नबिल बैंक र ग्रोथ अड्भाइजर्सबीच साझेदारी, ८४ करोड अनुदान दिने
काठमाडौं । नबिल बैंक र नेपाल इन बिजनेश - ग्रोथ अड्भाइजर्स (एनआइबी-जिए) बीच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउनका लागि रणनीतिक साझेदारी भएको छ । साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र एनआइबी कार्यक्रमका प्रमुख रतिस बस्न्यातबीच हस्ताक्षर भएको छ । उक्त कार्यक्रमअन्तर्गत फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट कार्यालय (एफसिडिओ) ले एनआइबी–जिए मार्फत विभिन्न ४० वटा साना तथा मझौला उद्यमलाई एनआइबीले तोकेको मुख्य क्षेत्र र भूगोलका आधारमा ८४ करोड रुपैयाँ (४.५ मिलियन पाउण्ड) अनुदान उपलब्ध गराउनेछ । उक्त अनुदान सहयोगले उद्यमीलाई उत्पादन र सेवा विस्तार गर्दै निर्यात उन्मुख उद्यमका रुपमा विकास गर्न सहयोग गर्ने जनाइएको छ । नबिल बैंकका सिइओ ज्ञवालीले यसप्रकारका अभियानले साना तथा मझौता उद्यमीहरुको मनोबल बढाउन सहयोग पुग्ने बताए । 'यो परियोजना साना तथा मझौला उद्यमको विकास गर्न उद्यमी र नीति निर्मातासँग नजिक रही काम गर्ने उद्देश्यले तयार पारिएको छ', उनले भने, 'परियोजनाअन्तर्गत नबिल बैंकले साझेदार संस्थालाई एसएमई कर्जा र च्यानल फाइनान्सिङको सुविधा उपलब्ध गराउन सकिनेछ ।' एनआइबी–जिए कार्यक्रमका प्रमुख बस्न्यातले परियोजनामा व्यवस्थित र पारदर्शी रुपमा अनुदान व्यवस्थापन गर्न लागेकामा नबिल बैंकप्रति आभार व्यक्त गरे । 'यसप्रकारको सहकार्य सोही प्रकृत्तिका अन्य परियोजनामा पनि लागू गर्न सकिन्छ, सरकारले पनि पुँजीगत खर्चको प्रभावकारिता बढाउनका लागि यसप्रकारका ढाँचा अबलम्बन गर्न सक्छ', उनले भने । साझेदारीअनुसार नबिल बैंकले कार्यक्रमको वित्तीय साझेदारका रुपमा उद्यमीलाई अनुदान वितरण गर्नेछ । बैंकले सबै साझेदार संस्थाका लागि सुरक्षित, पारदर्शी र प्रभावकारी रुपमा वित्तीय व्यवस्थापन गर्ने जनाइएको छ । एनआइबीको उक्त कार्यक्रम अनुदान र प्राविधिक सहायता प्रदान गरी साना तथा मझौला उद्यमलाई सुदृढीकरण गर्दै दिगो र उत्पादनशील रोजगारी सृजनामा केन्द्रित रहेको बैंकको भनाइ छ । एनआइबी–जिए पाँच वर्षे परियोजना हो । परियोजनामा बेलायतको यूके इन्टरनेशनल डेभलपमेन्टबाट वित्तीय सहयोग प्राप्त छ भने डिएआई ग्लोबल यूकेले कार्यान्वयन गर्दै आएको छ ।
सामाजिक सुरक्षा कोषमा बढी योगदान गर्ने ८ रोजगारदाता सम्मानित, को–को परे ?
