विकासन्युज

साताको सेयर बजारः कारोबार भएको पाँचै दिन बढ्यो नेप्से

काठमाडौं । धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक लगातार पाँचै दिन बढेर उकालो लागेको छ । आइतबारदेखि बिहीबारसम्मको समग्र बजार सूचक चार दशमलवभन्दा बढीले वृद्धि भई दुई हजार ६७६ दशमलव ०३ विन्दुमा पुगेको हो ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार साताभरि कुल छ करोड २९ लाख ९९ हजार ६०४ कित्ता सेयर ३२ अर्ब १७ करोड १३ लाख ३६ हजार १८९ बराबर रुपैयाँमा कारोबार भएको छ । मङ्गलबारबाहेक सबै दिन कारोबार रकम छ अर्बभन्दा बढी रह्यो भने मङ्गलबारको कारोबार ५ अर्बमा सीमित रह्यो । साताको पहिलो कारोबार दिन आइतबार नेप्से ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२ विन्दुमा पुगेको थियो । सो दिन एक करोड २३ लाख ७६ हजार ४७१ कित्ता सेयर  छ अर्ब १९ करोड १८ लाख ८० हजार ९९६ मा किनबेच भएका थिए । सामूहिक लगानी समूहबाहेक अधिकांश उपसूचक बढे । सागर डिस्टिलरी, बन्दीपुर केबलकार र झापा इनर्जीको सेयरमा सकारात्मक सर्किट लाग्दा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड सात दशमलव ५६ प्रतिशतले घटेर सर्वाधिक गुमाउने समूहमा पर्‍यो ।  त्यस्तै, सोमबार नेप्से परिसूचक ५० दशमलव ४४ अङ्कले उकालो लागेर दुई हजार ६५० दशमलव ६६ विन्दुमा पुगेको थियो । त्यस दिन एक करोड ३१ लाख ७८ हजार ६७६ कित्ता सेयर छ अर्ब ९८ करोड तीन लाख ६६ हजार ७४३ मा कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स २४ करोड ८१ लाख ५१ हजार ५४६ को कारोबारसहित शीर्ष स्थानमा रह्यो । झापा इनर्जीमा १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लाग्दा सागर डिस्टिलरी, बन्दीपुर केबलकार, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रोटेक इन्डस्ट्री लिमिटेडका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए । मविलुङ इनर्जी लिमिटेड चार दशमलव ४४ प्रतिशतले घट्यो । मङ्गलबार नेप्से पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार ६५५ दशमलव ९९ विन्दुमा पुगेको थियो । त्यस दिन एक करोड १३ लाख ९९ हजार ४१० कित्ता सेयर पाँच अर्ब ७७ करोड २३ लाख ६७ हजार २९ मा कारोबार भयो । विकास बैङ्क, जीवन बीमा, सामूहिक लगानी कोष र व्यापार समूहका उपसूचक घटे भने अन्य समूह बढे । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै एक दशमलव ४१ प्रतिशतले उकालो लाग्यो । कारोबारको तेस्रो दिन बन्दीपुर केबलकार २६ करोड ९९ लाख ९७ हजार ६४९ को कारोबारसहित अग्रस्थानमा रह्यो । झापा इनर्जीमा पुनः १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लाग्दा सागर डिस्टिलरी र श्रीनगर एग्रोटेक इन्डस्ट्रीका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए । जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड चार दशमलव ९६ प्रतिशतले घट्यो ।  