पेट्रोलमा १० प्रतिशत इथानोल मिसाइँदै, मागियो निवेदन

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०८२ फागुन २८ गते नेपाल राजपत्रमा प्रकाशित गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२’ अनुसार निगमले यो पहल चालेको हो ।  राजपत्रमा उल्लेखित गुणस्तर र विधि बमोजिम स्वदेशी कच्चा पदार्थ प्रयोग गरी उत्पादन गरिएको पेट्रोलमा मिसाउनयोग्य इथानोल खरिद गरिने निगमले जनाएको छ । निगमका प्रवक्ता मनोज ठाकुरले सरकारले जारी गरेको राजपत्रको व्यवस्था र मापदण्डअनुसार इथानोल उत्पादन गर्न इच्छुक उद्योगी तथा व्यवसायीहरूलाई निगमको सम्पर्कमा आउन आह्वान गरिएको जानकारी दिए ।  प्रवक्ता ठाकुरले निगमको मुख्य काम उत्पादित इथानोल खरिद गर्ने र त्यसलाई तोकिएको मात्रामा पेट्रोलमा मिसाउनु रहेको स्पष्ट पारे । राजपत्रमा भएको व्यवस्थाअनुसार पेट्रोलमा बढीमा १० प्रतिशतसम्म इथानोल मिसाउन सकिनेछ । तर, कति मात्रामा मिसाउने भन्ने अन्तिम निर्णय उपलब्धताको आधारमा मन्त्रिपरिषद्ले तय गर्ने प्रवक्ता ठाकुरले जानकारी दिए ।  ‘अहिले हामीले को-को इच्छुक हुनुहुन्छ भनेर आवेदन मात्र माग गरेका हौं,’ उनले भने, ‘इथानोलको उपलब्धता र सरकारको निर्णयका आधारमा मिश्रणको प्रक्रिया अघि बढ्नेछ ।’ मापदण्ड र गुणस्तर अनिवार्य इथानोल उत्पादन गर्ने उद्योगहरूले राजपत्रमा उल्लेख गरिएका सम्पूर्ण कानुनी व्यवस्था, गुणस्तर र मापदण्डको पूर्ण परिपालना गर्नुपर्ने निगमले जनाएको छ ।  राजपत्रमा कसको दायित्व के हुने, उत्पादनको स्तर कस्तो हुनुपर्ने र खरिद प्रक्रिया कसरी अगाडि बढ्ने भन्ने विषय स्पष्ट रूपमा उल्लेख गरिएको छ । यस सम्बन्धी विस्तृत विवरण र कानुनी व्यवस्था निगमको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ भने उत्पादन तथा आपूर्ति गर्न इच्छुक स्वदेशी उत्पादकहरूलाई निगममा निवेदन दर्ता गर्नसमेत आह्वान गरिएको छ। निगमका अनुसार इथानोल उत्पादनका लागि विभिन्न स्वदेशी कच्चा पदार्थहरू प्रयोग गर्न सकिनेछ । जसमा चिनी उद्योगबाट प्राप्त हुने खुदो (मोलासेस), नेपियर घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ (बायोमास) रहेका छन् ।  यसैगरी, पराल, मकैको ढोड, गहुँको छ्वाली जस्ता कृषि अवशेष, खाद्यान्नका लागि प्रयोग गर्न नमिल्ने सडेगलेको अन्न, सिमल तरुल (कास्साभा) तथा कुहाउन (फर्मेन्टेसन) का लागि चाहिने मर्चा (यिस्ट) र अन्य आवश्यक रसायनहरूलाई कच्चा पदार्थको रूपमा प्रयोग गर्न अनुमति दिइएको छ ।  तर, मानव खाद्यान्नको रूपमा प्रयोग हुने सग्लो वा राम्रो अन्नलाई भने इथानोल उत्पादनमा कच्चा पदार्थको रूपमा प्रयोग गर्न पूर्ण रूपमा बन्देज लगाइएको छ ।  इथानोल मिश्रणको यो योजनाले स्वदेशी उद्योगलाई प्रोत्साहन मिल्ने र पेट्रोलियम आयातमा हुने खर्च केही हदसम्म कम हुने विश्वास गरिएको छ । निगमले अहिले प्रारम्भिक चरणमा इच्छुक उत्पादकहरूको पहिचान गर्न र उनीहरूको क्षमता बुझ्न आवेदन प्रक्रिया खुला गरेको हो । २२ वर्षपछि ब्यूँझियो इथानोल योजना : पेट्रोलमा १० प्रतिशत जैविक इन्धन मिसाउने सरकारको तयारी   

नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहले पाएका छन् । निगमका सबैभन्दा वरिष्ठ कर्मचारी रहेका साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सो जिम्मेवारी तोकेको हो ।  यसअघिका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले नयाँ सरकारको चाहनाबमोजिम गत वैशाख ३० गते आफ्नो पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गरेका थिए ।  उनले राजीनामा दिएको एक सातापछि मन्त्रालयले वरिष्ठताका आधारमा साहलाई निगमको निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको हो ।  नायब कार्यकारी निर्देशक पदमा कार्यरत साहले यसअघि निगमको अर्थ र कर्मचारी प्रशासन विभागको नेतृत्व गर्दै आएका थिए ।  निगमका अनुसार साहले निगमको निमित्त प्रमुख भएर काम गर्न लागेको यो दोस्रोपटक हो ।  यसअघि अढाई वर्षअघि (२०८० मंसिर २६ गते) तत्कालीन कार्यकारी निर्देशक उमेश थानीले राजीनामा दिएपछि पनि साहले दुई महिनाभन्दा बढी समय निमित्त प्रमुखको रूपमा निगमको कमाण्ड सम्हालेका थिए । चार्टर्ड एकाउन्टेन्ट (सीए) समेत रहेका साह निगमको वित्तीय पारदर्शिता र लेखा प्रणाली सुधार गर्ने व्यक्तिका रुपमा चिनिन्छन् ।   उनी आयल निगमको सेवामा प्रवेश गर्नुअघि निगमको लेखा परीक्षण नियमित हुने गरेको थिएन । साह आएपछि भने निगमको वित्तीय विवरणहरूको नियमित रूपमा लेखा परीक्षण हुँदै आएको छ । वरिष्ठता र व्यावसायिक दक्षताका कारण साहलाई निगमको हालको नेतृत्व सहज रूपमा अगाडि बढाउने जिम्मेवारी सुम्पिएको मन्त्रालयले जनाएको छ ।

नेपाल आयल निगमको १० प्रतिशत लाभांश घोषणा, सेयरधनीलाई १ अर्ब १० करोड रूपैयाँ

काठमाडौं । नेपाल आयल निगमले लाभांश वितरण गर्ने भएको छ । आयल निगमको माघ ४ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । निगमको तथ्याङ्क अनुसार चुक्ता पुँजी ११ अर्ब रुपैयाँ रहेको छ । सो आधारमा निगमले सेयरधनीहरूलाई १ अर्ब १० करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको हो । लाभांश प्रस्ताव पारित गर्न निगमले माघ २८ गते आयल निगमको सभा हल बबरमहल काठमाडौंमा अपरान्ह १ बजे ४४औं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । निगमको सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा तथा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण, लेखापरीक्षकको नियुक्ति, पारिश्रमिक एवं खर्च अनुमोदन गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्न महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एक÷एक जना प्रतिनिधि तोक्नेछ । यसअघि निगमले आर्थिक वर्ष २०८०/८१ मा सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । आयल निगमले गत आर्थिक वर्षमा १३ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । साथै गत वर्ष निगमले कुल ३ खर्ब ६७ अर्ब रुपैयाँको व्यावसायिक कारोबार गरेको थियो भने राज्यलाई १ खर्ब २४ अर्ब रुपैयाँ राजस्व योगदान पुर्याएको जनाएको छ । निगमले वार्षिक रूपमा पेट्रोल ६३ हजार किलोलिटर, डिजेल २ लाख २२ हजार किलोलिटर, हवाई इन्धन १८ हजार किलोलिटर र ४६ हजार टन एलपी ग्यास आपूर्ति गर्दै आएको छ । 

