विकासन्युज

आजसम्म सेयरधनी बने दुई कम्पनीको बम्पर लाभांश पाइने

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने आज मंसिर १० गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुइटै कम्पनीले मंसिर ११ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले यी कम्पनीको साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।  एनआरएनले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब २८ करोड ४३ लाख ७२ हजार रुपैयाँको ४० प्रतिशतका दरले ५१ करोड ३७ लाख ४८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनार्थ २.१० प्रतिशतका दरले २ करोड ७० लाख ३९ हजार रुपैयाँ नगद गरी ४२.१० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस ४ गते आम्रपाली व्याङक्वेट, काठमाडौंमा बिहान ९ बजे १३औँ वार्षिक साधारण सभा बोलाएको छ । यस्तै, शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार रुपैयाँको २.५ प्रतिशतका दरले १३ करोड ६४ लाख २० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनार्थ सहित १० प्रतिशतका दरले ५४ करोड ५६ लाख ८० हजार रुपैयाँ नगद गरी कुल १२.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले मंसिर २५ गते, राष्ट्रिय सभा गृह काठमाडौंमा बिहान साढे १० बजे १०औँ वार्षिक साधारण सभा बोलाएको छ । 

४ सचिवको सरुवा

काठमाडौं । सरकारले चारजना सचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय र निकायका सचिवहरू परिवर्तन गरेको हो । स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । आयोगमा कार्यरत सचिव गोकर्णमणि दवाडी पाँच वर्षे कार्यकाल पूरा गरी मंगलबारदेखि अनिवार्य अवकाशमा गएपछि त्यहाँ सचिव पद रिक्त भएको थियो । त्यस्तै, कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव बनाइँदै केन्द्रमा ल्याइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मालाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ । रक्षा सचिव सुमनराज अर्याल मुख्यसचिवमा बढुवा भएपछि रक्षा मन्त्रालयमा सिर्जित रिक्तता पूर्ति गर्न शर्मालाई त्यहाँ पठाइएको हो । यही क्रममा मधेश प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव बनाइएको छ ।

एनआईसी एशिया क्यापिटलको ‘एकद्वार आईपीओ सहजीकरण सेवा’ सञ्चालनमा, यस्ता छन् विशेषता

