विकासन्युज

सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

गोलबजार । गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा यादव नगदसहित पक्राउ परेका हुन् । प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र२–०२–००१च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२ः३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकिएको थियो । जाँचका क्रममा गाडीबाट रु चार लाख ८७ हजार नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको जिल्ला प्रनाउ पालले जानकारी बताए । यादव तत्कालीन सङ्घीय समाजवादी फोरमबाट २०७४ स्थानीय तह निर्वाचन सिरहा नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।     

म्याग्दीमा खानेपानी, सिंचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२\८३ मा खानेपानी, सिंचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालयले ३४ वटा खानेपानी, ४ वटा नदी नियन्त्रण, २९ वटा सिंचाइ, विपद्का ४ र ऊर्जातर्फ २ वटा योजना कार्यान्वयनमा ल्याएको हो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले ४३ वटा योजनाको ठेक्का लगाएको र बाँकी योजना ठेक्का प्रक्रियामा रहेका जानकारी दिए । ‘प्रदेश सरकारको निर्देशनअनुसार यस वर्ष सबै योजना ठेक्का प्रतिस्पर्धाबाट कार्यान्वयनमा लगिएको छ’, उनले भने, ‘गत वर्ष सुरु भएका दुईवटा योजना निर्माण सकिएका छन् ।’ रत्नेचौर लिफ्ट खानेपानी र मंगला गाउँपालिका–४ को बुकेनी सिंचाइयोजना निर्माण सकिएको हो । सबै योजनाहरूका लागि पुँजीगततर्फ ११ करोड ६८ लाख बजेट विनियोजन भएको छ ।  खानेपानीतर्फ स्रोत सुनिश्चितता भएका १२, क्रमागत १०, मर्मतसम्भार ७ र सर्वेक्षणसम्बन्धी ४ योजना छन् । नदी नियन्त्रणतर्फ कुल १ करोड बजेट भएको पोखरेबगर, सिम, तातोपानी संरक्षण र ठाडोढुंगा पहिरो रोकथाम योजना छन् । सिँचाइतर्फका ११ वटा योजनाको स्रोत सुनिश्चितता, १३ वटा क्रमागत र ५ वटा मर्मतसम्भारसम्बन्धी योजना छन् । 

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८६ रुपैयाँ २३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ १० पैसा र बिक्रीदर ११४ रुपैयाँ ५७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १७ पैसा र बिक्रीदर २१ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ०६ पैसा र बिक्रीदर ४० रुपैयाँ २२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ०९ रुपैयाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६५ पैसा र बिक्रीदर २२ रुपैयाँ ७५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, कुवेती दिनार एकको खरिददर ४७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४७९ रुपैयाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर ३८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३७९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३८० रुपैयाँ ९४ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सुजल फुड्सको आम्दानी १.५५ अर्ब नाघ्यो, ५० प्रतिशत बजार हिस्सा ओगटेको दाबी

काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गत सञ्चालित सुजल फुड्स प्रालिले सन् २०२५ मा १ अर्ब ५५ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २.४९ प्रतिशत अर्थात् ३ करोड ८० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ५२ करोड १० लाख रुपैयाँ थियो। कम्पनीका अनुसार कन्फेक्सनरी क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, आयातित ब्रान्डहरूको उपस्थिति तथा कच्चा पदार्थको मूल्यमा हुने उतार–चढावले आम्दानीमा प्रभाव पार्दै आएको छ । मागमा आएको सुस्तता तथा कच्चा पदार्थको बढ्दो मूल्य समायोजन गर्न गरिएको पुनर्मूल्य निर्धारणका कारण सन् २०२४ मा आम्दानी करिब २५ प्रतिशतले घटेको थियो । त्यसपछि सन् २०२५ मा आंशिक सुधार देखिएको कम्पनीले जनाएको छ । विविधीकृत उत्पादन पोर्टफोलियो र देशभर फैलिएको वितरण सञ्जालले पुनरुत्थानमा सहयोग पु¥याएको कम्पनीको भनाइ छ । कम्पनीले सन् २०२३ मा २ अर्ब २ करोड ७० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ८९ करोड २० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ८० करोड ५ लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ४६ करोड ६० लाख रुपैयाँ, सन् २०१९ मा १ अर्ब ४० करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा कम्पनीले करिब ६६ करोड १० लाख रुपैयाँ बराबरको बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ६२ करोड ९० लाख रुपैयाँ थियो । यसले आम्दानी क्रमशः सुधारोन्मुख रहेको संकेत गर्दछ । सन् १९९५ मा स्थापना भएको कम्पनीले वेफर, ललिपप, क्यान्डी, टफी लगायतका उत्पादन गर्दै आएको छ । कम्पनीको प्रमुख ब्रान्ड चोकोफन सन् १९९९ मा बजारमा आएको थियो र हालसम्म उपभोक्तामाझ लोकप्रिय रहँदै आएको छ । साथै ‘रासिलो’ र ‘फ्रेसो’ कडा क्यान्डी पनि आम्दानीका प्रमुख स्रोतका रूपमा रहेका छन् । कुल आम्दानीको आधाभन्दा बढी हिस्सा चकलेट समूह (क्यान्डी र ललिपपसहित) बाट आउने गरेको छ भने बाँकी वेफर, गम लगायतका उत्पादनबाट प्राप्त हुने गरेको कम्पनीको भनाइ छ । कम्पनीको केन्द्रीय कार्यालय तथा दुई उत्पादन इकाइ पोखरामा अवस्थित छन् । देशभर २३० भन्दा बढी विक्रेतामार्फत कम्पनीले आफ्ना उत्पादन बिक्रीवितरण गर्दै आएको छ । कम्पनीका प्रमुख सेयरधनीहरूमा गणेश बहादुर श्रेष्ठ, सुनिल श्रेष्ठ, अञ्जन श्रेष्ठ, निरञ्जन श्रेष्ठ र निराकर श्रेष्ठ रहेका छन् । प्रत्येकको करिब १७ प्रतिशत स्वामित्व हिस्सा रहेको छ । लक्ष्मी समूहको अटोमोबाइल, स्टिल तथा द्रुत उपभोग्य वस्तु लगायत विभिन्न क्षेत्रमा व्यवसायिक उपस्थिति रहेको छ । नाफामा आएको दबाबका कारण ऋण भुक्तानी क्षमतामा चुनौती देखिएको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २७ करोड ३० लाख रुपैयाँ दीर्घकालीन र ६३ करोड रुपैयाँ अल्पकालीन गरी कुल ९० करोड ३० लाख रुपैयाँ ऋण लिएको छ । यसअघि कम्पनीको बैंक ऋण १ अर्ब १० लाख रुपैयाँ रहेको थियो ।  करिब तीन दशक लामो अनुभवसहित सुजल फुड्सले आगामी दिनमा नयाँ उत्पादन सार्वजनिक गर्ने योजना बनाएको जनाएको छ । कम्पनीले आफ्नो समग्र उत्पादन पोर्टफोलियोबाट ५० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको दाबी गरेको छ । देशभर आफ्ना उत्पादनप्रतिको लोकप्रियता र उपभोक्ताको विश्वासका कारण कम्पनीले सन् २००६ देखि भारत र चीनमा निर्यात सुरु गरेको छ । हाल कम्पनीले उत्तर अमेरिका, युरोप, अष्ट्रेलिया, अफ्रिका तथा खाडी मुलुकहरूमा समेत निर्यात विस्तार गरेको जनाएको छ ।

२.३० खर्ब डलरको सम्पत्ति फ्रिज गरेको भन्दै इयुविरुद्ध रुसी केन्द्रीय बैंकको मुद्दा