काठमाडौं । आठौं सामाजिक सुरक्षा दिवसका अवसरमा विभिन्न कम्पनी सम्मानित भएका छन् । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले विभिन्न कम्पनीलाई सम्मान गरेको जानकारी दिए । उनीहरूलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्मान गरेकी हुन् । वित्तीय तथा बीमा क्षेत्रमा लक्ष्मी सनराइज बैंक सबैभन्दा बढी योगदानकर्ता भएका र योगदान रकमको आधारमा सम्मानित हुने कम्पनी हो । त्यसैगरी, औद्योगिक उत्पादन क्षेत्रमा अरिहन्त मल्टी फाइबर्स लि, थोक र खुद्रा व्यापार क्षेत्रमा भाटभटेनी सुपरमार्केट, अन्य सेवामामा गोर्खा वेलफेयर ट्रस्ट नेपाल र प्रशासनिक सहयोगी सेवामा सुदर्शन सेक्युरिटी सर्भिसेज प्रालि रहेका छन् । शिक्षा क्षेत्रमा युलेन्स एजुकेशन फाउण्डेशन र चितवन मेडिकल कलेज सम्मानित भएका छन् । युलेन्स योगदान रकमा आधारमा सम्मानित भएको हो भने चितवन मेडिकल कलेज योगदानकर्ताको आधारमा सम्मानित भएको हो । मानव स्वास्थ्य र सामाजिक कार्य क्षेत्रमा वर्ल्ड भिजन इन्टरनेशनल र नर्भिक इन्टरनेशनल हस्पिटल सम्मानित भएका छन् । वर्ल्ड भिजन योगदान रकमका आधारमा र नर्भिक योगदानकर्ताको आधारमा सम्मानित भएका हुन्। सूचना तथा सञ्चार क्षेत्रमा सिडार गेट योगदान रकमका आधारमा र स्पाउट टेक्नोलोजी सर्भिस प्रालि योगदानकर्ताको आधारमा सम्मानित भएका हुन् । मानव स्वास्थ्य र सामाजिक कार्यमा वर्ल्ड भिजन इन्टरनेशनल र सूचना तथा सञ्चारमा सिडार गेट सर्भिसेज प्रालि पनि योगदान रकमका आधारमा सम्मानित भएका छन् । सामाजिक सुरक्षा कोषसँग सेवा सम्झौता गरी कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य सेवा प्रवाह गरिरहेका स्वास्थ्य संस्थाहरूमध्ये सबैभन्दा धेरै योगदानकर्तालाई सेवा प्रदान गर्ने ६ प्रदेशबाट १/१ वटाको दरले जम्मा ६ वटा संस्था छनौट गरिएको कार्यकारी निर्देशक अधिकारीले जानकारी दिए । ती संस्थामध्ये कोशी प्रदेशको विराट मेडिकल कलेज शिक्षण अस्पताल, मधेश प्रदेशको नेशनल मेडिकल कलेज, बागमती प्रदेशको काठमाडौँ मेडिकल कलेज, गण्डकी प्रदेशको चरक मेमोरियल हस्पिटल, लुम्बिनी प्रदेशको लर्ड बुद्ध एजुकेशनल एकेडेमी र सुदूरपश्चिम प्रदेशको नवजीवन अस्पताल प्रालि रहेका छन् ।
नेप्से १०.४३ अंकले बढ्यो, ६ अर्ब ६६ करोडको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार वृद्धि भएर बन्द भएको छ । आइतबारदेखि लगातार बढ्दै आएको बजारले बिहीबार पनि उकालो यात्रा कायम राख्दै नेप्से परिसूचक १०.४३ अंकले उक्लिएर २,६७६ विन्दुमा पुगेको हाे । बजारमा १३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२१ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३३३ कम्पनीका १ करोड ४६ लाख ९३ हजार कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ, जसको कारोबार ४० करोड १७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै ङादी ग्रुप पावरको १६ करोड ३६ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा सागर डिष्टिलरीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर इनर्जीकाे सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
