विकासन्युज

पृथ्वीजस्तै अर्को ग्रहमा पनि जीवन सम्भव, नासाले भेट्टायो ठोस प्रमाण

काठमाडौं । हाम्रो सौर्यमण्डलबाहिर जीवनको खोजले नयाँ मोड लिएको छ । अनुसन्धानकर्ताहरूले पृथ्वीबाट करिब ४९ प्रकाशवर्ष टाढा रहेको पृथ्वीजस्तै एक ग्रह वरिपरि वायुमण्डल रहेको ठोस प्रमाण फेला पारेका छन् । वैज्ञानिकहरूका अनुसार उक्त ग्रहको सतहमा तरल पानी हुन सक्ने सम्भावना छ । यो चट्टानी एक्सोप्लानेट (सौर्यमण्डलबाहिरको ग्रह) आफ्नो ताराको वासयोग्य क्षेत्र (ह्याबिटेबल जोन) मा अवस्थित छ । वासयोग्य क्षेत्र भनेको यस्तो दूरी हो, जहाँ ग्रहको सतहमा तरल पानी रहन सक्ने तापक्रम हुन्छ । त्यसैले त्यहाँ पृथ्वीजस्तै जीवन विकास हुने सम्भावनालाई बल दिएको हो । यसअघि वैज्ञानिकहरूले ठूला ग्यासीय एक्सोप्लानेट र ‘सब–नेप्च्युन’ ग्रहहरूमा वायुमण्डल भेटेका थिए । तर यो खोज फरक छ । अध्ययनका प्रमुख लेखक डा. कोलिन चेरुबिमले सौर्यमण्डलबाहिर वासयोग्य क्षेत्रमा रहेको चट्टानी ग्रहमा प्रत्यक्ष अवलोकनबाट पुष्टि भएको यो पहिलो वायुमण्डल रहेको जानकारी दिए । डा. चेरुबिमका अनुसार एलएचएस ११४० बी नामक यो ग्रह खगोलजीवविज्ञान  र जीवन बस्न सक्ने सम्भावनाको अध्ययनका लागि सौर्यमण्डलबाहिरकै सबैभन्दा आशाजनक प्रयोगशाला बनेको छ । यो ग्रहको द्रव्यमान पृथ्वीको भन्दा ५.६ गुणा बढी छ भने यसको अर्धव्यास पृथ्वीभन्दा करिब ७० प्रतिशत ठूलो छ। उनका अनुसार केही पक्षमा यो पृथ्वीसँग निकै मिल्दोजुल्दो छ ।  उदाहरणका लागि यसको समग्र संरचना र तापक्रम । तर केही पक्षमा भने फरक छ । यो ग्रह टाइडली लक्ड  छ, अर्थात् यसको एउटा भाग सधैं तारातर्फ र अर्को भाग सधैं विपरीत दिशातर्फ रहन्छ । साथै यसमा पृथ्वीभन्दा धेरै पानी हुन सक्ने र यसको वायुमण्डल पनि पृथ्वीको भन्दा निकै फरक हुन सक्ने अनुमान गरिएको छ । नयाँ अध्ययनले एलएचएस ११४० बीमा जीवनका लागि आवश्यक प्रमुख आधारहरू रहेको देखाएको छ । यो चट्टानी ग्रह हो, यसको तापक्रम तरल पानी रहन मिल्ने खालको छ र यसमा रहेको वायुमण्डलले पानीलाई अन्तरिक्षमा उड्नबाट जोगाउन सक्छ । साथै यसको मूल तारा अपेक्षाकृत शान्त छ र त्यसमा ऊर्जा विस्फोट (फ्लेयर) पनि निकै कम हुने भएकाले जीवन विकासका लागि अनुकूल वातावरण हुन सक्ने वैज्ञानिकहरूको विश्वास छ । सन् २०१७ मा भएको थियो खोज सन् २०१७ मा पत्ता लागेको यो ग्रह पृथ्वीबाट तुलनात्मक रूपमा नजिकै रहेको सेटस तारामण्डलमा अवस्थित सानो रेड ड्वार्फ ताराको परिक्रमा गर्छ । यो तारा सूर्यभन्दा सानो र कम चम्किलो भए पनि यसले आफ्नो ऊर्जाको ठूलो हिस्सा आयनकारी विकिरणका रूपमा उत्सर्जन गर्छ । डा. चेरुबिमले भविष्यमा यस ग्रहमा जीवनका संकेत खोज्ने अनुसन्धान अझ अघि बढाउने योजना रहेको बताएका छन् । अक्सफोर्ड विश्वविद्यालयकी खगोल भौतिक प्राध्यापक जेन बर्कबीले यसलाई ‘अत्यन्तै उत्कृष्ट खोज’ भनेकी छन् । उनका अनुसार साना रेड ड्वार्फ तारा ब्रह्माण्डमा सबैभन्दा धेरै पाइने भएकाले तिनका वासयोग्य क्षेत्रमा रहेका चट्टानी ग्रहहरूको अध्ययन मानवजातिका लागि महत्त्वपूर्ण अवसर हो । यद्यपि यस्ता ताराहरू धेरै सक्रिय हुने भएकाले तिनको विकिरणले ग्रहको वायुमण्डल नष्ट गर्न सक्छ । त्यस्तै, नेदरल्यान्ड्सको लिडेन वेधशालाकी डा. यामिला मिगुएलले पनि अध्ययनको स्वागत गर्दै आफ्नो मूल ताराको धेरै नजिक रहेका ग्रहहरूले समयसँगै आफ्नो वायुमण्डलीय ग्यास गुमाउन सक्छने बताइन् ।  उनका अनुसार एलएचएस ११४० बीमा भइरहेको यही प्रक्रियाको अध्ययनले साना र चट्टानी ग्रहहरूको विकासबारे नयाँ जानकारी प्राप्त गर्न मद्दत गर्नेछ ।

