रवि लामिछानेलाई के भएको हो ? सामाजिक सञ्जालमा भेटिएको फोटो वास्तविक होइन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सेलुलाइटिस भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले औषधी सेवन गर्दा पनि सन्चो नभएर सेलुलाइटिस भएको कारणले मंगलबार हाडजोर्नी विभाग अन्तर्गत भर्ना भएको जनाएको छ । लामिछानेलाई गत ५ गते जनकपुरको कार्यक्रममा देब्रे खुट्टामा चोट लागेको तथा औषध‍ी सेवन गर्दा पनि सन्चो भएको थिएन । उनलाई नशाबाट आईभी एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईले जानकारी दिए । लामिछानेको अवस्था सामान्य रहेको र सामाजिक सञ्जालमा भेटिएका फोटोहरू अस्पतालको नरहेको उनले जानकारी दिए । उनका अनुसार सामाजिक सञ्जालमा भाइरल भइरहेको तस्बिर एआईबाट बनाइएको हो । सभापति लामिछाने पछिल्लो समय रास्वापाले अन्तिम पटक मधेसमा गरेको जागरण सभादेखि देखिएका छैनन् । उनले चितवनको २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । गत निर्वाचनमा उनी दुवै पटक सोही क्षेत्रबाट विजयी बनेका थिए । चोटका कारणले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोसमेत गर्न सकेका छैनन् । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह यतिखेर देश दौडाहामा लागिरहेका छन् ।
खल्तीको ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ अभियान सार्वजनिक, प्रत्यक्ष विश्वकप हेर्ने अवसर
काठमाडौं । नेपाली क्रिकेट टोलीले टी–२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशभर क्रिकेटप्रतिको उत्साह चुलिएको छ । यही उत्साहलाई थप उचाइमा पुर्याउने उद्देश्यसहित नेपालको अग्रणी डिजिटल वालेट खल्तीले ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ अभियान सार्वजनिक गरेको छ, जसअन्तर्गत एक भाग्यशाली जोडीले सबै खर्च व्यहोरेर प्रत्यक्ष रङ्गशालामा बसेर विश्वकप हेर्ने अवसर पाउनेछ । क्रिकेट प्रशंसकहरूको सपना वास्तविकतामा बदल्ने लक्ष्यसहित ल्याइएको यो अभियानलाई खल्तीले गेमिफाइड अनुभवका रूपमा प्रस्तुत गरेको छ । खल्ती एपमार्फत मान्य कारोबार गर्दा प्रयोगकर्ताले डिजिटल स्क्र्याच कार्ड प्राप्त गर्नेछन्, जसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ११ खेलाडीमध्ये कुनै एकको कार्ड रहनेछ । बम्पर पुरस्कारको लक्की ड्रमा सहभागी हुन प्रयोगकर्ताले ११ वटै फरक–फरक खेलाडीका कार्ड संकलन गरी सेट पूरा गर्नुपर्नेछ । अभियानमा अन्तिम विजेतामात्र होइन, कार्ड संकलनको प्रत्येक चरणमा आकर्षक पुरस्कारहरू पनि समावेश छन् । २, ५, ७ र ११ वटा युनिक प्लेयर कार्ड संकलन गर्ने प्रयोगकर्ताले प्रोमोकोड प्राप्त गर्नेछन् । यस्तै, ५ वटा युनिक कार्ड संकलन गर्ने प्रयोगकर्तामध्येबाट प्रत्येक १५ दिनमा एक जना भाग्यशाली विजेताले ब्रान्ड न्यू जेडटिई स्मार्टफोन जित्ने अवसर पाउनेछन् । ११ वटै कार्ड पूरा गर्ने प्रयोगकर्ताहरू अन्तिम लक्की ड्रमा सहभागी हुनेछन्, जहाँ एक भाग्यशाली जोडीले पूर्ण प्रायोजित विश्वकप यात्रा जित्नेछ । खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले टी–२० विश्वकपमा नेपालको छनोट सम्पूर्ण नेपालीका लागि गर्वको क्षण भएको उल्लेख गर्दै ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ अभियान सामान्य अफरभन्दा बढी रहेको बताए । प्रयोगकर्तालाई यो ऐतिहासिक यात्राको हिस्सा बनाउने उद्देश्यसहित उनीहरूलाई प्रत्यक्ष रङ्गशालासम्म पुर्याउन पाउँदा खल्ती उत्साहित रहेको उनले बताए । यो अभियान २०८२ साल असोज १३ गतेदेखि कार्तिक ११ गतेसम्म लागू हुनेछ । खल्ती प्रयोगकर्ताले युटिलिटी बिल भुक्तानी, टप–अप तथा अन्य दैनिक कारोबारहरू खल्ती एपमार्फत गरी यस योजनामा सहभागी हुन सक्नेछन् ।
