ईभी पूर्वाधारमा अब्बल टाटा मोटर्स : लाइफटाइम निःशुल्क चार्जिङदेखि ब्याट्री डाइग्नोस्टिक सेवा
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रवर्द्धन र ग्राहक सुविधालाई ध्यानमा राख्दै सिप्रदी ट्रेडिङ प्रालिले आफ्ना ग्राहकहरूका लागि विभिन्न सुविधाहरू दिँदै आएको छ । गाडी खरिद गर्ने ग्राहकहरूलाई लाइफटाइम निःशुल्क चार्जिङ सुविधा प्रदान गरिरहेको छ, जुन गाडीको वारेन्टी अवधिभर लागू हुने कम्पनीले जनाएकाे छ । यसका साथै सिप्रदीले नेपालमै पहिलो पटक अत्याधुनिक ब्याट्री डाइग्नोस्टिक र मर्मत सेवा पनि विस्तार गरेको छ । सिप्रदीले आयोजना गर्ने विभिन्न एक्सचेन्ज क्याम्पहरू, नाडा अटो शोजस्ता विशेष कार्यक्रमहरू वा अन्य अफरहरूका बेला ईभी खरिद गर्ने ग्राहकहरूले यो लाइफटाइम फ्री चार्जिङ सुविधाको लाभ उठाउन सक्छन् । यो सुविधा सिप्रदीको आफ्नै डिसी फास्ट चार्जर नेटवर्कमा उपलब्ध हुने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार हाल देशभर टाटा मोर्टसका १८५ भन्दा बढी फास्ट चार्जिङ स्टेशनहरू सञ्चालनमा छन् जसले ग्राहकहरूलाई देशभर चार्जिङको सुविधा पुर्याइरहेको छ । ईभी ग्राहकहरूको प्रमुख चिन्तामध्ये एक ब्याट्री मर्मत र प्रतिस्थापनको खर्चलाई मध्यनजर गर्दै कम्पनीले ब्याट्री डाइग्नोस्टिक एण्ड रिस्टोरेसन फेसिलिटी पनि सिप्रदी बाघडोल सञ्चालनमा ल्याएको हो । यो सुविधा नेपालमै एउटा मात्र रहेको कम्पनीको दाबी छ । यस अन्तर्गत यदि ब्याट्रीमा कुनै समस्या आएमा पुरै ब्याट्री फेर्नुपर्ने महँगो बाध्यता हट्नेछ । ब्याट्रीको मोडुअलमात्र परिवर्तन गर्न सकिन्छ । जुन मोडुअल वा सेल काम गरेको छैन, त्यहीमात्र फेर्ने सुविधा भएकाले खर्च अत्यन्तै न्यून हुन जान्छ । सेल परिवर्तन गर्नुपर्ने अवस्था आउनुअघि नै टाटाले नेपालमा त्यसका लागि आवश्यक पूर्वाधार तयार पारिसकेको छ । नेपालमा ईभी बिक्री थाल्नुअघि नै ब्याट्री रिपेरिङ युनिट तयार भइसकेकाले यसमा ईभी प्रयोगकर्ता निश्चिन्त हुन सक्छन् । सिप्रदीले ईभी ग्राहकहरूलाई उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्न देशभर २१ वटा सर्भिस सेन्टर रहेको छ जसमा १७ वटा ईभी डेडिकेटेड सर्भिस सेन्टरहरू सञ्चालन गरिरहेको छ । यी सेन्टरहरूमा तालिमप्राप्त प्राविधिकहरूद्वारा सेवा प्रदान गरिन्छ । कम्पनीले स्पेयर पार्ट्सको उपलब्धता पनि राम्रो रहेको जनाएको छ, जसले मर्मतसम्भारमा ग्राहकहरूलाई सहजता प्रदान गर्नेछ । यी सुविधाहरूले ईभी ग्राहकहरूलाई थप प्रोत्साहन मिल्ने र वातावरणमैत्री सवारीसाधन प्रयोगलाई बढावा दिने विश्वास कम्पनीको छ ।