त्यस्तै बुधबार नेप्से नौ दशमलव ६१ अङ्कले बढेर दुई हजार ६६५ दशमलव ६० विन्दुमा पुगेको थियो, जुन अघिल्लो दिनको तुलनामा शून्य दशमलव ३६ प्रतिशत वृद्धि हो । सो दिन एक करोड २३ लाख ३१ हजार ७९१ कित्ता सेयर ९० हजार ७८२ पटकको कारोबारमार्फत छ अर्ब ६३ करोड ३९ लाख ४८ हजार ९३६ मा किनबेच भयो । वित्त, लगानी, जीवन बीमा, सामूहिक लगानी कोष र निर्जीवन बिमा समूहका उपसूचक घटे भने अन्य उपसूचक बढे । होटल तथा पर्यटन समूह शून्य दशमलव ९९ प्रतिशतले वृद्धि भएको थियो । बुधबार एनआरएन इन्फ्रास्ट्रक्चर ६२ करोड ४३ लाख ४३ हजार २१५ बराबरको कारोबारसहित शीर्ष स्थानमा रह्यो भने झापा इनर्जीमा १० प्रतिशत वृद्धि भई पुनः सकारात्मक सर्किट लाग्यो । त्यस्तै सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, श्रीनगर एग्रोटेक, रिभरफल्स पावर र माहुली लघुवित्तका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए भने बोटलर्स नेपाल (बालाजु) तीन दशमलव ९४ प्रतिशतले घट्यो । साताको अन्तिम दिन बिहीबार पनि नेप्से बढेर साताभरिको कारोबार सकारात्मक रह्यो । नेप्से १० दशमलव ४३ अङ्कले बढेर दुई हजार ६७८ दशमलव शून्य तीन विन्दुमा पुगेको थियो । बिहीबार कुल एक करोड ३७ लाख १३ हजार २५६ कित्ता सेयर छ अर्ब ५९ करोड २७ लाख ७२ हजार ४८३ मा कारोबार भयो ।  सागर डिस्टिलरीको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दा स्वस्तिक लघुवित्त, श्रीनगर एग्रोटेक इन्डस्ट्री, झापा इनर्जी र एनआरएन इन्फ्रास्ट्रक्चरका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीको लाभ कमाए । हिमस्टार ऊर्जा कम्पनी सर्वाधिक घट्ने कम्पनी बन्यो । बैङ्किङ समूहको उपसूचक एक दशमलव ४९ प्रतिशतले बढेर सबैभन्दा बढी उकालो लाग्यो । बजार निरन्तर उकालो लागिरहेको अवस्थामा निकट भविष्यमा आउने मौद्रिक नीतिको समीक्षाले नेप्सेको गतिमा प्रभाव पार्ने देखिन्छ । हाल ब्याजदर न्यून र तरलता पर्याप्त भए पनि कर्जा विस्तार अपेक्षित रूपमा बढ्न सकेको छैन । यस्तो अवस्थामा लगानीकर्ताको मनोभाव मिश्रित देखिन्छ । यस्तोमा लगानीकर्ताको मनोबल बढाउन नियामक स्पष्टता, कर्जा विस्तारमा प्रोत्साहन, पुँजीबजारमैत्री प्रावधान आवश्यक रहेको विश्लेषकहरूको भनाइ छ ।  साथै आगामी निर्वाचनको वातावरण स्थिर र सकारात्मक बन्दै जाँदा आर्थिक गतिविधि बढ्ने र यससम्बन्धी नीति सकारात्मक भए यसले बजारमा मनोवैज्ञानिक ऊर्जा थप्ने जानकारहरू बताउँछन् । 