प्रधानमन्त्री-गभर्नरको भेट र अर्थमन्त्रीको सन्देशले नेप्सेमा उछाल, वर्षको पहिलो दिन हरियाली

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक शुक्रबार ७९.७४ अंकले बढेर २ हजार ६७७.५४ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज ३३५ कम्पनीको १ करोड ३ लाख ८९ हजार कित्ता बढी सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कम्पनीमध्ये २५९ कम्पनीको सेयर मूल्य बढेको, १३ कम्पनीको घटेको तथा २ कम्पनीको मूल्य स्थिर रहेको छ ।  कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत अग्रस्थानमा छ । कम्पनीको २२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यसपछि कर्पोरेट डेभलपमेन्ट बैंकको १७ करोड ७३ लाख रूपैयाँ, रिलाइन्स स्पिनिङको १५ करोड ६० लाख रूपैयाँ, रिडी पावरको १५ करोड ३६ लाख रुपैयाँ र न्यादी ग्रुपको १४ करोड ८५ लाख रुपैयाँ बराबर कारोबार भएको छ ।  यस्तै, आज श्रीनगर एग्रीटेकको सेयर मूल्य १५ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ ।  उपसमूहतर्फ म्युचुअल फन्डबाहेक सबै सूचक हरियालीमा रहे । बैंकिङ समूह २.४१ प्रतिशत, डेभलपमेन्ट बैंक समूह २.१८ प्रतिशत, फाइनान्स समूह ३.३९ प्रतिशत, होटल तथा पर्यटन समूह ३.६६ प्रतिशत, हाइड्रोपावर समूह ४.५८ प्रतिशत, लगानी समूह ४.१२ प्रतिशत, जीवन बीमा समूह २.७४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ४.६० प्रतिशत, माइक्रोफाइनान्स समूह १.८० प्रतिशत, निर्जीवन बीमा समूह २.११ प्रतिशत, अन्य समूह २.७७ प्रतिशत तथा ट्रेडिङ समूह ०.८३ प्रतिशतले बढेका छन् । म्युचुअल फन्ड उपसूचक भने ०.२९ प्रतिशतले घटेको छ । बजारमा आएको यो उत्साहलाई लगानीकर्ता तथा ब्रोकरहरूले सकारात्मक रूपमा लिएका छन् । एक ब्रोकर व्यवसायीका अनुसार बजार हरियाली भएसँगै लगानीकर्ताको मनोबल पनि बढेको छ । सबल कम्पनीको सेयरमा ८० प्रतिशतसम्म मार्जिन लेन्डिङ उपलब्ध हुने व्यवस्थाले लगानीकर्तामा उत्साह थपिएको उनको भनाइ छ ।  बजारले लामो समयदेखि यस्तै सकारात्मक सेन्टिमेन्टको अपेक्षा गरिरहेको र बैंकको ब्याजदर तथा अन्य नीतिगत व्यवस्था पनि अहिले अनुकूल रहेको उनले बताए । उनका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी पुँजी बजारसँग सम्बन्धित नीतिगत व्यवस्था सहजीकरण गर्न दिएको निर्देशनले पनि लगानीकर्तामा सकारात्मक प्रभाव परेको छ । त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयबाट सेयर बजारसम्बन्धी सकारात्मक सन्देश आउनुले समेत बजारप्रति आशा बढाएको उनले बताए । पछिल्ला केही दिन डिबेन्चरको कारोबार बढे पनि शुक्रबार कम्पनीहरूको सेयर कारोबार उल्लेख्य रूपमा बढेकाले आजको वृद्धिलाई सकारात्मक रूपमा लिनुपर्ने उनको धारणा छ । एक लगानीकर्ताका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएसँगै बजारप्रति नयाँ अपेक्षा र उत्साह बढेको छ । उनका अनुसार बजारसँग सम्बन्धित आधारभूत विषयमा खासै नकारात्मक परिवर्तन नभएकाले नयाँ वर्षसँगै सकारात्मक गतिविधि बढ्ने आशा लगानीकर्तामा देखिएको हो । उनले पछिल्ला दिनमा रहेका विभिन्न शंका-आशंका क्रमशः हट्दै गएको बताए । उनका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएसँगै सूचीकृत कम्पनीहरूको साधारण सभा तथा लाभांश घोषणाको सिजन सुरु हुने अपेक्षाले पनि लगानीकर्ताको खरिद चाप बढेको हुन सक्छ । 

