क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि

काठमाडौं । क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अङ्कले वृद्धि भई ६.९ प्रतिशतमा पुगेको छ । यसअघि मार्चमा पनि ०.१ प्रतिशत अङ्कको वृद्धिसँगै बेरोजगारी दर बढेको राष्ट्रिय तथ्याङ्क निकाय स्ट्याटिस्टिक्स क्यानडाले शुक्रबार जानकारी दिएको छ । यो वृद्धिसँगै बेरोजगारी दर सन् २०२४ को नोभेम्बरमा पुगेको स्तरमा फर्किएको हो, जुन जनवरी २०१७ यताकै उच्चतम दर हो । निकायका अनुसार, अप्रिल महिनामा रोजगारी खोजिरहेका व्यक्तिहरूले अघिल्लो वर्षको तुलनामा अझै बढी कठिनाइको सामना गर्नु परेको देखिएको छ । मार्चमा बेरोजगार रहेका ६१ प्रतिशत व्यक्ति अप्रिलमा पनि बेरोजगार नै रहेका थिए, जुन अघिल्लो वर्षको तुलनामा उच्च अनुपात हो । अप्रिलमा समग्र रोजगारीमा खासै परिवर्तन देखिएन भने रोजगारी दर ०.१ प्रतिशत अंकले घटेर ६०.८ प्रतिशतमा झरेको बताइएको छ । १५ देखि ६९ वर्ष उमेर समूहका कर्मचारीहरूमध्ये १३.२ प्रतिशतले आफ्नो कार्यस्थलमा आगामी छ महिनाभित्र कर्मचारी सङ्ख्या घट्ने अपेक्षा व्यक्त गरेका छन् । यस्तै, अमेरिकी मागमा निर्भर क्यानाडेली निर्यात उद्योगमा कार्यरत कर्मचारीहरूमध्ये यो अनुपात १८.६ प्रतिशत रहेको स्ट्याटिस्टिक्स क्यानडाले जनाएको छ । रासस

मलेसियाको बेरोजगारी दर घटेर ३.१ प्रतिशतमा, श्रम बजार थप लचिलो बन्दै

काठमाडौं । मलेसियाको श्रम बजारले आशावादी संकेत देखाउँदै यस वर्षको पहिलो त्रैमासिकमा बेरोजगारी दर ०.१ प्रतिशतले घटेर ३.१ प्रतिशतमा पुगेको छ । मलेसियाको तथ्याङ्क विभागका अनुसार बेरोजगारको संख्या २.३ प्रतिशतले घटेर ५ लाख २६ हजार ३ सयमा झरेको हो । श्रम बजारमा देखिएको यो सुधारले देशको आर्थिक स्थिरता र रोजगार सृजनामा सकारात्मक संकेत दिएको बताइएको छ । आगामी महिनाहरूमा बलियो श्रम मागका कारण बजार विस्तार हुने अपेक्षा गरिएको छ । सन् २०२५ सम्म श्रम बजारको स्थिरता सुनिश्चित गर्न धेरै रणनीतिक पहलहरू गरिएका छन् । मलेसियाली श्रम बजार विश्वव्यापी आर्थिक अनिश्चितता सामना गर्न लचिलो र दिगो ढंगले अघि बढिरहेको विश्लेषकहरूले बताएका छन् ।  

स्पेनको ग्यास्ट्रोनोमी अभियानमा ८४ लाख युरो लगानी, 'फूड नेसन'को छैठौं संस्करण सुरु

काठमाडौं । स्पेनले आफ्नो खाद्य र ग्यास्ट्रोनोमी उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न ८४ लाख युरो (झन्डै ९४६ मिलियन अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ । 'फूड नेसन' नामक अभियानको छैटौं संस्करणअन्तर्गत यो लगानी गरिन लागेको हो । स्पेनको कृषि, मत्स्यपालन तथा खाद्य मन्त्रालय र स्पेन निर्यात तथा लगानी संस्थाले सेप्टेम्बर ३०, २०२६ सम्मका लागि आर्थिक सहयोग गर्न नयाँ सम्झौता हस्ताक्षर गरेका छन् । सन् २०२० मा सुरु गरिएको फूड नेसन परियोजनाले स्पेनलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो खाद्य आपूर्तिकर्ताको रूपमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ । यसपटकको संस्करणले अल्जेरिया र सर्बियामा नयाँ सम्भावनाहरूको खोजी गर्दै, चीन, जापान, मोरक्को र मेक्सिको जस्ता रणनीतिक बजारमा केन्द्रित प्रयास गर्नेछ । यस अभियान अन्तर्गत, स्पेनी खाद्य कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा सशक्त बनाउन, चीन, जापान, अमेरिका, र बेलायतजस्ता प्रमुख देशहरूमा बजार बुद्धिमत्ता दिने सल्लाहकार परिषदहरू समेत गठन गरिने छ ।