विकासन्युज

तोलामा ११ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार (आज) एकैदिन तोलामा ११ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ । मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २७५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ५४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

७७ वटै जिल्लामा निर्वाचनको तयारी पूरा, सबै जिल्लाका सीडीओसँग गृह मन्त्रालयको छलफल

काठमाडौं । गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचन (फागुन २१ गते) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रालयमा बुधबार (आज) बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठक (जुम मिटिङ) बसी निर्वाचन सुरक्षालगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भर्चुअल बैठकले सबै जिल्लाको निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएको छ । गृह मन्त्रालयमा करिब तीन घण्टा चलेको बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयका सह–प्रवक्ता रमा आचार्यले जानकारी दिए । उनका अनुसार सो छलफलमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचनको सबै तयारी पुरा भएको र सुरक्षा अवस्था सामान्य रहेको छ । बैठकमा जिल्लाको निर्वाचन तयारी, विद्यमान अवस्था र केन्द्रले गर्नुपर्ने समन्वयलगायत विषयमा छलफल भएको छ । शान्ति सुरक्षाको अवस्था, निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशीलताबारे समीक्षा भई आगामी रणनीति बनाउने समझदारी बनेको छ । गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिए । बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सबै कर्मचारी सुरक्षा संयन्त्र र निर्वाचन सामग्री मतदान स्थलमा पुगेको जानकारी दिएका छन् ।

मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैन : मौसम विभाग

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मतदानको दिन (फागुन २१ गते) देशभरको मौसम सफा रहने बताएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले मतदान प्रक्रिया प्रभावित हुनेगरी वर्षा वा हिमपातको सम्भावना नरहेको बताएका हुन् ।  उनले तथ्याङ्कमा आधारित पूर्वानुमानलाई परिमार्जन गर्दै विभागले एक हप्तासम्मको यथार्थपरक पूर्वानुमान गरिरहेको र सोहीअनुसार विशेष बुलेटिन जारी गर्नुका साथै नियमित अपडेट दिइरहेको समेत बताए । उनले लामो समयसम्म पानी नपरेको कारण मुलुकका पहाडी क्षेत्रमा बादल देखिएपनि तत्काल पानी पर्ने सम्भावना तथा हिमपातको सम्भावना नरहेको बताए । उनकाअनुसार मतदानको दिन बिहीवार वागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागहरुमा आशिंक बादल लाग्नसक्ने देखिन्छ । मुलुकका पहाडी भू–भागमा बादल लागिहाले पनि आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताए ।  वरिष्ठ मौसमविद् पौडेलले भने, ‘अहिले हामीले निर्वाचनको लागि भनेर विशेष बुलेटिन पनि जारी गरिरहेका छौँ । हामी एक हप्ता अगाडिदेखि नै विशेष बुलेटिनको साथै नियमित अपडेट पनि जारी गरिरहेका छौँ । हामीले हेर्दाखेरी निर्वाचनको दिन पानी पर्ने सम्भावना छैन ।’ आउँदो शनिबारसम्मको सौसम सफा नै रहने पौडेलको भनाइ छ ।   

निर्वाचनका लागि काठमाडौंबाट गाउँ फर्किने यात्रुको चाप

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्नका लागि संघीय राजधानी काठमाडौंबाट आफ्नो गृहजिल्ला फर्किने नागरिकहरुको क्रम तीब्र रुपमा बढेको छ । अहिले काठमाडौंका बसपार्कहरुमा यात्रुहरुको बाक्लो भीड देख्न सकिन्छ । रोजगारी, अध्ययन र अन्य विभिन्न सिलसिलामा काठमाडौं उपत्यकामा बसोवास गर्दै आएका मतदाताहरु आफ्नो मताधिकार प्रयोग गर्न गाउँ फर्किन थालेका हुन् ।  नयाँ बसपार्क (गोंगबु), कलंकी, कोटेश्वर र बल्खु लगायतका स्थानमा बिहानैदेखि यात्रुहरुको घुइँचो लागेको छ । विशेषगरी लामो दूरीका सवारी साधनहरुमा टिकट पाउन मुस्किल पर्न थालेको यात्रुहरुले गुनासो गरेका छन् । यातायात व्यवसायीहरुकाअनुसार पछिल्लो केही दिनयता उपत्यका बाहिरिने यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । यात्रुको चापलाई मध्यनजर गर्दै यातायात व्यवसायी समितिहरुले थप बसहरुको व्यवस्थापन गर्ने प्रयास गरिरहेको बताएका छन् । यद्यपि, मागको तुलनामा सवारी साधन अपुग हुँदा कतिपय यात्रुहरुले महँगो भाडा तिरेर वा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको अवस्था पनि छ ।  ट्राफिक प्रहरीले पनि उपत्यका बाहिरिने नाकाहरुमा सुरक्षा जाँच कडा पारेको छ भने यात्रुहरुको सहजताका लागि विभिन्न स्थानमा नागरिक सहायता कक्षहरु स्थापना गरेको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने र तोकिएभन्दा बढी भाडा असुल्ने सवारी साधनलाई कारबाही गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चेतावनी दिएको छ ।  निर्वाचन आयोगले सबै मतदातालाई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरिरहेको बेला नागरिकहरुमा उत्साह देखिएको छ । गाउँ–गाउँमा चुनावी चहलपहल बढेसँगै उम्मेदवारहरु पनि मतदाता फकाउन अन्तिम कसरतमा जुटेका छन् । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सरकारले बुधबार राति १२ बजेबाट अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालन गर्न रोक लगाएको छ । १२ अघि नै गन्तव्यमा पुगिसक्न आग्रह गरिएको छ ।    

