बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए, जसपाका मात्रै २१ जना
काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलका उम्मेदवार आफैंले वा उम्मेदवार उपस्थिति हुन नसकेको अवस्थामा वारेसले फिर्ता लिन पाउने व्यवस्था गरेको थियो । आयोगका अनुसार, जनमत पार्टी, नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका तर्फबाट बन्द सूचीमा रहेका नाम फिर्ता लिइएको हो । जनता समाजवादी पार्टीको २१ जनाले नाम फिर्ता लिएका छन् भने जनमत पार्टीका तर्फबाट २० जनाले नाम फिर्ता लिएका छन् । जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच हालै एकता भएकाले बन्दसूची मिलाउनका लागि केहीको नाम फिर्ता लिएर नयाँ व्यवस्थापन गरिएको सो दलले जनाएको छ । अन्तिम सूची सार्वजनिक हुँदा केही सङ्ख्या थप हुनसक्ने आयोगले प्रष्ट पारेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ कूल ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए । यही पुस १३ र १४ गते बन्दसूची पेस गर्न आयोगले समय दिएको थियो । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुने व्यवस्था छ ।
न्यू आर ए इन्टरप्राइजेजलाई २० हजार जरिवाना, १८ फर्ममा विभागको निरीक्षण
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न १८ फर्ममा निरीक्षण गरी कारबाहीको दायरामा ल्याएको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीतका गतिविधि गरेको आरोपमा न्यू आर ए इन्टरप्राइजेजलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले विभिन्न पेन्टस कम्पनी, हार्डवेयर पसल तथा निर्माण सामग्री बिक्री गर्ने स्थानमा अनुगमन तथा निरीक्षण गरेको थियो । त्यसमध्ये एकलाई नगद जरिवाना गरेको विभागले अन्य १७ वटालाई भने सुधारात्मक निर्देशन दिएको थियो । विभागले नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै सुधारको अभियान अगाडि बढाएको छ । कालाबजारी नियन्त्रण, वातावरण संरक्षण एवं अन्य सुधारात्मक कारबाही गर्दै आएको थियो ।
चेम्बरको विपद् जोखिम न्यूनिकरण सहयोगी पुस्तिका सार्वजनिक
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विपद् जोखिम न्यूनिकरण सहयोगी पुस्तिका सार्वजनिक गरेको छ । चेम्बरको अगुवाइमा नेपाल इमरजेन्सी सेल्टर एण्ड डिजास्टर प्रिभेन्सन एजुकेशन एड (नेपा), इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिज, इभेन्ट एण्ड भेन्यू एशोसिएसन नेपाललगायतका संस्थाको सहकार्यमा उक्त पुस्तिका सार्वजनिक गरिएको हो । पुस्तिकामा भूकम्प, बाढी, पहिरो, भू–क्षयलगायत प्राकृतिक विपद्बाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारी, प्रतिकार्य योजना, उद्धार व्यवस्थापन तथा अस्थायी आश्रयस्थल निर्माणजस्ता विषय समेटिएको छ । पुस्तिक सार्वजनिक समारोहमा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले सुरक्षित भविष्य निर्माणका लागि राज्य, निजी क्षेत्र र समुदाय सबैको सामूहिक जिम्मेवारी अपरिहार्य रहेको बताए ।
साउदीबाट आइएमईमार्फत पैसा पठाउँदा बीवाईडी एटाे वान जित्ने अवसर
