माछापुच्छ्रे बैंकको वरिष्ठ डीसीईओमा प्रसिद्धराज अर्याल, डीसीईओमा सुभाष जमरकट्टेल
काठमाडौं । माछापुच्छ्रे बैंकले व्यवस्थापन तहमा दुई उच्च अधिकारीलाई पदोन्नति गरेको छ । बैंक सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) र नायब महाप्रबन्धक सुभाष जमरकट्टेललाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा गर्ने निर्णय गरेको हो । बैंकका अनुसार अर्यालसँग बैंकिङ क्षेत्रको करिब दुई दशकभन्दा बढी अनुभव छ । काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर गरेका उनले कर्जा, ट्रेजरी, करेस्पोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन तथा लघुवित्तलगायतका क्षेत्रमा काम गरिसकेका छन् । उनी यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका अनुभवी बैंकर हुन् । त्यस्तै, वित्तीय तथा बैंकिङ क्षेत्रमा विशेषज्ञता हासिल गरेका सुभाष जमरकट्टेल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी, त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानुन विषयमा स्नातक तथा एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), थाइल्यान्डबाट बैंकिङ तथा फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री हासिल गरेका छन् । बैंकले अर्याल र जमरकट्टेल दुवैले आफ्नो बैंकिङ करिअरमा उल्लेखनीय व्यावसायिक उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनीहरूको नेतृत्व, अनुभव र दक्षताले संस्थाको आगामी व्यावसायिक लक्ष्य हासिल गर्न थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
कानुन सुधार वर्ष कार्यान्वयनमा सरकार, १६६ विधेयक अघि बढाउन मन्त्रालयगत समन्वय सुरु
काठमाडौं । सरकारले घोषणा गरेको कानून सुधार तथा निर्माण वर्षलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सबै मन्त्रालयसँग नियमित समन्वय प्रक्रिया सुरु गरेको छ । आगामी आर्थिक वर्षभित्र संघीय संसदमा पेश गरिने १६६ वटा विधेयक समयमै तयार गर्न मन्त्रालयले प्रत्येक महिनाको पहिलो सोमबार अन्तरमन्त्रालय समीक्षा बैठक गर्ने निर्णय गरेको हो । सोमबार आयोजित पहिलो बैठकमा विभिन्न मन्त्रालयका कानुन शाखा तथा महाशाखा प्रमुखहरू सहभागी रहेको मन्त्री सोविता गौतमको सचिवालयले जनाएको छ । कानुनमन्त्री गौतमको सचिवालयका अनुसार बैठकले विधेयक निर्माणको प्रगति, देखिएका कानुनी तथा प्रशासनिक चुनौती र समाधानका उपायबारे नियमित समीक्षा गरेको छ । मन्त्री गौतमको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कानुन सुधार तथा निर्माण वर्षलाई सफल बनाउन र संघीय संसद्लाई आवश्यक विधायिकी कार्य समयमै उपलब्ध गराउने उद्देश्यले १६६ विधेयकको लक्ष्य पूरा गर्न आजबाट नियमित छलफल सुरु गरिएको हो । यो प्रक्रिया प्रत्येक महिनाको पहिलो सोमबार निरन्तर सञ्चालन हुनेछ ।’ कानुन मन्त्रालयले आगामी आर्थिक वर्षमा संसदमा दर्ता गरिने १६६ वटा विधेयकको सूची यसअघि नै संघीय संसद् सचिवालयमा पेश गरिसकेको छ । ती विधेयकको मस्यौदा तयारी, अन्तरमन्त्रालय समन्वय र समयसीमा व्यवस्थापनलाई प्रभावकारी बनाउन मासिक समीक्षा संयन्त्र लागू गरिएको मन्त्रालयले जनाएको छ । सरकारले चालु आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्ष घोषणा गर्दै विकास निर्माण, लगानी प्रवद्र्धन, सेवा प्रवाह र सुशासनलाई सहयोग पुग्ने गरी विद्यमान कानुनको पुनरावलोकन तथा