विकासन्युज

निर्वाचन आयोगले कडाइ गर्दै, आचारसंहिता कार्यान्वयनमा विशेष निगरानी गरिने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको मध्यावधि निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा थप कडाइ गरेको छ । आयोगले देशभर खटिएका निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म विशेष सतर्कता अपनाउन स्पष्ट निर्देशन दिएको छ । आयोगका सहप्रवक्ता प्रकाश न्यौपानेका अनुसार निर्वाचनको निष्पक्षता र स्वच्छता सुनिश्चित गर्न मंगलबारदेखि नै विशेष कडाइ सुरु भएको छ । मतदान हुनुअघि ४८ घण्टाको अवधिलाई संवेदनशील समय मानिँदै यस अवधिमा राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय तथा सम्बन्धित सबै पक्षले आचारसंहितामा तोकिएका नियमहरूको पूर्ण पालना गर्नुपर्ने न्यौपानेले बताए । फरक–फरक जिम्मेवारीसहित अधिकृत खटाइयो निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी तथा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी तोकिएको छ । उनीहरूलाई आफ्नो कार्यक्षेत्रभित्र हुने गतिविधिहरूको सूक्ष्म निगरानी गर्दै आचारसंहिता उल्लङ्घन हुन नदिन सक्रिय भूमिका निर्वाह गर्न भनिएको न्यौपानेले बताए । निर्वाचन आचारसंहिता, २०७२ को दफा १७ मा उल्लेख भएअनुसार मतदानको अघिल्लो ४८ घण्टा र मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म विशेष आचरण लागू हुने न्यौपानेले जानकारी दिए । यस अवधिमा प्रचार–प्रसार, मतदातालाई प्रभावित पार्ने गतिविधि, सार्वजनिक सभा तथा जुलुस प्रदर्शनजस्ता कार्य पूर्ण रूपमा निषेध गरिएको छ । आयोगले उक्त प्रावधानको अक्षरशः कार्यान्वयन गराउन जिल्ला स्तरमा अनुगमनलाई तीव्र बनाउन निर्देशन दिएको छ। कुनै पनि प्रकारको उल्लङ्घन देखिए तत्काल कारबाही प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ । कानुनी कारबाहीको चेतावनी निर्वाचन आचारसंहिता तथा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ विपरीत गतिविधि भएको पाइएमा सोही ऐनअनुसार कारबाही गरिने स्पष्ट पारिएको सहप्रवक्ता न्यौपानेले बताए । उनका अनुसार आवश्यक परे जिल्ला आचारसंहिता अनुगमन समितिसँग समन्वय गरी दोषीमाथि कानुनी प्रक्रिया अघि बढाइनेछ । आयोगले निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम राख्न सबै राजनीतिक दल, उम्मेदवार, मतदाता र सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गर्न अपिल समेत गरेको न्यौपानेले बताए ।