नेपाल आयल निगमको नाफा साढे ९ अर्ब रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा ९ अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । निगमको ४३ औँ वार्षिक साधारण सभामा सो जानकारी दिइएको हो । निगमले गत आवमा ३ खर्ब ५६ अर्ब ७२ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेकोमा ३ खर्ब ६४ अर्ब ५२ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो ।  निगमले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ३ खर्ब ८३ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ बिक्री गरेको जनाएको छ । पेट्रोलियम पदार्थको आयात र बिक्री वितरणमा एकाधिकार रहेको निगमले मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउँदै आइरहेको छ ।

नेपाल आयल निगमले सेयरधनीलाई १ अर्ब १० करोड रूपैयाँ लाभांश बाँड्ने

काठमाडौं । नेपाल आयल निगमले लाभांश वितरण गर्ने भएको छ । आयल निगमको चैत ४ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको हो । निगमको तथ्याङ्क अनुसार चुक्ता पुँजी ११ अर्ब रुपैयाँ रहेको छ । सो आधारमा निगमले सेयरधनीहरूलाई १ अर्ब १० करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको हो । लाभांश प्रस्ताव पारित गर्न निगमले चैत २९ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्ष सिंहदरबारमा अपरान्ह १ बजे ४३औं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । निगमको सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा तथा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण, लेखापरीक्षकको नियुक्ति, पारिश्रमिक एवं खर्च अनुमोदन गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एक/एक जना प्रतिनिधि तोक्नेछ । यसअघि निगमले आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

नेपाल आयल निगमले १० अर्ब नाफा गरेको कार्यकारी निर्देशक भट्टको दावी

काठमाडौं । नेपाल आयल निगम कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले निगमले यस वर्ष १० अर्ब रुपैयाँ नाफा गरेको दावी गरेका छन् । शुक्रबार निगमको ५५औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो दावी गरेका हुन्। उनले भने, ‘निगम देशको ठुलो संस्थाहरूमध्येको पहिलो ठूलो कारोबार गर्ने संस्था बन्न सफल भएको छ । हामीले १० अर्ब नाफा गर्न सफल भएका छौं ।’ कार्यकारी निर्देशक भट्टले पेट्रोलियम पदार्थको खपत बढिरहेको अवस्थामा देशको ऊर्जा सुरक्षालाई उच्च प्राथमिकता दिँदै पेट्रोलियम पदार्थको निरन्तर सहज र सुलभ आपूर्ति सुनिश्चित गरिएको बताए । उपभोक्ताको हितलाई ध्यानमा राखी संस्थाले अन्तर्राष्ट्रिय बजारले तोकेको मूल्य र गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री वितरण गर्न सफल भएको उनको जिकिर छ। यसका साथै उनले निगमले भण्डारण क्षमता विस्तार पेट्रोलियम पाइपलाइन विस्तार र डिपोको आधुनिकीकरणका साथै मानव संसाधनको विकिस तथा सूचना प्रविधिको विकासमा जोड दिँदै निगमको सुधारका कामहरू अघि बढाइएको बताए। नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोज दासले विद्युतीय गाडीहरूले बजार लिए भने पाइपलाइन विस्तार कति उपयोगी हुन सक्ला भन्ने चिन्ता व्यक्त गरे ।

नेपाल आयल निगमले माग्यो ३१ जना कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाल आयल निगमले विभिन्न पदमा कर्मचारी माग गरेको छ । निगमले विभिन्न पदमा ३१ जना नयाँ कर्मचारीका लागि आवेदन माग गरेको हो । निगमले आज एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी रुपमा पदपूर्ति गर्ने गरी विभिन्न तहमा ३१ कर्मचारी माग गरेको हो । जसअनुसार प्रबन्धक (मेकानिकल), उपप्रबन्धक (सीए), सहायक प्रबन्धक (प्रशासन), सहायक, टेक्नेसियन लगायतका पदमा कर्मचारी माग गरेको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । सो समयमा पनि आवेदन दिन नभ्याएकाले त्यसको थप ७ दिनभित्र दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

