विकासन्युज

साम्प्रदायिक र सामाजिक सद्भाव भड्काउन खोज्ने आठ जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न जिल्लामा सामाजिक तथा साम्प्रदायिक सद्भाव भड्काउन खोज्ने आठ जनालाई पक्राउ गरेको छ । सिरहाबाट पाँच जना र धनुषाबाट तीन जना पक्राउ परेका हुन् । पछिल्लो समयमा सुनसरी र मधेसका जिल्लामा साम्प्रदायिक घटना बढेको छ। सहरका विभिन्न ठाउँमा गएर हो-हल्ला गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ । एक-अर्काप्रति आपत्तिजनक शब्द व्यक्त गर्ने र उक्साउनेलाई प्रहरीले पक्राउ गरिरहेको छ । त्यसैगरी, सामाजिक सञ्जालमा सामाजिक सद्भाव बहकाउको संकेत दिने तथा पोष्ट गर्नेहरूलाई प्रहरीले पक्राउ गर्न थालेको छ । सुनसरी, मोरङ र मधेसका जिल्लामा प्रहरीले त्यस्ता पोष्ट गर्नेलाई कडा कारबाही गर्ने भन्दै नियन्त्रणमा लिन थालेको छ ।

पूर्वमुख्यमन्त्री भट्ट किराना पसलमा व्यस्त

सुदूरपश्चिम  । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका एक विद्यार्थीको आवाज आउँछ । राजनीतिक गफलाई यही रोक्दै साहुजी सामान दिन जानुहुन्छ । ‘हिजोको पनि बाँकी छ, त्यसैमा लेखिदिनूस्,’ ती विद्यार्थीको वाक्य नटुङ्गिँदै साहुजी मुस्कानसहित बोल्नुहुन्छ, ‘ए, लेखिदिने ! हुन्छ ।’ साहुजी अघि उठेकै ठाउँमा फर्किँन लागेको बेला फेरि आवाज आउँछ, ‘सर, केही सामान राख्नु छ ?’  ‘अहिले होइन, दुई/तीन दिनपछि आउनुस् ल !,’ साहुजीले उस्तै मुस्कानसहित उत्तर फर्काउँछन् ।  फेरि अर्को आवाज आउँछ, ‘साहुजी कति बोरा चामल ?’ साहुजीले आफ्नै शैलीमा भन्नुहुन्छ, ‘चार बोरा मोटा, तीन बोरा मसिना !’ पसलमा राखिसकेपछि बिल थमाउँदै चामलवाला भन्छन्, ‘पैसा दिनुस् न, नभए चेक दिए नि हुन्छ !’ ‘चेक त दिने पैसा ?’ ‘दिनु न दिनु !’, साहुजी जवाफ फर्काउँछन्, ‘हुन्छ, तर एक महिनापछि मात्रै साट्न जानु ल ।’ बिहानको समय, धनगढीको एउटा साधारण किराना पसलमा ग्राहकको आवतजावत सुरु भइसकेको छ । ग्राहक आउँछन् । सामान माग्छन् । काउन्टरभित्र बसेका साहुजी सामान तौलिन्छन्, बिल बनाउँछन्, मुस्कुराएर ग्राहकलाई बिदाइ गर्छन् । अलिकति फुर्सद भएमा फेरि राजनीतिक गफ सुरु हुन्छ, तर कुरा टुङ्गिन पाउँदैन । फेरि उही सिलसिला । सामान माग्ने, दिने । एउटा पसलको यो दृश्य र साहुजीको विषय धेरैलाई सामान्य लाग्न सक्छ, तर केही वर्षअघि यही व्यक्ति प्रदेश सरकारको मुख्यमन्त्री थिए । कतै जाँदा अघिपछि सरकारी गाडीको लस्कर । सुरक्षा घेरा । एउटा निर्णयले हजारौँ कर्मचारी र लाखौं नागरिकको जीवन प्रभावित हुने स्थानमा पुगेका व्यक्ति । आज उनको निर्णय ग्राहकको मागमा निर्भर छ । चामलको बोरा उठाउने कि, अण्डा दिने । दाल दिने कि अरु नै । ती व्यक्ति हुन् —सुदूरपश्चिमका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट । नेपालमा अधिकांश नेता र उच्च ओहदामा पुगेका व्यक्तिले विलासी र  वैभवशाली जीवन बाँच्छन् भन्ने भाष्यबीच यी साहुजी अर्थात् पूर्वमुख्यमन्त्री भट्टले एउटा साधारण जिन्दगी बाँचिरहेका छन् । त्यसैले पनि धनगढी उपमहानगरपालिका—४ घरेलु चौकस्थित त्यो ‘न्यू प्रस्थान किराना पसल’ साधारण छैन । ‘राजनीति मेरो लागि सेवा हो, जीवन चलाउने माध्यम होइन,’ पूर्वमुख्यमन्त्री भट्टको यो भनाइ राजनीतिक भाषण मात्रै होइन, जीवनशैली नै बनेको छ ।  