डोल्पामा दुई प्रतिनिधि सभा सदस्य उम्मेदवार कांग्रेसमा प्रवेश
काठमाडौं । डोल्पामा विभिन्न राजनीतिक दलका प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । दिलबहादुर विष्ट र जुनु भण्डारीले आफ्नो उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। मंगलबार सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै विभिन्न दल त्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गर्नेको संख्या बढिरहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । पार्टीमा नयाँ प्रवेशको लहर चलेको बताए । ‘अन्य दलका उम्मेदवार, समर्थक तथा कार्यकर्ताहरूको पार्टी प्रवेश निरन्तर बढिरहेको छ,’ प्रवक्ता चालिसेले भने । निर्वाचन प्रचारमा पार्टीका नीति, योजना तथा कार्यक्रमहरूलाई प्राथमिकता दिएर जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गरिने उनको भनाइ छ । त्यसैगरी, कांग्रेसले पार्टी कार्यालयमा निर्वाचन प्रचारप्रसारको विषयलाई लिएर नियमित पत्रकार सम्मेलन गर्ने भएको छ । दुई दिनमा अपरान्ह ४ बजे पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार संवाद कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने भएको हो ।
किसानलाई बीमाप्रति सचेत गराउँदै सगरमाथा लुम्बिनी इन्स्योरेन्स
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा माघ १२ गते उदयपुर जिल्लाको रौतामाई नगरपालिका–७ स्थित सभा हलमा कृषि, पशुपक्षी तथा विपद् बीमा जोखिम न्यूनीकरणसम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता तथा रौतामाई नगरपालिका–७ का वडा अध्यक्ष मनोजकुमार राणा मगरको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको हो । कार्यक्रमको सञ्चालन गाईघाट शाखा प्रमुख धनबहादुर कटुवालले गरेका थिए । कार्यक्रममा स्थानीय कृषि तथा पशु प्राविधिक, कार्यालयका कर्मचारी, प्रतिनिधि तथा अगुवा कृषकसहित ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कृषि तथा पशुपक्षी विभाग प्रमुख उमेश ढकालले कृषि तथा पशुपक्षी बीमाको प्रक्रिया, दाबीसम्बन्धी व्यवस्था तथा बीमाबाट हुने जोखिम न्यूनीकरणका विषयमा सहभागीलाई महत्वपूर्ण जानकारी प्रदान गरेका थिए ।
प्रचण्ड भन्छन् : गगन, ओली र बालेन प्रधानमन्त्री बन्दैनन्
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म घोषणा भएकामध्येबाट चुनावपछि कोही प्रधानमन्त्री नहुने बताएका छन् । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले उनले हालसम्म घोषणा भएका कुनै पनि व्यक्ति प्रधानमन्त्री नबन्ने बताएका हुन् । भावी प्रधानमन्त्रीको रूपमा कांग्रेसले सभापति गगन थापा, एमालेले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ । ओली र बालेन झापा-५ बाट चुनावी प्रतिस्पर्धा गर्दैछन् भने थापा सर्लाही-४ पुगेका छन् ।
कांग्रेसले दुई दिन बिराएर नियमित पत्रकार सम्मेल गर्ने
