एकातिर 'अमेरिकालाई महान बनाउने' लक्ष्यमा ट्रम्प, अर्कोतिर कम्पनीहरू धमाधम डुब्दै
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक आफ्नो देशलाई 'महान' बनाउने अभियानमा छन् र त्यसका लागि उनले विश्वका धेरै देशहरूमा ट्यारिफ (शुल्क) लगाएका छन् । तर अर्कोतिर अमेरिकामा कम्पनीहरू तीव्र गतिमा डुबिरहेका छन् । सन् २०२५ को पहिलो त्रैमासिकमा मात्रै १८८ ठूला कम्पनीहरू डुबिसकेका छन् । अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा यो संख्या ४९ ले बढी हो । यो संख्या सन् २०१० यताकै कुनै पनि त्रैमासिकको सबैभन्दा उच्च हो । यहाँसम्म कि २०२० मा फैलिएको कोरोना महामारीको समयमा पनि यो संख्या १५० नाघेको थिएन । यसरी हेर्दा अमेरिकामा ठूला कम्पनीहरू टाट पल्टिने मामिलामा १५ वर्ष पुरानो रेकर्ड यसपालि टुटेको छ । सन् २०२४ मा कुल ६९४ ठूला कम्पनीहरू टाट पल्टिएका थिए । कुन क्षेत्र बढी प्रभावित ? २०२५ को पहिलो त्रैमासिकमा सबैभन्दा बढी असर औद्योगिक क्षेत्रमा परेको देखिन्छ, जहाँ ३२ कम्पनीहरू टाट पल्टिएका छन् । त्यस्तै, उपभोक्ता क्षेत्रमा २४ कम्पनीहरू र स्वास्थ्य सेवा क्षेत्रमा १३ कम्पनीहरूले आफैलाई टाट पल्टेको घोषित गरेका छन् । धेरै विश्लेषकहरूको भनाइ छ कि विदेशी सामानमा ट्यारिफ बढ्दा देशभित्र महँगी बढ्नेछ र त्यसले देशलाई मन्दीको चपेटामा ल्याउनेछ। राष्ट्रपति ट्रम्पले चीनबाट आयात हुने वस्तुहरूमा २४५ प्रतिशतसम्मको ट्यारिफ लगाएका छन्। यसको असरस्वरूप धेरै अमेरिकी कम्पनीहरू चीनबाट उत्पादन हटाउने तयारीमा छन्। तर, अमेरिका भित्रै उत्पादन गर्न खोजेमा लागत अत्यधिक महँगो पर्नेछ। त्यसैले आउँदा दिनहरूमा थप कम्पनीहरू दिवालिया हुने सम्भावना देखिएको छ। मन्दीको खतरा सन् २०१० को पहिलो त्रैमासिकमा २५४ कम्पनीहरू टाट पल्टिएका थिए, जबकि सन् २०२४ को पहिलो त्रैमासिकमा यो संख्या १३९ थियो । विशेषज्ञहरू भन्छन् कि कमजोर वित्तीय अवस्थाका कम्पनीहरू अहिले समस्यामा परेका छन् । उच्च ब्याज दर, ऋण पुनः वित्तीयकरणको कठिनाइ र उपभोक्ता खर्चमा कमीले कम्पनीहरूलाई आर्थिक दबाबमा पारेको छ, जसले टाट पल्टिने घोषणाहरूको संख्या बढाएको हो । अब ट्यारिफ युद्धका कारण ती कम्पनीहरूको अवस्था झन् बिग्रन सक्छ । महँगीले उपभोक्ताहरू खर्च घटाउने सम्भावना छ, जसले मागमा कमी ल्याउनेछ । यही कारणले अमेरिका गहिरो मन्दीमा फस्न सक्ने चिन्ता व्यक्त गरिएको छ । ट्रम्पको अटो शुल्क कायम रहे फोर्ड मोटरले मूल्य बढाउन सक्ने अमेरिकामा मन्दीको आशंका, चीनलाई विश्वमा राज गर्ने मौका
वैज्ञानिकले पानी हालेर बनाए जेलीजस्तो लचिलो ब्याट्री, खराबी आए आफै पनि ठीक हुनसक्ने
काठमाडौं । ब्याट्री सधैंजसो कडा र ठोस हुने गरेको छ । चाहे घडीमा प्रयोग हुने ब्याट्री होस् या तपाईंको स्मार्टफोनको, यी सबै कडा नै हुन्छन् । तर वैज्ञानिकहरूले अब यस्तो धारणा तोडेका छन् । रिपोर्टहरूका अनुसार उनीहरूले जेली वा रबरजस्तो लचिलो र मोड्न सकिने ब्याट्री आविष्कार गरेका छन् । विशेष कुरा के छ भने यस ब्याट्रीमा आफूलाई आफै मर्मत गर्ने क्षमता छ, अर्थात् खराबी आएमा पनि आफै ठीक हुन सक्छ । भनिएको छ कि यसलाई मोड्न सकिन्छ, चक्कुले काट्न सकिन्छ, तर पनि यसले काम गरिरहन्छ । वैज्ञानिकहरूले यसमा धेरै परीक्षण गरेका छन् र सबै सफल भएका छन् । रोचक कुरा त के छ भने यस ब्याट्रीमा ६० प्रतिशत पानी प्रयोग गरिएको छ। क्यालिफोर्निया विश्वविद्यालयको अद्भूत काम रिपोर्टहरू अनुसार क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीका वैज्ञानिकहरूले यस्तो ब्याट्री