मुख्यमन्त्री हुनुअघि उनले राजनीति र खेतीसँगै गर्थे । लामो समय त भारतमा काम गरेर बिताए । भट्ट सङ्घीयता कार्यान्वयनका क्रममा २०७४ सालमा भएको पहिलो प्रदेशसभा निर्वाचनपछि कार्यकारी जिम्मेवारीमा पुगे । त्यसबेला ‘चौकीदार मुख्यमन्त्री’ भनेर चर्चासमेत भएको थियो।      पदबाट बाहिरिएपछि उनले आफ्नो पहिलेकै जीवनतर्फ फर्किएका छन्, अर्थात् श्रम र राजनीतिसँगै गर्ने जीवनतर्फ । ‘कार्यकारी भूमिका निर्वाह गरेपछि तरकारीखेती गर्ने इच्छा थियो, जमिन छैन । भाडामा लिनसक्ने पुँजी भएन । ठूलो व्यापार गर्ने हैसियत थिएन,’ भट्टले भन्नुभयो, ‘अन्ततः एउटा सानो किराना पसलबाट नयाँ सुरुआत गर्ने निर्णय गरेँ । २०८२ वैशाखमा यो पसल सञ्चालन गरेको हुँ ।’  ठूलो लगानी थिएन । अचेल पनि अवस्था त्यही छ—अलिअलि सामान बेच्ने, फेरि किन्ने, फेरि बेच्ने । ‘सानैबाट सुरु गरौं भन्ने सोचबाट रु तीन/चार लाख लगानीमा यो पसल सञ्चालन भएको हो, अहिले पनि ठूलो बनाउन सकिएको छैन । हेरौँ भविष्यमा के के हुन्छ,’ उनी भन्छन् । भट्टको सपना केबल किराना पसल चलाउनु मात्रै होइन, सुदूरपश्चिमका रैथाने अन्न, अर्गानिक उत्पादन र स्थानीय किसानका वस्तुलाई बजारसँग जोड्ने केन्द्र बनाउने हो । लगानीले भने साथ दिएको छैन, तर सपना अझै जीवितै रहेको उनले सुनाए । लगानी नभएकाले व्यवसाय सानै छ । दैनिक हुने कारोबारले केहीले सामान थप्ने र केहीले परिवारका आवश्यकता पूरा गर्ने चक्र चलिरहेको छ । पूर्वमुख्यमन्त्री भट्टको जीवन पनि त्यही चक्रमा छ—सामान्य, तर स्वाभिमानी । सानो व्यापार,  ठूलो सन्देश त्रिलोचन भट्ट २०६४ साल र २०७० सालको संविधानसभा निर्वाचनमा डोटीबाट चुनावमा पराजित भए । विसं २०७४ को निर्वाचनमा भने डोटीको (ख) निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भए । तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट चुनाव जितेका उनी सर्वसम्मत संसदीय दलको नेता र पाँच वर्ष मुख्यमन्त्री भए । नेपाली राजनीतिमा एउटा अनौठो संस्कार छ । एकपटकको नेता सधैंको नेता । कामभन्दा कुरा बढी । अनि अवसर पाएका बेला कमाइहालौं भन्ने सोच । उनले पनि पाँच वर्ष मुख्यमन्त्रीका रुपमा सरकारले दिएको सुविधा उपयोग गरे तर त्यसपछि के गर्ने भनेर कहिल्यै सोचेनन् । पाँच वर्ष महँगो गाडी चढे । राज्यसत्ता के हो भनेर बुझ्नुभयो तर पदमा नहुँदा के गर्ने ? ‘त्यसबारे कहिल्यै सोचिनँ, किनकि मुख्यमन्त्रीबाट हटेपछि मैले बाँच्ने जिन्दगीबारे प्रष्ट थिए । त्यसैले मलाई मुख्यमन्त्रीको सेवासुविधा छुटेपछि पनि कहिल्यै असहज लागेन । अरु नागरिक सरह दिनचर्या चलिरहेको छ,’ पूर्वमुख्यमन्त्री भट्टले भने । आफू विगतदेखि नै काम गरी खाने श्रमजीवी नागरिकको बीचमै रहेकाले सरल जीवनबारे सधैं गौरव रहेको उनी बताउँछन् ।  