काठमाडौं । युक्रेनमाथिको आक्रमणपछि युरोपेली सङ्घ (इयु) ले फ्रिज गरेको करिब २ खर्ब ३० अर्ब डलर बराबरको रुसी सम्पत्तिका विषयमा रुसको केन्द्रीय बैंकले युरोपेली अदालतमा मुद्दा दायर गरेको जनाएको छ । अनिश्चितकालका लागि सम्पत्ति रोकेको निर्णय गैरकानुनी भएको दाबी गर्दै मस्कोले लक्जमबर्गस्थित युरोपेली सङ्घको जनरल कोर्टमा मुद्दा दायर गरेको हो । इयुका सदस्य राष्ट्रहरूले सन् २०२२ मा युद्ध सुरु भएपछि पहिलोपटक रुसी सम्पत्ति फ्रिज गरेका थिए । गत वर्ष ब्लकले करिब दुई खर्ब युरो बराबरको कोषमाथि आफ्नो नियन्त्रणको कानूनी आधार थप कडा बनाएको थियो । उक्त रकमलाई युक्रेनलाई उपलब्ध गराइने ठूलो ऋण कार्यक्रमसँग जोड्ने प्रयास गरिएको थियो । नयाँ व्यवस्थाअनुसार रुसले आक्रमण रोक्दै युक्रेनलाई क्षतिपूर्ति नदिएसम्म ती सम्पत्ति फ्रिज नै रहनेछन् । यसअघि प्रत्येक ६ महिनामा इयुका २७ सदस्य राष्ट्रको सर्वसम्मत निर्णयबाट मात्रै फ्रिज अवधि थप गर्नुपर्ने व्यवस्था थियो । हङ्गेरी र स्लोभाकियाजस्ता मस्कोप्रति तुलनात्मक रूपमा सहानुभूतिशील देशहरूले यस प्रक्रियालाई राजनीतिक लाभका लागि प्रयोग गर्ने सम्भावना रहेको भन्दै कानूनी संरचना परिवर्तन गरिएको थियो । रुसको केन्द्रीय बैंकले नयाँ नियमले आधारभूत अधिकारहरूको उल्लङ्घन गरेको दाबी गरेको छ । ‘इयु नियमनले न्यायमा पहुँचको आधारभूत र अपरिहार्य अधिकार, सम्पत्तिको अलङ्घनीयता तथा राज्य र तिनका केन्द्रीय बैंकहरूको सार्वभौम प्रतिरक्षाको सिद्धान्तको उल्लङ्घन गरेको छ,’ बैंकले विज्ञप्तिमार्फत जनाएको छ । इयु अदालतका अनुसार मुद्दा फेब्रुअरी २७ मा दर्ता गरिएको हो । यसैबीच, मस्कोले बेल्जियमस्थित युरोक्लियर डिपोजिटरीविरुद्ध पनि रुसी अदालतमा छुट्टै मुद्दा दायर गरेको छ । युरोक्लियर डिपोजिटरले फ्रिज गरिएका सम्पत्तिको ठूलो हिस्सा व्यवस्थापन गर्दै आएको छ । इयुका प्रवक्ता बालाज्स उज्वारीले उक्त कदमलाई युक्रेनका लागि इयुको समर्थनसम्बन्धी रूसी कानूनी चुनौतीहरूको बढ्दो शृङ्खलाको एक हिस्सा भएको बताए । ‘हामी यस नियमनको वैधानिकता र इयु कानूनसँग यसको अनुकूलताबारे पूर्ण रूपमा विश्वस्त छौँ,’ उनले स्पष्ट पारे । 

