नेपाल बैंकको डीसीईओ बने खड्का, एसीईओमा काफ्ले नियुक्त
काठमाडौं । नेपाल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा होमबहादुर खड्का र सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ)मा दीपेन्द्रराज काफ्ले नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले खड्कालाई डीसीईओ र काफ्लेलाई एसीईओ पदमा बढुवा गर्ने निर्णय गरेको हो । कार्यसम्पादन र अन्य मूल्याङ्कनका आधारमा दुवै जनालाई बढुवा गरेको बैंकले जनाएको छ । नुवाकोट स्थायी घर भएका खड्का यसअघि सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा कार्यरत थिए । खड्का भन्दा सिनियर रहेका एसीईओ विश्वराज बराल र प्रकाश अधिकारीलाई पछि पार्दै डीसीईओ पदमा बाजी मारेका हुन् । बराल, अधिकारी र खड्का तीनै जना विसं २०६१ भदौ १ गते एकै दिन नेपाल बैंक प्रवेश गरेका थिए । तर, कार्यसम्पादन लगायत मूल्याङ्कनका आधारमा बराल र अधिकारी खड्का भन्दा सिनियर थिए । बराल र अधिकारी आगामी फागुन २१ गते अनिवार्य अवकाशमा जाँदैछन् । साथै खड्का डीसीईओमा बढुवा भएपछि एसीईओमा एक पद रिक्त हुनेछ । रिक्त रहेको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बैंक सञ्चालक समितिले काफ्लेलाई नियुक्त गरेको हो । यअसघि निमित्त एसीईओ रहेका काफ्लेलाई सञ्चालक समितिले एसीईओमा बढुवा गरेको हो । स्याङ्जाका काफ्ले २०६१ कात्तिक १६ गते नेपाल बैंक प्रवेश गरेका थिए ।
मतदाताले ‘ग्रिन सिग्नल’ दिएपछि ओलीसँग चुनाव लड्न बालेन तयार, माघ ५ गतेभित्र मेयरबाट राजीनामा दिँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आगामी माघ ५ गतेभित्र राजीनामा दिएर चुनावको तयारी गर्ने योजनामा रहेको बुझिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भएर वरिष्ठ नेता बनेका उनले मेयर पदबाट राजीनामा दिएर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारका रूपमा प्रचारप्रसारमा जाने तयारी गरेका हुन् । बालेनको सचिवालयका एक सदस्यका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने योजनाका साथ उनले मेयर पदबाट राजीनामा दिँदैछन् । निवर्तमान आयोगले उम्मेदवारी मनोनयनको मिति माघ ६ गते तोकेको छ । त्यसअघि नै मेयरबाट राजीनामा दिएर उनी उम्मेदवार बन्न लागेका हुन् । बालेनलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको छ । रास्वपासँग सम्झौता गर्दै उनी पार्टी प्रवेश गरेका हुन् । तथापि रास्वपा र उनीबीच औपचारिक एकता तथा समाहित सभा भने भएको छैन । रास्वपा र बालेनबीच मेयर पदबाट राजीनामा दिएपछि समाहित सभा घोषणा गरेर औपचारिक जानकारी दिने तयारी भइरहेको बालेनको सचिवालयले जानकारी दिएको छ । बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्ने योजना बनाएका छन् । बालेन पनि झापा–५ बाट उम्मेदवारी दिने तयारी गरिरहेका छन् । यसका लागि उनले आइतबार झापाका रास्वपाका नेताहरूसँग डेढ घण्टा छलफल गरेका थिए । उनले ललितपुरको ज्वागलस्थित आफ्नो सचिवालय सदस्य कुमार बेनको घरमा रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरासहितको टोलीसँग छलफल गरेको बुझिएको छ । उनीहरूसँग बालेनले झापा–५ को वस्तुस्थिति, त्यहाँका मतदाताको अपेक्षा र मनस्थिति र पुराना पार्टीप्रतिको बुझाइ लगायत विषयमा कुराकानी गरेका थिए । बालेनले पार्टीका नेताहरूसँग छलफल गरेपछि आइतबार साँझ त्यसको संकेत पनि दिएका छन् । उनले भनेका छन्, ‘शुभकामना सबैलाई, हामी आउँदैछौं ।’ बालेनले झापा–५ का लागि आफूले जित्ने नजित्ने विषयमा सर्वेक्षण पनि गर्न लगाएका छन् । सर्वेक्षण केही सकारात्मक देखिएपछि उनी त्यहीँबाट चुनाव लड्ने तयारीमा जुटेका हुन् ।
