मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ
काठमाडौं । स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने अवसर गुमाएपछि देशभर निराशा छाएको छ । समर्थकहरूका लागि यो हार केवल उपाधि गुमाउनु मात्र नभई विश्व फुटबलका महान् खेलाडी लियोनेल मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रा पनि समाप्त भएको क्षण बनेको छ । ब्युनस आयर्सका बार, क्याफे र सार्वजनिक चोकहरूमा खेल हेर्न भेला भएका हजारौँ समर्थक खेल सकिएको घोषणासँगै स्तब्ध बने । खेल सुरु हुँदा उत्साह, जयजयकार र आशाले भरिएका समर्थकहरू खेल सकिँदासम्म आँसु, निराशा र भावुकतामा डुबेका देखिए । धेरैले अब ३९ वर्षीय मेस्सीलाई विश्वकपमा फेरि देख्न नपाइने पीडा सबैभन्दा ठूलो रहेको प्रतिक्रिया दिएका छन् । २२ वर्षीय वास्तुकला विद्यार्थी क्यामिलो चिचेरोले आफूलाई खाली महसुस भएको बताउँदै मेस्सीको विश्वकप यात्रा यतिमै टुङ्गिएको स्वीकार गर्न गाह्रो भएको प्रतिक्रिया दिए । उनले कम्तीमा मेस्सीले आफ्नो करिअरमा जित्नुपर्ने सबै प्रमुख उपाधि जितिसकेको तथ्यले केही सान्त्वना दिएको बताए । उनका साथी तथा कानूनका विद्यार्थी जुआन सेन्जले पनि मेस्सीकै युगमा आफू हुर्किएको उल्लेख गर्दै यो केवल एक खेलाडीको बिदाइ नभई एउटा युगको अन्त्य भएको प्रतिक्रिया दिए । यद्यपि हारपछि पनि अर्जेन्टिनाका समर्थकहरूले आफ्नो टोलीप्रतिको सम्मान कायम राखेका छन् । राजधानी ब्युनस आयर्सको प्रसिद्ध ओबेलिस्क क्षेत्रमा हजारौँ समर्थक भेला भएर टोलीको हौसला बढाउँदै उत्सव मनाएका थिए । उनीहरूले टोली स्वदेश फर्किएपछि स्वागत गर्न सडकमा उत्रने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । राष्ट्रपति जेभियर मिलेईले सामाजिक सञ्जाल एक्समार्फत खेलाडीहरूले अन्तिम क्षणसम्म सङ्घर्ष गरेको भन्दै उनीहरूलाई धन्यवाद व्यक्त गरेका छन् । फाइनलअघि अर्जेन्टिनी समर्थकहरू लगातार कठिन जितका आधारमा टोलीले पुनः च्याम्पियन बन्ने विश्वासमा थिए । राष्ट्रिय झण्डा र नीलो–सेतो जर्सी लगाएर उनीहरू बिहानैदेखि बार र सार्वजनिक स्थानमा भेला भएका थिए । खेल अगाडि बढ्दै जाँदा उत्साह क्रमशः तनावमा बदलिएको थियो । दोस्रो हाफ र अतिरिक्त समयमा समर्थकहरू प्रार्थना, चिच्याहट र चिन्तामा डुबेका थिए । एन्जो फर्नान्डेज रातो कार्ड पाएर मैदान बाहिरिएपछि धेरै समर्थक झन् निराश बने । अन्ततः अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोलले अर्जेन्टिनाको उपाधि रक्षा अभियान समाप्त गरिदियो । पराजयपछि केही समर्थकहरूले टोलीको प्रदर्शन, रणनीति, खेलाडी छनोट तथा निर्णायकको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । तर धेरैले खेलाडीहरूले अन्तिमसम्म पूरा शक्ति लगाएर खेलेकाले उनीहरूप्रति गर्व रहेको बताएका छन् । ६२ वर्षीय सेवानिवृत्त एबेल टोरेसले अर्जेन्टिनाले अन्तिम