विकासन्युज

अछाम- १ मा एमालेका संस्थापकविरुद्ध एमालेकै उम्मेदवार, कसले मार्ला बाजी ?

काठमाडौं । नेकपा एमालेसँगको करिब ५१ वर्ष लामो राजनीतिक यात्रा टुंग्याएर भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवार बनेसँगै अछाम–१ को चुनावी माहोल असाधारण रूपमा तातेको छ । अछाममा एमालेको राजनीतिक जग बसाल्ने नेताकै रूपमा चिनिएका रावल आज त्यही दलविरुद्ध मैदानमा उत्रिँदा यो निर्वाचन व्यक्ति, विरासत र दलगत रणनीतिको त्रिकोणीय संघर्षमा रूपान्तरित भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अछाम–१ बाट रावलसहित आठ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । अछाम–१ मा नेकपाका भीम रावलले उम्मेदवारी दिएका छन् ।  रमाइलो त के भने जीवन एमालेमा बिताएका रावल पहिलोपटक एमाले विरुद्ध मैदानमा छन् । रावललाई एमालेबाट काउन्टर गर्दैछन् पूर्व माओवादी नेता दीपकबहादुर साउदले । यस्तै, नेपाली कांग्रेसले भरतकुमार स्वाँरलाई उम्मेदवार बनाउदा ओमप्रकाश रावल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मैदानमा उत्रिएका छन् । नेपाल मजदुर किसान पार्टीले सुरेन्द्र शाही र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लोकेन्द्र शाहलाई मैदानमा उतारेका छन् । लोकेन्द्रबहादुर शाही नेकपा माओवादीको उम्मेदवार छन् भने भीमबहादुर कुँवरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ०७९ को निर्वाचनमा भीम रावल उम्मेदवार थिएनन् । उक्त निर्वाचनमा पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै अछाम–१ बाट तत्कालीन नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर मैदानमा थिए । उक्त निर्वाचनमा प्रत्यक्षतर्फ कुँवरले १९ हजार ५३४ मत ल्याएर नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका थिए । उक्त निर्वाचनमा बोहोराले १५ हजार ४५ मत ल्याएका थिए । तेस्रो लोकप्रिय मत स्वतन्त्र उम्मेदवार राजन कुँवरले पाएका थिए । उनले ४ हजार ३९२ मत प्राप्त गरेका थिए । यसपटक भने नेकपाले भीम रावललाई मैदानमा उतारेको छ, जसले समीकरणलाई पूर्णतः नयाँ दिशामा धकेलेको स्थानीय बताउँछन्। राजनीतिक विरासतका हिसाबले रावल बलिया देखिए पनि संगठनात्मक पक्षमा कांग्रेस र एमाले यसपटक भारी देखिन्छन् । स्थानीय मोती विकका अनुसार अछाम १ मा प्रतिस्पर्धा एमाले र कांग्रेसकै बीचमा हुन्छ । यी दुई पार्टीबीच नै प्रतिस्पर्धा हुने आँकलन विकको रहेको छ । गत आमनिर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले १४ हजार ५२५ मत ल्याएर पहिलो स्थान हासिल गरेको थियो । उक्त निर्वाचनमा एमालेले १३ हजार ९३८ मत प्राप्त गरेको थियो । तत्कालीन नेकपा माओवादीले तेस्रो स्थान प्राप्त गर्दा उसले ७ हजार २२८ मत प्राप्त गरेको थियो । रास्वपाले ७८५ मत प्राप्त गरेको थियो । कुल १० पालिका रहेको अछामका निर्वाचन क्षेत्र–१ मा साँफेबगर नगरपालिका, मेल्लेख, चौरपाटी, बान्नीगढी जयगढ र रामारोशन गाउँपालिका समावेश रहेका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसले ४ पालिका प्रमुख जितेको छ भने तत्कालीन माओवादी केन्द्रले १ पालिका प्रमुखमा विजय हासिल गरेको छ । तत्कालीन गठबन्धनमा रहेका कांग्रेस र नेकपा एकीकृत समाजवादीले पूर्ण जित निकाल्दा अछाम १ मा एमाले शून्यको अवस्थामा रहेको छ । ४२ वडामध्ये कांग्रेसले १९, एमाले १३, माओवादी ५, एकीकृत समाजवादी २ र स्वतन्त्रले ३  वडामा जित निकालेका छन् । नेकपा उम्मेदवार रावलले राष्ट्रिय छवि र अछाममा गरेको योगदानका आधारमा जित सहज हुने दाबी गर्छन् । रावल स्वयं मतदाताले आफूलाई निर्वाचित गराउनेमा विश्वस्त देखिन्छन् । कांग्रेस उम्मेदवार भरतकुमार स्वाँर मुख्य प्रतिस्पर्धा एमालेसँग रहेको बताउँछन् ।  एमाले उम्मेदवार दीपक साउद जनाधार, संगठन र नयाँ अनुहार आफ्नो बलियो पक्ष भएको दाबी गर्छन् । रास्वपा उम्मेदवार ओमप्रकाश रावल अछाम–१ मा पनि घण्टी बज्ने दाबी गर्दै भन्छन्, ‘यस पटक जित रास्वपाकै हो ।’ अछाम–१ को चुनाव यसपटक प्रतीकात्मक रूपमा पनि रोचक बनेको छ । एमाले स्थापना गराएका भीम रावल आज तारा बोकेर नेकपाको उम्मेदवारको रूपमा मैदानमा छन् । हिजो एमालेसँग ‘कि तँ छैनस् कि म छैन’ भन्दै भिड्ने माओवादीबाट उदाएका दीपक साउद सूर्य बोकेर एमालेका उम्मेदवार बनेका छन् । २०७० मा रावलसँग सूर्य थियो, साउदसँग हँसिया–हथौडा । अहिले १२ वर्षपछि प्रतीक उल्टिएका छन् । अछाम–१ को मा टक्कर एमाले र कांग्रेसकै हुने स्थानीय विश्लेषक रतन चुँदाराको दावी छ ।