पार्टी विभाजनको आशंका बढेपछि कोइरालाको परामर्श तीव्र, एकताका लागि नेतृत्वदायी भूमिका खेल्न आग्रह
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला अहिले पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीभित्र देखिएको आन्तरिक तनावबारे आफू निकटका नेता तथा कानुन व्यवसायीहरूसँग निरन्तर छलफलमा रहेका छन्। पार्टी विभाजनको आशंका बढिरहेका बेला कोइरालाले परामर्शलाई तीव्र बनाएको उनी निकट एक नेताले जानकारी दिए । डा. कोइरालासँग छलफलमा वरिष्ठ अधिवक्ता उपेन्द्र न्यौपाने, शेरबहादुर केसी, योगेन्द्र अधिकारीका साथै उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेताहरु शुक्रराज शर्मा, बलबहादुर केसी, मिनेन्द्र रिजाल, गोविन्द भट्टराई, किरण यादव, डा. चन्द्रमोहन यादव, कृष्ण पोखरेल, सरिता प्रसाईं, टेकबहादुर गुरुङ, राजीव कोइराला, उमेश रायमाझी, दिनेश कोइराला, दिलेन्द्र बडु, दीपक दाहाल, डा.गोविन्द पोखरेल, राम यादव, डा. सुनिल शर्मा, सुरेन्द्र आचार्यलगायत सहभागी रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। छलफलमा कपिलवस्तु, बाजुरा, बैतडी, चितवन, दोलखा, खोटाङ, धादिङ, रुपन्देही, सप्तरीलगायत जिल्लाका सभापति र वरिष्ठ नेताहरू पनि सहभागी रहेका छन् । सबैले डा. कोइरालासँग प्रत्यक्ष भेट गरी पार्टीलाई विभाजनबाट जोगाउन नेतृत्वदायी भूमिका खेल्न आग्रह गरेका छन् । डा. कोइरालालाई विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ३ सय महाधिवेशन प्रतिनिधिले पनि भेटेर पार्टी एकताका लागि पहल गर्न कोइरालालाई अनुरोध गरेका ती नेताले जानकारी दिए । उनका अनुसार भेटमा सहभागी नेताहरूले पार्टीभित्रको असन्तुष्टि, विधान संशोधन, नेतृत्व व्यवस्थापन र आगामी राजनीतिक रणनीतिका विषयमा खुला छलफल भएको बताएका छन्। डा. कोइरालाले आफू पार्टी एकता र लोकतान्त्रिक मूल्यको पक्षमा रहेको उल्लेख गर्दै सबै पक्षसँग संवाद जारी राख्ने संकेत देखाएका छन् । बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसभित्र देखिएको मतभेद समाधानका लागि आगामी दिनमा थप राजनीतिक तथा संस्थागत पहल डा. कोइरालाबाट हुने अपेक्षा गरिएको छ ।
देउवाले आफू निकटका नेताहरूसँग भने - पार्टी फुटाउने प्रयास हुँदैछ, अब उचित कदम चाल्छु
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी फुटाउने प्रयास भइरहेको बताएका छन् । उनले सोमबार बिहान आफू निकटका नेता तथा कार्यकर्तासँग विशेष महाधिवेशन पक्षले पार्टी फुटाउन प्रयास गरेको बताएका हुन् । उनले पार्टी फुटाउने प्रयास भए पनि त्यो सम्भव नहुने बताएका हुन् । ‘पार्टी फोड्ने प्रयास भइरहेको छ । तर, त्यो सम्भव हुँदैन । पार्टी फुट्दैन,’ देउवाले नेताहरूसँग भनेका छन् । उनले बन्दसत्रबाट हुने निर्णयपछि आफूले पनि उचित कदम चाल्ने बताएका छन् । उनले विशेष महाधिवेशन वैधानिक नभएको पनि बताएका छन् । कांगेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन आइतबारदेखि सुरु भएको छ । सोमबार बन्दसत्रका कार्यक्रम सुरु हुँदैछन् ।