स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको साथ, नीति र बजारमा सहजीकरणको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवद्र्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार (आज) फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन)का पदाधिकारी र सदस्यसँग छलफल गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले तिनै तहको सरकारको समन्वयमा जुत्ता निर्माणसम्बन्धी सीपमूलक तालिम सञ्चालन गरिने, नेपाली जुत्ता–चप्पलको ब्रान्डिङ, मार्केटिङ तथा बजार प्रवर्द्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताए । यस्तै, उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थ आयातको सीमामा ट्र्याकिङ तथा अभिलेख व्यवस्थापन प्रभावकारी बनाइने र स्वदेशी उत्पादनको प्रयोग, प्रवर्द्धन तथा बजार विस्तारमा उनले विशेष जोड दिइने बताए । छलफलमा संघका पदाधिकारी तथा सदस्यले भारतका विभिन्न नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न, कर तथा भ्याटको दायराबाहिर रहेका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्डलाई कानुनी दायरामा ल्याउन, गुणस्तरहीन तथा सस्तो जुत्ता–चप्पलको आयात नियन्त्रण गर्ने तथा आयातित जुत्ता–चप्पलमा अनिवार्य गुणस्तर परीक्षण लागू गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । साथै, उनीहरूले सरकारबाट आवश्यक नीतिगत सहयोग, बजार संरक्षण र उद्योगमैत्री व्यवस्था भए स्वदेशी जुत्ता–चप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने विश्वास दिलाएका थिए । छलफलमा संघका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, सदस्य एवं प्रतिनिधिसभा सदस्य विदुषी राणालगायतको सहभागिता रहेको थियो ।

हङकङमा बाथरुममा लड्दा शेरबहादुर देउवाको दायाँ हात भाँचियो

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा बाथरुममा लडेर घाइते भएका छन् । लड्ने क्रममा उनको दायाँ हात भाँचिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार देउवा हङकङस्थित एक स्थानीय अस्पतालमा उपचाररत थिए । चिकित्सकले आवश्यक उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेकाले अस्पतालबाट डिस्चार्ज गरिसकिएको स्रोतले जनाएको छ । देउवा नियमित स्वास्थ्य परीक्षण तथा थप उपचारका लागि सिङ्गापुर पुगेका थिए । त्यसपछि उनी २०८२ साल चैत ७ गते थप उपचारका लागि सिङ्गापुरबाट हङकङ गएका थिए । सोही क्रममा बाथरुममा लड्दा उनको दायाँ हातमा चोट लागेको र हात भाँचिएको स्रोतको भनाइ छ । हाल उनी चिकित्सकको निगरानीमा आराम गरिरहेका छन् । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र आवश्यक फलोअप उपचार जारी रहने बताइएको छ । घटनाबारे देउवाको सचिवालयले औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन ।

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ गोल्ड लोन’, सुन धितोमा ५० लाखसम्म कर्जा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको तत्काल वित्तीय आवश्यकता सहज रूपमा पूरा गर्ने उद्देश्यले ‘सिद्धार्थ गोल्ड लोन’ योजना सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले आफ्नो सुन तथा सुनका गरगहना धितो राखेर बैंकबाट सहज रूपमा कर्जा लिन सक्नेछन् । बैंकका अनुसार यस योजनामार्फत ग्राहकले अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । धितो राखिएको सुनको मूल्यांकनका आधारमा अधिकतम ७५ प्रतिशतसम्म कर्जा प्रवाह गरिने व्यवस्था गरिएको छ । बैंकले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रकारका वित्तीय आवश्यकता पूरा गर्न यो योजना प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ । ग्राहकलाई छिटो, सुरक्षित तथा भरपर्दो वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो सुविधा हालका लागि काठमाडौंस्थित न्यूरोड गेट शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । यस योजनासम्बन्धी थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

