आईएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण
काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा अभिषेक कालाखेतीले बीवाईडी एट्टो १ ईभी जितेका छन् । ‘टिग्मोमार्फत आईएमई गरौँ, उपहार जितौँ’ योजना अन्तर्गत कालाखेतीले ईभी जितेका हुन् । आईएमईले मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी अभिषेककी श्रीमती कल्पना कालाखेतीलाई ईभी हस्तान्तरण गरेको छ । यसैगरी, युवराज न्यौपाने र सन्तोष गिरीले याडिया ओविन इलेक्ट्रिक स्कुटर जितेका छन् भने १२ जनाले आइफोन १७ जितेका हुन् । विजेता सबैलाई आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा टिग्मोका प्रतिनिधिले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए । पुरस्कार हस्तान्तरण कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कागजी माध्यमबाट सुरु भएको रेमिट्यान्स सेवा अहिले डिजिटल युगमा प्रवेश गरेको बताए । उनले साउदी अरबमा काम गर्ने नेपालीहरूलाई टिग्मोमार्फत आईएमईमा पैसा पठाउन आग्रह गरे । आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले कम्पनीले सञ्चालन गर्ने प्रमोसन अभियानहरू केवल मार्केटिङ का लागि मात्रै नभई सेवाग्राहीको व्यक्तिगत वा परिवारको हित हुने गरी ल्याउने गरेको बताए । कम्पनीले आगामी दिनमा पनि ग्राहकलक्षित विभिन्न योजनाहरू सञ्चालन मा ल्याउने जानकारी दिए । आईएमईले पुस २१ गतेदेखि चैत १७ गतेसम्म यो योजना सञ्चालन मा ल्याएको थियो । योजना अन्तर्गत पाँच जनाले १० हजार रुपैयाँ नगद पुरस्कारसमेत हात पारेका थिए । योजना अवधिभर ७५ जना विजेताले विभिन्न पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ । विजेताहरूको छनोट डिजिटल लक्की ड्रमार्फत गरिएको कम्पनीले जनाएको छ । आईएमईले मेगा पुरस्कारअन्तर्गत एक जनालाई बीवाईडी एट्टो १ ईभी, मासिक दुई जनालाई याडिया ओविन इलेक्ट्रिक स्कुटर तथा साप्ताहिक १२ जनालाई आइफोन १७ पुरस्कार प्रदान गरेको थियो । साथै, आईएमईले ‘टिग्मो एन्ड विन फाइभ टाइम्स मोर’ योजना अगस्ट १ देखि अक्टोबर ३१ सम्म सञ्चालन मा ल्याउन लागिएको जानकारी पनि दिएको छ ।
बुद्ध एयरको आम्दानी १०.३१ अर्ब, लाभांश १ प्रतिशत
काठमाडौं । निजी क्षेत्रको वायु सेवा कम्पनी बुद्ध एयर प्रालिले गत आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा १० अर्ब ३१ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब ६७ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो, जुन आर्थिक वर्ष २०८०/८१ को १३ अर्ब २२ करोड ६० लाख रुपैयाँको तुलनामा ३.