विकासन्युज

मण्डला ड्रामा स्कूलको तेस्रो ब्याच सुरु, १५ युवाले थाले १८ महिने नाट्य यात्रा

काठमाडौं । मण्डला थिएटर–नेपालले मण्डला ड्रामा स्कूलको तेस्रो ब्याच (२०२६–२०२७) का १५ जना विद्यार्थीलाई स्वागत गर्दै १८ महिने आवासीय नाट्य प्रशिक्षण कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित ‘रंग परियोजना’ अन्तर्गत सञ्चालन हुने कार्यक्रममा देशभरबाट आवेदन दिएका युवामध्ये प्रतिस्पर्धात्मक छनोटमार्फत १५ जना विद्यार्थी चयन गरिएको मण्डला थिएटरले जनाएको छ । स्वागत कार्यक्रममा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले रंगमञ्च संवाद, सांस्कृतिक संरक्षण र सामाजिक रूपान्तरणको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई समाजप्रति उत्तरदायी कलाकारका रूपमा अघि बढ्न प्रेरित गरिन् । मण्डला ड्रामा स्कूलको १८ महिने पाठ्यक्रममा अभिनय, सिर्जनात्मक लेखन, सामुदायिक रंगमञ्च, प्राविधिक पक्ष तथा स्वतन्त्र नाटक निर्माणलगायतका विषय समेटिएका छन् । प्रशिक्षणमार्फत विद्यार्थीलाई अभ्यास, अनुसन्धान र समुदायसँगको सहकार्यका आधारमा सक्षम, सिर्जनशील र सामाजिक रूपमा सचेत रंगकर्मीका रूपमा विकास गर्ने लक्ष्य राखिएको मण्डला थिएटरले जनाएको छ । कार्यक्रमले नेपाली रंगमञ्चका लागि दक्ष जनशक्ति उत्पादन गर्नुका साथै कला र समाजबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ । 

पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।       काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरुमा मादकपदार्थ सेवन गरेका ३०, यान्त्रिक कारबाहीमा १२, सङ्केत बत्ती उल्लङ्घनकर्ता २६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ६६ जनालाई कारबाही गरिएको छ ।      यसैगरी, अवस्था ठीक नभएको सात, निषेधित क्षेत्रमा हर्न बजाउने ३२, सडक फुटपाथ पार्किङमा १९, एकतर्फीमा छ र अन्य सवारी नियम पालना नगरेका ३२३ जना रहेको जनाइएको छ ।   

दृष्टिबन्धकको जग्गा बैंकमा धितो राखेर ४ करोड ठगी, एकै परिवारका तीन पक्राउ

जनकपुरधाम । दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर चार करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकैपरिवारका तीन जनालाई पक्राउ गरेको छ ।       अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुपक खड्काले जानकारी दिए ।       प्रहरी उपरीक्षक खड्काका अनुसार गोपाललाई जनकपुरधामस्थित एक होटलबाट, रेखालाई धनुषाको नगराइन नगरपालिकाको जटहीस्थित सीमा नाकाबाट र छोरा हरेरामलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।  जनकपुरधाम उपमहानगरपालिका–२ निवासी गोविन्द कुमार साहले व्यापार व्यवसाय गर्नका लागि गोपाल साहसँग जग्गा दृष्टिबन्धमा राखी कपाली तमसुक गरेर रु ९९ लाख ऋण लिएका थिए । गोविन्द साहले दृष्टिबन्धकमा रजिष्ट्रेशन गरिदिएको जग्गापछि जग्गाधनीलाई थाहै नदिइ गोपाल साहसहित तीनै जनाले बैंकमा धितो राखी चार करोड ऋण रुपैयाँ लिएको पाइएको प्रहरी उपरीक्षक खड्काले बताए ।  जनकपुरधामस्थित गोपाल साहको घरबाट जग्गाधनी पुर्जा ५० थान, नागरिकता प्रमाणपत्र १८ थान, एक थान ल्यापटप र विभिन्न छाप तथा नक्साहरु बरामद गरिएको प्रहरी उपरीक्षक खड्काको भनाइ छ । पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    

