विदेश भ्रमणमा बाहिरियो २ खर्ब रुपैयाँ
काठमाडौं । गत आर्थिक वर्ष २०८२÷८३ को पहिलो ११ महिनामा नेपालीहरूले विदेश भ्रमणका क्रममा झण्डै २ खर्ब रुपैयाँ खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आवको साउनदेखि जेठ मसान्तसम्म विदेश भ्रमणमा कुल १ खर्ब ९३ अर्ब ६५ करोड रुपैयाँ बाहिरिएको छ। कुल भ्रमण व्ययमध्ये शिक्षातर्फ मात्रै १ खर्ब ३२ अर्ब २३ करोड रुपैयाँ खर्च भएको छ, जुन कुल भ्रमण व्ययको सबैभन्दा ठूलो हिस्सा हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विदेश भ्रमणमा २ खर्ब ३ अर्ब १८ करोड रुपैयाँ खर्च भएको थियो भने शिक्षातर्फको व्यय १ खर्ब २४ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो । यसैबीच, समीक्षा अवधिमा नेपालको खुद सेवा आय ७२ अर्ब ५४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८२ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो । सेवा खाताअन्तर्गत भ्रमण आय ०.१ प्रतिशतले घटेर ८२ अर्ब २२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८२ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो ।
३९ वर्षमा पनि मेसीकै जादु, विश्वकपमा फेरि इतिहास रच्ने अवसर
काठमाडौं । सन् २०२२ को विश्वकप फाइनल नै लियोनेल मेसीको अन्तिम विश्वकप खेल हुने अपेक्षा गरिएको थियो । स्वयं मेस्सीले पनि उक्त कुरा बताएका थिए । क्रोएसियामाथि अर्जेन्टिनाले ३–० को सेमिफाइनल जित निकालेपछि डिसेम्बर २०२२ मा उनले भनेका थिए, ‘विश्वकप यात्राको अन्त्य फाइनलमा गर्न पाउँदा म निकै खुसी छु । अन्तिम खेल नै फाइनल खेल्न पाउनु विशेष कुरा हो ।’ तर, चार वर्षपछि पनि दृश्य फेरिएको छैन । मेसी अझै पनि अर्जेन्टिनाको खेलको केन्द्रबिन्दु बनेका छन् । ३९ वर्ष पुगेका मेसीले आइतबार राति पुरुष विश्वकपको फाइनल खेल्ने सबैभन्दा बढी उमेरका फिल्ड खेलाडीको कीर्तिमान बनाउनेछन् । फाइनलका दिन उनी ३९ वर्ष २५ दिनका हुनेछन् । उनीभन्दा बढी उमेरमा विश्वकप फाइनल खेल्ने खेलाडी इटालीका गोलरक्षक डिनो जोफ मात्र हुन्, जसले सन् १९८२ मा ४० वर्ष १३३ दिनको उमेरमा फाइनल खेलेका थिए । २०२६ को विश्वकपमा देखाएको प्रदर्शनलाई हेर्दा मेसी विश्वकप फाइनलमा गोल गर्ने सबैभन्दा बढी उमेरका खेलाडी बन्ने सम्भावना पनि उत्तिकै बलियो छ । यो कीर्तिमान हाल स्विडेनका निल्स लिडहोमको नाममा छ, जसले सन् १९५८ को फाइनलमा ३५ वर्ष २६४ दिनको उमेरमा गोल गरेका थिए । यो फाइनल मेसीको विश्वकपमा ३४औं खेल हुनेछ । यससँगै उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोलाई सात खेलले पछि पार्नेछन् । आफ्नो पुस्ताका सर्वश्रेष्ठ फुटबलर को भन्ने बहसमा मेसी र रोनाल्डोबीच लामो समय तुलना हुँदै आएको छ । तर यो विश्वकपमा मेसीले त्यो दूरी अझ फराकिलो बनाएका छन् । रोनाल्डो फेरि एकपटक विश्वकप निराशासँग बाहिरिँदा मेसी भने उमेर बढ्दै जाँदा अझ प्रभावशाली बन्दै गएका छन् । फेरि एकपटक मेसीको काँधमा अर्जेन्टिना २०२२ जस्तै यसपटक पनि मेसीले लगभग एक्लै अर्जेन्टिनालाई फाइनलसम्म डोर्याएका छन् । अर्जेन्टिनाले यस विश्वकपमा गरेका १९ गोलमध्ये १२ गोलमा मेस्सीको प्रत्यक्ष योगदान छ । उनको नाममा ८ गोल र ४ असिस्ट छ । अन्तिम ३२ को खेलमा केप भर्डेविरुद्ध डिने बोर्जेसबाट भएको आत्मघाती गोलको सुरुआती क्रस पनि मेसीकै थियो । २०२२ मा फाइनल पुग्ने क्रममा अर्जेन्टिनाका १२ गोलमध्ये ८ गोलमा उनको योगदान थियो । त्यसपछि फ्रान्सविरुद्धको फाइनलमा उनले थप दुई गोल गरेका थिए । यस विश्वकपमा मेसी एकमात्र त्यस्ता खेलाडी हुन्, जो आफ्नो टोलीका कम्तीमा आधा प्रहारमा प्रत्यक्ष संलग्न छन् । चाहे अवसर सिर्जना गर्ने होस् वा आफै प्रहार गर्ने, अर्जेन्टिनाका ५२.