आवश्यक नयाँ कानुन निर्माणलाई प्राथमिकतामा राखेको छ । यस अभियानलाई कार्यान्वयन गर्न मन्त्रालयले ९ बुँदे कार्ययोजना समेत तयार गरी लागू गरिसकेको सचिवालयले जनाएको छ । यसैबीच, सरकारले संघीय संसदमा विधेयकको अभाव हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरेको छ । प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक मा सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गौतमले संसद्लाई आवश्यक विधेयक समयमै उपलब्ध गराइने र विधायिकी कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता जनाएकी हुन् । सरकारले एकै आर्थिक वर्षभित्र १६६ विधेयक अघि बढाउने लक्ष्य सार्वजनिक गरेसँगै अब त्यसको कार्यान्वयन, मन्त्रालयहरूबीचको समन्वय र संसद्को विधायिकी कार्यक्षमता मुख्य परीक्षणका विषय बन्ने देखिएको छ ।
कांग्रेसको १५औं महाधिवेशन सबैका लागि खुला बनाउने तयारी
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औं महाधिवेशनलाई सबैका लागि स्वीकार्य, समावेशी र सहभागितामूलक बनाउने उद्देश्यले पार्टीभित्र निरन्तर संवाद र छलफल भइरहेको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सभापति गगनकुमार थापा, पार्टी नेतृत्व तथा अन्य नेताहरूबीच महाधिवेशनको वातावरण सहज बनाउन सकारात्मक ढंगले छलफल अघि बढिरहेको जानकारी दिए । शर्माले आगामी महाधिवेशनमा पार्टीका सबै सदस्यको सहभागिता सुनिश्चित गर्ने वातावरण निर्माणमा नेतृत्व गम्भीर रहेको उल्लेख गर्दै त्यसका लागि भइरहेका संवादले सकारात्मक निष्कर्ष दिने विश्वास व्यक्त गरे । उनले पार्टीभित्र जारी छलफलले सहमतिमार्फत महाधिवेशनलाई सफल बनाउने आधार तयार गर्ने बताए । शर्माले भने, ‘सभापति गगनकुमार थापा, सिङ्गो नेपाली कांग्रेस पार्टी र पार्टी नेतृत्वबीच नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सबैलाई सहभागी हुने वातावरण सहज बनाउने उद्देश्यले संवाद र छलफल भइरहेका छन् । ती संवाद तथा छलफल सकारात्मक ढङ्गले टुङ्गिनेछन् भन्नेमा हामी विश्वस्त छौं ।’ कांग्रेसभित्र १५औं महाधिवेशनको तयारी, कार्यतालिका तथा सहभागीको दायरालगायत विषयमा पछिल्ला दिनहरूमा नेतृत्व तहमा निरन्तर परामर्श र छलफल चलिरहेको छ ।
कङ्गोमा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो
काठमाडौं । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा ९३० पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबारसम्म देशभर दुई हजार ३४४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र ३७ जनाको मृत्यु भएको छ, जुन एकै दिनमा भएको उच्च मृत्युमध्ये एक हो । पूर्वी कङ्गोमा गत मे १५ मा घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्रगतिमा फैलिएको प्रकोप भएको अधिकारीले बताएका छन् । यसपटक फैलिएको ‘बुन्डिबुग्यो’ प्रजातिको इबोला भाइरस अन्य प्रकारको तुलनामा कम देखिने भए पनि यसविरुद्ध हालसम्म स्वीकृत खोप वा उपचार विधि उपलब्ध छैन । सबैभन्दा बढी प्रभावित इतुरी प्रान्तमा सुरक्षा चुनौतीका कारण रोग नियन्त्रण तथा उपचारका प्रयास प्रभावित भइरहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रकोप घोषणा भएयता स्वास्थ्य केन्द्र र उपचार टोलीमाथि कम्तीमा १२ वटा आक्रमण भएका छन् । यसैबीच, तलब नपाएको विरोधमा केही स्वास्थ्यकर्मीले काम छाडेका छन् । भाइरस सङ्क्रमणका कारण कम्तीमा ३६ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल ७२४ जना सङ्क्रमित आइसोलेसन तथा अस्पतालमा उपचाररत छन् । प्रभावित क्षेत्रमा रोग नियन्त्रण, सङ्क्रमितको उपचार र निगरानीका प्रयासलाई तीव्र पारिएको जनाइएको छ ।
