अष्ट्रेलियाको हरितगृह उत्सर्जनमा वृद्धि, नवीकरणीय ऊर्जामा सुधार

काठमाडौं । अष्ट्रेलियाको सङ्घीय सरकारले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार सन् २०२४ मा देशको हरितगृह ग्यास उत्सर्जनमा सामान्य वृद्धि देखिएको छ । जलवायु परिवर्तन, ऊर्जा, वातावरण तथा पानी मन्त्रालयद्वारा शुक्रबार प्रकाशित प्रतिवेदनअनुसार सन् २०२४ मा अष्ट्रेलियाबाट जम्मा ४४६ दशमलव चार लाख टन बराबरको कार्बन डाइअक्साइड ग्यास उत्सर्जन भएको छ, जुन सन् २०२३ मा ४४६ दशमलव दुई लाख टन थियो । यो वृद्धि करिब शुन्य दशमलव ०५ प्रतिशतको हो । उद्योग र उत्पादनसम्बन्धी प्रक्रियाबाट उत्सर्जन सन् २०२३ को तुलनामा पाँच प्रतिशतले घटेको छ भने कृषिक्षेत्रबाट हुने उत्सर्जनमा पनि दुई प्रतिशतले कमी आएको छ । तर, विद्युत् उत्पादन र यातायातका साधनहरूमार्फत उत्सर्जन बढेको उल्लेख गरिएको छ । विद्युत् क्षेत्रबाट उत्सर्जन दुई दशमलव दुई प्रतिशतले र यातायात क्षेत्रबाट उत्सर्जन एक दशमलव नौ प्रतिशतले बढेको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार सन् २००५ को तुलनामा अष्ट्रेलियाको कुल उत्सर्जन २७ प्रतिशतले घटिसकेको छ भने प्रतिव्यक्ति उत्सर्जनमा ४६ दशमलव तीन प्रतिशतको कमी आएको छ । सरकारले सन् २०३० सम्ममा सन् २००५ को तुलनामा कम्तीमा ४३ प्रतिशत उत्सर्जन घटाउने लक्ष्य राखेको छ । जलवायु परिवर्तन तथा ऊर्जा मन्त्री क्रिस बोवेनले उक्त प्रतिवेदनबारे प्रतिक्रिया दिँदै सरकार उक्त लक्ष्य प्राप्त गर्ने दिशामा अगाडि बढिरहेको जानकारी दिएका छन् । उनले भने, “हामीले निरन्तर प्रयास गर्न जरुरी छ, ताकि सम्पूर्ण अर्थतन्त्रभर हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन सकियोस् ।” मन्त्रालयद्वारा प्रस्तुत अद्यावधिक विवरणअनुसार सन् २०२४ मा नवीकरणीय ऊर्जाबाट उत्पादन पाँच दशमलव ६ प्रतिशतले बढेको छ । तर, तास्मानिया राज्यमा परेको खडेरीका कारण जलविद्युत् उत्पादनमा कमी आएको र त्यसको भरपर्दा कोइला तथा ग्यासबाट उत्पादनमा केही वृद्धि भएको उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार सन् २०२५ को मार्च सम्मको १२ महिनाको अवधिमा अष्ट्रेलियाबाट हुने उत्सर्जन ४४२ लाख टन बराबर रहने प्रारम्भिक अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब एक दशमलव दुई प्रतिशतले कम हो । रासस  

२५ करोड मौरी भागेपछि सावधानी अपनाउन अमेरिकी प्रहरीको चेतावनी

काठमाडौं । मौरी बोकेको ट्रक दुर्घटनापछि मुक्त गर्न हिँडाइएका  २५ करोड मौरी भागेपछि पश्चिमी अमेरिकामा प्रहरीले मानिसहरूलाई मौरीको झुण्डबाट जोगिन आग्रह गरेको छ । अमेरिकाको सुदूर उत्तरपश्चिममा रहेको वासिङ्टन राज्यमा एउटा ‘सेमी ट्रेलर ट्रक’ दुर्घटना भएपछि प्रहरीले स्थानीयलाई सावधानी अपनाउन भनेको हो ।  ह्वाटकम काउन्टी शेरिफले आफ्नो सामाजिक सञ्जाल पेजमा लेखेको छ, अहिले २५ करोड मौरीहरू एक साथ भागेका छन् । मौरी भाग्ने क्रममा बिचमा आउने अवरोधले आक्रामक हुने र एकै ठाउमा झुम्मिने र टोक्ने सम्भावनाको कारण यस क्षेत्रमा सावधानी अपनाउनुहोला ।  क्यानाडासँग सीमा जोडिएको र भ्यानकुभरबाट ३० माइलको दूरीमा रहेको यस क्षेत्रका मौरी विशेषज्ञहरूले सफाइका लागि काम गरिरहँदा सडकहरू बन्द गरिएको छ । पश्चिमी अमेरिकामा कतिपय मौरीपालकहरूले मह उत्पादन गर्ने मात्र लक्ष्य राख्छन् भने कतिपयले आफ्नो बालीमा परागण गर्न कीराको आवश्यकता पर्ने किसानहरूलाई आफ्नो घार भाडामा दिई मनग्य आम्दानी गर्छन् ।  

अमेरिकाले स्टिल र आल्मुनियमको भन्सार दोब्बरले बढाएर ५० प्रतिशत पुर्‍यायो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा भन्सार दोब्बरले बढाएर ५० प्रतिशत पुर्‍याउने योजना बनाएको बताएका छन् । जुन विदेशी प्रतिष्पर्धाबाट घरेलु उद्योगलाई थप जोगाउने उद्देश्यले गरिएको कदम भएको बताएका छन् ।  ट्रम्पले पेन्सिलभेनियाको वेस्ट मिफ्लिनमा रहेको अमेरिकी स्टील प्लान्टको भ्रमणको क्रममा यो घोषणा गरे । जहाँ अमेरिकी स्टिल र जापानको निप्पोन स्टिल बीचको १४ अर्ब डलरको साझेदारीको अनावरण गरिएको थियो ।  ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा यो निर्णयको पुष्टि गर्दै नयाँ दर जुन ४ देखि लागू हुने बताए । ट्रम्प प्रशासनले मार्च १२ मा सबै स्टील र एल्युमिनियम आयातमा २५ प्रतिशतको व्यापक कर लगाएको थियो । जसको अमेरिकी अटो उद्योगबाट तीब्र आलोचना भएको थियो । क्यानडाले तुरुन्तै प्रतिशोधात्मक उपायहरू अपनायो ।