नेपाल आयल निगमले आइपीओ जारी गर्दै

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्ने तयारीमा रहेको बताएका छन् । मंगलबार नेपाल एलपि ग्याँस उद्योग संघको २८ औं वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन् । धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको जानकारी दिए । कम्तिमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधरणको लागि आईपीओ जारी गर्न प्रतिवद्ध रहेको बताए । सर्वसाधरण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने बताए । उनले व्यवसायीहरुलाई स्टेकहोल्डर बनाउने र सर्वसाधरणलाई आइपीओ दिने तयरी रहेको बताए । विभिन्न प्राविधिक पक्षहरु रहेकाले केही समय लाग्ने जानकारी दिए । ग्यास व्यवसायीहरुप्रति आयल निगम निर्मम हुने सोचमा नभएको बताए । सरकारले व्यवसायीहरुका मागहरु समयसापेक्ष रुपमा सम्बोधन चाँडै गर्नेमा जोड दिए । मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने हिसावले नेपाल आयल निगमले वि.स.२०८० असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेको बताए । जनता, व्यवसायी र अन्य सबै क्षेत्रले स्वीकार गरेर अर्थतन्त्रमा टेवा पु¥याउनुपर्ने आवश्यकता रहेको जानकारी दिए । आयल निगमस्वचालित मूल्य लागू गरेपछि निगम अलिकति भएपनि नाफामा रहने बताए । ‘ग्यास व्यवसायीहरुप्रति आयल निगम निर्मम हुने सोचमा छैन । नेपाल आयल निगमले वि.स.२०८० असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेको अवस्था छ । धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको छ । कम्तिमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था छ । निगम यो विषयमा प्रतिवद्ध छ । केही समय लाग्छ । अघिल्ला दुई आर्थिक वर्षमा घाटामा रहेकाले केही समय लाग्छ । तर निगम आईपीओ जारी गर्ने तयारीमा छ ।’, उनले भने । नेपाल एलपि ग्याँस उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले डिजेल पेट्रोलको जस्तै एलपी ग्याँसको पनि स्वचालित मूल्य लागू गर्न माग गरे । ‘एलपी ग्याँसको मूल्य अचानक बढ्दा व्यवसायीहरुलाई समस्या भइरहेको, व्यवसायमा लागत अनुसारको मुनाफा आवश्यक हुने भन्दै आयात गर्ने र निर्यात गर्ने मूल्य सरकारको नियन्त्रणमा हुँदा एलपी ग्याँस उद्योगले विभिन्न समस्या भोग्नुपरेको’, उनले भने । उनले ग्याँस उद्योगीहरुको नाफा १० वर्ष अगाडिको ३२ रुपैयाँ अहिलेसम्म कायम रहेको बताए । निगमले पेट्रोलको जस्तै एलपी ग्याँसको पनि स्वचालित मूल्य लागू नगरेर ग्याँस उद्योगीहरुलाई पाखा लगाएको आरोप लगाए ।

नेपाल आयल निगमले किन्यो विद्युतीय गाडी बीवाइडी

काठमाडौं । पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल आयल निगम आफैले नयाँ विद्युतीय गाडी खरिद गरेको छ । निगमले विद्युतीय सवारीलाई प्राथमिकतामा राख्दै नयाँ गाडी खरीदमा विद्युतीय गाडी किनेको हो । निगमले बीवाइडीको ई-६ मोडल ३ वटा खरीद गरेको हो । यो गाडीको मूल्य ५९ लाख रुपैयाँ रहेको छ । यसमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ५४० किलोमिटर रेन्ज प्रदान गर्छ । निगमले विद्युतीय गाडी खरीदका लागि गत कात्तिकमा नै टेन्डर आह्वान गरेको थियो । उनका अनुसार निगमले विद्युतीय गाडी खरिद गर्नुको मूख्य कारण इन्धन खपत घटाउने र नेपालमा उत्पादन भएको विद्युत खपतलाई बढाउनु रहेको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले बताए ।  