गोल्यान ग्रुपले शहीद परिवारलाई अध्ययनका लागि वार्षिक डेढ करोड खर्च गर्ने
काठमाडौं । गोल्यान ग्रुपले जेनजी आन्दोलनका शहीद परिवारलाई वार्षिक डेढ करोड खर्च गर्ने भएको छ । ग्रुपले सहिदका बालबालिकालाई अध्ययनको लागि खर्च गर्ने भएको हो । शहीद परिवारका बालबालिकालाई अध्ययनको लागि गोल्यान ग्रुप, विद्यालय र अभिभावकबीच त्रिपक्षीय सम्झौता भएको छ । गोल्याणले गत असोज २४ मा गरेको घोषणालाई कार्यान्वयन गर्ने क्रममा त्रिपक्षीय सम्झौता भएको हो । पहिलो चरणमा मंगलबार गोल्याण टावरमा आयोजित कार्यक्रममा ६ जना सहिदका ९ बालबालिकालाई शैक्षिक वृत्ति प्रदान गर्ने गरि सम्झौता भएको छ । सम्झौता अनुसार गोल्याण ग्रुपले बालबालिकाको शिक्षामा मासिक ४० हजारको दरले वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँ खर्च व्यहोर्नेछ । ‘उक्त छात्रवृत्तिमा विद्यार्थीको मासिक शैक्षिक शुल्क, खाना तथा खाजाको शुल्क, छात्रावास शुल्क, यातायात शुल्क, विद्यालयद्वारा सञ्चालित अतिरिक्त क्रियाकलापका शुल्क, वार्षिक भर्ना शुल्क, प्रशासनिक शुल्क, पुस्तक तथा स्टेशनरी खर्च, विद्यालयको पोशाक शुल्कलगायत विद्यालयको बिल–बिजकमा उल्लिखित सम्पूर्ण शुल्कहरू समावेश रहनेछ,’ त्रिपक्षीय सम्झौतामा भनिएको छ, ‘छात्रवृत्ति रकम विद्यालयले समय–समयमा जारी गरेको बिल–विजक बमोजिम गोल्याण ग्रुपद्वारा सोझै विद्यालयलाई भुक्तानी गरिनेछ ।’ गोल्याण ग्रुपले छात्रवृत्ति रकमको सीमाभित्र रहेर विद्यार्थीलाई उनीहरुको रुचिअनुसार अतिरिक्त क्रियाकलापमा खर्चसमेत व्यहोर्नेछ । विद्यालयले अतिरक्त क्रियाकलाप प्रदान नगरेको खण्डमा विद्यार्थीले उक्त क्रियाकलाप अन्य संस्था/संगठनबाट सिक्न सक्ने र सो वापतको रकम गोल्याण ग्रुपले छात्रवृत्ति रकमको सीमाभित्र रहेर भुक्तानी गर्ने सम्झौतामा भनिएको छ । सहिद अनिष पराजुलीका दुई छोरामध्ये जेठो छोरा नर्थ पोल एकाडेमी, मनमैजु (कक्षा ८) र कान्छो छोरा काठमाडौं यूरो स्कुल बानियाटार (प्ले ग्रुप) मा अध्ययन गर्ने गरी सम्झौता भएको छ । त्यसैगरी सहिद अभिषेक चौलागाइँकी बहिनी जागृती विद्या सदन इंलिस स्कुल भक्तपुर (कक्षा १०), सहिद बुद्धिबहादुर तामाङका छोरा कश्यप एकाडेमी कलंकी (कक्षा ८), सहिद सौरन किशोर श्रेष्ठका छोरा यूरो स्कुल छाउनी (कक्षा १), सहिद सन्तोष विश्वकर्माका छोरा र छोरी क्याम्ब्रिज पब्लिक हाइस्कुल वानेश्वर (क्रमशः कक्षा ३ र २) तथा सहिद साजनकुमार राईका दुई छोरा त्रि–ज्योती सेकेन्डरी स्कुल कपन (कक्षा ७ र यूकेजी) मा अध्ययनन गर्ने गरी सम्झौता भएको छ । सम्झौतामा सामेल बालबालिकाको कक्षा १२ सम्मको शैक्षिक खर्च घोषित आर्थिक प्याकेजको सीमाभित्र रहेर व्यहोरिनेछ । सम्झौतापत्रमा गोल्याण ग्रुपको तर्फबाट कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड पब्लिक रिलेसन प्रमुख ज्योति गैह्रे, बालबालिका अध्ययनरत विद्यालयका प्रधानाध्यापक र बालबालिकाका संरक्षक (अभिभावक) ले