काठमाडौं । नेपाली कांग्रेसले पार्टी कार्यालयमा निर्वाचन प्रचारप्रसारको विषयलाई लिएर नियमित पत्रकार सम्मेलन गर्ने भएको छ । दुई दिनमा दिउँसो ४ बजे पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार संवाद कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने भएको हो । यो कार्यक्रमको संयोजन नेपाल प्रेस युनियनले गर्ने प्रतिनिधिसभा सदस्य निर्वाचन- २०८२ केन्द्रीय प्रचार प्रसार समितिले जनाएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले समकालीन राजनीतिक, वैचारिक, नीतिगत तथा समसामयिक विषयमा प्रत्येक दुई दिनमा डबली संवाद कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।
युरोपमा हाइब्रिड कारको बजार हिस्सा ३४.५ प्रतिशत पुग्यो
काठमाडौं । सन् २०२५ मा युरोपेली उपभोक्ताहरूका लागि हाइब्रिड–इलेक्ट्रिक सवारी साधनहरू सबैभन्दा लोकप्रिय पावर विकल्पका रूपमा उभिएका छन् । मंगलबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार हाइब्रिड कारहरूले विशुद्ध पेट्रोल–सञ्चालित कारहरूलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेका हुन् । युरोपियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (एसिइए) का अनुसार सन् २०२५ मा युरोपेली सङ्घ (इयु) भर करिब १८ लाख नयाँ सवारी साधन दर्ता भएका थिए । यो अघिल्लो वर्षको तुलनामा १.८ प्रतिशतको वृद्धि हो । यद्यपि, एसिइएले जारी गरेको विज्ञप्तिमा नयाँ कार बिक्री अझै पनि कोभिड–१९ महामारीअघिको स्तरभन्दा धेरै तल रहेको उल्लेख गरिएको छ । समग्र बिक्रीमा सामान्य वृद्धि देखिए पनि उपभोक्ताहरूको रोजाइ स्पष्ट रूपमा वैकल्पिक ऊर्जा प्रविधितर्फ सरेको देखिन्छ । हाइब्रिड र ब्याट्री–इलेक्ट्रिक सवारी साधनहरूको माग निरन्तर बढिरहेको तथ्याङ्कले पुष्टि गरेको छ । गत वर्ष हाइब्रिड–इलेक्ट्रिक सवारी साधनको बिक्री १३.५ प्रतिशतले वृद्धि भई इयुको कुल नयाँ कार बिक्रीको ३४.५ प्रतिशत पुगेको छ । यसले हाइब्रिड कारलाई पेट्रोल कारभन्दा स्पष्ट रूपमा अगाडि राखेको छ । पेट्रोल कारको बजार हिस्सा २६.६ प्रतिशतमा सीमित रहेको थियो । यसैबीच, ब्याट्री–इलेक्ट्रिक सवारी साधनहरूको बिक्री ३० प्रतिशतले बढेर समग्र बिक्रीको १७.४ प्रतिशत पुगेको छ । एसिइएले भने सन् २०२४ मा कमजोर आधारबाट सुधार आएको जनाउँदै इयुले तय गरेका सङ्क्रमण तथा वातावरणीय लक्ष्यहरू हासिल गर्न अझै तीव्र वृद्धि आवश्यक रहेको बताएको छ । प्लग–इन हाइब्रिड सवारी साधनको बिक्री पनि गत वर्ष बढेको देखिएको छ । तर, परम्परागत पेट्रोल र डिजेल सवारी साधनको बिक्री भने उल्लेखनीय रूपमा घटेको छ । पेट्रोल र डिजेल कारको संयुक्त बजार हिस्सा सन् २०२४ मा ४५.२ प्रतिशत रहेकोमा सन् २०२५ मा घटेर ३५.५ प्रतिशतमा झरेको छ । कार निर्माताहरूको हिसाबले हेर्दा फक्सवागन समूहले सन् २०२५ मा आफ्नो बिक्री ५.५ प्रतिशतले बढाउँदै युरोपमा सबैभन्दा धेरै कार बिक्री गर्ने निर्माताको रूपमा आफ्नो अग्रता अझ बलियो बनाएको छ । फ्रान्सको रेनोले पनि समान स्तरको वृद्धि दर्ता गरेको छ । तर, प्युजो, फिएटलगायत थुप्रै युरोपेली ब्रान्डहरू समेटिएको स्टेलान्टिस समूहको बिक्री भने ४.