बनाएका हुन् । यसलाई ५०० पटकसम्म चार्ज गरेपछि पनि यसको कार्यक्षमता प्रभावित हुँदैन । वैज्ञानिकहरू लामो समयदेखि यस्तो ब्याट्री निर्माण गर्ने प्रयासमा थिए, जुन विभिन्न तापक्रममा काम गर्न सक्ने र प्रयोग गर्न सजिलो होस् । अन्ततः उनीहरू यसमा सफल भएका छन् । केले बनाइयो ? बताइन्छ कि वैज्ञानिकहरूले जुन ब्याट्री बनाएका छन्, त्यो ज्वीटरआयोनिक पोलिमरबाट बनाइएको हो । स्मार्टफोनहरूमा कति उपयोगी हुन्छ भन्नेबारे वैज्ञानिकहरू अझ निष्कर्षमा पुगिसकेका छैनन् । पर्यावरणमैत्री ब्याट्री वैज्ञानिकहरूले बनाएको यो ब्याट्री वातावरणका लागि धेरै हानिकारक छैन । रिपोर्टअनुसार यो ब्याट्री क्यालिफोर्निया विश्वविद्यालय, जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजी र हङकङ विश्वविद्यालय अफ साइन्स एन्ड टेक्नोलोजीका वैज्ञानिकहरूको संयुक्त प्रयासबाट बनाइएको हो । यससँग सम्बन्धित अनुसन्धान साइन्स जर्नलमा प्रकाशित गरिएको छ । एक महिनासम्म जलाइयो एलइडी लाइट वैज्ञानिकहरूले यो ब्याट्रीलाई एलइडी लाइटसँग जडान गरेर परीक्षण गरेका थिए । बताइन्छ कि ब्याट्रीले एक महिनाभन्दा बढी समयसम्म राम्रोसँग काम गरिरह्यो । उनीहरूले जुन प्रविधि प्रयोग गरेका थिए, त्यो सफल भएको देखियो । दाबी गरिएको छ कि यो ब्याट्री अहिलेको लिथियम–आयन ब्याट्रीभन्दा अझ राम्रो छ किनकि यो क्षति हुनबाट जोगिन सक्छ । यसमा पानीजस्ता वातावरणमैत्री तत्व प्रयोग गरिएको छ । ब्याट्रीमा पानीको प्रयोग बताइन्छ कि ब्याट्री बनाउन वैज्ञानिकहरूले ज्वीटरआयोनिक पोलिमर प्रयोग गरेका छन् । यस पोलिमरमा सकारात्मक र नकारात्मक दुवै चार्ज हुन्छन् । यी पोलिमर पानीका अणुसँग बाँधिने क्षमता राख्छन् । सकारात्मक चार्जले पानीका अणुहरूलाई आकर्षित गर्छ भने नकारात्मक चार्जले लिथियम आयनहरूलाई । यसरी पानी ब्याट्रीभित्र राखिएको हुन्छ र भोल्टेज प्रयोग गर्दा लिथियम आयन बाहिरिने सम्भावना कम हुन्छ । वैज्ञानिकहरूले ब्याट्रीमा एस्रीलीक एसिड र फ्लोरिन फ्री लिथियम साल्ट बेस हाइड्रोजेल इलेक्ट्रोलाइट पनि मिसाएका छन् ।
अष्ट्रेलियामा बेरोजगारी दर बढ्यो, रोजगारीमा पनि मन्दी
काठमाडौं । अष्ट्रेलियामा बेरोजगारी दर बढ्दै गएको सरकारी तथ्याङ्कले देखाएको छ । अष्ट्रेलियन ब्यूरो अफ स्टाटिस्टिक्स (एबीएस) का अनुसार, मार्च महिनामा देशको बेरोजगारी दर ४.१ प्रतिशत पुगेको छ, जुन फेब्रुअरीमा ४.० प्रतिशत थियो । एबीएसले बेरोजगारी दरमा देखिएको वृद्धिलाई मौसमी उतारचढावसँग जोडेको छ । यसअघि लगातार पाँच महिना बेरोजगारी दर ४.० प्रतिशतमै स्थिर रहेको थियो । यद्यपि, पछिल्लो १२ महिनामा अष्ट्रेलियामा रोजगारीमा रहेका व्यक्तिको संख्या ३ लाख ८ हजारले बढेको देखिएको छ, जुन वृद्धि दर ९२.२ प्रतिशत हो । यो दर महामारीपूर्वको २० वर्षको औसत वृद्धिदर (२ प्रतिशत) भन्दा धेरै हो । फेब्रुअरीदेखि मार्चको बीचमा मात्रै ३२ हजार २०० नयाँ रोजगारी सिर्जना भएको भए पनि बेरोजगार व्यक्तिहरूको संख्या पनि ३ हजारले बढेको एबीएसको प्रतिवेदनमा उल्लेख छ । एबीएसका श्रम तथ्याङ्क प्रमुख सीन क्रिकका अनुसार, मार्चमा रोजगार–जनसंख्या अनुपात ६४.१ प्रतिशत रहेको छ । उनले रोजगारीमा वृद्धिका बाबजुद काम गर्ने घण्टामा ०.३ प्रतिशतको गिरावट आएको उल्लेख गर्दै त्यसको कारण चक्रवातजस्ता मौसमी घटनाहरू भएको बताए । रोजगारी सिर्जनामा केही सुधार देखिए पनि बेरोजगारी दरमा आएको वृद्धिले अष्ट्रेलियाको श्रम बजारमा अस्थिरता देखाएको छ । साथै, काम गर्ने घण्टामा कमी आउनु पनि सम्भावित आर्थिक मन्दीको संकेतको रूपमा लिइएको छ ।