नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी, पूर्वसीईओ शाह बने सञ्चालक
काठमाडौं । नबिल बैंकको अध्यक्षमा निर्वाणकुमार चौधरी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले चौधरीलाई अध्यक्षमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकबाट शपथ ग्रहणपश्चात चौधरीले अध्यक्षको कार्यभार सम्हाल्ने छन् । यस्तै, सोमबार सम्पन्न ४१औं वार्षिक साधारणसभाबाट बैंकको सञ्चाकलमा अनिल केशरी शाह निर्विरोध निर्वाचित भएका छन् । उनी संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालक बनेका हुन् । शाह नबिल बैंककै पूर्वसीईओसमेत हुन् । नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह साथै बैंकको साधारण सभाबाट गत आर्थिक वर्ष २०८१/८१ को नाफाबाट सेयरधनीहरुलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । निवर्तमान अध्यक्ष पौडेलले सफलतापूर्वक आफ्नो दुई कार्यकाल सम्पन्न गरेको समेत बैंकले जनाएको छ । उनको नेतृत्वमा बैंकले दिगो बैंकिङमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । उनले विशेष गरी टिम निर्माण, डिजिटल रूपान्तरणको सुदृढीकरण, दिगो बैंकिङ, नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) का साथै मर्जर सफल बनाउनका लागि समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । निर्वाण चाैधरी चालु आर्थिक वर्ष २०८२/८३ मा बैंकले ५ अर्ब रुपैयाँको अंकित मूल्य १०० रुपैयाँका दरले ५ करोड कित्ता बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ नयाँ पुँजी उपकरण जारी गरेको छ । उक्त उपकरण जारी गरेपश्चात अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भई बैंकको जोखिम वहन गर्ने क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बैकले विश्वास लिएको छ । नबिलले देशभर २६८ शाखा सञ्जालसहित ३२१ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।
पाकिस्तान-अफगानिस्तान सीमा बन्दले दैनिक ४० लाख डलर बढी नोक्सान
काठमाडौं । करीब ३ महिनाभन्दा बढी समयदेखि पाकिस्तान र अफगानिस्तानबीचको व्यापार कोरिडोरको नाकाबन्दीले राष्ट्रिय तथा क्षेत्रीय स्तरमा अरबौं रुपैयाँको आर्थिक क्षति पुर्याएको व्यापारिक प्रतिनिधिहरूलाई उद्धृत गर्दै डन समाचारले जनाएको छ । सीमापार व्यापारको अवरोधले निर्यात, आपसी वाणिज्य, यातायात लगायत राज्यको राजस्वमा नराम्रो असर पारेको छ । जसले देशको समग्र अर्थतन्त्रमा विशेष गरी खैबर पख्तुनख्वालाई गम्भीर धक्का दिएको छ, जहाँ व्यापारीहरू अफगानिस्तानसँगको वाणिज्यमा धेरै निर्भर थिए । पाकिस्तान-अफगानिस्तान जोइन्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका वरिष्ठ उपाध्यक्ष जियाउल हक सरहदी र सरहद चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका सदस्य मञ्जुर इलाहीले संयुक्त प्रेस विज्ञप्ति मार्फत यस्तो टिप्पणी गरेको जनाइएको छ । अफगानिस्तानमा पाकिस्तानको निर्यातको ९० प्रतिशत भन्दा बढी खैबर पख्तुनख्वाका नाकाहरु मुख्यतया तोरखाम सिमा हुँदै हुने उनीहरूले बताएका छन् । व्यापारीहरूका अनुसार प्रान्तले सिमेन्ट, कपडा, औषधि, निर्माण सामग्री र कृषि उत्पादन जस्ता सामान रोकिए पछि २.५ अर्बको निर्यात घाटा बेहोरेको अनुमान गरिएको छ । यस बाहेक, खैबर पख्तुनख्वाले व्यापार गतिविधिमा कमी र भन्सार आयमा कमीका कारण चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा करिब २.