विकासन्युज

सेयर बजार ४२ अंकले घट्यो, १४ अर्बकाे कारोबार

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२ अंकले घटेर २७२६ बिन्दुमा झरेको हो ।  नेप्सेका अनुसार ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२४ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३३३ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ५७ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै एसवाई प्यानलको ५७ करोड, आँखु खोलाको ५१ करोड, न्यादी गुप्रको ३९ करोड र बन्दिपुर केबलकारको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक स्थिर रहेको छ।   । बैकिङ १.४९ प्रतिशत, डेभलपमेन्ट बैंक १.०० प्रतिशत, फाइनान्स २.४४ प्रतिशत, होटल तथा पर्यटन १.९० र हाइड्रोपावर १.४७ प्रतिशतले घटेका छन् ।   

हेभीवेटहरूको गृह प्रदेश कोशीमा २०७९ को मत ट्रेन्ड र २०८२ को चुनावी मोड

काठमाडौं । २०७९ सालको संघीय संसद् निर्वाचनले कोशी प्रदेशको राजनीतिक चरित्रलाई स्पष्ट रूपमा परिभाषित गरेको थियो । समानुपातिक मत परिणामले प्रदेश अझै पनि परम्परागत दलहरूको प्रभावमा रहेको देखाए पनि नयाँ राजनीतिक शक्तिको उदयले भविष्यको चुनावी समीकरण बदलिन थालेको संकेत समेत त्यतिबेलै देखिएको थियो ।  यही पृष्ठभूमिमा २०८२ को आमनिर्वाचन नजिकिँदै गर्दा कोशी प्रदेशको राजनीति पुनः निर्णायक मोडमा उभिएको छ । कोशी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव योगेश भट्टराई सचिवहरू शेरधन राई र भानुभक्त ढकालको गृह प्रदेश पनि हो । यस्तै, नेपाली कांग्रेसका हेभीवेटहरू कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छेदार, डा. शेखर कोइराला पनि यसै प्रदेशका नेता हुन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पनि यही प्रदेशका नेता हुन् । हेभीवेटहरूको गृह प्रदेशको समानुपातिक मत परिणामले नेताहरूको प्रभावसमेत देखाउने भएकाले यस प्रदेशको समानुपातिक मत परिणामको विशेष महत्त्वसमेत रहेको छ । २०७९ को निर्वाचनमा कोशी प्रदेशमा नेकपा एमालेले ६ लाख ४२ हजार ३४ मत प्राप्त गर्दै समानुपातिकतर्फ पहिलो स्थान हासिल गर्‍यो । यो परिणामले प्रदेशमा एमालेको संगठनात्मक सुदृढता र ग्रामीण र सहरी दुवै क्षेत्रमा फैलिएको मत आधार एमालेको रहेको पुष्टि समानुपातिक मत परिणामले गरेको एमाले केन्द्रीय सदस्य इन्द्र भण्डारी बताउँछन् । नेपाली कांग्रेस ५ लाख ५५ हजार २२७ मतसहित दोस्रो स्थानमा रह्यो । कांग्रेसको मत परिणामले पार्टी अझै पनि बलियो प्रतिस्पर्धी भएको देखाए पनि अघिल्ला निर्वाचनहरूको तुलनामा मत विस्तार गर्न नसकेको सन्देश दियो । गत आम चुनावको भन्दा यसपटक मत बढ्ने आशामा छन् कांग्रेस प्रदेश सभापति उद्धव थापा ।  उनका अनुसार गत निर्वाचनमा भन्दा बढी मत ल्याउने आधार कांग्रेसको एकमना एकता हो । उनी भन्छन्, ‘कोशीमा हामी अभूतपूर्व एकतासहित निर्वाचनमा होमिएका छौं ।’ गत निर्वाचनको सबैभन्दा उल्लेखनीय पक्ष भनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवेश थियो । पहिलो सहभागितामै रास्वपाले २ लाख १४ हजार ८१० मत प्राप्त गर्दै तेस्रो शक्ति बन्न सफल भयो । यसले कोशी प्रदेशमा वैकल्पिक राजनीतिक धारप्रति बढ्दो आकर्षणलाई देखाउँछ । रास्वपाका स्थानीय नेताहरू यस पटक अघिल्लो निर्वाचनको भन्दा सुधारिएको प्रदर्शन गर्ने बताउँछन् । पार्टीको कोशी प्रदेश समिति सदस्य रहेका निरज कटुवालका अनुसार रास्वपाले कोशीमा राम्रो परिणाम दिनेगरी आन्तरिक रणनीतिहरू तय गरेको छ । त्यसैगरी, यस प्रदेशमा तत्कालीन नेकपा माओवादी केन्द्रले १ लाख ८८ हजार ६८२ मत प्राप्त ग¥यो भने राप्रपाले १ लाख ३० हजार ४०३ मत ल्यायो । यी दुवै दलको परिणामले उनीहरूको मत आधार अझै कायम रहे पनि विस्तारमा चुनौती देखाएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार २०७९ को समानुपातिक मत परिणामले कोशी प्रदेशमा तीन तहको राजनीतिक संरचना देखायो । पहिलो तहमा एमाले र कांग्रेसजस्ता ठूला दलहरू, दोस्रो तहमा रास्वपाजस्तो उदीयमान शक्ति र तेस्रो तहमा तत्कालीन नेकपा माओवादी केन्द्र र राप्रपाजस्ता परम्परागत दलहरू रहेको उक्त निर्वाचनले देखाएको तस्विर हो । यसले प्रदेशको राजनीति अब केवल दुई दलको प्रतिस्पर्धामा सीमित नरही बहुध्रुवीय बन्दै गएको संकेत समेत दिएको स्थानिय विश्लेषकहरू बताउँछन् । बदलिँदो राजनीतिक वातावरण २०७९ पछि देशले सरकार परिवर्तन, गठबन्धन फेरबदल, नीति विवाद र जनआक्रोशका थुप्रै चरणहरू भोगिसकेको छ । कोशी प्रदेशमा यसको प्रत्यक्ष असर देखिन थालेको छ । पछिल्ला सरकारप्रतिको बढ्दो असन्तुष्टि र युवा मतदाताको राजनीतिक चेतनाले २०८२ को माहोल परिवर्तन गर्न सक्छ । साथै नयाँ मतदाताको प्रवेश र सामाजिक सञ्जालमार्फत धारणा निर्माणले पनि निर्वाचन २०८२ लाई अछुतो नछोड्ने निश्चित छ । यी सबै कारणले २०८२ को निर्वाचन २०७९ भन्दा फरक बन्ने सम्भावना बढाएको छ । एमालेले २०७९ मा प्राप्त गरेको मत अग्रता अझै पनि उसको बलियो पक्ष हो । तर २०८२ तर्फ जाँदा पार्टीले केही चुनौतीहरू पनि सामना गरिरहेको छ । सरकार सञ्चालनप्रति उठेका प्रश्न, युवा मतदाताको बदलिँदो प्राथमिकता र रास्वपाको बढ्दो प्रभावले एमालेको समानुपातिक मतमा स्थिरता वा हल्का गिरावट आउन सक्ने अनुमान स्थानीय नेता तथा कार्यकर्ताको छ । तर बलियो संगठन, स्थानीय तहसम्मको पहुँच र परम्परागत मत आधारका कारण एमाले अझै पनि पहिलो स्थानको मुख्य दाबेदार रहने देखिन्छ । कांग्रेसले कोशी प्रदेशमा उल्लेख्य मत आधार जोगाइरहेको छ । तर पार्टीभित्रको गुटबन्दी, नयाँ मतको कम आकर्षणले कांग्रेसको मत विस्तारलाई चुनौती दिएको छ । यस प्रदेशमा रास्वपाको प्रवेशले एमालेलाई भन्दा कांग्रेसलाई प्रभाव पार्न सक्ने कांग्रेसको आँकलन रहेको छ । यस प्रदेशमा कांग्रेसले संगठन सुदृढीकरण, स्पष्ट राजनीतिक एजेन्डा र युवा मतदातासँग संवाद गर्न सके मात्र मत वृद्धि सम्भव देखिन्छ । अन्यथा २०७९ को स्तर वरिपरि सीमित हुने वा केही घट्ने सम्भावना प्रबल छ । २०८२ को निर्वाचनमा सबैभन्दा धेरै चर्चा हुने दल रास्वपा हुने संकेत देखिन्छ । २०७९ मा पाएको २ लाखभन्दा बढी मत पार्टीको आधार मात्र नभई सम्भावनाको संकेत थियो । कोशी प्रदेशका सहरी क्षेत्र, शिक्षित युवा र पुराना दलप्रति असन्तुष्ट मतदातामा रास्वपाको प्रभाव बढ्दो छ । यही कारण २०८२ मा रास्वपाले समानुपातिक मत उल्लेख्य रूपमा बढाउन सक्ने विश्लेषण गरिँदै आएको छ । यदि यही ट्रेन्ड कायम रह्यो भने रास्वपा एमाले र कांग्रेस दुवैका लागि निर्णायक चुनौती बन्न सक्छ । राप्रपाको अवस्था भने फरक देखिन्छ । राजसंस्था र सांस्कृतिक मुद्दाको उठानले राप्रपाले २०८२ मा मत हिस्सा विस्तार गर्ने अवसर देखिरहेको छ, विशेषगरी ग्रामीण र परम्परावादी मतदातामा उसले मत विस्तार गर्न सक्ने देखिन्छ । २०७९ को समानुपातिक मत परिणामले कोशी प्रदेशमा परम्परागत शक्तिको वर्चस्व देखाए पनि २०८२ तर्फ जाँदा त्यो संरचना केही हल्लिन सक्छ भन्ने पूर्वानुमान गर्न सकिन्छ । एमाले र कांग्रेस अझै पनि यस प्रदेशका मुख्य शक्ति हुन् । रास्वपा निर्णायक ‘स्विङ फ्याक्टर’ बन्न सक्छ । यस प्रदेशमा माओवादी कमजोर रहेको र वर्ष २०८२ को निर्वाचनमा अझ कमजोर बन्न सक्छ । यता राप्रपा भने विस्तारको खोजीमा रहेको देखिन्छ । यस अर्थमा कोशी प्रदेश अब दुई दलीय प्रतिस्पर्धाबाट बहुध्रुवीय राजनीतितर्फ निर्णायक चरणमा प्रवेश गरेको छ, जहाँ २०८२ को निर्वाचनले प्रदेशको आगामी राजनीतिक मार्गचित्र कोर्नेछ । यो प्रदेशको मत परिणामले नेतृत्वको परीक्षणसमेत गर्नेछ ।

