विकासन्युज

आजको बजारभाउ : ३० रुपैयाँको गोलभेँडादेखि १ हजारको च्याउसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५२, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ५७, आलु सेतो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५७ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ११०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु १००, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । समितिका अनुसार बोडी तने प्रतिकिलो रु ७०, मकै बोडी प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १५०, टाटे सिमी प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु ७०, परवर (लोकल) प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु ७०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ८०, भिन्डी प्रतिकिलो रु ५०, सक्खरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १०० र स्कुस प्रतिकिलो रु ७० कायम भएको छ । रायोसाग प्रतिकिलो रु २००, पालुङ्गो प्रतिकिलो रु २००, तोरीको साग प्रतिकिलो रु १५०, प्याज (हरियो) रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ५००, राजा च्याउ प्रतिकिलो रु ३२० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकिलो रु ४०, सजिवन प्रतिकिलो रु ३००, जिरीको साग प्रतिकिलो रु २००, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु २००, पुदिना प्रतिकिलो रु ४००, गान्टेमूला प्रतिकिलो रु २००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु १८०, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु २००, आँप (दशहरी) प्रतिकिलो रु २००, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ४०, नास्पाती (लोकल) प्रतिकिलो रु ८०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ६०, आभोकाडो प्रतिकिलो रु ८००, अमला प्रतिकिलो रु २८०, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ । ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ४००, अदुवा प्रतिकिलो रु २३०, सुकेको खुर्सानी प्रतिकिलो रु ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २००, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु ३५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ ।

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौं । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै जिल्लामा शान्तिसुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाद्वारा जारी आदेशअनुसार राजविराज नगरपालिकाभित्र पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गको जुडनी-ढलही, उत्तरमा रूपनी रोडको बसबिट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहर (विष्णुपुर गाउँपालिका सीमा) सम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । 

ब्रोड पिकमा हिमपहिरोमा ५ नेपालीसहित १० आरोही सम्पर्कविहीन

काठमाडौं । उत्तरी पाकिस्तानको ब्रोड पिकमा हिम पहिरोमा प्रख्यात पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्क विहीन भएको छ । पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैद्रीले बिहीबार राति जारी गरेको विज्ञप्ति अनुसार निर्मल पुर्जाको नेतृत्वमा रहेको आरोहण टोली  हिम पहिरोमा परेसँगै सम्पर्क विच्छेद भएको छ । उक्त टोलीमा निर्मल पुर्जासहित पाँच जना नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी, एक चिनियाँ तथा अर्का एक आरोहीको राष्ट्रियता नखुलेको एशोसिएटेट प्रेसले जनाएको छ । पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अरशद तथा क्लबका वरिष्ठ पदाधिकारीहरूले तत्काल खोज तथा उद्धार अभियान सञ्चालनका लागि सरकारी अधिकारीहरूसँग समन्वय गरिरहेका जनाएका छन् । 

पार्टी त्यागेपछि एमालेले गुमायो मेयरसहित ६ जना जनप्रतिनिधि

काठमाडौं । दल त्याग गरेपछि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी-लेनिनवादी) अर्थात् नेकपा एमालेबाट निर्वाचित ६ जना जनप्रतिनिधिले पद गुमाएका छन् । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी-लेनिनवादी)बाट निर्वाचित ६ जना जनप्रतिनिधिले दल त्याग गरेको ठहर गर्दै उनीहरूको पद रिक्त भएको जनाएको हो । आयोगका अनुसार मोरङको बेलबारी नगरपालिका-३ का वडा अध्यक्ष योगेन्द्रप्रसाद सुवेदी, जाजरकोटको भेरी नगरपालिका-१० का वडा अध्यक्ष दलबहादुर राना, खोटाङको दिक्तेल-रूपाकोट मझुवागढी नगरपालिका-१४ का वडा अध्यक्ष दिनेशकुमार राई, खोटेहाङ गाउँपालिका-४ का वडा सदस्य प्रदीप आचार्य, रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल शाह कानु तथा सोही नगरपालिकाको वडा नं. ४ का वडा अध्यक्ष रामप्रवेशप्रसाद कुर्मीको पद रिक्त भएको हो । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ उपदफा १ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम सम्बन्धित राजनीतिक दलबाट प्राप्त जानकारीका आधारमा उनीहरूको निर्वाचित पद स्वतः रिक्त भएको निर्णय गरेको जनाएको हो । आयोगका अनुसार नेकपा (एमाले) केन्द्रीय सचिवालयले सम्बन्धित जनप्रतिनिधिले पार्टी विधान विपरीत गतिविधि गरी दल परित्याग गरेको निर्णयसहितको जानकारी आयोगमा पठाएको थियो । सोही आधारमा आयोगले साउन १४ गते उनीहरूको पद रिक्त भएको निर्णय गरेको हो ।