५ अर्ब राजस्व गुमाएको छ । प्रान्तका निर्यातकर्ताले हरेक दिन ४० लाख अमेरिकी डलर भन्दा बढीको नोक्सान भोगिरहेको उल्लेख गर्दै अरबौं रुपैयाँ मूल्यका सामानहरू फसेको र औषधि लगायतका सामग्रीको समयावधि सकिएपछि अपूरणीय आर्थिक क्षति हुने सम्भावना रहेको डनले जनाएको छ । व्यापक आर्थिक प्रभावहरु औंल्याउँदै, व्यापारीहरूले निरन्तर सीमा बन्द हुँदा कारखाना बन्द र रोजगारी गुमाउने चेतावनी दिए । उनीहरूले खैबर पख्तुनख्वाको औद्योगिक क्षेत्रको ९० प्रतिशतसम्म आयात र निर्यातका लागि अफगान बजारमा निर्भर रहेको उल्लेख गर्दै जारी अवरोधले बेरोजगारी र बढ्दो आर्थिक कठिनाइको बीचमा क्षेत्रीय अस्थिरता बढाउने बताएका छन् । उनीहरूले अफगानिस्तानले इरान र मध्य एसियाली राज्यहरूमा व्यापार घुमाउँदै जाँदा खैबर पख्तुनख्वामा आधारित व्यापारीहरूका लागि बजारमा स्थायी नोक्सान निम्त्याउँदै गर्दा दीर्घकालीन प्रभावहरु कडा हुन सक्ने चेतावनी दिए । हालैको एक प्रतिवेदनलाई उद्धृत गर्दै उनीहरूले पाकिस्तान–अफगानिस्तान द्विपक्षीय व्यापार ५३ प्रतिशतले घटेर चालु आर्थिक वर्ष (२०२५-२६) को पहिलो अर्धवार्षिकमा ५९ करोड ४० लाख डलरमा झरेको जनाएका छन् जुन अघिल्लो वर्षको समान अवधिमा १.२६ अर्ब डलर थियो । डनको रिपोर्टका अनुसार बन्दले यस क्षेत्रका व्यवसाय, राजस्व, रोजगारी र स्थिरतामा हानिकारक प्रभाव पारेको छ ।
सिटिजन्स बैंकबाट ३ जना संस्थापक सेयरधनी बाहिरिँदै, मूल्य १ सय रुपैयाँ
काठमाडौं । सिटिजन्स बैंकबाट एकैपटक ३ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकबाट विभिन्न ३ जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको २ लाख ९० हजार ५३८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार संस्थापक सेयरधनी बासुदेव घिमिरेले १ लाख ६३ हजार ६५१ कित्ता, नेत्रलाल बनले ७५ हजार ७७२ कित्ता र झविन्द्र भण्डारीले ५१ हजार २०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरको मूल्य न्यूनतम् प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले न्यूनतम मूल्यभन्दा बढी कबुल गरी आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले खरिद नगरे सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारीसहित गृहका ८ कर्मचारीको सरुवा
काठमाडौं । गृह मन्त्रालयले सोमबार प्रमुख जिल्ला अधिकारीसहित ८ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले सोमबारको निर्णयअनुसार डोल्पाका प्रमुख जिल्ला अधिकारी (प्रजीअ) भीमराज कोइरालालाई पाँचथरको सहायक प्रजीअमा र बझाङका प्रजीअ कैलाशबहादुर ठकुराठीलाई दैलेखको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको जनाएको छ । सोमबार साँझ सार्वजनिक गरिएको सरुवा तथा पदस्थापन विवरणअनुसार मन्त्रालयका उपसचिव जुनु हमाल ढकाललाई डोल्पाको प्रजीअ, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीलाई बझाङको प्रजीअ तथा गृह मन्त्रालयका उपसचिव नवराज बराललाई बागलुङको सहायक प्रजीअमा पदस्थापन गरिएको छ । यस्तै, मन्त्रालयका उपसचिव भविश्वर घिमिरेलाई कपिलवस्तुको सहायक प्रजीअ, उपसचिव कृष्णप्रसाद गैरेलाई धनुषाको सहायक प्रजीअमा पठाइएको छ भने बागलुङका सहायक प्रजीअ जनकराज पन्तलाई गृह मन्त्रालयमा ल्याइएको छ ।
सोलु हाइड्रोको आईपीओ आजदेखि बिक्री खुला, १ लाख कित्ता आवेदन दिन सकिने
काठमाडौं । सोलु हाइड्रोपावरले आज पुस २९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरेपश्चात् आजदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले २ करोड कित्ता सेयर जारी गरेको हो । जसमध्ये १ अर्ब रुपैयाँको १ करोड कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १० लाख कित्ता विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित राखि बाँकी रहेको ८२ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतामा १ लाख कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले माघ ४ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा माघ १४ गतेसम्म आवेदन दिने सम लम्बिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताहरुले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