स्वास्थ्य बीमामा तीनै तहका सरकारको लगानी आवश्यक : मन्त्री गौतम

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिएकी छन् ।      मंगलबार बिहान प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै मन्त्री गौतमले सङ्घीय सरकारको मात्र बजेटले स्वास्थ्य बिमा कार्यक्रमलाई अपुग भएकाले प्रदेश सरकार र स्थानीय तहहरुले समेत बजेट विनियोजन गर्नुपर्ने बताइन् । अहिले पनि थुुप्रै अस्पतालले स्वास्थ्य बिमाको बजेट नपाएको गुनासो आइरहेको बताउँदै सरकारसँग बजेट अभाव भएकै कारण भुक्तानी दिन नसकिएको बताइन् ।      अर्थ मन्त्रालयमा माग गर्दा बजेट नभएको भनेपछि स्वास्थ्य मन्त्रालयकै बजेटबाट झन्डै एक अर्ब रुपैयाँ बीमा बोर्डलाई भुक्तानी भएको उनको भनाइ छ ।      मन्त्री गौतमले आफूले विभिन्न प्रदेशअन्तर्गतका बैठकमा प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधिलाई आगामी बजेटमा स्वास्थ्य बिमाका लागि पनि रकम विनियोजन गर्न आग्रह गरेको बताइन् । मन्त्री गौतमले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनका लागि अहिलेको सरकारले निरन्तर पहल गरिरहेको बताइन् ।      सरकारी स्वास्थ्य संस्थाहरुमा पर्याप्त औषधि, जनशक्ति र उपकरणको व्यवस्थापन हुनुपर्नेमा जोड दिँदै मन्त्री गौतमले नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाका पुर्याउनका लागि विभिन्न नीति र योजना बनाउनुनपर्ने बताइन् । उनले निर्वाचन आचारसंहिता लागिसेककाले कतिपय कामहरु अघि बढाउन नसकिएको बताइन् ।      उनले गत भदौ २३ र २४ गतेको आन्दोलनमा घाइते भएका जेनजीहरुको उपचारका लागि सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताइन् । उनले घाइतेको उपचारमा कुनै समस्या नभएको तर अङ्ग प्रत्यारोपण गर्नुपर्नेहरुको व्यवस्थापनमा सरकार लागिरहेको बताइन् । उनले सहिद परिवारहरुले विभिन्न सेवासुविधा माग गरिरहेकाले सरकारले आवश्यक छलफल गरिरहेको जानकारी दिइन् ।      मन्त्री गौतमले आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन् । सरकारका तर्फबाट सम्पूर्ण तयारी भइरहेको उल्लेख गर्दै उनले राजनीतिक दल, मतदाता र युवा पुस्ताले पनि सहयोग गर्न आग्रह गरिन् । आफ्नो कार्यकाल छोटो भए पनि आगामी सरकारले अघि बढाउने गरी स्वास्थ्य क्षेत्रमा केही सुधारका कामहरु गरिरहेको उनको दाबी रहेको छ ।      सो अवसरमा प्रदेश अस्पताल पर्वतका अध्यक्ष याम परियारले अस्पतालका लागि आवश्यक जनशक्ति, उपकरण, बिमा बापतको रकम उपलब्ध गराई दिनेलगायत विभिन्न माग समेटिएको मागपत्र पेस गरेका थिए । उनका अनुसार उक्त अस्पतालले बिमा बापतको रु तीन करोड भुक्तानी पाउन बाँकी छ ।   