क्षणसम्म सङ्घर्ष गरेको उल्लेख गर्दै कठिन परिस्थितिमा पनि उठेर अघि बढ्ने राष्ट्रको चरित्र टोलीले मैदानमा प्रस्तुत गरेको बताए । मेस्सीको जन्मस्थान रोजारियोमा पनि सयौँ समर्थक भेला भएर आतसबाजीसहित टोली र मेस्सीलाई सम्मान व्यक्त गरेका छन् । समर्थक सर्जियो इराजाबलले विश्वकप गुमाए पनि मेस्सीले अर्जेन्टिनालाई विश्व फुटबलको शिखरमा पुर्‍याइसक्नुभएको भन्दै उनको योगदान सधैँ स्मरणीय रहने बताए । रासस
लेबलविहीन, मिसावटयुक्त र तस्करीका सामान बेच्नेलाई कारबाही गरिने
काठमाडौं । बजारमा लेबल नभएका, न्यून गुणस्तरका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानको बिक्री–वितरण बढ्दै गएको भन्दै सरकारले यस्ता गैरकानुनी व्यापारिक गतिविधिमा संलग्न व्यवसायीमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै कानुनविपरीत व्यापार गर्ने व्यक्ति वा संस्थालाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको हो । विभागका अनुसार पछिल्लो समय भौतिक बजारसँगै अनलाइन प्लेटफर्ममार्फत समेत दैनिक उपभोगका खाद्यवस्तु, पेय पदार्थ, लत्ताकपडा लगायतका सामग्री अवैध रूपमा बिक्री भइरहेको भन्ने उजुरी र जनगुनासो बढेपछि सरकारको गम्भीर ध्यानाकर्षण भएको हो । जारी सूचनामा उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ ले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै मिसावट गर्ने, चोरी पैठारीका सामान बिक्री गर्ने, लेबलविहीन तथा न्यून गुणस्तरका वस्तु बजारमा ल्याउने जस्ता कार्य कानुनअनुसार दण्डनीय रहेको उल्लेख गरिएको छ । मन्त्रालयको स्वच्छ बजार नीति अनुरूप विभागले उत्पादन, पैठारी, ढुवानी, भण्डारण तथा बिक्री–वितरणमा संलग्न सबै व्यवसायीलाई कानुनले तोकेका दायित्व, मापदण्ड र सर्तहरूको पूर्ण पालना गर्न निर्देशन दिएको छ । विभागले आगामी दिनमा बजार अनुगमनलाई थप प्रभावकारी र तीव्र बनाइने जनाएको छ । उपभोक्ताको स्वास्थ्य र अधिकारमाथि खेलबाड गर्ने तथा कानुन उल्लंघन गर्ने कुनै पनि व्यवसायीलाई प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गरिने चेतावनी पनि विभागले दिएको छ ।
नेपालको कृषि क्षेत्र उकास्न चिनियाँ अनुदानमा नयाँ पहल
काठमाडौं । ‘नेपालमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण’ परियोजना सुरु भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच परियोजनाको शुभारम्भ गरिएको हो । नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनियाँ सरकारको आर्थिक सहयोगमा यो परियोजना सुरु गरिएको नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले जानकारी दिए । राजदूत माओमिङले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे । अन्तर्राष्ट्रिय विकास सहयोगका लागि चिनियाँ निकाय अन्तर्गतको ‘ग्लोबल डेभलपमेन्ट एण्ड साउथ–साउथ कोअपरेसन फण्ड’ मार्फत यो