विकासन्युज

लियो डिस्ट्रिक्ट ३२५ जे नेपालको क्लब अफिसर्स स्कुलिङ, १५६ भन्दा बढीको सहभागिता

काठमाडौं । लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालद्वारा आयोजित तथा काठमाडौंस्थित सम्पूर्ण लियो क्लबहरूको संयुक्त आतिथ्यमा ‘क्लब अफिसर्स स्कुलिङ’ कार्यक्रम शनिबार बसुन्धारास्थित साउथवेस्टर्न स्टेट कलेजमा सम्पन्न भएको छ । कार्यक्रम लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालका डिस्ट्रिक्ट भाइस डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो माधव तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।  कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपालका फस्र्ट भाइस डिस्ट्रिक्ट गभर्नर लायन कुश प्रसाद मल्लीले सेवामूलक नेतृत्व, अनुशासन, सहकार्य तथा उत्तरदायी कार्यशैलीमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन लियो सदस्यहरूलाई प्रेरित गरे ।  प्रमुख प्रशिक्षक लायन आर.बी. अधिकारीले प्रभावशाली तथा प्रेरणादायी प्रशिक्षण सत्र सञ्चालन गर्दै सहभागीहरूलाई नेतृत्व विकास, व्यक्तिगत क्षमता अभिवृद्धि तथा सेवामूलक जीवनप्रति उत्प्रेरित गरे ।  कार्यक्रममा डिस्ट्रिक्ट ३२५ जे नेपालका सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर लायन कृष्ण प्रसाद शर्मा, लायन सुमित्रा खड्का, साउथवेस्टर्न स्टेट कलेजका एसोसिएट चिफ डा. हरि सिंह केसी, राजेन्द्र लामिछाने, कलश स्टक मार्केटका प्रतिनिधि सालिक अधिकारी, ग्रेस इन्टरनेशनल, गिफ्ट्स हेभेनका प्रतिनिधिहरू तथा डिस्ट्रिक्ट एड्भाइजरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।  कार्यक्रमको प्रारम्भ लियो बन्दना भट्टराई र लियो मोनिका भट्टराईद्वारा प्रस्तुत आकर्षक स्वागत नृत्यबाट भएको थियो भने डिस्ट्रिक्ट ट्रेजरर लियो बिनिता बोगटीले स्वागत मन्तव्य व्यक्त गर्दै सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई स्वागत गरेका थिए । कार्यक्रमको संयोजन लियो प्रतीक्षा पहाडीले गरेका थिए भने सञ्चालन ट्रेनिङ पुल सेक्रेटरी लियो गणेश पाण्डेले गरेका थिए । कार्यक्रममा विभिन्न लियो क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव, सह-सचिव, कोषाध्यक्ष, बोर्ड तथा समिति सदस्य एवं साधारण सदस्य गरी १५६ भन्दा बढी लियो नेतृत्वकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।  कार्यक्रमअन्तर्गत पदअनुसार छुट्टाछुट्टै प्रशिक्षण सञ्चालन गरिएको थियो । डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो आशीष थापाले अध्यक्ष, उपाध्यक्ष तथा मेम्बरसिप ग्रोथ चेयरपर्सनहरूलाई प्रशिक्षण दिएका थिए । डिस्ट्रिक्ट एड्भाइजर लियो-लायन विशाल रिजालले सचिव तथा सह-सचिवहरूलाई, डिस्ट्रिक्ट एड्भाइजर लियो–लायन निरञ्जन डंगोलले कोषाध्यक्षहरूलाई, डिस्ट्रिक्ट एड्भाइजर लियो सबिन भट्टराईले टेमर, टेल ट्विस्टर तथा पब्लिक रिलेसन अफिसरहरूलाई प्रशिक्षण दिएका थिए । त्यसैगरी, इमिडियट पास्ट डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो बालकृष्ण परियारले डिस्ट्रिक्ट बोर्ड सदस्यहरूलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो भने डिस्ट्रिक्ट डाइरेक्टर लियो सुदीप राज फुयाँल र डिस्ट्रिक्ट भाइस डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो माधव तिमिल्सिनाले अन्य बोर्ड तथा समिति सदस्यहरूलाई प्रशिक्षण दिएका थिए । साथै, नयाँ तथा साधारण सदस्यहरूका लागि लायनवाद, नेतृत्व विकास तथा संगठनात्मक जिम्मेवारीसम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।  कार्यक्रमलाई थप सभ्य, अनुशासित तथा व्यवस्थित बनाउन लियो सोनु प्रसाद यादवले टेल ट्विस्टरको भूमिका निर्वाह गरेका थिए । कार्यक्रमका अवसरमा उत्कृष्ट सहभागिता तथा अनुशासन प्रदर्शन गर्ने क्लब र व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो । फस्र्ट रजिस्ट्रेसन अवार्ड लियो सुदर्शन श्रेष्ठले प्राप्त गरेका थिए । फस्र्ट फाइभ रजिस्ट्रेसन अवार्ड लियो क्लब अफ काठमाडौं यङस्टारलाई प्रदान गरिएको थियो भने हाइएस्ट पार्टिसिपेसन अवार्ड लियो क्लब अफ काठमाडौं सहयात्रीले प्राप्त गरेको थियो ।  त्यसैगरी, मोस्ट पार्टिसिपेसन फ्रम रिजन अवार्ड रिजन बुढानीलकण्ठलाई तथा मोस्ट फिमेल पार्टिसिपेसन फ्रम क्लब अवार्ड लियो क्लब अफ काठमाडौं सहयात्रीलाई प्रदान गरिएको थियो ।  लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालका डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो आशीष थापाको लायोनिस्टिक वर्ष २०२६/२७ को वार्षिक मूल मन्त्र “कर्मसहितको नेतृत्व” लाई आत्मसात् गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले नवनिर्वाचित तथा वर्तमान क्लब पदाधिकारीहरूलाई प्रभावकारी नेतृत्व, संगठन सञ्चालन तथा जिम्मेवारी निर्वाहका लागि आवश्यक ज्ञान, सीप तथा प्रेरणा प्रदान गरेको जिल्ला प्रवक्ता लियो डा. जनक राज बडूले जानकारी दिए । कार्यक्रम सफल बनाउन योगदान पु¥याउने आयोजक समिति, प्रशिक्षक, अतिथि, सहयोगी संस्था, प्रायोजक, स्वयंसेवक तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वहरूप्रति लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालले हार्दिक आभार व्यक्त गरेको छ ।