काठमाडौं । आइएमई लिमिटेडले डिजिटल वालेट ‘टिक्मो’ मार्फत ‘आइएमई गरौं, उपहार जितौं’ योजना सार्वजनिक गरेको छ । पौष २१ देखि चैत्र १७ सम्म सञ्चालन हुने यस अभियानअन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले टिक्मो अनुप्रयोग प्रयोग गरी आइएमईमार्फत पैसा पठाउँदा आकर्षक उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएकाे छ । यस योजनाअन्तर्गत ठुलो पुरस्कार स्वरूप एकजना भाग्यशाली विजेताले बीवाईडी एटाे १ विद्युतीय गाडी प्राप्त गर्नेछन् । त्यस्तै, मासिक रूपमा दुईजना विजेताले याडिया ओविन विद्युतीय स्कुटर जित्नेछन् भने साप्ताहिक भाग्य ड्रमार्फत १२ जना भाग्यशाली विजेताले आइफोन १७ प्राप्त गर्नेछन् । टिक्मोमार्फत सञ्चालन हुने यस उत्सव योजनामा कुल १५ जना सहभागी उपहार पाउनेछन् । सबै विजेताको छनोट पारदर्शी डिजिटल भाग्य ड्र प्रणालीमार्फत गरिने आइएमईले जनाएको छ । साउदी अरबमा वैदेशिक रोजगारी गरिरहेका नेपालीहरूले कमाएको रकम सुरक्षित, छिटो र विश्वसनीय रूपमा नेपालमा रहेका आफ्ना परिवारजनसम्म पठाउँदै आएका छन् । डिजिटल प्रविधिको तीव्र विकाससँगै पैसा पठाउने प्रक्रिया अझ सहज र सरल बनेको आइएमईले जनाएको छ ।
ईभी पूर्वाधारमा अब्बल टाटा मोटर्स : लाइफटाइम निःशुल्क चार्जिङदेखि ब्याट्री डाइग्नोस्टिक सेवा
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रवर्द्धन र ग्राहक सुविधालाई ध्यानमा राख्दै सिप्रदी ट्रेडिङ प्रालिले आफ्ना ग्राहकहरूका लागि विभिन्न सुविधाहरू दिँदै आएको छ । गाडी खरिद गर्ने ग्राहकहरूलाई लाइफटाइम निःशुल्क चार्जिङ सुविधा प्रदान गरिरहेको छ, जुन गाडीको वारेन्टी अवधिभर लागू हुने कम्पनीले जनाएकाे छ । यसका साथै सिप्रदीले नेपालमै पहिलो पटक अत्याधुनिक ब्याट्री डाइग्नोस्टिक र मर्मत सेवा पनि विस्तार गरेको छ । सिप्रदीले आयोजना गर्ने विभिन्न एक्सचेन्ज क्याम्पहरू, नाडा अटो शोजस्ता विशेष कार्यक्रमहरू वा अन्य अफरहरूका बेला ईभी खरिद गर्ने ग्राहकहरूले यो लाइफटाइम फ्री चार्जिङ सुविधाको लाभ उठाउन सक्छन् । यो सुविधा सिप्रदीको आफ्नै डिसी फास्ट चार्जर नेटवर्कमा उपलब्ध हुने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार हाल देशभर टाटा मोर्टसका १८५ भन्दा बढी फास्ट चार्जिङ स्टेशनहरू सञ्चालनमा छन् जसले ग्राहकहरूलाई देशभर चार्जिङको सुविधा पुर्याइरहेको छ । ईभी ग्राहकहरूको प्रमुख चिन्तामध्ये एक ब्याट्री मर्मत र प्रतिस्थापनको खर्चलाई मध्यनजर गर्दै कम्पनीले ब्याट्री डाइग्नोस्टिक एण्ड रिस्टोरेसन फेसिलिटी पनि सिप्रदी बाघडोल सञ्चालनमा ल्याएको हो । यो सुविधा नेपालमै एउटा मात्र रहेको कम्पनीको दाबी छ । यस अन्तर्गत यदि ब्याट्रीमा कुनै समस्या आएमा पुरै ब्याट्री फेर्नुपर्ने महँगो बाध्यता हट्नेछ । ब्याट्रीको मोडुअलमात्र परिवर्तन गर्न सकिन्छ । जुन मोडुअल वा सेल काम गरेको छैन, त्यहीमात्र फेर्ने सुविधा भएकाले खर्च अत्यन्तै न्यून हुन जान्छ । सेल परिवर्तन गर्नुपर्ने अवस्था आउनुअघि नै टाटाले नेपालमा त्यसका लागि आवश्यक पूर्वाधार तयार पारिसकेको छ । नेपालमा ईभी बिक्री थाल्नुअघि नै ब्याट्री रिपेरिङ युनिट तयार भइसकेकाले यसमा ईभी प्रयोगकर्ता निश्चिन्त हुन सक्छन् । सिप्रदीले ईभी ग्राहकहरूलाई उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्न देशभर २१ वटा सर्भिस सेन्टर रहेको छ जसमा १७ वटा ईभी डेडिकेटेड सर्भिस सेन्टरहरू सञ्चालन गरिरहेको छ । यी सेन्टरहरूमा तालिमप्राप्त प्राविधिकहरूद्वारा सेवा प्रदान गरिन्छ । कम्पनीले स्पेयर पार्ट्सको उपलब्धता पनि राम्रो रहेको जनाएको छ, जसले मर्मतसम्भारमा ग्राहकहरूलाई सहजता प्रदान गर्नेछ । यी सुविधाहरूले ईभी ग्राहकहरूलाई थप प्रोत्साहन मिल्ने र वातावरणमैत्री सवारीसाधन प्रयोगलाई बढावा दिने विश्वास कम्पनीको छ ।
नाइमा र ट्राफिक प्रहरीबीच पाँच वर्षे तालिम समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच ट्राफिक प्रहरीलाई व्यवहारकुशल सीप (सफ्ट स्किल्स) तथा नयाँ सवारी प्रविधिसम्बन्धी विषयमा नियमित तालिम प्रदान गर्ने सम्बन्धमा पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौं उपत्यकाभर कार्यरत करिब १८ हजार ५ सय ट्राफिक प्रहरीलाई लक्षित गरी गरिएको उक्त समझदारी ट्राफिक सप्ताह–२०८२ अन्तर्गत ‘सडक दुर्घटना न्यूनीकरण विशेष अभियान’ को अवसरमा हस्ताक्षर गरिएको हो । समझदारीपत्रमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र नाइमाका बोर्ड सदस्य सौरभ ज्योतिले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार नाइमाले आफ्ना सदस्य कम्पनीहरूको विज्ञता प्रयोग गरी नयाँ सवारी प्रविधि, सडक सुरक्षा, नविन प्रविधिको प्रयोग तथा सवारी–यातायात प्रणालीसँग सम्बन्धित प्राविधिक विषयमा आवश्यक तालिम सामग्री, स्रोतसाधन, विज्ञ सहजीकरण तथा समन्वय उपलब्ध गराउनेछ । त्यस्तै, ट्राफिक प्रहरी कार्यालयले तालिम कार्यक्रमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन, अनुगमन तथा गुणस्तर सुनिश्चित गर्नेछ । समझदारी कार्यान्वयनअन्तर्गत पहिलो चरणको तालिम माघ ४ गतेदेखि सुरु हुने र १६ कार्यदिनसम्म सञ्चालन हुने जनाइएको छ । प्रत्येक चरणमा १०० जना ट्राफिक प्रहरी सहभागी हुनेछन् । तालिममा तनाव व्यवस्थापन, सञ्चार तथा द्वन्द्व व्यवस्थापन, नयाँ सवारी साधन प्रविधिको सैद्धान्तिक र व्यावहारिक ज्ञान, ट्राफिक व्यवस्थापन अभ्यास, सडक दुर्घटना न्यूनीकरण तथा आवश्यक ह्यान्ड–जेस्चर सीपसम्बन्धी विषय समेटिनेछ । तालिम सहजीकरणका लागि इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई) पुल्चोक र थापाथली क्याम्पसका प्राध्यापक, जीवन विज्ञानका प्रशिक्षक, नाइमाका सदस्य कम्पनीका प्राविधिक विज्ञ, प्रेरणादायी वक्ता तथा आवश्यकताअनुसार स्वतन्त्र विज्ञहरूको सहभागिता रहनेछ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीले नयाँ सवारी प्रविधि र जनसम्पर्क–केन्द्रित सेवाका विषयमा ट्राफिक प्रहरीलाई निरन्तर तालिम आवश्यक रहेको बता ए। उनले दीर्घकालीन साझेदारीमा नाइमाको निरन्तर प्रतिबद्धता प्रशंसनीय रहेको उल्लेख गरे । नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले ‘Empowering Growth through Mobility’ भन्ने संस्थाको दृष्टिकोणअनुसार सडक सुरक्षा प्रवर्द्धन, उपभोक्ता शिक्षा, दक्ष मानव स्रोत विकास र नीतिगत पैरवीमा नाइमा निरन्तर सक्रिय रहेको बताइन् । यस सहकार्यले ट्राफिक प्रहरीको क्षमता विकासमार्फत नागरिकमैत्री सेवा प्रवाह र सडक सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।