फर्स्ट माइक्रोफाइनान्सको नाफामा ७४ प्रतिशत छलाङ, लाभांश क्षमता १०.१३ प्रतिशत

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १९ करोड ७ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको १० करोड ९८ लाख ४६ हजार रुपैयाँको तुलनामा ७३.६३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म लघुवित्तको खुद ब्याज आम्दानी ७.४६ प्रतिशतले बढेर २२ करोड ७४ लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी २१ करोड १६ लाख ८१ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा ७३ प्रतिशतले बढेर २७ करोड २७ लाख ५१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सञ्चालन नाफा १५ करोड ७६ लाख १५ हजार रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षमा लघुवित्तको वितरणयोग्य नाफा १३ करोड ६१ लाख ९६ हजार रुपैयाँ पुगेको छ । यस आधारमा लाभांश क्षमता १०.१३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष वितरणयोग्य नाफा ९ करोड ३ लाख ४० हजार रुपैयाँ तथा लाभांश क्षमता ६.७२ प्रतिशत थियो । १ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा ३४ करोड ८४ लाख रुपैयाँ सञ्चित रहेको छ । अघिल्लो वर्ष जगेडा कोषमा ३० करोड ७३ लाख ८५ हजार रुपैयाँ थियो । गत आर्थिक वर्षमा लघुवित्तले ३ अर्ब ७६ करोड ४ लाख रुपैयाँ सापटी परिचालन गरी ४ अर्ब ६५ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ४ अर्ब ९० करोड ९६ लाख रुपैयाँ सापटी परिचालन गरी ६ अर्ब ५ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। लघुवित्तको कर्जा सापटी अनुपात (सीडी रेसियो) १२०.१५ प्रतिशत रहेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १४.१८ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ईपीएस ८.१७ रुपैयाँ थियो। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ६०.६५ गुणा तथा प्रतिसेयर नेटवर्थ १३७.२६ रुपैयाँ रहेको छ । लघुवित्तको कुल खराब कर्जा घटेर २.८८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष कुल खराब कर्जा ३.८४ प्रतिशत रहेको थियो ।

मंसिरमा अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने, स्टल बुकिङ खुला

काठमाडौं । नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यसहित आगामी मंसिरमा काठमाडौंमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३’ आयोजना हुने भएको छ । प्रदर्शनीका लागि साउन १ गतेदेखि स्टल बुकिङसमेत खुला गरिएको आयोजकले जनाएको छ । ‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नारासहित मंसिर ४, ५ र ६ गते (नोभेम्बर २०, २१ र २२, २०२६) भृकुटीमण्डपमा प्रदर्शनी आयोजना हुनेछ । नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । आयोजकका अनुसार कृषि तथा पशुपन्छीपालन क्षेत्रको उत्पादनशीलता वृद्धि, आधुनिक प्रविधिको विस्तार तथा व्यवसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने प्रदर्शनीमा एक सयभन्दा बढी स्वदेशी तथा विदेशी प्रदर्शक सहभागी हुनेछन् । नेपाल कृषि मेशिनरी व्यवसायी संघका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिता नेमाफुकीका अनुसार प्रदर्शनीमा करिब १० देशका दुई हजारभन्दा बढी प्रकारका आधुनिक कृषि औजार, उपकरण, मेसिन तथा नवीनतम प्रविधि प्रदर्शन गरिनेछ । प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन् । उनका अनुसार ‘मेड इन नेपाल’ र ‘मेक इन नेपाल’ अभियानअन्तर्गतका स्वदेशी कम्पनीलाई विशेष सहुलियत प्रदान गरिनेछ । कृषक, कृषि उद्यमी तथा सर्वसाधारणका लागि प्रदर्शनीमा प्रवेश निःशुल्क हुनेछ । प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारी उत्पादन, आधुनिक सिँचाइ प्रणाली, पोस्ट–हार्भेस्ट प्रविधि, कृषि उपज प्रशोधन तथा बजारीकरणसँग सम्बन्धित अत्याधुनिक उपकरण र उन्नत बीउबिजन प्रदर्शन गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रदर्शनीले कृषक, कृषि उद्यमी, नीति निर्माता, अनुसन्धानकर्ता र व्यवसायीलाई नवीनतम कृषि प्रविधिबारे जानकारी गराउनुका साथै कृषि यान्त्रीकरणको विस्तार, बजार प्रवर्द्धन, लगानी आकर्षण र व्यवसायी तथा उपभोक्ताबीच प्रत्यक्ष समन्वय स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघले यसअघि पाँच वटा राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, एक प्रादेशिक प्रदर्शनी तथा एक अन्तर्राष्ट्रिय एग्रीटेक प्रदर्शनी सफलतापूर्वक आयोजना गरिसकेको छ । आयोजकले यस वर्षको अन्तर्राष्ट्रिय संस्करण अझ बृहत्, प्रविधिमैत्री र सहभागितामूलक हुने विश्वास व्यक्त गरेको छ ।