३८ प्रतिशत अर्थात् ४४ करोड ८० लाख रुपैयाँले बढी हो । यसअघि कम्पनीले आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ, आव २०७८/७९ मा १० अर्ब ९ करोड ८० लाख रुपैयाँ, आव २०७७/७८ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँ, आव २०७६/७७ मा ४ अर्ब ९४ करोड २० लाख रुपैयाँ, आव २०७५/७६ मा ६ अर्ब ८० करोड ८० लाख रुपैयाँ र आव २०७४/७५ मा ६ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको थियो । सन् १९९६ मा स्थापना भएको बुद्ध एयर नेपालका निजी क्षेत्रका सबैभन्दा ठूलो तथा सबैभन्दा लामो समयदेखि सञ्चालनमा रहेको वायुसेवा कम्पनी हो । कम्पनीले मुख्य रूपमा नेपालको प्रमुख आन्तरिक हवाई मार्गमा सेवा दिँदै आएको छ भने काठमाडौंबाट भारतको वाराणसी र कोलकातामा समेत अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको छ । हाल कम्पनीसँग एक एटीआर-४२ र १४ एटीआर-७२ गरी १५ वटा विमान छन् भने कम्पनीका अध्यक्ष वीरेन्द्र बहादुर बस्नेत हुन् । तीन वटा विमान बिक्री तथा सेवामुक्त गरेपश्चात् १५ वटा विमानमा सीमित भएको हो । आन्तरिक हवाई यात्रु संख्याका आधारमा कम्पनीले करिब ५७ प्रतिशत बजार हिस्सा कायम राखेको जनाएको छ । अघिल्लो वर्ष यो हिस्सा करिब ६० प्रतिशत रहेको थियो । अघिल्लो वर्षको तुलनामा हिस्सा घटेपनि बजार नेतृत्व भने कायम रहेको जनाएको छ । कम्पनीले नाफाको अधिकांश हिस्सा सञ्चित गर्दै आएको छ । आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा खुद नाफाको करिब १ प्रतिशत मात्र लाभांश वितरण गरी बाँकी रकम कम्पनीमै राखिएको जनाएको छ । अतिरिक्त नगद प्रवाहबाट दीर्घकालीन ऋणको नियमित भुक्तानी गर्नुका साथै अल्पकालीन ऋणसमेत घटाउँदै आएको कम्पनीको दाबी छ । भद्रपुरमा भएको विमान दुर्घटनापछि प्राप्त बीमा दाबी रकमबाट केही अल्पकालीन ऋण समयअघि नै चुक्ता गरिएको पनि कम्पनीले जनाएको छ । अप्रिल २०२६ को अन्त्यसम्म सञ्चालन आम्दानीको तुलनामा खुद कार्यशील पुँजीको अनुपात करिब ९ प्रतिशत रहेको छ । कम्पनीसँग ७१ प्रतिशत अप्रयुक्त ऋण उपयोग क्षमता (ड्रइङ पावर) रहेको छ, जसमा धितोका रूपमा रहेका ऋणमुक्त विमानहरूको मूल्य पनि समावेश छ । गत आर्थिक वर्षको पहिलो नौ महिनामा सञ्चालन नाफा मार्जिन ८.२ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यो १० प्रतिशत तथा त्यसअघिको वर्ष १९.४ प्रतिशत रहेको थियो । इन्जिन मर्मत तथा ओभरहोल खर्च बढ्नु र पश्चिम एसियाको भू-राजनीतिक तनावका कारण हवाई इन्धन (एटीएफ) महँगिनुले नाफामा दबाब परेको कम्पनीले जनाएको छ । प्रति उपलब्ध सिट-किलोमिटर आम्दानी (आरएएसके) अप्रिल २०२६ सम्म महामारीअघिकै स्तरमा पुगेर करिब २१.२ रुपैयाँ पुगे पनि कर्मचारी तथा मर्मत-सम्भार खर्च बढ्दा प्रति उपलब्ध सिट-किलोमिटर लागत (सीएएसके) पनि बढेको छ । यसका कारण आम्दानी र लागतबीचको अन्तर २.८ रुपैयाँमा सीमित भएको छ, जुन पछिल्लो पाँच-छ वर्षयताकै न्यून स्तर हो । सन् २०१९ मा यो अन्तर ८.९ रुपैयाँ थियो । गत आर्थिक वर्षको साढे ९ महिनामा यात्रु संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशतले घटेको छ । यात्रु भराइ दर (प्यासेन्जर लोड फ्याक्टर) पनि सन् २०२२ को करिब ९२ प्रतिशतबाट पछिल्ला वर्षमा ८३-८५ प्रतिशतमा झरेको कम्पनीले जनाएको छ। हाल कम्पनीसँग ३ अर्ब १२ करोड ६ लाख रुपैयाँ तथा १३.