चाबहिल यातायातमा अख्तियारको छापा, प्रमुखसहित २७ जनाको मोबाइल नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल नियन्त्रणमा लिएको छ । यातायात व्यवस्था कार्यालय चाबहिलका कर्मचारीले विचौलियामार्फत सवारीचालक अनुमतिपत्र दिलाउन घुस लिने गरेको उजुरीको आधारमा आयोगले कार्यालयमा छापा मारेको हो । आयोग चाबहिलका प्रमुख पेशलकुमार पोखरेलसमेत २७ जनाको ३७ थान मोबाइल नियन्त्रणमा लिएको हो । त्यस्तै, उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथबाट ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक डोरहरि नेपालसहित तीन जना प्रहरीको मोबाइलमा पनि नियन्त्रणमा लिएको छ ।  उनीहरू यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्रको परीक्षामा खटिएका थिए ।  यस्तै, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिका प्रबन्धक बालकृष्ण सिंहसहित ७ जनाको ९ वटा मोबाइलम पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।  लिखित परीक्षामा फेल भएका व्यक्तिलाई तीन महिना नपुग्दै पुनः लिखित परीक्षामा सहभागी गराएको आरोप अख्तियारको छ । यसबारेमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

करिब १७ लाख रुपैयाँ बराबरको चाँदीजस्तो देखिने सेतो धातुसहित एकजना पक्राउ

काठमाडौं । सेतो चाँदीजस्तो देखिने धातुसहित एक जना व्यक्ति नागढुंगाबाट पक्राउ परेका छन् ।  वीरगञ्जबाट काठमाडौं आउँदै गरेका २५ वर्षीय किसन साहलाई नागढुंगा चेकप्वाइन्टबाट अढाइ किलो चाँदीजस्तो देखिने सेतो धातुसहित पक्राउ परेका हुन् ।  १६ लाख ९० हजार रुपैयाँ बराबरको चाँदीजस्तो देखिने सेतो धातुसहित साहलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए।  मंगलबार बिहान साढे ६ बजे नागढुंगास्थित चेक प्वाइन्टमा म. प्र. ०१-००१ ख ७७२१ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुंगा तथा लागु औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुंगासहितको संयुक्त टोलीले चेकजाँच गर्दा साहको साथमा चाँदीजस्तो देखिने सेतो धातु भेटिएको हो । वीरगञ्ज महानगरपालिका- १६ का साहलाई नियन्त्रणमा लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टेरामक्स प्रकरण : उपकरणको प्राविधिक परीक्षण गर्न अदालतको आदेश, यस्तो छ पूर्णपाठ

