विकासन्युज

मधेशका मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिट हेर्दाहेर्दैमा

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिसम्बन्धी विवादमा दायर रिटको सुनुवाइ सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।  उक्त मुद्दामा न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा बिहीबारदेखि निरन्तर सुनुवाइ हुँदै आएको  छ । शुक्रवार पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वाेच्च अदालतका सहरजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।  उनका अनुसार अब यो मुद्दाको अर्को सुनुवाइ सोमबारका लागि तोकिएको छ । मधेस प्रदेश सरकार गठन प्रक्रियामाथि उठेका प्रश्नहरू सम्बन्धी तीनवटा छुट्टाछुट्टै रिट परेकोमा ती सबै रिटहरूलाई एकैसाथ सुनुवाइ भइरहेको अदालतले जनाएको छ ।

शिखर इन्स्योरेन्सलाई ‘मेरिट प्रमाणपत्र’, सम्मान प्राप्त गर्ने नेपालको पहिलो बीमा कम्पनी

काठमाडौं । शिखर इन्स्योरेन्सले दक्षिण एसियाली लेखा परीक्षक महासङ्घ (एसएएफए) ले प्रदान गर्ने मेरिट प्रमाणपत्र प्राप्त गरेको छ ।  उत्कृष्ट वार्षिक प्रतिवेदन सम्मानमा शिखरले यो प्रमाणपत्र पाएको हो । यो सँगै यो सम्मान प्राप्त गर्ने शिखर इन्स्योरेन्स नेपालको पहिलो बीमा कम्पनी बन्न सफल भएको छ । यो उपलब्धि शिखर इन्स्योरेन्सका लागि मात्र होइन, सम्पूर्ण नेपाली बिमा उद्योगका लागि पनि कोशेढुंगा भएको कम्पनीले जनाएको छ । एसएएफएद्वारा प्रदान गरिने यो सम्मान दक्षिण एसियामा वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, सुशासन, तथा जवाफदेहीपनको उत्कृष्ट अभ्यासलाई मान्यता दिने सबैभन्दा प्रतिष्ठित अवार्डमध्ये एक मानिन्छ । यो सम्मानले शिखर इन्स्योरेन्सले पछिल्ला वर्षहरूमा अपनाउँदै आएको मजबुत सुशासन र वित्तीय अनुशासन प्रतिको निरन्तर प्रतिबद्धतालाई थप पुष्टि गर्ने कम्पनीले जनाएको छ ।

डोंगफेङ डिलर कन्फरेन्समा एमएडब्लू वृद्धिले पायो दुई अवार्ड

काठमाडौं । डोंगफेङ डिलर कन्फरेन्स २०२५ मा एमएडब्लू वृद्धि मोटर्सले २०२५ अवार्ड अफ एक्सलेन्ट ईभी सेल्स र २०२५ अवार्ड अफ सर्भिस एक्सलेन्स गरी दुई महत्त्वपूर्ण सम्मानहरू प्राप्त गरेको छ।  नेपालमा ईभी प्रवर्द्धन, नेटवर्क विस्तार र ग्राहकको हितमा काम गरेका कारण कम्पनीलाई यी पुरस्कारहरू प्राप्त भएको हो।  ईभी क्षेत्रमा निभाएको अग्रणी भूमिकाकै कारण एमएडब्लू वृद्धिले वातावरण संरक्षण र प्रदूषणमुक्त यातायात समाधानमा समर्पित अग्रणी ब्रान्डको रूपमा आफ्नो पहिचान बनाएको छ। एमएडब्लू वृद्धि मोटर्सले केवल १४ महिनाकै दौरानमा १ हजार २५० भन्दा बढी ईभी गाडी बिक्री गरिसकेको छ । यसको ह्याचब्याक मोडेल नामी बक्स आफ्नो सेग्मेन्टमा सबैभन्दा बढी बिक्री भएको गाडी बनेको छ । कम्पनीले हालसालै भित्र्याएको नामी भिगोको डेलिभरी अक्टोबरदेखि सुरु गरेको छ ।  एमएडब्लू ग्रुपले ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताका कारण सर्भिस एक्सलेन्स अवार्ड प्राप्त गरेको हो । एमएडब्लू वृद्धि मोटर्सका १० सेवा केन्द्रहरू छन् ।  समूहका अध्यक्ष  विष्णुकुमार अग्रवालले अवार्ड पाउँदा खुसी व्यक्त गरे । उनले आगामी दिनमा अझै धेरै वातावरणमैत्री गाडी भित्र्याउने प्रतिबद्धतासमेत जनाए ।