काठमाडौं । एनआईसी एशिया क्यापिटलले मर्चेण्ट बैंकिङ सेवाअन्तर्गत संस्थागत परामर्श सेवासहित ‘आइडिया टु आईपीओ’ नामक सेवा सञ्चालन गरिरहेको छ । जसअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको आइडीएसनदेखि कम्पनी स्थापना, स्केल अपः एक्पान्सन, ग्रोथ, फर्दर एक्पान्स हुँदै आईपीओ जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्‍याउन आवश्यक पर्ने लगानीको स्रोत व्यवस्थापन गर्न सहजीकरण गर्ने सहित आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।  क्यापिटलले आइडिया टु आईपीओ सेवा सञ्चालन गरेको छोटो समयमा नै ३४ वटा कम्पनीसँग दुई पक्षीय सम्झौता सम्पन्न गरी २० वटा प्रालि कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गराई आईपीओ निष्काशन गर्ने प्रक्रियामा रहेका छन् भने ६ वटा कम्पनीको आईपीओ निष्काशनको कार्य समेत सम्पन्न गर्न सफल भएको छ ।  कुनै पनि पब्लिक कम्पनी तथा प्राइभेट कम्पनी सञ्चालन गर्दा प्रचलित कानुन र सम्बन्धित नियमनकारी निकायले तोकेको सम्पूर्ण मापदण्डको परिपालना गरेर मात्र कम्पनी सञ्चालन गर्नुपर्ने हुन्छ ।  कुनै पनि कम्पनीको संस्थागत सुशासन र कानूनी व्यवस्थाको पूर्ण रुपमा परिपालना गरेर संचालन गर्दा कम्पनीको निरन्तरता तथा कम्पनीको व्यवसायीक ग्रोथ गर्नको लागि महत्वपूर्ण भूमिका निर्भाह गरेको हुन्छ ।  संस्थागत सुशासन र कानूनी व्यवस्थाको राम्रो ज्ञान अनुभव भएका दक्ष जनशक्ती प्राप्त गर्न निकै गाह्रो र बढी खर्चिलो हुने देखिएको हुँदा सोही कुरालाई मध्यनजर गर्दै एनआईसी एशिया क्यापिटलले भविष्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने गरी स्थापना हुन लागेका तथा हाल सञ्चालनमा रहेका कम्पनीहरुलाई लक्षित गरी क्यापिटलको आइडिया टु आईपीओ सेवालाई थप परिष्कृत गर्दै ‘एकद्वार आईपीओ सहजीकरण सेवा’ सञ्चालनमा ल्याएको छ ।  आईपीओ– तत्परता मूल्यांकन परीक्षा  अन्तर्गत कम्पनीको पूँजी संरचना, प्रबन्धपत्र नियमावलीमा भएको व्यवस्था, वित्तीय स्थिति, लगानीकर्ताहरुको मनोविज्ञान, कानुनी व्यवस्था र सम्बन्धित नियामक निकायहरुले सर्वसाधारणमा सेयर जारी गर्नु भन्दा पहिला पुरा गर्नुपर्ने सर्तहरुको पालना गर्नुपर्ने हुन्छ ।  यस्ता सर्तहरु कम्पनी/व्यवसायको प्रकृति तथा सम्बन्धित नियमनकारी निकायले तोकेको व्यवस्था/निर्देशन अनुसार छुट्टाछुट्टै मापदण्ड पुरा गर्नुपर्ने देखिन्छ । यस सेवा अन्तर्गत आईपीओ निष्काशन गर्दा पुरा गर्नुपर्ने सम्पूर्ण व्यवस्था तथा आईपीओ जारी गर्ने योग्य कम्पनी हुनको लागि आवश्यक पर्ने सम्पूर्ण चेक लिष्ट अनुसार सम्बन्धित कम्पनीको ग्याप एनालाइसिस प्रतिवेदन तयार परिने छ । सम्बन्धित कम्पनीको रणनीति, इक्वीटी, कर्पोरेट गभर्नेन्स, वित्तीय अवस्था, व्यवस्थापन, नियमनकारी निकायले तोके बमोजिमको मापदण्ड पुरा भए नभएको ग्याप पत्ता लगाई उक्त ग्याप/कमी कमजोरीहरु सुधार गर्न आवश्यक परामर्श उपलब्ध गराइनेछ ।  