मधेशका ११ परीक्षा केन्द्रमा एमबीएस परीक्षा स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्काय, परीक्षा नियन्त्रण महाशाखा मधेश प्रदेशका ११ वटा परीक्षा केन्द्रमा सञ्चालन हुने एमबीएस दोस्रो सेमेस्टरको परीक्षा स्थगित गरेको छ । त्यहाँ देखिएको असहज परिस्थतीका कारण परीक्षा स्थगीत गर्नुपरेको जनाएको छ । शुक्रबार सूचना जारी गर्दै आज सञ्चालन हुने मार्केटिङ म्यानेजमेन्ट विषयको परीक्षा ती केन्द्रहरूमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो । महाशाखाका अनुसार स्थगित गरिएको विषयबाहेक अन्य सबै विषयको परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुनेछ । साथै, स्थगित गरिएका परीक्षा केन्द्रबाहेक अन्य सबै केन्द्रमा पनि परीक्षा यथावत् सञ्चालन गरिने जनाइएको छ । स्थगित गरिएका परीक्षा केन्द्रहरूमा रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (जनकपुर), सर्लाही क्याम्पस (मलंगवा), जनज्योति बहुमुखी क्याम्पस (लालबन्दी), सूर्यनारायण सत्यनारायण मोरबैता यादव क्याम्पस (सिरहा) रहेका छन् । यस्तै जेएस मुरारका बहुमुखी क्याम्पस (लहान), श्री महेन्द्रनारायण निधि बहुमुखी क्याम्पस (राजविराज), नेसनल पिपुल कलेज (कञ्चनपुर–८, सप्तरी), जनज्योति बहुमुखी क्याम्पस (चन्द्रनिगाहपुर), गोरीशंकर यादव रौतहट क्याम्पस (गौर), सिमरा कलेज (बारा) र ठाकुरराम बहुमुखी क्याम्पस (वीरगञ्ज) रहेका छन् ।
पाँचबुँदे मागसहित माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनसन जारी
काठमाडौं । विभिन्न पाँचबुँदे माग राख्दै लघुवित्त पीडितहरूले काठमाडौंको माईतीघर मण्डलामा शुरु गरेको सामुहिक आमरण अनसन शुक्रबार पनि जारी रहेको छ । ‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति’को नेतृत्वमा मङ्गलबारदेखि उक्त अनसन शुरु भएको हो । आन्दोलनरत पक्षले वित्तीय शोषणको अन्त्य र सामाजिक न्यायको प्रत्याभुति हुनुपर्ने भन्दै सरकारसमक्ष विभिन्न मागहरू अघि सारेका छन् । उनीहरूले सर्वोच्च अदालतको परमादेश बमोजिम लघुवित्त पीडितका तीनबुँदे असहमतिसहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने मागलाई मुख्य प्राथमिकतामा राखेका छन् । संघर्ष समितिले जारी गरेको मागपत्रमा विद्यमान विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागू गर्नुपर्ने उल्लेख छ । त्यसैगरी, गरिब, मजदुर, सुकुम्बासी र किसानलाई ब्याज छुटसहित निःशुल्क ऋणको व्यवस्था गर्नुपर्ने तथा नागरिकको आवश्यकता र क्षमताका आधारमा रोजगारी एवं उचित पारिश्रमिक सुनिश्चित गर्नुपर्ने माग समेत गरिएको छ । आन्दोलनकारीहरूले निजी बैंक तथा वित्तीय संस्थाहरूको अन्त्य गरी मुलुकमा समाजवादी अर्थ व्यवस्था कायम गर्नुपर्ने दीर्घकालीन माग समेत प्रश्तुत गरेका छन् । आफ्ना मागहरू पूरा नभएसम्म अनसन र आन्दोलनका कार्यक्रमहरूलाई निरन्तरता दिने संघर्ष समितिले जनाएको छ ।