७ प्रतिशत प्रहारमा उनको भूमिका छ । यो अनुपात २०२२ को ५३ प्रतिशतसँग लगभग समान छ । उनले यस विश्वकपमा ५९ वटा शट इन्भाल्भमेन्ट (३४ प्रहार र २५ अवसर सिर्जना) गरेका छन्, जुन अर्जेन्टिनाका अन्य कुनै पनि खेलाडीभन्दा ४१ ले बढी हो । दोस्रो स्थानमा रहेका एलेक्सिस म्याक एलिस्टरको संख्या १८ मात्र छ । माराडोनापछि मेसीमाथि धेरै निर्भरता सन् १९८६ मा डिएगो माराडोनापछि कुनै पनि टोली आफ्नो एक खेलाडीमा अर्जेन्टिनाले जति निर्भर भएको देखिएको थिएन । सन् २००६ को विश्वकपबाहेक जहाँ मेस्सीले सम्भावित ५१० मिनेटमध्ये १२१ मिनेट मात्र खेलेका थिए, त्यसयता प्रत्येक विश्वकपमा अर्जेन्टिनाका कम्तीमा ४२ प्रतिशत प्रहारमा उनको प्रत्यक्ष सहभागिता रहेको छ। सन् १९६६ यता विश्वकपमा केवल सात खेलाडीले ३० भन्दा बढी प्रहारमा संलग्न हुँदै आफ्नो टोलीका कम्तीमा आधा प्रहारमा भूमिका खेलेका छन् । तीमध्ये दुई प्रदर्शन मेसीकै हुन्—२०२२ र २०२६ मा, अर्को प्रदर्शन माराडोनाले १९८६ मा गरेका थिए । अवसर सिर्जनामा पनि उत्तिकै माहिर मेसी अहिले विश्वकप इतिहासकै दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । उनले आफ्नो गोल संख्या २१ गोल पुर्याएका छन् । फ्रान्सका केलियन एम्बाप्पेले २२ पुर्याइसकेका छन् । भविष्यमा एम्बाप्पेले यो संख्या पार गर्न सक्ने सम्भावना भए पनि मेस्सीले छाडेको समग्र विरासतको बराबरी गर्न कठिन हुनेछ । सन् २०२६ मा मेस्सीले १२ गोलमा प्रत्यक्ष योगदान दिएका छन् । सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरले गरेको १३ योगदानपछि यो सबैभन्दा उच्च संख्या हो । यसबाहेक उनले विश्वकपमा १२ असिस्ट पुर्याउँदै सन् १९६६ यताकै सर्वाधिक असिस्ट गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । उनले डिएगो माराडोनाको ८ असिस्टको कीर्तिमानलाई उछिनेका हुन् । २०२२ पछि पूर्ण रूपमा बदलिएको मेसी २०१४ मा विश्वकपको सर्वोत्कृष्ट खेलाडी घोषित भए पनि उनका पहिलो चार विश्वकपमा गोल र असिस्टको कुल संख्या अपेक्षाअनुसार थिएन । तर २०२२ पछि त्यो तस्वीर पूर्ण रूपमा बदलिएको छ । पछिल्ला दुई विश्वकपमा उनले १४ खेलमा २२ गोल योगदान (१५ गोल, ७ असिस्ट) दिएका छन्, जुन अन्य कुनै पनि खेलाडीभन्दा बढी हो । यसको विपरीत, २००६ देखि २०१८ सम्मका पाँच विश्वकपमा उनले १९ खेलबाट ११ गोल योगदान (६ गोल, ५ असिस्ट) मात्र दिएका थिए । नकआउट चरणमा अझ खतरनाक कतार २०२२ अघि मेस्सीले विश्वकपको नकआउट चरणमा एक गोल पनि गरेका थिएनन्, यद्यपि उनले आठ नकआउट खेल खेलिसकेका थिए । तर २०२२ र २०२६ का आठ नकआउट खेलमा उनले ७ गोल गरेका छन् भने ६ असिस्ट दिएका छन् । इङ्ल्यान्डविरुद्धको सेमिफाइनलमा उनले दुई असिस्ट दिए । पहिलो असिस्ट छोटो कर्नरबाट सुरु भएको चलाखीपूर्ण आक्रमणमा इन्जो फर्नान्डेजलाई अवसर सिर्जना गरेर दिएका थिए । दोस्रोमा उनले आफ्नो कमजोर मानिने दायाँ खुट्टाबाट लौटारो मार्टिनेजको टाउकामा सटिक क्रस मिलाइदिए । त्यो खेलमा मेसीले खुला खेलबाट ६ क्रस गरेका थिए, जुन विश्वकपमा उनको व्यक्तिगत उच्च संख्या हो । अद्भूत गेममाइन्ड पछिल्ला तीन खेलमा दोस्रो हाफदेखि मेसीले मैदानको बीचबाट दायाँ विङतर्फ सर्ने रणनीति अपनाएका छन् । यो प्रशिक्षक लियोनेल स्कालोनीको योजनाको हिस्सा हुन सक्छ, तर त्यसमा मेसीको असाधारण खेलबुद्धिले पनि ठूलो भूमिका खेलेको देखिन्छ । उनको विशेषता भनेकै विपक्षीको निगरानीबीच पनि खाली स्थानमा पुगेर खेललाई नियन्त्रण गर्नु हो । पछिल्ला तीन खेलमा उनले पहिलो हाफमा ८८ पटक मात्र बल छोएका छन् भने दोस्रो हाफमा (स्विट्जरल्यान्डविरुद्ध अतिरिक्त समयसहित) २०० पटक बल छोएका छन् । अर्थात् पहिलो हाफमा प्रति ९० मिनेट ५९ टच, दोस्रो हाफमा १०९ टच । ‘जोन १४’ अझै पनि मेसीकै क्षेत्र पेनाल्टी क्षेत्रबाहिरको मध्य भाग, जसलाई ‘जोन १४’ भनिन्छ, अझै पनि मेसीको सबैभन्दा खतरनाक क्षेत्र बनेको छ । यस विश्वकपमा उनका खुला खेलका १९ प्रतिशत टच यही क्षेत्रमा भएका छन्, जुन विश्वकपमा उनको करियरकै उच्च अनुपात हो । उनका ३४ प्रहारमध्ये १६ वटा (४७ प्रतिशत) पनि यही क्षेत्रबाट आएका छन् । मेसीको यही शैलीका कारण अर्जेन्टिनाले पनि आक्रमण क्षेत्रका ३३.१ प्रतिशत टच मैदानको मध्य भागमा गरेका छन्, जुन प्रतियोगिताकै उच्च हो । अन्तर्राष्ट्रिय सफलताको नयाँ युग सात पटकका बालोन डी’ओर विजेता मेसीले क्लब फुटबलमा सबै सम्भावित सफलता हासिल गरे पनि सन् २०२१ अघि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेका थिएनन् । तर २०२१ को कोपा अमेरिका जितेपछि सबै बदलियो । त्यसपछि अर्जेन्टिनाले २०२२ को विश्वकप र २०२४ को कोपा अमेरिका पनि जित्यो, जहाँ दुवै सफलतामा मेसीको भूमिका निर्णायक रह्यो । यदि अर्जेन्टिनाले आइतबारको फाइनल जितेमा सन् २०२१ मा मेस्सीले बार्सिलोनाबाट विदा भएयता टोलीले खेलेका लगातार चार ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता जित्नेछ । स्पेनविरुद्धको खेल अन्तिम अध्याय ? विश्वकप करिअरको अन्तिम खेल स्पेनविरुद्ध खेल्नु पनि मेसीका लागि विशेष हुनेछ । जीवनको अधिकांश समय उनले स्पेनमै बिताए र बार्सिलोनाका लागि १७ सिजनमा ७७८ खेल खेल्दै ६७२ गोल गरेर क्लब इतिहासकै सर्वाधिक गोलकर्ता बने । फाइनल जिते पनि उनले ब्राजिलका पेलेको तीन विश्वकप उपाधिको कीर्तिमान बराबरी गर्न सक्ने छैनन् । तर उनी दुई विश्वकप जित्ने सीमित महान् खेलाडीहरूको सूचीमा भने समावेश हुनेछन् । अझै पनि संसारकै सबैभन्दा प्रभावशाली खेलाडी धेरैले ३९ वर्षीय मेसीको प्रभाव समाप्त भइसकेको ठानेका थिए । मेजर लिग सकर (एमएलएस) मा खेलिरहेका कारण पनि उनीमाथि शंका गरिएको थियो । तर उनीहरू सबै गलत साबित भए । मेसी ३९ वर्षको उमेरमा पनि आफ्नो उत्कर्षकालजत्तिकै प्रभावशाली छन्, केवल शैली फरक भएको छ । सर्वकालीन महान् फुटबलर भएको प्रमाणित गर्न उनले यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्नु आवश्यक थिएन ।तर उनले त्यो पनि गरेर देखाएका छन् । (अप्टा एनालाइसिसबाट अनुदित तथा सम्पादित) अन्य सान्दर्भिक सामग्रीहरू : इङ्ल्यान्ड र अर्जेन्टिनाले एक-अर्कालाई किन घृणा गर्छन् ? यस्तो छ ६४ वर्षदेखिको तिक्तता केन र बेलिङ्घमकै भरमा इङ्ल्यान्डले विश्वकप जित्न सक्ला ? पहिलो सेमिफाइनल : उपाधिको दाबेदार फ्रान्स र स्पेनबीच निर्णायक खेल कसले जित्ला विश्वकप ? यस्तो छ अप्टा सुपरकम्प्युटरको भविष्यवाणी इङ्ग्ल्यान्डको नायक बेलिङ्घम सेमिफाइनल समीकरण पूरा, फुटबलका चार महाशक्ति उपाधि दौडमा यी हुन् इङ्ल्यान्डले नर्वेलाई हराउन गर्नुपर्ने ६ मुख्य काम हालान्डको नाममै उन्माद ‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा विश्वकपको उपाधि होड थप रोमाञ्चक क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेख
चन्द्रागिरीबाट ठूलो परिमाणको लागूऔषधसहित अनिल र सुमित्रा पक्राउ
काठमाडौं । काठमाडौंको ढुङ्गेअड्डाबाट सशस्त्र प्रहरी बलले ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौंको कीर्तिपुर नगरपालिका–९ पागादोबाटो बस्ने ३९ वर्षीय अनिल देउला र उदयपुर जिल्लाको गाईघाट घर भई हाल चन्द्रागिरी नगरपालिका–४ नैकाप बस्ने २४ वर्षीया सुमित्रा राई रहेका छन् । देउलाले लागूऔषध कारोबार गरिरहेको भन्ने विशेष सूचना आधारमा सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोको टोलीले ५० वटा बक्समा रहेको १५ हजार क्याप्सुल ट्रामाडोलसहित पक्राउ गरिएको हो । साथै उनले प्रयोग गरेको बा ७७ प ७८०० नम्बरको स्कुटर समेत जफत गरिएको छ । त्यस्तै, देउला बस्ने कोठाबाट डाईजापम तथा फेरेनागन ट्याब्लेट १ हजार १ सय ८८ वटा, ट्रामाडोल ३ हजार ७ सय ७० वटा र पोलेन १ सय ५० वटासहित सुमित्रा राईलाई समेत पक्राउ गरिएको हो । त्यसैगरी, उनको कोठाबाट १ लाख ३९ हजार १ सय ६५ रुपैयाँ तथा ३ थान मोवाइल सेट समेत जफत गरिएको छ। दुवै जनालाई बरामद लागूऔषध, नेपाली रुपैयाँ, स्कुटर र मोबाइल सेटसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।
कोशी, कर्णाली र सुदूरपश्चिममा सहज वाम गठबन्धन, चार प्रदेशमा अरूकै भर
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच बढ्दो राजनीतिक दूरीले प्रदेश सरकारहरूको भविष्य अनिश्चित बनेको छ । कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सहकार्य अन्त्य गर्ने घोषणा गरेसँगै नयाँ सत्ता समीकरणबारे बहस तीव्र बनेको छ । यही बहसको केन्द्रमा अहिले एउटा प्रश्न छ, के प्रदेशहरूमा फेरि वामपन्थी सहकार्य सम्भव छ ? पहिलो नजरमा यसको उत्तर सकारात्मक देखिए पनि प्रदेशगत अंकगणित, नेतृत्वको दाबी, साना दलहरूको भूमिका र केन्द्रको राजनीतिक निर्णयलाई हेर्दा वाम गठबन्धन सबै प्रदेशमा समान रूपमा सहज देखिँदैन । कतै स्पष्ट बहुमत पुग्ने अवस्था छ भने कतै सरकार गठनका लागि क्षेत्रीय वा साना दलको समर्थन अपरिहार्य देखिन्छ । राजनीतिक विश्लेषक तथा वाम बुद्धिजीवी नीलकण्ठ तिवारीका अनुसार अहिलेको बहस केवल वाम गठबन्धन बन्छ कि बन्दैन भन्नेमा सीमित छैन । मुख्य प्रश्न बने पनि त्यो कति टिकाउ र प्रभावकारी हुन्छ भन्ने हो । संविधानले प्रदेश सरकारलाई स्वायत्त अधिकार दिए पनि व्यवहारमा प्रदेश सरकारहरूको आयु र स्वरूप प्रायः पार्टीका केन्द्रको निर्णयले निर्धारण गर्दै आएको छ । २०७९ यताका राजनीतिक घटनाक्रमले पनि केन्द्रको निर्णयले प्रदेश सरकारहरू फेरिने परिपाटी स्थापित भएको देखाएको छ । यसपटक पनि कांग्रेस एमाले सम्बन्ध चिसिँदै जाँदा प्रदेश सरकारहरू नयाँ समीकरणको खोजीमा छन् । एमालेका लागि कांग्रेसको विकल्प स्वाभाविक रूपमा नेपाली कम्युनिष्ट पार्टी लगायतका वाम दलहरू हुन् । तर विगतका अनुभवले वाम सहकार्य घोषणा गर्न जति सहज हुन्छ, त्यसलाई लामो समय टिकाइराख्न त्यति नै कठिन हुने देखाएकाले निर्णय पहिले विचार गर्नुपर्ने तिवारी बताउँछन् । कोशीमा सम्भावना बलियो कोशी प्रदेशमा एमाले ४० सिटसहित सबैभन्दा ठूलो