विकासन्युज

यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को सोमबार (आज) बसेको बैठकले ‍विभिन्न निर्णयहरू गरेको छ ।  बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) को सदस्य राष्ट्रका रूपमा नेपालले सन् २०२४ का लागि बुझाउनुपर्ने वार्षिक योगदानस्वरूप २ लाख ८३ हजार ५ सय ३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । त्यसैगरी, आर्थिक प्रणालीलाई सुदृढ र आधुनिक बनाउने लक्ष्यसहित वित्तीय क्षेत्र विकास रणनीति (२०८२/८३ देखि २०८६/८७) स्वीकृत गर्ने निर्णय भएको छ । त्यस्तै, सन् २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनि फैया बौद्ध पगोडाको अभिलेखालय तथा गङ्गा घाट मन्दिर पुनर्निर्माणका लागि ३ लाख ५० हजार अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने पनि निर्णय भएको छ । त्यस्तै, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति–२०८२ स्वीकृत गरिएको छ । गोरखापत्र संस्थानको अध्यक्ष पदमा भक्तपुर निवासी गोविन्दप्रसाद भण्डारीलाई तोक्ने निर्णय भएको मन्त्री खरेलले जानकारी दिए । आगामी माघ ४ गते आइतबार बिहान ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा बस्ने गरी संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि भएको छ ।

गगन थापाको प्रतिवेदन भन्छ- जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा ठूलो मोड आयो

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले भदौ २३ र २४ गते भएको युवाको आन्दोलनपछि नेपालको राजनीति निर्णायक र चुनौतीपूर्ण मोडमा प्रवेश गरेको निष्कर्स निकालेका छन् ।  महाधिवेशनमा प्रस्तुत राजनितिक प्रतिवेदनमा थापाले यस्तो निष्कर्स निकालेका हुन् । महामन्त्री थापाका अनुसार उक्त आन्दोलनले भदौ २३ अघिको र पछिको राजनीतिक अवस्थाबीच धेरै भिन्नता देखाएको छ । उनले जेनजी आन्दोलनलाई एउटै र बारम्बार असफल भइसकेको नेतृत्वको निरन्तरता, सार्वजनिक संस्थाप्रतिको विश्वास कमजोर हुनु, कुशासन र भ्रष्टाचारजस्ता विकृतिविरुद्ध जनताको विस्फोटका रूपमा व्याख्या गरेका छन् ।  थापाको प्रतिवेदनमा संसदको पहिलो दल तथा सरकारको हिस्सेदार भएकाले ती विसंगतिहरूमा कांग्रेसको पनि कतै न कतै जिम्मेवारी रहेको स्वीकार छ । समयमै हस्तक्षेप गर्न नसकिएको यथार्थ आत्मसात गर्नुपर्ने थापाको धारणा छ । प्रतिवेदनले जेनजी आन्दोलनलाई आमूल परिवर्तनको मागका रूपमा लिँदै नीति, कार्यशैली, सोच र केही पात्रसम्म परिवर्तन आवश्यक भएको निष्कर्ष निकालेको छ ।  संसदमा सबैभन्दा ठूलो दल र सरकारमा सहभागी भएकै कारण कांग्रेसभित्र पनि परिवर्तनको माग मुखर बनेको प्रतिवेदनमा जनाइएको छ । तर केन्द्रीय तहमा निर्णय लिन नसक्ने अवस्था पार्टीका लागि चिन्ताको विषय भएको उल्लेख प्रतिवेदनमा गरिएको छ । इतिहासका विभिन्न चरणमा कांग्रेसले लिएका निर्णायक भूमिकाको स्मरण गर्दै स्थापना कालमा लोकतन्त्र, २०४६ सालमा बहुदलीय व्यवस्था र २०६२/६३ पछि लोकतन्त्र, गणतन्त्र, संघीयता तथा समावेशितालाई संस्थागत गर्न नेतृत्वदायी भूमिका खेलेको थापाको दाबी छ ।  यही परिवर्तनकारी परम्पराका आधारमा जेनजी आन्दोलनको सन्देश ग्रहण गर्दै विशेष महाधिवेशनबाट भावी यात्रा तय गर्नुपर्ने आवश्यकता प्रतिवेदनमा औंल्याइएको छ ।

कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारित : के छ कार्यविधिमा ?