हस्ताक्षर गरेका छन् । कार्यक्रममा बोल्दै गोल्याण ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्याणले सहिद परिवारका बालबालिकाहरुको शिक्षाको दायित्व लिने प्रतिवद्धता कार्यान्वयनको महत्वपूर्ण चरण सुरु भएको बताए । जेनजी आन्दोलनका सहिदहरुको योगदानको कदर स्वरुप उनीहरुमा आश्रित बालबालिकाको शिक्षाको जिम्मेवारी लिइएको उनको भनाइ थियो । ‘हामीले व्यवसायलाई प्रवद्र्धन गर्न वा कुनै मार्केटिङको लागि नभई मन–मुटुबाटै भावनात्मक रुपमा बालबालिकाको शिक्षाको जिम्मेवारी लिएका हौं,’ उनले भने, ‘यो सम्झौताले प्रत्येक बच्चाले गुणस्तरीय शिक्षा पाउने मात्र नभई कक्षाकोठाभन्दा बाहिर उनीहरूको प्रतिभा र क्षमता विकास हुने अवसरको पनि सुनिश्चित गर्दछ ।’ बालबालिकाले गुणस्तरीय शिक्षा र असल संस्कार पाउँदा त्यसबाट सिंगो देशको भविष्यमा सकारात्मक प्रभाव पार्ने उनले बताए । बालबालिकाको शिक्षा र उनीहरुको उज्वल भविष्यको लागि गोल्याण ग्रुप सधैं साथमा रहने उनले प्रतिवद्धता व्यक्त गरे । गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड पब्लिक रिलेसन प्रमुख ज्योति गैह्रेले २४ परिवारका ३२ जना बालबालिकालाई शैक्षिक वृत्ति प्रदान गरिने जानकारी दिइन । तीमध्ये मंगलबार ९ बालबालिकाको त्रिपक्षीय सम्झौता भएको हो । अन्य बालबालिकाहरुको पनि छात्रवृत्ति सम्झौताको तयारी भइरहेको उनले बताइन् । उनका अनुसार गोल्याण ग्रुपले शैक्षिक वृत्तिको लागि वार्षिक करिब १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । ‘शैक्षिक वृत्तिमा नसमेटिएका सहिद परिवारका लागि स्वास्थ्य बिमा गर्ने प्रक्रिया पनि सँगसँगै अघि बढिरहेको छ,’ उनले भनिन्, ‘हरेक सहिद परिवार शिक्षा वा स्वास्थ्य बिमा कार्यक्रमबाट लाभान्वित हुनुहनेछ ।’
सुदूरपश्चिमको लगातार चौथो जित, लुम्बिनी लायन्सको हारको ह्याट्रिक
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अपराजित रहेको टोली सुदूरपश्चिम रोयल्सले चौथो खेलमा लुम्बिनी लायन्सलाई पराजित गरेको छ । सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा लुम्बिनीको यो लगातार तेस्रो हार हो । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९।४ ओभरमा १ सय ४३ रन जोड्दा अलआउट भएको थियो । जवाफमा १ सय ४४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले उक्त लक्ष्य ४ बल बाँकी हुँदा पूरा गर्यो । सुदूरपश्चिमको प्रभावशाली जितमा ओपनर विनोद भण्डारीले ४९ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ६९ रनको अर्धशतकीय इनिङ्स खेले । उनले आरिफ शेखसँग चौथो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए । शेख ३९ रनमा आउट भएका थिए । यी दुईबाहेक क्रिस लिनले १६ रन बनाउँदा जोश ब्राउनले ९ रन बनाएका थिए । लुम्बिनीका लागि रुवेन ट्रम्पलमेन र अभिशेष गौतमले १(१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३५ रन बनाउँदा दिलिप नाथले ३१ रन बनाए । त्यस्तै, ड्’यार्सी सर्ट र सुमित महर्जनले समान १८ रन बनाएका थिए । त्यस्तै, थप दोहोरो स्कोरका रुपमा गुल्बदिन नाइबको ११ रन रह्यो । लुम्बिनीले पहिलो खेलमा जित निकालेयता लगातार पराजय भोगिरहेको छ । सुदूरपश्चिम ४ खेलबाट ८ अङ्क बनाई शीर्ष स्थानमा कायम रहँदा पराजित लुम्बिनीको समान खेलबाट २ अंक मात्र रहेको छ ।