अत्यधिक लो बिडिङ गरेर ठेक्का नलिन महासंघको आग्रह
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना सदस्य निर्माण व्यवसायीहरूलाई अत्यधिक न्यून अङ्क (लोबिडङ) मा बोलपत्र (टेन्डर) पेस नगर्न र आफूले काम सम्पन्न गर्न सक्ने उपयुक्त दररेटमा मात्र बोलपत्र हाल्न निर्देशन दिएको छ । मध्यपूर्वमा जारी युद्धका कारण गत फेब्रुअरी २८ देखि इन्धन, बिटुमिन लगायतका निर्माण सामग्रीहरूमा अप्रत्याशित एवम् अत्यधिक मूल्यवृद्धि भई समग्र पूर्वाधार निर्माण क्षेत्र धराशायी हुने अवस्था बनेको भन्दै महासंघले आफ्ना सदस्यहरूलाई ध्यानाकर्षण गराएको हो । महासंघका महासचिव शिवहरि घिमिरेद्वारा जारी ध्यानाकर्षण पत्रमा प्रचलित ऐन, नियम तथा नेपाल राष्ट्र बैंकको सूचकाङ्क अनुसार व्यवसायीहरूले पाउनुपर्ने मूल्य समायोजन नपाउँदा निर्माण व्यवसायीहरू थप आर्थिक मारमा परेको उल्लेख छ । पत्रमा हाल आह्वान भइरहेका ठेक्काहरू पुरानै जिल्ला दररेटमा इस्टिमेट गरिएको र बजारमा निर्माण सामग्रीहरूसमेत सहज रूपमा उपलब्ध नभएको वर्तमान स्थितिमा न्यून अङ्कमा बोलपत्र पेस गर्दा भविष्यमा गम्भीर आर्थिक जोखिमका साथै कानुनी र प्राविधिक जटिलताहरू आउन सक्ने चेतावनी दिइएको छ । महासंघले निर्माण कार्यलाई समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्नका लागि सम्पूर्ण व्यवसायीहरूलाई आयोजनाको अनिवार्य रूपमा स्थलगत भ्रमण गर्न, बोलपत्र कागजातहरूको गहन अध्ययन गर्न तथा सम्पूर्ण जोखिमको विश्लेषण गरेर मात्रै आफ्नो क्षमता अनुसारको उपयुक्त दररेटमा बोलपत्र पेस गर्न आग्रह गरेको छ ।
साउदीले बनायो १४ देशको सुरक्षा गठबन्धन
काठमाडौं । साउदी अरबले लाल सागरको सुरक्षाका लागि रियादमा १४ देश सम्मिलित नयाँ गठबन्धन गठन गरेको छ । साउदी अरबसहित १३ अन्य देशले संयुक्त वक्तव्यमा हस्ताक्षर गर्दै बाब अल–मन्देब जलडमरूमध्य, लाल सागर र अदनको खाडीको सुरक्षा सुनिश्चित गर्ने उद्देश्य व्यक्त गरेका छन् । इरान समर्थित हूती विद्रोहीहरूले साउदी अरबविरुद्ध समुद्री नाकाबन्दी जारी राखेको र हर्मुज जलडमरूमध्य पहिले नै बन्द रहेको अवस्थामा साउदीले यो कदम चालेको हो । गठबन्धनमा साउदी अरब, कुवेत, बहराइन, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन, यमन, बंगलादेश, नाइजेरिया, सुडान, जिबुटी र सोमालिया सदस्य छन्। गठबन्धनको प्रारम्भिक चार्टरको समीक्षा गर्न रियादमा बैठक आयोजना गरिएको थियो। बैठकमा ४३ देशका सैन्य प्रमुख तथा प्रतिनिधिहरू सहभागी भएका थिए । साथै युरोपेली संघ (ईयू) को प्रतिनिधिमण्डलले पनि प्रत्यक्ष वा भिडियो माध्यमबाट सहभागिता जनाएको थियो । साउदी