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएन

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तत्काल नघटाउने भएको छ । आज एक विज्ञप्ति जारी गर्दै निगमले अहिले पनि निगम घाटामा भइराखेकोले तत्काल मूल्य नघटाउने बताएको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपनि निगमले बिक्री गरेको मूल्यमा पेट्रोलमा २ रुपैयाँ ७८ पैसा नाफा, डिजेलमा ९ रुपैयाँ ३७ पैसा घाटा र ग्याँसमा प्रतिसिलिण्डर ४ सय ९९ रुपैयाँ ५७ पैसा घाटा भएको जनाएको छ । अहिलेको खरिद र बिक्रीको अवस्थामा निगमलाई मासिक रुपमा १ अर्ब २७ करोड घाटा हुने अवस्था रहेको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनलाई अझैपनि २३ अर्ब रुपैयाँ तिर्नुपर्ने बाँकी रहेको निगमले जनाएको छ ।

नेपाल आयल निगमले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा

काठमाडौं । नेपाल आयल निगमले आगामी चैत २५ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन दिउँसो १ बजे काठमाडौंको टेकूस्थित निगमको सभाकक्षमा आफ्नो ४०औं वार्षिक साधारण गर्न लागेको हो । उक्त सभामा कम्पनीले विभिन्न साधारण प्रस्तावहरु पेश गर्दै छ । कम्पनीले सभाको लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण र सोही अवधिको नगद प्रभाव विवरण माथि छलफल गरी सभामा पारित गराउने प्रस्ताव लगेको छ । त्यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षकको नियुक्ति, पारिश्रमिक एवं खर्च अनुमोदन गर्ने र आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षण गर्न लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने छ ।

संयुक्त विद्यार्थी संगठनद्वारा नेपाल आयल निगमकाे कार्यालय घेराउ

काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै आएको संयुक्त विद्यार्थी संगठनले टेकुस्थित नेपाल आयल निगमको केन्द्रिय कार्यालय घेराउ गरेको छ । शुक्रबार बिहान १० बजेबाट नेपाल आयल निगमको केन्द्रिय कार्यालय घेराउ गर्दै ती विद्यार्थी संगठनहरुले तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दवाव दिएका हुन । त्यस अवसरमा विद्यार्थी संगठनका नेताहरुले आम जनता र विद्यार्थीहरुलाई चुल्हो समेत बल्न नदिने गरी एलपी ग्याँसलगायतका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको राजीनामा माग गर्दै निगमका भ्रष्ट कर्मचारी र सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । सत्तारुढ नेकपा (माओवादी केन्द्र)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी)मा आवद्ध अनेरास्ववियूसहितका विद्यार्थी संगठनका नेताहरुले आयल निगमका भ्रष्ट कर्मचारीहरुलाई सामाजिक रुपमा बहिष्कार गर्न आह्वान समेत गरेका छन । संयुक्त विद्यार्थी संगठनहरुले जनतालाई आहात हुने गरी बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता गराउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका सत्तारुढ दलका नेताहरुलाई पनि दवाव दिईरहेका छन । पेट्रोलियम पदार्थको पछिल्लो पटक मूल्यवृद्धि गरिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियूले पनि सरकारविरुद्धको आन्दोलनलाई चर्काएको छ ।

नेपाल आयल निगमका १० जनामा काेराेना देखियाे

काठमाडाैं । रुपन्देहीमा नेपाल आयल निगमका १० जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार आएको स्वाब परीक्षण रिपोर्टअनुसार आयल निगम भलवारीका ३, भैरहवा पेट्रोल पम्पका ३ र विमानस्थलस्थित हवाई ईन्धन डिपोका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएकाे छ । केही दिनअघि विमानस्थल डिपोका ४ जना कर्मचारीलाई रुघाखोकी लागेर पीसीआर परीक्षण गर्दा पोजिटिभ नतिजा आएपछि निगमले जिल्लामा रहेका ३ वटै डिपोका कर्मचारीको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको थियो । त्यसरी पठाइएकामा भलबारी डिपोका ४० मध्ये ३, भैरहवा पेट्रोल पम्पका २२ मध्ये ३ र विमानस्थलका १६ मध्ये थप ४ जनामा संक्रमण पुष्टि भएको हो । अन्यको नतिजा आउन बाँकी छ ।