नाइमा र ट्राफिक प्रहरीबीच पाँच वर्षे तालिम समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच ट्राफिक प्रहरीलाई व्यवहारकुशल सीप (सफ्ट स्किल्स) तथा नयाँ सवारी प्रविधिसम्बन्धी विषयमा नियमित तालिम प्रदान गर्ने सम्बन्धमा पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौं उपत्यकाभर कार्यरत करिब १८ हजार ५ सय ट्राफिक प्रहरीलाई लक्षित गरी गरिएको उक्त समझदारी ट्राफिक सप्ताह–२०८२ अन्तर्गत ‘सडक दुर्घटना न्यूनीकरण विशेष अभियान’ को अवसरमा हस्ताक्षर गरिएको हो । समझदारीपत्रमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र नाइमाका बोर्ड सदस्य सौरभ ज्योतिले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार नाइमाले आफ्ना सदस्य कम्पनीहरूको विज्ञता प्रयोग गरी नयाँ सवारी प्रविधि, सडक सुरक्षा, नविन प्रविधिको प्रयोग तथा सवारी–यातायात प्रणालीसँग सम्बन्धित प्राविधिक विषयमा आवश्यक तालिम सामग्री, स्रोतसाधन, विज्ञ सहजीकरण तथा समन्वय उपलब्ध गराउनेछ । त्यस्तै, ट्राफिक प्रहरी कार्यालयले तालिम कार्यक्रमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन, अनुगमन तथा गुणस्तर सुनिश्चित गर्नेछ । समझदारी कार्यान्वयनअन्तर्गत पहिलो चरणको तालिम माघ ४ गतेदेखि सुरु हुने र १६ कार्यदिनसम्म सञ्चालन हुने जनाइएको छ । प्रत्येक चरणमा १०० जना ट्राफिक प्रहरी सहभागी हुनेछन् । तालिममा तनाव व्यवस्थापन, सञ्चार तथा द्वन्द्व व्यवस्थापन, नयाँ सवारी साधन प्रविधिको सैद्धान्तिक र व्यावहारिक ज्ञान, ट्राफिक व्यवस्थापन अभ्यास, सडक दुर्घटना न्यूनीकरण तथा आवश्यक ह्यान्ड–जेस्चर सीपसम्बन्धी विषय समेटिनेछ । तालिम सहजीकरणका लागि इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई) पुल्चोक र थापाथली क्याम्पसका प्राध्यापक, जीवन विज्ञानका प्रशिक्षक, नाइमाका सदस्य कम्पनीका प्राविधिक विज्ञ, प्रेरणादायी वक्ता तथा आवश्यकताअनुसार स्वतन्त्र विज्ञहरूको सहभागिता रहनेछ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीले नयाँ सवारी प्रविधि र जनसम्पर्क–केन्द्रित सेवाका विषयमा ट्राफिक प्रहरीलाई निरन्तर तालिम आवश्यक रहेको बता ए। उनले दीर्घकालीन साझेदारीमा नाइमाको निरन्तर प्रतिबद्धता प्रशंसनीय रहेको उल्लेख गरे । नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले ‘Empowering Growth through Mobility’ भन्ने संस्थाको दृष्टिकोणअनुसार सडक सुरक्षा प्रवर्द्धन, उपभोक्ता शिक्षा, दक्ष मानव स्रोत विकास र नीतिगत पैरवीमा नाइमा निरन्तर सक्रिय रहेको बताइन् । यस सहकार्यले ट्राफिक प्रहरीको क्षमता विकासमार्फत नागरिकमैत्री सेवा प्रवाह र सडक सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।
सानिमा बैंक र एनसीएचएलबीच ‘नेपाल पे’ कार्ड नेटवर्कका लागि सम्झौता
काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ‘नेपाल पे’ कार्ड नेटवर्क तथा राष्ट्रिय कार्ड स्विच (एनपीएस–नेशनल कार्ड स्विच) अन्तर्गत प्रमुख सदस्यताका लागि सम्झौता भएको छ । सम्झौताअनुसार एनपीएस–नेशनल कार्ड स्विचलाई स्वदेशी कार्ड कारोबारको रुटिङ तथा सेटलमेन्ट सुनिश्चित गर्ने केन्द्रीय भुक्तानी पूर्वाधारका रूपमा स्थापना गरिनेछ। यसले घरेलु कार्ड कारोबारलाई अन्तरसञ्चालनयोग्य बनाउने लक्ष्य लिएको छ । सम्झौतापत्रमा सानिमा बैंक लिमिटेडका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय र १२७ वटा एटीएम सञ्जालमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नवीनपुस्ताले विश्वास र भरोसा गर्नसक्ने गतिशील र आधुनिक लोकतान्त्रिक शक्ति बनाउने सङ्कल्पसहितको समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन् । पार्टीका महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि राजधानीमा जारी दोस्रो दिनको विशेष महाविधेशनको बन्दसत्रमा सोमबार प्रस्तुत सो प्रस्तावमा थापाले विशेष केन्द्रीय महाधिवेशनबाट सुनौलो भविष्यतिर उन्मुख, स्पष्ट मार्गदर्शन, व्यवस्थापनमा अब्बल पार्टी निर्माण गर्ने उल्लेख गरेका छन् । 'कांग्रेसलाई २००६ सालको जस्तो क्रान्ति चेत, २०१५ सालको जस्तो प्रगतिशील र समावेशी सोच, २०४८ सालको जस्तो लोकप्रिय मत, २०६२र६३ को जस्तो सर्वस्वीकार्य नेतृत्व भएको पार्टी बनाउनेछौँ', महामन्त्री थापाद्वारा प्रस्तुत प्रस्तावमा भनिएको छ । महामन्त्री थापाले पार्टीको नेतृत्वमा ऐतिहासिक संविधासभामार्फत बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको मर्मलाई गम्भीरतापूर्वक आत्मसात गर्दै संविधानको समयानुकूल उदार र प्रगतिशील परिवर्तन आजको आवश्यकता भएको बताए । उनले संविधानको गतिशील कार्यान्वयनबाट मुलुकको राजनीतिलाई सही बाटोमा ल्याउनु र समुन्ततितर्फ डोहोर्याउनु आजको मुख्य राष्ट्रिय जिम्मेवारी भएको उल्लेख गरे । 'आज देशको राजनीतिक गतिप्रति जनतालाई आशा र विश्वासको उत्साहजनक सन्देश प्रवाह गर्दै समुन्नत नेपाल निर्माणको अग्रणी शक्ति बनाउने घडी आएको छ', प्रस्तावमा थापाले भन्नुभएको छ, 'यही ऐतिहासिक राष्ट्रिय दायित्वको सङ्कल्पसहित यो विशेष परिस्थितिमा विशेष महाविधशेन आयोजना गरिएको हो ।' राजनीतिक प्रस्तावमा महामन्त्री थापाले जेनजी प्रदर्शनपछिको अवस्थामा विशेष महाधिवशेनको आवश्यकता, विशेष महाधिवेशनको वैधानिक प्रावधान, नेपाली कांग्रेसको ऐतिहासिक परम्परा, आजको परिदृश्य र नेपाली कांग्रेसलगायत समसामयिक राजनीतिक प्रस्ताव र विशेष महाविधेशनको नीतिगत सङ्कल्प समेटिएका छ । महामन्त्री थापाले देश र पार्टीका लागि असाधारण परिस्थितिमा हुन गइरहेको विशेष महाधिवेशनले पार्टीलाई राजनीतिक शक्तिका रूपमा मात्रै सीमित नभई लोकतन्त्रप्रति पूर्ण निष्ठावान, समाजप्रति प्रतिबद्ध, जनताप्रति उत्तरदायी र स्थापनाकालीन जनमुखी आदर्शमा कृतसङ्कल्पित समुन्नत नेपालको नेतृत्वदायी र विश्वासयोग्य शक्तिका रूपमा पुनः स्थापित गर्ने बताएका छन् । राजनीतिक प्रस्तावमा पार्टीभित्र र बाहिरका आमकांग्रेसजनमा