महानगरको नयाँ कर नीति लागू, समयमै कर तिर्नेलाई १० प्रतिशत छुट र पुराना जरिवाना मिनाहा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि लागू गरेको ‘आर्थिक ऐन, २०८३’ कार्यान्वयनमा आएको छ । साउन १ गतेदेखि लागू भएको ऐनमार्फत महानगरले समयमै कर तिर्नेलाई छुट, पुराना बक्यौताको जरिवाना मिनाहा तथा महिला, युवा र अपाङ्गता भएका उद्यमीलाई विशेष सहुलियत दिने व्यवस्था गरेको हो । महानगरका अनुसार १९औँ नगरसभाबाट पारित नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक कार्यवाहक प्रमुख सुनिता डंगोलले असार ३२ गते प्रमाणीकरण गरेपछि ऐन कार्यान्वयनमा आएको हो ।  समयमै कर बुझाए १० प्रतिशत छुट नयाँ व्यवस्थाअनुसार सम्पत्ति कर, व्यवसाय कर र बहाल कर चालु आर्थिक वर्षको असोज मसान्तभित्र बुझाउने करदाताले कुल कर रकममा १० प्रतिशत छुट पाउनेछन् । महानगरले समयमै राजस्व संकलनलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरेको जनाएको छ ।   पुराना बक्यौताको जरिवाना मिनाहा विगतदेखि बाँकी रहेको कर असोज मसान्तभित्र एकमुष्ट बुझाएमा त्यसमा लागेको सम्पूर्ण जरिवाना मिनाहा हुने व्यवस्था ऐनमा गरिएको छ । यसबाट लामो समयदेखि कर बक्यौता रहेका करदाताले ठूलो राहत पाउने अपेक्षा गरिएको छ ।  महिला, युवा र अपाङ्गता भएका उद्यमीलाई विशेष सहुलियत पाँच लाख रुपैयाँसम्म पुँजी भएका तथा महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति वा ३५ वर्षमुनिका युवाको नाममा दर्ता भएका व्यवसायले असोज मसान्तभित्र कर बुझाएमा ४० प्रतिशत छुट पाउनेछन् । यदि त्यस्ता व्यवसायी काठमाडौं महानगरका स्थायी बासिन्दा भए ५० प्रतिशतसम्म छुट दिइने व्यवस्था छ । त्यस्तै, कम्तीमा २० जनालाई रोजगारी दिने नयाँ उद्योगले तीन वर्षसम्म व्यवसाय करमा ९५ प्रतिशत छुट पाउनेछन् ।  होटल, पार्किङ र वातावरणमैत्री भवनलाई पनि प्रोत्साहन महानगरले पर्यटन र वातावरण संरक्षणलाई प्रोत्साहन गर्न होटल तथा रिसोर्टको सम्पत्ति करमा १० प्रतिशत छुट दिएको छ । व्यावसायिक पार्किङका लागि निर्माण गरिएका भवनले निर्माण सम्पन्न भएको मितिदेखि १० वर्षसम्म सम्पत्ति कर तिर्नु नपर्ने व्यवस्था गरिएको छ । यसैगरी, वर्षाको पानी पुनःभरण (रेन वाटर रिचार्ज) प्रणाली जडान गरेका आवासीय भवनले सम्पत्ति करमा ९५ प्रतिशतसम्म छुट पाउनेछन् ।  बहाल करमा नयाँ व्यवस्था नयाँ ऐनअनुसार व्यावसायिक भवन वा कार्यालयबाट प्राप्त बहाल आम्दानीमा १० प्रतिशत कर लाग्नेछ । आवासीय प्रयोजनमा वार्षिक २ लाख ४० हजार रुपैयाँसम्म बहाल आम्दानी हुनेले ५ प्रतिशत र सोभन्दा बढी आम्दानी हुनेले ७ प्रतिशत बहाल कर तिर्नुपर्ने व्यवस्था गरिएको छ । व्यवसायको परिचयका लागि १५ वर्गफिटसम्मको एउटा साइनबोर्ड निःशुल्क राख्न पाइनेछ । स्थानीय भाषा र रञ्जना लिपिमा तयार गरिएका परिचय पाटीमा ९५ प्रतिशत कर छुटको व्यवस्था पनि गरिएको छ ।  किस्ताबन्दीमा कर तिर्न सकिने करदाताको आर्थिक भार कम गर्न महानगरले चालु वर्षको कर तीन किस्तासम्ममा तिर्न सकिने व्यवस्था गरेको छ । पहिलो किस्तामा ४० प्रतिशत तथा दोस्रो र तेस्रो किस्तामा ३०–३० प्रतिशत रकम बुझाउन सकिनेछ । एक करोड रुपैयाँभन्दा बढी बक्यौता भएका करदाताले आवश्यक निर्णयपछि बहुवर्षीय किस्ताबन्दीको सुविधा पनि लिन सक्नेछन् ।  कर नतिर्नेलाई कडा कारबाही महानगरले कर नतिर्ने र पटक–पटकको सूचनालाई बेवास्ता गर्ने करदातामाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ । ऐनअनुसार त्यस्ता करदाताको व्यवसायिक स्थल सिलबन्दी गर्ने, बैंक खाता रोक्का गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुल गर्ने व्यवस्था गरिएको छ । 