उनी भन्छन्, ‘मैले नजिकबाट देखे नि । राज्यको जिम्मेवार पदमा गए पनि देशको आर्थिक अवस्था र दिइने सुविधाले सामान्य जीवन बाँच्नेभन्दा धरै चिज गर्न सकिँदैन, चाहे राष्ट्रपति हुनुस्, प्रधानमन्त्री वा मुख्यमन्त्री । तथापि, धेरैले रहरलाग्दो जिन्दगी बाँचिरहेका छन् । त्यसैले पनि अधिकांश नेता आलोचित छन् ।  मेरो प्रष्ट कुरा भनेको नेता होस् या जोसुकैले आफ्नो र परिवारको जीवन चलाउन केही न केही गर्नै पर्छ ।’ भट्टसँग न आफ्नै घर छ न गाडी । आफ्नै जग्गासमेत छैन । ‘गाउँमा रहेको पुर्ख्याैली सम्पत्ति पनि चार दाजुभाइको साझा छ । मेरो व्यक्तिगत केही छैन,’ उनी भन्छन् ।  यो वाक्य नेपाली राजनीतिमा सामान्य सुनिँदैन, किनभने यही देशमा केही महिनाको सत्ताले करोडौंको सम्पत्ति जोडेको चर्चा सामान्य विषय बनिरहेको छ । पूर्वमुख्यमन्त्री भट्ट पनि अचम्म मान्दै भन्नुहुन्छ, ‘केही महिना र वर्ष कार्यकारी पदमा बसेर टन्न सम्पत्ति कमाएका मानिस देख्दा म सोचिरहन्छु—कसरी सम्भव भयो ? यो प्रश्न एक व्यक्ति, नेता वा पार्टी प्रणालीका लागि मात्र नभई सम्पूर्ण सामाजिक तथा राजनीतिक संस्कृतिका लागि पनि हो ।’ उनको बुझाइमा समस्या राजनीतिमा मात्रै होइन, सामाजिक मनोविज्ञानमा पनि छ । ‘जनताले पनि मेरो नेताले पदमा हुँदा जसरी भए पनि आफ्नो काम गरिदेओेस् । नेताले नेताको जस्तो जिन्दगी बाँच्नसक्नुपर्छ नि भन्छन् । इमान, नीति, नियमको कुरा गरेमा तिनैले यस्तो पनि नेता भनेर कुरा काट्छन्,’ भट्टको भोगाइ बोल्छ ।  उनी यहीँ दोहोरो चरित्रको बीचमा आफू उभिएको बताउँछन् । ‘कतिपयले मलाई देखेर बिचरा– पाँच वर्ष मुख्यमन्त्री भयो, अहिले पसल चलाइरहेको छ । आफ्नै लागि केही गरेको रहेनछन् अनि कसरी अरूको लागि गर्थे भनेर कुरा काट्छन्,’ पूर्वमुख्यमन्त्री भट्ट यस्तो प्रवृत्तिप्रति खिन्नता प्रकट गर्छन् ।  उनी आफूलाई कहिल्यै पनि बिचरा मान्नुहुन्न । बरु समाजलाई एउटा प्रश्न सोध्छन्, ‘बिचरा जीवन भनेको आखिर के हो ?’ उनको उत्तर सरल छ ।  ‘इमानले बाँचेको जीवन नै महान् हुन्छ । त्यसैले म अहिले बाँचेको जीवनमै खुसी छु । कार्यकारी पदमा हुँदा पनि राजनीतिक रूपमा कसैले टिकाटिप्पणी गर्नेबाहेक मेरो आर्थिक चरित्रमाथि कसैले प्रश्न उठाउन सकेनन् । यही नै मेरो सबैभन्दा ठूलो पुँजी हो,’ पूर्वमुख्यमन्त्री भट्ट प्रसन्नता प्रकट गर्छन् । हुन त उनलाई राजनीतिले अर्को पाठ पनि नसिकाएको होइन, आर्थिक रूपमा कमजोर राजनीतिज्ञको वरिपरि धेरै भीड हुँदैन, किनकी हाम्रो राजनीतिक संस्कृतिमा शक्ति र स्रोतलाई नै प्रभावको मापन मान्ने प्रवृत्ति अझै बलियो छ।  तथापि, भट्ट त्यसलाई स्वीकार्दैनन् । उनी भन्छन्, ‘राजनीति सिद्धान्त, निष्ठा, इमान र जनविश्वासले टिक्नुपर्छ । यद्यपि, त्यो विश्वासलाई हामीले जोगाउन सकिरहेका छैनौं ।’ उनको परिवारमा छ जना छन् । श्रीमती, दुई छोरी, एक छोरा र बुहारी । सबैले पसलमा हात बाँड्छन् । व्यवसाय ठूलो छैन, तर श्रम साझा छ । आम्दानी थोरै छ, तर इमानको मूल्य धेरै छ ।  ‘इमान्दारीको रोटी सबैभन्दा मिठो हुन्छ । त्यो कुरा मेरो परिवारले पनि बुझेको छ । गत भदौको ‘जेनजी’ आन्दोलनले थप बुझाएको छ,’ भट्ट भन्छन्, ‘त्यसताका परिवारमा कुरा चलेको थियो, इमानमाथि प्रश्न बाँकी राखेर बनाइएका घर त जल्दा रहेछन्, हामीले त्यसरी बनाएको भए पनि आखिर जलिहाल्दो त रहेछ ।’ एउटा सानो किराना पसल, तर त्यो पसलमा बेचिने सामानसँगै एउटा महत्त्वपूर्ण सन्देश पनि छ—सत्तापछि पनि जिन्दगी हुन्छ, तर त्यो इमानमा टिक्न सक्नुपर्छ । आजको हरेक नेतृत्वले यो सन्देश प्रवाह गर्न आवश्यक रहेको भट्टको कथन छ ।  ‘किनकी लोकतन्त्रलाई जीवन्त बनाउने र नेताको कद ठूलो बनाउने कुर्सीले होइन, कुर्सीमा छँदा उसले गरेको कर्म र कुर्सी छोडेपछि उसले बाँचेको जीवनले हो । मेरो प्रयत्न त्यसैका लागि हुनेछ,’ उनले भने । राजनीतिका कुरा देशमा राजनीतिक उथलपुथलको अवस्था छ । गत फागुनको निर्वाचनबाट पुराना राजनीतिक दलको अस्थित्वमाथि नै प्रश्न उठेको छ । तथापि, तीनै दलहरुले आफ्नो अस्थित्व भएको ठाउँमा सरकार फेरिइरहने र गठबन्धन बदलिइरहने प्रवृत्ति छोडेका छैनन् । यस्तो प्रवृत्तिबाट उनी खिन्न छन् । इतिहास बोकेका पार्टीले समयको वेग र आफ्नो राजनीतिक धरातल बिर्सिएमा पार्टी मात्र नभई सङ्घीय व्यवस्थाकै भविष्यमाथि चुनौती थपिनेमा सचेत हुनुपर्ने पूर्वमुख्यमन्त्री भट्टको सुझाव छ । ‘तपाईं हामी कुरा गरिरहेको बेला सुदूरपश्चिम प्रदेश बजेट शून्यताको अवस्थामा छ । पहिलो कार्यकालमा हामीले सबै चुनौतीको सामना गर्दै एउटा थिति बसालेर सत्ता हस्तान्तरण गरेका थियौँ । त्यसैले दोस्रो कार्यकालको सहज अवस्थामा पनि अपेक्षित काम भएका छैनन् । यो दल र व्यवस्थाकै लागि विडम्बनाको विषय हो,’ पूर्वमुख्यमन्त्री भट्टले भने ।  उनी नयाँ राजनीतिक दलले सकारात्मक ऊर्जा र उत्साह दिन नसके नेपाली राजनीतिको भविष्य नै सङ्कटमा पर्ने बताउँछन् ।  ‘वर्षौंवर्ष त्याग, सिद्धान्त र निष्ठाको जीवन बाँचेका नेताहरु कालान्तरमा बदनाम भए ।  पछिल्लो समय त सजिलै राजनीतिमा आएका नेताहरु छन्, उनीहरु चाँडै त्यसो नहोलान् भन्न सकिन्न । त्यसैले नेपाल र नेपालीको सुन्दर भविष्यका लागि पनि सबै स्वार्थ छोडेर नयाँ पुराना सबै सचेत हुनुपर्ने आवश्यकता छ,’ नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिमका सहइन्चार्जसमेत रहेका भट्ट भन्छन् । उनीमात्रै होइन, नेपालको राजनीतिमा यस्तै अरु व्यक्तिका कथा पनि छन्, तर ती अल्पमतमा छन् । त्यसैले धनगढीको त्यो सानो किराना पसल अचेल केबल व्यापार गर्ने ठाउँ मात्रै होइन, एउटा महत्वपूर्ण सन्देश दिने ठाउँ बनिरहेको छ । नेता कार्यकर्ताका जीवन, उठनबसन, तडकभडकलगायत कुराले थुप्रिएको आक्रोश विस्फोट हुने क्रम बढेकाले अब हरेक अगुवाले इमानको जीवन बाँच्नुपर्ने र त्यो सन्देश सही ढङ्गले प्रवाह गर्नुपर्ने पूर्वमुख्यमन्त्री भट्टको भनाइ छ ।       ‘सत्ता, शक्ति र सम्पत्तिका लागि जे पनि गर्ने मनोवृत्तिबाट राजनीति र शक्ति तथा पहुँचका भरमा आफ्नो काम जसरी पनि गराउनुपर्छ भन्ने आमप्रवृत्ति बदल्नै पर्छ । तब मात्रै हामीले सोचेको देश र समाज बन्छ,’ उनी भन्छन् ।