देखिएको उदासिनताको बादललाई हटाउँदै नवीन ऊर्जा, उत्साह, एकता र रुपान्तरणसहित समुन्नत नेपाल निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न १७ बुँदे विशेष सङ्कल्प समेटिएको छ । प्रस्तावमा भ्रष्टाचार नियन्त्रण, वित्तीय अनुशासन र सुशासनका लागि प्रभावकारी कानुन निर्माण र कानुनको कार्यान्वयन, संस्था र निकायहरूको कार्यक्षमता अभिवृद्धि, कार्यविधि सरलीकरण र सुदृढीकरण गर्दै समग्र प्रशासनिक प्रणालीलाई पारदर्शी, चुस्त र जनउत्तरदायी बनाउने सङ्कल्प गरिएको छ । प्रस्तावमा भनिएको छ, 'निषेधको राजनीति नगर्न, संयमता अपनाउन तथा संवादमार्फत निकास खोज्न सम्बन्धित सबै पक्षलाई आह्वान गर्दै भयरहित निर्वाचनको पक्षमा आफ्नो दृढता प्रकट गर्दछ ।' विगतको कमजोरी र त्रुटीबाट पाठ सिकेर आगामी दिनमा राष्ट्रिय हित एवं लोकतान्त्रिक मूल्य मान्यताप्रति अविचलित रहने प्रतिबद्धता व्यक्त गर्दै प्रस्तावमा जनभावनाअनुसार निष्ठा र सेवाको राजनीतिमा समर्पित रहने दृढ सङ्कल्प गरिएको छ । योग्यता, क्षमतामार्फत नयाँ ऊर्जा र प्राण भर्दै ‘निरन्तरतामा नवीनता’को मान्यताअनुरुप कांग्रेसलाई आजको समयको चेतअनुसारको अब्बल, गतिशील र आधुनिक सङ्गठन बनाउने सङ्कल्प गरिएको छ । पार्टीका सिद्धान्त, विचार र नीतिलाई जनताको भावनाअनुसार अद्यावधिक, परिमार्जन, व्याख्या तथा पुनःव्याख्या गरी सैद्धान्तिक–वैचारिक रुपान्तरण गर्न आवश्यक भएको प्रस्तावमा उल्लेख छ । विसं २०८० फागुनमा गोदावारीमा सम्पन्न महासमिति बैठकबाट पारित ‘निर्वाचन अगाडिको गठबन्धन’सम्बन्धी नीतिको स्मरण गर्दै प्रस्तावमा भविष्यमा हुने आवधिक निर्वाचनमा निर्वाचनपूर्व गठबन्धन (प्रि–इलेक्सन एलाइन्स) नगरिने प्रतिबद्धता जनाइएको छ । 'हामी आफ्नै जनता र पार्टीको शक्तिको आधारमा एक्लै लड्नेछौँ, आफ्ना मतदातालाई चुनाव चिह्न ‘रुख’ मा मात्रै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ', प्रस्तावमा भनिएको छ । प्रस्तावमा भ्रष्टाचारको आरोप लागेका नेता र सदस्यलाई आरोप लागेको मितिदेखि पदबाट स्वतः निलम्बन, कुनै पनि खालको भागबण्डामा भाग नलिने, राज्यका संस्थालाई दलीयकरणबाट मुक्त गर्ने, संसद्लाई केबल सरकार बनाउने सङ्ख्याको रूपमा मात्र नभइ नीति निर्माता र निगरानीकर्ताका रूपमा सबल, प्रभावकारी र सशक्त बनाइने सङ्कल्प लिइएको छ । निर्वाचन खर्चलाई पारदर्शी बनाउन प्राप्त मतभारका आधारमा राजनीतिक दललाई राज्य कोषमार्फत अनुदान उपलब्ध गराउने, दलहरूको आर्थिक गतिविधिमा कठोर वित्तीय अनुशासन कायम गर्ने व्यवस्था लागू गरिने, ‘नो भोट’को कानुनी सुश्चितता र विदेशमा रहेका नेपालीको मतदानको अधिकारलाई सुनिश्चित गरिनेछ । महामन्त्री थापाको प्रस्तावमा देशको प्रमुख कार्यकारी (प्रधानमन्त्री)को दुई कार्यकाल मात्रै हुने, राज्य संयन्त्रको गैरदलीयकरण र संस्थागत सुधार, प्रियतावादको चुनौती सामना गर्दै उदार लोकतन्त्रको रक्षा, राष्ट्रहित तथा राष्ट्रिय स्वार्थलाई सर्वोच्च प्राथमिकता दिइनेलगायत सङ्कल्प गरिएको छ ।