७ प्रतिशतले घटेको छ । चिनियाँ कार निर्माता बिवाइडीले इयुमा आफ्नो बिक्री गत वर्ष तीन गुणासम्म बढाएको छ, यद्यपि यो वृद्धि तुलनात्मक रूपमा सानो आधारबाट भएको हो । एमजी ब्रान्डको स्वामित्वमा रहेको चीनको एसएआइसी मोटरको बिक्री पनि करिब एक तिहाइले बढेको तथ्याङ्कले देखाएको छ । यसले युरोपेली बजारमा चिनियाँ ब्रान्डहरूको उपस्थिति विस्तार हुँदै गएको सङ्केत गरेको छ । यसको विपरीत, अमेरिकी विद्युतीय कार निर्माता टेस्लाको बिक्री सन् २०२५ मा करिब ३८ प्रतिशतले घटेको छ । एसिइएका अनुसार कम्पनीका प्रमुख अर्बपति एलोन मस्कसँग जोडिएका राजनीतिक विवादहरूले युरोपमा टेस्लाको ब्रान्ड छविमा नकारात्मक असर पारेको छ । मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गर्नुका साथै जर्मनीको अति–दक्षिणपन्थी एएफडी पार्टीप्रति समर्थन जनाएपछि टेस्लाको प्रतिष्ठामा क्षति पुगेको विश्लेषकहरूको भनाइ छ । रासस
आयोगले १० दिनमा २ संस्थासहित १५ जनालाई सोध्यो स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले १० दिनमा विभिन्न राजनीतिक दलका उम्मेदवार र संस्था गरेर १५ जनालाई स्पष्टीकरण सोधेको छ । मंगलबार (आज) मात्र आयोगले प्रतिनिधि सभा सदस्यका विभिन्न उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो । हालसम्म स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमा झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बालेन्द्र साह (बालेन), भक्तपुर–२ मा नेकपा एमालेबाट उम्मेदवार रहेका महेश बस्नेत, सुनसरी–१ मा श्रम संस्कृति पार्टीबाट उम्मेदवार रहेका हर्कराज राई (हर्क साम्पाङ), रुपन्देही–२ मा जनसेवा पार्टीबाट उम्मेदवार रहेका कमल भुसाल (निकोलस), भक्तपुर–२ मा जनसेवा पार्टीबाट उम्मेदवार जानुका पाठक (शोभा) रहेका छन् । आज मात्रै बालेन शाह, हर्क साम्पाङ, महेश बस्नेत र जानुका पाठकलाई स्पष्टिकरण सोधिएको निर्वाचन आयोगका निर्वाचन आचारसंहिता अनुगमन शाखाका अधिकृत विष्णु पौडेलले जानकारी दिए । सबै उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको उनले बताए । त्यसैगरी, स्वास्थ्य स्वयंसेवक संघ र आधारभूत विद्यालयलाई पनि सरुवा गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ । आयोगका अनुसार रास्वपा वरिष्ठ नेता बालेनले सामाजिक सञ्जालमार्फत झापा–५ मै उम्मेदवार रहेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अमर्यादित शब्द प्रयोग गरेर दिएको अभिव्यक्तिका कारण स्पष्टीकरण सोधिएको हो । एमाले सचिव बस्नेतलाई बालेनले बोलेको मैथिली भाषाको शब्द ‘छौरा’बारे अनर्गल व्याख्या गरेकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । उता हर्क साम्पाङलाई चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको र टी–सर्ट लगाउन लगाएको विषयमा उजुरी परेको आयोगले बताएका छ । त्यसैगरी, निकोलस भुसालले जेनजी आन्दोलनमा रगतले लतपतिएको जुत्तालाई चुनाव चिह्नसरह प्रयोग गरी प्रचार गरेको आरोपमा उजुरी परेको थियो । सोही कारण उनलाई आयोगले स्पष्टिकरण सोधेको हो । त्यस्तै, शोभा पाठकले एमाले सचिव बस्नेत र एमाले विरुद्ध घृणाजन्य अभिव्यक्ति दिँदै ‘हत्यारा’ र ‘बलात्कारी’जस्ता शब्द प्रयोग गरेकामा आयोगले स्पष्टिकरण सोधेको छ । आयोगले दोलखाबाट उम्मेदवार बनेका रास्वपाका जगदीश खरेललाई पनि स्पष्टिकरण सोधेको थियो । गत बिहीबार आयोगले दोलखाबाट उम्मेदवार बनेका खरेललाई निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।