किबी खेतीबाट ८० लाख बढी आम्दानी, मूल्य प्रतिकिलो २०० देखि ३०० रुपैयाँसम्म
काठमाडौं । व्यावसायिक किबी खेतीमा कृषकको आकर्षण बढ्दै बढेको छ । गुल्मीको सत्यवती गाउँपालिका-८ अन्तर्गत भार्सेका कृषकले किबी बिक्री गरेर वार्षिक ८० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । विसं २०६५ देखि किबी लगाउन सुरु गरेका त्यहाँ कृषकको बारी यतिबेला किबीले ढपक्कै ढाकेको छ । किबीको व्यावसायिक उत्पादन सुरु गरेपछि उनीहरुको आम्दानीमा वृद्धि हुँदै गएको छ । जिल्लामा सबैभन्दा बढी किबी उत्पादन गर्ने पालिकामा सत्यवती गाउँपालिका पर्दछ । सत्यवतीको भार्सेमा हाल ४० हेक्टरभन्दा बढी क्षेत्रफलमा किबीको व्यावसायिक उत्पादन हुँदै आएको छ । यस वर्ष त्यहाँका कृषकले ८० टनभन्दा बढी किबी उत्पादन गरेको स्थानीय कृषक यमबहादुर थापाले जानकारी दिए । भार्सेमा उत्पादित किबी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म बिक्री गरिन्छ । बजारमा उपलब्ध किबीको तुलनामा भार्षेमा उत्पादित किबीको फुटकर मूल्य प्रतिकिलो २०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म रहेको छ । गुल्मीका कृषकको मुख्य आम्दानी किबीखेती बनेको छ । सत्यवती गाउँपालिकाले भार्सेलाई किबीको पकेट क्षेत्र घोषणा गरेसँगै किबी उत्पादनमा स्थानीयको आकर्षण बर्सेनि बढ्दै गएको हो । किबी खेतीको व्यावसायिक उत्पादनका लागि कृषकलाई गाउँपालिकाबाट प्राविधिक सहयोगदेखि तालिम, बिरुवा, खम्बा निर्माण र सिँचाइलगायत क्षेत्रमा सहयोग गरिएको सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताए । गत वर्ष गाउँपालिकाबाट नर्सरी सपना, बगैँचा व्यवस्थापनसँगै किबीको जाम र वाइन बनाउने तालिम प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले जानकारी दिए । भार्सेका कृषक यमबहादुर थापा व्यावसायिक किबीखेती कृषक अन्तर्गत पर्छन् । उनले लगाएका सबै १५० बोटले फल दिन थालेको छ । गत वर्षको तुलनामा यस पटक उत्पादन घटे पनि किबीको बजार मूल्य भने राम्रै रहेको थापाले बताए । उनको बारीमा रेडकिबी, हेवार्ड, एलिसन र ब्रुनो जातका किबी रहेका छन् । अन्य खेतीको तुलनामा किबीबाट मनग्य आम्दानी हुने उनको अनुभव छ । भार्सेका कृषक ५ किबी समूह गठन गरेर व्यावसायिक रुपमा उत्पादन गर्दै आएका छन् । सबैभन्दा धेरै किबी उत्पादन गर्नेमा ठूला पोखरी समूह पर्दछ । भार्से गाउँका पाखा बारी किबीले ढपक्कै ढाकिएका छन् । किबीका बिरुवाले रोपेको तीन वर्षबाट फल दिन सुरु गरेपछि यो कृषकको मुख्य रोजाइमा परेको हो । किबीले एउटै बोटबाट ६० किलोदेखि १२० किलोसम्म फल दिने गरेको वडाध्यक्ष होमबहादुर रानाले बताए । बाँदर, बनेल र चराचुरुङ्गीबाट अन्य खाद्य बाली जोगाउन समस्या परेको अवस्थामा किबी खेती भार्सेका कृषकका लागि यतिबेला प्रमुख आम्दानीको स्रोत बनेको छ । किबी बढी झुसिलो हुने भएका कारण पनि वन्यजन्तुले खासै हानि नोक्सानी गर्दैनन् । जिल्लामा १ हजार २०० मिटरदेखि २ हजार मिटर उचाइसम्म किबी खेती गरिँदै आएको छ । गुल्मीमा सत्यवती गाउँपालिका लगायत कालीगण्डकी, मदाने, मालीका, धुर्कोट, छत्रकोछट, मुसिकोटलगायत पालिकामा पछिल्लो समयमा किबीको व्यावसायिक खेती गर्न थालिएको छ । किबी फल एक स्वस्थ र स्वादिष्ठ फल मानिन्छ । किबीले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । यसमा फाइबर पाइने भएकाले पाचन प्रक्रियालाई पनि राम्रो बनाउन मद्दत गर्छ । यसलाई जुस बनाउन र सलादका रुपमा प्रयोग गर्ने गरिन्छ । यो फलमा धेरै पौष्टिक तत्व भएका कारण सबै उमेर समूहका व्यक्तिका लागि उपयुक्त मानिन्छ ।