७५ मिलियन अमेरिकी डलर बराबर ऋण रहेको छ । यसमध्ये १ अर्ब १३ करोड ६ लाख रुपैयाँ र १३.७५ मिलियन अमेरिकी डलर दीर्घकालीन ऋण रहेको छ । त्यस्तै, कम्पनीले ८७ करोड रुपैयाँ अल्पकालीन ऋण, ८७ करोड रुपैयाँ ओभरड्राफ्ट सुविधा तथा २५ करोड रुपैयाँ बैंक ग्यारेन्टी उपयोग गरेको छ । कुल बैंक ऋणमध्ये करिब ६३ प्रतिशत अमेरिकी डलरमा रहेको तथा विमान मर्मत-सम्भार र स्पेयर पाट्र्ससम्बन्धी अधिकांश खर्च पनि डलरमै हुने भएकाले विनिमय दरको उतारचढाव कम्पनीका लागि प्रमुख वित्तीय जोखिमका रूपमा रहेको कम्पनीले जनाएको छ ।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध मात्र उजुरी, साउन १२ र १३ गते सुनुवाइ हुने
काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध एउटा उजुरी परेको छ । मंगलबार बसेको संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीविरुद्ध परेको उजुरी खोलेको हो । प्रस्तावित निर्वाचन आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाविरुद्ध कुनै उजुरी नपरेको समिति सभापति वोधनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार संवैधानिक व्यवस्थाअनुसार सार्वजनिक सूचना जारी गरी १० दिनभित्र उजुरी मागिएकोमा प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीविरुद्ध एउटा मात्र उजुरी प्राप्त भएको हो। समितिलाई सुनुवाइ प्रक्रियासम्बन्धी एउटा सुझाव पनि प्राप्त भएको उनले जानकारी दिए । समितिले संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३ को दफा १६ बमोजिम कार्कीविरुद्ध प्राप्त उजुरी खोल्ने प्रस्ताव अनुमोदन गर्दै उजुरी सदस्यहरूलाई वितरण गरेको छ। सभापति श्रेष्ठका अनुसार पाल्पाको तानसेन–९ निवासी भेषराज भुइँटेलले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न, सिफारिस अस्वीकृत गर्न तथा विस्तृत छानबिन गर्न माग गर्दै उजुरी दर्ता गराएका हुन् । उजुरीकर्ताले आफ्नो परिचय गोप्य नराख्न आग्रह गरेको सभापति श्रेष्ठले जानकारी दिए । त्यसैगरी, ललितपुरका उज्वलकृष्ण श्रेष्ठले सुनुवाइ प्रक्रियामा बहुमत–अल्पमतको सट्टा गोलाप्रथाबाट निर्णय गर्न सुझाव दिएको उनले बताए। प्रस्तावित पदका लागि आवश्यक संख्याअनुसार मात्रै नाम सिफारिस भएकाले गोलाप्रथाको प्रस्ताव सान्दर्भिक नभएको उनले बताए। उनले भने, ‘निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तको पदका लागि प्रस्तावित श्री मानबहादुर कार्की (मोरङ) र निर्वाचन आयुक्तको पदका लागि प्रस्तावित श्री गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) एवं डा. राजीव सुब्बा (काठमाडौं) लाई उक्त पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं प्रमाणसहित शिष्ट र मर्यादित भाषामा समिति समक्ष १० दिनभित्र सूचना दिन सरकारी सञ्चारमाध्यमबाट सूचना जारी गरिएकोमा उक्त समयावधिभित्र निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तको पदमा प्रस्तावित मानबहादुर कार्कीका सम्बन्धमा एउटा उजुरीको सूचना प्राप्त हुन आएको छ ।’ समितिले प्राप्त उजुरीमाथि छलफल, आवश्यक परे उजुरीकर्तालाई उपस्थित गराउने, प्रस्तावित व्यक्तिहरूसँग छलफल गर्ने तथा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका तीनै प्रस्तावित व्यक्तिको सुनुवाइका लागि साउन १२ र १३ गते को समय निर्धारण गरेको छ । सभापति श्रेष्ठका अनुसार साउन १२ गते दुई जना आयुक्त र साउन १३ गते प्रमुख आयुक्तको सुनुवाइ गर्ने कार्यतालिका तय गरिएको छ । असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले आयोगको प्रमुख आयुक्तमा कार्की र आयुक्तहरूमा वाग्ले र सुब्बाको नाम सुनुवाइका लागि प्रस्ताव गरेको थियो ।
फाइभ-जी स्पेक्ट्रम किन्न १० मेगाहर्जकै २६० करोड रुपैयाँ
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले फाइभ–जी सेवाका लागि आवश्यक स्पेक्ट्रम लिलामीको आधारमूल्य (बेसरेट) प्रस्ताव गर्ने तयारी गरेको छ । प्राधिकरण स्रोतले उपलब्ध गराएको मस्यौदा तथा परामर्श दस्तावेजअनुसार ७०० मेगाहर्ज ब्यान्डको मूल्य सबैभन्दा महँगो प्रस्ताव गरिएको छ । प्राधिकरणले ७०० मेगाहर्ज ब्यान्डको आधारमूल्य प्रति मेगाहर्ज २६ करोड रुपैयाँ, ३५०० मेगाहर्ज (३.५ गिगाहर्ज) ब्यान्डको प्रति मेगाहर्ज २ करोड २५ लाख रुपैयाँ तथा २६ गिगाहर्ज ब्यान्डको प्रति मेगाहर्ज १३ लाख रुपैयाँ प्रस्ताव गरेको छ । यही आधार मूल्यका आधारमा स्पेक्ट्रम लिलाम प्रक्रिया सञ्चालन गरिने प्राधिकरण स्रोतले जनाएको छ । प्रस्तावित दरअनुसार कुनै दूरसञ्चार सेवा प्रदायकले ३५०० मेगाहर्ज ब्यान्डमा १०० मेगाहर्ज स्पेक्ट्रम खरिद गर्न चाहे न्यूनतम २२५ करोड रुपैयाँ तिर्नुपर्ने प्राधिकरण स्रोतले जानकारी दियो । त्यसैगरी, ७०० मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज स्पेक्ट्रमका लागि मात्रै २६० करोड रुपैयाँ बराबरको न्यूनतम बोलकबोल मूल्य लाग्ने स्रोतको भनाइ छ । प्राविधिक रूपमा ७०० मेगाहर्ज ब्यान्डले कम टावरबाट ठूलो भौगोलिक क्षेत्रमा सेवा विस्तार गर्न सक्ने भएकाले यसको मूल्य अन्य ब्यान्डको तुलनामा धेरै निर्धारण गरिएको हो । ग्रामीण तथा दुर्गम क्षेत्रमा उच्च गुणस्तरको फाइभ-जी सेवा विस्तारका लागि यो ब्यान्डलाई सबैभन्दा प्रभावकारी मानिन्छ । स्रोतका अनुसार ३५०० मेगाहर्ज ब्यान्ड उच्च गतिको डेटा सेवाका लागि उपयुक्त मानिए पनि यसको कभरेज अपेक्षाकृत सीमित हुन्छ भने २६ गिगाहर्ज ब्यान्ड अत्याधिक क्षमतायुक्त भए पनि धेरै घना टावर पूर्वाधार आवश्यक पर्छ । यद्यपि प्राधिकरणले आधार मूल्य प्रस्ताव गरिसके पनि नेपालमा फाइभ-जी स्पेक्ट्रमको व्यावसायिक लिलामी प्रक्रिया अझै सम्पन्न भएको छैन । त्यसैले दूरसञ्चार सेवा प्रदायकहरूले पूर्ण रूपमा व्यावसायिक फाइभ-जी सेवा सञ्चालन गर्न आवश्यक स्पेक्ट्रम प्राप्त गर्न सकेका छैनन् ।
वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न अनलाइन उजुरी प्रणाली सुरु
काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिएका श्रमिकहरूको समस्यालाई सहज रूपमा सम्बोधन गर्न सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मंगलबार ताहाचलस्थित वैदेशिक रोजगार विभागमा आयोजित एक कार्यक्रममा ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक पोर्टलको औपचारिक सुरु गरेका हुन् । यसअघि वैदेशिक रोजगारीका नाममा हुने ठगी, बढी रकम असुली र अनुमतिविना विदेश पठाउनेजस्ता गतिविधिबाट पीडित भएका व्यक्तिहरू उजुरी दिनका लागि भौतिक रूपमै विभाग उपस्थित हुनुपर्ने बाध्यता थियो । विभागमा सीमित जनशक्ति र स्रोत–साधनका कारण उजुरी प्रक्रियामा ढिलाइ हुँदा पीडितहरूले काठमाडौंमा बस्न र खानका लागि थप खर्च व्यहोर्नुपर्ने अवस्था थियो । अनलाइन प्रणालीको सुरुसँगै अब पीडितहरूले काठमाडौं धाउनुपर्ने र विभिन्न निकायमा भौंतारिनुपर्ने बाध्यताको अन्त्य भएको मन्त्री यादवले बताए । उनका अनुसार अब पीडितले आफ्नै मोबाइल वा कम्प्युटरबाट पोर्टलमा गई आवश्यक प्रमाणहरू सङ्कलन गरेर उजुरी पेस गर्न सक्नेछन् । पीडितले अनलाइनमार्फत उजुरी पेस गरेपछि विभागको टोलीले त्यसको अध्ययन गरी दर्ता प्रक्रिया अगाडि बढाउनेछ । उजुरी दर्ता हुनासाथ सम्बन्धित व्यक्तिको मोबाइलमा म्यासेज र इमेलमार्फत जानकारी जाने व्यवस्था मिलाइएको छ । उक्त सन्देशमा उपलब्ध गराइएको ‘ट्र्याकिङ कोड’ प्रयोग गरी पीडितले जुनसुकै समयमा आफ्नो उजुरीको अवस्था र प्रगतिबारे जानकारी लिन सक्नेछन् । यस प्रणालीलाई थप प्रभावकारी बनाउन वैदेशिक रोजगार विभागले नेपाल प्रहरीसँग ‘एपीआई इन्टिग्रेसन’ समेत गरेको छ । यसअघि ठगी गर्ने व्यक्तिहरूका विरुद्ध जारी भएको पक्राउ पुर्जी इमेलमार्फत पठाउँदा प्रहरीको प्रणालीमा रेकर्ड रहन समय लाग्ने र अपराधीहरू विदेश पलायन हुने जोखिम थियो । अब भने विभागबाट जारी भएको पक्राउ पुर्जी सिधै प्रहरीको केन्द्रीय प्रणालीमा प्रविष्ट हुनेछ । मन्त्री यादवले भने, ‘वैदेशिक रोजगारीमा जान चाहने कुनै पनि व्यक्तिले गाउँदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको यात्रामा विभिन्न प्रकारका ठगी र शोषणको सामना गर्नुपर्ने अवस्था रहेको छ । जस्तै, विदेश पठाइदिन्छु भनेर ठगी गर्ने, बढी रकम असुल्ने, इजाजतपत्रबिना विदेश पठाउनेलगायतका अनेकौँ समस्या छन् । यसअघि यस्ता ठगीका घटनामा उजुरी दिन प्रमाणसहित विभागमै आउनुपर्ने बाध्यता थियो ।’ यस प्रक्रियाले गर्दा ठगीमा संलग्न व्यक्तिहरूले प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स सर्टिफिकेट) प्राप्त गर्न नसक्ने र उनीहरूलाई कानुनी दायराबाट उम्किन कठिन हुने मन्त्री यादवले स्पष्ट पारे । न्यायको ढोकालाई नागरिकको हातसम्म पुर्याउने उद्देश्यले यो प्रविधिमैत्री सेवा सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
कीर्तिपुरमा जलेको कारभित्र पुरुषको शव फेला
काठमाडौं । कीर्तिपुरमा एउटा जलेको निजी कारभित्र एक पुरुष जलेको अवस्थामा फेला परेका छन् । कीर्तिपुरको चाँदनी चोकमा बा ५ च ३०३८ नम्बरको कारमा पुरुषको शव जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार यो घटना मंगलबार (आज) बिहान ११ बजेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।
इरान युद्ध अपडेट : विश्वलाई असर पार्ने पाँच महत्त्वपूर्ण घटनाक्रम
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम समाप्त भएको घोषणा गरेको १० दिन बितिसकेको छ । त्यसयता दुवै पक्षले पुनः सैन्य आक्रमण सुरु गरेका छन्, जसले मध्यपूर्वको सुरक्षा अवस्था र विश्व भू–राजनीतिमा फेरि अनिश्चितता बढाएको छ । अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सीईएनटीओएम) ले लगातार १० रात इरानमाथि हवाई आक्रमण गरेको छ । अमेरिकाले यी आक्रमणहरू इरानले हर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजमाथि आक्रमण गर्न प्रयोग गर्ने सैन्य क्षमता कमजोर पार्न गरिएको जनाएको छ । युद्धको पछिल्लो अवस्थाबारे जान्नुपर्ने पाँच मुख्य कुरा यस्ता छन् : १. हर्मुज जलडमरूमध्यबाट जहाज आवागमनमा तीव्र गिरावट युद्ध फेरि सुरु भएपछि विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हर्मुज जलडमरूमध्यबाट हुने जहाज आवागमन उल्लेखनीय रूपमा घटेको छ । लोयड्सका विश्लेषकहरूका अनुसार धेरै जहाजले आफ्नो पहिचान संकेत (ट्रान्सपोन्डर) बन्द गरेर यात्रा गरिरहेका छन् । व्यापारिक तथ्यांक कम्पनी केप्लरका अनुसार गत सप्ताहन्तमा केवल ३० वटा जहाज मात्र उक्त जलडमरूमध्य पार गरेका थिए । जबकि अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु गर्नुअघि दैनिक १०० भन्दा बढी जहाज यस मार्गबाट आवतजावत गर्थे । यद्यपि ट्रम्प प्रशासनले भने अमेरिकी सैन्य सुरक्षामा हर्मुज जलडमरूमध्य खुला रहेको र दैनिक लाखौं ब्यारेल तेल सुरक्षित रूपमा निर्यात भइरहेको दाबी गरेको छ । २. तेलको मूल्य फेरि उकालो युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य जुलाई २० मा एक महिनापछि पहिलो पटक प्रति ब्यारेल ९० अमेरिकी डलर नाघेको छ । त्यस्तै, अमेरिकी कच्चा तेल (डब्ल्यूटीआई) को मूल्य पनि एक महिनायताकै उच्च स्तरमा पुगेको छ । अमेरिकी ऊर्जा सूचना प्रशासन (एफआईए) का अनुसार हर्मुज जलडमरूमध्यबाट दैनिक करिब २ करोड ३ लाख ब्यारेल कच्चा तेल तथा पेट्रोलियम पदार्थ ओसारपसार हुन्छ । यो विश्वभर समुद्री मार्गबाट हुने तेल व्यापारको करिब २५ प्रतिशत हो । यस मार्गबाट निर्यात हुने करिब ९० प्रतिशत तेल एसियाली बजार विशेषगरी चीन र भारत पुग्ने गर्छ । इनर्जी एस्पेक्ट्सकी संस्थापक तथा बजार विश्लेषक अमृता सेनका अनुसार यदि आपूर्ति अवरोध