दल हो । प्रदेशसभाको प्रभावकारी सदस्य संख्या ९२ रहेकाले सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । नेकपाका १७ सांसदको समर्थन पाए एमाले नेतृत्वमा सहजै सरकार गठन हुन सक्छ । अंकगणितका हिसाबले वाम सहकार्य सम्भव देखिए पनि सरकार गठनपछि त्यसलाई स्थिर राख्नु भने मुख्य चुनौती हुनेछ । मधेशमा निर्णायक शक्ति मधेशकेन्द्रित दल मधेश प्रदेशको राजनीतिक समीकरण अन्य प्रदेशभन्दा फरक छ । यहाँ सत्ता निर्माणको केन्द्र वाम दलभन्दा बढी जसपा, जनमतलगायत मधेश केन्द्रित दलहरू हुन् । हाल १०३ सदस्यीय प्रदेशसभामा जसपाका २८, एमालेका २४ र नेकपाका १५ सांसद छन् । सरकार गठनका लागि ५२ सांसद आवश्यक पर्छ । यस प्रदेशमा एमाले र नेकपा मिल्दा पनि बहुमत पुग्दैन । त्यसैले मधेशमा वाम सहकार्यको सफलता उनीहरूको आफ्नै शक्ति होइन, क्षेत्रीय दलहरूसँगको सहकार्यमा निर्भर रहने देखिन्छ । तर जसपाका अध्यक्ष उपेन्द्र यादव पुराना वाम नेता भएकाले उनी वाम गठबन्धनको विपक्षमा नरहने यादव नजिकका नेता सन्जयकुमार यादवले बताए । ‘मधेश प्रदेश सभा सदस्य समेत रहेका यादव मधेशमा जसपाको नेतृत्वमा सरकार गठन गर्ने सर्तमा अध्यक्षले अन्यत्र वाम गठबन्धनलाई सहयोग गर्न सक्नुहुन्छ,’ उनले भने । बागमतीलाई अंकगणितले साथ दिँदैन बागमती प्रदेशमा एमाले र नेकपाको संयुक्त शक्ति उल्लेखनीय भए पनि सरकार गठनका लागि पर्याप्त छैन । १०४ सदस्यीय प्रदेशसभामा एमालेका २५ र नेकपाका २६ सांसद छन् । दुवै दल मिल्दा ५१ सिट पुग्छ, जबकि बहुमतका लागि ५३ सांसद आवश्यक पर्छ । यसकारण वाम गठबन्धनले सरकार बनाउन नेपाल मजदुर किसान पार्टीका तीन सांसद वा अन्य साना दलको समर्थन अनिवार्य देखिन्छ । नेतृत्व बाँडफाँट र विगतका अविश्वास पनि यहाँ थप चुनौती बन्न सक्छन् । गण्डकीमा स्वतन्त्र सांसद किङमेकर गण्डकी प्रदेशको राजनीति पटक–पटकको सत्ता परिवर्तनका कारण अस्थिर रहँदै आएको छ । ६० सदस्यीय प्रदेशसभामा एमालेका २२ र नेकपाका ८ सांसद छन् । दुवै मिल्दा ३० सिट पुग्छ, जबकि सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ । यस अवस्थामा स्वतन्त्र सांसद राजीव गुरुङको समर्थन निर्णायक बन्न सक्छ । त्यसैले गण्डकीमा अंकगणितभन्दा राजनीतिक वार्ता बढी महत्त्वपूर्ण हुने देखिएको नेकपा गण्डकीका एक नेताले बताए । लुम्बिनीमा जसपाको भूमिका निर्णायक लुम्बिनी प्रदेशमा एमाले बलियो दल भए पनि एक्लै सरकार बनाउन सक्ने अवस्थामा छैन । ८३ सदस्यीय प्रदेशसभामा एमालेका २९, नेकपाका ११ र जसपाका ५ सांसद छन् । सरकार गठनका लागि ४२ सांसद आवश्यक पर्छ । एमाले र नेकपा मिल्दा ४० सिट मात्रै पुग्ने भएकाले जसपाको समर्थन निर्णायक हुने देखिन्छ । जसपा मधेशका नेता यादवले एमाले र नेकपाले मधेशमा जसपाको नेतृत्व स्विकार गरे आफ्नो दल अन्यत्र वाम गठबन्धनलाई समर्थन गर्ने जानकारी दिए । कर्णालीमा वाम सहकार्यका लागि सबैभन्दा सहज प्रदेश कर्णाली प्रदेश वाम गठबन्धनका लागि सबैभन्दा अनुकूल प्रदेश मानिन्छ । यहाँ नेकपाका १४ र एमालेका १० सांसद छन् । दुवै दल मिल्दा सहज बहुमत पुग्ने अवस्था छ । त्यसैले वाम दलहरूले प्रदेशबाट सहकार्य सुरु गर्ने निर्णय गरे पहिलो प्रयोग कर्णालीबाट हुन सक्ने आँकलन राजनीतिक वृत्तमा छ । नेकपा एमालेका कर्णाली प्रदेश सभा सदस्य कल वहादुर हमालका अनुसार अहिलेसम्म एमाले नेकपाको सहकार्यबारे कर्णालीमा कुनै छलफल भएको छैन । तर