मटरकोसा किलोको ४० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३५, आलु रातो प्रतिकिलो रु २५, आलु रातो (भारतीय) प्रतिकिलो रु २६ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु ४५, बन्दा (नरिबल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ४०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ४५, काउली तराई प्रतिकिलो रु ३५, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ८० र भन्टा डल्लो प्रतिकिलो रु ८५ कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ४०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ९०, तिते करेला प्रतिकिलो रु १८०, घिरौँला प्रतिकिलो रु ११०, लौका प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु १५, सलगम प्रतिकिलो ६०, भिन्डी प्रतिकिलो १५०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ७० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो प्रतिकेजी रु ४०, चमसुर प्रतिकिलो रु ५०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ४५, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १२०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ८०, सजीवन प्रतिकेजी रु ३००, रातो बन्दा प्रतिकिलो रु ७०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु १७०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २८० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १९०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २१०, अङ्गुर (कालो) प्रतिकिलो रु ३२०, सुन्तला (भारतीय) प्रतिकिलो रु १६०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु १५०, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ६०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ९५, रुख कटहर प्रतिकिलो रु १२०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु २२०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३५० र एभोकाडो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १२०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४३०, खुर्सानी हरियो प्रतिकिलो रु २००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १९०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ८००, भेडे खुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु ६०, हरियो धनियाँ प्रतिकिलो रु ५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु ११०, छ्यापी हरियो प्रतिकिलो रु १४०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन २१ गते मध्यरातिसम्म नेपाल–भारत सीमाक्षेत्रको आवागमनमा रोक लगाएको हो । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्ने उद्देश्यसहित सीमानाका पूर्ण रूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए । पाँचथरको भारतको सिक्किम र पश्चिम बङ्गाल राज्यसँग करिब ४४ किलोमिटर सीमा जोडिएको भए पनि सीमानाका भने छैन । तर यहाँ दुवैतर्फका बासिन्दा पारिवारिक, व्यापारिक, पर्यटन तथा पशुचौपायाको चरिचरनका लागि सीमा वारपार गर्ने गरेका छन् । दुवैतर्फ पारिवारिक सम्बन्ध हुनाले नियमितजसो आवतजावत हुने गर्दछ । प्रशासनले निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिकाबमोजिम सीमानाका बन्द गरिएको जनाएको छ । नाका बन्द गरिएको अवधिमा पनि सुरक्षा अधिकारीहरूबाट प्रमाणित भएका आकस्मिक स्वास्थ्य सेवा प्रदायक एम्बुलेन्सलगायत सवारीसाधन भने सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सीमानाका नभए पनि चिवाभञ्ज्याङ, फालोटलगायत क्षेत्रबाट सवारीसाधन र मानिस आवागमन हुने गरेका कारण प्रशासन सो कार्यमा रोक लगाएको हो ।     

यस्तो छ मंगलबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ छ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ २२ पैसा र बिक्रीदर २१ रुपैयाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३९ रुपैयाँ सात पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ दुई पैसा र बिक्रीदर १० रुपैयाँ छ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ दुई पैसा र बिक्रीदर १६ रुपैयाँ नौ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९३ पैसा र बिक्रीदर २३ रुपैयाँ दुई पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर ४७७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४७९ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३८७ रुपैयाँ दुई पैसा र बिक्रीदर ३८८ रुपैयाँ ६१ पैसा, ओमनी रियाल एकको खरिददर ३७९ रुपैयाँ १३ पैसा र बिक्रीदर ३८० रुपैयाँ ६९ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

साउदी अरेबियाको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

काठमाडौं । साउदी अरेबियाको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । दूतावास भवनमाथि दुई वटा ड्रोन प्रहार गरिएको त्यहाँको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । दूतावासले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा आक्रमणका कारण सामान्य आगलागी भएको र भवनमा आंशिक क्षति पुगेको उल्लेख गरिएको छ । मानवीय क्षतिको विवरण सार्वजनिक गरिएको छैन ।  अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आक्रमणपछि ठूलो विस्फोटको आवाज सुनिएको थियो भने आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो । आक्रमण हुनुअघि नै भवन खाली गरिएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको जनाइएको छ । साउदी अरेबियास्थित अमेरिकी नियोगले रियाद, जेद्दा र धहरानमा बसोबास गर्नेहरूलाई घरमै सुरक्षित रहन आग्रह गरेको छ । क्षेत्रीय तनाव बढिरहेका बेला उक्त आक्रमण भएको हो । शनिबार इजरायल) र अमेरिकाले इरानमाथि आक्रमण गरेको र त्यसक्रममा इरानका सर्वोच्च धार्मिक नेता खामेनी मारिएको दाबी गरिएको छ । त्यसपछि इरानले खाडी मुलुकमा रहेका अमेरिकी सैनिक अड्डा तथा इजरायलतर्फ लक्षित आक्रमण तीव्र पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  यसअघि सोमबार कुवेतस्थित अमेरिकी दूतावास आसपासबाट धुवाँ उठेको देखिएको थियो । त्यसपछि दूतावासले सर्वसाधारणलाई त्यहाँ नआउन र आफ्नै घरमा सुरक्षित बस्न अनुरोध गरेको थियो । इरानले बदलास्वरूप मध्यपूर्वका खाडी मुलुकहरूमा निरन्तर आक्रमण जारी राखेको बताइएको छ । एजेन्सी