रक्षा मन्त्रालयका अनुसार साउदी अरब यस गठबन्धनको संस्थापक राष्ट्र हुनेछ र यसको मुख्यालय रियादमा रहनेछ । गठबन्धनको संरचनामा संयुक्त कमाण्ड तथा नेतृत्व प्रणाली, संयुक्त सञ्चालन नियन्त्रण केन्द्र (जेओसीसी) र महासचिवालय रहनेछ । मन्त्रालयले आवश्यक आन्तरिक प्रक्रिया पूरा गर्ने अन्य देशका लागि पनि सदस्यता खुला रहने जनाएको छ । समुद्री आवागमनको स्वतन्त्रताको रक्षा गर्ने, बाब अल–मन्देब हुँदै सञ्चालन हुने अन्तर्राष्ट्रिय व्यापारिक मार्ग र ऊर्जा ढुवानीको सुरक्षा गर्ने, सदस्य राष्ट्रबीच गुप्तचर सूचना आदानप्रदान बढाउने, संयुक्त नौसैनिक अभ्यासमार्फत समन्वय सुदृढ गर्ने लगायतका गठबन्धनको मुख्य उद्देश्यहरू रहेको जनाइएको छ । साउदीका रक्षा मन्त्री राजकुमार खालिद बिन सलमानको अमेरिका भ्रमणपछि यो पहल अघि बढाइएको हो । वाशिङ्टनमा भएको भेटवार्तामा साउदीमाथि हूती विद्रोहीका आक्रमण तथा इरान समर्थित समूहहरूबाट इराक हुँदै हुन सक्ने सम्भावित आक्रमणबारे छलफल भएको थियो । इरान समर्थित हूती विद्रोहीहरूले जुलाई २० देखि साउदी अरबमाथि समुद्री नाकाबन्दी लागू गरेका छन् । त्यसयता उनीहरूले लाल सागरमा साउदीसँग सम्बन्धित जहाजहरूलाई लक्षित गर्दै आक्रमण गरिरहेका छन् । यसको प्रत्युत्तरमा साउदी अरबले यमनको होदेइदाह बन्दरगाहस्थित हूती अड्डाहरूमा हवाई आक्रमण गरेको छ । साउदीका अनुसार ती अड्डाहरू व्यावसायिक जहाजमाथि आक्रमण गर्न प्रयोग हुँदै आएका छन् । साउदी अरबको अर्थतन्त्र ठूलो मात्रामा तेल निर्यातमा निर्भर छ । हूतीहरूको नाकाबन्दीले ऊर्जा निर्यातमा गम्भीर असर पारेको छ, किनभने साउदीको अधिकांश तेल तथा ऊर्जा कारोबार बाब अल–मन्देब जलडमरूमध्य हुँदै हुन्छ । यो समुद्री मार्गबाट विश्व व्यापारको करिब १२ प्रतिशत हिस्सा ओसारपसार हुन्छ। मूल्यका हिसाबले पनि विश्व व्यापारको यति नै हिस्सा लाल सागरको उत्तरी किनारमा रहेको स्वेज नहर हुँदै आवतजावत गर्छ, जहाँ बाब अल–मन्देब जलडमरूमध्य जोडिन्छ । यदि जहाजहरूले यो मार्ग सुरक्षित रूपमा प्रयोग गर्न नसकेमा उनीहरूलाई अफ्रिकाको केप अफ गुड होप हुँदै लामो मार्ग अपनाउनुपर्छ । शिपिङ उद्योगका अनुसार यसले एशिया–युरोपबीच माल ढुवानीमा १० देखि १४ दिनसम्म अतिरिक्त समय लाग्ने र केही मार्गमा ढुवानी खर्च १५ देखि २५ प्रतिशतसम्म बढ्ने गरेको छ । यसैको प्रभावस्वरूप कच्चा तेलको मूल्य पनि बढेर प्रतिव्यारेल ९० अमेरिकी डलर नाघेको छ । (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको सामग्री) अन्य पठनीय सामग्रीहरू : युद्धपछि रित्तिँदै अमेरिकी हतियार, ५८.६ अर्ब डलरको रेकर्ड मिसाइल सम्झौता ‘मोस्ट वान्टेड’ सूचीमा टेलिग्रामका संस्थापक पाभेल डुरोभ साउदीको परमाणु डिलपछि किन चर्चामा आयो पाकिस्तान ?