काठमाडाैं । विशेष अदालतले टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचार मुद्दामा उपकरणहरूको प्राविधिक परीक्षण गर्न आदेश दिएको छ । पूर्वमन्त्री मोहनबहादुर बस्नेतसमेत प्रतिवादी रहेको उक्त मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतले यस्तो आदेश दिएको हो ।  विशेष अदालत न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।  अदालतले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रणाली र सामग्रीहरू सम्झौता बमोजिम भए/नभएको र त्यसको गुणस्तर जाँच गर्न एक उच्चस्तरीय विज्ञ टोली गठन गरेको छ । जसमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका वरिष्ठ इन्जिनियर (संयोजक), पुल्चोक क्याम्पसकै टेलिकम्युनिकेसन एण्ड इलेक्ट्रोनिक्स विषयका विज्ञ प्राध्यापक सीआईबीका विषय विज्ञ, अख्तियारका टेलिकम्युनिकेसन विज्ञ केशव ज्ञवाली र आपूर्तिकर्ता कम्पनीका प्रतिनिधि छन् । टेरामक्स खरिदका लागि १ अर्ब ११ करोड ६२ लाख ५२ हजार १४३ रूपैयाँ भुक्तानी भई आपूर्तिकर्ताले सामानहरू जडान भइसकेको दाबी गरे पनि ती सामग्रीहरू सम्झौता र मापदण्ड बमोजिम भए/नभएको यकिनका लागि प्राविधिक परीक्षण गर्नुपर्ने अदालतको ठहर छ ।  

युवराज सफल पक्राउ

काठमाडौं । युवराज सफल भनेर चिनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ।  महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्तालाई विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल मार्फत नकारात्मक, अपशब्द र गालीगलौज गरेकाले पौडेललाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए । पौडेलले विभिन्न मुद्दामा रकम लेनदेन गरी फिर्ता लिने कार्य गरेको भनी भिडियो बनाएका र अन्तर्वार्तामा झुटा आरोप लगाएका थिए ।  पौडेललाई कानुन बमोजिम आवश्यक कारबाही गरिदिन महान्यायाधिवक्ताको कार्यालयले प्रहरीलाई अनुरोध गरेको थियो । महान्यायाधिवक्ता कार्यालय र माननीय महान्यायाधिवक्ताको बारेमा तथ्यहीन कुराहरूको भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गरेको देखिएकाले पौडेललाई पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिए ।

न्युयोर्कमा आयोजित ट्राभल शो २०२६ मा नेपालको सहभागिता

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्त राज्य अमेरिकामा नेपालको पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित न्युयोर्कमा आयोजित ट्राभल एन्ड एडभेन्चर शो २०२६ मा सहभागिता जनाएको छ । उक्त अन्तर्राष्ट्रिय पर्यटन मेला २४–२५ जनवरी २०२६ मा न्युयोर्कस्थित जेकब के. जाभिट्स कन्भेन्सन सेन्टर मा सम्पन्न भएको हो । अमेरिका नेपालका लागि महत्वपूर्ण पर्यटन स्रोत बजारमध्ये एक रहँदै आएको छ । सन् २०२५ मा १ लाख १२ हजार ३१६ अमेरिकी पर्यटक नेपाल आगमन गरेसँगै अमेरिका हाल नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजार का रूपमा रहेको छ । यही पृष्ठभूमिमा उत्तर अमेरिकी बजार लक्षित निरन्तर प्रवर्द्धन अभियानअन्तर्गत नेपाल पर्यटन बोर्डले नेपाल पर्वतारोहण एजेन्सी संघ (टान) सँगको सहकार्यमा उक्त मेलामा सहभागिता जनाएको हो । कार्यक्रममा एसियन हेरिटेज ट्रेक्स एन्ड ट्राभल्स, एक्सप्लोर भ्याकेसन, फ्रेन्ड्स एडभेन्चर टिम ट्रेकिङ एन्ड माउन्टेनियरिङ, हिमालयन ग्लेसियर एडभेन्चर एन्ड ट्राभल कम्पनी, नेपाल भिजन ट्रेक्स एन्ड एक्सपेडिसन्स तथा टच कैलाश ट्राभल्स एन्ड टुर्स गरी छ वटा नेपाली पर्यटन कम्पनीहरूले सहभागिता जनाएका थिए । ती कम्पनीहरूले नेपालको साहसिक पर्यटन, पर्वतारोहण, ट्रेकिङ तथा विविध पर्यटन आकर्षणबारे जानकारी प्रस्तुत गरेका थिए । दुई दिने कार्यक्रममा सहभागी अमेरिकी पर्यटन व्यवसायी तथा यात्रुहरूले नेपालको साहसिक पर्यटन उत्पादनप्रति विशेष चासो देखाएका थिए । विशेषगरी पर्वतारोहण र ट्रेकिङ गतिविधिप्रति देखिएको उत्साहले नेपाललाई साहसिक पर्यटन गन्तव्यका रूपमा थप प्रवर्द्धन गर्न सहयोग पुगेको नेपाल पर्यटन बोर्डको विश्वास छ । यस सहभागिताले अमेरिकी पर्यटन व्यवसायीसँग सहकार्य विस्तार गर्नुका साथै ‘डेस्टिनेसन नेपाल’ को पहिचानलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ । कार्यक्रमको पहिलो दिन २४ जनवरी मा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत दधीराम भण्डारी ले नेपालको प्याभिलियन अवलोकन गर्दै सहभागी कम्पनीहरूसँग अन्तरक्रिया गरेका थिए । सो अवसरमा विशेषगरी अमेरिकाको पूर्वी तटीय राज्यहरूमा नेपाल प्रवर्द्धनका सम्भावित सहकार्य क्षेत्रहरूबारे छलफल भएको थियो । नेपाल पर्यटन बोर्डका तर्फबाट उदय भट्टराई र प्रदीप बस्नेतले कार्यक्रममा प्रतिनिधित्व गरेका थिए ।