त्यस्तो भए यहाँ सहजरूपमा सरकार बनाउन सकिन्छ । सुदूरपश्चिलाई अंकगणितको साथ सुदूरपश्चिममा पनि वाम सहकार्य अपेक्षाकृत सहज देखिन्छ । यहाँ नेकपाका २२ र एमालेका ११ सांसद छन् । संयुक्त रूपमा उनीहरूले सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन सक्ने अवस्था रहेको छ । त्यसैले सत्ता परिवर्तनको सम्भावना सबैभन्दा बढी चर्चा भएको प्रदेशमध्ये सुदूरपश्चिम पनि एक हो । अंकगणित नभई विश्वासको संकट राजनीतिक विश्लेषक लोककृष्ण भट्टराईका अनुसार वाम दलहरूबीचको सबैभन्दा ठूलो चुनौती सिट संख्या होइन, विश्वासको संकट हो । उनका अनुसार एमाले र नेकपाले विगतमा पटक–पटक सहकार्य गरे पनि ती गठबन्धन दीर्घकालीन बन्न सकेनन् । त्यसैले अहिले बन्ने सम्भावित सहकार्य वैचारिकभन्दा बढी परिस्थितिजन्य हुने सम्भावना छ । भट्टराईका अनुसार प्रत्येक प्रदेशमा मुख्यमन्त्री कसले पाउने, मन्त्रालय कसरी बाँड्ने र सत्ता सञ्चालनको मोडालिटी कस्तो हुने भन्ने विषयले गठबन्धनको भविष्य निर्धारण गर्नेछ । उनी भन्छन्, ‘प्रदेश सरकारहरू संविधानतः स्वतन्त्र भए पनि व्यवहारमा केन्द्रको राजनीतिक निर्णयसँग जोडिएका छन् । यदि एमाले र नेकपा सहकार्य औपचारिक रूपमा अघि बढ्यो भने त्यसको प्रभाव केही दिनभित्रै प्रदेश सरकारहरूमा देखिन सक्छ । तर सहमति जुट्न नसके सत्ता परिवर्तनको प्रक्रिया लम्बिन पनि सक्छ ।’ भट्टराईले नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशसभामा विपक्षीविहीन अवस्था बनाउने पक्षमा आफू नरहेको अभिव्यक्ति दिएकाले पनि तत्कालै सबै प्रदेशमा एउटै किसिमको सत्ता समीकरण बन्ने निष्कर्ष निकाल्न हतार हुने बताए । सम्भावना बलियो तर सफलता अनिश्चित नेकपाका नेता देव गुरुङ प्रदेश सरकारहरूमा वाम सहकार्यको सम्भावना केही साताअघिको तुलनामा उल्लेख्य रूपमा बढेको बताउँछन् । तर उनका अनुसार सम्भावना हुनु र सफल कार्यान्वयन हुनु फरक विषय हो । राजनीतिक विश्लेषणले पनि त्यही संकेत गर्छ । कोशी, कर्णाली र सुदूरपश्चिममा वाम सहकार्य अपेक्षाकृत सहज देखिए पनि मधेश, बागमती, गण्डकी र लुम्बिनीमा अंकगणित, नेतृत्वको प्रतिस्पर्धा र साना दलहरूको भूमिकाले अन्तिम परिणाम निर्धारण गर्नेछ । नेपालको पछिल्लो राजनीतिक इतिहासले सरकार गठनभन्दा सरकार जोगाउन कठिन हुने तथ्य बारम्बार पुष्टि गरिसकेको छ । त्यसैले केन्द्रमा हुने आगामी राजनीतिक निर्णयले सातै प्रदेशको सत्ता समीकरण एकैपटक फेरिन सक्ने सम्भावना अझै कायम छ ।
बीपी स्मृति दिवसमा देउवा पक्षको शक्ति प्रदर्शन साउनभित्र राष्ट्रिय भेला गर्ने
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले ४४औँ बीपी स्मृति दिवसका अवसरमा पार्टी संस्थापन पक्षबाट अलग्गै कार्यक्रम आयोजना गर्ने भएको छ । यससँगै कांग्रेसभित्रको आन्तरिक ध्रुवीकरण थप स्पष्ट देखिएको छ । संस्थापन पक्षले बीपी स्मृति दिवसका अवसरमा ग्रीन रन लगायतका कार्यक्रम तय गरिरहेको बेला देउवा पक्षले भने साउन ६ गते काठमाडौंस्थित प्रज्ञा भवनमा छुट्टै स्मृति सभा गर्ने निर्णय सार्वजनिक गरेको हो । चुनदेवीस्थित सम्पर्क कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता मीनबहादुर विश्वकर्माले नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४४औँ स्मृति दिवस भव्य रूपमा मनाउने तयारी गरिएको जानकारी दिए । उनका अनुसार कार्यक्रम व्यवस्थापनका लागि कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ । देउवा पक्षले सोही कार्यक्रममा पार्टीको आगामी राजनीतिक रणनीतिसँग जोडिएको राष्ट्रिय भेलाको मिति, स्थान र समयसमेत सार्वजनिक गर्ने जनाएको छ । गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी नभएको यो समूहले यसअघि विभिन्न प्रदेशमा भेला सम्पन्न गरिसकेको छ भने अब केन्द्रीय स्तरको राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको हो । विश्वकर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद, संगठनको अवस्था र समसामयिक राजनीतिक परिस्थितिबारे समीक्षा गर्न साउन महिनाभित्र काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरिने बताए । पत्रकार सम्मेलनमा देउवा पक्षले पार्टी एकताका लागि भएका प्रयास सफल हुन नसकेको भन्दै नेतृत्वप्रति असन्तुष्टि पनि व्यक्त गरेको छ । विश्वकर्माले पार्टीभित्र सहमति र एकताको वातावरण बनाउन पटक–पटक संवाद र छलफल भए पनि नेतृत्व तहबाट आवश्यक लचकता नदेखिएकाले सहमति जुट्न नसकेको बताए । उनले वार्ता र छलफल निरन्तर जारी रहे पनि अहिलेसम्म त्यसले ठोस परिणाम दिन नसकेको उल्लेख गर्दै पार्टी एकताको सम्भावना क्रमशः कमजोर बन्दै गएको निष्कर्षमा आफूहरू पुगेको बताए । पत्रकार सम्मेलनमा कांग्रेसका वरिष्ठ नेताहरू विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र प्रकाशशरण महतलगायतको उपस्थिति रहेको थियो ।
समृद्ध नेपाल निर्माणमा इन्जिनियरहरूको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ६२औं इन्जिनियर दिवसको अवसरमा नेपालको नवनिर्माण, पूर्वाधार विकास र प्रविधि रूपान्तरणमा इन्जिनियरहरूको भूमिका अपरिहार्य रहेको बताएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले देशभरका इन्जिनियर, आर्किटेक्ट र प्राविधिकहरूलाई शुभकामना व्यक्त गरे । इन्जिनियरिङ र युवा शक्ति यस वर्षको मूल नारालाई आत्मसाथ गर्दै राष्ट्रपति पौडेलले देशको भविष्य युवाहरूको सोच, ऊर्जा र क्षमतामा निर्भर रहने बताए । युवा इन्जिनियरहरूको नवीन सोच र प्राविधिक कौशलले मात्र समृद्ध नेपालको सपना साकार हुने उनको भनाइ थियो । उर्जा, यातायात, सूचना प्रविधि, सहरी विकास र वातावरण संरक्षण जस्ता क्षेत्रमा इन्जिनियरहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रपतिले आगामी दिनमा गरिने प्राविधिक विमर्शहरूले देशको नीति निर्माणमा मार्गदर्शकको काम गर्ने विश्वास व्यक्त गरे । भौगोलिक रूपमा जटिल र प्राकृतिक स्रोतले धनी नेपालमा वातावरणमैत्री पूर्वाधार निर्माण गर्नु चुनौतीपूर्ण रहेको बताउँदै राष्ट्रपतिले हाम्रा सडक, पुल र जलविद्युत आयोजनाहरू प्राकृतिक प्रकोप प्रतिरोधी हुनुपर्नेमा जोड दिए । विकासको अवधारणालाई जनताको कल्याण र प्रकृतिसँग जोड्नुपर्ने उनको सुझाव थियो । उच्च शिक्षा हासिल गरेका दक्ष इन्जिनियरहरू रोजगारी र अवसरको खोजीमा विदेशिने क्रम बढ्दै गएकोप्रति राष्ट्रपतिले चिन्ता व्यक्त गरे । उनले सरकार र निजी क्षेत्रलाई युवा इन्जिनियरहरूका लागि स्वदेशमै पर्याप्त अवसर, उचित मूल्याङ्कन र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न आग्रह गरे । संघीय लोकतान्त्रिक गणतन्त्रले नै विकास र मानवीय मुद्दाहरूलाई सम्बोधन गर्ने बताउँदै राष्ट्रपति पौडेलले लोकतन्त्रको सुन्दरतालाई व्यवहार र आचरणमा उतार्न सके मात्र लक्षित उद्देश्य पूरा हुने उल्लेख गरे । कार्यक्रममा राष्ट्रपतिले सम्पूर्ण युवा इन्जिनियरहरूलाई आफ्नो ज्ञान र सीपको अधिकतम उपयोग गरी आफ्नै माटोमा समुन्नत र विकसित नेपाल निर्माणको अभियानमा जुट्न आह्वानसमेत गरे ।