सन् २०२५ मा ७४८ जनाले चढे सगरमाथा

काठमाडौं ।  सन् २०२५ को आरोहण ७४८ जना आरोहीहरूले सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागले शुक्रबार (आज) सार्वजनिक गरेको माउन्टेरिङ इन नेपाल फ्याक्टस एण्ड फिगर्स २०२६’ अनुसार ४६४ जना नेपाली र २८४ जना विदेशी नागरिकले सगरमाथाको सफल आरोहण गरेका हुन् । तथ्यांकअनुसार सगरमाथा आरोहण गर्नेहरूमा ६८ जना महिलाहरू रहेका छन् । हालसम्म सगरमाथा चुम्ने कुल आरोहीहरूको सङ्ख्या ९ हजार ८२५ पुगेको छ ।   प्रतिवेदन अनुसार सगरमाथा आरोहणका लागि विभिन्न ४२ वटा देशका नागरिकहरू नेपाल आएका थिए । विदेशी नागरिकतातर्फ सबैभन्दा बढी भारतका ६१ जना रहेका छन् । त्यस्तै, अमेरिकाका ४७ जना, चीनका ५२ जना, बेलायतका १९ जना, रुसका १६ जना युक्रेनका ८ जनाले सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन् । युक्रेनबाट ८ जना, जापानबाट ७ जना, फ्रान्सबाट ४ जनाले सगरमाथामा पाइला टेकेका छन् । त्यस्तै, अर्जेटिना, अस्ट्रेलिया, क्यानडाबाट ४ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । 

पार्किन्सन रोगबाट प्रभावित बीमितलाई रिलायबल नेपाल लाइफको ५० लाख दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा अन्तर्गत एक बीमितलाई ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार बीमित हरि प्रसाद काफ्लेले २०७६ सालमा काठमाडौं शाखामार्फत ‘रिलायबल सुलभ जीवन बीमा’ योजनाअन्तर्गत २० वर्ष अवधिको १ करोड रुपैयाँ बीमाङ्कको जीवन बीमा गरेका थिए । उक्त योजनासँगै उनले पूर्ण अशक्तता सुविधा अन्तर्गत ५० लाख रुपैयाँ बराबरको अतिरिक्त सुरक्षा सुविधा पनि लिएका थिए । पछि काफ्लेलाई पार्किन्सन रोग देखिएको र उनको अवस्था पूर्ण अशक्तता सुविधा प्राप्त गर्ने मापदण्डअनुसार रहेको पुष्टि भएपछि कम्पनीले ५० लाख रुपैयाँ दाबी रकम भुक्तानी गरेको जनाएको छ । कम्पनीका अनुसार उक्त दाबी भुक्तानीसँगै काफ्लेले ५० लाख रुपैयाँ बराबरको बीमा शुल्क (प्रिमियम) छुट सुविधा पनि प्राप्त गरेका छन् । रिलायबल नेपाल लाइफले छिटो, पारदर्शी र विश्वासयोग्य दाबी भुक्तानी सेवामार्फत आफ्ना बीमितप्रतिको दायित्व पूरा गर्दै आएको जनाएको छ । भविष्यमा पनि ग्राहक तथा उनीहरूका परिवारलाई आवश्यक परेको कठिन परिस्थितिमा भरपर्दो आर्थिक सुरक्षा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले दोहोर्‍याएको छ ।