ऊर्जा क्षेत्रका समस्या संसदमा उठान गर्न मेरो उम्मेदवारी हो: भरत पराजुली
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का कार्यसमिति सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सिन्धुपाल्चोक-१ का उम्मेदवार भरत पराजुलीले ऊर्जा क्षेत्रका मुद्दाहरु संसदमा उठान गर्नको लागि संसदीय निर्वाचनमा होमिएका बताएका छन् । मंगलवार इप्पानले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै पराजुलीले नेपालको समृद्धिको मुख्य आधार मानिएको ऊर्जा क्षेत्रमाथि सबैतिरबाट आक्रमण हुँदा यसको सम्भावना सम्भावनामै सीमित हुन लागेकाले संसदमा ऊर्जा क्षेत्रका समस्या र समाधानको बहस उठान गर्नको लागि आफूले सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको बताएका हुन् । पराजुलीले नेपालमा रहेका ठूला १३ वटा उद्योगमा लाइन काट्दा ४० हजारको रोजगारी प्रभावित हुनुका साथै ५०० मेगावाट विद्युतसमेत खपत नभएको स्मरण गराएका थिए । ‘१३ वटा उद्योगको लाइन काट्दा ४० हजार व्यक्तिको रोजगारी प्रभावित भयो । ५०० मेगावाट विद्युत खेर गयो । अब देशमा १३ वटा मात्र होइन १३ लाख उद्योग सञ्चालन हुने वातावरण बनाउन र लाखौ नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन म राजनीतिमा होमिएको हुँ ।’ पराजुलीले भने, ‘दलभित्र नेता फोहोर भए भनेर मात्रै भएन, त्यो फोहोर सफा गर्न म मैदानमा निस्किएको हुँ ।’ इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा उद्यमीका समस्या समाधान गर्नका लागि ऊर्जा क्षेत्र बुझेका धेरै जना व्यक्तिहरु संसदमा जान आवश्यक रहेको भन्दै पराजुलीको उम्मेदवारीलाई आफ्नो नैतिक समर्थन रहेको बताए । उनले आगामी निर्वाचनपछि ऊर्जा क्षेत्रलाई नजिकबाट बुझेका कम्तिमा आधा दर्जन व्यक्तिहरु प्रतिनिधिसभामा आउनुपर्नेमा जोड दिए । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा क्षेत्रका वारेमा जानकार व्यक्तिहरु जुनसुकै राजनीतिक दलबाट निर्वाचनमा होमिए पनि आफ्नो समर्थन रहने बताए । ‘हिजोका दिनमा ऊर्जा उद्यमीहरु स्वतन्त्र रुपमा आफ्नो पेशा व्यवसाय गर्दै आएकोमा राजनीतिक दलहरुले ऊर्जा क्षेत्र बुझ्नै सकेनन् । अब सबै राजनीतिक दलभित्र ऊर्जा क्षेत्रमा सक्रिय मानिसहरु संग्लग्न भएर पहिला दलको मुल एजेण्डामा ऊर्जा क्षेत्रवारे स्पष्ट बनाउनुपर्छ,’ डाँगीले भने, ‘बाहिर बसेर ऊर्जा क्षेत्रमा समस्या भयो भनेर समाधान हुने देखिएन ।’ इप्पानका महासचिव बलराम खतिवडाले आगामी निर्वाचनपछि संसदमा धेरै भन्दा धेरै ऊर्जा क्षेत्र बुझेका व्यक्तिहरु विजयी गराउन ऊर्जा उद्यमीका नाताले नैतिक सहयोग र समर्थन रहने बताए ।
गण्डकी प्रदेशमा निष्क्रिय सहकारीमाथि कडाइ, ३५ खारेज