मध्यपूर्व युद्ध चर्कियो, अमेरिका र इजरायल विरुद्ध ‘नरकको ढोका’ खुल्ने चेतावनी

काठमाडौं । अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमणपछि सुरु भएको युद्ध चौथो दिनमा झन् तीव्र बन्दै गएको छ । तेहरानदेखि खाडी राष्ट्रहरू, लेबनान, इजरायल र युरोपसम्म यसको प्रभाव फैलिएको छ । इरानले औद्योगिक र कूटनीतिक लक्ष्यहरूमा आक्रमण जारी राख्दै अमेरिका र इजरायल विरुद्ध ‘नरकको ढोका’ खुल्ने चेतावनी दिएको छ भने विभिन्न देशहरूमा विस्फोट, ड्रोन आक्रमण र सैन्य गतिविधि बढेको छ । मङ्गलबार तेहरानमा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले जनाएका छन्, यद्यपि के लक्ष्य थियो भन्ने तत्काल स्पष्ट भएको छैन । इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद्समक्ष युद्ध रोक्न पहल गर्न आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले परिषद्ले चाहेमा तत्काल कदम चाल्न सक्ने बताए ।  यसैबीच, इरानको रिभोलुसनरी गाड्र्सले अमेरिका र इजरायलविरुद्ध थप कडा आक्रमण गर्ने चेतावनी दिएको छ । प्रवक्ता अली मोहम्मद नैनीले राज्य टेलिभिजनमार्फत ‘शत्रुले निरन्तर दण्डात्मक कारबाही भोग्नुपर्ने’ र ‘नरकको ढोका झन् खुल्दै जाने’ चेतावनी दिए ।  इजरायलले दक्षिण लेबनानमा रणनीतिक स्थानहरू नियन्त्रणमा लिन सेना अघि बढाएको छ । लेबनानी सैन्य स्रोतका अनुसार कफर किला र खियाम क्षेत्रतर्फ इजरायली सेना अघि बढेको छ । इजरायली प्रवक्ता एफी डेफ्रिनले आफ्ना बासिन्दा र सम्भावित खतराबीच ‘बफर जोन’ बनाउने उद्देश्य रहेको बताए । खाडी क्षेत्रमा पनि तनाव चुलिएको छ । बहराइनको मनामा र कतारको दोहामा विस्फोट सुनिएको छ । ओमान, युएई र इराकमा ड्रोन आक्रमण भएका छन् । युएईको फुजैराहस्थित तेल क्षेत्रमा ड्रोनको भग्नावशेष खसेर आगलागी भएको छ भने ओमानको बन्दरगाहमा इन्धन ट्याङ्कीमा क्षति पुगेको जनाइएको छ, यद्यपि मानवीय क्षति नभएको बताइएको छ । साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा दुई ड्रोन प्रहार भई आगलागी भएको र साउदी विदेश मन्त्रालयले उक्त घटनाको निन्दा गरेको छ । तेहरानले आफ्नो प्रमुख आणविक स्थल नातान्जमा क्षति पुगेको पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले उपग्रह तस्वीरका आधारमा भूमिगत संरचनामा क्षति देखिएको जनाएको छ, तर रेडियोलोजिकल असर नहुने बताएको छ । यस युद्धले विश्व बजारमा पनि प्रभाव पारेको छ । स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा अवरुद्ध भएपछि ब्रेन्ट क्रुडको मूल्य ८ प्रतिशतभन्दा बढी बढेर प्रतिब्यारेल ८५.१२ डलर पुगेको छ । यो जुलाई २०२४ पछिको उच्च स्तर हो । ऊर्जा र अमेरिकी डलरमा लगानी बढेपछि सुन चार प्रतिशतभन्दा बढी घटेर ५,०७५ डलर प्रति औँस र चाँदी १२ प्रतिशतभन्दा बढी घटेर ७८ डलर प्रति औँसमा झरेको छ । इरान रेड क्रिसेन्टका अनुसार युद्ध सुरु भएयता ७८० भन्दा बढी मानिसको मृत्यु भएको छ, यद्यपि स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । लेबनानमा कम्तीमा ३० हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्र सङ्घीय शरणार्थी एजेन्सीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री किर स्टार्मरले बेलायती सैन्य आधार प्रयोग गर्न अनुमति नदिएको भन्दै अमेरिका–बेलायत सम्बन्ध ‘पहिले जस्तो नरहेको’ टिप्पणी गरे । यसबीच फ्रान्सले संयुक्त अरब इमिरेट्समा आफ्ना राफेल लडाकू जेट तैनाथ गरेको छ । चीनले सबै पक्षलाई तुरुन्त सैन्य कारबाही रोक्न र होर्मुज जलडमरूमध्यको सुरक्षा कायम राख्न आग्रह गरेको छ । युद्धले क्षेत्रीय मात्र नभई, विश्वव्यापी स्थिरतामाथि गम्भीर चुनौती खडा गरेको विश्लेषण गरिएको छ ।