धनुषाका १९४ मतदानस्थल अतिसंवेदनशील

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले यहाँका १९४ मतदानस्थल अतिसंवेदनशील रहेको जनाएको छ। जिल्लामा रहेका ३२२ मतदानस्थलमध्ये १९४ अति अतिसंवेदनशील,१०६ वटा संवेदनशील र २२ वटा सामान्य सूचीमा वर्गीकरण गरिएको कार्यालयको भनाइ छ ।  जिल्लामा मतदान केन्द्रको सङ्ख्या  ६४५  छ । खुल्ला सीमा नाका, बढी मतदाता, विगतका निर्वाचनमा मतदानको वर्षमा भएको विभिन्न किसिमको उत्पन्न समस्याका कारण मतदानस्थलहरूको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।  एक मतदान केन्द्रमा १० देखि १२ जना सुरक्षाकर्मी परिचालन गरिने उनले बताए । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै सुरक्षा प्रमुखको सहभागितामा अति संवेदनशील मतदानस्थलको आज पनि अनुगमन गरिएको छ । नेपाल–भारतको सीमानासँग जोडिएको मतदानस्थलको अनुगमन भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिए । मधेस प्रदेश निर्वाचन कार्यालयका अनुसार धनुषाका चार निर्वाचन क्षेत्रमा पाँच लाख १४ हजार ५७१ जना मतदाता छ । जसमा पुरुष दुई लाख ७६ हजार १२६ जना, महिला दुई लाख ३८ हजार ४३५ र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (अन्य) १० जना मतदाता छन् । सो निर्वाचनमा छ हजार ५०० कर्मचारी खटिनेछन् । खटिने कर्मचारीको विवरण सङ्कलन भइरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा चारवटा निर्वाचन क्षेत्रमा १४२, क्षेत्र नं २ मा ३४, क्षेत्र नं ३ मा ४५ र क्षेत्र नं ४ मा ३७ जना उम्मेदवार छन् ।

सन नेपाल लाइफको नेशनल एजेन्सी मिट २०८२ पोखरामा सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा दुईदिने नेशनल एजेन्सी मिट २०८२ सफलतापूर्वक सम्पन्न गरेको छ । होटल ग्रान्ड पोखरामा आयोजित उक्त कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो । देशभरिका प्रतिष्ठित एजेन्सी लिडर तथा उत्कृष्ट अभिकर्ताहरूको सहभागितामा सम्पन्न कार्यक्रममा कम्पनीले असाधारण व्यवसायिक प्रदर्शन गर्ने अभिकर्ता तथा एमडीआरटी २०२६ (MDRT 2026) हासिल गर्ने सदस्यहरूलाई विशेष सम्मान प्रदान गरेको छ । कार्यक्रमको पहिलो दिन उत्कृष्ट व्यवसाय, निरन्तर योगदान र समर्पणमार्फत कम्पनीको वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभिकर्ताहरूलाई कदर गर्दै सम्मान समारोह आयोजना गरिएको थियो । एमडीआरटी हासिल गर्ने अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरको उपलब्धिका रूपमा विशेष सम्मान गर्दै कम्पनीले उनीहरूको पेशागत उत्कृष्टता र नेतृत्व क्षमताको उच्च मूल्याङ्कन गरेको थियो । दोस्रो दिन अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासमा केन्द्रित प्रशिक्षण सत्र सञ्चालन गरिएको थियो । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेल्स ट्रेनर तथा लिडरसिप कोच अनिल झाले बिक्री कौशल, नेतृत्व क्षमता, सोचको रूपान्तरण तथा ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माणका विषयमा प्रेरणादायी प्रशिक्षण प्रदान गरेका थिए । उनको प्रस्तुति र व्यावहारिक अनुभवले सहभागी अभिकर्ताहरूलाई उच्च लक्ष्यसहित अघि बढ्न उत्प्रेरित गरेको कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशेष उपस्थिति रहेको थियो । साथै उत्कृष्ट नतिजा हासिल गर्ने शाखा प्रमुखहरूको पनि सहभागिता रहेको थियो । सुन्दर पर्यटकीय नगरी पोखरामा सम्पन्न नेशनल एजेन्सी मिटले विगतका उपलब्धिहरूको उत्सव मनाउनुका साथै भविष्यमा अझ सशक्त, व्यावसायिक र ग्राहककेन्द्रित सेवा प्रदान गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाएको कम्पनीको भनाइ छ । हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा रहेका छन् ।  