पहिलोपटक कन्सल्टेशन पेपर सार्वजनिक, सर्ट सेलिङ लागू गर्ने बाटो खुल्दै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको धितोपत्र बजारमा मार्जिन कर्जा, धितोपत्र सापटी तथा उधारो र सर्ट सेलिङ सञ्चालनका लागि आवश्यक नीतिगत, कानुनी, संरचनागत तथा प्राविधिक व्यवस्थासम्बन्धी अवधारणापत्र सार्वजनिक गरेको छ । बोर्डले बजारको तयारीको अवस्था मूल्याङ्कन गर्न तथा सरोकारवालाको राय-सुझाव संकलन गर्ने उद्देश्यले ‘नेपालको धितोपत्र बजारमा मार्जिन कर्जा, धितोपत्र सापटी तथा उधारो र सर्ट सेलिङ सञ्चालनसम्बन्धी अवधारणापत्र, २०८३’ सार्वजनिक परामर्शका लागि पहिलोपटक सार्वजनिक गरेको जनाएको छ । सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा एकै दिनभित्र खरिद-बिक्री, सर्ट सेलिङ र व्युत्पन्न वित्तीय उपकरण चरणबद्ध रूपमा लागू गर्ने घोषणा गरिएको थियो । त्यसैअनुरूप बोर्डले पनि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा मार्जिन कर्जा, धितोपत्र सापटी तथा उधारो तथा छोटो बिक्री सञ्चालनका लागि आवश्यक कानुनी, संस्थागत र प्रक्रियागत व्यवस्था गर्ने योजना अघि सारेको छ । बोर्डका अनुसार विश्वका विकसित पुँजी बजारमा यस्ता वित्तीय सेवाले बजारलाई थप गहिरो, प्रतिस्पर्धी, प्रभावकारी र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । सोही अनुभवलाई आधार बनाएर नेपालको पूँजी बजारलाई समयानुकूल, आधुनिक, सुरक्षित तथा अन्तर्राष्ट्रिय अभ्यासअनुरूप विकास गर्ने उद्देश्यले यी व्यवस्था चरणबद्ध रूपमा लागू गर्ने तयारी गरिएको हो। बोर्डले सफल कार्यान्वयनका लागि स्पष्ट कानुनी आधार, सक्षम बजार पूर्वाधार, प्रभावकारी सूचना प्रविधि प्रणाली, सुदृढ जोखिम व्यवस्थापन तथा लगानीकर्ता संरक्षणका उपाय अपरिहार्य रहेको जनाएको छ । चार अध्यायमा विभाजन गरिएको अवधारणापत्रमा नेपालको पूँजी बजारको वर्तमान अवस्था, संरचनागत विश्लेषण तथा सुधारको आवश्यकता, अन्तर्राष्ट्रिय अभ्यास र नेपालका लागि उपयोगी सिकाइ, नियामकीय प्रभाव विश्लेषण तथा नेपालका लागि उपयुक्त मार्जिन कर्जा, धितोपत्र सापटी तथा उधारो र छोटो बिक्रीको नीतिगत ढाँचा प्रस्ताव गरिएको छ । अवधारणापत्रमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, धितोपत्र दलाल, धितोपत्र व्यापारी, बैंक तथा वित्तीय संस्था, संस्थागत लगानीकर्ता तथा अन्य सरोकारवाला निकायको भूमिका पनि स्पष्ट गरिएको छ । साथै कानुनी सुधार, नियामकीय पुनर्संरचना, बजार पूर्वाधार सुदृढीकरण, सूचना प्रविधिको आधुनिकीकरण, जनशक्ति विकास, लगानीकर्ता शिक्षा तथा चरणबद्ध कार्यान्वयन रणनीतिलाई समेटिएको छ । बोर्डले सार्वजनिक परामर्शबाट प्राप्त सुझावका आधारमा मार्जिन कर्जा, धितोपत्र सापटी तथा उधारो र छोटो बिक्रीसम्बन्धी नियमावली तर्जुमा गरी सार्वजनिक गर्ने जनाएको छ । सम्बन्धित सबै पक्षलाई आफ्ना सुझाव बोर्डको इमेलमा पठाउन पनि आग्रह गरिएको  छ । बोर्डका अनुसार यी धितोपत्र वित्तीय सेवा कार्यान्वयन भएपछि नेपालको पूँजी बजारमा स्थायित्व कायम हुने, तरलता बढ्ने, व्यक्तिगत तथा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार हुने, नयाँ वित्तीय उपकरणको विकास हुने तथा निजी क्षेत्रको दीर्घकालीन पूँजी परिचालनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सेवाग्राहीलाई फिर्ता हुने

