आज ६ प्रदेशमा भारी वर्षाको चेतावनी, चट्याङको जोखिम
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू-भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका -स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
नेपाली बजारमा प्रोटोनको नयाँ इलेक्ट्रीक ह्याचब्याक इमास फाइभ सार्वजनिक, मूल्य ३२ लाख ९९ हजार
काठमाडौं । नेपाली बजारमा मलेसियन ब्राण्ड प्रोटोनको नयाँ इलेक्ट्रीक ह्याचब्याक कार इमास फाइभ सार्वजनिक भएको छ । नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले सोमबार (आज) देखि यसको औपचारिक बिक्री सुरु गरेको हो । कम्पनीले प्रोटोन इमास फाइभलाई दुईवटा भेरियन्टमा उपलब्ध गराएको छ । जसअनुसार प्राइम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकेको छ । तर पहिलो १०० ग्राहकका लागि विशेष अफर स्वरूप २९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराइने बताएको छ । त्यसैगरी प्रिमियम भेरियन्टको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने पहिलो १०० ग्राहकले यसलाई ३४ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन् । जिलीले चीनमा उत्पादन गरेको ‘जिङयुआन’ मोडललाई नै प्रोटोनले रिब्याचिङ गरेर यो नयाँ इमास फाइभ बजारमा ल्याएको हो । प्रोटोन इमास फाइभको प्राइम भेरियन्टमा ५८ किलोवाटको इलेक्ट्रीक मोटर र ३०.१२ किलोवाट आवरको ब्याट्रीप्याक जडान गरिएको छ । जसले १३० न्युटन मिटर टर्क प्रदान गर्नुका साथै एकपटकको फुलचार्जमा २२५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसको प्रिमियम भेरियन्टमा ८५ किलोवाटको मोटर र ४०.१६ किलोवाट आवरको ठूलो ब्याट्री छ । जसले १५० न्युटन मिटर टर्कका साथै सिंगल चार्जमा ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छ । रियर ह्वील ड्राइभ सिस्टम भएको यस गाडीको लम्बाई ४१३५ एमएम, चौडाई १८०५ एमएम, उचाइ १५७० एमएम र ह्वीलबेस २६५० एमएम रहेको छ । आकर्षक इन्टेरियर डिजाइन गरिएको यस ह्याचब्याकमा ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर, मल्टिफंशनल स्टेरिङ ह्वील, र भेरियन्ट अनुसार १०.१ तथा १४.६ इन्चको इन्फोटेनमेन्ट स्क्रीन जस्ता आधुनिक सुविधाहरू उपलब्ध कम्पनी रहेको भनाइ छ । यसका साथै हाइकार कनेक्सन, ५० वाटको वायरलेस चार्जर, २५६ कलर भेरियशन सहितको एम्बियन्ट लाइट र किलेस इन्ट्रीजस्ता फिचरले गाडीलाई प्रविधिमैत्री बनाएको छ । सुरक्षाका दृष्टिकोणले ६ वटा एयरब्याग, आधुनिक एडास फिचर र ३६० डिग्री क्यामेरा राखिएको यो गाडीको टर्निङ रेडियस मात्र ४.९५ मिटर रहेकाले व्यस्त सहरी क्षेत्रमा चलाउन निकै सहज र उपयुक्त हुने देखिन्छ । कार्यक्रममा जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले गाडीको मूल्य सार्वजनिक हुनुअघि नै ७९ जना ग्राहकले यसलाई बुकिङ गरिसकेको जानकारी दिए । यसले नेपाली बजारमा यो गाडीप्रति उच्च आकर्षण रहेको उनको भनाइ छ । यस्तै, कार्यक्रममा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘हामीले नेपाली ग्राहकका लागि विश्वस्तरीय प्रविधि र सुविधासम्पन्न सवारी साधन भित्र्याउने लक्ष्य राखेका छौं । प्रोटोन इमास ५ ले नेपाली सडकमा विद्युतीय सवारीको अनुभवलाई नयाँ उचाइमा पु¥याउनेछ ।’ यस्तै, कार्यक्रममा बोल्दै कम्पनीकी निर्देशक दीपा अग्रवालले नेपालमा इन्टेलिजेन्ट र सस्टेनेबल मोबिलिटीको नयाँ युग सुरु भएको बताइन् । उनले जगदम्बा मोटर्स र मलेसियाको प्रोटोन इन्टरनेशनल कर्पोरेसन बीचको यो साझेदारीले नेपाली ग्राहकहरूलाई विश्वस्तरीय प्रविधि र सुरक्षाको अनुभूति गराउने विश्वास व्यक्त गरिन् । प्रोटोनले नेपालमा केवल सवारी साधन मात्र नभई आधुनिक र वातावरणमैत्री यातायातको समाधान ल्याउने लक्ष्य राखेको उनको भनाइ छ । उनका अनुसार विशेष गरी विद्युतीय सवारी साधन र दिगो विकासलाई कम्पनीले आफ्नो प्राथमिकतामा राखेको छ । शंकर ग्रुप अन्तर्गतको यो कम्पनीको को ७० वर्षभन्दा लामो व्यापारिक विरासत र अनुभवले प्रोटोन ब्रान्डलाई नेपालकै सबैभन्दा भरपर्दो अटोमोबाइल ब्रान्ड बनाउन मद्दत पुग्ने उनको दाबी छ । प्रोटोन इमास फाइभमा अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ । यसमा रहेको ब्याट्रीलाई फास्ट चार्जरको माध्यमबाट मात्र २० मिनेटमा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । गाडीमा सुरक्षित यात्राका लागि इन्डिपेन्डेन्ट मल्टिलिंक सस्पेन्सन, प्रिमियम इन्टेरियर र फराकिलो स्पेस रहेको छ । विश्व बजारमा यो मोडेल निकै सफल मानिन्छ र पछिल्लो १६/१७ महिनामा करिब ८ लाख युनिट बिक्री भइसकेको कम्पनीको दाबी छ । कार्यक्रममा बोल्दै प्रोटोन इन्टरनेसनलका डेपुटी डाइरेक्टर श्री लि झिदानले भने, ‘प्रोटोन इमास फाइभले विश्वव्यापी बजारमा बलियो पहिचान बनाइसकेको छ । विश्वभरका ६ लाख १० हजारभन्दा बढी ग्राहकहरूले प्रोटोन इमास फाइभमा प्रयोग भएको प्लेटफर्मलाई अपनाएका छन् । प्रोटोन इमास फाइभले उन्नत प्रविधि, भरपर्दो सुरक्षा र उत्कृष्ट मूल्यसहितका गाडीहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धता झल्काउँदछ । ’ उनका अनुसार प्रोटोनको अन्तर्राष्ट्रिय विकास रणनीतिमा नेपाल एक महत्त्वपूर्ण बजार हो । जगदम्बा मोटर्ससँगको सहयार्यले प्रोटोन इमास फाइभ ब्रान्डलाई भरपर्दो र नवप्रवर्तनीय विद्युतीय सवारी-साधन खोज्ने नेपाली ग्राहकहरूको लागि एक विश्वसनीय रोजाइ बनाउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । सार्वजनिक कार्यक्रममा मलेसियाली दूतावासका चान्सरी प्रमुख मोहम्मद बुखारी बिन मुस्तफालगायत अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । नेपालमा विद्युतीय सवारी साधनको बढ्दो मागलाई सम्बोधन गर्न यो गाडी एक किफायती र शक्तिशाली विकल्प हुने कम्पनीको दाबी छ । जगदम्बा मोटर्सले देशभर रहेका आफ्ना डिलर नेटवर्कमार्फत यसको बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्ने जनाएको छ ।
मन्त्रालय संख्या घटेपछि कर्मचारी दरबन्दी मिलान गरिँदै
काठमाडौं । सरकारले साबिकका २२ वटा मन्त्रालयको संख्या घटाएर १८ कायम गरेपछि गाभिएका तथा नवगठित मन्त्रालय र मातहतका निकायहरूको संगठन संरचना र कर्मचारी दरबन्दी व्यवस्थापनका लागि संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) सर्वेक्षण कार्य अन्तिम चरणमा पु¥याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार (आज) प्रेस विज्ञप्ति जारी गर्दै सर्वेक्षण कार्य सम्पन्न भएपछि विभिन्न पदहरूको दरबन्दी हालको भन्दा घट्न सक्ने र केही कर्मचारीहरू दरबन्दी भन्दा बढी भई फाजिलमा पर्न सक्ने सम्भावना रहेको जनाएको छ । यसरी फाजिलमा पर्ने कर्मचारीहरूको दरबन्दी मिलानलाई ध्यानमा राखी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृति बिना स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने निर्णय भएको छ । साउन ४ गते बसेको सचिव बैठकले गरेको उक्त निर्णय अनुसार, यदि कुनै पदमा पदपूर्ति गर्न आवश्यक भएमा सुरुमा फाजिलमा रहेका कर्मचारीको व्यवस्थापन गरिनेछ । फाजिल कर्मचारीको व्यवस्थापन भइसकेपछि पनि कुनै पद रिक्त रहेमा वा ओ एण्ड एम सर्वेक्षणबाट कायम भएका नयाँ स्वीकृत दरबन्दीको रिक्त पदमा पदपूर्ति गर्नुपर्ने अवस्था आएमा मात्र त्यस्ता पदमा स्थायी पदपूर्तिका लागि नियमित रूपमा लोक सेवा आयोगमा माग गरिने कार्यालयको जारी विज्ञप्तिमा उल्लेख छ ।
विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन
काठमाडौं । सरकारले विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन दिएको छ । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका विपद्जन्य घटनाको जोखिम बढ्दै गएपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति र स्थानीय तहका कर्मचारीलाई कार्यालयमा अनिवार्य रूपमा उपस्थित रहन निर्देशन दिएको हो । विपद् व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिका कर्मचारीलाई नियमित रूपमा कार्यालयमा उपस्थित रहन भनिएको हो । मन्त्रालयका अनुसार विपद्को अवधिभर कर्मचारीहरूले कार्यालय नछोडी समन्वय, सहजीकरण र निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेछ । हाल बिदामा रहेका कर्मचारीलाई समेत बिदा छोट्याई सम्बन्धित कार्यालयमा उपस्थित भई आफ्नो जिम्मेवारी पूरा गर्न मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले विपद्सम्बन्धी सूचना संकलन, उद्धार तथा राहत कार्य, क्षतिको विवरण र अन्य आवश्यक सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश तथा संघीय निकायसँग निरन्तर सम्पर्क र समन्वय गर्न स्थानीय तहलाई आग्रहसमेत गरेको छ । यस्तै, विशेष परिस्थितिवश कार्यालय छाड्नुपर्ने अवस्था सिर्जना भएमा सम्बन्धित निकायको पूर्वस्वीकृति लिएर जिम्मेवारीको उचित व्यवस्थापन गरीमात्र कार्यालय छाड्नुपर्ने छ ।
पर्यटन बोर्डमा नयाँ सदस्यको स्वागत, यी विषयमा भयो छलफल
काठमाडौं । नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले नवनियुक्त बोर्ड सदस्यहरूलाई स्वागत गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन १ गते नियुक्त गरेका निजी क्षेत्रतर्फका पाँचजना कार्यकारी समितिका सदस्यहरूलाई सोमबार बोर्डमा स्वागत गरिएको हो । यससँगै बोर्डका निमित्त कार्यकारी प्रमुख ऐरले बोर्ड स्थापनाको उद्देश्य, नीति तथा कार्यक्रम तथा हालसम्मका प्रमुख उपलब्धिबारे विस्तृत जानकारी गराएका छन् । स्वागत कार्यक्रममा बोर्ड र निजी क्षेत्रबीचको सहकार्यलाई सुदृढ बनाउँदै पर्यटन प्रवर्द्धनलाई परिणाममुखी ढंगले अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ । कार्यक्रममा निमित्त कार्यकारी प्रमुख ऐरले बोर्डले गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रमहरू, बोर्डको संरचना, अवसर र चुनौतीबारे समेत नवनियुक्त सदस्यहरूलाई जानकारी गराएका हुन् । उनले नेपाल आरोग्य वर्ष २०२७ लाई सफल बनाउन बोर्डले काम गरिरहेको विषयमा पनि जानकारी गराएका हुन् । नवनियुक्त बोर्ड सदस्य सन्तोष पोखरेलले आगामी दिनमा नेपालको पर्यटन प्रवर्द्धनका लागि सबै पक्षसँग सहकार्य गर्दै नयाँ सोच र कार्यशैलीका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालको पर्यटनमा निजी क्षेत्र महत्वपूर्ण कडी रहेको उल्लेख गर्दै हाल देखिएका अवरोध हटाएर समस्या समाधान गर्दै उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालनमा विशेष जोड दिए । त्यसैगरी, बोर्ड सदस्य सिर्जना