सर्वसधारणमा सेयर जारी गर्दा कम्पनीको वित्तीय अवस्थाको राम्रोसँग अध्ययन गरि धितोपत्र बोर्डले निर्धारण गरेको तथा प्रचलित अन्तर्राष्ट्रिय भेलुएसन मोडेलको प्रयोग गरी सर्वसाधारणमा जारी गरिने सेयरको मूल्य निर्धारण गरिने छ । उक्त अध्ययन अनुसार सम्बन्धित कम्पनीले उचित मूल्यमा आईपीओ जारी गर्दा पर भेलुमात्र नभई कम्पनीको वित्तीय तथा अन्य समग्र अवस्थाको मूल्याङ्ककन गरी प्रिमियम वा बुक बिल्डिङ विधिमध्ये उपयुक्त विधिमा सेयर निष्काशन गर्न समेत सुझाव दिइनेछ ।  तत्परता मूल्यांकन परीक्षा गर्दा कम्पनीको आईपीओ जारी गर्न योग्य देखिएको अवस्थामा तुरुन्त आईपीओ सेयर जारी गर्न आवश्यक प्रकृया अगाडी बढाइनेछ भने कुनै कम्पनीको तत्काल आईपीओ जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरुको आईपीओ जारी गर्दा पुरा गर्नुपर्ने सम्पूर्ण प्रकृयाको सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथाशीघ्र आईपीओ जारी गर्न योग्य कम्पनी बनाउनको लागि आवश्यक कार्यतालिका निधारण गरी कार्य अगाडि बढाइने छ ।  अन्य सुविधाहरू  प्रचलित नियम अनुसार नयाँ प्रा.लि. कम्पनी तथा लिमिटेड कम्पनी संचालन गर्न चाहने व्यक्ति तथा संघ संस्थाहरुको तर्फबाट कम्पनी रजिष्ट्रारको कार्यालय र अन्य सम्बन्धित निकायमा दर्ता गर्दा आवश्यक पर्ने विवरण तथा कागजात तयार गर्न सहयोग गर्ने । कुनै पनि कम्पनीको साधारण सेयर निष्काशन गर्नको लागि सम्बन्धित कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा अद्यावधिक गर्नुपर्ने व्यवस्थाहरु नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड तथा सम्बन्धित नियमनकारी निकायले तोकेको मापदण्ड तथा व्यवस्थाहरु पालना हुने गरी संशोधन गर्न सहयोग गर्ने । कम्पनीको क्यापिटल रिस्ट्रक्चरिङ गर्न सहयोग गर्ने । यो गर्दा स्वःपूँजी वा साधारण सेयरमा परिवर्तनीय धितोपत्र वा ऋणको स्वरुप भएको उपकरण वा ऋण वा स्वःपूँजीसँग सम्बन्धित अन्य उपकरणहरु मध्ये कम्पनीको लागि जुन उपयुक्त हुन्छ सोही अनुसारको पूँजी संरचना तयार पार्न आवश्यक सहयोग गर्ने । कम्पनीको सर्वसाधारणमा शेयर निष्काशन गर्दा उक्त समयमा कायम कम्पनीको वित्तीय अवस्था र प्रचलित कानूनमा भएको व्यवस्था अनुसार सर्वसाधारणमा जारी गर्दा अंकित मूल्य, प्रिमियम मूल्य वा बुक बिल्डिङ्ग बिधि मध्ये जुन उपयुक्त हुन्छ सोही अनुसार उचित समयमा साधारण शेयर निष्काशन गर्नको लागि परामर्श उपलब्ध गराउने । साथै आईपीओ निष्काशनको लागि कम्पनी तयार गर्ने क्रममा कुनै पनि कम्पनी प्राइभेट वा पब्लिक कम्पनीमा रहदाको अवस्थामा निम्न सेवाहरु समेत प्रदान गरिनेछ ।  प्रचलित कानुन तथा सम्बन्धित नियमनकारी निकायले तोके बमोजिमको प्रतिवेदन तयार गरिदिने तथा तोकेको समय सीमा भित्र सम्बन्धित निकायहरुमा पेश गर्नुपर्ने विवरण तथा कागजात तयार गर्न आवश्यक सहयोग गर्ने । कम्पनीको शेयर कारोवार गर्नको लागि ओटीसी मार्केट्समा सूचीकरण गरिदिने । ओटीसी मार्केट्स वा अन्य आपसी समझदारी मार्फत कारोबार भई आएका कारोवारहरुको दाखिला/खारेज वा नामसारीको लागि आवश्यक प्रकृया पूरा गरी/गराई शेयरधनीहरुको लगत अद्यावधिक बनाई राख्ने । कम्पनीको वार्षिक साधारणसभा तथा आवश्यकता अनुसार विशेष साधारणसभा गर्न आवश्यक सहयोग गर्ने । साधारणसभाबाट पारित लाभांश वितरण गरिदिने । आवश्यकता अनुसार कम्पनीको प्रबन्धपत्र, नियमावली संशोधन गर्न परामर्श दिने ।

