योजना आयोग र त्रिविबीच सहकार्य, नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश संशोधन
काठमाडौं । राष्ट्रिय योजना आयोग र त्रिभुवन विश्वविद्यालयबीच सहकार्य हुने भएको छ । नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश संशोधनसँगै योजना आयोग र त्रिविबीच समन्वय बढ्ने भएको हो । राजपत्रको भाग–३ मा प्रकाशित ‘नीति अनुसन्धान प्रतिष्ठान विकास समिति (गठन) आदेश दोस्रो संशोधन, २०८३’ मा बोर्डको संरचनामा हेरफेर भएसँगै योजना आयोगका उपाध्यक्ष पदेन अध्यक्ष रहने व्यवस्था छ । बोर्डमा त्रिविका उपकुलपति र नेपाल सरकारबाट मनोनीत दुई सदस्य रहनेछन् भने कार्यकारी निर्देशकले बोर्डको सचिवको जिम्मेवारी बहन गर्नेछन् । योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको अध्यक्षता र त्रिविका उपकुलपति डा. भोला थापासहितको उपस्थितिमा बोर्डको पहिलो बैठक हालै सम्पन्न भएको छ । प्रतिष्ठानका सहायक प्रवक्ता कृष्णप्रसाद विकले नयाँ व्यवस्थाले आयोग र विश्वविद्यालयसँग नीतिगत र प्राज्ञिक समन्वय बढ्ने बताए । विशेषज्ञ समूह (थिङ्क ट्याङ्क) मानिने प्रतिष्ठानले अध्ययनका मुद्दा र विषयवस्तुका लागि संविधानका निर्देशक सिद्धान्त र राज्यका नीतिलाई अवलम्बन गर्दै आएको छ । नेपालको सामरिक मामिला, अन्तररष्ट्रिय सम्बन्ध, कूटनीति एवं परराष्ट्र नीतिको अध्ययन तथा अनुसन्धान गरी त्यसमा अपनाउनुपर्ने उपायका बारेमा नेपाल सरकारलाई नीतिगत सुझाव दिने कार्य प्रतिष्ठानले गर्दै आएको छ । निजामती वा सार्वजनिक सेवालाई थप प्रभावकारी, जवाफदेही, मर्यादित, कुशल तथा व्यावसायिक बनाउन गर्नुपर्ने सुधारलगायतका सम्बन्धमा सरकारलाई सुझाव दिने जिम्मेवारी दिइएको छ । विसं २०७५ मा नेपाल सरकारले नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश जारी गरेको थियो । बोर्डले नेपाल सरकारसँग सम्पर्क गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत गर्दै आएको छ ।
बजेट कार्यान्वयनमा अर्थमन्त्री वाग्ले सक्रिय, मन्त्रालयका सचिवसँग छलफल
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्ष २०३/४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तयारीस्वरूप सरोकारवाला मन्त्रालयका उच्च अधिकारीहरूसँग छलफल सुरू गरेका छन् । अर्थ मन्त्रालयको सुवर्ण हलमा सोमबार आयोजित छलफलमा बजेट कार्यान्वयनको प्रगति, मन्त्रालयगत जिम्मेवारी, कार्ययोजना तथा कार्यान्वयनमा देखिन सक्ने चुनौतीबारे समीक्षा भइरहेको छ । अर्थमन्त्री डा वाग्लेको अध्यक्षतामा भइरहेको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा बजेट कार्यान्वयनसँग प्रत्यक्ष सम्बन्धित मन्त्रालयका सचिव र प्रतिनिधिहरू सहभागी छन् । बैठकमा पूर्वाधार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा खाद्य सुरक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महिला, गृह तथा रक्षा मन्त्रालयका सचिव एवं प्रतिनिधिहरूको सहभागिता रहेको मन्त्री वाग्लेको सचिवालयले जनाएको छ। अर्थमन्त्री वाग्लेको सचिवालयका अनुसार बजेटमा समेटिएका कार्यक्रमहरू समयमै कार्यान्वयन गर्ने, मन्त्रालयहरूबीच समन्वय बढाउने तथा विकास खर्चको प्रभावकारिता अभिवृद्धि गर्ने विषयमा बैठक केन्द्रित रहेको छ ।
यसरी बन्यो स्पेन विश्वकप विजेता