गलकोट । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले गण्डकीमा निष्क्रिय रहेका ३५ सहकारी खारेज गरेको छ । संस्थाले यही माघ १० गते नौवटा विभिन्न प्रकृतिका सहकारी संस्थाको दर्ता खारेजी गरेको जनाएको छ । कार्यालयले यसअघि २६ सहकारी खारेज गरिसकेको छ । गण्डकी प्रदेश सहकारी ऐन, २०७५ को दफा ७१ उपदफा (३) अनुसार लगातार दुई वर्ष कुनै पनि कारोबार नगरी निष्क्रिय रहेका सहकारीको दर्ता खारेजी गरिएको रजिष्ट्रार कार्यालयले यही माघ १० गते सार्वजनिक सूचना जारी गरी जानकारी गराएको छ । कार्यालयको माघ ९ गतेको निर्णयानुसार स्याङ्जाका चार, पर्वतका चार र नवलपुरको एक गरी नौवटा सहकारीको दर्ता खारेज गरिएको हो । निष्क्रिय सहकारीहरुलाई गत असार १५ गते ३५ दिने सार्वजनिक सूचना जारी गरी अद्यावधिक गर्न आह्वान गरिएको भए पनि अद्यावधिक हुन नआएकामध्ये यसपटक नौवटा खारेज गरिएको र केही सहकारी खारेजीको चरणमा रहेको सहकारी रजिष्ट्रार भेषराज रिजालले जानकारी दिए । बागलुङमा पनि लामो समयदेखि निष्क्रिय रहेका र अद्यावधिकमा नआएका सहकारीहरुलाई खारेज गर्ने तयारी गरिएको रिजालले बताए । निष्क्रिय रहेका सहकारीहरुको दायित्व बाँकी रहेमा सञ्चालकको जिम्मामा रहने गरी खारेज गर्ने प्रक्रिया अगाडि बढाइएको हो । रजिष्ट्रार कार्यालयले गण्डकी प्रदेश नियमन क्षेत्राधिकारमा रहेका हालसम्म ३५ वटा सहकारी सङ्घसंस्थाको खारेजी गरेको छ । खारेज भएका सहकारीमा सबैभन्दा बढी १२ वटा स्याङ्जा, त्यसपछि गोरखाका ६, पर्वतका पाँच, तनहुँका चार, कास्कीका तीन, म्याग्दीका दुई, लमजुङ, बागलुङ र नवलपुरका एक–एकवटा सहकारी खारेज भएको सहकारी रजिष्ट्रार रिजालले जानकारी दिए । गण्डकी प्रदेश सहकारी ऐनमा भएको व्यवस्थाअनुसार लगातार दुई वर्षसम्म कुनै पनि कारोबार नगरी निष्क्रिय रहेको पाइएमा दर्ता अधिकारीले सहकारी संस्थाको दर्ता खारेज गर्न सक्नेछ भन्ने व्यवस्थाअनुसार अद्यावधिक हुन नआएका, लगातार दुई वर्षसम्म विवरण पेस तथा प्रतिवेदन पेस नगरी निष्क्रिय रहेका सहकारी संस्थाको खारेजी गर्ने प्रक्रिया अगाडि बढाइएको रजिष्ट्रार रिजालले जानकारी दिए । रजिष्ट्रार कार्यालयले खारेज भएका सहकारी संस्थाले तिर्न बुझाउनुपर्ने कुनै दायित्व रहे, भएमा संस्थाका सञ्चालकलगायत जिम्मेवार पदाधिकारी/व्यक्तिहरुले तिर्न बुझाउनसमेत जानकारी गराएको छ । माघ ९ गतेको निर्णयानुसार खारेज हुनेमा स्याङ्जाको वालिङ नगरपालिकास्थित टापु भञ्ज्याङ कृषि सहकारी संस्था लिमिटेड, सोही पालिकाको कटौजे अदुवा उत्पादक सहकारी संस्था लिमिटेड, चापाकोटा गाउँपालिकाको खड्क कालो कृषि सहकारी संस्था लिमिटेड, सोही पालिकाको सरोवर कृषि सहकारी संस्था लिमिटेड रहेका छन् । यस्तै पर्वतको कुश्मा नगरपालिकामा रहेको गहते पोखरा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, प्रगति कफी सहकारी संस्था लिमिटेड, पूृर्णेश्वर कफी सहकारी संस्था लिमिटेड, पर्वत आदर्श नमूना कृषि सहकारी संस्था लिमिटेड तथा नवलपरासी (ब.सु.पूर्व) स्थित हुप्सेकोट गाउँपालिकाको भूपूसैनिक सहकारी संस्था लिमिटेड खारेज भएका हुन् । रासस