१ वर्षका लागि २५ अर्ब बराबरको ऋणपत्र जारी गदै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बन्ड) जारी गर्ने भएको छ । केन्द्रिय बैंकले एक वर्ष अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८३ छ’ जारी गर्न लागेको हो । अनलाइनमार्फत आवेदन दिन सकिने उक्त ऋणपत्र आज जारी गरिने बैंकले सूचनामार्फत जानकारी दिएको छ । तथापि, यस ऋणपत्रमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी)ले मात्र सहभागी हुन पाउने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्युनतम पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । तथापि, ऋणपत्र निष्कासन मितिमा काउन्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभएमा त्यस्ता काउन्टरपार्टीको स्वीकृत बोल रकम रद्द गरी सोको २.५० प्रतिशत दरको हर्जनासहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइने पनि बैंकले सूचनामा भनेको छ । यसअघि केन्द्रिय बैंकले एक/एक वर्ष अवधिका तीनवटा ऋणपत्र जारी गरिसकेको छ । ब्याजदर बोलकबोलको माध्यमबाट हुनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक हुनेछ । सावा भुक्तानी २०८३ पुस २८ गते हुने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको पुस २५ गते बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यससँगै कम्पनीले सोहीअनुसार वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेस गर्ने निर्णयसमेत गरेको जनाएको छ ।
अश्लील डीपफेक काण्डपछि ग्रोक विवादमा, मलेसिया र इन्डोनेसियाले लगाए मस्कको एआईमा प्रतिबन्ध
काठमाडौं । मलेसिया र इन्डोनेसियाले एलन मस्कको कृत्रिम बौद्धिकता (एआई) च्याटबोट ग्रोकलाई सहमति विना तयार पारिएको यौनजन्य, अश्लील सामग्री उत्पादनमा प्रयोग भइरहेको भन्दै गत साता अन्त्यतिर प्रतिबन्ध लगाएका छन् । मलेसियाली नियामक निकायले आइतबार एक्सएआईको च्याटबोट ग्रोकमाथि अस्थायी प्रतिबन्ध लगाउन आदेश दिएको हो । नियामकका अनुसार एआई उपकरणसँग जोडिएका सामग्री जोखिम समाधान गर्न एक्स कर्पले ‘बारम्बार असफलता’ देखाएको छ । यस कदमभन्दा एक दिनअगाडि नै इन्डोनेसियाले पनि यस्तै चिन्ताका कारण ग्रोकमा अस्थायी रूपमा पहुँच रोकेको थियो र यस विषयमा स्पष्टिकरण दिन एक्सका अधिकारीहरूलाई आग्रह गरेको थियो । उक्त जानकारी सीएनबीसीले जारी वक्तव्यको अनुवादका आधारमा दिएको हो । दक्षिण–पूर्वी एसियाली यी मुलुकहरूको कदम त्यतिबेला आएको हो, जब एआई उपकरण प्रयोग गरेर केही प्रयोगकर्ताले सहमति विना तयार पारिएका यौनजन्य तस्बिर र डीपफेक सामग्री बनाएको पत्ता लागेको थियो । यसमा न्यून वस्त्रधारी नाबालकहरूलाई देखाइएका सामग्रीसमेत समावेश थिए । मस्कको कम्पनीले हालै ग्रोकको ‘ग्रोक इम्याजिन’ फिचर अद्यावधिक गरेको थियो, जसले पाठआधारित निर्देशन (प्रोम्प्ट) बाट सजिलै तस्बिर बनाउन सक्ने सुविधा दिएको छ । यो प्रणाली मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्ससँग एकीकृत भएकाले यसको पहुँच व्यापक छ । ग्रोकको सामग्री नियमन (कन्टेन्ट मोडरेसन) नीतिप्रति चिन्ता बढ्दै जाँदा एक्सएआईले यौनजन्य आउटपुट सम्भव बनाउने सुरक्षा कमजोरीहरू सुधार्न तस्बिर निर्माण र सम्पादन फिचरहरू भुक्तानी गर्ने सदस्यहरूमा मात्र सीमित गर्ने घोषणा गरेको छ । एक्समा प्रतिक्रिया दिँदै मस्कले ग्रोकमार्फत