‘२ खर्ब बराबरको होल्ड सम्पत्ति’ चलायमान बनाउन भूमि अध्यादेश पारित

काठमाडौं । मन्त्रिपरिषदबाट पारित भएको भूमिसम्बन्धी अध्यादेशको नवौं संशोधनले ‘२ खर्ब बराबरको होल्ड सम्पत्ति’ चलायमान बनाउन सहयोग गर्ने नेपाल जग्गा तथा आवास विकास महासंघले जनाएको छ । महासंघका अध्यक्ष विष्णु घिमिरेले शुक्रबार विज्ञप्ति जारी गरी महासङ्घले लामो समयदेखि उठाउँदै आएको भूमि सम्बन्धी अध्यादेशको नवौं संशोधनलाई भर्खरै मन्त्रिपरिषदबाट पारित गरी राष्ट्रपतिकोमा प्रमाणीकरणका लागि पठाएकोमा सरकारलाई धन्यवाद दिए ।  ‘नेपाल सरकारले भूमि सम्बन्धी अध्यादेश, नवौं संशोधन–२०८२ लाई मन्त्रिपरिषद्बाट भर्खरै पारित गरेर सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रणाणीकरणका लागि सिफारिस गरेकोप्रति महासङ्घ हार्दिक आभार प्रकट गर्दछ,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  हदबन्दीको कारण देखाउँदै सम्पत्ति बिक्रीमा रोक लगाउँदा व्यवसायीको करिब २ खर्ब बराबरको सम्पत्ति ‘होल्ड’ भएको महासंघले बताएको छ । हदरबन्दीका कारण व्यवसायी, ग्राहक र व्यवसायीमाथि लगानी गर्ने बैँकहरू समेत समस्यामा परेको महासंघले जनाएको छ।  जग्गा हदबन्दीका कारण लामो समयदेखि समस्यामा परेका व्यवसायीलाई भूमिसम्बधी अध्यादेश प्रमाणीकरण भएसँगै राहत पुग्ने विश्वास महासंघले लिएको छ ।  अध्यक्ष घिमिरेले अध्यादेश जारी भएसँगै व्यवसायीले जग्गा हदबन्दीका कारण विक्रि हुन नसकेको हाउजिङ तथा अपार्टमेन्ट बिक्रिवितरण गर्न पाउने र खरिदकर्ताले आफ्नो नाममा पास गरी लालपुर्जा पाउने बाटो खुल्ने बताए । महासंघले घरजग्गा क्षेत्र ‘उद्योगको पनि उद्योग’ भएकाले यस क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेको बताएको छ । घरजग्गा क्षेत्र चलायमान हुँदा सिमेन्ट उद्योग, रड उद्योग, इँट्टा उद्योग, काठ उद्योग, आल्मुनियम उद्योग, गिट्टी उद्योग, बालुवा उद्योग राम्रोसँग चल्ने, युवाहरूले रोजगार पाउने र शिथिल रहेको मुलुकको अर्थतन्त्रसमेत चलायमान हुने महासंघको भनाइ छ ।  महाससंघले जग्गा वर्गीकरणको जिम्मा स्थानीय सरकारले लिए पनि स्थानीय सरकारले समयमै जग्गा वर्गीकरण नगरिदिँदा कित्ताकाट समेत खोल्ने र रोकिने क्रम रहेकाले स्थायी रुपमा यसको समाधान गरिदिन सरकारलाई आग्रह गरेको छ ।  वर्तमान सरकारले व्यवसायीको समस्या बुझेर ल्याउन खोजेको यस अध्यादेशले व्यवसायीमात्र नभई समग्र राज्यलाई नै फाइदा पुग्ने विश्वास महासंघले लिएको छ ।

एनपीएल क्रिकेटः काठमाडौंको चितवनलाई १४३ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले  चितवन राइनोजलाई  १४३  रनको लक्ष्य दिएको छ ।  त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौं १९ दशमलव चार ओभरमा १४२ रनमा अलआउट भयो । जसमा जोन सिम्प्सनले सर्वाधिक ६० र मिलिन्द कुमारले ३८ रनको योगदान गरे । चितवनका सोहेल तनभिरले चार, कमलसिंह ऐरीले दुई र रञ्जित कुमारले दुई विकेट लिए । कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा छ । करण केसीको नेतृत्वमा रहेको काठमाडौंले भने चारमध्ये दुई खेलमा मात्रै जित निकालेको छ ।  यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रनेछन् ।

१ हजार दरका ४३ करोड थान नयाँ नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का

काठमाडौं । केन्द्रीय बैंकले १ हजार दरको नयाँ नोट छाप्ने ठेक्का पनि चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकका अनुसार चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई उक्त नयाँ नोट छाप्ने ठेक्का दिइएको हो। यो कम्पनीले १ हजार दरका ४३ करोड थान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्नेछ । नेपाल राष्ट्र बैंकले नोट छाप्ने ठेक्का लगाउन गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो ।  बोलपत्रमार्फत प्राप्त भएकोमध्ये सबैभन्दा थोरै मूल्य प्रस्ताव गरेकाले कर्पाेरेशनलाइ बैंकले छनौट गरेको हो ।  मुद्रण तथा आपूर्ति खर्च दिनुपर्नेछ । राष्ट्र बैंकले कुल १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर (हालको विनिमय दरअनुसार २ अर्ब ४२ करोड ६७ लाख ६१ हजार रूपैयाँ) भुक्तानी गर्ने सहमति भएको छ ।   