कामना सेवा विकास बैंकको नाफा साढे ८९ करोड रुपैयाँ, लाभांश क्षमता १५.१६ प्रतिशत

काठमाडौं । कामना सेवा विकास बैंकको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा खुद नाफा ३३.५० प्रतिशत बढेर ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा बैंकले ६६ करोड ९७ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष चौथो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ३.९८ प्रतिशत बढेर २ अर्ब ४१ करोड ८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले २ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । समीक्षा वर्षमा बैंकको सञ्चालन नाफा ३२.८७ प्रतिशत बढेर १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ४ करोड ४ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । गत वर्षमा बैंकको वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १५.१६ प्रतिशत रहेको छ । चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब १४ करोड १३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड रुपैयाँ र जगेडा कोषमा १ अर्ब ८३ करोड ९० लाख रुपैयाँ थियो ।  गत आर्थिक वर्षमा बैंकले ६६ अर्ब १७ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब २१ करोड १ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षमा बैंकले ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब ७ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.३४ प्रतिशत छ ।  समीक्षा वर्षमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २०.७५ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षमा बैंकको ईपीएस १९.०८ रुपैयाँ थियो । बैंकको मूल्य आम्दानी अनुपात २०.८४ गुणा र प्रतिसेयर नेटवर्थ १७१.०१ रुपैयाँ रहेको छ । बैंकको कुल खराब कर्जा ३.७७ प्रतिशत र खुद खराब कर्जा ०.५५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष बैंकको कुल खराब कर्जा ३.४९ प्रतिशत र खुद खराब कर्जा ०.२८ प्रतिशत रहेको थियो ।

