विकासन्युज

लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र बिक्री गर्ने, ७ प्रतिशत ब्याज पाइने

काठमाडौं । लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ बिक्री खुला गर्ने भएको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत र ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने छ । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई बिक्री गरिने बैंकले जनाएको छ ।  बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमासाउन १९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र प्रयाप्त आवेदन नपरे साउन २८ गतेसम्म समय लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । 

सिटिजन लाइफका ४ सञ्चालकको पदावधि थप, अध्यक्षमा पाण्डेलाई निरन्तरता

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकको पदावधि थप गरेको छ । साथै, कम्पनीले अध्यक्ष प्रदीपजङ्ग पाण्डेलाई अध्यक्षकै जिम्मेवारीमा निरन्तरता दिने निर्णय गरेको छ । सञ्चालक समितिको साउन ४ गते बसेको १३२औँ बैठकले आगामी वार्षिक साधारणसभा सम्पन्न नभएसम्मका लागि हालका सञ्चालकहरूको पदावधि थप गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार संस्थापक समूहका सञ्चालकहरूको चारवर्षे कार्यकाल साउन ६ गते समाप्त हुने भए पनि साधारणसभा सम्पन्न गर्न समय लाग्ने भएकाले कम्पनीको नियमावलीको नियम २७(४) बमोजिम पदावधि निरन्तरता दिइएको हो । पदावधि थप हुने सञ्चालकमा अध्यक्ष प्रदीपजङ्ग पाण्डे, सुमित कुमार अग्रवाल, मनोज कार्की र महेश स्वाँर रहेका छन् । बैठकले प्रदीपजङ्ग पाण्डेलाई अध्यक्ष पदमै निरन्तरता दिने निर्णय पनि गरेको छ । कम्पनीले थपिएको पदावधि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराउने जनाएको छ । साधारणसभाले सञ्चालकहरूको पदावधि सम्बन्धी निर्णयलाई अन्तिम स्वीकृति दिने कम्पनीको भनाइ छ ।

आत्मदाह प्रयास गरेकी गुरुङको कीर्तिपुरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंमै पुन: एक जना महिलाले आत्मदाह प्रयास गरेकी छन् । सोमबार (साउन ४) दिउँसो काठमाडौं महानगरपालिकाको ६ स्थित बौद्ध गेट नजिक साढे २ बजे २७ वर्षीया सालु गुरुङले शरीरमा आगो लगाएकी हुन् ।  गुरुङको श्रीमानसँग विवाद हुँदा उनी सञ्चालक गरेको खाजाघर पछाडिको पार्किङमा उनले शरीरमा पेट्रोल छर्की आगो लगाएको थिइन् । गुरुङको श्रीमानले उनलाई फेला पारी उपचारको लागि सुष्मा कोइराला मेमोरियल अस्पताल साखु लगी उपचार भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । उनका अनुहार, छाती र दुवै हातमा गरी अन्दाजी ५० प्रतिशत जलेको छ । बोल्न सक्ने र  सामान्य उपचारपश्चात साँझ कीर्तिपुर अस्पतालमा रिफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  यसअघि त्रिपुरेश्वरमा मुगुका २५ वर्षीय गणेश नेपाली र बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले आत्मदाह प्रयास गरेका थिए । दुवै जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग मंगलबार (आज) छलफल गर्ने भएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान साढे ११ बजे छलफल हुन लागेको हो । छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफल तयारी पोशाक उद्योगको वर्तमान अवस्था, उद्योगले भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्द्धन, रोजगारी सिर्जना र उद्योग क्षेत्रको समग्र विकासका विषयमा केन्द्रित हुने जनाइएको छ । प्रधानमन्त्री शाहले पछिल्ला दिनहरूमा निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायहरूसँग निरन्तर संवाद गर्दै आइरहेका छन् । संवादको क्रममा उनले उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायहरूले भोगिरहेका समस्या, समाधानका उपाय र नीतिगत सुधारका विषयमा सुझाव लिने तथा कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई निर्देशन दिँदै आएका छन् ।