नबिल बैंकलाई भिसा इन्टरनेशनलका तीन अवार्ड

काठमाडौं । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीनवटा विधामा अवार्ड जितेको छ ।  बैंकले यस वर्ष एक्सिलेन्स इन कन्जुमर डेविट कार्डस् बिजनेस प्रिन्सिपल क्लाइन्ट, एक्सिलेन्स इन कन्ट्याकलेस–इसुइङ  र एक्सिलेन्स इन इ–कमर्श एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट विधामा अवार्ड जितेको हो ।  काठमाडौंस्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा बैंकलाई ती अवार्ड प्रदान गरियो । विगतमा पनि उक्त विधामा नबिल बैंकको वर्चस्व रहँदै आएको छ ।  अवार्ड ग्रहणपछि नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (सीईओ) आदर्श बजगाईंले उक्त उपलब्धिले आफूहरूलाई थप ऊर्जा प्रदान गरेको बताए ।  उनले उक्त उपलिब्धको श्रेय बैंकका कार्डवाहक ग्राहक, व्यवसायी तथा कर्मचारीलाई जाने बताए ।  भिसा इन्टरनेशनल कार्डप्रदायक कम्पनी हो । भिसाले नेपालमा वार्षिक रुपमा भिसा लिडरसिप कन्क्लेभ आयोजना गर्दै आएको छ । नेपालका बैंक तथा वित्तीय संस्था, फिनटेक, इ– कमर्स, व्यापार व्यवसायमा भिसा कार्डको प्रयोग हुँदै आएको छ ।   नबिल बैंकले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।  विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

