जन्मदर घट्दै जाँदा भियतनाममा दुई सन्तानको सीमा खारेज

काठमाडौं । मुलुकले घट्दो जन्मदरलाई उल्ट्याउन सङ्घर्ष गरिरहेको बेला भियतनामको कम्युनिष्ट सरकारले परिवारलाई दुई बच्चामा सीमित गर्ने आफ्नो लामो समयदेखिको नीति हटाएको सरकारी सञ्चारमाध्यमले बुधबार बताएको छ । देशले सन् १९८८ मा दम्पतीलाई दुईभन्दा बढी बच्चा जन्माउन प्रतिबन्ध लगाएको थियो । तर परिवारको आकार अब प्रत्येक व्यक्तिगत जोडीको निर्णय भएको भियतनाम समाचार एजेन्सीले बताएको छ । देशले विगत तीन वर्षमा ऐतिहासिक रूपमा कम जन्म दरको अनुभव गरेको छ । कुल प्रजनन दर सन् २०२४ मा प्रतिमहिला प्रतिस्थापन स्तरभन्दा तल एक दशमलव ९१ बच्चामा झरेको स्वास्थ्य मन्त्रालयले यस वर्ष बतायो । जन्मदर सन् २०२१ मा प्रतिमहिला दुई दशमलव ११ बच्चाबाट घटेर सन् २०२२ मा दुई दशमलव ०१ र सन् २०२३ मा एक दशमलव ९६ पुगेको छ । यो प्रवृत्ति सहरीकृत, आर्थिक रूपमा विकसित क्षेत्रहरूमा, विशेष गरी हनोई र हो ची मिन्ह सिटी जस्ता ठूला सहरहरूमा जीवनयापनको लागत बढ्दै जाँदा स्पष्ट देखिन्छ । लिङ्ग असन्तुलन  यस वर्षको सुरुमा उपस्वास्थ्य मन्त्री न्गुयेन थि लिन हुओङले नीति समायोजन र सार्वजनिक अभियानहरूका बाबजुद परिवारहरूलाई बढी बच्चा जन्माउन प्रोत्साहित गर्न गाह्रो भइरहेको चेतावनी दिए । उनले घट्दो जन्मदरले बुढेसकालको जनसङ्ख्या र कार्यबलको अभावसहित दीर्घकालीन सामाजिक–आर्थिक विकासका लागि चुनौतीहरू खडा गरेको कुरामा जोड दिए । उनले समाजलाई परिवार नियोजनमा मात्र ध्यान केन्द्रित गर्ने आफ्नो मानसिकतालाई जनसङ्ख्या र विकासको व्यापक परिप्रेक्ष्यमा परिवर्तन गर्न आग्रह गरे । भियतनामले केटाहरूको ऐतिहासिक प्राथमिकताका कारण लिङ्ग असन्तुलनसँग पनि जुध्दै छ । सरकारी सञ्चारमाध्यमका अनुसार मङ्गलबार स्वास्थ्य मन्त्रालयले ‘भ्रूणको लैङ्गिक चयनलाई नियन्त्रण गर्न’ हालको जरिवानालाई तीन गुणा बढाएर तीन हजार आठ सय डलर बनाउन प्रस्ताव गरेको छ । भियतनाममा जन्मअघि आमाबुवालाई उनीहरूको बच्चाको लिङ्गको बारेमा जानकारी दिन निषेध छ । साथै लिङ्ग–चयनका कारणले गर्भपतन गराउन निषेध छ र कानून उल्लङ्घन गर्ने क्लिनिकहरूमाथि दण्डको व्यवस्था छ । जन्मको लिङ्ग अनुपातमा सुधार भए पनि प्रत्येक एक सय केटीको तुलनामा एक सय १२ केटाको दरमा विकृत रहेको छ । भियतनामको छिमेकी चीनले सन् १९८० को दशकमा अत्यधिक जनसङ्ख्याको डरले लगाएको आफ्नै कडा ‘एक सन्तान नीति’ लाई सन् २०१६ मा अन्त्य गर्‍यो र सन् २०२१ मा दम्पतीहरूलाई तीन सन्तान जन्माउने अनुमति दियो । तर धेरै देशमा जस्तै बढ्दो जीवनयापनको लागतले जन्मदरमा बाधा पुर्‍याएको छ र यी कदमले चीनको जनसाङ्ख्यिकीय गिरावटलाई उल्ट्याउन असफल भएको छ । चीनको जनसङ्ख्या २०२४ मा लगातार तेस्रो वर्ष घटेको छ । रासस  

चीनको युनानमा ५.० म्याग्निच्युडको भूकम्प

काठमाडौं । चीन भूकम्प नेटवर्क केन्द्रका अनुसार दक्षिणपश्चिम चीनको युनान प्रान्तको डालीको बाई स्वायत्त प्रान्तको एर्युआन काउन्टीमा बिहीबार बिहान ४ः३१ बजे (बेइजिङ समय) ५.० म्याग्निच्युडको भूकम्प गएको छ ।  भूकम्पको केन्द्रबिन्दु २६.२६ डिग्री उत्तर अक्षांश र १००.०३ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको थियो । भूकम्प १० किलोमिटरको गहिराइमा गएको बताइएको छ । एर्युआन काउन्टी, डाली शहर र हेकिङ काउन्टीमा भूकम्पको धक्का महशुस गरिएको थियो ।   

१२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध

काठमाडौं । अमेरिकाले १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रा प्रतिबन्धसँग सम्बन्धित आदेशमा हस्ताक्षर गरेको ह्वाइट हाउसले जनाएको छ । ती देशमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन् । यस्तै, बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलालगायत अन्य सात देशका नागरिकलाई पनि अमेरिका यात्रामा आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ । प्रतिबन्ध यही जुन ९ देखि लागु हुने अमेरिकाले जनाएको छ।