बीमा सर्भेयर संघले 'सीएआर' बीमा दाबी सम्बन्धी तालिम आयाेजना गर्दै

काठमाडौ । नेपाल बीमा सर्भेयर संघ (निसा) ले ’ह्यान्डलिङ सिएआर इन्स्योरेन्स क्लेम : फ्रम साइट इन्स्पेक्टेसन टु रिर्पोट राइटिङ’ विषयमा एक दिने तालिमको आयोजना गर्ने भएको छ । तालिम यही साउन १७ गते आयोजना हुने निसाले जनाएको छ । निर्माण (कन्सक्ट्रक्सन अल रिस्क–सिएआर) बीमा दाबीको स्थलगत निरीक्षणदेखि प्रतिवेदन लेखनसम्मका सम्पूर्ण प्रक्रियामा व्यावहारिक ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गर्न लागेको निसाले जनाएको छ । निसाका अनुसार तालिम विहान ११ बजेदेखि ६ बजेसम्म होटल साङ्ग्रिला ब्लु, मैत्री मार्ग, ललितपुर मा सञ्चालन हुनेछ । तालिमका प्रशिक्षक इ. जगन्नाथ गौतम रहनेछन् । उनी सिभिल इन्जिनियर, निर्माण व्यवस्थापनमा स्नातकोत्तर, बीमा सर्भेयर तथा टेक्निकल अडिटर हुन् । तालिममा ऋब्च् बीमा दाबीको स्थलगत निरीक्षण, क्षतिको मूल्याङ्कन, आवश्यक कागजात व्यवस्थापन तथा व्यावसायिक प्रतिवेदन लेखन सम्बन्धी व्यावहारिक पक्षमा प्रशिक्षण प्रदान गरिने छ ।  यो तालिम बीमा सर्भेयर, इन्जिनियर तथा चार्टर्ड एकाउन्टेन्टहरूका लागि लक्षित गरिएको छ ख। प्रभावकारी सिकाइ सुनिश्चित गर्न २५ जना सहभागी मात्र सहभागी गराइने भएकाले इच्छुकलाई समयमै दर्ता गर्न संस्थाले आग्रह गरेको छ । संस्थाले सहभागिता शुल्क दस्यका लागि ५ हजार, गैरसदस्यका लागि ८ हजार तथा  कर्पोरेट सहभागीका लागि १० हजार निर्धारण गरिएको छ ।   

विश्वका १६९ देशका पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । सो अवधिमा पाँच लाख आठ हजार चार सय ७६ जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् ।  तीमध्ये दक्षिण एसियाली मुलुकका तीन लाख ८४ हजार एक सय ४५ र अन्य मुलुकका एक लाख २४ हजार तीन सय ३१ रहेका छन् । सबैभन्दा बढी तीन लाख ७५ हजार सात सय ९७ भारतीय पर्यटक यहाँ आएका हुन् । दोस्रोमा चिनियाँ १२ हजार पाँच सय ३९ र तेस्रोमा अमेरिकाका नौ हजार आठ सय ८४ पर्यटक यहाँ आएका हुन् ।  यस्तै बेलायतका नौ हजार आठ सय ५९, फ्रान्सका सात हजार नौ सय ३९, मलेसियाका सात हजार आठ सय ४८, जर्मनीका सात हजार छ सय ३४, बङ्गलादेशका सात हजार चार सय ४८, अष्ट्रेलियाका सात हजार ९५ र इजरायलका छ हजार तीन सय ९८ पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाले आव २०८१/८२ को तुलनामा गत आवमा दोब्बर बढी विदेशी पर्यटक यहाँ आएको बताए । उनका अनुसार आव २०८१/८२ मा दुई लाख ७८ हजार एक सय १३ जनाले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका दिए । पर्यटक आगमनमा गत आवमा नयाँ अभिलेख कायम भएको उनको भनाइ छ । गत जेठमा भारतसहित दक्षिण एसियाली देशका पर्यटकको सङ्ख्या झण्डै तीन सय प्रतिशतले वृद्धि भएको प्रमुख डा कडारियाले बताए । भारतीय पर्यटक यति ठूलो सङ्ख्यामा आएका यो पहिलोपटक हो । भारतमा पोखरा, मुक्तिनाथलगायत यस क्षेत्रका गन्तव्यस्थलको प्रवर्द्धन हुनु, यातायातको सहजता, सामाजिक सञ्जालमार्फत भइरहेको प्रचारप्रसारलगायत कारणले भारतीय पर्यटक बढेका हुन् । उक्त याममा गर्मी छल्न भारतीय पर्यटक पोखरा र आसपासका गन्तव्यमा आउने गरेका छन् । वैशाख–जेठ महिनामा पर्यटकीय राजधानी पोखरामा होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतसम्म पुगेको थियो । पोखरा आउने भारतीय पर्यटकमध्ये करिब ४० प्रतिशत मुक्तिनाथ जाने गरेको प्रमुख डा कडरियाले बताउनुभयो । पदयात्रा पर्यटनका लागि अन्नपूर्ण क्षेत्र विश्व प्रसिद्ध गन्तव्य मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्ग भएर पर्यटक अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थल पुग्ने गरेका छन् ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सात हजार छ सय वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले प्रसिद्ध छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, आतिथ्यता र सेवा सुविधाका हिसाबले यस क्षेत्र घुमफिरका लागि उत्कृष्ट मानिन्छ ।  

विदेशी बिरामी मार्फत् डेढ अर्ब विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ

काठमाडौं । नेपाल विश्वमा सर्वाेच्च शिखर सगरमाथा सहित हिमाल, भगवान् गौतमबुद्धको जन्मस्थल, अद्वितीय र अनुकरणीय प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन र पदमार्गको अनुपम गन्तव्य देशका रूपमा परिचित हुँदै आएको छ । तीन ‘ज’ अर्थात् (जमिन, जङ्गल, जलस्रोत) सहित विशेष गरेर पर्यटन र कृषिलाई नेपालको आर्थिक प्रचूर सम्भावनाका क्षेत्रका रूपमा लिइन्छ । पछिल्ला वर्षहरूमा नेपालले विशेष गरेर आँखा स्वास्थ्य सेवा क्षेत्रमा फड्को मार्न थालेको छ । यसले नयाँ सम्भावनाको ढोका खोल्दै गएको छ । आँखा स्वास्थ्य सेवाका क्षेत्रमा नेपालले हासिल गरेको प्रगति र अन्तरराष्ट्रिय विश्वासले देशलाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आकर्षक गन्तव्य ( हव) का रूपमा स्थापित गर्ने आधारशिलाहरु तयार गरेको छ । आधारशिलाको एउटा अनुपम उदाहरण नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित आँखा अस्पतालहरूले विदेशी नागरिकलाई प्रदान गरिरहेको आँखा स्वास्थ्य उपचार सेवा हो । हाल सङ्घको सञ्जालभित्र २८ आँखा अस्पताल र २२६ आँखा उपचार केन्द्र आबद्ध छन् । सङ्घअन्तर्गत सञ्चालित ती आँखा अस्पताल तथा उपचार केन्द्रहरूले आर्थिक वर्ष २०८२/८३ मा मात्र भारत लगायतका विदेशी बिरामीलाई सेवा प्रदान गरी रु एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा नेपाल भित्रयाएका छन् । ‘गुणस्तरीय सेवा’ वापत यो मुद्रा भित्रयाउनु प्रचुर संभावनाको ढोका खोल्नु हो । उपचारका लागि आउने विदेशी बिरामीमध्ये बढी भारतबाट आउने गरेको छ भने बङ्गलादेश, भुटानलगायत अन्य मुलुकका नागरिकले पनि नेपालका आँखा अस्पतालबाट सेवा लिइरहेका छन् । यो रकमलाई अस्पतालहरूको आयको तथ्याङ्कका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन । यसले नेपालको स्वास्थ्य सेवाप्रति विदेशी नागरिकको बढ्दो विश्वास, नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको दक्षता र यहाँ उपलब्ध नेत्र उपचार सेवाको गुणस्तरलाई समेत प्रतिविम्बित गर्छ । साथै, स्वास्थ्य सेवा पनि नेपालका लागि विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण क्षेत्र बन्न सक्ने सम्भावनालाई यसले स्पष्ट पारेको छ । सो आवमा नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल पाँच करोड दुई लाख ४८९ आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । गुणस्तरीय सेवाले निर्माण गरेको अटुट विश्वास बिरामीका आफन्तले उपचारका लागि बिरामीलाई अर्को देश लैजानु भनेको सामान्य कुरा होइन । उपचारको गुणस्तर, चिकित्सकप्रतिको विश्वास, लागत, पहुँच, सेवा प्राप्त गर्ने अवधि, विगतका बिरामीको अनुभव र आर्थिक लगायतका पक्षहरुले यस्तो निर्णयमा अहं भूमिका खेल्छ । नेपालमा उपलब्ध अनुभवी नेत्र विशेषज्ञ, आधुनिक प्रविधि तथा उपकरण, शल्यक्रियाको राम्रो नतिजा, बिरामीमैत्री