होर्मुज सङ्कटले विश्व बजारमा हलचल, युद्ध ४ हप्तासम्म लम्बिन सक्ने

काठमाडौं । इरानमा अमेरिका-इजरायल संयुक्त आक्रमण र त्यसपछिको क्षेत्रीय तनावले विश्व ऊर्जा बजारलाई तीव्र झट्का दिएको छ । होर्मुज जलडमरूमध्य आसपास असुरक्षा चुलिँदा सोमबार एसियाली बजार खुल्ने बित्तिकै कच्चा तेल र ग्यासको मूल्य उकालो लाग्यो भने सेयर बजारहरू गहिरो गिरावटमा पुगे । ईस्लामिक गणतन्त्र इरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीसहित वरिष्ठ अधिकारीहरूको ज्यान जाने गरी भएको हमलापछि ब्रेन्ट क्रुड सुरुवाती कारोबारमा झन्डै १४ प्रतिशत र वेस्ट टेक्सास इन्टरमिडियेट करिब १२ प्रतिशतले उक्लिएको थियो । विश्व समुद्री तेल आपूर्तिको करिब २० प्रतिशत बग्ने होर्मुज जलडमरूमध्ये प्रभावकारी रूपमा अवरुद्ध भएको, केही जहाजमा आक्रमण भएको र बीमा लागत आकासिएको खबरले आपूर्ति अवरोधको डर झन् बढाएको हो । पछि केही लाभ घटे पनि कच्चा तेल नौ प्रतिशतभन्दा बढी माथि नै रह्यो भने युरोपेली ग्यासको मूल्य २० प्रतिशतभन्दा बढीले बढ्यो । टोकियो, हङकङ, सिङ्गापुर, मुम्बई, बैङ्कक, वेलिङ्गटन र ताइपेईका सेयर बजारहरू राताम्मे देखिए । लन्डन झन्डै एक प्रतिशत घट्दा फ्रान्कफर्ट र पेरिसमा दुई प्रतिशतभन्दा बढी गिरावट आयो । साङ्घाई भने सामान्य सुधारमा रह्यो र सिड्नी स्थिरजस्तै देखियो । अमेरिकी मुद्रा प्रारम्भमा कमजोर बने पनि पछि सुरक्षित लगानीतर्फको आकर्षणका कारण डलर र सुन दुवै बढेका छन्, जसमा सुन झन्डै दुई प्रतिशतले उक्लिएको छ । क्षेत्रीय उडान रद्द हुन थालेपछि एयरलाइन्स कम्पनीहरूको सेयरमा तीव्र गिरावट आयो । हङकङको क्याथे प्यासिफिक चार प्रतिशत, सिड्नीमा सूचीकृत क्वान्टास ५.४ प्रतिशत, सिङ्गापुर एयरलाइन्स ४.