दक्षिण अमेरिकामा डोंगफेङ मोटरको नयाँ यात्रा सुरु

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरुको राजधानी लिमाको सान्टिएगो डे सुर्कोमा डोंगफेङ मोटरले आफ्नो पेरु अफिसको उद्घाटन गरेको छ । चाइना डोंगफेङ मोटर इन्डस्ट्री इम्पोर्ट एण्ड एक्सपोर्ट कम्पनी (डीएफएमआईईसी) ले  अफिस उद्घाटन गरेको हो । उद्घाटनमा कम्पनी र यसको डोंगफेङ अटोमोटिभ इन्टरनेसनल बिजनेस डिभिजनका डेपुटी जनरल म्यानेजर याङ ताओ, कम्पनीकै कमर्शियल भेहिकल ओभरसिज मार्केटिङ डिपार्टमेन्टका जनरल म्यानेजर लिउ सुएमिङ तथा पेरुका विभिन्न व्यावसायिक र प्यासेन्जर भेइकल पार्टनरहरू उपस्थित थिए । यसअघि पेरु रिजनल मार्केटिङ सेन्टरको टिमले बजारको विस्तृत अध्ययन, ग्राहकको आवश्यकताबारे अन्तर्वार्ता, बजारका विभिन्न वर्गहरूको विश्लेषण र बजार विकासका लागि रणनीति तयार पारेको थियो ।  हाइ(एण्ड जीएक्स ट्र्याक्टर, केसी डम्प ट्रक र केआर कार्गो ट्रक पहिले नै पेरुको मुख्य व्यावसायिक भेइकल माग पूरा गर्न भित्र्याइएका छन् ।  डीएफएमआईईसी आधिकारिक रूपमा पेरुमा दर्ता भइसकेको छ र यसले स्थानीय टिम विस्तार गरिरहेको छ ।  अब ओभरसिज मार्केटिङ टिमले पेरुलाई केन्द्र बनाएर छिमेकी दक्षिण अमेरिकी देशहरूका ग्राहकलाई सेवा दिनेछ । साथै यांग ताओ र टिमले पेरुका डिलर सान बार्तोलोमको लिमामा रहेको नयाँ डोंगफेङ कमर्शियल भेइकल फ्ल्यागशिप स्टोरको उद्घाटन समारोहमा पनि भाग लिएका थिए ।

औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकासका एकद्वार प्रणाली आवश्यक भएको बताएका छन् । ‍‘औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार’ भन्ने नारासहित ११औं राष्ट्रिय उद्योग दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलवार विभागमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले एकै प्रकारको कामका लागि पनि धेरै प्रकारका सरकारी संरचनाहरूले गर्दा उद्योगी व्यवसायीले झन्झट बेहोर्नु परेको बताए । ‘हामी कहाँ एकै प्रकारका काम गर्ने सरकारी संस्थाहरू धेरै भए । व्यवसायिक वातावरण सहज र सरल गर्नुपर्नेमा झटिलता र झन्झ ट थपिँदै गएको छ । यो अवस्थामा एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँदै अनावश्यक संस्थाहरु कम गर्दै जानुपर्दछ,’ उनले भने ।   अध्यक्ष ढकालले भदौ २३–२४ को आन्दोलनपछि देशको आर्थिक अवस्था झनै जटिल बन्दै गएको चर्चा गर्दै व्यक्तिगत र लगानीको सुरक्षालाई प्राथमिकता दिनु पर्ने बताए । पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघको पहलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको नीतिगत सुधारहरू सकारात्मक भएको उल्लेख गर्दै अध्यक्ष ढकालले भएका नीतिहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिए । यस्तै, अध्यक्ष ढकालले नेपालको निर्यात व्यापारको अवस्था सन्तोषजनक नरहेको अवस्थामा निर्यातमा दिइने नगद अनुदानलाई निरन्तरता दिनु पर्ने बताए । ‘नगद अनुदान स्थगनको निर्णयले लगानी, निर्यात र रोजगारीमा गम्भीर असर पर्दछ । अहिले आर्थिक चाप छ भने यसको हिसाब राखौं र पछि भुक्तानी गर्ने व्यवस्था मिलाऔं । तर यसको निरन्तरता आवश्यक छ,’ उनले भने ।  उद्योग विभागले गत अजोज महिनामा एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२/८३ मा थप दायित्व सिर्जना हुने गरी निवेदन नलिने जानकारी गराएको थियो ।  अध्यक्ष ढकालले देश विकासको लागि बाह्य लगानीसँगै आन्तरिक पूँजीलाई एकत्रित पूर्वाधार विकास तथा उद्यमशीलताको विकास गर्नु पर्ने बताए ।  ‘सरकारले वैकल्पिक विकास वित्त कोषको कुरा गर्नु अघि नै सरकारलाई नै सहयोग पुगोस् भनेर महासंघको पहलमा १० अर्ब रुपैंया पूँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरि काम शुरु गरेका छौं । यसबाट ठूला पूर्वाधार विकास तथा अन्य उद्यमका लागि आवश्यक पुँजीको व्यवस्थापन गर्न सकिने छ,’ उनले भने ।  अध्यक्ष ढकालले स्टार्टअप र नवप्रवर्तनलाई प्रोत्साहन गर्न सरकारले कोष स्थापना गरेको कदम सकारात्मक भएको बताउँदै उद्यमशीलताको विकास रोजगारी सिर्जनाको क्षेत्रमा महासंघ सधैं सहकार्यको लागि तयार रहेको पनि बताए ।