‘ड्रागन आर्मर ब्याट्री’सहित जीडब्लूएमले ईभी सुरक्षामा नयाँ मापदण्ड
काठमाडौं । विद्युतीय सवारीसाधनको बजार तीव्र रूपमा विस्तार भइरहेका बेला जीडब्लूएमले आफ्नै ब्याट्री प्रविधि ‘ड्रागन आर्मर ब्याट्री’मार्फत ईभी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्ने दाबी गरेको छ । विश्वका अधिकांश अटोमोबाइल कम्पनीले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने गरे पनि जीडब्लूएमले आफ्नै भगिनी कम्पनी एसभीओएलटी इनर्जीमार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार आफ्नै ब्याट्री विकास गर्ने भएकाले गुणस्तर, सुरक्षा र विश्वसनीयतामाथि पूर्ण नियन्त्रण कायम गर्न सम्भव भएको छ । नेपालमा हालै सार्वजनिक गरिएको जीडब्लूएम ओरा ५ ईभी एसयूभीमा पनि एसभीओएलटीले विकास गरेको ‘ड्रागन आर्मर ब्याट्री’ प्रयोग गरिएको छ । वर्षौंको अनुसन्धानपछि विकसित गरिएको यो ब्याट्री आगो तथा पानी प्रतिरोधी सुरक्षा प्रणाली, लामो ड्राइभिङ रेन्ज, फास्ट चार्जिङ क्षमता र उच्च कार्यसम्पादनका विशेषतासहित आएको कम्पनीले जनाएको छ। ‘ड्रागन आर्मर’ नाम ब्याट्रीको विशेष आन्तरिक संरचनाबाट प्रेरित भएको कम्पनीको भनाइ छ । ब्याट्रीभित्रका सेलहरू ड्रागनको खप्टाजस्तै तह–तहमा राखिएकाले विशेष ‘डाउनवर्ड भेन्टिङ’ प्रणाली विकास गरिएको छ । कुनै असामान्य अवस्थामा ताप वा आगो उत्पन्न भए पनि त्यसलाई यात्रु बस्ने क्याबिनतर्फ फैलिन नदिई तलतर्फ बाहिर निकाल्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यसले यात्रुको सुरक्षामा थप सुरक्षा कवचको रूपमा काम गर्ने विश्वास कम्पनीको छ ।
बुधबारदेखि वर्षा घट्ने, आज र भोलि भने भारी वर्षाको जोखिम
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको जानकारी दिएको छ । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले आज र भोलि देशका विभिन्न स्थानमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमश कम हुँदै जाने जानकारी दिए । उनका अनुसार आज दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ । विभागले कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थान वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति मधेस प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने छ । ती क्षेत्रमा बाढीपहिरो, डुबान तथा गेग्रान बहावको जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
विपीको सम्झनामा एक हजार चार सय धावक दौडिने
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजना गर्न लागेको ग्रीन रनमा करिब एक हजार चार सय धावक सहभागी हुने भएका छन् । उपसभापति विश्वप्रकाश शर्माका अनुसार साउन ६ गते आयोजना हुने पाँच किलोमिटरको ग्रीन रन जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गर्न लागिएको हो । कांग्रेसका अनुसार दौडमा विभिन्न उमेर समूहका करिब एक हजार चार सय प्रतिस्पर्धीले सहभागिता जनाउनेछन् । ‘जलवायु जनचेतना जगाऔँ, जुटौँ’ भन्ने नारासहित हुने दौड ललितपुरस्थित यूएन पार्कबाट सुरु हुनेछ । ग्रीन रनपछि जावलाखेलमा जलवायु परिवर्तनका चुनौती र समाधानका विषयमा विज्ञहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिने कार्यक्रम रहेको छ ।