सेवा, तुलनात्मक रूपमा छोटो प्रतिक्षा अवधि र सर्वसूलभ उपचार खर्चका कारण सीमावर्ती क्षेत्रसहित विभिन्न देशका आँखाका बिरामी नेपाली आँखा अस्पतालतर्फ आकर्षित भइरहेका छन् । नेपाल नेत्रज्योति सङघले स्थापना कालदेखि नै ‘सबैका लागि गुणस्तरीय आँखा स्वास्थ्य सेवा’ उपलब्ध गराउने उद्देश्यका साथ मानवीय सेवा विस्तार गर्दै आएको छ । अस्पतालमा उपचार गराएर फर्किएका बिरामीको सन्तुष्टि र उनीहरूले आफ्ना परिवार तथा समुदायमा बाँड्ने सकारात्मक अनुभवले पनि नयाँ बिरामीलाई नेपालमा उपचारका लागि आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको छ । स्वास्थ्य सेवामा विश्वास महङ्गा विज्ञापनले मात्र निर्माण हुँदैन । वर्षौंको सेवा, उपचारको नतिजा, दक्ष जनशक्ति र बिरामीले पाएको अनुभवबाट त्यो विश्वास क्रमशः निर्माण हुन्छ । नेपाली आँखा उपचार सेवाले अन्तरराष्ट्रिय बिरामीमाझ बनाएको विश्वास पनि यही निरन्तरताको परिणाम हो । स्वास्थ्य पर्यटन : स्वास्थ्य र अर्थतन्त्रलाई जोड्ने महत्वपूर्ण कडी विश्वभर ‘मेडिकल टुरिज्म’ अर्थात् स्वास्थ्य पर्यटन उपचारका लागि एक देशबाट अर्को देश जाने प्रवृत्ति बढ्दो छ । विकसित तथा कतिपय छिमेकी मुलुकमा उपचार खर्च महँगो हुनु, लामो प्रतीक्षा अवधि तथा निश्चित विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध नहुनुका कारण बिरामीहरू गुणस्तरीय र तुलनात्मक रूपमा सुलभ उपचार उपलब्ध हुने देशतर्फ जाने एवं आकर्षित हुने गरेका छन् । नेपालले यही अवसरलाई योजनाबद्ध रूपमा उपयोग गर्न सक्नु पर्छ र यसको सम्भावना पनि छ । विदेशी बिरामीले नेपालमा आएर अस्पतालमा उपचार शुल्क मात्र तिर्दैनन्, उनीहरू र उनीहरूसँग आउने परिवारका सदस्य वा सहयोगीले होटल, यातायात, खाना, औषधि, स्थानीय बजार तथा अन्य सेवामा पनि खर्च गर्छन् । कतिपयले उपचारसँगै नेपालका पर्यटकीय स्थल तथा धार्मिक गन्तव्यको भ्रमणसमेत गर्न सक्छन् । त्यसैले एउटा विदेशी बिरामीबाट हुने आर्थिक योगदान अस्पतालको बिलमा मात्र सीमित हुँदैन । यसको लाभ होटल तथा पर्यटन व्यवसायदेखि यातायात, औषधि, स्थानीय व्यापार र रोजगारीसम्म फैलिन्छ । यस अर्थमा ‘मेडिकल टुरिज्म’ स्वास्थ्य र अर्थतन्त्रलाई जोड्ने महत्वपूर्ण क्षेत्र बन्न सक्छ । सन् २०२५ मा मात्र सङ्घको सञ्जालमार्फत नौ लाख ११ हजार ९८० जना अन्य देशका नागरिकहरुको आँखा परीक्षण गरी एक लाख ५३ हजार ८६ जना बिरामीको शल्यक्रिया गरिएको छ । नेपाल सरकारको नीति तथा निर्देशनअनुरूप नेपाल नेत्रज्योति सङ्घले देशभर प्रवाह गर्दै आएको आँखा उपचार सेवा विश्वकै लागि एक अनुकरणीय उदाहरणका रूपमा स्थापित भएको छ । एक गैरसरकारी एवं गैरनाफामूलक सामाजिक संस्थाले आफ्ना सञ्जालमार्फत धेरै सङ्ख्यामा नागरिकलाई गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराएको उदाहरण विश्वमै विरलै पाइन्छ । सङ्घअन्तर्गतका संस्थाहरूले एक आवमै विदेशी बिरामीबाट रु एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा आर्जन