अम्बे-कोशी सहकारीका २ ऋणीको जग्गा बिक्रीमा, कट्ठाको साढे ११ लाख रुपैयाँ

\काठमाडौं । समस्याग्रस्त सहकारी संस्थाबाट बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया अघि बढाइरहेको कोशी प्रदेश सरकारले अब ऋणीको धितो सम्पत्ति लिलाम बिक्रीलाई तीव्र बनाएको छ । समस्याग्रस्त घोषित अम्बे-कोशी बचत तथा ऋण सहकारी संस्थाका दुई ऋणीको नाममा रहेको घरजग्गा लिलाम बिक्रीमा राखेको हो । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय विराटनगरले ऋणको साँवा-ब्याज नतिरेका ऋणीहरूको धितो सम्पत्ति बिक्री गरेर बचतकर्ताको रकम असुली प्रक्रिया अघि बढाएको हो ।  कार्यालयले चन्द्रमाया दाहालको नाममा रहेको सुनसरीको बराहक्षेत्र नगरपालिका-९ख भरौलस्थित १९ धुर जग्गा बिक्रीमा राखेको छ । उक्त जग्गा बिक्रीबाट करिब १९ लाख ६३ हजार रुपैयाँ बराबरको बक्यौता असुल गर्ने लक्ष्य राखिएको छ । यस्तै, टंकप्रसाद पौडेलको नाममा रहेको मोरङको सुन्दरहरैँचा नगरपालिका-३ग स्थित एक बिघा जग्गा पनि लिलाममा राखिएको छ । त्यस सम्पत्तिबाट ११ लाख ५७ हजार रुपैयाँ बराबरको बक्यौता उठाउने समितिको तयारी छ । समितिका अनुसार अम्बे-कोशी सहकारीलाई प्रदेश सहकारी ऐन, २०७६ अनुसार समस्याग्रस्त घोषणा गरिएको हो । त्यसपछि सम्बन्धित ऋणीलाई ३५ दिने र २१ दिने गरी पटक-पटक सार्वजनिक सूचना जारी गरेर ऋण चुक्ता गर्न आग्रह गरिएको थियो । तर, त्यस अवधिमा पनि ऋणी सम्पर्कमा नआएपछि अन्तिम विकल्पका रूपमा धितो सम्पत्ति लिलाम प्रक्रिया अघि बढाइएको जनाएको छ । समितिले इच्छुक व्यक्ति, संस्था तथा कम्पनीलाई ३५ दिनभित्र २ हजार रुपैयाँ तिरेर बोलपत्र फाराम खरिद गरी पेश गर्नुपर्नेछ । लिलाममा सहभागी हुनेले आफूले कबुल गरेको रकमको १० प्रतिशत धरौटी अग्रिम जम्मा गर्नुपर्नेछ ।   

सेयर बजारमा सुधार, नेप्से २६८५ बिन्दुमा

काठमाडौं । शुक्रबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.९६ अंकले बढेर २६८५ बिन्दुमा पुगेकाे हो । नेप्सेका अनुसार १७८ कम्पनीको सेयर मूल्य बढ्दा ८५ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । शुक्रबार ३३७ कम्पनीको ८८ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिडि पावर कम्पनीको भएको छ । रिडिको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै ग्लोबल आइएमई बैंकको १५ करोड, सेन्ट्रल फाइनान्सको १४ करोड, रिलाइन्स स्पिीनिङको ११ करोड र कर्पोरेट डेभलपमेन्ट बैंकको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । एभरेष्ट कलरको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ ।  