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच एमओयू गर्ने सहमति, व्यापार र लगानीका नयाँ अवसर खोजिने
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सले द्विपक्षीय व्यापार, लगानी र निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्ने विषयमा सहमति जनाएका छन् । दुवै संस्थाले सन् २०२६ को अन्त्य वा २०२७ को प्रारम्भसम्म समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्दै सहकार्यलाई संस्थागत बनाउने तयारी गरेका छन् । नेपाल भ्रमणमा रहेकी स्पेनिश चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलादा रिएरा इ रेनेसँग चेम्बर भवनमा भएको भेटवार्तामा आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउने विषयमा विस्तृत छलफल भएको हो । छलफलका क्रममा नेपालको सुदृढ बन्दै गएको राजनीतिक स्थायित्व र भारत–चीनबीचको रणनीतिक भौगोलिक अवस्थाले विदेशी लगानी तथा व्यापार विस्तारका लागि अनुकूल वातावरण सिर्जना गरेको निष्कर्ष निकालिएको थियो । सहकार्यअन्तर्गत स्पेनिश चेम्बर अफ कमर्सले सन् २०२७ को फेब्रुअरी–मार्चमा आठदेखि नौवटा स्पेनी कम्पनी सहभागी हुने व्यवसायिक प्रतिनिधिमण्डल नेपाल पठाउने तयारी गरेको जनाएको छ । भ्रमणका क्रममा नेपाली र स्पेनी उद्यमीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार गर्न तथा नयाँ लगानीका अवसर पहिचान गर्न व्यवसायिक फोरम आयोजना गरिनेछ । दुवै पक्षले व्यापार र लगानी प्रवर्द्धनका लागि सरकारी तहको सहकार्य प्रभावकारी बनाउने, व्यवसायिक भिसा प्रक्रियालाई सहज बनाउने, उच्चस्तरीय भ्रमणलाई प्रोत्साहन गर्ने तथा युरोपेली संघ (ईयू)–भारत व्यापार वार्ताबाट नेपालले लिन सक्ने अवसरबारे पनि छलफल गरेका छन् । बैठकले नवीकरणीय ऊर्जा, जलविद्युत्, सौर्य तथा वायु ऊर्जा, जल व्यवस्थापन, स्मार्ट सिटी, यातायात पूर्वाधार, पर्यटन, आतिथ्य, कृषि तथा खाद्य प्रशोधनलाई सहकार्यका प्राथमिक क्षेत्रका रूपमा अघि बढाउने सहमति गरेको छ । नेपालबाट उच्च गुणस्तरको अर्थोडक्स चिया, अर्गानिक कफी, ठूलो इलाइची, जडीबुटी, सुगन्धित वनस्पति, अत्यावश्यक तेल, पश्मिना, हस्तनिर्मित गलैँचा, हस्तकला सामग्री, हस्तनिर्मित कागज, चाँदीका गरगहना, अर्गानिक मह तथा बाँसजन्य उत्पादन स्पेन निर्यातको राम्रो सम्भावना रहेको छलफलमा उल्लेख गरिएको थियो । त्यसैगरी स्पेनले नवीकरणीय ऊर्जा, सिँचाइ, कृषि तथा स्वास्थ्य उपकरण, पानी प्रशोधन र पर्यटन व्यवस्थापनमा आफ्नो आधुनिक प्रविधि तथा अनुभव नेपालसँग साझेदारी गर्न सक्ने विश्वास व्यक्त गरेको छ । दुवै चेम्बरले म्याड्रिड, बार्सिलोना र काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा सक्रिय सहभागिता जनाउने, डिजिटल व्यापार तथा ई–कमर्समार्फत व्यावसायिक सम्बन्ध विस्तार गर्ने र दक्षिण एसियामा अनुभव भएका स्पेनी कम्पनीलाई नेपालको पूर्वाधार, स्वच्छ ऊर्जा तथा दिगो लगानीका परियोजनामा सहभागी गराउने विषयमा पनि जोड दिएका छन् । भेटवार्ताको अन्त्यमा दुवै पक्षले नियमित व्यवसायिक भ्रमण, निजी क्षेत्रबीचको साझेदारी र संस्थागत सहकार्यलाई अझ सुदृढ बनाउँदै आगामी वर्षहरूमा नेपाल–स्पेन व्यापार तथा लगानीलाई उल्लेखनीय रूपमा विस्तार गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।