नक्कली झन्डाको प्रयोग गर्दै रूसले भारतमा तेल पुर्‍याएको खुलासा

काठमाडौं । रूसले भारतलाई कच्चा तेल आपूर्ति गर्न ‘नक्कली झन्डा’ लागेका जहाजहरूको प्रयोग गरेको खुलासा भएको छ । यो तथ्य युरोपेली थिंक ट्यांक ‘सेन्टर फर रिसर्च अन एनेर्जी एन्ड क्लीन एयर’ (सीआरईए) को रिपोर्टमा उल्लेख गरिएको हो ।  रिपोर्टअनुसार जनवरीदेखि सेप्टेम्बर २०२५ बीच यस्ता ३० वटा जहाजमार्फत भारतले ५.४ मिलियन टन रूसी कच्चा तेल आयात गर्‍यो, जसको मूल्य २.१ अर्ब युरो (करिब ३५.२ हजार करोड रुपैयाँ) पर्छ । यी जहाजहरू ‘नक्कली झन्डा’ राखेर सञ्चालनमा थिए । यहाँ ‘नक्कली झन्डा’ को अर्थ भनेको जहाजले आफ्नो वास्तविक देशको झन्डा नफहराई अर्को देशको झन्डाको प्रयोग गर्नु हो, जसले गर्दा जहाज र मालिकको वास्तविक पहिचान लुकाउन सकियोस् । रिपोर्टका अनुसार रूसको यस्तो तरिका अहिले उसको तेल निर्यातको महत्त्वपूर्ण हिस्सा बनिसकेको छ । युक्रेनमाथि रूसले आक्रमण गरेपछि पश्चिमी मुलुकहरूले रूसी ऊर्जामा कडा प्रतिबन्ध लगाए । आरोप छ कि मस्ट्रोले ती प्रतिबन्धबाट जोगिन ‘शेडो फ्लीट’ अर्थात् नकली झन्डा राखिएको ट्यांकर–जहाज प्रयोग गरिरहेको छ । यी जहाज प्रायः पुराना हुन्छन्, ग्रे एरियामा चलाइन्छन्, मालिक को भन्ने कुरा अस्पष्ट हुन्छ, दर्ता कागजात नक्कली हुन्छ र ट्र्याकिङ प्रणाली बन्द राखिन्छ । यही माध्यमबाट चीन, भारत र टर्की जस्ता मुलुकतर्फ तेल पठाइँदै आएको छ । हेलसिंकीस्थित सीआरईएका अनुसार सन् २०२५ का पहिलो नौ महिनामा कुल ११३ रूसी जहाजले नक्कली झन्डा प्रयोग गरे, जसले रूसी कच्चा तेलको १३ प्रतिशत अर्थात् ११ मिलियन टन तेल ढुवानी गरे । यसको मूल्य ४.७ अर्ब युरो (५.४ अर्ब अमेरिकी डलर) बराबर थियो ।  रिपोर्टका अनुसार सेप्टेम्बर २०२५ सम्म ९० रूसी ‘शेडो जहाज’ नक्कली झन्डा अन्तर्गत सञ्चालनमा थिए, जुन डिसेम्बर २०२४ को तुलनामा छ गुणा वृद्धि हो । यद्यपि रिपोर्टले कुन–कुन देशहरूमा तेल पठाइयो भन्ने खुलाएको छैन । पीटीआईले भारतमा तेल ल्याउने नक्कली झन्डा भएका जहाजबारे सोद्धा सीआरईएले २०२५ को पहिलो नौ महिनामा यस्ता ३० जहाजमार्फत भारतमा रूसी कच्चा तेल आयात भएको जानकारी दियो । सीआरईएका अनुसार २०२५ का पहिलो तीन त्रैमासिकमा नकली झन्डा भएका ट्यांकरबाट पठाइएको ४.६ अर्ब युरो बराबरको रूसी तेलमध्ये २.१ अर्ब युरो (५.४ मिलियन टन) मूल्य बराबरको तेल भारतले पायो। भारत परम्परागत रूपमा मध्यपूर्वबाट कच्चा तेल आयात गर्दै आएको हो । तर फेब्रुअरी २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी प्रतिबन्ध र युरोपमा माग कमी हुँदा रूसी तेल निकै सस्तो भयो, जसले भारतलाई आकर्षित गर्‍यो । भारतको कुल तेल आयातमा रूसी हिस्सेदारी १ प्रतिशतभन्दा कमबाट बढी झन्डै ४० प्रतिशत पुग्यो । नोभेम्बर महिनामा पनि रूस भारतको सबैभन्दा ठूलो कच्चा तेल आपूर्तिकर्ता रह्यो, जसले भारतको कुल आयातित तेलमध्ये एक–तिहाइभन्दा बढी हिस्सा ओगट्यो । समुद्रमा चल्ने सबै जहाजहरूले कानुनी अधिकार क्षेत्र सुनिश्चित गर्न कुनै न कुनै देशको झन्डा बोक्नु अनिवार्य हुन्छ । संयुक्त राष्ट्रको ‘समुद्री कानुन महासन्धि’ (यूएनसीएलओएस) अनुसार कुनै देशले जहाज दर्ता गराई आफ्नो झन्डा फहराउन अनुमति दिन सक्छ । केही देशले ‘ओपन रजिस्ट्री’ सञ्चालन गर्छन्, जसले विदेशी जहाजहरूलाई कम लागत र सजिलो नियमअन्तर्गत दर्ता गराउँछन् । यस्तो दर्ता लचिलोपन खोज्ने शिपरहरूका लागि लोकप्रिय हुन्छ । सीआरईएका अनुसार सेप्टेम्बर २०२६ को अन्त्यसम्म प्रतिबन्धित ९६ रूसी जहाजले कम्तीमा एकपटक नक्कली झन्डा प्रयोग गरेका थिए । इन्डोप्यासिफिक क्षेत्रमा प्रभाव बढाउने दौडमा रूस, भारतसँग समुद्री व्यापार बढाउन पहल

एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएलका खेलहरू लाइभ हेर्न पाइने

