विकासन्युज

शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणमा महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत देशका विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक पूर्वाधारसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरेको छ । बैंकले झापा, बागलुङ, मकवानपुर र चितवनका सामुदायिक विद्यालयमा शौचालय निर्माणका लागि आर्थिक सहयोग गरेको जनाएको छ । यस्तै, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित श्री कृष्ण आधारभूत विद्यालयका ८० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । बाराको सिमरास्थित सिमरा कलेजलाई शैक्षिक गतिविधि प्रवर्द्धनका लागि एक थान ल्यापटप उपलब्ध गराइएको छ भने बझाङको शिक्षोदय माध्यमिक विद्यालयको किशोरीमैत्री सूचना केन्द्रका लागि स्वास्थ्य तथा खेलकुद सामग्री खरिद गर्न आर्थिक सहयोग प्रदान गरिएको बैंकले जनाएको छ । त्यसैगरी, पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित भैरवनाथ मन्दिरमा फोहोर व्यवस्थापनका लागि १० थान डस्टबिन हस्तान्तरण गरिएको छ । मकवानपुरको भीमफेदीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा आरओसहितको खानेपानी प्रणाली निर्माणका लागि सहयोग गरिएको बैंकले जनाएको छ । साथै, रौतहटको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई डिजिटल बोर्डसमेत प्रदान गरिएको छ । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, मानव सेवा तथा दिगो विकासका क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

एभरेष्ट कलरको ३० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । एभरेष्ट कलर लिमिटेडको ३० लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेका अनुसार कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता साधारण सेयर सूचीकृत गरिएको हो । यससँगै कम्पनीको ३० करोड रुपैयाँ बराबरको जारी तथा चुक्ता पुँजी नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको दोस्रो बजार कारोबार साउन १ गते (शुक्रबार) देखि सुरु हुनेछ । कारोबारपछि हुने आरटीएस सेवा मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंबाट उपलब्ध गराइने जनाइएको छ । 

मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद बैठक सुरु भएको छ ।  बैठक बिहीबार (आज) अपरान्ह साढे ३ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो । बैठकले महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।

प्रधानमन्त्री बालेनसँग राप्रपा अध्यक्ष लिङ्देनले गरे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच  छलफल भएको हो । बिहीबार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । सचिवालयका अनुसार ​उक्त छलफल समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा आपसी हितका विविध विषयहरूमा केन्द्रित रहेको छ । ​छलफलमा राप्रपाका अध्यक्ष लिङदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओलीे‍ सहभागी छन् ।

१२१ कम्पनीको सेयर मूल्य बढ्यो, साढे ४ अर्बको कारोबार

काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.५० अंकले बढेर २५९७ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १२१ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३७१ कम्पनीको ९४ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सिंगटी हाइड्रो इनर्जीको भएको छ । सिंगटीको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै ८.५ प्रतिशत सानिमा डिभेन्चरको २३ करोड, एनआरएन इन्फ्राइस्ट्रकचरको २२ करोड, सेन्चुरी डिभेन्चरको १८ करोड र रिडि पावरको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्य १४ प्रतिशतले बढेको छ । एनआईबीएल ग्रोथको १४.९६ प्रतिशत, फस्ट माइक्रोको १४.६७ प्रतिशत र चिरखुवा हाइड्रोको १४.३४ प्रतिशतले बढेको छ ।    

मानुषी लघुवित्तको कामु सीईओमा कमल श्रेष्ठ नियुक्त

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी कमल श्रेष्ठलाई दिएको छ । कम्पनीकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यको दुई वर्षे कार्यकाल असार ३२ गतेबाट समाप्त भएपछि सञ्चालक समितिले श्रेष्ठलाई कायममुकायम सीईओको जिम्मेवारी दिएको हो  । कम्पनीका अनुसार मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त वित्तीय संस्था र जीवन विकास लघुवित्त वित्तीय संस्था मर्जर प्रक्रियामा रहेकाले एकीकृत कारोबार सम्पन्न नभएसम्मका लागि श्रेष्ठलाई उक्त जिम्मेवारी तोकिएको हो । यससँगै श्रेष्ठलाई कम्पनी सचिवको जिम्मेवारीसमेत दिइएको कम्पनीले जनाएको छ ।

महिला उद्यमीसँग प्रधानमन्त्रीको छलफल, उद्यम प्रवर्द्धनमा सहयोगको आश्वासन

काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार (आज) भएको छलफलमा उनले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक कुनै पनि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले महिला उद्यमीहरूका सबै व्यवधान हटाउन सरकार जुटिरहेको र उत्पादित वस्तुहरू हरेक पर्यटकीय स्थलहरूमा प्रवर्द्धन गर्ने वातावरण मिलाउने जानकारी गराए । छलफलमा महासंघका प्रतिनिधिहरूले निर्धक्कसँग काम गर्न सक्ने व्यवसायमैत्री वातावरण, वस्तु तथा सेवालाई राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा पु‍र्याउन विशेष कार्यक्रम र व्यापार मेला, प्रदर्शनी, बि टु बी एवं निर्यात प्रवद्र्धनमा अनिवार्य सहभागिताको माग गरे । महासंघले ल्याएको ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गराउन गरिएको आग्रहलाई सहर्ष स्वीकार गर्दै सम्माननीय प्रधानमन्त्री शाहले यो ब्रान्ड तत्काल बजारमा ल्याउन उत्प्रेरित गरे । यसका साथै महासंघको वार्षिक अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा पदाधिकारीहरूले सरकारको संस्थागत सहकार्य मागसमेत गरेका छन् । त्यस्तै, महिला उद्यमीहरूलाई खरिद प्रक्रियाको हिस्सेदार बनाउन सार्वजनिक खरिद ऐनरनियमावलीमा प्राथमिकता दिँदै सबै सरकारी कार्यालय एवं शैक्षिक संस्थाहरूमा महिलाका वस्तु तथा सेवा अनिवार्य खरिद गर्ने व्यवस्था लागू गर्न पनि उनीहरूको माग छ । वित्तीय सहुलियत वास्तविक महिला उद्योगीले नपाएको गुनासो गर्दै उनीहरूले यो सुविधा गाउँ–गाउँसम्म पुर्‍याउन, दायरा विस्तार गर्न र पुँजी अभावमा सपना नमरोस् भनी धितोको वैकल्पिक व्यवस्था मिलाउन माग गरे । महिला उद्यमीहरूको एकमात्र छाता संगठन महासंघलाई सरकारका हरेक नीति–निर्माण तह र सरकारी संयन्त्रहरूमा सहभागी गराउन माग गर्दै उनीहरूले स्थानीय तहमा सीपमूलक तालिमका लागि महासंघकै तर्फबाट उच्च दक्ष स्रोत व्यक्तिहरू जुटाउने प्रतिबद्धतासमेत जनाएका छन्।

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, सेयर बजारबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बिहीबार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा उनीहरुबीच मुलुकको सेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।