रास्वपा सभापति लामिछाने भन्छन्- ‘सरकारको निर्णयले ठूलो क्षति भए रातारात परिवर्तन गर्न सकिन्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले गरेका निर्णयहरू अकाट्य नहुने स्पष्ट पार्दै जनतालाई ठूलो क्षति पुग्ने देखिएमा त्यस्ता निर्णयहरू रातारात परिवर्तन गर्न सकिने बताएका छन् ।  शनिबार रौतहटका पार्टी नेता तथा कार्यकर्ताहरूसँगको भेटघाटमा सभापति लामिछानेले सरकारको नियत सफा भए पनि कहिलेकाहीँ व्यवहारमा उतार्दा समस्या आउन सक्ने र त्यस्ता कमजोरीलाई सच्याउन सकिने धारणा राखेका हुन् ।  रौतहटका अगुवाहरूले सरकारले सीमा क्षेत्रमा तोकेको सय रुपैयाँको सीमा र अन्य कदमका कारण स्थानीयको जनजीवन कष्टकर बनेको गुनासो गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।  कार्यकर्ताको गुनासो सुनेपछि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को बचाउ समेत गरे । सरकारको नियत खराब नभएको जिकिर गर्दै उनले भने, ’सरकारका निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसमा करेक्सन गर्न सकिन्छ । तर नियत खराब भयो भने करेक्सन गर्न गाह्रो हुन्छ । जसका लागि लाभ होस् भनेर निर्णय गरिएको हो, उसैलाई हानी भएछ भने निर्णय परिवर्तन हुन्छ, त्यसमा चिन्ता गर्नु पर्दैन ।’ नेतृत्वले एउटा उद्देश्यका साथ निर्णय गरे पनि कार्यान्वयनका क्रममा चुनौती आउँदा ’सबै खत्तम भयो’ भन्ने भाष्य सिर्जना हुने गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । किसान, मजदुर र गरिब विपन्न वर्गलाई अप्ठ्यारो पार्ने खालका कुनै पनि नीतिहरू कालान्तरमा परिवर्तन हुने भन्दै उनले केही समय धैर्य गर्न सर्वसाधारणलाई आग्रह गरे ।