काठमाडौं । फेरान टोरेस अनि एन्ड्रेस इनिएस्टा । यी दुई खेलाडी मात्रै हुन्, जसले फिफा पुरुष विश्वकपको फाइनलमा स्पेनका लागि गोल गरेका छन् । दुवै गोल अतिरिक्त समयमा आए र दुवैले स्पेनलाई विश्वकपको ट्रफी चुमाउने अवसर दिलाए । स्पेन पुरुष विश्वकपको इतिहासमा दोस्रो पटक विश्वविजेता बनेको छ । सन् २०२६ को विश्वकप फाइनलमा स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै उपाधि जित्यो । बार्सिलोनाका फरवार्ड फेरान टोरेसले दोस्रो अतिरिक्त समयको हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । यो स्पेनको दोस्रो विश्वकप उपाधि हो । यसअघि उसले सन् २०१० मा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा नेदरल्यान्ड्सलाई हराउँदै पहिलो पटक विश्वकप जितेको थियो । त्यो फाइनलमा पनि स्पेन नै फुटबल खेल्न चाहने टोली थियो र अन्ततः विजयी बनेको थियो । न्यु जर्सीमा सम्पन्न सन् २०२६ को फाइनल र सन् २०१० को फाइनलबीच धेरै समानता देखिए । यसपटक पनि स्पेन खेल्न आएको थियो । तर अर्जेन्टिना खेलको लय बिगार्न र प्रतिद्वन्द्वीलाई निराश पार्न केन्द्रित देखियो । नतिजा स्वरूप फाइनल लगभग एकतर्फी बन्यो, जसमा स्पेनले अन्ततः आफ्नो प्रभुत्वलाई उपाधिमा परिणत गर्यो । लियोनेल स्कालोनीको टोलीले अतिरिक्त समयको २६औं मिनेटसम्म एउटा पनि प्रहार गर्न सकेन । त्यसबेलासम्म स्पेनले २० वटा प्रहार गरिसकेको थियो, जसमध्ये १२ लक्ष्यतर्फ थिए र उपाधितर्फ निरन्तर अघि बढिरहेको थियो । दुवै टोलीको खेल्ने सोचमा ठूलो अन्तर देखिन्थ्यो । अर्जेन्टिनाले खेलको गति रोक्ने, रणनीतिक फाउल गरेर लय बिगार्ने र रक्षात्मक खेलमा टिकिरहने प्रयास गर्यो । यता स्पेनले बल नियन्त्रण र मैदानको अधिकांश भागमा प्रभुत्व कायम राख्यो । उसले धेरै स्पष्ट गोल अवसर सिर्जना गर्न नसके पनि खेल लगभग पूर्ण रूपमा नियन्त्रणमा राख्यो । अन्ततः निको विलियम्सको हेडर पासलाई फेरान टोरेसले शक्तिशाली प्रहारमार्फत गोलमा परिणत गरे । स्पेनले विपक्षीको अन्तिम तेस्रो क्षेत्रमा २३५ पास पूरा गर्यो भने स्कालोनीको टोलीले मात्र ४७ पास पूरा गर्न सक्यो । यसले स्पेनको फिल्ड टिल्ट ८३.३ प्रतिशत पुगेको देखाउँछ, जसले मैदानमाथिको उसको प्रभुत्व स्पष्ट पार्छ । टोरेस विश्वकप फाइनलमा गोल गर्ने पाँचौं वैकल्पिक खेलाडी बने । साथै सन् २०१४ मा अर्जेन्टिनाविरुद्ध अतिरिक्त समयमा जर्मनीलाई जित दिलाउने मारियो गोट्सेपछि विश्वकप फाइनलमा गोल गर्ने पहिलो सब्स्टिच्युट पनि बने । स्पेनले खेलभर २० प्रहार गर्दा अर्जेन्टिनाले जम्मा दुई प्रहार मात्र गर्न सक्यो । १८ प्रहारको यो अन्तर विश्वकप फाइनल इतिहासकै दोस्रो ठूलो अन्तर हो । यसअघि सन् १९९० को फाइनलमा वेस्ट जर्मनीले २३ प्रहार गर्दा अर्जेन्टिनाले केवल एक प्रहार गरेको थियो । त्यो खेल पनि अर्जेन्टिनाले १–० ले गुमाएको थियो । अन्तिम सिटी बज्नेबित्तिकै अर्जेन्टिनाका खेलाडीहरूको निराशा आक्रोशमा परिणत भयो । स्पेनका खेलाडीहरू उपाधि उत्सव मनाउन मैदानभर फैलिँदा लिएन्ड्रो पारेडेसले आक्रामक व्यवहार गरे, जसले मैदानमै झडपको अवस्था सिर्जना गर्यो । उक्त दृश्य अर्जेन्टिनाको तनावपूर्ण प्रदर्शनको प्रतीकजस्तै बन्यो । अर्जेन्टिनाले खेलमा २५ फाउल गर्यो, जुन सन् २०२२ को फाइनलमा फ्रान्सविरुद्ध उसैले गरेको २६ फाउलपछि विश्वकपमा कुनै पनि टोलीले गरेको सबैभन्दा धेरै फाउल हो। तीमध्ये एउटा फाउलमा एन्जो फर्नान्डेजले पाउ कुबार्सीलाई कडा ट्याकल गरे, जसले उनलाई लडायो । त्यससँगै उनले खेलको दोस्रो पहेंलो कार्ड पाए र विश्वकप फाइनलमा रातो कार्ड पाउने इतिहासका केवल छैटौं खेलाडी बने । सन् १९९० मा पेड्रो मोन्जोन र गुस्ताभो देजोत्तीपछि विश्वकप फाइनलमा रातो कार्ड पाउने अर्जेन्टिनाका खेलाडीको सूचीमा उनको नाम पनि थपियो । तर यो फाइनलको कथा स्पेनकै नाममा लेखियो । १६ वर्षअघि दक्षिण अफ्रिकामा जस्तै, स्पेनको बल नियन्त्रणले उसको उत्कृष्ट रक्षात्मक अभियानको आधार तयार गर्यो । स्पेन प्रतियोगिताभर कुनै पनि समयमा पछि परेन र आठ खेलमा केवल एक गोल मात्र बेर्होयो । बेल्जियमका चार्ल्स डे केटेलाएर मात्र स्पेनको रक्षापंक्ति तोड्ने खेलाडी बने । विश्वकप जित्ने कुनै पनि टोलीले एउटै संस्करणमा यसभन्दा कम गोल खाएको इतिहास छैन । स्पेनले प्रतियोगिताभर विपक्षीलाई जम्मा २.