तेल पूर्वाधारमा ताकेर खाडी क्षेत्रमा इरानी प्रहार

काठमाडौं । अमेरिका र इजरायलसँग जारी युद्धको पृष्ठभूमिमा इरानले आफ्नो आक्रमणको दायरा विस्तार गर्दै खाडी क्षेत्रका ऊर्जा पूर्वाधारलाई लक्षित गरेपछि तेल तथा ग्यास आपूर्तिमा नयाँ अनिश्चितता देखिएको छ । मङ्गलबार कतार, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) मा भएका आक्रमणले उत्पादन र भण्डारण संरचनामा असर पारेका छन् भने अन्तर्राष्ट्रिय बजारमा मूल्यसमेत उकालो लागेको छ । कतारको राज्य सञ्चालित कतार एनर्जीले इरानी आक्रमणका कारण आफ्ना २ ग्यास प्रशोधन प्लान्ट प्रभावित भएको जनाएको छ । कम्पनीका अनुसार ड्रोन हमलापछि युरिया, पोलिमर, मेथनोल र एल्युमिनियमजस्ता पदार्थहरूको केही डाउनस्ट्रीम उत्पादन रोकिएको छ । यस घोषणासँगै लन्डन मेटल एक्सचेन्जमा आल्युमिनियमको मूल्य तत्काल करिब २ प्रतिशतले बढेको छ । विश्वकै प्रमुख तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यातकमध्ये एक मानिने कतारले सोमबार नै आफ्ना २ साइटमा ड्रोन प्रहार भएपछि एलएनजी उत्पादन अस्थायी रूपमा स्थगित गरेको थियो । उत्पादन रोकिएपछि युरोपेली बजारमा मूल्य तीव्र रूपमा बढेको जनाइएको छ । यसैबीच ओमानमा पनि ऊर्जा संरचनामाथि आक्रमण भएको छ । आधिकारिक समाचार एजेन्सीका अनुसार मङ्गलबार धेरै ड्रोनले देशको पूर्वी तटमा रहेको डुकम बन्दरगाहलाई निशाना बनाएका थिए । सुरक्षा स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारमा मानवीय क्षति नभएको र भएको क्षति नियन्त्रणमा लिइएको उल्लेख छ । युद्ध सुरु हुनुअघि इरान र अमेरिकाबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको ओमानका लागि यो तीन दिन यताको दोस्रो आक्रमण हो । आइतबार पनि सोही बन्दरगाहमा २ ड्रोन प्रहार हुँदा एक कामदार घाइते भएका थिए । एउटा ड्रोन कामदार आवासमा खसेको र अर्कोको भग्नावशेष इन्धन ट्याङ्की नजिकै परेको जनाइएको छ । मङ्गलबार ओमानले थप २ ड्रोन खसालेको र अर्को सलालाह बन्दरगाह नजिकै दुर्घटनाग्रस्त भएको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । संयुक्त अरब इमिरेट्समा भने रोकिने क्रममा खसालिएको ड्रोनको भग्नावशेष फुजैराहस्थित तेल भण्डारण तथा व्यापारिक क्षेत्रमा खसेर आगलागी भएको अधिकारीहरूले जनाएका छन् । फुजैराह मिडिया कार्यालयले कुनै मानवीय क्षति नभएको, आगो नियन्त्रणमा लिइएको र सामान्य सञ्चालन पुनः सुरु भएको जानकारी दिएको छ । युएईले युद्ध सुरु भएयता आफूलाई ८०० भन्दा बढी ड्रोन र करिब २०० मिसाइलले लक्षित गरेको दाबी गरेको छ । इरानले सोमबारदेखि साउदी अरेबिया, युएई र कतारजस्ता अमेरिकी सहयोगी देशहरूका पूर्वाधारलाई पनि लक्ष्य बनाउने सङ्केत दिएको थियो । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले मङ्गलबार इरानी क्षेप्यास्त्रले दोहा विमानस्थललाई निशाना बनाएको तर त्यसलाई सेनाले खसालेको बताए । अन्तर्राष्ट्रिय बजार विश्लेषकहरूले ऊर्जा आपूर्तिमा देखिएको अवरोधले धातु तथा ऊर्जा मूल्यमा थप दबाब सिर्जना गर्ने बताएका छन् । आइएनजी बैंकका विश्लेषकहरूले आल्युमिनियम उत्पादन निलम्बनले बजारमा जोखिम बढाउने उल्लेख गर्दै खाडी क्षेत्रमा विश्व उत्पादनको करिब आठ प्रतिशत हिस्सा केन्द्रित रहेको र आपूर्ति हर्मुज जलडमरूमध्य हुँदै समुद्री मार्गमा निर्भर रहेको बताएका छन् । यसै सन्दर्भमा इरानको रिभोल्युसनरी गाड्र्सका एक जनरलले सोमबार हर्मुज जलडमरूमध्य हुँदै आवागमन गर्न खोज्ने कुनै पनि जहाज जलाइदिने चेतावनी दिएका छन् । विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने यो मार्गमा अस्थिरता बढेमा अन्तर्राष्ट्रिय बजारमा थप उथलपुथल आउने आकलन गरिएको छ । 