कार्यवाहक सभापति खड्काले गरे एकताका लागि आह्वान
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुकको वर्तमान राजनीतिक अन्योल र अनिश्चितताको अवस्थामा रहेको उल्लेख गर्दै पार्टीभित्र पूर्ण एकता आवश्यक रहेको बताएका छन् । उनले पार्टीका सबै नेता तथा कार्यकर्तालाई आपसी मतभेद र गुटगत सोंच त्याग्दै संगठन सुदृढीकरणमा जुट्नसमेत आग्रह गरेका छन् । खड्काले पछिल्लो समय देशको राजनीतिक परिस्थिति जटिल बन्दै गएको बताए । राजनीतिक स्थिरता कमजोर हुँदै गएको, सरकार परिवर्तनको सम्भावना बारम्बार देखिनु र जनतामा निराशा बढ्नुले लोकतान्त्रिक शक्तिहरूबीच बलियो समन्वय आवश्यक रहेको उनको भनाइ छ । यस्तो अवस्थामा नेपाली कांग्रेसले जिम्मेवार र एकताबद्ध भूमिका खेल्नुपर्नेमा उनको जोड छ। कार्यवाहक सभापति खड्काले पार्टीभित्र देखिने आन्तरिक असहमति स्वाभाविक भए पनि त्यसलाई संस्थागत ढंगले समाधान गर्दै अघि बढ्नुपर्ने बताए । ‘विचारको विविधता हाम्रो शक्ति हो, तर विभाजन हाम्रो कमजोरी बन्छ,’ उनले भने, ‘पार्टीलाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन ।’ खड्काले आगामी बैशाख अन्तिम साता हुने १५ औं महाधिवेशनले नीति र नेतृत्व परिवर्तन गर्ने अवस्था रहेको बताउँदै सबैलाई संयमता कायम राख्न पनि आग्रह गरेका छन् ।
बंगाल ट्राभल मार्ट–२०२६ मा नेपाल पर्यटन बोर्ड सम्मानित
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले भारतको सिलिगुडीमा सम्पन्न नवौँ संस्करणको बंगाल ट्राभल मार्ट (बीटीएम)–२०२६ मा ‘टुरिज्म एबोड अफ दी इस्टर्न हिमालयज्’ अवार्ड प्राप्त गरेको छ । जनवरी ९ देखि ११ सम्म द सिन्ड्रेला होटलमा आयोजित उक्त पर्यटन महोत्सवमा नेपाललाई पूर्वी हिमालय क्षेत्रमा अनुभवात्मक पर्यटन गन्तव्यका रूपमा सफलतापूर्वक स्थापित गरेको भन्दै कदरस्वरूप यो सम्मान प्रदान गरिएको हो । यस अवार्डले पूर्वी हिमालय क्षेत्रमा नेपालको पर्यटन पहिचान सुदृढ बनाउन नेपाल पर्यटन बोर्डले निरन्तर गर्दै आएको प्रवर्द्धनात्मक प्रयासलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको बोर्डले जनाएको छ । पूर्वी हिमालय ट्राभल एन्ड टुर अपरेटर्स एसोसिएसन (ईएचटिटिओए) द्वारा आयोजित बीटीएम पूर्वी भारतकै महत्वपूर्ण पर्यटन व्यापार मञ्च मानिन्छ, जहाँ भारत, नेपाल, भुटान र बंगलादेशका पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवालाको सहभागिता रहेको थियो । बीटीएम–२०२६ मा नेपाल पर्यटन बोर्डसँगै नेपालका ट्राभल ट्रेड कम्पनीहरू तथा कोशी र मधेश प्रदेशका पर्यटन क्षेत्रका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । तीनदिने कार्यक्रमका क्रममा नेपालका प्रदर्शकहरूले