गर्नुले यस सम्भावनालाई अझ स्पष्ट बनाएको छ । स्पष्ट नीति, अब्बल पूर्वाधार सहित चिकित्सकीय सेवा र अन्तरराष्ट्रिय प्रवर्द्धन गर्न सकिए स्वास्थ्य सेवा निर्यात नेपालको विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत बन्न सक्छ । नेपालले अन्धोपन न्यूनीकरणमा बनाएको आफ्नै ‘मोडेल’ विश्वका लागि सिकाइ सङ्घको स्थापना विसं २०३५ (सन् १९७८) मा नेपालबाट रोकथाम तथा उपचार गर्न सकिने अन्धोपन न्यूनीकरण गर्ने उद्देश्यले भएको हो । तत्कालीन परिस्थितिमा देशमा आधुनिक तथा विशेषज्ञ आँखा स्वास्थ्य सेवाको पहुँच अत्यन्त सीमितता थियो । यस्ता सेवा सुगम केन्द्रित थिए । त्यसयता नेपालले आँखा स्वास्थ्य क्षेत्रमा लामो यात्रा तय गरेको छ । अस्पताल र आँखा उपचार केन्द्रको विस्तारसँगै समुदायमा आधारित आँखा स्वास्थ्य कार्यक्रम, विद्यालयमा दृष्टि परीक्षण, मोतियाविन्दुको शल्यक्रिया, रेटिना तथा ग्लुकोमा सेवा, कर्नियासम्बन्धी उपचार, बाल आँखा स्वास्थ्य सेवा तथा विभिन्न विशेषज्ञ सेवाहरू विस्तार भएका छन् । यस यात्राको महत्वपूर्ण पक्ष भनेको सेवा ठूला सहर र सुगममा मात्र केन्द्रित नराखी समुदाय र दुर्गम क्षेत्रसम्म पुर्याउने प्रयास हो । अस्पतालमा आउन नसक्ने नागरिकको घरघर, पायक पर्ने स्थानसम्म पुगेर आँखा परीक्षण गर्ने, आवश्यक बिरामीलाई उपचार तथा शल्यक्रियाका लागि ‘रेफर’ गर्ने, स्थानीय तहसम्म आँखा स्वास्थ्य सेवा विस्तार गर्ने र सबैका पहुँचमा आँखा स्वास्थ्य सेवा पुर्याउने ‘मोडेल’ले नेपालमा अन्धोपन न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याएको छ । सन् १९८१ मा ०.८४ प्रतिशत रहेको अन्धोपनको दर उल्लेखनीय रूपमा घटेर करिब ०.२८ प्रतिशतमा आएको छ । अब नेपाल सरकारले नेपाल नेत्रज्योति सङघ तथा अन्य साझेदार संस्थासँगका सहकार्यमा राष्ट्रिय स्वास्थ्य रणनीतिअनुसार सन् २०३० सम्म यसलाई ०.२० प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । यो लक्ष्य स्वास्थ्य क्षेत्रको सूचकमा आउने सुधार मात्र होइन । दृष्टि जोगिनु वा पुनः प्राप्त हुनु व्यक्तिको शिक्षा, रोजगारी, आयआर्जन, आत्मनिर्भरता र समग्र जीवनस्तरसँग प्रत्यक्ष जोडिएको विषय हो । एउटा व्यक्तिको दृष्टि फर्किंदा त्यसको सकारात्मक प्रभाव उसको परिवार र समुदायसम्म पुग्छ । अन्धकार अन्त्य हुँदा यसको समग्र प्रभाव देशको सामाजिक उन्नतिमा पर्दछ । ‘स्वास्थ्य सेवा निर्यात’ मा नेपालले नेतृत्व लिन सक्छ विश्वका धेरै मुलुकले स्वास्थ्य पर्यटनलाई आफ्नो राष्ट्रिय आर्थिक रणनीतिको हिस्सा बनाइसकेका छन् । नेपालसँग पनि यस क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने केही बलिया आधार छन्–दक्ष चिकित्सकीय जनशक्ति, गुणस्तरीय उपचार सेवा, सफल उपचार परिणाम, तुलनात्मक रूपमा सस्तो लागत र लामो समयदेखि निर्माण भएको अन्तरराष्ट्रिय विश्वास । यी आधारबाट बनेका विश्वासले नै गत असारको अन्तिम साता नेपाली राजदूतावास(कम्बोडिया समेत)को समन्वयमा सङ्घले कम्बोडियाको