उपत्यकाका भित्रिने र बाहिरिने नाकामा उच्च सतर्कता अपनाउन चालक र यात्रुलाई प्रशासनको आग्रह

काठमाडौं ।  काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय  बाढीपहिरो, डुवानको जोखिम बढेको जनाउँदै काठमाडौं उपत्यकाको यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले यहाँ आज र भोलि अति भारी वर्षाको सम्भावना रहेको सूचनालाई आधार मानेर  काठमाडौं उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश तथा निर्गमन मार्ग प्रयोग गर्ने सार्वजनिक तथा निजी सवारीसाधनका चालक, सहचालक तथा यात्रुलाई सावधानी अपनाउन अनुरोध गरेको हो । सकेसम्म राति यात्रा नगर्न, अत्यावश्यक भएमा मौसमी विवरणमा आफूलाई अद्यावधिक गर्न र सडकको अवस्थाबारे स्थानीय प्रशासनबाट पूर्वजानकारी लिएरमात्र सवारीसाधन सडकमा निकाल्न उक्त कार्यालयले यात्रा सचेतना जारी गरेको हो ।   

लागूऔषधसहित २२ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलालीबाट पाँच, बाँके र गोरखाबाट चार/चार, सुनसरी र काठमाडौंबाट दुई/दुई, झापा, बर्दिया, उदयपुर, धनुषा, महोत्तरीबाट एक/एक जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुबाट खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल र स्पास्पेन बरामद गरेको जनाइएको छ ।

२३ जिल्ला 'रेड जोन' मा: भारी वर्षाको जोखिमका कारण रात्रिकालीन सवारी चलाउन रोक

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीपहिरोको उच्च जोखिमयुक्त जिल्लामा रातिको समयमा सवारी आवागमन रोक्न निर्देशन दिने निर्णय गरेको छ ।  शनिबार बसेको प्राधिकरणको मनसुन प्रतिकार्य कमान्ड पोष्टको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा देशका हिमाली र पहाडी भू-भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावनाबारे छलफल भएको थियो ।  बैठकले आवश्यकता अनुसार जुनसुकै बेला सवारी सञ्चालन बन्द गर्न सम्बन्धित जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णय बैठकले गरेको प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले जानकारी दिए ।  बैठकले पहिरो तथा बाढीको जोखिम रहेका राजमार्ग र सडकमा डोजर, एक्साभेटर, लोडरलगायतका हेभी उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । यस्तै, जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई विपद् हुनुअघि नै आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई सक्रिय रूपमा परिचालन गर्न आग्रह गरिएको छ । मनसुनजन्य विपद्को सम्भावित प्रभाव न्यूनीकरण गर्दै जनधनको क्षति कम गर्ने उद्देश्यले पूर्वतयारी, समन्वय र प्रतिकार्यलाई प्रभावकारी बनाउन बैठकले सम्बन्धित सबै निकायलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ । यसैबीच, जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले आगामी तीन दिनसम्म उल्लेख्य वर्षाको सम्भावना रहेको छ । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानमा भारी वर्षा तथा एक/दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जालाई रातो रङ अर्थात् प्रतिकार्य गर्नुपर्ने सूचीमा राखेको छ ।

मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा बढ्दै डुबानको खतरा

काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबानको जोखिम बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका  विनोद पराजुलीले शनिबार (आज) राति र भोलि काठमाडौं उपत्यकामा वर्षासँगै यहाँका नदीखोलाको जल सतह बढ्ने सम्भावना भएकाले नदीकिनारका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका छन्।   उनका अनुसार विशेषगरी होचा स्थान,नदी तथा खोला किनार र आसपास बसोबास गर्ने नागरिकले उच्च सतर्कता अपनाउन आवश्यक छ ।  देशभर मनसुन सक्रिय भएकाले अधिकांश स्थानमा वर्षा हुने सम्भावना बढेकाले मौसम तथा बाढीसम्बन्धी सूचनामा अद्यावधिक रहन आग्रह गरे । 