सानिमा बैंक र एनसीएचएलबीच ‘नेपाल पे’ कार्ड नेटवर्कका लागि सम्झौता
काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ‘नेपाल पे’ कार्ड नेटवर्क तथा राष्ट्रिय कार्ड स्विच (एनपीएस–नेशनल कार्ड स्विच) अन्तर्गत प्रमुख सदस्यताका लागि सम्झौता भएको छ । सम्झौताअनुसार एनपीएस–नेशनल कार्ड स्विचलाई स्वदेशी कार्ड कारोबारको रुटिङ तथा सेटलमेन्ट सुनिश्चित गर्ने केन्द्रीय भुक्तानी पूर्वाधारका रूपमा स्थापना गरिनेछ। यसले घरेलु कार्ड कारोबारलाई अन्तरसञ्चालनयोग्य बनाउने लक्ष्य लिएको छ । सम्झौतापत्रमा सानिमा बैंक लिमिटेडका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय र १२७ वटा एटीएम सञ्जालमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नवीनपुस्ताले विश्वास र भरोसा गर्नसक्ने गतिशील र आधुनिक लोकतान्त्रिक शक्ति बनाउने सङ्कल्पसहितको समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन् । पार्टीका महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि राजधानीमा जारी दोस्रो दिनको विशेष महाविधेशनको बन्दसत्रमा सोमबार प्रस्तुत सो प्रस्तावमा थापाले विशेष केन्द्रीय महाधिवेशनबाट सुनौलो भविष्यतिर उन्मुख, स्पष्ट मार्गदर्शन, व्यवस्थापनमा अब्बल पार्टी निर्माण गर्ने उल्लेख गरेका छन् । 'कांग्रेसलाई २००६ सालको जस्तो क्रान्ति चेत, २०१५ सालको जस्तो प्रगतिशील र समावेशी सोच, २०४८ सालको जस्तो लोकप्रिय मत, २०६२र६३ को जस्तो सर्वस्वीकार्य नेतृत्व भएको पार्टी बनाउनेछौँ', महामन्त्री थापाद्वारा प्रस्तुत प्रस्तावमा भनिएको छ । महामन्त्री थापाले पार्टीको नेतृत्वमा ऐतिहासिक संविधासभामार्फत बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको मर्मलाई गम्भीरतापूर्वक आत्मसात गर्दै संविधानको समयानुकूल उदार र प्रगतिशील परिवर्तन आजको आवश्यकता भएको बताए । उनले संविधानको गतिशील कार्यान्वयनबाट मुलुकको राजनीतिलाई सही बाटोमा ल्याउनु र समुन्ततितर्फ डोहोर्याउनु आजको मुख्य राष्ट्रिय जिम्मेवारी भएको उल्लेख गरे । 'आज देशको राजनीतिक गतिप्रति जनतालाई आशा र विश्वासको उत्साहजनक सन्देश प्रवाह गर्दै समुन्नत नेपाल निर्माणको अग्रणी शक्ति बनाउने घडी आएको छ', प्रस्तावमा थापाले भन्नुभएको छ, 'यही ऐतिहासिक राष्ट्रिय दायित्वको सङ्कल्पसहित यो विशेष परिस्थितिमा विशेष महाविधशेन आयोजना गरिएको हो ।' राजनीतिक प्रस्तावमा महामन्त्री थापाले जेनजी प्रदर्शनपछिको अवस्थामा विशेष महाधिवशेनको आवश्यकता, विशेष महाधिवेशनको वैधानिक प्रावधान, नेपाली कांग्रेसको ऐतिहासिक परम्परा, आजको परिदृश्य र नेपाली कांग्रेसलगायत समसामयिक राजनीतिक प्रस्ताव र विशेष महाविधेशनको नीतिगत सङ्कल्प समेटिएका छ । महामन्त्री थापाले देश र पार्टीका लागि असाधारण परिस्थितिमा हुन गइरहेको विशेष महाधिवेशनले पार्टीलाई राजनीतिक शक्तिका रूपमा मात्रै सीमित नभई लोकतन्त्रप्रति पूर्ण निष्ठावान, समाजप्रति प्रतिबद्ध, जनताप्रति उत्तरदायी र स्थापनाकालीन जनमुखी आदर्शमा कृतसङ्कल्पित समुन्नत नेपालको