विश्वव्यापी संकटसँग जुध्दै निसान : २० हजार रोजगारी कटौती र ७ कारखाना बन्द

काठमाडौं । जापानी अटोमोबाइल कम्पनी निसान मोटर कम्पनीले आफ्नो व्यवसाय पुनर्संरचना गर्ने योजनाअन्तर्गत सन् २०२७ सम्म विश्वभरका सात उत्पादन प्लान्ट बन्द गर्ने घोषणा गरेको छ । यससँगै झन्डै २० हजार कर्मचारी कटौती गरिनेछ, जुन कम्पनीको कुल कार्यबलको करिब १५ प्रतिशत हो । कम्पनीले अमेरिकी ट्यारिफ नीति तथा विश्वव्यापी बजारमा बढ्दो अनिश्चितताका कारण सन् २०२६ मा समाप्त हुने आर्थिक वर्षको नाफा अनुमान स्थगित गरेको छ । निसानले मार्च २०२५ मा समाप्त हुने आर्थिक वर्षमा ६७०.८ अर्ब येन (झन्डै ४.५४ अर्ब अमेरिकी डलर) को शुद्ध घाटा व्यहोरेको छ । जुन चार वर्षमा पहिलोपटक वार्षिक घाटा हो । यो घाटा मुख्यतः अमेरिकी बजारमा बढेको विक्री खर्च र उत्पादन प्लान्टहरूको पुनर्मूल्याङ्कनबाट भएको क्षतिका कारण भएको कम्पनीको भनाइ छ । पुनरुत्थान योजना अन्तर्गत, निसानले प्रारम्भिक रूपमा ९ हजार कर्मचारी कटौतीको योजना अघि सारेको थियो । अब थप ११ हजार कटौती गरी कुल २० हजार रोजगारी घटाउने अन्तिम निर्णय गरिएको छ । कम्पनीले यसै योजनाबाट आफ्नो खर्च घटाउँदै लाभदायकता फर्काउने लक्ष्य लिएको छ ।

भारत र पाकिस्तानबीचको संघर्षबारे साउदी अरबमा ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको युद्धविराममा अमेरिकाको भूमिका पुनः दोहोर्‍याएका छन् । साउदी अरब पुगेका राष्ट्रपति ट्रम्पले रियाधमा आयोजित साउदी-अमेरिका लगानी फोरमलाई सम्बोधन गर्दै भारत-पाकिस्तानको उल्लेख गरी उक्त संघर्षमा लाखौं मानिस मारिन सक्ने बताए । ट्रम्पले भने, 'मेरो सबैभन्दा ठूलो आशा शान्ति स्थापना गर्ने र मानिसहरूलाई जोड्ने हो । मलाई युद्ध मन पर्दैन ।' 'केही दिनअघि मात्र मेरो प्रशासनले भारत र पाकिस्तानबीच बढ्दो हिंसा रोक्न ऐतिहासिक युद्धविराम गराउन सफलता पाएको हो,' उनले थपे । अमेरिकी राष्ट्रपतिले 'आणविक मिसाइलको व्यापार होइन, तपाईंहरूले जसरी सुन्दर तरिकाले बनाउनुहुन्छ, ती वस्तुहरूको व्यापार गरौं’ भनेको सुनाए ।  उनले भारत र पाकिस्तान दुवै देशका नेताहरूलाई शक्तिशाली र दृढ नेताको रूपमा वर्णन गरे । यस क्रममा ट्रम्पले युद्धविराममा सहमति गराउन अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र विदेशमन्त्री मार्को रुबियोको विशेष सराहना गरेका छन् ।

सबैभन्दा गरिब राष्ट्रपति जोस मुजिकाको ८९ वर्षको उमेरमा निधन

काठमाडौं । लाटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति जोस मुजिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । जोस मुजिकालाई 'पेपे' भनेर चिनिन्थ्यो । २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका पूर्व गुरिल्ला नेता मुजिका आफ्नो साधारण जीवनशैलीका कारण दुनियाँभर 'सबैभन्दा गरिब राष्ट्रपति'को नामले प्रसिद्ध छन् । उरुग्वेका वर्तमान राष्ट्रपति यामान्डु ओरसीले जोस मुजिकाको निधनको जानकारी एक्स (पूर्व ट्विटर) मा दिँदै लेखे, 'हामीलाई तपाईंले जे-जे दिनुभयो, त्यसका लागि र आफ्नो जनताप्रतिको गहिरो माया लागि धन्यवाद ।’ पूर्वराष्ट्रपति मुजिकाको मृत्यु कसरी भयो भन्ने विषयमा अझै स्पष्ट भइसकेको छैन, यद्यपि उनी इसोफेगियल (घाँटी) क्यान्सरबाट पीडित थिए ।