पेट्रोलियम पदार्थको मूल्य बढाउँदै नेपाल आयल निगम

काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको भन्दै नेपाल आयल निगमले मूल्य बढाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भारतमा डिजेलको भाउ दिनप्रति दिन बढेपछि अगष्टमा मूल्य बढाउने तयारी भएको जनाइएको छ । भारतमा डिजेलको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा पर्न थालेपछि निगमलाई पेट्रोल, डिजेल लगायतका पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने दबाब बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिनु, भारतसँग सीमा जोडिएका नाकामा मूल्यान्तर बढेर जानु, निगमको घाटा एकपछि अर्को बढेर जानु, विगतमा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालले स्वचालित मूल्य समायोजन नगर्नु जस्ता कारणले निगम मूल्य बढाउनैपर्ने दबाबमा पुगेको हो । पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा आउने फेरबदलअनुसार नेपाल आयल निगमले प्रत्येक १५/१५ दिनमा मूल्य समायोजन गर्दै आएको थियो । प्रत्येक महिनाको १ र १६ तारिखमा मूल्य समायोजन गर्दै आएको निगमले बन्दाबन्दीको समयमा खपतमा कमी आएको भन्दै मूल्य समायोजन गरेको थिएन । यसअघि निगमले असार २६ गते पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर एक/एक रुपैयाँले मूल्य बढाएको थियो । हाल काठमाडौंमा पेट्रोल प्रतिलिटर रू १०२, डिजेल र मट्टीतेल प्रतिलिटर रू ८८ मा बिक्री वितरण हुँदै आएको छ । इण्डियन आयल कर्पोरेशनले गत जुलाई १६ तारिखमा पठाएको नयाँ मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा निगमलाई छ करोड आठ लाख रूपैयाँ घाटा भएको प्रवक्ता उपाध्यायले जानकारी दिए । उनका अनुसार गत जुलाइमा भारतीय आयल निगमबाट प्राप्त मूल्य सूचीअनुसार पेट्रोलमा रु दुई रुपैयाँ ६७ पैसाले मूल्य वृद्धि भएता पनि निगमले नेपालमा मूल्य वृद्धि गरेन । जसका कारण निगमले पेट्रोलमा प्रतिलिटर रु तीन र डिजेलमा प्रतिलिटर रु पाँच वरिपरि घाटा ब्यहोरेको थियो । पछिल्लो एक महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य निरन्तर बढ्दै गएको र भारतीय बजारमा डिजेलको मूल्यलगातार बढिरहेका कारण निगम घाटा धान्न नसक्ने अवस्थामा पुगेको जनाइएको छ । कोरोना महामारी र बन्दाबन्दीबाट विश्व क्रमशः पुरानै लयमा फर्किन थालेसँगै अन्तर्राष्ट्रिय बजारमा भारी मूल्य वृद्धि हुन थालेको छ । रासस

तेल चोरी र मिसावट रोक्न नेपाल आयल निगम अटोमेशनमा जाँदै

काठमाडौं । नेपाल आयल निगम तेल चोरी र मिसावट रोक्न अटोमेशनमा जाने भएको छ । निगमले पहिलो चरणमा तेल चोरी तथा मिसावट रोक्नका लागि २८ करोडको सफ्टवेयर जडान गर्ने भएको छ । निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडान गर्ने भएको हो । सफ्टवेयर जडान गर्दै नेपाल आयल निगमले सबै सेवाहरुलाई अटोमेशनमा लैजाने प्रक्रिया सुरु गरेको छ । इआरपी प्रणालीले निगमको एकिकृत व्यवस्थापन गर्ने छ । नेपाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले नेपाल आयल निगाम अटोमेशनमा लाने काम सुरु भएको बताए । विस्तारै निगम पुर्णरुपमा अटोमेशमा जाने छ । ‘मेकानिकल लकिङ् सिस्टमले मिसावट र चोरी नरोकिएपछि अटोमेशनको काम सुरु भएको हो, इआरपी सिस्टम जडान भए पछि सबै काम कम्युटरकृत हुने छ,’ पौडेलले भने । नेपालभर १ हजार ४ सय वटा पम्पहरुबाट पेट्रोलियम पदार्थ बिक्री भइरहेको छ । तीन वर्ष भित्रमा भने इआरपी सिस्टम जडान भइसक्ने छ । यो कार्यको लागि सफ्टवेयर, आवश्यक हार्डवेयर तथा तालिम समेतको लागि २८ करोड रुपैयाँ बजेट छुट्याएर टेन्डर भएको छ ।