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि–२०८२’ पारित गरेको छ । सोमबार भृकुटीमण्डमा भएको बन्दसत्रले पारित गरेको कार्यविधिमा केन्द्रीय कार्यसमितिको विघटन गर्ने प्रावधान समावेश गरिएको हो । कार्यविधिमा कांग्रेसको १४औँ महाधिवेशन विसं २०७८ (मङ्सिर २४ देखि २८) देखिको निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले केन्द्रिय कार्यसमितिको विघटन गर्ने र कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रिय कार्यसमिति निर्वाचित गर्ने प्रावधान उल्लेख छ । यसैगरी, विशेष केन्द्रीय महाधिवेशनको अध्यक्षता पार्टीको सभापतिले गर्नेछन्, निज अनुपस्थित भएको खण्डमा महाधिवेशनमा उपस्थित ज्येष्ठ सदस्यले गर्ने व्यवस्था उल्लेख छ ।      यसैगरी, ज्येष्ठ सदस्यको अध्यक्षतामा विशेष केन्द्रीय महाधिवेशनको बन्दसत्र सञ्चालन भएको अवस्थामा बन्दसत्र कार्यक्रमको सहजता र निरन्तरताका लागि महाधिवेशन प्रतिनिधिमध्ये पाँच सदस्यीय अध्यक्षता मण्डल गठन गरिने कार्यविधिमा उल्लेख छ ।   

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरणसम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका संस्थापक तथा आधारभूत सेयरधनीहरूका लागि सम्पत्ति शुद्धिकरण निवारण (एएमएल) सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम आइतबार लाजिम्पाटस्थित होटल र्याडिसनको हलमा सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्यहरू, संस्थापक सेयरधनीहरू तथा उच्च व्यवस्थापन तहका पदाधिकारीसहित करिब ६० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल बीमा प्राधिकरण अन्तर्गत सम्पत्ति शुद्धिकरण शाखाका प्रमुख पदमप्रसाद सोडारी प्रमुख वक्ताका रूपमा सहभागी थिए । उनले संस्थापक सेयरधनी, सञ्चालक समितिका सदस्य तथा कम्पनीका उच्च व्यवस्थापनलाई सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐन, नियम, नीति तथा निर्देशनबारे विस्तृत जानकारी गराएका थिए । अन्तरक्रिया कार्यक्रममा सहभागी केही संस्थापक सेयरधनीहरूले आ–आफ्ना धारणा तथा जिज्ञासा प्रस्तुत गरेका थिए ।

डिप्रोक्स लघुवित्तको २४औँ वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औँ वार्षिक साधारण सभा सोमबार चितवनको सौराहामा सम्पन्न भएको छ । कम्पनीको साधारण सभाबाट १५ प्रतिशत लाभांश पारित भएको हो । साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सोही आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव स्वीकृत गरेको छ । साथै, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशमा लाग्ने करसमेत) वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ। बोनस सेयर वितरणपछि संस्थाको चुक्ता पुँजी २ अर्ब ५ करोड ५१ लाख १४ हजार रुपैयाँ पुगेको छ। संस्थाका सञ्चालक समितिका अध्यक्ष दीपक खनालको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि सेयरधनीहरूले उठाएका जिज्ञासाहरूको अध्यक्षले स्पष्टिकरण गरेका थिए । सभामा प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन कम्पनी सचिव ज्ञानेन्द्र अर्यालले गरेका थिए । सभाबाट संस्थापक समूहको तर्फबाट नेपाल बैंक लिमिटेडका प्रतिनिधि प्रदीप कुमार पाठक र सर्वसाधारण समूहको तर्फबाट शिवप्रसाद भट्टराई, आयुषी सापकोटा तथा पुष्करनाथ भण्डारी सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।

विशेष महाधिवेशन निर्वाचनतर्फ उन्मुख

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन नयाँ नेतृत्व चयनतर्फ निर्णायक चरणमा प्रवेश गरेको छ । विशेष महाधिवेशनअन्तर्गत जारी बन्दसत्रले सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति विघटन गरी नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गर्ने कार्यविधि पारित गरेपछि कांग्रेस औपचारिक रूपमा नेतृत्व परिवर्तनको प्रक्रियामा गएको हो ।  पारित कार्यविधिअनुसार १५औं महाधिवेशन सम्पन्न नहुन्जेलसम्मका लागि नयाँ केन्द्रीय कार्यसमिति गठन गरिनेछ । विशेष महाधिवेशनले पारित गरेको कार्यविधिमा १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले उक्त कार्यसमिति विघटन गर्ने व्यवस्था गरिएको छ । साथै पार्टी सञ्चालनका लागि अन्तरिम अवधिमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचनमार्फत चयन गर्ने उल्लेख छ । नेपाली कांग्रेसको १४औं महाधिवेशन २०७८ मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न भएको थियो । उक्त महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका थिए । तर, कार्यसमितिको कार्यकाल सकिएसँगै पार्टीभित्र नेतृत्वको वैधानिकताबारे प्रश्न उठ्दै आएका थिए । यसअघि मंसिर १५ गते बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गर्ने निर्णय गरेको थियो । पुस २० को कार्य सम्पादन समिति बैठकले केन्द्रीय कार्य समितिको म्याद आगामी जेठसम्म थपेको थियो । तर, विशेष महाधिवेशनले नयाँ कार्यविधि पारित गरेपछि अब पार्टी नेतृत्व चयन निर्वाचनमार्फत अघि बढ्ने निश्चित भएको छ । कार्यविधि पारितसँगै कांग्रेसभित्र नयाँ नेतृत्व, आन्तरिक शक्ति सन्तुलन र आगामी राजनीतिक दिशाबारे छलफल थप तीव्र बनेको छ ।