अगस्टसम्म जारी रह्यो भने खाडी क्षेत्रको उत्पादन घट्न सक्छ र तेलको मूल्य फेरि तीन अंक (१०० डलरभन्दा माथि) पुग्ने सम्भावना छ । ३. इरानसँग अझै पनि जवाफी आक्रमण गर्ने क्षमता अमेरिकी आक्रमणका बाबजुद इरानसँग अमेरिका, उसका साझेदार र मध्यपूर्वमा रहेका अमेरिकी सम्पत्तिलाई क्षति पुर्याउने क्षमता अझै कायम रहेको विश्लेषण गरिएको छ । इरानसँग सम्बन्धित आक्रमणका कारण व्यावसायिक जहाजहरू पनि जोखिममा परेका छन् । ग्रीक कम्पनी डाइनाकमद्वारा सञ्चालित एउटा जहाज हर्मुज जलडमरूमध्यमा अज्ञात प्रहारपछि आगलागी भएको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् । तेहरानले अझै पनि क्षेप्यास्त्र र ड्रोन प्रहार गर्न सक्ने क्षमता राखेको छ । अमेरिकी सैन्य अड्डा रहेका देशहरूमा भएका पछिल्ला आक्रमणमा थप तीन अमेरिकी सैनिक मारिएको बताइएको छ । यसपछि राष्ट्रपति ट्रम्पले तेहरानले यसको ‘धेरै गुणा मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका छन्। साथै उनले हर्मुज जलडमरूमध्य इरानबाहेक सबैका लागि खुला रहने बताएका छन् । ४. युद्ध अन्त्य गर्ने सहज विकल्प देखिँदैन अमेरिकी सञ्चारमाध्यम एक्सिओसका अनुसार कतार र पाकिस्तानले अमेरिका तथा इरानबीच १० दिनको युद्धविराम प्रस्ताव गरेका छन् । तर वार्ता असफल हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै वासिङ्टनले थप सैन्य तयारी पनि गरिरहेको छ । उक्त रिपोर्टअनुसार इजरायलले केही दिनभित्र युद्धलाई अझ व्यापक र समन्वित सैन्य अभियानमा विस्तार गर्ने तयारी गरिरहेको छ । पर्यवेक्षक रिसर्च फाउन्डेसनका भू–राजनीति विज्ञ क्लेमेन्स चेका अनुसार अहिलेको अवस्था नियन्त्रणभित्र देखिए पनि क्रमशः थप खतरनाक बन्दै गएको छ । उनका अनुसार अमेरिकासँग अहिले कुनै पनि सजिलो विकल्प छैन । उसले या त इरानको दीर्घकालीन दबाब सहनुपर्नेछ वा युद्ध अझ विस्तार गर्नुपर्नेछ अथवा केही विशेष छुट दिनुपर्ने अवस्था आउन सक्छ । उनले हर्मुज जलडमरूमध्य इरानका लागि ‘चाहेको बेला खोल्न र बन्द गर्न सकिने रणनीतिक हतियार’ जस्तै रहेको भन्दै हर्मुजसँगै बाब अल–मन्देब जलडमरूमध्य पनि अवरुद्ध भए विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी दिएका छन् । ५. अर्को महत्त्वपूर्ण समुद्री मार्ग पनि जोखिममा सोमबार राति यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाविरुद्ध समुद्री नाकाबन्दी तत्काल लागू गर्ने घोषणा गरेका छन् । यसले इरानका कारण हर्मुज जलडमरूमध्यमा देखिएको तेल आपूर्ति संकटलाई अझ गम्भीर बनाउन सक्ने अनुमान गरिएको छ । हुथीहरूले यसअघि पनि अमेरिका–इरान युद्धका क्रममा बाब अल–मन्देब जलडमरूमध्य बन्द गर्ने चेतावनी दिँदै आएका थिए । यो मार्ग पनि अन्तर्राष्ट्रिय व्यापार तथा साउदी अरेबियाको तेल निर्यातका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। हर्मुज जलडमरूमध्य अवरुद्ध भएपछि साउदी अरेबियाले दैनिक लाखौं ब्यारेल तेल पाइपलाइनमार्फत लाल सागरस्थित निर्यात टर्मिनलतर्फ पठाइरहेको छ । यसले हालसम्म विश्व तेल बजारमा केही राहत दिएको छ। तर यदि बाब अल–मन्देब पनि बन्द भयो भने त्यो वैकल्पिक मार्गसमेत अवरुद्ध हुनेछ र विश्वव्यापी तेल आपूर्ति संकट अझ गहिरिने विश्लेषकहरूको चेतावनी छ । (सीएनबीसीबाट अनुदित तथा सम्पादित)