झापामा विपद्का घटनामा २२ करोडभन्दा बढीको क्षति

भद्रपुर । झापामा गत आर्थिक वर्षमा  प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ करोड ७४ लाख ६० हजार नौ सय ५९ रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार उक्त अवधिमा जिल्लामा ३५९ वटा विपद्का घटना अभिलेख भएका थिए । ती घटनामा ३७ जना घाइते भएका थिए ।  उक्त अवधिमा १५६ वटा आगलागीका घटना भएका, जङ्गली हात्ती र वन्यजन्तुको आक्रमणका ९४, हुरीका ५२, बाढी तथा डुबानका ३५ र चट्याङका २२ वटा घटना थिए ।  विपद्का कारण आगलागीमा दुई जना, जङ्गली जनावरको आक्रमणबाट छ जना, हुरीमा एक जना र चट्याङ लागेर दुई जनाको मृत्यु भएको  हो । प्राकृतिक विपद्का विभिन्न घटनामा आठ हजार नौ सय १४ वटा चौपाया तथा पशुपन्छी मरेभने  हुरीबाट तीन हजार २० र आगलागीबाट पाँच हजार ६६२ पशुपन्छी हताहत भएका थिए ।  आगलागीबाट १५ करोड २२ लाखभन्दा बढी र बाढी तथा डुबानबाट रु छ करोड ३४ लाख बराबरको क्षति भएको सूचना अधिकारी अवाले बताइन् । 

तीन प्रतिशत समता शिक्षा शुल्क अभिभावकको थाप्लोमा नपार्न आग्रह

काठमाडौं । सरकारले यस आर्थिक वर्षदेखि लागू गरेको तीन प्रतिशत समता शिक्षा शुल्कको मारमा अभिभावक परेका सरोकार भएका निकायका प्रतिनिधिले बताएका छन् ।      ‘खबर एजुकेशन’ द्वारा आज आयोजित ‘शिक्षा संवादः तीन प्रतिशत समता शुल्क, निजी क्षेत्रका नीतिगत चुनौती र दायित्व’ सम्बन्धी अन्तरक्रियामा वक्ताहरूले उठाइएको शुल्क कुन शीर्षकमा खर्च गर्ने भन्ने स्पष्ट हुनुपर्नेमा जोड दिएका हुन् ।      पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले निजी विद्यालयमा पढाउने सबै अभिभावकले वर्षमा रु १५ लाख कमाउन सक्छन् भन्ने बुझाइबाट समता शुल्क लगाइए पनि यथार्थ त्यस्तो नभएको टिप्पणी गरे । उनले सामुदायिक विद्यालयका कुनकुन क्षेत्रमा कति लगानी गर्ने यकिन गरेर मात्रै यस्तो शुल्क उठाउन सम्बन्धित निकायलाई आग्रह गरे ।      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वशिक्षा विभाग प्रमुख मिलन पाण्डेले सरकारको प्राथमिकतामा सामुदायिक विद्यालय सुधार गर्नु रहेकाले लगानी बढाउने विकल्पका रूपमा समता शुल्कको अवधारणा ल्याइएको बताए ।  नेपाल अभिभावक महासङ्घका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले शिक्षामा लगाइएको समता शुल्कले अभिभावकलाई थप समस्या हुने विचार व्यक्त गरे । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का पूर्वअध्यक्ष डिके ढुङ्गानाले शिक्षामा कर थप्ने नीतिको विकल्पमा अभिभावनलाई राहत हुनेकिसिमका नीति अवलम्बन गर्नुपर्ने सुझाव दिए ।       राष्ट्रिय निजी तथा आवासय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) का अध्यक्ष सुवास न्यौपानेले विश्वमा कतै पनि शिक्षामा कर लिने व्यवस्था नभएको बताए । उनले सरकारद्वारा लागू गरिएको समता शिक्षा शुल्कको विकल्पमा राहत केन्द्रित कार्यक्रम ल्याउनुपर्ने धारणा राखे ।