८ प्रतिशतले घटे । जापानका एएनए र जेएएल पनि ५ प्रतिशतभन्दा बढी ओरालो लागे । यसको विपरीत ऊर्जा कम्पनीहरू भने उक्लिए । अस्ट्रेलियाका वुडसाइड एनर्जी र सान्तोस ६ प्रतिशतभन्दा बढीले बढे, पेट्रोचाइना करिब ४ प्रतिशत माथि पुग्यो र जापानको इन्पेक्सले पनि उल्लेख्य वृद्धि गर्‍यो । इरानले औपचारिक रूपमा जलडमरूमध्य बन्द नगरे पनि रिभोलुसनरी गाड्र्सले जहाजलाई सावधानी अपनाउन चेतावनी दिएको छ । ओमान र युएईको तट नजिक २ जहाज ठोक्किएको र एउटा तेल ट्याङ्करमा प्रहार भई डुबेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रमुख ढुवानी कम्पनीहरूले आफ्ना जहाजहरूको मार्ग परिवर्तन गरिसकेको पुष्टि गरेका छन् । विश्लेषक अमेना बक्रका अनुसार अवस्था लम्बिए कच्चा तेलको मूल्य ९० डलर नाघ्न सक्छ र रणनीतिक भण्डारले पनि पूरै कमी धान्न नसक्ने जोखिम छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई सरकारविरुद्ध उठ्न आह्वान गर्दै युद्ध ४ हप्तासम्म लम्बिन सक्ने बताए । तर इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुखले संयुक्त राज्य अमेरिकासँग वार्ता नगर्ने स्पष्ट पारेका छन् । इरान समर्थित हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेपछि लेबनानमा पनि आक्रमण भएको खबरले द्वन्द्व थप फैलिन सक्ने चिन्ता बढाएको छ । स्याक्सो मार्केटका चारु चनानाका अनुसार ऊर्जा मूल्य उच्च रहिरहे मुद्रास्फीति फेरि चर्किन सक्छ र अमेरिकी फेडरल रिजर्भलाई ब्याजदर कटौतीमा सतर्क बनाउनेछ । क्लेप्लरकी विश्लेषक मिसेल ब्रोहार्डले उच्च तेल मूल्यलाई ट्रम्प प्रशासनको ‘एचकिलिस हिल’ को संज्ञा दिँदै अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा मूल्यवृद्धिले राजनीतिक दबाब बढाउन सक्ने बताए । कतार विश्वको प्रमुख तरलीकृत प्राकृतिक ग्यास निर्यातकर्ता भएकाले ग्यास मूल्य वृद्धिले विश्व अर्थतन्त्रमा थप असर पार्ने आकलन गरिएको छ । पेरिसस्थित आइइएसइजी स्कुल अफ म्यानेजमेन्टका अर्थशास्त्री एरिक डोरका अनुसार तनाव छोटो अवधिमा सीमित रहे ठूलो असर नपर्न सक्छ, तर लामो समय कायम रहेमा बढ्दो ऊर्जा र ढुवानी लागतले विश्व आर्थिक वृद्धिमा मन्दीको छायाँ पार्न सक्छ ।

