेका छन् । उता चीनले अमेरिकाले आफ्ना कम्पनीहरूका लागि प्रविधिको बिक्री सीमित गरिरहेको आरोप लगाएको छ । साथै अमेरिकाले चिनियाँ विद्यार्थीहरूको सङ्ख्या सीमित गर्नसमेत कदम चालेको छ । यसले देखाउँछ कि दुबै देशबीचको प्रतिस्पर्धा अब केवल व्यापारमा मात्र सीमित छैन । चीनको निर्माण क्षेत्रको गतिविधि मे महिनामा लगातार दोस्रो महिनासम्म घटिरहेको छ ।