सिटिजन्स बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिटिजन्स बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डेको अध्यक्षतामा शुक्रबार साधारण सभा सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ ।  बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तको एन.एफ.आर.एस बमोजिम तयार गरिएको वासलात, आव २०८१/८२ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू छलफल भई स्वीकृत भएको छ ।  त्यसैगरी, साधारण सभाले गत आव २०८१/८२ को वितरण योग्य मुनाफाबाट २०८२ आषाढ मसान्तको चुक्तापुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार ९६६ को ५ प्रतिशतले  हुने ७३ करोड ८४ लाख ५० हजार ६४८.३० बोनस सेयर कर प्रयोजनको लागि नगद लाभांश ०.२६३ प्रतिशतले हुने ३८ करोड ८६ लाख ५८ हजार २३.५९ सहित जम्मा ७७ करोड ७३ लाख १६ हजार ४७१.८९ लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।  बैंकले आव ०६५/६६ बाट लगातार लाभांश वितरण गर्दै आएको छ । बैंकको १९ वर्षको औसत लाभांश १०.४० प्रतिशत रहेको छ ।    

क्याप्टेन विजय लामालाई उडानमा प्रतिबन्ध

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले क्याप्टेन विजय लामालाई उडानमा प्रतिबन्ध लगाइएको छ । शुक्रबार क्यानले नेपाल एयरलाइन्सलाई लिखित पत्रचार गर्दै  लामालाई उडानमा रोक लगाउने निर्देशन दिएको हो । लामाले जहाज उडाउने क्रममा फोटो तथा भिडियो खिचेको भन्दै प्रतिबन्ध लगाइएको क्यानले पत्रमा उल्लेख गरेकाे  छ। क्यानले लामासँगै क्याप्टेन सोनी राणालाई पनि उडानमा रोक लगाइएको छ । पछिल्लो समय क्याप्टेन लामाले आकाशमा जहाज उडाउने क्रममा फोटो/भिडियो बनाएर सामाजिक सञ्जालमा राख्दै आएका छन् ।   

पत्रकार शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक

काठमाडौं । पत्रकार दीपेन्द्र शर्माको युद्ध पत्रकारिता पुस्तक सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष नारायण दाहाललगायतले पुस्तकको लोकार्पण गरे ।  कार्यक्रममा अध्यक्ष दाहालले जनयुद्धकालमा पत्रकारिताको भूमिकाबारे चर्चा गर्दै त्यसबाट प्राप्त राजनीतिक उपलब्धिको जगमा टेकेर अघि बढन प्रेरित गर्ने विश्वास व्यक्त गरे । उनले पुस्तकलाई ‘युद्धको ऐना’का रूपमा चित्रण गरे ।  उनले उक्त पुस्तकमाथि टिप्पणी राख्ने क्रममा जनयुद्धकालमा जाजरकोटमा बिताएको तीन वर्ष स्मरण गर्दै पुस्तकले त्यही कालखण्डलाई जीवन्तता दिएको बताए ।  ‘हामीले दिल्लीबाट ‘नेपाल आवाज’ पत्रिका निकाल्थ्यौं । जाजरकोटका विकट पहाडमा रेडियो गणतन्त्रको एन्टेना २५–३० मिटर रूख चढेर राख्थ्यौं,’ अध्यक्ष दाहालले स्मरण गरे, ‘लडाइँ र पढाइको फ्युजन, बारुद र मसीको घोल, त्यसको रिजल्ट युद्ध हो भनिन्थ्यो । त्यसैको जगमा गणतन्त्र आयो भन्दा मलाई गर्व लाग्छ ।’ पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पुस्तक इतिहासको साक्षी भएको बताइन् ।  उनले भनिन्, ‘युद्धमा कलम समात्ने पत्रकारले भोगेका जोखिम, चुनौती र सफलतालाई लेखकले दस्ताबेज बनाउनुभएको छ । यो इतिहासको दस्ताबेजीकरण हो ।’ प्रेस सेन्टरका संस्थापक अध्यक्ष महेश्वर दाहालले पुस्तकलाई नेपालको ऐतिहासिक कालखण्डको महत्त्वपूर्ण कृतिका रूपमा टिप्पणी गरे । १४ वर्षको उमेरदेखि जनयुद्धको अभियानमा जोडिनुभएका लेखक शर्माले युद्ध पत्रकारिता यात्रालाई पुस्तकको रूप दिएको बताए ।  पुस्तकमा सात अध्यायमा युद्धकालीन पत्रकारिताको विस्तृत विश्लेषण गरिएको समीक्षकहरूले बताए । मिसन पत्रकारिता, भूमिगत सञ्चार, वैचारिक संघर्ष र जनयुद्धका गतिविधिहरूको दस्तावेज पुस्तकले समेटेको छ ।  लेखक शर्माको पुस्तकमा तत्कालीन माओवादीद्वारा सञ्चालित १० वर्षे सशस्त्र संघर्ष, द्वन्द्व र जोखिमपूर्ण अवस्थाबाट समाचार संकलन गर्ने पत्रकारहरूको भूमिकाबारे लेखिएको छ । ‘युद्ध पत्रकारिता’ शर्माको दोस्रो पुस्तक हो । यसअघि उनको ‘जुनीदेखि पिलीसम्म’ प्रकाशित छ । 