मुस्ताङको तापक्रम माइनस २० डिग्री, कर्मचारीले छाडे जिल्ला, विकास निर्माण ठप्प
काठमाडौं । अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँद यामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँच वटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प हुन पुगेका हुन् । उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक खण्ड अन्तर्गत सडक तथा पुल निर्माण योजना अत्यधिक चिसोका कारण प्रभावित बनेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । अत्यधिक चिसोका कारण विकास निर्माणमा परिचालित उपकरण पनि थन्किन पुग्छन् । पुस अगावै कोरला सडक अन्तर्गत मुस्ताङ खण्डमा आयोजनाको काम स्थगित गरिएको उनले बताए । राष्ट्रिय गौरवको कोरला सडक खण्ड अन्तर्गत मुस्ताङमा चिसोले प्रभावित बनेका पूर्वाधार निर्माणका काम चैत महिनापछि पुनः सञ्चालनमा आउने प्रमुख शर्माको भनाइ छ । उनका अनुसार कोरला सडक अन्तर्गत चालु आवमा ठेक्का सम्झौता भएको (कागबेनी-छुसाङ) ९.८ किमी कालोपत्र सडक स्तरोन्नतिको काम चिसोका कारण रोकिएको छ । कागबेनी-छुसाङ सडक कालोपत्र गर्न आयोजनाले २८ करोड ८७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । आयोजनाअन्तर्गत २०७५ सालमा ठेक्का सम्झौता भएको कोरला नाका जोड्ने एक स्पानको ४० मिटर लामो घमी खोला पुलको काम पनि चिसोका कारण रोकिएको आयोजनाले जनाएको छ । हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्ट्रक्सनले ६ करोड ८० लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरी काम अघि बढाए पनि घमी खोला पुल निर्माणमा ढिलाइ भएको छ । भौतिक प्रगति ८० प्रतिशत पुगेको घमी खोलामा गत असोजमा फाउन्डेसन निर्माण गरी स्लाप ढलान सकेको छ । एप्रोज रोड र पुल फिनिसिङको काम बाँकी रहे पनि अत्यधिक चिसो बढेकाले पुल निर्माणको काम स्थगित हुन पुगेको आयोजना प्रमुख शर्माको भनाइ छ । यसैगरी, कोरलानाका जोड्ने राष्ट्रय गौरवको बेनी-जोमसोम-कोरला सडक अन्तर्गत थासाङ गाउँपालिका-२ कोवाङदेखि घरपझोङ-४ जोमसोमसम्मको १७ किलोमिटर सडक पनि चिसोका कारण अवरुद्ध हुन पुगेको छ । विसं २०७३/७४ देखि ठेक्का सम्झौता भई अस्फाल्ट कालोपत्र सडक निर्माण सुरु गरिएको भए पनि यहाँ निर्माण कम्पनीको ढिलासुस्तीले निर्माणको काम पूरा हुन सकेको छैन । यद्यपि यहाँको सडकमा करिब ५ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । निर्माण कम्पनीले सक्रियता बढाएको भए पुस अगावै निर्माणको काम सकिने आयोजनाको विश्वास थियो । यसैगरी, कोरला सडक अन्तर्गत थासाङ गाउँपालिकामा निर्माणाधीन लार्जुङ खोला पुल र कैकु खोला पुल निर्माणको काम पनि चिसोले प्रभावित भएको आयोजना प्रमुख शर्माले उल्लेख गरे । अत्यधिक चिसोका कारण मुस्ताङमा दर्जनौं सङ्घीय, प्रादेशिक कार्यालय र स्थानीय निकायका विकास योजना ठप्प भएका हुन् । मुस्ताङस्थित पूर्वाधार विकास कार्यालयद्वारा कार्यान्वयनको चरणमा रहेका पुरानो वहुवर्षीय योजना १२ र चालु वर्ष थपिएका १३ नयाँ योजनाको काम चिसोका कारण प्रभावित बनेको पूर्वाधार विकास कार्यालयका सवइञ्जिनियर जगदीश जोशीले जानकारी दिए । सव-इञ्जिनियर जोशीका अनुसार घरपझोङ-२ मार्फास्थित आलबारी जाने सडकमा कटिङको काम भइरहेको भए पनि कार्यालयद्वारा कार्यान्वयनमा रहेका अधिकांश योजना चिसोका कारण स्थगित गर्नुपरेको उनले बताए । पुराना बहु वर्षीय योजना विभिन्न कारणले अवरुद्ध भएका र कतिपय निर्माणको चरणमा रहँदा चिसोले काम हुन सकेको छैन । नयाँ योजनामध्ये तीन बहुवर्षीय योजनाको प्रक्रियामा रहेको र कतिपय ठेक्का प्रक्रियामा छन् । ठेक्का सम्झौता भई सुरु भएका नयँ योजना पनि हिउँदयाम भएकाले पूर्वाधारको काम अघि बढाउन नसकिएको सवइञ्जिनियर जोशीको भनाइ छ । मुस्ताङमा अत्यधिक चिसो बढेसँगै खानेपानी, जलस्रोत तथा सिँचाइ सव-डिभिजन कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), एकीकृत सेवा कार्यालयलगायत मुस्ताङका पाँच स्थानीय तह र विभिन्न सङ्घसंस्थाको भौतिक पूर्वाधार निर्माणलगायत काम चिसोले प्रभावित बनेको हो । विकास निर्माण कार्य अन्तर्गत यहाँका प्रत्येक स्थानीय तहमा ५० भन्दाबढी साना ठूला पूर्वाधार योजना कार्यान्वयनमा छन् । तर यी सबै योजना अत्यधिक चिसोका कारण ठप्प बनेका छन् । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनुर्ब गुरुङले बर्सेनि हिउँदयामको मौसममा चिसो र सम्भावित हिमपातको जोखिमले विकास निर्माण काम चाहेर पनि गर्न नसक्ने अवस्था रहेको बताए । ‘हिउँदयाममा यहाँका नागरिक पूरै जाडो छल्न बेँसी झर्छन्, यहाँका चिसोमा काम गर्नलाई पनि चिसोले उस्तै समस्या हुन्छ,’ अध्यक्ष गुरुङले भने, ‘चिसो घटेपछि वैशाख महिनामा विकास निर्माणको काम अघि बढाउन सकिन्छ, चिसोले यहाँका स्थानीय नागरिक स्वयं प्रभावित हुन्छन् ।’ चिसोका कारण घरपझोङ, थासाङ, लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सञ्चालित सबै विकास योजना ठप्प बनेको बताइएको छ । अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री र तल्लो मुस्ताङको तापक्रम माइनस १० डिग्रीमा झरेको छ । माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङका अधिकांश सरकारी कार्यालयका कर्मचारी पनि जिल्लामा बस्न छाडिसकेका छन् । मुस्ताङमा चिसो अत्यधिक बढे पनि तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी सम्बन्धित कार्यस्थलमा रहेर शान्तिसुरक्षा प्रदानमा खटिएका छन् । माथिल्लो मुस्ताङ मानविहीन जस्तै अवस्थामा रहे पनि त्यहाँ कार्यरत दुर्गमका कर्मचारी नागरिकको रित्तो घर गाउँ कुरेर बसेका छन् ।
ओखरपौवा तीन पिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ओखरपौवा तीन पिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने भएको छ । कूल २२० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको तयारी गरेको छ । प्राधिकरणको स्वामित्वमा रहेको त्रिशूली थ्री बी हब मातातीर्थ प्रसारण लाइन आयोजनाको टावर नम्बर ३७ बाट ट्यापिङ गरी नयाँ प्रसारण लाइन निर्माण गर्न लागेको छ । सो प्रसारण लाइन काठमाडौंको तीन पिप्लेमा जोडिनेछ । तीन पिप्लेमा प्राधिकरणले सवस्टेशन निर्माण गरिरहेको छ । सो प्रसारण लाइन धादिङको धुनीबेंसी, नुवाकोटको ककनी र काठमाडौँको तारकेश्वरको तीन पिप्लेसम्म निर्माण हुने हुनेछ । सो प्रसारण लाइन र सवस्टेशन आयोजना कार्यान्वयन गर्दा आयोजना प्रभावित क्षेत्रको भौतिक तथा रासायनिक वातावरणीय, सामाजिक आर्थिक तथा सांस्कृतिक वातावरणमा क-कस्तो प्रभाव पर्दछ भनी अध्ययन गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्रारम्भिक अध्ययन भइसकेको वातावरणीय परीक्षण प्रतिवेदनको मस्यौदाका आधारमा सरोकारवालाको आवश्यक सुझावका आधारमा थप समृद्ध बनाउन लागिएको हो । प्राधिकरणले आज धुनीबेँसी नगरपालिका-१ सिम्खडा गाउँमा सार्वजनिक सुनुवाइ गर्ने कार्यक्रम तय गरेको छ । सोमबार तारकेश्वर नगरपालिकाको कोट गाउँमा सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको प्राधिकरणले जनाएको छ । सार्वजनिक सुनुवाइका क्रममा उठेका विषयवस्तुलाई प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा समावेश गरिने प्राधिकरणको प्रष्टोक्ति छ ।