विकासन्युज

दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ सञ्चालन गरिने

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित चुरियामाई सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको छ । पालिकाले स्थानीय समुदायको अपनत्व कायम गराउँदै यसलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि जिम्मेवारी हस्तान्तरण गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।  स्थानीय समुदायको सहभागितामार्फत ऐतिहासिक सम्पदाको दिगो संरक्षण, पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास लिइएको उनले बताए ।  जिम्मेवारी हस्तान्तरणका लागि उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा र समितिका अध्यक्ष प्रेमबहादुर भोम्जनले संयुक्त रूपमा हस्ताक्षर गरिसकेको उनको भनाइ छ । उनका अनुसार सम्झौतासँगै समितिले सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनसँगै नियमित रेखदेख, सरसफाइ, मर्मत सम्भार, पर्यटक व्यवस्थापन तथा आवश्यक पूर्वाधार सञ्चालनको जिम्मेवारी वहन गर्नेछ । सुरुङ अवलोकनका लागि आउने पर्यटकबाट उपमहानगरपालिकाले निर्धारण गरेको शुल्क सङ्कलन गर्न सकिने व्यवस्था गरिएको छ भने सङ्कलित रकम सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनमै खर्च गर्नुपर्ने सम्झौतापत्रमा भनिएको छ । सम्झौतामा सुरुङको मौलिक तथा ऐतिहासिक संरचनामा कुनै परिवर्तन नगर्ने, यसको ऐतिहासिक स्वरूप सुरक्षित राख्ने तथा वार्षिक प्रगति विवरण र आय-व्ययको प्रतिवेदन उपमहानगरपालिकामा पेश गर्नुपर्ने व्यवस्था गरिएको उल्लेख गर्दै सम्झौतापत्रमा उपमहानगरपालिकाले आवश्यक अनुगमन, निर्देशन तथा समन्वय गर्ने भनिएको छ । दक्षिण एसियाकै पहिलो सुरुङका रूपमा रहेको यो मार्ग वि.सं १८७२ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा निर्माण सुरु भई वि.सं १८७४ सम्पन्न भएको थियो । तत्कालीन हेटौंडा-अमलेखगञ्ज रेलमार्ग अन्तर्गत निर्माण गरिएको ऐतिहासिक सम्पदाको निर्माणकार्यको प्राविधिक नेतृत्व तत्कालीन सडक विभागका मुख्य इन्जिनियर डिल्लीजंग थापाले गरेका थिए ।  लामो समयसम्म प्रयोग विहीन रहेको उक्त सुरुङको संरक्षण तथा मर्मत बागमती प्रदेश सरकारले सम्पन्न गरी हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । राम्रो प्रवर्द्धन गर्न सकेमा यो सुरुङ मकवानपुर जिल्लाकै महत्वपूर्ण ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुने विश्वास लिइएको छ । 

दाइजोका लागि हत्या गर्ने रामनाथ राय १८ वर्षपछि पक्राउ

काठमाडौं । दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार प्रहार गरेको हत्या गरी फरार रहेका एक जनालाई शुक्रबार सिरहा प्रहरीले पक्राउ गरेको छ । सिरहाको बरियारपट्टी गाउँपालिका-५ निवासी २५ वर्षीया चन्द्रिकादेवी रायलाई हतियार प्रहार गरेर हत्या गरी फरार रहेका स्थानीय ६० वर्षीय रामनाथ रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । दाइजोको विषयलाई लिएर गत २०६५ साल भदौ ३ गते चन्द्रिकाका श्रीमान् बौधा रायसहित तीन जनाले चन्द्रिकामाथि धारिलो हतियार प्रहार गरेको थियो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते चन्द्रिकाको भारतको बिहार राज्यको पटनामा उपचार गराउँदा उपचार हुन नसकि पुनः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तर्फ लैजाने क्रममा मृत्यु भएको थियो । घटना पश्चात् फरारमध्ये रामनाथ रायलाई खोजी गर्ने क्रममा गाउँबाटै पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक पालले बताए । 

कर्णालीका सडक बुझ्न मन्त्री लम्साल फिल्डमा, हिल्सा पुगेर निरीक्षण गर्ने

काठमाडौं । कर्णालीको सडक पूर्वाधारको अवस्था अनुगमन तथा निरीक्षण गर्न पूर्वाधार विकास मन्त्री सुनिल लम्साल कालीकोट पुगेका छन् । सडकको अवस्थाबारे सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख सहित कर्मचारीसँग संक्षिप्त जानकारी लिए लगत्तै मन्त्री लम्साल कर्णाली राजमार्ग दैलेख हुँदै कालिकोट पुगेका प्रतिनिधिसभा सांसद रमेशकुमार सापकोटाले जानकारी दिए ।  उनका अनुसार मन्त्री लम्सालले आज शनिबार कालिकोट-नाग्म-गमगढी सडक र आइतबार खुलालु-कोल्टी-सिमकोट सडक हुँदै बाजुराको कोल्टी प्रस्थान गरी सडक अनुगमन तथा निरीक्षण गर्ने कार्यतालिका रहेको छ । ती सडकको निरीक्षण सकेलगत्तै उनी नेपाल-चीन सीमानाका हिल्सा र हुम्लाको सिमकोटसम्मको सडक सञ्जालको निरीक्षणमा पुग्ने सांसद सापकोटाले बताए ।