परियोजना सञ्चालन हुन लागेको हो । परियोजना कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारले समेत समन्वय र साझेदारी गर्नेछन् । राजदूत माओमिङले कृषि क्षेत्र नेपालको सामाजिक–आर्थिक विकास, खाद्य सुरक्षा र गरिबी निवारणको मुख्य आधार रहेको उल्लेख गरे । उनले चीन र नेपालबीचको भौगोलिक सामीप्यता र ऐतिहासिक सम्बन्धले कृषि क्षेत्रमा सहकार्यका व्यापक सम्भावनाहरू रहेको बताए । यसअघि पनि चीन सरकारको सहयोगमा नेपालमा विभिन्न कृषि योजनाहरू सञ्चालन भइसकेका छन् । जसअन्तर्गत ललितपुरको खोकनामा चिनियाँ तरकारी तालिम केन्द्र, झापामा पशुपालन तथा मत्स्यपालन सहयोग र चितवनमा उन्नत जातको हाइब्रिड धान खेती जस्ता कार्यक्रमहरूले नेपालको कृषि उत्पादकत्व बढाउन उल्लेख्य भुमिका खेलेको राजदूतले स्मरण गराए । चीनको सफलताको उदाहरण दिँदै राजदूतले भने, ‘चीनले विश्वको मात्र ९ प्रतिशत खेतीयोग्य जमिन र ६ प्रतिशत स्वच्छ पानीको स्रोत प्रयोग गरेर विश्वको झन्डै २० प्रतिशत जनसंख्यालाई खाद्यान्न उपलब्ध गराउन सफल भएको छ । हामीले पूर्ण रूपमा गरिबी निवारण गर्दै कृषि आधुनिकीकरणमा हासिल गरेको अनुभव र प्रविधि नेपालसँग साझा गर्न प्रतिवद्ध छौं ।’ यो नयाँ परियोजनाले प्रविधि हस्तान्तरण, तालिम र ज्ञान आदानप्रदानका माध्यमबाट नेपाली कृषकहरूको क्षमता अभिवृद्धि गर्ने र कृषि क्षेत्रको उत्थानशीलता बढाउने लक्ष्य राखेको छ । यस सहकार्यले सन् २०३० सम्मको संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने र नेपाल–चीन मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ । –न्युज एजेन्सी नेपाल
स्वदेशमै उद्यमशीलता प्रवर्द्धन गर्न सिप्रदीको एकमहिने तालिम सुरु
काठमाडौं । टाटा जेन्युइन पार्ट्सका आधिकारिक बिक्रेता सिप्रदी अटोपार्ट्स प्रालिले आफ्ना च्यानल पार्टनर्सका दोस्रो पुस्तालाई लक्षित गर्दै ‘च्यानल पार्टनर्स इन्टरप्रेनरशिप डेभलपमेन्ट–२०२६’ कार्यक्रम सुरु गरेको छ । युवा व्यवसायीलाई पारिवारिक व्यवसायको नेतृत्वका लागि तयार पार्ने उद्देश्यसहित सञ्चालन गरिएको एकमहिने तालिमको आइतबार औपचारिक शुभारम्भ गरिएको हो । सिप्रदी ट्रेनिङ सेन्टरको सहकार्यमा सञ्चालन भएको तालिमले स्थापित अटोपार्ट्स व्यवसायको पुस्तान्तरणलाई सहज बनाउनुका साथै नयाँ पुस्तालाई स्वदेशमै उद्यमशीलताका अवसर पहिचान गरी आधुनिक ढंगले व्यवसाय विस्तार गर्न मार्गदर्शन गर्ने कम्पनीले जनाएको छ । तालिमको उद्घाटन सिप्रदिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरी, सिप्रदी अटोपार्ट्सका सिनियर जनरल म्यानेजर युवराज बुढाथोकी र जनरल म्यानेजर (एचआर) शारदा रानाको उपस्थितिमा भएको थियो । पहिलो चरणमा नौ जना च्यानल पार्टनर्सका उत्तराधिकारी युवा व्यवसायी सहभागी भएका छन् । उद्घाटन समारोहमा बोल्दै सिप्रदीका पदाधिकारीहरूले नेपालको अटोपार्ट्स