केसीले सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत पर्यटन क्षेत्रलाई थप प्रतिस्पर्धी बनाउन आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रका समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीच सेतुको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले तथ्यमा आधारित नीति निर्माणका लागि अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । बोर्ड सदस्य सहदेव धमलाले निजी क्षेत्रका समस्या समाधानमा बोर्डले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी आर्थिक वर्षको बजेट तीन ‘पी’ अर्थात् पर्यटन क्षेत्रको संरक्षण (प्रोटेक्सन), संवर्द्धन (प्रिजर्भेसन) र प्रवर्द्धन (प्रमोसन) मा केन्द्रित हुनुपर्ने धारणा राखे । त्यसैगरी, बोर्ड सदस्य पेम्बा शेर्पाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै बोर्डका प्राथमिकताका कार्यक्रमलाई निरन्तरता दिने बताए । उनले व्यक्तिगत स्वार्थभन्दा संस्थागत हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । बोर्ड सदस्य डा. सोविता श्रेष्ठ ढकालले दिगो पर्यटन विकासका लागि गुणस्तर, अनुसन्धान र सुशासनलाई केन्द्रमा राखेर नीति तर्जुमा गर्दै प्रभावकारी व्यवस्थापन र सरोकारवालाबीचको सहकार्य आवश्यक रहेको उल्लेख गरेकी छन् । उनले पर्यटनको गुणस्तर अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रतिस्पर्धात्मक क्षमता थप मजबुत बनाउन बोर्डले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखिन् । स्वागत कार्यक्रमका क्रममा बोर्डका पदाधिकारी र नवनियुक्त बोर्ड सदस्यहरूको सक्रिय सहभागिता र निजी क्षेत्रसँगको सहकार्यमार्फत नेपालको पर्यटन क्षेत्रलाई थप सुदृढ र प्रतिस्पर्धी बनाउने साझा प्रतिबद्धता व्यक्त गरिएको छ ।
कोशी ब्यारेजबाट हाम फालेका साहको सकुशल उद्धार
काठमाडौं । कोशी ब्यारेजको ४७ नम्बर ढोकाबाट हाम फालेका व्यक्तिको सकुशल उद्धार गरिएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका –५ बस्ने अन्दाजी २८ वर्षीय जयप्रकाश साहको उद्धार गरिएको हो । सोमबार दिउँसो करिब २ बजे उनले कोशी नदीमा हाम फालेका थिए । घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस भारदहबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनलाई उक्त व्यारेजदेखि करीव ९० मिटर तलबाट मोटर बोटको सहायाताले सकुशल उद्धार गरेको हो । उद्धार गरिएका साहको अवस्था भने सामान्य रहेको छ ।
चलचित्र क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री
काठमाडौं । ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेटवार्ता गरेको छ । भेटमा नेपाल–चीनबीच चलचित्र, संस्कृति र पर्यटन प्रवद्र्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । सो भेटका क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै सरकारले यस्ता पहललाई आवश्यकताअनुसार सहयोग गर्न तयार रहेको बताए । उनले चलचित्र महोत्सवले नागरिकस्तरमा सम्बन्ध विस्तार गर्नुका साथै पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै आपसी हित र साझा लाभका आधारमा आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखे । सञ्चारमन्त्री तिमिल्सिनाले चीन नेपालका लागि बढी पर्यटक भित्रिने मुलुकमध्ये एक रहेको उल्लेख गर्दै नेपाली प्राकृतिक सम्पदा, संस्कृति र पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न चलचित्र प्रभावकारी माध्यम बन्न सक्ने