४३ करोड नयाँ नोट छाप्न २ अर्ब ४३ करोड रुपैयाँ लागत

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गरेको पहिलो निर्णय कार्यान्वयनमा आएको छ । पौडेलले राष्ट्र बैंकको गभर्नरको पदभार ग्रहण गर्दै गत जेठ ७ गते ५० रुपैयाँ र १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने निर्णय गरेका थिए ।  पौडेलको पहिलो निर्णय बमोजिम राष्ट्र बैंकले ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ दरका ४३ करोड थान र २१ अर्ब रुपैयाँ बराबरको ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्ने प्रक्रिया अघि बढेको हो । दुबै दरका नयाँ नोटमा हालका गभर्नर डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार १ हजार रुपैयाँ दरका ४३ करोड नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर अर्थात् पछिल्लो विनिमय दर अनुसार २ अर्ब ४३ करोड रुपैयाँ लागत लाग्नेछ । उक्त लागतका आधारमा एउटा १ हजार रुपैयाँको एउटा नोट छाप्न ५.६५ रुपैयाँ लागत लाग्ने राष्ट्र बैंक स्रोतले जनाएको छ ।  यस्तै, ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डरल अर्थात् १ अर्ब ४८ करोड रुपैयाँ लागत लाग्ने विभागले जनाएको छ । सो लागतका आधारमा एउटा ५० रुपैयाँको नोट छाप्न ३.५२ रुपैयाँ लागत लाग्ने राष्ट्र बैंकले जनाएको छ ।  राष्ट्र बैंकका अनुसार ५० रुपैयाँ र १ हजार रुपैयाँ दरका नयाँ नोट डिजाइन, छपाई तथा आपूर्तिको लागि चीनको बेइजिङमा रहेको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनसँग सम्झौता भएको छ ।  ५० रुपैयाँ दरका नयाँ नोट छाप्न गत कात्तिक २५ गते र १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्न मंसिर ११ गते चाइना बैंकनोट प्रिन्टिङसँग सम्झौता भएको विभागले जनाएको छ । विभागका अनुसार ५० रुपैयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि गत साउन ९ गते र १ हजार रुपैयाँका नोटका लागि भदौ १० गते बोलपत्र आह्वान गरेको थियो । 

प्रधानमन्त्री कार्कीको निर्देशन– आगामी निर्वाचनमा एक थोपा पनि रगत नबगोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन् । यसक्रममा नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो ।  साथै निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको थियो । प्रधानमन्त्री कार्कीले आन्दोलनपश्‍चात गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई यही फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय अभिभारा रहेको बताइन् । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्‍न गर्न नेपाली सेनालाई प्राप्‍त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास उनले व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनमा एक थोपा पनि रगत पनि बग्न नहुने र कोही पनि घाइते हुने अवस्था नआउनेगरी सबै सुरक्षा निकायहरुसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न निर्देशन दिइन् । साथै उनले सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्नसमेत निर्देशन दिइन् । जेनजी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तया नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि कुनै कसर बाँकी नराखी खट्न पनि उनले निर्देशन दिइन् । कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति थियो ।