व्यवसायलाई थप व्यवस्थित, डिजिटल र आधुनिक बनाउन नयाँ पुस्ताको भूमिका निर्णायक हुने बताए । युवाहरू विदेशिनुभन्दा स्वदेशमै बसेर आधुनिक प्रविधि र नवीन सोचका साथ पारिवारिक व्यवसायलाई नयाँ उचाइमा पुर्याउनुपर्ने उनीहरूको भनाइ थियो । कम्पनीले आगामी दिनमा तालिमलाई देशभर विस्तार गर्दै अन्य च्यानल पार्टनर्सका भावी उत्तराधिकारीलाई पनि समेट्ने योजना बनाएको जनाएको छ । तालिममार्फत सहभागीहरूलाई टाटा जेन्युइन पार्ट्सको बजार, वैज्ञानिक व्यवस्थापन, नाफा वृद्धि र डिजिटल प्रविधिको प्रयोगमार्फत व्यवसाय विस्तारका सीप प्रदान गरिने कम्पनीको अपेक्षा छ ।
रिज लाइनले तिला जलविद्युत्मा २० करोड लगानी गर्ने, १५ लाख कित्ता सेयर रोक्का
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले कालिकोटमा निर्माण हुने ४४० मेगावाट क्षमताको तिला-१ जलविद्युत् आयोजनामा २० करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीको असार ३ गते सम्पन्न ११८ औँ सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । कम्पनीका अनुसार, एससि पावर प्रालिले प्रवर्द्धन गरेको सो आयोजनाका लागि रिज लाइन इनर्जीले हकप्रद सेयर निष्कासन गरी रकम सङ्कलन गर्नेछ । सोही रकमबाट एससि पावरको जगेडा सेयरमा २० करोड रुपैयाँ लगानी गरिने कम्पनीले जनाएको छ । यस्तै, सोही बैठकले कम्पनीको स्वामित्वमा रहेको काङ हाइड्रोपावर कम्पनी लिमिटेडको १५ लाख कित्ता सेयर रोक्का राख्ने निर्णयसमेत गरेको छ । ललितपुरको कुपण्डोलमा अवस्थित उक्त कम्पनीको प्रतिसेयर अंकित मूल्य १०० रहेको १५ लाख कित्ता सेयर एनएमबी बैंक लिमिटेड (केन्द्रीय कार्यालय) मा खरिद-बिक्री तथा हस्तान्तरण नहुने गरी रोक्का राखिएको कम्पनी सचिव रोशन पौडेलले जानकारी दिए ।
विश्वकपका गोल बराबर ३३३ रैथाने बिरुवा रोप्दै लक्ष्मी सनराइज बैंक
काठमाडौं । लक्ष्मी सनराइज बैंकले विश्वकप फुटबलको उत्साहलाई वातावरण संरक्षणसँग जोड्दै सञ्चालन गरेको ‘द गोल इज ग्रीन’ अभियानलाई प्रभावकारी बनाउन डब्लूडब्लूएफ नेपाल र काम्दी सामुदायिक वन समन्वय समिति (काम्दी सीएफसीसी) सँग सहकार्य गरेको छ । बैंकले फिफा विश्वकप २०२६ का सम्पूर्ण खेलमा भएको प्रत्येक गोल बराबर एउटा रैथाने बिरुवा रोप्ने प्रतिबद्धता अनुसार अभियान अघि बढाएको जनाएको छ । विश्वकपभर ३३३ गोल भएपछि बैंकले ३३३ वटा रैथाने बिरुवा रोप्ने प्रतिबद्धता पूरा गर्ने भएको छ । यस सहकार्यअन्तर्गत डब्लूडब्लूएफ नेपालले प्रजाति छनोट, उपयुक्त रोपाइँ क्षेत्रको पहिचान तथा पारिस्थितिकीय पुनःस्थापनासम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउनेछ । काम्दी सामुदायिक वन समन्वय समितिले स्थानीय जैविक विविधताअनुकूल रैथाने बिरुवा रोप्नुका साथै तिनको दीर्घकालीन संरक्षण र व्यवस्थापन गर्नेछ । लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले दिगोपन