नेपाल आयल निगमले माग्याे २९ जना कर्मचारी

काठमाडौं । नेपाल आयल निगमले २९ जना कर्मचारी मागेको छ ।  निगमले विभिन्न २२ पदमा साे मात्रामा कर्मचारी मागेको हो । माघ १० गते शुक्रबार सुचना जारी गर्दै आयल निगमले २१ दिनभित्र https://jobs.noc.org.np/open मा गई अनलाइन मार्फत फाराम पेश गर्न आहवान् दिएको छ । यस्तै दोब्बर दस्तुर सहित म्याद सकिएको मितिले ७ दिनभित्र दरखास्त फाराम पेश गनुपर्नेछ ।

ग्यास आयात पर्याप्त, नेपाल आयल निगम भन्छ-‘हल्लाको पछाडि नलागौँ’

काठमाडौँ । मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता सङ्घलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको बेला निगमका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो । इण्डियन आयल रिफाइनरीमा खाना पकाउने ग्यास लोडिङ भइरहेको र आयात पनि निरन्तररूपमा भइरहेको उल्लेख गर्दै निगमले बजारमा कुनै पनि अभाव नरहेको जनाएको हो । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार हालसम्म उद्योगीसँग आठ हजार मेट्रिक टन भारतबाट ग्यास ल्याउने कागजात (पिडिओ) रहेको छ । उक्त कागजातबाट ग्यास ल्याउने कार्य नियमित रहेको छ । सन् २०१९ को फ्रेबुअरीमा मात्रै ३५ हजार ७५४ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको छ । निगमले उपभोक्तालाई सहजरूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन प्रयास गरिरहेको भन्दै गलत हल्ला र अफवाहको पछाडि नलाग्नसमेत आग्रह गरेको छ । उपभोक्ताको मागबमोजिम ग्यास आपूर्तिमा कुनै पनि समस्या नभएकाले अनावश्यकरूपमा ग्यासको सिलिण्डर भण्डारण नगर्नसमेत निगमले अनुरोध गरेको छ । निगमले उद्योगी–व्यवसायीको माग सम्बोधन गर्न आफूहरू प्रयासरत रहेको भन्दै अत्यावश्यक विषयको संवेदनशीलतालाई ख्याल गर्न उद्योगी–व्यवसायीको समेत ध्यानाकर्षण गराएको छ । दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयका सम्बन्धमा देखिएको समस्या समाधानका लागि वार्ता र संवाद नै उपयुक्त विकल्प भएकामा निगमको जोड छ । रासस

सिलिन्डरको मूल्य तोक्दै नेपाल आयल निगम, थन्किएको सिलिन्डर बिक्री गर्न पाइने !