भारत-क्यानडा व्यापार ५० अर्ब डलर लक्ष्य

काठमाडौं । भारत र क्यानडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५० अर्ब अमेरिकी डलर पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य तय गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानडाका प्रधानमन्त्री मार्क जे कार्नीको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई ‘अर्को स्तर’ मा लैजाने अवसरका रूपमा चित्रित गर्दै आर्थिक साझेदारीलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे ।  राष्ट्रिय राजधानीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले व्यापार र लगानीका सबै सम्भावनाहरू खुला गर्ने प्राथमिकता तय गरिएको बताए । उनका अनुसार व्यापक आर्थिक साझेदारी सम्झौतालाई निकट भविष्यमा अन्तिम रूप दिने निर्णय भएको छ । उक्त सम्झौताले दुवै देशमा नयाँ लगानी र रोजगारीका अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ । प्रधानमन्त्री मोदीले क्यानडाली पेन्सन कोषहरूले भारतमा करिब १ खर्ब डलर लगानी गरेको उल्लेख गर्दै यसलाई भारतको आर्थिक विकासप्रति क्यानडाको भरोसाको सङ्केत रहेको बताए । दुवै देशका प्रधानमन्त्रीहरूले व्यापारिक समुदायसँग पनि छलफल गर्ने कार्यक्रम रहेको र त्यसबाट आर्थिक सहकार्यको स्पष्ट मार्गचित्र तयार हुने बताइएको छ । प्रधानमन्त्री कार्नीको यो भारतको पहिलो आधिकारिक भ्रमण हो । उनी २७ फेब्रुअरीमा भारत आइपुगेका थिए । मुम्बई भ्रमणपछि राष्ट्रिय राजधानीमा उच्चस्तरीय भेटवार्ता सम्पन्न भएको हो । हैदराबाद हाउसमा भएको द्विपक्षीय वार्तामा व्यापार, लगानी र रणनीतिक सहकार्यलाई सुदृढ बनाउने विषयमा केन्द्रित छलफल भएको बताइएको छ । दुवै नेताको उपस्थितिमा विभिन्न समझदारीपत्रमा हस्ताक्षरसमेत भएका छन् । प्रधानमन्त्री मोदीले गत वर्ष क्यानडामा सम्पन्न जी-७ शिखर सम्मेलनका क्रममा भएको भेटलाई स्मरण गर्दै द्विपक्षीय सम्बन्धमा नयाँ ऊर्जा र विश्वास थपिएको उल्लेख गरे । भारत र क्यानडाले लोकतान्त्रिक मूल्यमान्यता, विविधता र मानव कल्याणप्रतिको साझा दृष्टिकोणमा आधारित सहकार्य अघि बढाउने प्रतिबद्धता दोहोर्‍याएका छन् । विदेशमन्त्री एस जय शङ्करले पनि क्यानडाका प्रधानमन्त्रीसँग भेट गरी अग्रगामी साझेदारी निर्माणप्रति प्रतिबद्धता व्यक्त गरे । हालको भ्रमणलाई भारत–क्यानाडा सम्बन्ध सामान्यीकरण र रणनीतिक-आर्थिक सहकार्य विस्तारतर्फको महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ । प्रधानमन्त्री कार्नी आजै भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किने कार्यक्रम रहेको छ ।  

खाडी मुलुकप्रति आफ्नो कुनै शत्रुता नरहेको इरानको दाबी

काठमाडौं । अमेरिका–इजरायल आक्रमणपछि मध्यपूर्वमा कारबाही सुरु गरेको इरानले खाडी मुलुकप्रति कुनै दुर्भावना नराखेको विदेशमन्त्रीले सोमबार बताएका छन् ।  ‘इरानले पर्सियाली खाडी मुलुकहरुप्रति कुनै शत्रुता राख्दैन र उनीहरुसँग राम्रो छिमेकी सम्बन्ध कायम गर्न प्रतिबद्ध छ,’ विदेशमन्त्री अब्बास अराघचीले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको टेलिफोन वार्तामा भने ।  चिनियाँ विदेश मन्त्रालयले इरानी विदेशमन्त्रीलाई उद्धृत गर्दै भनेको छ, ‘अमेरिकी सैन्य अखडाहरूविरुद्ध इरानको रक्षात्मक प्रतिक्रियालाई खाडी देशहरूविरुद्ध इरानको आक्रमणको रूपमा हेर्न हुँदैन ।’ इरानमाथि अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा इरानी सर्वोच्च नेता आयोतोल्लाह अली खामेनी, रक्षामन्त्री अमिर नसिरजादेहसहित दर्जनौँ सैन्य अधिकारी मारिएको थियो । प्रतिक्रियामा अहिलेसम्म मध्यपूर्वमा संयुक्त राज्य अमेरिका र इजरायलसँग सम्बन्धित ५०० स्थलहरूलाई लक्षित गरी आक्रमण गरेको रिभोलुसनरी गाड्र्सले युद्धको तेस्रो दिन सोमबार जानकारी गराएको छ ।  इरानले छिमेकी मुलुकबारे पछिल्लो युद्धको धारणा स्पस्ट गर्दै आफ्नो शत्रुता खाडी मुलुकहरू नभएको बताएपनि शनिबार अमेरिका र इजरायलले अभियान सुरु गरेयता दुबई, अबुधाबी, कुवेत र मनामा विमानस्थललाई निशाना बनाइएको छ ।