बैंकको दीर्घकालीन रणनीतिक प्राथमिकता भएको उल्लेख गर्दै ‘द गोल इज ग्रीन’ अभियानले खेलप्रतिको उत्साहलाई जलवायु संरक्षणसँग जोडेको बताए । डब्लूडब्लूएफ नेपालको संरक्षणसम्बन्धी विशेषज्ञताले अभियानलाई अझ प्रभावकारी र दिगो बनाउने विश्वास उनले व्यक्त गरे । डब्लूडब्लूएफ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङले वन पुनःस्थापना भनेको केवल रूख रोप्ने कार्य नभई उपयुक्त स्थानमा रैथाने प्रजातिको रोपाइँ र स्थानीय समुदायको दीर्घकालीन सहभागिता सुनिश्चित गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए । काम्दी सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेन्द्र शाहीले यस सहकार्यले जैविक मार्ग (कोरिडोर) पुनःस्थापनाको प्रयासलाई थप सुदृढ बनाउने र स्थानीय समुदायलाई दीर्घकालीन लाभ पुग्ने विश्वास व्यक्त गरे । बैंकका अनुसार ‘द गोल इज ग्रीन’ अभियानले दिगोपनलाई वित्तीय सेवामा मात्र सीमित नराखी सामाजिक तथा वातावरणीय उत्तरदायित्वसँग जोड्दै ग्राहक, व्यवसाय र समुदायलाई सामूहिक जलवायु अभियानमा सहभागी गराउने तथा नेपालको हरित भविष्य निर्माणमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
मदन पुरस्कार २०८२ का लागि उत्कृष्ट १० कृति छनोट
काठमाडौं । मदन पुरस्कार गुठीले नेपाली साहित्यको प्रतिष्ठित मदन पुरस्कार २०२ का लागि उत्कृष्ट १० कृतिको अन्तिम सूची सार्वजनिक गरेको छ । यस वर्ष पुरस्कारका लागि विभिन्न विधाका २९ पुस्तक प्राप्त भएका थिए । तीमध्ये लामो मूल्यांकन प्रक्रियापछि १० कृति अन्तिम चरणमा पुगेको गुठीले जनाएको छ । अन्तिम सूचीमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष र रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास रहेका छन् । गुठीका अनुसार वीणा जोशी राजभण्डारीको नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि र सीमा आभासको महायुग छन् । यस्तै श्रवण मुकारुङको सलह, डा नवराज केसीको स्वस्पर्श र नदीशको हिउँद पुरस्कारकालागी छनोट भएको गुठिले जनाएको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जारी गरेको विज्ञप्तिअनुसार अन्तिम सूचीमा रहेका यी १० कृतिमध्ये उत्कृष्ट एउटालाई मदन पुरस्कार २०८२ प्रदान गरिनेछ । मदन पुरस्कार नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिलाई हरेक वर्ष प्रदान गरिने देशकै सबैभन्दा प्रतिष्ठित साहित्यिक सम्मानमध्ये एक मानिन्छ । यस वर्ष पनि साहित्यका विविध विधाबाट आएका सयौं कृतिबीच प्रतिस्पर्धा भएपछि उत्कृष्ट मानिएका १० कृतिको सूची सार्वजनिक गरिएको हो । अब साहित्यिक वृत्तको चासो अन्तिम विजेतातर्फ केन्द्रित भएको छ ।
दशैंअघि नै घर फर्किँदै ९ सहसचिव