माइतीघरको डुबान अन्त्य गर्न छुट्टै ढल र पानी निकास प्रणाली बनाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माइतीघरमण्डला क्षेत्रमा वर्षायाममा दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि ढल र आकाशेपानी निकासका लागि छुट्टाछुट्टै पाइप प्रणाली निर्माण गरिने बताएकी छन् । उनले अहिले अधिकांश स्थानमा ढल र वर्षाको पानी एउटै प्रणालीबाट बगाइने भएकाले सामान्यभन्दा बढी वर्षा हुनासाथ निकास प्रणालीले भार धान्न नसक्ने अवस्था सिर्जना भएको बताइन् । त्यस्ता समस्या हटाउन तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि महानगरले पहल गरिरहेको बताउँदै उनले त्यस्ता स्थानमा गुरूयोजना बनाएर काम गर्नुपर्ने आवश्यकता औँल्याइन् । कार्यवाहक उपप्रमुख डङ्गोलले दीर्घकालीन समाधानका लागि ढल र वर्षाको पानी व्यवस्थापनलाई छुट्टाछुट्टै प्रणालीमा रूपान्तरण आवश्यक रहेको बताउँदै सरोकारवाला निकायबीच समन्वय गरी यस्ता पूर्वाधार विकासमा लगानी बढाउनुपर्ने उनको भनाइ छ । सहरीकरणको तीव्र विस्तारसँगै पुरानो ढल प्रणालीले अहिलेको आवश्यकता धान्न नसकेको उल्लेख गर्दै कार्यवाहक प्रमुख डङ्गोलले दीर्घकालीन सोचका साथ आधुनिक वर्षा पानी व्यवस्थापन प्रणाली (स्टर्म वाटर ड्रेनेज) विकास गर्नुपर्नेमा जोड दिइन् । अतिक्रमणका कारण पनि यस्ता समस्या उत्पन्न हुने गरेको उनको तर्क थियो ।
मधेशका नेताहरूसँग प्रधानमन्त्री बालेनले सुरु गरे छलफल
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार जारी छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता छन् । प्रधानमन्त्रीले बिहीबार (हिजो) देशवासीका नाममा पहिलोपटक सम्बोधन गर्दै सुनसरी र सिराहालगायत क्षेत्रमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर चासो व्यक्त गरेका थिए । उनले राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवाससमेत पुगेका थिए । उनले राष्ट्रपति पौडैललाई सुनसरी, सिरहा, जनकपुर लगायत जिल्लामा भइरहेको तनाव र समस्या समाधानका लागि सरकारले गरिरहेको प्रयासबारे ब्रिफिङ गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सुनको मूल्य तोलामा दुई लाख ८५ हजार रुपैयाँ पुग्यो
काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य केही बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा एक हजार रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३६० रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातु चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ३२० रुपैयाँ कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७० र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।
प्रहरी भन्छ– धनुषामा मृत फेला परेका व्यक्ति मन्दिरका पुजारी होइनन्
काठमाडौं । धनुषाको सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा मृत फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको प्रहरीले स्पष्ट पारेको छ । सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा उनी कडेरी पुजारी भएको भन्दै फैलिएको सूचना गलत रहेको भन्दै प्रहरीले आधिकारिक जानकारी सार्वजनिक गरेको हो । मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारीले मृतक अन्दाजी ४० वर्षीय बन्ठु राउत कडेरी मन्दिरका पुजारी नभएको पुष्टि गरे । जिल्ला प्रहरी कार्यालय, धनुषाले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै मृतक पुजारी नभई घुमी–हिँड्ने व्यक्ति रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार मृतक बाहिर कामकाज गर्ने र राति मन्दिरमा आएर सुत्ने गरेका थिए । उनले घटनास्थलमा कुकुरसहितको अनुसन्धान टोली परिचालन गरिएको र घटनाको गहन अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले घटनालाई धर्मसँग जोडेर भ्रम फैलाउन नहुने आग्रह गर्दै यो विशुद्ध आपराधिक घटना भएको जनाएको छ । घटनामा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता पनि प्रहरीले व्यक्त गरेको छ ।