नेपाल औषधि लिमिटेडले २ वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी २ वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ । यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच उक्त समझदारीपत्रको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । हाल नेपाल औषधि लिमिटेडबाट ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन् । आगामी चरणमा उच्च रक्तचाप र मधुमेहलगायतका दीर्घ रोगका औषधिसमेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना रहेको छ । यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयको भनाइ छ । मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ । समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद मन्त्रालय र औषधि लिमिटेडबीच सहज, नियमित र संस्थागत प्रणालीमार्फत हुने व्यवस्था मिलाइने छ । यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । यसैगरी औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस पहलले स्वदेशी औषधि उद्योगको प्रवर्द्धन, औषधिमा आत्मनिर्भरता अभिवृद्धि, आयातमा निर्भरता न्यूनीकरण तथा नागरिकलाई गुणस्तरीय र सुलभ अत्यावश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित गर्ने सरकारको दीर्घकालीन लक्ष्यलाई सशक्त रूपमा अघि बढाउने विश्वास लिइएको छ ।

नक्कली र लेबलविहीन जुत्ता–चप्पल बेच्नेलाई कारबाही गर्ने विभागको चेतावनी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएको फुटवेयर (जुत्ता, चप्पललगायत) उत्पादनका भौतिक तथा ‘डिजिटल प्लेटफर्म’को माध्यमबाट बिक्रीवितरण नगर्न आग्रह  गरेको छ । विभागले विभिन्न माध्यमबाट उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै सो आग्रह गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ मा उत्पादकले आफूले उत्पादन गरेको वस्तुमा ऐनले तोके बमोजिमको लेवल लगाउनुपर्ने, दफा ८ मा पैठारीकर्ताले वस्तु पैठारी गर्दा कानुन बमोजिमका शर्त पूरा गर्नुपर्ने र दफा ११ वस्तु बिक्री गर्ने बिक्रेताको दायित्वलगायतका कानुनी प्रावधान बमोजिम उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरेको छ । सूचना जारी गर्दै विभागले सम्बन्धी सबै उत्पादक पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र बिक्रेतालाई कानुनले तोके बमोजिमको दायित्व तथा शर्त बन्देज परिपालना गरी उद्योग व्यवसाय सञ्चालन गर्न गराउन सूचित गरेको छ । कानुन विपरितकार्य भए गरेको पाइएमा कानुन बमोजिम कडाभन्दा कडा कारवाही हुने सबैलाई विभागले जानकारी गराएको छ । 

आगामी साताभर देशभर मनसुन सक्रिय रहने, मध्यतिर भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । आगामी साताभरि देशभर मनसुनी वायुको प्रभाव कायम रहनुका साथै साताको मध्यतिर देशका विभिन्न भूभागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकी मौसमविद् विनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदर स्थानभन्दा माथि रहनेछ भने पूर्वी भूभागमा साताको मध्यदेखि सरदर स्थानभन्दा केही माथि सर्दै तराई नजिक रहने अनुमान छ । यसका कारण साताभरि देशभर वर्षाको गतिविधि सक्रिय रहने उनले बताइन् ।  उनका अनुसार हिमाली क्षेत्रमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साताको सुरु र मध्यमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना छ । साताको सुरु र अन्त्यमा एकदुई स्थान तथा मध्यतिर केही स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको मौसमविद् महर्जनले जानकारी दिइन् । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि मध्यम वर्षा तथा साताको मध्यमा एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताइन् ।  त्यसैगरी, पहाडी क्षेत्रमा भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साताभर मध्यम वर्षा हुने अनुमान गरिएको जनाइएको छ । साताको सुरु र अन्त्यमा केही स्थानमा भारी वर्षा तथा मध्यतिर केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने विभागले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि साताको मध्यमा वर्षाको गतिविधि अझ सक्रिय हुने र केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ । तराई क्षेत्रमा पनि साताभर वर्षा जारी रहने अनुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एकदुई स्थानमा साताको सुरु र मध्यमा भारी वर्षा तथा मध्यतिर केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिइन् ।  मधेस र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साताको सुरुमा एकदुई स्थान तथा मध्यतिर केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागले साताको मध्यतिर वर्षा तीव्र हुने पूर्वानुमान रहेकाले नदीनाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा सहरी डुबान हुने स्थानका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