काठमाडौं । नेपाल सरकारका नौजना सहसचिवले यस वर्ष दशैं मनाउनुअघि नै अनिवार्य अवकाश पाउने भएका छन् । निजामती सेवा ऐन, २०४९ मा रहेको ५८ वर्षे उमेरहदको बाध्यकारी व्यवस्थाअनुसार उनीहरू चालु आर्थिक वर्षको पहिलो चार महिनामै सरकारी सेवाबाट बाहिरिन लागेका हुन् । प्रशासनिक अनुभवले खारिएका यी अधिकारीहरूको एकै अवधिमा हुने बहिर्गमनले संघ, प्रदेश र संवैधानिक निकायमा नयाँ नेतृत्व व्यवस्थापनको चुनौतीसमेत थपिएको छ । निजामती किताबखानाको अभिलेखअनुसार चालु आर्थिक वर्षमा सबैभन्दा पहिले अवकाश पाउने सहसचिव हुन् काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार गुरागाईं । उनी साउन २० गते ५८ वर्षे उमेर पूरा गरेसँगै अनिवार्य अवकाशमा जाँदैछन् । गुरागाईं काठमाडौं महानगरपालिकामा कार्यरत रहँदा तत्कालीन नेतृत्वसँगको कार्यसम्पादन र प्रशासनिक अधिकारसम्बन्धी विवादका कारण चर्चामा आएका अधिकारी हुन् । उनको अवकाशसँगै महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी कसलाई दिने भन्ने विषय पनि चासोको केन्द्रमा रहनेछ । गुरागाईंपछि रक्षा मन्त्रालयका सहसचिव मनोज आचार्य भदौ ५ गते अनिवार्य अवकाशमा जाने निजामती किताबखाना स्रोतले जनाएको छ । त्यसको करिब दुई सातापछि भाषा आयोगका सहसचिव रमेशकुमार मैनाली भदौ २१ गते सेवाबाट बाहिरिने सूचीमा छन् । दशैं नजिकिँदै गर्दा थप वरिष्ठ अधिकारीहरूले पनि सरकारी सेवा छाड्न बाध्य हुने निजामती किताबखानाले जनाएको छ । बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष तुल्सीनाथ गौतम असोज १३ गते अनिवार्य अवकाशमा जाँदैछन् । अर्थ मन्त्रालयमा लामो समय कार्यरत रही नेपाल सरकारका तर्फबाट एसियाली विकास बैंक एडीबीका वैकल्पिक कार्यकारी निर्देशकमा समेत अनुभव लिइसकेका श्रीकृष्ण नेपाल पनि उमेरहदका कारण अवकाश हुने सूचीमा छन् । त्यसैगरी, सुदूरपश्चिम प्रदेश सरकारका प्रदेश सचिव ओमबहादुर खड्का असोज १४ गते सेवाबाट बाहिरिने सूचीमा छन् । सोही दिन मधेश प्रदेशमा कार्यरत सहसचिव जयकुमार घिमिरे पनि अनिवार्य अवकाशमा जाने निजामती किताबखानाको अभिलेखमा उल्लेख छ । दशैंअघि नै राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका दुई वरिष्ठ सहसचिवले पनि सरकारी सेवा छाड्ने भएका छन् । राष्ट्रपति कार्यालयका सन्तोष दाहाल असोज २२ गते तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखनाथ ज्ञवाली असोज २७ गते ५८ वर्षे उमेर पूरा गरेसँगै अनिवार्य अवकाशमा जाँदैछन् । निजामती सेवा ऐन, २०४९ मा ५८ वर्ष पुगेपछि कर्मचारीलाई अनिवार्य रूपमा अवकाश दिनुपर्ने व्यवस्था छ । यस व्यवस्थाअनुसार प्रत्येक वर्ष उल्लेख्य संख्यामा वरिष्ठ कर्मचारीले सेवा छाड्दै आएका छन् । यस वर्ष पनि दशैंअघि नै विभिन्न मन्त्रालय, प्रदेश सरकार, संवैधानिक निकाय तथा स्थानीय तहमा कार्यरत अनुभवी सहसचिवहरूको बहिर्गमन हुन लागेकाले रिक्त हुने पदमा नयाँ जिम्मेवारी र सरुवाको प्रक्रियासमेत तीव्र हुने प्रशासनिक अधिकारीहरू बताउँछन् ।