जाडोमा घुँडा, ढाड र काँध दुख्ने समस्या छ ? अपनाउनुहोस् यी पाँच उपाय
काठमाडौं । जाडोमा घुँडा, ढाड र काँध दुख्ने समस्या बढ्ने गर्छ । चिसो मौसमले मांसपेशीहरू साँघुरो बनाउँछ, जसले गर्दा शरीर कडा महसुस हुन्छ र जोर्नीहरूमा बढी दबाब पर्छ । जसकारण जोर्नी वरिपरि सुन्निने र दुखाइ बढ्ने हुन्छ । के तपाईंको पनि जोर्नीहरू जाडोमा कडा हुने र दुखाइ बढ्ने हुन्छ ? आउनूहोस जाडोमा चिसोबाट बच्न र दुखाइबाट राहत दिन सक्ने यी ५ सजिला उपायहरूको बारेमा जानौं । आफूलाई न्यानो राख्नूहोस् चिसो हावाले व्यक्तिकोे मांसपेशी र जोर्नीहरूलाई सिधै कडा बनाउँछ । घर भित्र होस् वा बाहिर आफ्नो शरीरलाई न्यानो राख्ने प्रयास गर्नुपर्छ । शरीरलाई न्यानो बनाउन न्यानो लुगा लगाउनुपर्छ । तातोपानीले नुहाउँदा मांसपेशीहरूले खुल्छन् र दुखाइ कम हुन्छ । तपाईंको शरीर जति न्यानो हुन्छ यो समस्याबाट पनि बच्न सकिन्छ । हरेक दिन थोरै हिँडिरहनूहोस् जाडोमा हामी कम हिँडडुल गर्छौं, जसले गर्दा जोर्नीहरू कडा हुन सक्छन् । हिँड्ने, तन्काउने वा हल्का व्यायाम गर्नाले जोर्नीहरू लचिलो राख्न मद्दत गर्न सक्छ । घरमा योग गर्दा, साधारण व्यायाम वा हल्का हिँडाइ पनि धेरै फाइदाजनक हुन सक्छ । व्यक्तिको शरीर जति धेरै चल्छ, त्यति नै कम कडा हुनुहुन्छ । आफ्नो तौल नियन्त्रणमा राख्नूहोस् जाडोमा व्यक्तिको तौल पनि बढ्छ । धेरै खानपान, कम गतिविधि हुँदा तौल बढ्ने गरेको हो । बढ्दो तौलले जोर्नीहरूमा प्रत्यक्ष दबाब दिन्छ । त्यसैले सन्तुलित आहार खाने प्रयास गर्नूहोस् । आफ्नो आहारमा सलाद, फलफूल, तरकारी, दाल र हल्का प्रोटिन समावेश गर्नूहोस् । यसका साथै जामुन, सुख्खा फलफूल, माछा, लसुन आदिले पनि सूजन कम गर्न मद्दत गर्छ । पानी पिइराख्नूहोस् चिसोमा तिर्खा कम लाग्छ, तर शरीरलाई अझै पनि पानी चाहिन्छ । पानीको कमीले जोर्नीको दुखाइ बढाउन सक्छ । पानी, हर्बल चिया, सुप वा ताजा जुसले शरीरलाई हाइड्रेटेड राख्छ र जोर्नीहरूमा लचिलोपन कायम राख्छ । यो समस्याबाट बच्न झोलिलो खानेकुरा र पर्याप्त पानी पिउनूहोस् । दुखाइ हुनेबित्तिकै तुरुन्तै उपचार गर्नूहोस् यदि दुखाइ सुरु भयो भने यसलाई बेवास्ता नगर्नूहोस् । तातो कम्प्रेस वा तताउने प्याडले राहत प्रदान गर्न सक्छ । यदि हल्का सुन्निएको छ भने डाक्टरले तोकेको औषधी पनि लिन सकिन्छ । यदि दुखाइ बारम्बार हुन्छ वा धेरै बढ्छ भने डाक्टरसँग परामर्श गर्नु महत्त्वपूर्ण छ । तपाईं चिसो मौसम रोक्न सक्नुहुन्न । तर जोर्नी दुखाइलाई निश्चित रूपमा नियन्त्रण गर्न सक्नुहुन्छ । थोरै सावधानी र केही साधारण बानीहरूले सम्पूर्ण जाडो मौसमलाई आरामदायी बनाउन सक्छ ।
सिन्धुलीको आदर्शनगरमा कजारियाको नयाँ टाइल शोरूम उद्घाटन