काठमाडौं । नेपालमा बिक्री भएका एलपी ग्यासका सिलिन्डरमध्ये एक चौथाई भन्दा कम सिलिन्डरमात्र चलनचल्तीमा रहेको पाइएको छ । नेपाल आयल निगमले दिएको तथ्याङ्क अनुसार नेपाली बजारमा १ करोड २२ लाख ग्यास सिलिन्डर बिक्री भएकोमा मासिक करिब ३८ लाख सिलिन्डर मात्र बिक्री हुने गरेको छ । यो करिब २३ प्रतिशत मात्र हो । नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले निगमले मासिक ४० लाख मेट्रिकटन ग्यास बिक्री हुने गरेको जानकारी दिँदै उक्त परिमाणको ग्यासले २८ लाख ओटा ग्यास सिलिन्डर भरिने बताए । बाँकी करिब ९४ लाख सिलिन्डर प्रयोग नभएको वा न्यून प्रयोग भएको अवस्थामा रहेको भन्दै उनले घरमा थन्किएर रहेका सिलिन्डरलाई बजारमा सर्कुलर हुने वातावरण बन्ने योजनामा निगम लागेको समेत बताए । कसरी ल्याउने बजारमा ग्यास ? नायब कार्यकारी निर्देशक भट्टराईले तत्काल नयाँ सिलिन्डर आउने क्रम रोक्ने तथा पुराना ग्यास सिलिन्डरको बजार मूल्य तोकिदिएर थन्किएर रहेका सिलिन्डरहरुलाई बजारमा सहज रुपमा बिक्री हुने वातावरण बनाउने तयारीमा निगम लागेको बताए । सिलिन्डरको मूल्य निर्धारण नहुँदा अभावका बेला ग्यासको अवैध कारोबार गर्नेहरुलाई पक्राउ गरिए पनि कानूनको अभावमा कारबाही गर्न नसकिएको अवस्था सिर्जना भएको समेत उनले बताएका थिए । हाल ग्यास उद्योगीहरुले आफ्नो सिलिन्डरको मस्ल्य आफैंले तोक्दै आएका छन् । सामान्यतया २१ सय रुपैंया सिलिन्डरको मूल्य लिएर भरिएको ग्याससहित ३५०० रुपैंयामा सिलिन्डर बिक्री हुँदै आए पनि आधिकारिक मूल्य नहुँदा उपभोक्ता ठगिने क्रम रोकिएको छैन । अझ एउटा उद्योगको सिलिन्डरबाट अर्को उद्योगको सिलिन्डर ग्यास साट्ने क्रममा उपभोक्ताले चर्को मूल्य चुकाउन बाध्य हुँदै आएका छन् । नेपाल आयल निगमले नयाँ कार्यकारी निर्देशक नियुक्त भएपछि पहिलोपटक पत्रकार सम्मेलन आयोजना गरेको थियो । कार्यक्रममा नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमको सुधारका लागि उलयपुर सिमेन्ट सुधारको मोडल प्रयोग गर्ने बताउँदै निगमको सुधारमा चासो दिने ठूलो समुदाय रहेको भन्दै यसले आफुलाई काम गर्न थप हौसला मिलेको र भार घटेको बताएका थिए ।

सुरेन्द्र पौडेल नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्त

काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ४ वर्ष हुनेछ। निगमको तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार आरोपमा मुछिएपछि सुशील भट्टराईले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए । नयाँ कार्यकारी निर्देशक नियुक्तिका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिष्पर्धा गराएको थियो । जसका लागि १२ जनाले आवेदन दिएका थिए । ५ जनाको नाम सर्टलिस्टमा राखेको आपूर्ति मन्त्रालयले अनिलकुमार झा, तारानाथ पौडेल र सुरेन्द्र पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक पौडेलले  त्यहाँ तीन वर्षे कार्यकाल पूरा गरेका थिए । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका पौडेलले आफ्नो कार्यकालमा उदयपुर सिमेन्टलाई नाफामा लगेको थिए ।

थानकोटमा प्रभु बैंकको नयाँ शाखा, नेपाल आयल निगमको डिपोलाई सजिलो

काठमाडौं । पभ्रु बैंक लिमिटेडले चन्द्रागिरी नगरपालिका स्थित थानकोटमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बागमती डिलर्स एशोसिएसनका अध्यक्ष अच्युतबहादुर खडकाले गरेका छन् । थानकोटमा रहेको नेपाल आयल निगमको डिपोलाई मध्येनजर गरी बैंकले थानकोट शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । कार्यक्रममा प्रमुख अतिथि बागमती पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष खडकाले पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुले आयल निगमलाई दिनुपर्ने रकम प्रभु बैंकको थानकोट शाखामा रहेको नेपाल आयल निगमको खातामा प्रभु बैंकको जुनसुकै शाखा कायालयबाट निशुल्क रुपमा जम्मा गर्न सक्नेछन् । यसका साथै, पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुलाई कारोबारमा सजिलो हुने बैंकले बताएको छ । सोमबारदेखि सञ्चालनमा आएको बैंकको थानकोट शाखा कार्यालयबाट बागमती अञ्चल भरीका पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरु, अन्य सर्वसाधारणहरु र उद्यमी व्यवसायीहरुले प्रभु बैंकको बैंकिङ्ग सेवा लिन सक्नेछन् । बैंकको थानकोट शाखा कार्यालयबाट स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरु, उद्यमी व्यवसायहरु लगायतले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।