इन्जिनियरिङलाई पेशा मात्र होइन, राष्ट्र निर्माणको अभियान बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले देशको समृद्धिका लागि इन्जिनियरहरूको भूमिका अपरिहार्य र प्रेरणादायी रहेको बताएका छन् । ६२ औं इन्जिनियर दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले राष्ट्र निर्माणको हरेक पाइलामा इन्जिनियरहरूको प्राविधिक ज्ञान र सीपको ठूलो महत्त्व रहेको उल्लेख गरे । पूर्वाधार विकासमा गुणस्तरको खोजी सम्बोधनका क्रममा मन्त्री श्रेष्ठले सरकारले गुणस्तरीय, दिगो, सुरक्षित र वातावरणमैत्री पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए । उनले सडक, पुल, जलविद्युत्, सिँचाइ, र सूचना प्रविधि जस्ता आधुनिक पूर्वाधार नै देशको समृद्धिको आधार भएको बताए । मन्त्री श्रेष्ठले भने, ‘हामी अहिले पूर्वाधार विकासको नयाँ चरणमा प्रवेश गरेका छौं । अब योजनाको सफलता बजेट खर्चले मात्र होइन, समयमै सम्पन्न हुने र नागरिकले पाउने प्रत्यक्ष लाभले मापन गरिनेछ ।’ ऊर्जा क्षेत्रलाई देशको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अगाडि बढाइएको बताउँदै उनले जलविद्युत् उत्पादन वृद्धि, प्रसारण लाइनको सुदृढीकरण र क्षेत्रीय विद्युत् व्यापारमा दक्ष इन्जिनियरहरूको योगदान निर्णायक रहने विश्वास व्यक्त गरे । उनले इन्जिनियरहरूलाई व्यावसायिक दक्षता, नैतिकता र नवप्रवर्तनलाई आत्मसात गर्दै काम गर्न आग्रह गरे । मन्त्री श्रेष्ठले इन्जिनियरिङलाई एउटा पेशाको रूपमा मात्र नभई राष्ट्र निर्माणको महान् अभियानका रूपमा लिनुपर्नेमा जोड दिए । उनले भने, ‘एउटा राम्रो डिजाइन र गुणस्तरीय निर्माणले लाखौनागरिकको भविष्य बदल्न सक्छ । पुलले दुई किनार मात्र जोड्दैन, यसले विश्वास जोड्छ । सडकले दूरी मात्र घटाउँदैन, विकासको ढोका खोल्छ र विद्युत्ले बत्ती मात्र बाल्दैन, उद्योग र समृद्धिको सम्भावनालाई उज्यालो बनाउँछ।’ मन्त्रीले इन्जिनियरहरूलाई सार्वजनिक उत्तरदायित्व वहन गर्दै भ्रष्टाचारमुक्त र पारदर्शी कार्यसंस्कृति विकास गर्न आह्वान गरे । दक्षता हाम्रो शक्ति, इमान्दारिता हाम्रो पहिचान र नवप्रवर्तन हाम्रो भविष्य हुनुपर्छ भन्दै उनले इन्जिनियरिङ क्षेत्रको गरिमा उच्च राख्न सबैलाई एकजुट हुन आग्रहसमेत गरे । कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसनका पदाधिकारीहरू, विभिन्न मन्त्रालयका सचिवहरू र देशभरका इन्जिनियरहरूको उपस्थिति रहेको थियो ।
उद्योगीले बुझाए ४६ करोड ८६ लाख बक्यौता, १० उद्योगको बिजुली काटियो
काठमाडौं । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार मसान्तसम्म उद्योगीले ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा दाखिला गरेका छन् । विभिन्न १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले उक्त अवधिमा ४६ करोड ८६ लाख दाखिला गरेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले दिए । देशभरका औद्योगिक क्षेत्रमा सञ्चालित ३०० भन्दा बढी उद्यागको ८८ करोड बक्यौता थियो । सूचना अधिकारी सोडारीका अनुसार बक्यौता नबुझाएका १० उद्योगको विजुलीको लाइन काटिएको छ । कन्टिनेन्टल ग्रुपका दुई उद्योगको ४ करोड बक्यौता छ ।