दाङमा १४ हजारभन्दा बढीले मतदाता थपिए

दाङ । दाङमा  १४ हजार बढी मतदाथा थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको कार्यक्रम अवधिमा कार्यालयमा उपस्थित र अनलाइनमार्फत उक्त सङ्ख्यामा नामावली दर्ता भएका प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिए ।  उनका अनुसार पुरुष दुई हजार ११७ र महिला दुई हजार ३३५ गरी पाँच हजार २८२ जनाले कार्यालयमा उपस्थित भई फोटोसहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएका छन् । यस्तै, राष्ट्रिय परिचयपत्रका आधारमा नौ हजार ७१७ ले अनलाइनमार्फत नामावली दर्ता गराएको छन् । यी दुवै गरी पनि १४ हजार २९९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।      दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको यस जिल्लामा सबैभन्दा बढी घोराही उपमहानगरपालिका क्षेत्रमा मतदाता थपिएका कार्यालयले जनाएको छ ।      यसअघि गत कात्तिक महिनासम्मको विवरणमा जिल्लामा चार लाख १६ हजार ८६८ जना मतदाता रहेको थिए ।  

‘विकास नायक’ मनोनयन समय थप्ने निर्णायक समितिको निर्णय

काठमाडौं । विकास मिडियाले खुला गरेको ‘विकास नायक, २०८२’ को मनोनयनको समय मंसिर १८ गतेसम्मका लागि थप गरिएको छ । विकास मिडियाद्वारा सञ्चालित विकासन्युज र देश विकास पत्रिकाले आयोजना गर्ने ‘विकास नायक, २०८२’ को मनोनयन गर्ने समय थप गरिएको हो ।  मंसिर ८ गते बसेको ‘विकास नायक, २०८२’ निर्णायक समितिको बैठकले बृहत सहभागितालाई प्रोत्साहित गर्दै मनोनयन गर्ने समय थप गर्ने निर्णय गरेको हो ।  समितिका संयोजक कृष्णहरि बास्कोटाले विभिन्न क्षेत्रलाई समेट्ने लक्ष्यका साथ मनोनयन समयावधि थप्ने निर्णय भएको जानकारी दिए । समितिले विकास नायक छनोटका आधार र मापदण्ड सम्बन्धी विभिन्न निर्णय गरेको छ ।  समितिले राजनैतिक संस्कार विकास, नीति निर्माण र सुशासन मार्फत विकासमा योगदान गर्नेबाट एक जना, उद्योग स्थापन सञ्चालन मार्फत बजार र निकासी प्रवर्द्धन गरी देश विकासमा योगदान गर्ने एक जना, श्रृजनशील र निष्ठापूर्ण व्यापार व्यवसाय गरी आर्थिक सम्बृद्धिमा योगदान गर्नेबाट एक जना विकास नायक घोषणा गर्ने गरी क्षेत्र विभाजन गरेको छ ।  यस्तै, कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायिकरण उत्पादनको बिक्री प्रबन्ध गरी कृषकको जीवनस्तर सुधारमा टेवा दिनेबाट एक जना, जलविद्युत तथा नवीकरणीय उर्जामा लगानी प्रवर्द्धन गरेर जनतालाई लाभ पुर्‍याउनेबाट एक जना, शिक्षा, स्वास्थ्य र पर्यटन सेवा विकासमा महत्त्वपूर्ण योगदान गर्नेबाट एक जनालाई विकास नायक घोषणा गर्ने निर्णय गरेको छ ।  