निर्वाचन आयोगले बालेनलाई सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले झापा ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई स्पष्टीकरण सोधेको छ । केही दिनअघि शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीको सामाजिक सञ्जालमा कमेन्ट गरेका थिए । उनले प्रतिस्पर्धी उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको पोस्टमा कमेन्ट गर्दै ‘हत्यारा’ भनेर टिप्पणी गरेका थिए । शाहले बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा संलग्न रहेको बुझिने बताएका थिए ।

जमलमा माइक्रो, मोटरसाइकल र स्कुटर ठोक्किँदा एकजना घाइते

काठमाडौं । काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि तीनवटा सवारीसाधन एक-आपसमा ठोक्किएर दुर्घटना भएको छ । मंगलबार (आज) केहीबेरअघि मोटरसाइकल, स्कुटर र एउटा माइक्रो एक-आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । दुर्घटनामा परेर एक जना घाइते भएका छन् । ‘मोटरसाइकलमा आगो लागेको छ । मोटरसाइकल चालक सामान्य घाइते भएका छन्,’ एसपी भट्टराईले भने,’ आगलागी नियन्त्रणमा आइसकेको छ ।’

करिब दुई दर्जनभन्दा बढी इन्टरनेट कम्पनी प्रतिस्पर्धामा

काठमाडौं । नेपाली बजारमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको बाढी नै देखिएको छ । हाल करिब दुई दर्जनभन्दा बढी इन्टरनेट कम्पनीहरू बजारमा प्रतिस्पर्धामा छन् । ती कम्पनीहरू सेवा गुणस्तर सुधारभन्दा पनि ग्राहक संख्या बढाउन प्रतिस्पर्धामा उत्रिएका देखिन्छन् । वर्ल्डलिंक, डिसहोम, नेपाल टेलिकमसहित करिब दुई दर्जन कम्पनीको बजारमा हालिमुहाली रहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार इन्टरनेट सेवा प्रदायकमध्ये सबैभन्दा बढी बजार हिस्सा वर्ल्डलिंकको रहेको छ । प्राधिकरणका अनुसार मंसिरसम्मको तथ्यांकमा बजार हिस्साका आधारमा वर्ल्डलिंकका सबैभन्दा धेरै ग्राहक छन् । वर्ल्डलिंकका ग्राहक संख्या १० लाख ५५ हजार पुगेको छ । इन्टरनेट कम्पनीहरूमध्ये वर्ल्डलिंकपछि दोस्रो ठूलो बजार हिस्सा डिसहोमको रहेको छ, जसका ग्राहक ३ लाख ८२ हजार पुगेका छन् । बजार हिस्साको हिसाबले तेस्रो स्थानमा सरकारी लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) रहेको छ । टेलिकमका ग्राहक ३ लाख ७४ हजार पुगेका छन् । चौथो स्थानमा भायनेट रहेको छ । बजार विस्तारमा आक्रामक देखिएको भायनेटका ग्राहक संख्या ३ लाख ४० हजार पुगेको छ । त्यसैगरी, पाँचौँ स्थानमा क्लासिक टेक रहेको छ । क्लासिक टेकले मंसिर मसान्तसम्म २ लाख ६८ हजार ग्राहक संख्या पुर्‍याएको छ । छैटौँ स्थानमा सुबिसु इन्टरनेट रहेको छ, जसका ग्राहक २ लाख ५५ हजार पुगेका छन् । सातौँ स्थानमा वेभसर्फर रहेको छ । वेभसर्फरका ग्राहक १ लाख ७६ हजार छन् । यस्तै, बजार हिस्साका आधारमा आठौँ स्थानमा टेकमाइन्स रहेको छ, जसका ग्राहक १ लाख २३ हजार छन् । नवौँ स्थानमा वाइफाइ नेपाल र दशौँ स्थानमा सिजी कम्युनिकेसन रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । इन्टरनेट कम्पनीहरू यसरी ग्राहक तानातानमा लागिरहे पनि उपभोक्ता भने इन्टरनेट सेवाप्रति सन्तुष्ट देखिँदैनन् । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवा प्रवाहमा देखिने समस्या समयमै समाधान नगरेको गुनासो उपभोक्ताबाट निरन्तर आइरहेको छ ।