अस्थायी रूपमा स्वास्थ्य सेवा बन्द गरेका अस्पतालसँग निरन्तर छलफलमा छौं : बीमा बोर्ड

काठमाडौं । स्वास्थ्य बीमा बापतको  दाबी भुक्तानी नपाएपछि अस्थायी रूपमा सेवा बन्द गरेका अस्पतालहरूलाई पुनः सञ्चालनमा ल्याउन निरन्तर पहल भइरहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । बोर्डले मंगलबार (आज) एक अपिल जारी गर्दै सेवा प्रदायक अस्पतालहरूसँग निरन्तर छलफल गरिरहेको जनाएको हो । बोर्डका अनुसार बीमित नागरिकको उपचारमा असर नपरोस् भनेर सेवा बन्द गरिएका अस्पताललाई पुनः सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । केही दिन अघिमात्रै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य बीमा बापतको  दाबी रकम बोर्डले भुक्तानी नगरेको भन्दै सेवा बन्द गरेका थिए । नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न तथा स्वास्थ्य सेवा उपयोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसहित यो कार्यक्रम सञ्चालन हुँदै आएको उल्लेख गरेको छ ।  बोर्डका अनुसार यो कार्यक्रमले स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्तितर्फ नेपाललाई अग्रसर बनाउँदै दिगो विकास लक्ष्य प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेल्ने लक्ष्य लिएको छ ।  स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा अन्य नीतिगत व्यवस्थाहरूले यस कार्यक्रमलाई सामाजिक स्वास्थ्य सुरक्षा प्रणालीको मेरुदण्डका रूपमा परिकल्पना गरेको छ । सीमित स्रोतसाधन तथा केही संरचनागत चुनौतीका बाबजुद पनि कार्यक्रममार्फत दैनिक करिब ५० हजार नागरिकहरूले स्वास्थ्य सेवा प्राप्त गरिरहेको बोर्डले जनाएको  छ । बोर्डका अनुसार दैनिक दैनिक औसत ८ करोड रुपैयाँ बराबरको आम नागरिकको गोजीबाट हुने खर्च जोगिँदै वित्तीय सुरक्षा सुनिश्चित भइरहेको छ । त्यस्तै, बोर्डले स्वास्थ्य बीमाको सही सदुपयोग गर्न नागरिकलाई आग्रह गरेका छन् । बीमा सेवाको दुरुपयोग नगर्न र सेवा प्रदायकहरूले पनि औचित्यका आधारमा मात्र चेकजाँच, ल्याब परीक्षण तथा उपचार  प्रचलित कानुन तथा बोर्डले निर्माण गरेका निर्देशिका, कार्यविधि तथा परिपत्रको कार्यान्वयन गरी स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन निर्वाह गर्न अनुरोध गरेको छ ।

दुर्गा प्रसाईंसँग २ करोड मागेको आरोप लागेका ढाकाकुमार श्रम संस्कृति पार्टीमा प्रवेश

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको आरोप लागेका पूर्व सांसद ढाका कुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । उनी मंगलबार हर्क राई (साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् ।  यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेका श्रेष्ठ आफू स्वास्थ्य मन्त्री बनेपछि सहयोग गर्ने आश्वासनसहित प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भएको थियो । त्यसपछि रास्वपाले उनलाई पार्टीबाट निस्कासन गरेको थियो ।  उनलाई प्रतिबन्धित लागुऔषध बिक्री गरेको अभियोगमा कास्की प्रहरीले पक्राउ गरी कारबाहीसमेत गरेको थियो । यो आरोपका विषयमा भने साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी मौन बसेको छ ।