नेतृत्वदायी र विश्वासयोग्य शक्तिका रूपमा पुनः स्थापित गर्ने बताएका छन् । राजनीतिक प्रस्तावमा पार्टीभित्र र बाहिरका आमकांग्रेसजनमा देखिएको उदासिनताको बादललाई हटाउँदै नवीन ऊर्जा, उत्साह, एकता र रुपान्तरणसहित समुन्नत नेपाल निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न १७ बुँदे विशेष सङ्कल्प समेटिएको छ । प्रस्तावमा भ्रष्टाचार नियन्त्रण, वित्तीय अनुशासन र सुशासनका लागि प्रभावकारी कानुन निर्माण र कानुनको कार्यान्वयन, संस्था र निकायहरूको कार्यक्षमता अभिवृद्धि, कार्यविधि सरलीकरण र सुदृढीकरण गर्दै समग्र प्रशासनिक प्रणालीलाई पारदर्शी, चुस्त र जनउत्तरदायी बनाउने सङ्कल्प गरिएको छ । प्रस्तावमा भनिएको छ, 'निषेधको राजनीति नगर्न, संयमता अपनाउन तथा संवादमार्फत निकास खोज्न सम्बन्धित सबै पक्षलाई आह्वान गर्दै भयरहित निर्वाचनको पक्षमा आफ्नो दृढता प्रकट गर्दछ ।' विगतको कमजोरी र त्रुटीबाट पाठ सिकेर आगामी दिनमा राष्ट्रिय हित एवं लोकतान्त्रिक मूल्य मान्यताप्रति अविचलित रहने प्रतिबद्धता व्यक्त गर्दै प्रस्तावमा जनभावनाअनुसार निष्ठा र सेवाको राजनीतिमा समर्पित रहने दृढ सङ्कल्प गरिएको छ । योग्यता, क्षमतामार्फत नयाँ ऊर्जा र प्राण भर्दै ‘निरन्तरतामा नवीनता’को मान्यताअनुरुप कांग्रेसलाई आजको समयको चेतअनुसारको अब्बल, गतिशील र आधुनिक सङ्गठन बनाउने सङ्कल्प गरिएको छ । पार्टीका सिद्धान्त, विचार र नीतिलाई जनताको भावनाअनुसार अद्यावधिक, परिमार्जन, व्याख्या तथा पुनःव्याख्या गरी सैद्धान्तिक–वैचारिक रुपान्तरण गर्न आवश्यक भएको प्रस्तावमा उल्लेख छ । विसं २०८० फागुनमा गोदावारीमा सम्पन्न महासमिति बैठकबाट पारित ‘निर्वाचन अगाडिको गठबन्धन’सम्बन्धी नीतिको स्मरण गर्दै प्रस्तावमा भविष्यमा हुने आवधिक निर्वाचनमा निर्वाचनपूर्व गठबन्धन (प्रि–इलेक्सन एलाइन्स) नगरिने प्रतिबद्धता जनाइएको छ । 'हामी आफ्नै जनता र पार्टीको शक्तिको आधारमा एक्लै लड्नेछौँ, आफ्ना मतदातालाई चुनाव चिह्न ‘रुख’ मा मात्रै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ', प्रस्तावमा भनिएको छ । प्रस्तावमा भ्रष्टाचारको आरोप लागेका नेता र सदस्यलाई आरोप लागेको मितिदेखि पदबाट स्वतः निलम्बन, कुनै पनि खालको भागबण्डामा भाग नलिने, राज्यका संस्थालाई दलीयकरणबाट मुक्त गर्ने, संसद्लाई केबल सरकार बनाउने सङ्ख्याको रूपमा मात्र नभइ नीति निर्माता र निगरानीकर्ताका रूपमा सबल, प्रभावकारी र सशक्त बनाइने सङ्कल्प लिइएको छ । निर्वाचन खर्चलाई पारदर्शी बनाउन प्राप्त मतभारका आधारमा राजनीतिक दललाई राज्य कोषमार्फत अनुदान उपलब्ध गराउने, दलहरूको आर्थिक गतिविधिमा कठोर वित्तीय अनुशासन कायम गर्ने व्यवस्था लागू गरिने, ‘नो भोट’को कानुनी सुश्चितता र विदेशमा रहेका नेपालीको मतदानको अधिकारलाई सुनिश्चित गरिनेछ । महामन्त्री थापाको प्रस्तावमा देशको प्रमुख कार्यकारी (प्रधानमन्त्री)को दुई कार्यकाल मात्रै हुने, राज्य संयन्त्रको गैरदलीयकरण र संस्थागत सुधार, प्रियतावादको चुनौती सामना गर्दै उदार लोकतन्त्रको रक्षा, राष्ट्रहित तथा राष्ट्रिय स्वार्थलाई सर्वोच्च प्राथमिकता दिइनेलगायत सङ्कल्प गरिएको छ ।