गुठीको ५ बिघा जग्गा लिजमा, स्थानीय र ओशो ध्यान केन्द्रबीच विवाद चर्कियो

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका–१२ हनुमाननगरस्थित गुठीको जग्गा निजी संस्थालाई लिजमा दिएपछि स्थानीय बासिन्दा, हनुमान मन्दिर संरक्षण समिति र गुठी संस्थानबीच विवाद चुलिएको छ । स्थानीयले वर्षौँदेखि जोतभोग गर्दै आएको जग्गा एकाएक अर्को संस्थालाई लिजमा दिइएको भन्दै विरोध जनाएका छन् । गुठी संस्थानले हनुमाननगरस्थित कित्ता नम्बर १ को ५ बिघा १० कठ्ठा १२ धुर जग्गा ‘विदेह ओशो ध्यान केन्द्र’लाई २० वर्षका लागि लिजमा दिएको हो । २०८२ जेठ ७ गतेदेखि लागू हुने गरी वार्षिक १० लाख १५ हजार रुपैयाँ भाडा बुझाउने सर्तमा धार्मिक गतिविधिका लागि उक्त जग्गा उपलब्ध गराइएको जनाइएको छ । सरकारले अतिक्रमित गुठी जग्गा फिर्ता ल्याउन ९ सदस्यीय समिति गठन गरेर अभियान सञ्चालन गरिरहेका बेला गुठी संस्थानले नै संरक्षणमा रहेको जग्गा लिजमा दिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । यसअघि उक्त जग्गा हनुमान मन्दिरको व्यवस्थापनमा रहेको थियो । मन्दिरले स्थानीय गरिब तथा विपन्न परिवारलाई प्रतिव्यक्ति दुई कठ्ठाका दरले खेतीका लागि जग्गा उपलब्ध गराउँदै आएको थियो। उनीहरूले त्यसबापत मन्दिरलाई ‘कुत’ (भाडा) बुझाउने गरेका थिए । अहिले सोही जग्गा अर्को संस्थालाई दिइएपछि आफ्नो जीविकोपार्जनको आधार खोसिएको स्थानीयको गुनासो छ । स्थानीय कलावती साहले वर्षौँदेखि जोतभोग गर्दै आएको जग्गा गुम्दा ठूलो समस्या परेको बताइन् । अर्की स्थानीय प्रितम राउत कुर्मीले आफूहरूले संरक्षण गरेर खेतीयोग्य बनाएको जग्गा एकाएक लिजमा दिइएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले भनिन्, 'हामीले खेती गरेर गुजारा चलाउनुका साथै मन्दिरलाई पनि सहयोग गरिरहेका थियौँ । अब हामीलाई विस्थापित गर्न खोजिएको छ । यसको विरोधमा आन्दोलन गर्न बाध्य हुन्छौँ ।' हनुमाननगर हनुमान मन्दिर संरक्षण समितिका महासचिव रोशनकुमार राउतले मन्दिर वा स्थानीयलाई जानकारी नै नदिई गुठी संस्थानले जग्गा लिजमा दिएको आरोप लगाए । उनका अनुसार मन्दिरको जीर्णोद्धार तथा दैनिक पूजाआजा सञ्चालनका लागि स्थानीयबाट उठ्ने कुत नै मुख्य आम्दानीको स्रोत थियो । उनले सरकारले एकातिर अतिक्रमण हटाउने अभियान चलाउने र अर्कोतिर संरक्षणमा रहेको जग्गा निजी संस्थालाई सुम्पिने कार्यले विरोधाभास सिर्जना गरेको टिप्पणी गरे । यता, विदेह ओशो ध्यान केन्द्रले भने कानुनी प्रक्रिया पूरा गरेरै जग्गा लिजमा लिएको जनाएको छ । केन्द्रका सचिव स्वामी विवेक सागरले विवाद सिर्जना गर्ने उद्देश्य नरहेको भन्दै नियमअनुसार नै सम्झौता गरिएको बताए । उनका अनुसार उक्त स्थानमा अन्तर्राष्ट्रियस्तरको योग तथा ध्यान केन्द्र निर्माण गरिनेछ । साथै मिथिलाका विद्वान–विदुषीका प्रतिमा, विभिन्न देवी–देवताका मन्दिर तथा धार्मिक–पर्यटकीय संरचना निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए । स्थानीयका अनुसार मन्दिरलाई जग्गा खाली गर्न पत्र आएपछि मात्र लिज सम्झौताबारे जानकारी भएको थियो । हाल उत्पन्न विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले समन्वयको पहल गरिरहेको छ ।