३ अपेक्षित गोलमात्र सिर्जना गर्न दियो, अर्थात् औसतमा प्रति खेल ०.३ अपेक्षित गोल । पुरुष विश्वकप इतिहासमा यो उत्कृष्ट रक्षात्मक तथ्यांक हो । अझ रोचक कुरा के भने अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले यो फाइनलमा मात्र ११ बचाउ गरे, जबकि स्पेनका गोलरक्षक उनाइ सिमोनले पूरै प्रतियोगिताभर जम्मा १० बचाउमात्र गर्नुपरेको थियो । सुपरस्टारहरूले भरिएको प्रतियोगितामा अन्ततः चम्किएको पक्ष भने स्पेनको सामूहिक टोली प्रदर्शन थियो । यही सफलताले विश्व फुटबलमा स्पेनलाई फेरि एकपटक शक्तिशाली राष्ट्रका रूपमा स्थापित गरेको छ । ला रोजा एकैसाथ युरोपियन च्याम्पियनसिप र विश्वकप दुवै उपाधि हात पार्ने चौथो पुरुष राष्ट्रिय टोली बनेको छ । यसअघि यो उपलब्धि वेस्ट जर्मनी (१९७२–७४), फ्रान्स (१९९८–२०००) र स्पेनकै स्वर्णिम पुस्ताले (युरो २००८, विश्वकप २०१० र युरो २०१२) हासिल गरेका थिए । यस फाइनलसँगै स्पेनले आफ्नो अपराजित यात्रालाई ३८ खेलसम्म पुर्याएको छ (२९ जित, ९ बराबरी), जुन कुनै पनि युरोपेली पुरुष राष्ट्रिय टोलीको इतिहासकै सबैभन्दा लामो अपराजित शृंखला हो । यो फाइनलले सन्देश दिएको छ- नियन्त्रण, अनुशासन र धैर्यले अझै पनि अराजकतालाई पराजित गर्न सक्छ । अन्य सान्दर्भिक सामग्रीहरू : ३९ वर्षमा पनि मेसीकै जादु, विश्वकपमा फेरि इतिहास रच्ने अवसर इङ्ल्यान्ड र अर्जेन्टिनाले एक-अर्कालाई किन घृणा गर्छन् ? यस्तो छ ६४ वर्षदेखिको तिक्तता केन र बेलिङ्घमकै भरमा इङ्ल्यान्डले विश्वकप जित्न सक्ला ? पहिलो सेमिफाइनल : उपाधिको दाबेदार फ्रान्स र स्पेनबीच निर्णायक खेल कसले जित्ला विश्वकप ? यस्तो छ अप्टा सुपरकम्प्युटरको भविष्यवाणी इङ्ग्ल्यान्डको नायक बेलिङ्घम सेमिफाइनल समीकरण पूरा, फुटबलका चार महाशक्ति उपाधि दौडमा यी हुन् इङ्ल्यान्डले नर्वेलाई हराउन गर्नुपर्ने ६ मुख्य काम हालान्डको नाममै उन्माद ‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा विश्वकपको उपाधि होड थप रोमाञ्चक क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेखे
स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका स–साना नदीमा आज बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार गोरखा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ । त्यस्तै, झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), प्युठान, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला जिल्ला आसपासका स–साना आकस्मिक बाढीको जोखिम रहेको जनाइएको छ । विभागका बाढीविद् बिनोद पराजुलीले ती जिल्लाका नदी तटीय क्षेत्र, खोला आसपासकन सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरे । उनले भने, 'नदीमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले यस्तो अवस्थामा नदी तर्न, माछा मार्न, नदीजन्य सामग्री उत्खनन गर्न तथा नदी किनारमा बस्न वा आवतजावत गर्न हुँदैन ।' विभागले स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहलाई पनि सम्भावित आकस्मिक बाढीको जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्वतयारी तथा प्रतिकार्यमा तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।
कामना सेवा विकास बैंकले सुरु गर्यो नेपालपे कार्ड सेवा