निर्जीवन बीमा कम्पनीहरूको व्यापार १३.३७ प्रतिशतले बढ्यो, कसको व्यापार कस्तो ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस) सम्म २३ अर्ब ६७ करोड रुपैयाँ बराबरको व्यापार गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनीहरूले ६ महिनासम्ममा १४ लाख १९ हजार ५४८ वटा बीमालेख जारी गरेर २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । जुन अघिल्लो आवको यही अवधिको तुलनामा १३.३७ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमा बीमा कम्पनीहरूले १३ लाख ८९ हजार ३१९ वटा बीमालेख जारी गरेर २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । पुस महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले २ लाख ५७ हजार ३५२ बीमालेख जारी गरेर ४ अर्ब १८ करोड ६५ लाख रुपैयाँ आर्जन गरेका छन्। चालु आवको ६ महिनामा अघिल्लो आवको तुलनामा १३ बीमा कम्पनीको व्यापार बढेको छ भने एउटाको घटेको छ । यस अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले व्यापार भित्र्याएको छ भने वृद्धिको हिसाबले हिमालयन एरभेष्ट इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । पुससम्ममा शिखर इन्स्योरेन्सले १ लाख ४७ हजार ६०९ वटा बीमालेख जारी गरेर २ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष पुससम्म कम्पनीले २ अर्ब ५९ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ७.१९ प्रतिशतले बढेको छ । त्यस्तै, दोस्रो धेरै व्यापार भित्र्याउने बीमा कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । सलिकोले समीक्षा अवधिसम्ममा १ लाख ३२ हजार २२ वटा बीमालेख जारी गरेर २ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवका तुलनामा कम्पनीको व्यापार २.३४ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमाा कम्पनीले २ अर्ब ५५ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । तेस्रो धेरै व्यापार भित्र्याउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेकोले पुससम्म २ अर्ब ४९ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीहरूले १ अर्ब ७१ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार ४५.०७ प्रतिशतले बढेको छ । पुससम्ममा सिद्धार्थ प्रिमियर एभरेस्ट इन्स्योरेन्सले २ अर्ब २९ करोड ६५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २ अर्ब १३ करोड रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा चालु आवमा कम्पनीको व्यापार २.७३ प्रतिशलते वृद्धि भएको छ । त्यस्तै, पुससम्ममा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ६ करोड ८० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ८७ करोड ९० लाख रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ८० करोड २८ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५३ करोड २२ रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ५० करोड १३ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ४२ करोड ८३ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब १८ करोड १२ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ९३ करोड ७२ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले ६९ करोड ९३ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ५६ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो आवको तुलनामा चालु आवको पुससम्ममा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १९.