एसएमएल महिन्द्राको ‘हिरोई बीएस६’ स्कुल बस नेपालमा सार्वजनिक
काठमाडौं । एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले सुर्खेतमा ग्राहक भेटघाट कार्यक्रम आयोजना गर्दै ‘हिरोई बीएस६’ स्कुल बस नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । स्थानीय विद्यालयका सञ्चालक, यातायात व्यवसायी, फ्लीट सञ्चालक, उद्योगी–व्यवसायी तथा कम्पनीका ग्राहकको सहभागितामा आयोजित कार्यक्रममा एसएमएल महिन्द्रा लिमिटेडका नेपालका लागि कन्ट्री म्यानेजर सुमन नागपाल र लक्ष्मी कमर्सियल भेहिकल्सका सेल्स तथा आफ्टर सेल्स हेड संजय खड्काले संयुक्त रूपमा नयाँ बसको शुभारम्भ गरेका हुन् । कम्पनीका अनुसार नेपालको विद्यालय यातायातलाई सुरक्षित, आधुनिक र भरपर्दो बनाउने उद्देश्यले ‘हिरोई बीएस६’ स्कुल बस बजारमा ल्याइएको हो । नेपाल सरकारको विद्यालय बससम्बन्धी मापदण्डअनुसार यो बस ३६ देखि ५६ सिट क्षमताका विभिन्न भेरियन्टमा उपलब्ध हुनेछ । विद्यालयको आवश्यकता र सञ्चालन प्रकृतिअनुसार उपयुक्त मोडल छनोट गर्न सकिने कम्पनीले जनाएको छ । नयाँ बस बीएस६ फेज–२ (ओबीडी–२) उत्सर्जन मापदण्डअनुरूप निर्माण गरिएको छ । यसमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल स्टार्ट एसिस्ट, इलेक्ट्रोनिक हाइड्रोलिक कन्ट्रोल युनिट, मल्टि इन्फर्मेसन मिटर क्लस्टर, गियर कोचिङ सिस्टम तथा पावर र इकोनोमी ड्राइभिङ मोडजस्ता आधुनिक प्रविधि समावेश गरिएको कम्पनीको दाबी छ । यी प्रविधिले सुरक्षा, इन्धन दक्षता र सञ्चालन कार्यक्षमता बढाउने कम्पनीको भनाइ छ । बसमा फराकिलो तथा आरामदायी सिट, उत्कृष्ट सस्पेन्सन प्रणाली, कम सञ्चालन तथा मर्मत खर्च, उच्च इन्धन दक्षता र भरपर्दो बिक्रीपछिको सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ । विद्यार्थीको दैनिक यात्रालाई सुरक्षित, सहज र आरामदायी बनाउने उद्देश्यले डिजाइन गरिएको यो बस विद्यालय यातायातका लागि उपयुक्त विकल्प हुने कम्पनीको विश्वास छ । कार्यक्रममा कम्पनीले ग्राहक तथा व्यावसायिक साझेदारसँग बिक्रीपछिको सेवा, स्पेयर पार्ट्सको उपलब्धता, प्राविधिक सहयोग तथा आगामी योजनाबारे अन्तरक्रिया गरेको थियो । सहभागीहरूले कम्पनीको सेवा र नयाँ उत्पादनप्रति सकारात्मक प्रतिक्रिया दिएको कम्पनीले जनाएको छ । लक्ष्मी कमर्सियल भेहिकल्सले गुणस्तरीय उत्पादन, विश्वसनीय बिक्रीपछिको सेवा तथा नवीन व्यावसायिक यातायात समाधानमार्फत नेपाली ग्राहकको विश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।