बताए । नेपाली चलचित्रलाई विश्व बजारमा पुर्याउन तथा अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्न सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । चिनियाँ प्रतिनिधिमण्डलका नेता तथा एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभलका संस्थापक अध्यक्ष ली होङ्शुले नेपाल चीनको घनिष्ठ मित्र राष्ट्र भएको उल्लेख गर्दै नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र चलचित्र छायांकनका लागि उत्कृष्ट गन्तव्य रहेको बताए । उनले नेपालको अनुकूल वातावरण चलचित्र निर्माणका साथै सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवद्र्धन र नागरिकस्तरको सम्बन्ध सुदृढ गर्न अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्न उपयुक्त रहेको धारणा राखे । ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’ नेपाल र चीनबीच चलचित्र तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिएको द्विपक्षीय पहल हो । महोत्सवले नेपाली चलचित्रलाई चिनियाँ बजारसँग जोड्ने महत्वपूर्ण मञ्चका रूपमा काम गरिरहेको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले बताए । उनका अनुसार सन् २०२६ अप्रिल १४ देखि १९ तारिखसम्म चीनको हुनान प्रान्तस्थित चाङ्सा र हेङयाङ शहरमा आयोजना गरिएको महोत्सव नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औं वर्षको अवसरमा सम्पन्न भएको थियो। महोत्सवका लागि नेपालबाट २३ वटा चलचित्र आवेदन परेकामा ११ वटा चलचित्र प्रारम्भिक छनोटमा परेका थिए । त्यसपछि चिनियाँ सेन्सर प्रक्रियाबाट अन्तिम रूपमा ‘अञ्जिला’, ‘छक्का पञ्जा ५’, ‘तेल भिसा’, ‘महाजात्रा’, ‘कबड्डी ४’ र ‘होस्टेल ३’ गरी छ वटा नेपाली चलचित्र प्रदर्शनका लागि स्वीकृत भएका थिए । ती चलचित्रहरू चिनियाँ सबटाइटलसहित सम्बन्धित चिनियाँ निकायको स्वीकृतिपछि चाङ्सा र हेङयाङका चलचित्र हलमा प्रदर्शन गरिएको थियो । सो महोत्सवमा पुरस्कृत चलचित्रहरूको पुरस्कार वितरण कार्यक्रम मंगलबार (साउन ५, २०८३) चलचित्र विकास बोर्ड, काठमाडौंमा आयोजना हुन लागेको अध्यक्ष दाहालले जानकारी दिए ।
नेपालमै २० हजार रोयल इनफिल्ड उत्पादन, ९ महिनामा ४ अर्ब आम्दानी
काठमाडौं । त्रिवेणी ग्रुपअन्तर्गत रहेको टीजी अटो ग्रुप प्रालिले गत आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा ४ अर्ब रुपैयाँ बढी आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षभरिको तुलनामा बढी हो । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ७४ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीका अनुसार मोटरसाइकल बिक्री संख्या बढ्नु र बिक्री मूल्यमा सुधार आउनुले आम्दानी वृद्धि भएको हो । समीक्षा अवधिमा सञ्चालन नाफा पनि उल्लेख्य रूपमा बढेको छ । बिक्री लागत घटेसँगै सञ्चालन नाफाको मार्जिन ६.५७ प्रतिशतबाट बढेर ८.४८ प्रतिशत पुगेको छ । त्यसैगरी, कुल नगद सञ्चिति १९ करोड ७० लाख रुपैयाँबाट बढेर २६ करोड ७० लाख रुपैयाँ पुगेको छ । टीजीपीएलको आम्दानी निरन्तर बढ्दो क्रममा छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २ अर्ब ९६ करोड ९० लाख रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा १८ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२२ मेमा स्थापना भएको टीजीपीएल नेपालमा रोयल एनफिल्ड मोटरसाइकलको एकमात्र आधिकारिक निर्माता तथा आपूर्तिकर्ता हो । कम्पनीले बारा जिल्लामा करिब एक लाख