०५ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३३.५५ प्रतिशत, नेको इन्स्योरेन्सको ८.२७ प्रतिशत, युनाइटेड अजोडको २७.२९ प्रतिशत, ओरिएन्टल इन्स्योरेन्सको ११.५७ प्रतिशत र सानिमा जीआईसीको १९.७१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ८.०५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ३.६९ प्रतिशत र नेशनल इन्स्योरेन्सको १२.४४ प्रतिशत व्यापार बढ्दा राष्ट्रिय बीमा कम्पनीको २०.३४ प्रतिशतले घटेको छ ।
कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गर्दै २१ माघदेखि विशेष रणनीति लागू गर्ने
काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गर्दै २१ माघदेखि विशेष रणनीति लागू गर्ने भएको छ । निर्वाचन केन्द्रित संगठनात्मक सक्रियता बढाउने उद्देश्यसहित पार्टीले देशव्यापी रूपमा पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारीसहित मैदानमा खटाउने तयारी गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनका अनुसार केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका जिम्मेवारीमा रहेका कांग्रेसका पदाधिकारी र सदस्यहरू २१ माघदेखि २१ फागुनसम्म आ–आफ्नो जिम्मेवारी क्षेत्रमै रहेर संगठन सुदृढीकरण, मतदाता समन्वय र चुनावी तयारीमा सक्रिय रहनेछन् । प्रवक्ता चालिसेका अनुसार स्थानीय तहसम्म संगठनलाई चुस्त बनाउँदै कार्यकर्ता परिचालन, जनसम्पर्क विस्तार र चुनावी सन्देश प्रभावकारी रूपमा प्रवाह गर्नु नै विशेष रणनीतिको मुख्य लक्ष्य हो । यस अभियानलाई कांग्रेसले आगामी निर्वाचनको आधार तय गर्ने निर्णायक चरणका रूपमा लिएको प्रवक्ता चालिसेले जानकारी दिए ।
रमाडा बाइ विन्डहम इटहरी र धरान गल्फ कोर्स संघबीच सहकार्य
इटहरी । पूर्वी नेपालको पहिलो अन्तर्राष्ट्रिय पाँचतारे होटल रमाडा बाइ विन्डहम इटहरी र धरान गल्फ कोर्स संघबीच रणनीतिक आतिथ्य साझेदारी भएको छ । होटलको उद्घाटनको पूर्वसन्ध्यामा सम्पन्न उक्त सहकार्यले प्रिमियम मनोरञ्जन, खेल पर्यटन तथा उच्चस्तरीय आतिथ्य सेवाको विकासमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास लिइएको छ । साझेदारी अन्तर्गत धरान गल्फ कोर्स संघका देशभरका विशिष्ट सदस्य तथा गल्फ खेलाडीहरूले रमाडा बाइ विन्डहम इटहरीका अन्तर्राष्ट्रिय मापदण्डअनुसारका सेवा–सुविधा होटल सञ्चालनपूर्व नै अनुभव गर्न पाउनेछन् । यस पहलले गल्फ पर्यटनको बढ्दो संस्कृतिलाई स्तरीय आतिथ्य सेवासँग जोड्दै पूर्वी नेपाललाई उच्च मूल्यका आन्तरिक तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्य राखेको जनाइएको छ । साझेदारीबारे प्रतिक्रिया दिँदै रमाडा बाइ विन्डहम इटहरीका महाप्रबन्धक अभिमन्यु कायस्थले धरान गल्फ कोर्स संघसँगको सहकार्य दीर्घकालीन दृष्टिकोणको हिस्सा भएको बताए। उनले यस सहकार्यमार्फत गन्तव्यको समग्र आकर्षण वृद्धि गर्दै विश्वस्तरीय आतिथ्य सेवा र स्थानीय सान्दर्भिकतालाई