काठमाडौं । कामना सेवा विकास बैंकले ‘नेपालपे’ कार्डको इस्युइङ (जारी) तथा एक्वायरिङ (स्वीकार) सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ सेवाको विस्तार गर्ने उद्देश्यका साथ बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड उपलब्ध गराउनुका साथै आफ्ना एटीएममार्फत उक्त कार्ड स्वीकार गर्ने व्यवस्था गरेको हो । बैंकका अनुसार नेपालपे कार्डमार्फत नेपालभित्रका विभिन्न एटीएम तथा पीओएस टर्मिनलमा कारोबार गर्न सकिनेछ । साथै, ‘डिस्कभर’ नेटवर्कसँगको सहकार्यपछि नेपालपे कार्ड अन्तर्राष्ट्रिय स्तरमा समेत प्रयोग गर्न सकिने व्यवस्था भएको छ। त्यस्तै, अन्तर्राष्ट्रिय डिस्कभर तथा आरयुपे कार्ड पनि नेपालमा प्रयोग गर्न सकिने जनाइएको छ । हालसम्म ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था नेपालपे नेटवर्कमा आबद्ध भइसकेका छन् । तीमध्ये सात वटा बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड जारी गर्न सुरु गरिसकेका छन् भने १० भन्दा बढी संस्थाले कार्ड स्वीकार गर्ने सेवा सञ्चालनमा ल्याइसकेका छन् । कामना सेवा विकास बैंकका देशभर करिब आठ लाख ग्राहक रहेका छन् । बैंकले हाल १२२ शाखा, एक एक्स्टेन्सन काउन्टर र ६६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ । पछिल्लो समय बैंकले डिजिटलाइजेसनलाई प्राथमिकतामा राख्दै आन्तरिक प्रणाली तथा ग्राहक सेवामा सुधार गर्दै आएको र आगामी दिनमा डिजिटल सेवाको पहुँच अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सोलु हाइड्रोपावरको सीईओमा बसन्तराज राउत नियुक्त
काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बसन्तराज राउत नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको असार ३२ गते बसेको बैठकले राउतलाई साउन १ गतेदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार व्यवस्थापनलाई अझ प्रभावकारी, उत्तरदायी तथा व्यावसायिक बनाउने उद्देश्यले राउतलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । उनले साउन १ गतेदेखि कम्पनीको कार्यकारी नेतृत्व सम्हाल्नेछन् ।
सेयर बजारका प्रमुख व्यक्तिसँग प्रधानमन्त्री बालेनले विशेष छलफल गर्दै
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मध्यान्ह १२ बजे पुँजी बजार क्षेत्रका सरोकारवाला व्यक्तिहरूसँग विशेष छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा प्रधामन्त्रीले पुँजी बजारसँग सम्बन्धित नियामक निकाय, धितोपत्र व्यवसाय र लगानकिर्तासँग छलफल गर्ने भएका हुन् । छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत पुँजीबजार समितिका सभापति प्रियराज रेग्मी सहभागी हुनेछन् । यस्तै, सेयर लगानीकर्ता तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य अम्बिका प्रसाद पौडेल, नासा सेक्युरिटिजका सन्दीप जलान, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ र नेपाल लाइफ क्यापिटलका फण्ड म्यानेजर नवराज सिलवाल पनि बैठकमा सहभागी हुनेछन् । बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयास तथा समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा सरोकारवालासँग छलफल हुने जनाइएको छ ।
रसुवागढी हाइड्रोपावरको निमित्त सीईओमा पुष्कर अमात्य नियुक्त
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुष्कर अमात्य नियुक्त भएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सत्यराम ज्याख्व साउन १ गतेदेखि नेपाल विद्युत् प्राधिकरणमा काज फिर्ता भएपछि कम्पनीको सञ्चालक समितिले निमित्त सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । साउन २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीद्वारा प्रवर्द्धित रसुवागढी जलविद्युत् आयोजनाका सिभिल निर्माण महाशाखा प्रमुख पुष्कर अमात्यलाई अर्को व्यवस्था नहुँदासम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको कम्पनीले जनाएको छ । अमात्यले अब कम्पनीको प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्व सम्हाल्नेछन् । कम्पनीले स्थायी प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्म उनले निमित्त सीईओका रूपमा जिम्मेवारी निर्वाह गर्नेछन् ।