काठमाडौं । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा ग्राहकका लागि एनपीएल प्ले प्याक सञ्चालनमा ल्याएको छ । यो प्याकका साथ ग्राहकहरूले डिशहोम गो एपमार्फत हाल भइरहेका खेलहरुको मजा आफ्नै मोबाइलमा लिन सक्छन् ।  ग्राहकले एनपीएल दोस्रो संस्करणका खेलहरु सहज रूपमा हेर्न सकून् भन्ने उद्देश्यले एनपीएल प्ले प्याक संचालनमा ल्याइएको एनसेलले जनाएको छ ।  ग्राहकले बन्डल भएर आउने थप डेटा र सुविधाका आधारमा करसहित रु २९९ पर्ने यो एपीएल प्ले प्याक लिन सक्छन् । प्याकमा खेलको लाइभ मजा लिन डिशहोम गो एपमा सहज पहुँच सुनिश्चिन गरिएको छ । एनपीएल प्ले प्याकमा ग्राहकले २८ दिनका लागि मान्य रहने १ जीबी डेटा बन्डल सेवाका रूपमा पाउँछन् ।  ग्राहकले एनसेल एप वा *१२३# डायल गरी सहजै यी प्याक खरिद गर्न सक्छन् भने मुलुकभर रहेका एनसेलका खुद्रा विक्रेताहरु मार्फत पनि प्याक खरिद गर्न सकिन्छ ।  प्याक लिएपछि ग्राहकले आफ्नो मोबाइल नम्बरमा प्राप्त एसएमएफमार्फत डिशहोम गो एप लगइन गरी एनपीएलका खेलहरू लाइभ हेर्न पाउछन् ।  एनसेलले एनपीएलसँग पहिलो संस्करणमा जस्तै दोस्रो संस्करणमा पनि ‘पावर्ड वाइ’का रूपमा सहकार्य जारी राखेको छ । यस पटक ‘युनाइटेड वाइ क्रिकेट, कनेक्टेड वाइ एनसेल’ भन्ने नाराका साथ एनसेल एनपीएलमा आवद्ध रहेको छ । एनपीएलका खेलहरूलाई थप रोमाञ्चक बनाउनका लागि एनसेलले एनपीएल फ्यान प्याकहरू पनि सार्वजनिक गरिसकेको छ । यसैगरी, एनसेल फाउन्डेसनले पनि गत वर्ष जस्तै यस वर्ष पनि व्यवसायिक सामाजिक जिम्मेवारीअन्तर्गतको कामलाई जारी राखेको छ । जसमा एनपीएलका खेलमा प्रहार हुने प्रत्येक चौकावापत एनसेलले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री प्रदान घोषणा गरेको छ ।

कामना सेवा विकास बैंकलाई लगातार दोस्रो पटक साफा अवार्ड

काठमाडौं । कामना सेवा विकास बैंक ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२४’ बाट सम्मानित भएको छ ।  बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्तर्गत प्रदान गरिने ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’ बाट सम्मानित भएको हो ।  साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले आर्थिक वर्ष २०२३/२४ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सशासनका लागि उक्त अवार्ड प्रदान गर्ने भएको हो ।  बैंकले आफ्नो १८ औं वार्षिक साधारणसभामा पेश गर्नको लागि तयार गरेको उक्त वित्तीय विवरणमा सेयरधनीहरू तथा सरोकारवालाहरूलाई बैंकको विवरणहरू उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो ।  साफाले पाकिस्तानको इस्लामाबादमा आयोजित एक समारोहमा उक्त अवार्ड बैंकलाई प्रदान गरेको छ । विकास बैंकले गत वर्ष समेत साफा अवार्ड जित्न सफल भएको थियो ।  साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्टको सञ्जाल साझेदार हो जसमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, मालदिभ्स र अफगानिस्तान लगायत विभिन्न एघार वटा दक्षिण एसियाली क्षेत्रका चार्टड् एकाउन्टेन्ट निकायहर" समावेश छन् ।  साफाले हरेक वर्ष दक्षिण एसियाली क्षेत्रमा प्रकाशित वित्तीय प्रतिवेदनहरूको मूल्याङ्कन गरी विभिन्न विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ ।  बैंकको उक्त वित्तीय प्रतिवेदन चार्डड एकाउन्टेन्ट संस्था नेपालबाट प्रदान गरिने ‘राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२४’ मा वित्तीय सेवा क्षेत्र तर्फको विधामा ‘गोल्ड अवार्ड’ बाट सम्मानित भएको थियो ।