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको ओपनहार्ट सर्जरी सफल

काठमाडौं । विराट नर्सिङहोम र विराट मेडिकल कलेजका सञ्चालक एवं डा. ज्ञानेन्द्रमानसिंह कार्कीको ओपनहार्ट सर्जरी सफल भएको छ । नियमित जाँचका क्रममा दिल्लीस्थित मेदान्त अस्पताल पुगेका कार्कीको मुटुको भल्ब बन्द भएको पाइएपछि ओपनहार्ट सर्जरी गरिएको हो।  एक साताअघि स्वास्थ्य समस्या देखिएपछि भारत पुगेका डा. कार्कीले अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।  उनले अस्पतालको बेडबाट भिडियो सेयर गर्दै भनेका छन्, ‘म अहिले स्वास्थ्यलाभ गरिरहेको छु, कसैलाई कुनै सन्देश नै दिन नपाइ दिल्ली आउनुपर्यो, हजुरहरूको कृपाले राम्रो हुँदैछ ।’  कार्कीले मुटुको भल्भको ब्लकेज जटिल शल्यक्रिया रहेको जनाउँदै अहिले आफ्नो अवस्था ठीक रहेको बताए । उनले अब आफू ठीक भएर चाँडै नागरिकको सेवाका लागि फर्किने समेत विश्वास दिलाएका छन् । ओपनहार्ट सर्जरी एक जटिल शल्यक्रिया हो, जसमा छाती खोलेर मुटुको उपचार वा शल्यक्रिया गरिन्छ । यो शल्यक्रिया कोरोनरी धमनी रोग, मुटुको भल्भ रोग, जन्मजात मुटुको दोष र अन्य गम्भीर मुटुसँग सम्बन्धित समस्याहरूका लागि गर्ने गरिन्छ ।  यसको लक्ष्य भनेको मुटुको सामान्य कार्य पुन: स्थापित गर्नु, रक्त प्रवाह सुधार गर्नु र मुटुको रोगबाट पीडित बिरामीहरूको जीवनको समग्र गुणस्तर बढाउनु हो ।  

वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी

चितवन । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १०औँ केन्द्रीय परिषद् तथा ११औँ केन्द्रीय महाधिवेशनले सुदन केसीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । चितवनको सौराहामा हालै सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा गङ्गाधर भट्टराई, उपाध्यक्षहरूमा खुलातर्फ रजनिस फुलारा, महिलातर्फ लसता श्रेष्ठ र मधेसीतर्फ अमित भगतलाई चयन गरेको हो ।     महासचिवमा सञ्जिवकुमार भडेल, उपमहासचिवहरूमा खुलातर्फ अरमेन्द्रकुमार यादव, महिलातर्फ रश्मी श्रेष्ठ र आदिवासी जनजातितर्फ सुरेश अवाल निर्वाचित भएका छन् । सचिवमा अतिन्द्र राउत, गोविन्दप्रसाद बस्तोला र विश्वबन्धु भण्डारी निर्वाचित भएको अध्यक्ष केसीले जानकारी दिए । कोषाध्यक्षमा प्रतिज्ञा भट्ट र सहकोषाध्यक्षमा राहुल कर्ण चयन भएका छन् ।      केन्द्रीय सदस्यतर्फ खुलाबाट प्रेम तिमिल्सिना, मुकेश तिवारी, राजु भट्टराई, सरोज न्यौपाने, सुजन पौडेल, सुरेशकुमार खत्री र शैलेस रिजाल चयन भएका छन् । भौगोलिक प्रतिनिधित्वअनुसार कोशी प्रदेशबाट मनोज चापागाईं, मधेस प्रदेशबाट बित्टु गुप्ता, बागमती प्रदेशबाट अनिलराज पाण्डे, गण्डकी प्रदेशबाट कृष्णप्रसाद सुवेदी, लुम्बिनी प्रदेशबाट प्रीतम राना, कर्णाली प्रदेशबाट रमेश खड्का र सुदूरपश्चिम प्रदेशबाट चन्द्रबहादुर बोगटी चयन भएका छन् ।      महिला आरक्षणतर्फ रमा पौडेल, कविता ज्ञवाली, जानकी कुमारी न्यौपाने र निलम शर्मा चयन हुनुभएको छ भने मधेसी आरक्षणतर्फ अजय प्रताप यादव र भवनाथ यादव चयन भएका छन् । आदिवासी जनजातितर्फ सुजन जोशी, अपाङ्गतर्फ विदुर दाहाल, दलिततर्फ नवल किशोर राम तथा पदेन सदस्य (युवा समिति अध्यक्ष) का रूपमा अङ्कित रावल चयन भएका छन् । संघमा एक हजार ३०० भन्दा बढी सदस्य आबद्ध छन् ।