त्यस्तै, बैक, बीमा लगायत वित्तीय सेवामार्फत आर्थिक विकासमा विशिष्ट योगदान गर्नेबाट एक जना, नवीन प्रविधि विकास तथा कृतिम बौद्धिकता (एआई) विकास गरी सर्वसाधारणको जीवनशैलीमा रूपान्तरण गर्नेबाट एक जनालाई विकास नायक घोषणा गर्ने निर्णय गरेको छ ।  समितिले खेलकुद, भाषा, साहित्य, कला, मनोरञ्जन क्षेत्रबाट देशको प्रतिष्ठा बढाउने र पेशागत कर्मबाट देश तथा विदेशमा प्रतिष्ठा आर्जन गरी राष्ट्र निर्माणमा योगदान दिने पेशाकर्मीबाट एक/एक जना गरी कुल १० जनालाई विकास नायक घोषणा गरी सम्मान गर्ने निर्णय गरेको छ ।  बास्कोटाको संयोजकत्वमा गठित विकास नायक २०८२ को निर्णायक समितिको सदस्यमा प्राध्यापक डा. कुशुम शाक्य, वरिष्ठ पत्रकार शिव गाउँले, उद्यमी निरञ्जन श्रेष्ठ रहेका छन् भने विकासन्युजका सम्पादक सन्तोष रोकाया सदस्य सचिव छन् ।  संयोजक बास्कोटा सूचना आयोगका पूर्व प्रमुख आयुक्त तथा पूर्वअर्थसचिव हुन् । उनी नीति अनुसन्धान तथा प्रशासन सुधारका क्षेत्रमा निरन्तर सक्रिय छन् । प्रा.डा. शाक्य त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको पूर्वडिन तथा अर्थशास्त्र विभागकी प्रमुख हुन् । उनी अहिले नीति अनुसन्धान प्रतिष्ठानमा विज्ञ सदस्यका रूपमा क्रियाशील छिन् । गाउँले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् । उनले खोज पत्रकारिता केन्द्र, अनलाइन खबर र हिमाल खबर लगायत सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरिसकेका छन् । यस्तै, श्रेष्ठ लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुन् । उनी नेपाली युवा उद्यमी मञ्चका पूर्वअध्यक्ष समेत हुन् ।  विकास नायक मनोनयन फारम भर्न यहाँ क्लिक गर्नुहोस् ।

ईश्वर पोखरेलले जनाए विद्या भण्डारीलाई सदस्यता दिने प्रतिबद्धता

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा फर्किन अनुकूल वातावरण तयार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले पार्टी एकता र समावेशीताको पक्षमा सबैको हित सुनिश्चित गर्ने कार्य गर्दै आएको दावी गरे । विद्या भण्डारीलाई सहज तरिकाले पार्टीमा फर्काउने वातावरण तयार पार्न आवश्यक पहलहरू अगाडि बढाइने पोखरेलले जानकारी दिए । भण्डारीको सदस्यता नवीकरण गर्न आफू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता उनको छ ।  पछिल्लो समय भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने चर्चा राजनीतिक वृत्तमा छ ।