एनआईसी एशिया क्यापिटलको डिम्याट खातामा अब अनलाइनबाटै राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्न सकिने

काठमाडौं । एनआईसी एशिया क्यापिटलले आफ्ना डिम्याट खातावालाहरूका लागि अनलाइनमार्फत नै राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक (अपडेट) गर्न सकिने नयाँ व्यवस्था मिलाएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको निर्देशनबमोजिम नयाँ डिम्याट खाता खोल्दा वा पुराना खाताको केवाइसी विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएपछि क्यापिटलले यो सहज डिजिटल सुविधा ल्याएको हो ।  ‘लाइनमा होइन, अनलाइनमा’ भन्ने मूल मन्त्रसहित आफ्ना सेवाहरूलाई डिजिटल बनाउँदै आएको क्यापिटलको यो व्यवस्थाबाट एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंकका शाखाहरूबाट डिम्याट खाता खोलेका ग्राहकहरू लाभान्वित हुनेछन् । डिम्याट खातामा अनलाइनमार्फत राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नका लागि ग्राहकहरूले क्यापिटलको वेबसाइटमा रहेको निश्चित लिङ्क https://dematonline.nicasiacapital.com/ मा गएर आफ्नो डिम्याट खाता नम्बर र जन्ममिति प्रविष्ट गर्नुपर्नेछ ।  त्यसपछि खातामा दर्ता भएको मोबाइल नम्बर वा इमेलमा प्राप्त हुने ओटिपी प्रमाणीकरण गरी राष्ट्रिय परिचयपत्र नम्बर र परिचयपत्रको अगाडिको भागको प्रष्ट फोटो वा एनआईडी कन्फर्मेसन पत्र अपलोड गर्नुपर्ने क्यापिटलले जनाएको छ ।  यसरी विवरण पठाएपछि उक्त नम्बर डिम्याट खातामा अद्यावधिक भए/नभएको स्थिति (स्टेटस) समेत वेबसाइटको ‘चेक रिजल्ट’ मा क्लिक गरी अनलाइनबाटै ट्र्याक गर्न सकिनेछ । यसका साथै, डिम्याट खातामा एनआईसी एशिया बैंकको खाता उल्लेख भएका ग्राहकहरूको बैंक खातामै राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक रहेको खण्डमा सोही आधारमा डिम्याट खातामा पनि सोझै एनआईडी अद्यावधिक हुने व्यवस्था मिलाइने क्यापिटलले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्यजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ आयोजना

काठमाडौं । अग्नि ग्रुप अन्तर्गतको प्यजो मोटरसाइकल्स नेपालले काठमाडौंस्थित ‘ला टेरास’ मा ‘सोइरे फ्राँसेज – अ नाइट अफ फ्रेन्च एलिगेन्स’ शीर्षकमा विशेष फ्रेन्च फाइन डाइनिङ कार्यक्रम आयोजना गरेको छ ।  फ्रान्सको समृद्ध सांस्कृतिक विरासत र प्रेरणादायी भावनालाई सम्मान गर्दै आपसी सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ आयोजित उक्त विशेष साँझमा प्यजोका विशिष्ट ग्राहक, व्यावसायिक साझेदार तथा फ्रान्सेली संस्कृतिप्रेमी अतिथिहरूको उत्साहजनक सहभागिता रहेको थियो । विशेषगरी सन् २०२६ को फिफा विश्वकपमा फ्रान्सेली टोलीले प्रदर्शन गरेको समर्पण, दृढता, उत्कृष्टता र एकताको भावनाबाट प्रेरित यस कार्यक्रमले खेलको नतिजाभन्दा माथि उठेर फ्रान्सेली खेल संस्कृतिको अदम्य भावना र विरासतलाई सम्मान गरेको थियो, जुन मूल्यहरू प्यजो ब्रान्डको दीर्घकालीन पहिचानसँग समेत मेल खान्छन् ।  कार्यक्रममा सहभागी अतिथिहरूले विभिन्न फ्रेन्च परिकार, पेरिसबाट प्रेरित आकर्षक सजावट र आत्मीय वातावरणमा नेटवर्किङको अनुभव लिएका थिए । यस अवसरमा प्यजो मोटरसाइकल्स नेपालका प्रतिनिधिहरूले गुणस्तरीय गतिशीलता (मोबिलिटी) समाधानका साथै ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको जीवनशैली अनुभव प्रदान गर्ने र प्यजोको विश्वव्यापी मूल्य तथा परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।  फ्रान्सेली संस्कृति, मित्रता र उत्कृष्टताको साझा भावनाप्रति सम्मान व्यक्त गर्दै टोस्टसँगै समापन भएको यस कार्यक्रमले प्यजो मोटरसाइकल्सले आफ्ना ग्राहकसँग कायम राख्दै आएको प्रिमियम सम्बन्धलाई थप मजबुत बनाएको छ ।