पश्चिम बंगाल लक्षित विशेष पर्यटन प्याकेज, सेवा र गतिविधिहरू प्रस्तुत गर्दै भारतीय र भुटानी खरिदकर्तासँग व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसर पाएका थिए । नेपाल स्टलमार्फत कोशी र मधेश प्रदेशका नयाँ पर्यटन उत्पादनबारे प्रत्यक्ष जानकारी दिइएको थियो भने यात्रु सूचना, नक्सा, पोस्टर र स्मरणिकासहितका प्रचार सामग्री वितरण गरिएको थियो । नेपाल पर्यटन बोर्डको तर्फबाट वरिष्ठ निर्देशक मणिराज लामिछाने, वरिष्ठ प्रबन्धक खड्गविक्रम शाह तथा सहयोगी कर्मचारी सुरेन्द्र सिंह लामा सहभागी थिए। मार्ट सुरु हुनुअघि जनवरी ७ मा सिलिगुडी जर्नालिस्ट क्लबमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ निर्देशक लामिछानेले स्थानीय सञ्चारमाध्यमलाई नेपालको पर्यटन सम्भावनाबारे जानकारी गराएका थिए । कार्यक्रमको औपचारिक उद्घाटनका अवसरमा बोल्दै वरिष्ठ निर्देशक लामिछानेले नेपालका विविध पर्यटन उत्पादनबारे प्रकाश पार्नुका साथै ‘भिजिट कोशी वर्ष–२०८२’ र ‘भिजिट मधेश–२०८३’ को सन्दर्भ उल्लेख गर्दै सहभागीहरूलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । जनवरी १० को साँझ ‘नेपाल नाइट सांस्कृतिक कार्यक्रम’ आयोजना गरी भारतीय पर्यटकहरूका लागि नेपाललाई आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको थियो । कार्यक्रममा वरिष्ठ निर्देशक लामिछानेले स्वागत मन्तव्य दिँदै आगामी बिदामा नेपाल भ्रमण गर्न आग्रह गरेका थिए भने वरिष्ठ प्रबन्धक शाहले पश्चिम बंगालसँग जोडिने सीमावर्ती क्षेत्र, कोशी र मधेश प्रदेशसहित नेपालका प्रमुख आकर्षण र गतिविधिबारे प्रस्तुति दिएका थिए । कार्यक्रममा नेपाली सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । मैत्रीपूर्ण सद्भावका रूपमा नेपाल पर्यटन बोर्ड, कोशी र मधेश प्रदेशका टोलीले सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागकी अतिरिक्त सचिव डा. प्रेरणा चाम्लिङ, भुटान पर्यटन विभागका मार्केटिङ प्रबन्धक कर्मा वाङ्दी, बीटीएमका अध्यक्ष सन्दीपा घोष तथा ईएचटिटिओएका अध्यक्ष सुरेश ठाकुरीलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरेका थिए । नेपाल पर्यटन बोर्डले बीटीएम–२०२६ मार्फत नेपाल–भारत सीमापार पर्यटन सहकार्यलाई थप मजबुत बनाउँदै पूर्वी हिमालय क्षेत्रमा नेपालको पर्यटन उपस्थिति विस्तार गर्न महत्वपूर्ण उपलब्धि हासिल भएको जनाएको छ ।
ग्राहकलाई प्यान र इमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह
काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) तथा इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकले जारी गरेको सूचनामा ग्राहकको खाताबाट काटिएको कर विवरण आयकर ऐन, २०५८ अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक अनिवार्य रहेको उल्लेख गरिएको छ । ग्राहकले बैंकको पोर्टल panupdate.nicasiabank.com तथा मोबाइल बैंकिङ अनुप्रयोग (एनआईसी एसिया मोबाइल बैंक) मा रहेको ‘प्यान अद्यावधिक’ विकल्प प्रयोग गरी आफ्नो प्यान सहजै अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ । साथै, नजिकको कुनै पनि एनआईसी एसिया बैंकको शाखा कार्यालयमा गई आवेदन दिएर पनि प्यान अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको छ। बैंकका अनुसार ब्याज भुक्तानीमा काटिएको कर विवरण विद्युतीय कर कट्टी विवरण प्रणाली (ई–टीडीएस) मा समावेश गर्न प्यान अत्यावश्यक हुन्छ। प्यान अद्यावधिक भएपछि कर विवरण स्वचालित रूपमा सम्बन्धित प्यानमा प्रविष्ट हुने र यसले कर कट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने बैंकको विश्वास छ । प्यान अद्यावधिक नगरिएकै कारण ई–टीडीएसमा ब्याज कर दाखिला नभएमा वा पछि कर समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने स्पष्ट पारिएको छ । यसैगरी बैंकले ग्राहकलाई खातामा इमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध गरेको छ । ग्राहकले बैंकको भिडियो ग्राहक पहिचान (भिडियो केवाईसी) सेवा, मोबाइल बैंकिङ अनुप्रयोगको ‘मेरो प्रोफाइल’ खण्डमार्फत ‘इमेल परिवर्तन’ विकल्प प्रयोग गरी इमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन् । शाखा कार्यालयमार्फत पनि इमेल ठेगाना अद्यावधिकको सुविधा उपलब्ध रहेको बैंकले जनाएको छ । यसअघि प्यान उपलब्ध गराए पनि कर विवरण अद्यावधिक नभएको वा इमेल ठेगाना परिवर्तन गर्न बाँकी रहेको अवस्थामा नजिकको शाखा कार्यालय वा ग्राहक सेवा केन्द्रका फोन नम्बर १६६०–०१–७७७७ र ०१–४७८९८९८ मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।
२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, ६ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले घटेर २६३५ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ७५ कम्पनीको सेयर मूल्य बढ्दा १७८ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३३३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । राधी विद्युतको ३१ करोड, मन्जुश्री फाइनान्सको २७ करोड, श्रीनगर एग्रीटेकको २५ करोड र शिवम् सिमेन्टको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल र श्रीनगर एग्रीटेकको सेयर मूल्य १० प्रतिशतले सकारात्मक सर्किट लागेको हो । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.०२ प्रतिशतले बढेको छ । त्यस्तै व्यापार समूह सबैभन्दा धेरै १.१६ प्रतिशतले घटेको छ । विकास बैंक ०.०२, होटल तथा पर्यटन ०.१० प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ ०.२५, फाइनान्स ०.५३, हाइड्रोपावर ०.११, लगानी ०.४२, जीवन बीमा ०.१८, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.१४, अन्य ०.२९ प्रतिशतले घटेको छ ।