वर्गफुट क्षेत्रफलमा अत्याधुनिक मोटरसाइकल एसेम्बल उद्योग सञ्चालन गरेको छ, जसको वार्षिक उत्पादन क्षमता २० हजार मोटरसाइकल रहेको छ । सन् २०२३ मेदेखि व्यावसायिक उत्पादन सुरु गरेको कम्पनीको प्रधान कार्यालय काठमाडौंमा छ । कम्पनीका अध्यक्ष वीरेन्द्रकुमार संघाई हुन् । उत्पादन, व्यापार तथा सेवा क्षेत्रमा लामो अनुभवी उनी एनआईसी एसिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रवर्द्धकका साथै अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालिका प्रबन्ध निर्देशकसमेत हुन्। टीजीपीएलले भारतस्थित आइशर मोटर्सबाट आयात गरिएका छुट्टाछुट्टै पुर्जा नेपालमै एसेम्बल गरी रोयल एनफिल्ड मोटरसाइकल उत्पादन गर्दै आएको छ । नेपाल सरकारले पूर्ण रूपमा तयार मोटरसाइकलको तुलनामा संयोजन उद्योगलाई अन्तःशुल्कमा ५० प्रतिशत र भन्सार महसुलमा २५ प्रतिशत छुट दिँदै आएकाले कम्पनीले लागतमा प्रतिस्पर्धात्मक लाभ प्राप्त गरेको जनाएको छ । यही सहुलियतका कारण प्रतिस्पर्धी मूल्यमा मोटरसाइकल उपलब्ध गराउन र बिक्री विस्तार गर्न सहयोग पुगेको कम्पनीको भनाइ छ । कम्पनीले उत्पादन गरेका मोटरसाइकल नेपालका आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिमार्फत बिक्री हुँदै आएका छन् । काठमाडौं उपत्यकामा हुने अधिकांश बिक्री नगदमा हुने गरेको छ भने बाहिरी जिल्लाका डिलरलाई बढीमा एक महिनासम्मको उधारो सुविधा दिइन्छ । गत आर्थिक वर्षको नौ महिनामा कम्पनीको औसत रकम असुली अवधि चार दिन, मौज्दात अवधि २५ दिन तथा आपूर्तिकर्तालाई भुक्तानी अवधि ६ दिन पुगेको छ । यससँगै कम्पनीको खुद सञ्चालन चक्र २६ दिनबाट घटेर २२ दिनमा सीमित भएको छ, जसले कार्यशील पुँजी व्यवस्थापन अझ प्रभावकारी बन्दै गएको संकेत गरेको छ । प्रिमियम मोटरसाइकल बजारमा रोयल एनफिल्डले नेपालमा बलियो ग्राहक आधार बनाइसकेको कम्पनीको दाबी छ । विशेषगरी ३५० सिसीभन्दा माथिको मोटरसाइकल खण्डमा ब्रान्डको लोकप्रियता र स्थिर मागका कारण आगामी दिनमा व्यवसाय विस्तार हुने अपेक्षा गरिएको छ । यद्यपि कम्पनीले बजारमा बढ्दो प्रतिस्पर्धालाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ । विद्युतीय मोटरसाइकलको विस्तार, नेपालमा सञ्चालनमा रहेका तथा स्थापना हुने तयारीमा रहेका अन्य मोटरसाइकल संयोजन उद्योगले प्रतिस्पर्धा थप चर्काउने कम्पनीको भनाइ छ । यद्यपि अधिकांश प्रतिस्पर्धी ब्रान्ड २५० सिसीभन्दा कम क्षमताको मोटरसाइकल बजारमा केन्द्रित रहेकाले ३५० सिसीभन्दा माथिको प्रिमियम खण्डमा रोयल एनफिल्डलाई अझै प्रतिस्पर्धात्मक लाभ रहेको कम्पनीको दाबी छ । कम्पनीले सरकारी नीतिगत जोखिमलाई पनि चुनौतीका रूपमा औंल्याएको छ । नेपालमा मोटरसाइकललाई विलासी वस्तु मानिने भएकाले भन्सार महसुल, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि कर उच्च रहेको छ । हाल संयोजन उद्योगले केही कर तथा भन्सार सहुलियत पाइरहे पनि भविष्यमा सरकारी नीति परिवर्तन भए त्यसले व्यवसायमा प्रत्यक्ष असर पार्न सक्ने कम्पनीको भनाइ छ । त्यसैगरी, नेपाल राष्ट्र बैंकले सवारीसाधन कर्जाको सीमा, आयातका लागि प्रतितपत्र खोल्दा आवश्यक मार्जिन तथा सवारी खरिद कर्जामा जोखिम भारसम्बन्धी नीतिमा परिवर्तन गर्न सक्ने भएकाले यस्ता नियामकीय व्यवस्थाले कम्पनीको व्यवसायमा प्रभाव पार्न सक्ने जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब रुपैयाँ ऋण लिएको छ । यसअघि कम्पनीको ऋण ७० करोड रुपैयाँमात्रै थियो ।