शुक्रबारदेखि प्रदेशहरूले दिए कर र जरिवानामा छुट, राइड सेयरिङ पनि दायरामा

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै प्रदेश सरकारहरूले सवारीधनीहरूलाई लक्षित गर्दै विभिन्न शीर्षकमा विशेष कर तथा जरिवाना छुटका सुविधाहरू कार्यान्वयनमा ल्याएका छन् ।  लामो समयदेखि सवारी कर नतिरेका, नवीकरण नगरेका तथा लगत कट्टा नगरेका सवारीधनीहरूलाई लक्षित गरी ल्याइएका यी अफरहरूले एकातिर सवारीधनीलाई चर्को जरिवानाबाट जोगाउनेछन् भने अर्कोतिर सरकारको बक्यौता राजस्व असुलीमा मद्दत पुग्ने जनाइएको छ । छुटको प्रतिशत र समयावधि भने प्रदेशअनुसार फरक–फरक तय गरिएको छ । यसअन्तर्गत सवारी कर तथा नवीकरणतर्फ लुम्बिनी प्रदेशले आगामी पुस मसान्तसम्म कर बुझाएर नवीकरण गर्न आउनेलाई कुल जरिवानामा ५० प्रतिशत छुट दिएको छ भने सुदूरपश्चिम प्रदेशले ५ वर्ष वा सोभन्दा बढी समयदेखि कर नतिरेका सवारीका लागि कर तथा नवीकरण जरिवानामा शतप्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै, दर्ता खारेजी (लगत कट्टा) तर्फ कोशी प्रदेशले ५ वर्षभन्दा बढीको कर बाँकी रहेका सवारीधनीले पछिल्लो एक आर्थिक वर्षको मात्रै कर तिरेमा बाँकी सबै कर र जरिवाना मिनाहा गर्ने भएको छ ।  मधेश प्रदेशले २०८२ भदौको आन्दोलनमा क्षति पुगी सञ्चालन अयोग्य भएका सवारीको दर्ता खारेज गर्न असोज मसान्तभित्र निवेदन दिएमा आर्थिक वर्ष २०८२/८३ को सवारी कर पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ ।  बागमती प्रदेशले पनि २० वर्ष वा सोभन्दा पुराना सार्वजनिक सवारी साधन पत्रु गराउने प्रयोजनका लागि आगामी पुस मसान्तसम्म नवीकरण दस्तुर बुझाएमा लाग्ने जरिवानामा शतप्रतिशत छुट दिएर लगत कट्टा गर्ने सुविधा ल्याएको छ । यसैगरी, गण्डकी प्रदेशले गत भदौमा तोडफोड र आगजनीबाट नष्ट भएका सवारी साधनहरूको आगामी वैशाख मसान्तभित्र लगत कट्टा गर्न आएमा दुई आर्थिक वर्षको सवारी कर, नवीकरण शुल्क र जरिवाना पूर्ण छुट दिने भएको छ ।  साथै लामो समयदेखि कर नतिरेका सवारीका हकमा आर्थिक वर्ष २०८०/८१ देखिको मात्र कर र नवीकरण शुल्क लिई अन्य जरिवाना मिनाहा गरेर लगत कट्टा गर्ने व्यवस्था पनि गण्डकीले गरेको छ ।  लुम्बिनी प्रदेशले २० वर्ष नियमित कर बुझाएका तर हाल सञ्चालनमा नरहेका निजी सवारी साधनको लगत कट्टा गर्न पछिल्लो दुई वर्षको कर बुझाएमा बाँकी अवधि र जरिवाना मिनाहा गर्ने नीति लिएको छ भने कर्णाली प्रदेशले भौतिक अस्तित्व नरहेका वा काम नलाग्ने सवारीको हकमा पछिल्लो तीन आर्थिक वर्षको कर र नवीकरण दस्तुर बुझाएमा जरिवाना विना नै लगत कट्टा गर्ने सुविधा दिएको छ । दर्ता र खारेजीबाहेक अन्य सहुलियततर्फ कोशी प्रदेशले १४ वा सोभन्दा बढी सिट क्षमता भएका भाडाका सवारी साधनले विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई सहुलियत दरमा यात्रा गराएबापत सवारी करमा ६० प्रतिशत छुट दिने भएको छ ।  साथै कोशी प्रदेश भ्रमण वर्षलाई लक्षित गर्दै सीमा क्षेत्रबाट पर्यटक मात्र बोकी पर्यटकीय गन्तव्यसम्म प्रत्यक्ष सेवा दिने सवारी साधनलाई सवारी करमा पूर्ण छुट दिइएको छ ।  बागमती प्रदेशले यातायात व्यवस्थासँग सम्बन्धित दर्ता नभएका वा नवीकरण छुटेका प्रशिक्षण केन्द्र, वर्कसप, र रिकण्डिसन हाउस जस्ता व्यवसायहरूलाई आगामी पुस मसान्तसम्म पछिल्लो अवधिको दस्तुर बुझाएमा अघिल्लो अवधिको दस्तुर तथा जरिवानामा शतप्रतिशत छुट दिएको छ । कर्णाली प्रदेशले भने सवारीधनीले एकमुष्ट ५ वर्षको अग्रिम सवारी कर भुक्तानी गरेमा कुल करमा २० प्रतिशत छुट दिने आकर्षक योजना ल्याएको छ । यसैबीच, सरकारले राइड सेयरिङ सेवालाई पनि औपचारिक रूपमा करको दायरामा समेटेको छ । अबदेखि राइड सेयरिङ सेवामा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र १ प्रतिशत अग्रिम कर कट्टी (टीडीएस) लाग्नेछ ।  हाल कायम १३ प्रतिशत भ्याट दर अनुसार प्लेटफर्महरूले आफ्नो आम्दानीको १३ प्रतिशत भ्याट बुझाउँदै आएकोमा अब उनीहरूले सोही १३ प्रतिशत भ्याट सँगसँगै राइडबाट हुने आम्दानीको थप ५ प्रतिशत भ्याट र १ प्रतिशत टीडीएस सरकारलाई बुझाउनुपर्ने गरी नयाँ नियम लागू भएको छ ।

शैक्षिक परामर्श व्यवसायीहरू सडकमा

काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरू सडकमा आएका छन् ।  सरकारले स्वीकृत गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ को विरोधमा उनीहरू सडकमा आएका हुन् ।  आन्दोलनअन्तर्गत व्यवसायीहरूले शुक्रबार  काठमाडौंको पुतलीसडक चोकमा प्रदर्शन गरेका छन् । नयाँ नियमावली व्यवसायमैत्री नभएको, अव्यावहारिक रहेको तथा व्यवसाय सञ्चालनमा अनावश्यक जटिलता थप्ने खालको भएको भन्दै तत्काल संशोधन वा खारेज गर्न सरकारसँग माग गरेका छन् । संघर्ष समितिले आफ्ना मागहरू सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ । आन्दोलनबाट पनि समाधान ननिस्किए देशभरका शैक्षिक परामर्श संस्थाका सञ्चालकहरूले आफ्ना कार्यालयको चाबी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाएर अनिश्चितकालीन आन्दोलनमा उत्रिने निर्णय गरिएको समितिले जनाएको छ।

पदभार ग्रहण गर्दै सीईओ आचार्यले भने– ग्राहकको विश्वास अझ मजबुत बनाउँछौं

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन आचार्यले शुक्रबारदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । बैंकको सञ्चालक समितिको निर्णयअनुसार प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका आचार्यले पदभार ग्रहणसँगै ग्राहकमुखी सेवा, संस्थागत सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बैंकिङ, व्यापार तथा जोखिम व्यवस्थापन क्षेत्रमा लामो अनुभव हासिल गरेका आचार्यले विभिन्न वाणिज्य बैंकमा उच्च व्यवस्थापकीय जिम्मेवारी सम्हालिसकेका छन् । उनको नेतृत्वले बैंकको संस्थागत तथा रणनीतिक विकासलाई थप गति दिने विश्वास बैंकले व्यक्त गरेको छ । पदभार ग्रहणपछि आचार्यले दीर्घकालीन लक्ष्य हासिल गर्दै उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीको मनोबल अभिवृद्धि तथा सरोकारवालाले बैंकप्रति राखेको विश्वासलाई अझ सुदृढ बनाउँदै संस्थालाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । बैंकले पनि नवनियुक्त सीईओ आचार्यको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा उत्कृष्ट वित्तीय सेवा प्रवाहमार्फत राष्ट्रिय अर्थतन्त्रमा थप सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । हाल लुम्बिनी विकास बैंकले सातै प्रदेशमा ८९ शाखा कार्यालय र एक विस्तारित शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । ‘निरन्तर सहयात्रा’ नारासहित बैंकले आधुनिक प्रविधिमा आधारित सुरक्षित तथा गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै आएको जनाएको छ ।