एआइजीसिहत प्रहरीका उच्च अधिकारी कोशी र मधेसका जिल्लामा खटिए

काठमाडौं । प्रहरी प्रधान कार्यालयले तराई- मधेसका जिल्लामा प्रहरीका उच्च अधिकारीलाई फिल्डमा खटाएको छ ।  चार जना एआईजीसहित उच्च प्रहरी अधिकारीलाई फिल्डमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हालको विकसित घटनाक्रमको सुरक्षा व्यवस्थापनको लागि प्रहरी जनशक्ति तथा स्रोत साधन परिचालनको प्रभावकारीता मूल्या‌ङ्कन, नीति निर्देशन, सुरक्षा योजनाको कार्यान्वयन, सूचना संकलन तथा विश्लेषण गर्न जिम्मेवारी तोकिएको प्रधान कार्यालयले जनाएको छ । उनीहरुले आवश्यकता अनुसार प्रहरी महानिरीक्षक समक्ष जाहेर गर्ने गरी निम्न प्रहरी अधिकृतहरुलाई खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धीविक्रम शाह बाँके, प्रहरी अतिरिक्त महानिरीक्षक हिमालय कुमार श्रेष्ठ मधेस प्रदेश, प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदी कपिलवस्तु, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वबाबु कार्की कोसी र सुनसरी खटाइएको छ । त्यसैगरी प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य सिरहा, प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्ले सप्तरी खटाइएको छ । प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराई सर्लाही, प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौर पर्सा, प्रहरी वरिष्ठ उपरीक्षक दीप शमशेर जबरा रौतक,  प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद पंगेनी महोत्तरी, प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटी बारा, प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँल मोरङ, प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारी धनुषा र प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंह मधेस खटाइएको प्रधान कार्यालयले जनाएको छ ।

तराईको तनावबारे प्रधानमन्त्री सक्रिय, मधेसी नेताले भने– छलफल सकारात्मक

काठमाडौं । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको छलफल  सकारात्मक भएको बताएका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रधानमन्त्री शाहसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरूले यसप्रकारको पहलले समस्या समाधानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनीहरूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएका समस्या समाधानका लागि आफूहरूले सुझाव दिएको र उक्त समस्या समस्यामा प्रधानमन्त्री संवेदनशील र प्रतिबद्ध भएको आफूले पाएको बताए । छलफलपछि जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले भने, 'प्रधानमन्त्रीज्यूले पहिलो पटक मधेश केन्द्रित राजनीतिक दलसँग छलफल गर्नुभएको हो, छलफल धेरै नै सकारात्मक कदम भएको हाम्रो निष्कर्ष छ, हामीले पनि तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि सुझाव दिएका छौँ ।' अध्यक्ष राउतले आफूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएका समस्या नयाँ नभएको उल्लेख गर्दै यसको दीर्घकालीन समस्या समाधानका लागि प्रधानमन्त्रीलाई आग्रह गरिएको बताए । उनले भने, 'अहिले देखिएको समस्या नयाँ होइन, समस्या समाधानका लागि र्‍यापिड एक्सन टिम गठन गर्नका लागि सुझाव दिएका छौँ, त्यसबाहेक नियमित ब्रिफिङ, सुरक्षा जनशक्तिको क्षमता अभिवृद्धी तथा समुदायस्तरमा नियमनका लागि पनि आग्रह गरेका छौँ ।' मुस्लिम आयोगका संस्थापक अध्यक्ष समिर मियाँ अन्सारीले व्यक्तिगत झगडा साम्प्रदायिक तहसम्म पुग्नु मुलुकका लागि घातक भएको उल्लेख गरे । उनले भने, 'यस विषयमा प्रधानमन्त्रीज्यूसँग घनिभूत छलफल भयो, घटनाका दोषीलाई कारबाही गर्न र अवस्था सामान्य पार्नका लागि हामीले केही सुझाव दिएका छौँ ।' राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतका सरकारले मधेससँग गरेका सम्झौता कार्यान्वयन गर्न पनि सुझाव दिएको बताए । उनले मधेसमा देखिएको समस्या समाधानका लागि सरकारको सक्रियता अझ बढाउन पनि प्रधानमन्त्रीसँग आग्रह गरेको उल्लेख गरे । सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न र समयमै समस्या समाधानका लागि आग्रह गरिएको बताए । छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी रहेका थिए ।