गैरकानुनी सामग्री बनाउने प्रयोगकर्ताले सोही सामग्री सामाजिक सञ्जाल प्लेटफर्ममा सिधै अपलोड गरेसरह नै परिणाम भोग्नुपर्ने दाबी गरेका छन् । सीएनबीसीले सप्ताहन्तका घटनाक्रमबारे प्रतिक्रिया लिन एक्सएआईसँग सम्पर्क गर्ने प्रयास गरेको थियो । तर कम्पनीको प्रेस इमेलबाट ‘लिगेसी मिडिया लाइज’ (परम्परागत सञ्चारमाध्यमले झूट बोल्छन्) भन्ने स्वचालित सन्देश मात्र प्राप्त भएको थियो । ‘अपर्याप्त’ प्रतिक्रिया तर विवादका बीच एक्सले सार्वजनिक तथा निजी रूपमा दिएको प्रतिक्रिया इन्डोनेसिया र मलेसियाका नियामकहरू र अन्य अनुसन्धान थालेका निकायहरूलाई सन्तुष्ट पार्न असफल भएको बताएको छ । मलेसियाली सञ्चार तथा मल्टिमिडिया आयोगले एक्सका ‘अपर्याप्त’ जवाफहरू ‘मुख्यतः प्रयोगकर्ताबाट हुने उजुरी प्रणालीमै निर्भर रहेको र एआई उपकरणको डिजाइन तथा सञ्चालनबाट उत्पन्न हुने मौलिक जोखिमलाई सम्बोधन गर्न नसकेको’ जनाएको छ । आयोगले भनेको छ, ‘यसैले कानुनी तथा नियामक प्रक्रिया जारी रहँदासम्म रोकथामात्मक र अनुपातिक उपायका रूपमा प्रतिबन्ध लगाइएको हो । विशेषगरी महिला र बालबालिकासँग सम्बन्धित सामग्री रोक्न प्रभावकारी सुरक्षा उपाय लागू नभएसम्म ग्रोकमा पहुँच सीमित नै रहनेछ ।’ इन्डोनेसिया र मलेसिया दुवैमा कडा अश्लीलता विरोधी कानुन छन्, जसले अनलाइनमार्फत अश्लील तथा यौनजन्य सामग्री साझा गर्न प्रतिबन्ध लगाउँछ । यसैबीच इन्डोनेसियाको सञ्चार तथा डिजिटल मामिला मन्त्रालयकी मन्त्री मेउत्याफ हाफिदले ‘सहमति विना बनाइने यौनजन्य डीपफेकलाई सरकारले मानव अधिकार, गरिमा र डिजिटल क्षेत्रमा नागरिकको सुरक्षामाथिको गम्भीर उल्लङ्घनका रूपमा लिएको’ बताइन् । राज्य–स्वामित्वको अन्तारा न्युजमा साझा गरिएका वक्तव्यअनुसार हाफिदले नक्कली अश्लील सामग्री बनाउन एआईको दुरुपयोगलाई ‘डिजिटल–आधारित हिंसा’ को एक रूपसमेत भनेकी छन् । युरोपेली संघ, बेलायत, ब्राजिल र भारतलगायत अन्य क्षेत्रका निकायहरूले पनि अश्लील तथा सहमति बिना तयार पारिएका डीपफेक सामग्रीलाई सहज बनाएको आरोपमा ग्रोकको भूमिकामाथि अनुसन्धान आह्वान गरेका छन् । त्यसैगरी, वासिङ्टनका केही डेमोक्रेट सांसदहरूले मस्कले ठूला सुधार नल्याएसम्म एप स्टोरहरूले एआई उपकरण निलम्बन गर्नुपर्ने सिफारिस गरेका छन् । गत साता सीएनबीसीलाई पठाएको इमेलमा अमेरिकी न्याय मन्त्रालयले ‘एआईबाट उत्पादन हुने बाल यौन शोषण सामग्रीलाई अत्यन्त गम्भीर रूपमा लिने र यस्ता सामग्री उत्पादन वा स्वामित्वमा राख्ने जो–कोहीमाथि कडाइका साथ कारबाही गर्ने’ जनाएको थियो । मन्त्रालयले थप भनेको छ, ‘हामी बालबालिकाको संरक्षण गर्न र प्रविधिको दुरुपयोग गरेर सबैभन्दा कमजोर समूहलाई हानि पुर्याउने व्यक्तिलाई जवाफदेही बनाउन यस क्षेत्रमा कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने उपायहरू खोजिरहेकै छौं ।’
सुनचाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा, सुन प्रतितोला २ लाख ७४ हजार नाघ्यो
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ तोकिएको छ । यो मूल्य आइतबारको तुलनामा ४ हजार १ सय रुपैयाँले वृद्धि भएको हो । आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार १९५ रुपैयाँ पुगेको छ, जुन आइतबारको तुलनामा २०५ रुपैयाँ बढी हो । आइतबार चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।