एकीकृत गर्ने प्रयास गरिएको उल्लेख गरे । महेन्द्र राजमार्ग र कोशी राजमार्गको संगमस्थलमा अवस्थित रमाडा बाइ विन्डहम इटहरी विराटनगर विमानस्थलबाट करिब २१ किलोमिटर दूरीमा रहेको छ। होटलमा ८१ आधुनिक कोठा तथा सुइट, स्वीमिङ पुल, वेलनेस सुविधा तथा ‘ग्लोबल अल डे डाइनिङ’, ‘सत्रा लाउन्ज’, ‘पूलसाइड डाइनिङ’ र छतमा अवस्थित ‘शुक्रा बार’ जस्ता विशेष भोजन तथा मनोरञ्जन स्थल रहने जनाइएको छ । विश्वकै ठूला होटल समूहहरूमध्ये एक विन्डहम होटल्स एन्ड रिसोर्ट्स अन्तर्गत सञ्चालनमा आउन लागेको रमाडा बाइ विन्डहम इटहरीले रणनीतिक साझेदारी, सेवा उत्कृष्टता र अन्तर्राष्ट्रिय मापदण्डमार्फत पूर्वी नेपालमा लक्जरी आतिथ्य र गन्तव्य–आधारित पर्यटनको भविष्य निर्धारण गर्ने अपेक्षा गरिएको छ ।
ईयूमा नयाँ इतिहास : इलेक्ट्रिक कारको बिक्रीले पेट्रोल कारलाई पछि पार्यो
काठमाडौं । युरोपेली संघ (ईयू) मा डिसेम्बर महिनामा पूर्ण रूपमा इलेक्ट्रिक कारको बिक्रीले पेट्रोलबाट चल्ने कारको बिक्रीलाई पहिलो पटक उछिनेको छ । मंगलबार सार्वजनिक गरिएको युरोपको अटो उद्योग संगठन एसीईएको तथ्यांकले यो देखाएको हो । यद्यपि, बजारमा हाइब्रिड कारहरूले अझै पनि सबैभन्दा ठूलो हिस्सा कायम राखेका छन् । यस तथ्यांकले ईयू बिस्तारै इलेक्ट्रिक र हाइब्रिड सवारीसाधनतर्फ सर्दै गएको संकेत गर्दछ । यो परिवर्तन त्यस्तो समयमा देखिएको हो, जब नीति–निर्माताहरूले उत्सर्जनसम्बन्धी नियमहरू खुकुलो बनाउने प्रस्ताव गरेका छन्, जसले आन्तरिक दहन इन्जिन (आईसीई) भएका सवारीसाधनलाई अझ केही समय चलिरहन दिनेछ । स्वतन्त्र अटोमोबाइल विश्लेषक माथियास स्मिटका अनुसार पेट्रोल कारको बिक्री घट्नुको एक कारण केही मोडललाई ‘माइल्ड हाइब्रिड’ का रूपमा पुनःवर्गीकरण गर्नु पनि हो । यस्ता गाडीमा अझै पेट्रोल इन्जिन नै हुन्छ र तिनले उत्सर्जन घटाउन सीमित योगदान मात्रै गर्छन् । उनले भने, ‘युरोपभरि आन्तरिक दहन इन्जिन भएका सवारीसाधनलाई पूर्ण इलेक्ट्रिक कारले साँच्चिकै उछिन्न अझै करिब पाँच वर्ष लाग्न सक्छ, तर यो सुरुआत भने अवश्य हो ।’ युरोपेली ईभी बजारको दौड गत महिना ईयूमा दर्ता भएका कारमध्ये २२.६ प्रतिशत पूर्ण इलेक्ट्रिक थिए, जसले २२.५ प्रतिशत हिस्सामा सीमित पेट्रोल कारलाई झिनो अन्तरले पछि पारे । पेट्रोल–इलेक्ट्रिक हाइब्रिड कारहरू (ब्याट्रीबाट केही दूरी मात्र चल्न सक्ने प्लग–इन हाइब्रिडसहित) ४४ प्रतिशत हिस्सा लिएर सबैभन्दा ठूलो समूह बने । दर्ता संख्या नै बिक्रीको सूचक मानिन्छ । बेलायत र नर्वे समेटिएको वृहत्तर युरोपेली बजारमा भने कार बिक्रीले लगातार छैटौं महिना वार्षिक आधारमा वृद्धि दर्ज गरेको छ । चिनियाँ ब्रान्डहरू बीवाईडी, चाङआन र गिलीबाट बढ्दो प्रतिस्पर्धाले युरोपेली बजारको दौड थप चर्किएको छ । यसैबीच फक्सवागन र बीएमडब्ल्यूजस्ता घरेलु उत्पादकहरूले नयाँ इलेक्ट्रिक मोडलहरू सार्वजनिक गरिरहेका छन् । ईयूले डिसेम्बरमा २०३५ पछि दहन इन्जिन कारमाथि लाग्ने प्रतिबन्ध त्याग्ने योजना सार्वजनिक गरेको थियो । चिनियाँ प्रतिस्पर्धा, अमेरिकी आयात कर र ईभी नाफामा बेच्न कठिनाइ झेलिरहेका कार उत्पादकको दबाबपछि यस्तो निर्णय गरिएको हो । तर उद्योग विज्ञहरूका अनुसार इलेक्ट्रिक कारको बजार हिस्सा अझै बढ्दै जाने अपेक्षा गरिएको छ । ई–मोबिलिटी युरोपका महासचिव क्रिस हेरनले युरोपेली ब्रान्डहरूले सस्तो र नयाँ ईभी मोडल ल्याएर आफूलाई अनुकूल बनाइरहेको बताए । साथै विभिन्न देशहरूले नयाँ प्रोत्साहन योजना पनि ल्याइरहेका छन् । उनले भने, ‘उपभोक्ताहरूको चासो देखिन थालेको छ । हामी विश्वस्त छौं कि २०२६ मा युरोपभर ईभी बिक्री अझ बढ्नेछ ।’ डिसेम्बरमा फक्सवागन र स्टेलान्टिसका दर्ता क्रमशः १०.२ प्रतिशत र ४.५ प्रतिशतले बढे भने रेनोल्टका दर्ता २.२ प्रतिशतले घटे । त्यसैगरी, टेस्लाका दर्ता २०.२ प्रतिशतले घट्दा, चिनियाँ कम्पनी बीवाईडीका दर्ता भने २२९.७ प्रतिशतले उकालो लागे । डिसेम्बरमा ईयूको कुल कार बिक्री झन्डै ६ प्रतिशतले वृद्धि एसीईएका अनुसार ईयू, बेलायत र युरोपेली स्वतन्त्र व्यापार संघ (ईएफटीए) मा डिसेम्बर महिनामा कार बिक्री ७.६ प्रतिशतले बढेर १२ लाख पुगेको छ । सन् २०२५ भरि कुल बिक्री २.४ प्रतिशतले बढेर १ करोड ३३ लाख पुगेको छ, जुन पछिल्लो पाँच वर्षकै उच्च स्तर हो, यद्यपि महामारीअघिको स्तरभन्दा अझै कम छ । ईयूभित्र मात्रै डिसेम्बरमा कार बिक्री ५.८ प्रतिशतले बढेर करिब १० लाख पुगेको छ भने वर्षभरि १.८ प्रतिशतले बढेर १ करोड ८ लाख पुगेको छ । डिसेम्बरमा ब्याट्री इलेक्ट्रिक, प्लग–इन हाइब्रिड र हाइब्रिड इलेक्ट्रिक कारको दर्ता क्रमशः ५१ प्रतिशत, ३६.७ प्रतिशत र ५.८ प्रतिशतले बढेको छ । यी तीनै समूह मिलेर ईयूको कुल दर्ताको ६७ प्रतिशत हिस्सा ओगटेका छन्।
सुनको मूल्य तोलाको ३ लाख १८ हजार ८ सय पुग्यो, चाँदी पनि बढेको बढ्यै
काठमाडौं । स्थानीय बजारमा बुधबार पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बुधबार सुनको मूल्य तोलामा ९ बजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँ त्यति नै चाँदीको मोल सात हजार ३०० रुपैयाँ कायम भएको छ । मंगलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० रुपैयाँ त्यति नै चाँदीको मोल छ हजार ८७० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
होटल फरेष्ट इनको वैदेशिक रोजगारी आईपीओ बाँडफाँड, ४० हजारले पाए सेयर
काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्रअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सेयर बिक्री गरिएको थियो । उक्त आईपीओका लागि २०८२ माघ ४ गतेदेखि माघ ८ गतेसम्म ‘मेरो सेयर’ एप्लिकेसनमार्फत सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । निष्काशन अवधिमा कुल ८१ हजार ७९७ आवेदकबाट १२ लाख ९३ हजार ४० कित्ता सेयर खरिदका लागि आवेदन प्राप्त भएको थियो । तीमध्ये सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूले विविध कारण देखाउँदै ६ हजार ६८९ आवेदकबाट प्राप्त १ लाख ४७ हजार २८० कित्ता सेयरका आवेदन रद्द गरेपछि बाँकी ७५ हजार १०८ आवेदकबाट ११ लाख ४५ हजार ७६० कित्ता सेयरका लागि अन्तिम आवेदन स्वीकृत गरिएको थियो । प्राप्त आवेदनमध्ये ९ जना आवेदकले दोहोरो हितग्राही खाता प्रयोग गरी १८ वटा आवेदनमार्फत १९० कित्ता सेयर माग गरेको पाइएपछि ती आवेदनहरू रद्द गरिएको छ । बाँकी ७५ हजार ०९० जना आवेदकमध्ये गोलाप्रथामार्फत ४० हजार आवेदकलाई प्रतिव्यक्ति १० कित्ताका दरले कुल ४ लाख कित्ता सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओको बाँडफाँड नतिजा सीडीएस एन्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित वेबसाइट तथा एनआईसी एशिया क्यापिटल लिमिटेडको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने जनाइएको छ ।