एमएडब्लू वृद्धिको प्रि–न्यू इयर ब्याश अफर सार्वजनिक, सेरेस ईभीमा ६ लाखसम्म छुट
काठमाडौं । एमएडब्लू वृद्धिले ‘प्रि–न्यू इयर ब्याश’ नामक अफर सार्वजनिक गरेको छ । नयाँ वर्षअघि सीमित समयका लागि उपलब्ध यो अफरअन्तर्गत डोंगफेङ नामी र सेरेसका लोकप्रिय मोडेलहरूमा यस सिजनकै उत्कृष्ट अफरहरू दिइने कम्पनीले जनाएको छ । डोंगफेङ नामीको अफरअन्तर्गत ‘नामी भिगो’ र ‘नामी ०१’ लाई नाडा मूल्यमै किन्न सकिनेछ । साथै प्रत्येक ग्राहकलाई ७ किलोवाट होम चार्जर, ३.५ किलोवाट पोर्टेबल चार्जर र अटो प्लस इन्स्योरेन्स पूर्णरूपमा निःशुल्क प्रदान गरिने जनाइएको छ । नामी किनेका ग्राहकहरू स्पेशल लक्की ड्रमा पनि सहभागी हुन पाउनेछन् जहाँ तीन भाग्यशालीले थाइल्यान्ड भ्रमण र एक विजेताले आईफोन १७ प्रो म्याक्स जित्ने मौका पाउनेछन् । यस्तै, सेरेस ईभीमा पनि ६ लाख रुपैयाँसम्मको लाभ हुने कम्पनीले जनाएको छ । अफरमा क्यास डिस्काउन्ट, कम्प्रिहेन्सिभ इन्स्युरेन्स, निःशुल्क एक्सेसरिज, उच्च मूल्यांकनसहितको एक्सचेञ्ज सुविधा र आकर्षक एक्सचेञ्ज बोनस समावेश छन् । एमएडब्लू वृद्धिका अनुसार ‘प्रि–न्यू इयर ब्याश’ अन्तर्गतका सबै अफरहरू काठमाडौँ उपत्यका तथा बाहिरका सबै अधिकृत डोंगफेङ नामी र सेरेस शोरूमहरूमा एकसाथ उपलब्ध छन् ।
श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा गरिएको वृद्धिप्रति पूर्वमन्त्री पौडेलले जनाए खेद
काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा गरिएको वृद्धिप्रति खेद व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत स्वास्थ्य परीक्षणवापत लाग्ने सम्पूर्ण शुल्क पूर्ण रूपमा श्रमिकले नै बेहोर्ने गरी लागू गरिएको व्यवस्था तत्काल फिर्ता गर्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘फ्री भिषा, फ्री टिकट लागू हुन नसकेको अवस्थामा सरकारले मारमा पार्ने गरी शुल्क मात्रै बढाएर व्यापारलाई प्रश्रय दिए जस्तो देखियो, यो स्वाभाविक होइन ।’ २०८१ भाद्रमा तत्कालीन अतिरिक्त स्वास्थ्य सचिव दिपेन्द्ररमण सिंहको संयोजकत्वमा गठित समितिको प्रतिवेदनले वैदेशिक रोजगारीमा श्रमिकलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने र शुल्क बीमाले नै बेहोर्ने गरी व्यवस्था गर्न सुझाव दिइएको थियो । अघिल्लो मन्त्रीस्तरीय निर्णयले कार्यान्वयन हुन रोकेको विषय अहिलेको सरकारले कार्यन्वन गरेकोमा पौडेलको आपत्ति छ । ‘सबै श्रमिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरेर स्वास्थ्य परीक्षण शुल्क त्यसैबाट बेहोर्ने गरियोस्,’ उनी भन्छन्, ‘वैदेशिक रोजगारीमा जाने श्रमिकको सबै उपचार खर्च रोजगारदाताबाटै भराउने नीति लागू हुने गरि श्रम सम्झौता गरियोस् म सरकारसँग सोही व्यवस्था लागू गरेर श्रमिकलाई थप भार पार्ने हालैको व्यवस्था खारेज गर्न जोडदार माग गर्दछु ।’
स्वास्थ्यमन्त्री गौतम र पूर्वस्वास्थ्यमन्त्री पौडेलबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम शर्मा र पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो कांग्रेस युवा नेता पौडल मन्त्री शर्मालाई भेट्न स्वास्थ्य मन्त्रालय पुगेका थिए । उनले मन्त्री शर्मालाई आफ्नो पालामा गरेका कामको विवरण समेटिएको हाते पुस्तक हस्तान्तरण गरे । भेटमा पौडेलले आफूले गरेका र गर्ने क्रममा रहेका कार्यक्रमहरूलाई निरन्तरता दिन आग्रह गरेका थिए । मन्त्री शर्माले आफ्नो प्राथमिकता स्वास्थ्य बीमा, औषधी क्षेत्र र स्वास्थ्यका खरिद प्रक्रियालाई व्यवस्थित बनाउनु रहेको भन्दै त्यहीअनुसार काम गरिरहेको बताइन् । उनले आफ्नो कार्यकालसम्म सक्दो काम गर्ने प्रतिवद्धता जनाएकी छिन् । भदौ २३ र २४ गते जेनजी आन्दोलन पछि गठित अन्तरिम सरकारले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गरिरहेकी विज्ञलाई मन्त्री बनाएको छ । मन्त्री शर्मा यसअघि स्वास्थ्यमन्त्री रहेका पौडेलको सल्लाहकारको भूमिकामा थिइन् ।
सप्तकोशी सिमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त