कम्पोङचाम प्रान्तमा दुईदिने निःशुल्क आँखा उपचार शिविर सञ्चालन ग¥यो । एक हजार दुईसय कम्बोडियाली नागरिकले आँखा परीक्षण तथा उपचार सेवा लिएका थिए । बाह्य देशमा आँखा स्वास्थ्य सेवा प्रदान गर्न नेपाली नेत्र विशेषज्ञ अब्बल छन् भन्ने कुरा यसबाट पुष्टि भएको छ । विशेषगरी आँखा उपचारका क्षेत्रमा नेपालले दक्षिण एसियाकै उत्कृष्ट सेवा केन्द्रका रूपमा आफूलाई थप विकास गर्ने सम्भावना बोकेको छ र बलियो पनि छ । यसका लागि स्वास्थ्य सेवा र पर्यटनलाई छुट्टाछुट्टै क्षेत्रका रूपमा मात्र नभई एकअर्कासँग जोडिएको सम्भावनाका रूपमा हेर्न आवश्यक छ । सरकारले ‘पर्यटन स्वास्थ्य’सम्बन्धी स्पष्ट नीति निर्माण गर्ने, अन्तरराष्ट्रियस्तरको गुणस्तर सुनिश्चित गर्ने, स्वास्थ्य संस्थाको पूर्वाधार तथा प्रविधिमा लगानी बढाउने, विदेशी बिरामीका लागि सहज आवागमन र उपचार प्रक्रिया विकास गर्ने तथा अन्तरराष्ट्रिय बजारमा नेपालको स्वास्थ्य सेवाको प्रभावकारी प्रवर्द्धन गर्ने हो भने यसको लाभ राष्ट्रिय अर्थतन्त्रसम्म पुग्न सक्छ । रासस

सुकेको प्याज किलोको ५७ रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४८, आलु रातो (गोलो) प्रतिकिलो रु ४७, आलु रातो (मुढे) प्रतिकिलो रु ४७, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, सेतो आलु प्रतिकेजी ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५७ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ११०, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ७०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । समितिका अनुसार बोडी तने प्रतिकिलो रु ९०, मकै बोडी प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १३०, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु ९०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ५०, परवर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, भिन्डी प्रतिकिलो रु ५०, र पिँडालु प्रतिकिलो रु ८०, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ । रायोसाग प्रतिकिलो रु १४०, पालुङ्गो प्रतिकिलो रु १२०, तोरीको साग प्रतिकिलो रु ११०, प्याज (हरियो) रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकिलो रु ३२० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ५००, पुदिना प्रतिकिलो रु ३००, गान्टेमूला प्रतिकिलो रु ९०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु १८०, आँप (दशहरी) प्रतिकिलो रु १८०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रूखकटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु ११०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ । अदुवा प्रतिकिलो रु २३०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २५०, भेडे खुर्सानी प्रतिकिलो रु ५०, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु २००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ ।