हिमालयन रिइन्स्योरेन्सको कामु सीईओमा मुकेश कुमार कपूर नियुक्त
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा मुकेश कुमार कपूर नियुक्त भएका छन् । कम्पनीको असार २ गते बसेको सञ्चालक समिति बैठकले नायब प्रमुख कार्यकारी अधिकृत रहेका कपूरलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । यससँगै कम्पनीको कार्यकारी नेतृत्व अब अस्थायी रूपमा कपूरले सम्हाल्ने भएका छन् । कम्पनीले आन्तरिक व्यवस्थापन सुदृढ गर्दै निरन्तरता दिन उक्त निर्णय गरिएको जनाएको छ ।
आज बजेट पारित हुँदै, अर्थमन्त्री वाग्लेसहित मन्त्रीहरुले जवाफ दिने
काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभाले आज आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ । यससँगै आगामी आर्थिक वर्षको बजेटलाई प्रतिनिधिसभाबाट औपचारिक स्वीकृति दिने प्रक्रिया टुंगिनेछ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयसँग सम्बन्धित शीर्षकमा सांसदहरूले उठाएका जिज्ञासा तथा प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । बैठकमा शिक्षा तथा खेलकुद, विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानून, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ, रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकमा छलफलको जवाफ प्रस्तुत गरिनेछ । यसअघि सांसदहरूले दर्ता गराएका खर्च कटौती प्रस्तावहरू सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ। ती प्रस्तावमाथिको निर्णयपछि अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गर्नेछन् । प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएपछि आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्ताव गरेको बजेट कार्यान्वयनको संवैधानिक प्रक्रिया थप अगाडि बढ्नेछ ।
गृहमन्त्रालयमा गृहमन्त्री गुरुङसहितको भीआईपीको बैठक
काठमाडौं । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा विपद् व्यवस्थापन तथा मनसुनजन्य जोखिम न्यूनीकरण सम्बन्धी उच्चस्तरीय बैठक बसेकाे छ। गृह मन्त्रालयमा आयोजित बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पोड्याल लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको छ । बैठकमा देशका विभिन्न क्षेत्रमा भइरहेको वर्षा, बाढी, पहिरो तथा डुबानबाट उत्पन्न जोखिम, सम्भावित विपद्को पूर्वतयारी, खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उपाय तथा सम्बन्धित निकायबीचको समन्वयलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ। साथै मनसुन अवधिमा सुरक्षा निकायको तयारी, आवश्यक जनशक्ति तथा स्रोत–साधन परिचालन, उच्च जोखिममा रहेका क्षेत्रको निरन्तर निगरानी तथा नागरिकको सुरक्षा सुनिश्चित गर्ने विषयमा समेत बैठक केन्द्रित रहेको बताइएको छ। गृहमन्त्री गुरुङले विपद्को समयमा तीनै तहका सरकार, सुरक्षा निकाय तथा सम्बन्धित सबै सरोकारवालाबीच प्रभावकारी समन्वय कायम गरी उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई तीव्रता दिन निर्देशन दिएको बैठकमा छ। बैठकमा विपद् व्यवस्थापनका लागि आवश्यक तयारीलाई थप प्रभावकारी बनाउने, जोखिमयुक्त क्षेत्रको नियमित अनुगमन गर्ने तथा आकस्मिक परिस्थितिको सामना गर्न सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राख्ने विषयमा समेत छलफल भएको छ ।
नेपाल पुनर्बीमाको निमित्त सीईओमा दामोदर भण्डारी नियुक्त
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दामोदर भण्डारी लाई दिएको छ । कम्पनीको असार ३ गते बसेको सञ्चालक समिति बैठकले भण्डारीलाई बुधबारदेखि लागू हुने गरी उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो। यसअघि भण्डारी कम्पनीमा सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । उनको नियुक्तिसँगै कम्पनीको कार्यकारी नेतृत्व अब अस्थायी रूपमा भण्डारीले सम्हाल्ने भएका छन् ।
रास्वपाको सचिवालय बैठक सुरु, प्रथम महाधिवेशनको तयारीबारे छलफल
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय चमतिमा सुरु भएको बैठकबारे सभापति रवि लामिछानेको सचिवालयले जानकारी दिएको हो । सचिवालयका अनुसार बैठकमा आसन्न प्रथम महाधिवेशनको तयारी, व्यवस्थापन तथा अन्य समसामयिक संगठनात्मक विषयमा छलफल भइरहेको छ । बैठकमा सचिवालय सदस्य तथा वरिष्ठ नेताहरूको सहभागिता रहे पनि वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति नरहेको जनाइएको छ । बैठकबाट महाधिवेशन तयारीसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू आउन सक्ने अपेक्षा गरिएको छ ।