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

भैरहवा । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले मदिरा बिक्रीवितरणमा लगाइएको निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा रुपन्देही प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार अनुगमनका क्रममा जिल्लाका विभिन्न स्थानबाट मङ्गलबार रातिसम्म चारवटा मदिरा पसल सिल गर्नुका साथै मदिरा बिक्रीवितरण तथा ओसारपसारमा संलग्न ११ जना व्यक्तिलाई पक्राउ गरिएको छ । प्रहरीले सिद्धार्थनगर नगरपालिका–६ बुद्धचोकस्थित एक रेष्टुरेन्टबाट सञ्चालकसहित नौ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । त्यसैगरी मायादेवी गाउँपालिका–५ गोनाहा चोकस्थित मदिरा पसलबाट ‘दामी’ र ‘इश्क’ नाम लेखिएका ११० बोतल मदिरा बरामद गरिएको सूचना अधिकारी चन्दले बताए । यस्तै शुद्धोधन गाउँपालिका–७ भगलापुर र वडा नं ३ सियाभारस्थित रेष्टुरेन्टबाट दुई जना सञ्चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । निषेधित अवधिमा मदिराको कारोबार गरेको पाइएपछि सम्बन्धित पसललाई सिल गरिएको हो । जिल्लाभर मदिरा नियन्त्रणका लागि विशेष टोली परिचालन गरी अनुगमनलाई कडा पारिएको सूचना अधिकारी चन्दले जानकारी दिए । स्थानीय प्रशासनले निर्वाचन अवधिभर सबै प्रकारका मदिराजन्य पदार्थको बिक्रीवितरण तथा सार्वजनिक स्थानमा सेवन पूर्ण रूपमा निषेध गरेको जनाएको छ । निषेध आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ । निर्वाचन आचारसंहिताविपरीत गतिविधिमा संलग्न व्यक्तिहरूको निरन्तर निगरानी भइरहेको जनाउँदै प्रहरीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक कदम सशक्त रूपमा अघि बढाइने जनाएको छ ।   

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडौं । आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् । सधैँ सवारी साधनको चाप र ट्राफिक जामले अस्तव्यस्त हुने काठमाडौंका मुख्य सडकहरुमा अहिले फाट्टफुट्ट मात्र सवारी साधन गुडेको देख्न सकिन्छ ।  दशैँ–तिहार जस्ता ठूला चाडपर्वमा जस्तै अहिले पनि उपत्यका छोड्नेको संख्या उल्लेख्य रहेको छ । नयाँ बसपार्क, कोटेश्वर, कलंकी, र बल्खु लगायतका नाकाहरुबाट विगत केही दिनयता दैनिक हजारौंको संख्यामा यात्रुहरु बाहिरिएका छन् । निर्वाचन आयोगले मतदानको लागि सार्वजनिक बिदा दिएको र धेरैजसो विद्यालय, कलेज तथा कार्यालयहरु पनि बन्द भएकाले विद्यार्थी र कर्मचारीहरु गाउँ फर्किएका हुन् ।  सार्वजनिक यातायात कम चल्दा उपत्यकामै रहेका र अत्यावश्यक काममा निस्कनुपर्ने नागरिकलाई भने आवतजावतमा केही सास्ती भएको छ । मतदान सम्पन्न भएर सार्वजनिक बिदा सकिएपछि मात्रै उपत्यकामा पुनः चहलपहल बढ्ने र जनजीवन सामान्य अवस्थामा फर्किने अनुमान छ ।   

पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु फेला

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर उनीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार गाडीबाट केही शंकास्पद वस्तु समेत फेला परेको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई घेराबन्दी गरी आवश्यक सुरक्षा सतर्कता बढाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पर्सा प्रहरीले पत्रकार सम्मेलनमार्फत विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।  

सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

गोलबजार । गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा यादव नगदसहित पक्राउ परेका हुन् । प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र२–०२–००१च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२ः३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकिएको थियो । जाँचका क्रममा गाडीबाट रु चार लाख ८७ हजार नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको जिल्ला प्रनाउ पालले जानकारी बताए । यादव तत्कालीन सङ्घीय समाजवादी फोरमबाट २०७४ स्थानीय तह निर्वाचन सिरहा नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।