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरलाई

काठमाडौं । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकालाई प्रदान गरिएको छ । पुनः निर्माणपछि उक्त ठाउँमा ३४७ वटा कार र ७०० वटा मोटरसाइकल अट्ने क्षमता छ । केही दिनअघि गृह मन्त्रालय, सहरी विकास मन्त्रालयका प्रतिनिधि र महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलसहितको छलफलपछि धरहराको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी महानगरलाई प्रदान गर्ने निर्णय गरेको हो । छलफलले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको तत्कालीन र दीर्घकालीन परियोजना प्रारूप तयार गर्न सहरी विकास मन्त्रालय र महानगरका अधिकारीसहितको समिति गठन गर्ने निर्णय गरेको छ । कार्यवाहक प्रमुख डङ्गोलले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको दायित्व महानगरपालिकाले ग्रहण गर्ने इच्छाअनुसार जिम्मेवारी प्राप्त गरिएको बताइन् । ‘वि.सं २०५५ मा साबिक स्थानीय निकाय हुँदा हस्तान्तरण भइसकेको संरचना स्थानीय सरकारलाई प्रदान गर्नुपर्छ भन्ने हाम्रो अनुरोध थियो । त्यसमध्ये पनि तत्काल गर्नुपर्ने काममध्ये सुरक्षित र व्यवस्थित सेवा हो,’ उनले भनिन्, ‘सडकमा पार्किङको विकल्पमा सुन्धारा एउटा विकल्प हो । यस ठाउँलाई सुरक्षित र व्यवस्थित बनाउँदै महानगर प्रहरी बल परिचालन गरेर निःशुल्क सेवा उपलब्ध गराउने छौँ ।’ वि.सं २०७२ को भूकम्पले ढलेको धरहरा पुनः निर्माणका लागि वि.सं २०७५ पुस १२ मा पुनः निर्माणका लागि भूमि पूजन र शिलान्यास भएको थियो । ३ अर्ब ४८ करोड १६ लाख ९१ हजार २४० रुपैयाँ लागतमा यसको पुनः निर्माण गरिएको हो । धरहरा ७९.२ मिटर अग्लो छ । बाहिरबाट ११ तला देखिने धरहराको भित्र २२ तला रहेका छन् ।