बिहीबारको तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३८, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४७ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ५०, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २५ र भन्टा डल्लो प्रतिकिलो रु ३५ कायम भएको छ । समितिका अनुसार बोडी (तने) प्रतिकिलो रु ३५, मकै बोडी प्रतिकिलो रु ६०, मटरकोसा प्रतिकिलो रु १८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १२०, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ५०, परवर (लोकल) प्रतिकिलो रु ५०, परवर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, भिन्डी प्रतिकिलो रु ४०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ । कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु १००, चुकन्दर प्रतिकेजी रु ६०, सजीवन प्रतिकेजी रु २००, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २००, केरा (मालभोग) २२०, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ४२०, आँप (मालदह) प्रतिकिलो रु ९०, आँप (दशहरी) प्रतिकिलो रु १२०, तरबुजा (हरियो) प्रतिकिलो रु ५०, जुनार प्रतिकिलो रु २२०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ९०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ८०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) रु १५०, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु २३०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४०, माछे खुर्सानी प्रतिकिलो रु ६०, अकबरे प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु १३०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २६० निर्धारण भएको छ ।
सालपा विकास बैंकको ८६ हजार बढी कित्ता सेयरको लक-इन सकिँदै
काठमाडौं । सालपा विकास बैंकको सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको सेयरको लक-इन अवधि समाप्त हुने भएको छ । बैंकका अनुसार नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको सेयर सर्वसाधारणमा बाँडफाँड भएको मितिले ६ महिनासम्म लक-इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार ८६ हजार १९४ कित्ता सेयरको लक-इन अवधि असार २४ गतेपछि समाप्त हुने भएको हो । लक-इन अवधि समाप्त भएपछि उक्त सेयर कारोबारका लागि खुला हुने बैंकले जनाएको छ । बैंकको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
अमेरिका-इरानबीच सम्झौता, सैन्य गतिविधि रोक्नेदेखि प्रतिबन्ध फुकुवासम्म
काठमाडौं । अमेरिका र इरानले युद्ध अन्त्य गर्ने प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजिस्कियानले सम्झौतामा हस्ताक्षर गरेको बताइएको छ । फ्रान्सको भर्साइल्स दरबारमा जी-७ सम्मेलनका क्रममा भएको भनिएको हस्ताक्षरपछि अमेरिकी अधिकारीहरूले सम्झौताका मुख्य बुँदाहरू सार्वजनिक गरेका हुन् । यद्यपि दुवै देशले औपचारिक प्रतिलिपि सार्वजनिक गरेका छैनन् । सम्झौताअनुसार तत्काल सैन्य गतिविधि रोक्ने, जलमार्ग खुलाउने, प्रतिबन्ध हटाउने र ६० दिनभित्र दीर्घकालीन सम्झौताका लागि वार्ता अघि बढाउने खाका तय गरिएको छ । सम्झौतामा सबै मोर्चामा युद्ध अन्त्य गर्ने सहमति गरिएको छ । अमेरिका, इरान र उनीहरूका सहयोगीहरूले तत्काल तथा स्थायी रूपमा सैन्य गतिविधि रोक्ने, एकअर्काविरुद्ध बल प्रयोग नगर्ने र एकअर्काको सार्वभौमिकता तथा क्षेत्रीय अखण्डताको सम्मान गर्ने प्रतिबद्धता जनाएका छन् । दुवै पक्षले आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सहमति गरेका छन् भने अधिकतम ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्य राखिएको छ । सम्झौताअनुसार अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने प्रक्रिया सुरु गर्नेछ, जसलाई ३० दिनभित्र पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता छ । त्यस अवधिमा व्यापारिक आवागमन पूर्ववत् स्तरमा फर्काउने लक्ष्य राखिएको छ । इरानले फारसको खाडी र ओमान सागरबीचको हर्मुज जलमार्ग व्यापारिक जहाजका लागि सुरक्षित र खुला राख्ने सहमति जनाएको छ। यो व्यवस्था ६० दिनका लागि लागू हुनेछ । अमेरिकाले इरानको पुनर्निर्माण तथा आर्थिक विकासका लागि करिब ३०० अर्ब अमेरिकी डलरको योजना अघि बढाउने प्रतिबद्धता जनाएको छ । प्रतिबन्ध हटाउने, इरानी तेल निर्यातमा छुट दिने तथा रोक्का सम्पत्ति प्रयोग गर्न दिने विषयमा पनि सहमति भएको छ । सम्झौतामा इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता दोहोर्याएको छ भने हालको अवस्थामा कुनै परिवर्तन नगर्ने सहमति गरिएको छ । अन्तरिम सम्झौताको कार्यान्वयनका आधारमा मात्रै दीर्घकालीन वार्ता अघि बढ्ने उल्लेख छ। कार्यान्वयन अनुगमन गर्न संयुक्त संयन्त्र गठन गरिनेछ । अन्तिम सम्झौतालाई संयुक्त राष्ट्र सुरक्षा परिषद्बाट अनुमोदन गरिने व्यवस्था पनि समावेश गरिएको छ ।