काठमाडौं । टाइल ब्रान्ड कजारियाले सिन्धुलीको आदर्शनगरमा नयाँ तथा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ । यो शोरूमलाई शाह आइरन एन्ड इलेक्ट्रोनिक स्टोर्सले सञ्चालन गर्ने कम्पनीले जनाएको छ । उद्घाटन समारोह शाह आइरन एन्ड इलेक्ट्रोनिक स्टोर्सका मालिक करिराम शाह, स्थानीय सम्मानित अतिथि तथा शुभेच्छुकहरूको उपस्थितिमा सम्पन्न भयो । कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीले रिबन काटेर औपचारिक गरे । समारोहलाई सम्बोधन गर्दै डिलर तथा मालिक करिराम शाहले कजारियासँगको साझेदारीलाई गौरवको विषय भएको बताउँदै भने, 'हामी कजारियासँग जोडिन पाउँदा अत्यन्त खुसी छौँ । गुणस्तर र नवप्रवर्तनको पर्याय बनेका प्रिमियम टाइल तथा उत्कृष्ट डिजाइनहरू अब सिन्धुलीमै सहज रूपमा उपलब्ध हुनेछन् ।' त्यसैगरी, कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीले भने, 'कजारिया सधैँ उत्कृष्टता प्रदान गर्न कटिबद्ध छ । यो नयाँ शोरूममार्फत हामी ग्राहकहरूसँग अझ नजिक हुँदैछौँ । नेपालमा निर्माण तथा भित्री सजावट क्षेत्र तीव्र रूपमा विकसित भइरहेका छन्, र हामी मजबुत, आकर्षक तथा अत्याधुनिक प्रविधियुक्त उत्पादनमार्फत यस विकासलाई टेवा दिन उत्साहित छौँ ।' सिन्धुलीको आदर्शनगरस्थित नयाँ शोरूममा कजारियाका प्रिमियम टाइलहरूको विस्तृत दायरा प्रदर्शित गरिएको छ । जसले ग्राहकलाई सहज पहुँच, विकल्पको विविधता तथा इन्टेरियर आवश्यकताअनुसार उपयुक्त उत्पादन छनोट गर्ने सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
नेकपा संयुक्तमा प्रवेश गरे एकीकृत समाजवादीका महासचिव भुसाल
काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबाट गठन भएको नेपाली कम्युनिस्ट पार्टीमा समाहित नभएका समाजवादीका महासचिव घनश्याम भुसाल नेकपा संयुक्तमा प्रवेश गरेका छन् । बिहीबार आयोजित एक कार्यक्रममार्फत महासचिव भुसाल र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान औपचारिक रूपमा नेकपा संयुक्तमा समाहित भएको घोषणा गरेका हुन्। कम्युनिस्ट आन्दोलनका पुराना नेता विष्णुबहादुर मानन्धरले स्थापना गरेको नेकपा मानन्धर नै अहिलेको नेकपा संयुक्तको आधार हो । २०४८ को आम निर्वाचनताका उक्त पार्टीको नाम परिवर्तन गरी नेकपा प्रजातन्त्रवादी राखिएको थियो । २०४७ को अन्तरिम सरकारमा कानुनमन्त्रीका रूपमा समावेश भएका निलाम्बर आचार्य त्यतिबेला यही दलका प्रतिनिधि थिए । यस दलले २०४८ को आम निर्वाचनमा ३ सिट जितेको इतिहास छ । पछि २०४९ मा नेकपा प्रजातन्त्रवादी, बर्मा समूह र अमात्य समूह एकीकृत भएर नेकपा संयुक्त बनेको थियो । अब एमालेका पूर्वउपमहासचिव तथा नेकपा समाजवादीका महासचिव रहेका भुसालसहित उनको समूह यस पार्टीको नेता बन्नेछन् । भुसालको नेकपा संयुक्त प्रवेशलाई राजनीतिक रूपमा निकै चासोका साथ हेरिएको छ । भुसाल समूहले नेकपा संयुक्तकै निर्वाचन चिन्ह हँसिया स्वीकृत गरेको भुसाल निकटस्थ एक नेताले जानकारी दिए । उनका अनुसार निर्वाचन आयोगमा विधिवत दर्ता भएको दल भएकै कारण उनीहरू संयुक्तमा समाहित हुने निर्णयमा पुगेका हुन् ।