काठमाडौं । सप्तकोशी सिमेन्ट लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ (एकसय) दरले जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । सम्झौतापत्रमा सप्तकोशी सिमेन्टका तर्फबाट अध्यक्ष मोना जालान तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्दिप कार्कीले हस्ताक्षर गरे । सप्तकोशी सिमेन्टको दैनिक उत्पादन क्षमता ६०० टन रहेको छ । कम्पनीले नेपाल गुणस्तरको निर्धारित मापदण्ड अनुसार पीपीसी तथा ४३ र ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । नेपालको सिमेन्ट बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एचआर गोयल समूहद्वारा प्रवर्धित यस कम्पनीले सन् २०१९ मा व्यवसायिक उत्पादन सुरु गरेदेखि हालसम्म निरन्तर सञ्चालन नाफा कायम राख्न सफल रहेको छ। पूर्वी नेपालमा यस कम्पनीले करिब २० प्रतिशत बजार हिस्सा ओगटेको छ । आईपीओबाट उठ्ने पुँजी नयाँ क्लिङ्कर प्लान्ट स्थापना गर्न तथा हाल सञ्चालनमा रहेको प्लान्टको क्षमता विस्तार गर्न प्रयोग गरिने जनाइएको छ।
भगवती कम्पोजिट इण्डष्ट्रिजले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। भगवती कम्पोजिट इण्डस्ट्रिले ६ लाख ४४ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासन प्रक्रियाका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतापत्रमा भगवती कम्पोजिट इण्डष्ट्रिजका तर्फबाट अध्यक्ष दक्षिणा गैह्रे न्यौपाने तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिष घिमिरेले हस्ताक्षर गरे । जारी पूँजीको २० प्रतिशतका दरले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँमा आइपिओ निष्काशन गर्ने तयारी गरेको हो । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले विगत १५ वर्षदेखि चितवनको भरतपुरमा अत्याधुनिक प्रविधि प्रयोग गर्दै गुणस्तरीय उद्योगजन्य वस्तुहरू उत्पादन गर्दै आइरहेको छ ।
कुमारी बैंक ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२५’ मा दुई विधाबाट सम्मानित
काठमाडौं । भिजा इन्टरनेशनलले आयोजना गरेको ‘लिडरसिप कन्क्लेभ नेपाल २०२५’ मा कुमारी बैंक दुई विधाबाट सम्मानित भएको छ । बैंक एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस र एक्सिलेन्स इन कम्ज्युमर क्रेडिट कार्ड बिजनेस प्रिन्सिपल क्लाइन्ट अवार्डले सम्मानित भएको हो । यो सम्मान कुमारी बैंकको अन्तर्राष्ट्रिय व्यापार तथा क्रेडिट कार्ड व्यापारमा देखाइएको उत्कृष्टताको लागि प्रदान गरिएको हो । बैंकले आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धतासमेत जनाएको छ । कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ ईकाईमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
मधेस सरकारले स्नातक उत्तीर्ण बेरोजगार युवालाई मासिक भत्ता र किसानलाई राहत दिने
काठमाडौं । मधेस प्रदेश सरकारले प्रदेशमा स्नातक उत्तीर्ण बेरोजगार युवालाई मासिक बेरोजगार भत्ता दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री सरोजकुमार यादवले १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका बेरोजगार युवाले मासिक २ हजार भत्ता दिने निर्णय गरेको जानकारी दिए । मुख्यमन्त्री यादवका अनुसार प्रदेशमा हाल करिब १ लाख ५० हजार स्नातक बेरोजगार युवा रहेको अनुमान गरीएको छ । युवाहरुलाई भत्ता वितरणका लागि सरकारले ३५ करोड खर्च हुने अनुमान गरेको यादवले जानकारी दिए । यस्तै, बैठकले खडेरी र डुबानका कारण धानबालीमा ठूलो क्षति पुगेका किसानलाई प्रतिकट्ठा हजार ५सय रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । किसानलाई राहत प्रदान गर्ने कार्यमा ३६ करोड रुपैयाँ खर्च हुने मुख्यमन्त्री यादवले जानकारी दिए । यस वर्ष लामो समयको खडेरी र असोजमा परेको अविरल वर्षाको डुबानका कारण मधेस प्रदेशका किसान निकै प्रभावित भएकाले प्रदेश सरकारले राहतको प्याकेज ल्याएको मुख्यमन्त्री यादवले जानकारी दिए । मनसुन अवधिभर पानीको कमी भएपछि प्रदेश सरकारले मधेसका जिल्लालाई सुक्खाग्रस्त क्षेत्रसमेत घोषणा गरेको थियो ।