काठमाडौं । सरकारले हालसम्म असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता गर्ने भएको छ ।  त्यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । चालु आर्थिक वर्षको आर्थिक ऐनको दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने व्यवस्था गरिएको हो ।  प्रधानमन्त्री वालेन्द्र शाहले यही साउन ५ गते शिक्षा र स्वास्थ्य समता शुल्क खारेज गर्ने घोषणा गर्नुभएको थियो । त्यसलगत्तै साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त शुल्क खारेज गर्ने निर्णय गरेको थियो ।  अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्यायद्वारा जारी सूचनाअनुसार हालसम्म शिक्षा वा स्वास्थ्य समता शुल्क असुल गर्ने व्यक्ति वा निकायले असुल गरेको रकम १५ दिनभित्र सम्बन्धित भुक्तानीकर्तालाई फिर्ता गर्नुपर्नेछ । सूचनामा तोकिएको अवधिभित्र रकम फिर्ता गर्न नसकिए त्यस्तो रकम सङ्घीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने  छ ।

देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति, मृतकलाई शहीद घोषणा गरिने

काठमाडौं । देवानगञ्ज गाउँपालिका-३, कमानागाछीमा गत साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहता का परिवार तथा गृह मन्त्रालयबीच ७ बुँदे सम्झौता भएको छ । सम्झौताअनुसार सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यस्तै, घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइने उल्लेख गरिएको छ। साथै, देवानगञ्ज गाउँपालिका-३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिने सहमति भएको छ । सम्झौतामा प्रत्येक मृतकका परिवारबाट एक-एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनका सुझाव कार्यान्वयन गर्ने तथा मृतकहरूको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने विषय पनि समेटिएको छ । सम्झौतापत्रमा मृतकका परिवारका प्रतिनिधि र सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ ले हस्ताक्षर गरेका छन् । सम्झौतापछि पीडित परिवारले सरकारले गरेका प्रतिबद्धता समयमै कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन् भने सरकारका तर्फबाट सम्झौतामा उल्लेखित सबै बुँदा चरणबद्ध रूपमा कार्यान्वयन गरिने जनाइएको छ ।

आज खिर खाएर मनाइँदै साउन १५, किन खाइन्छ आजको दिन खिर ?

काठमाडौं । आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने प्रचलन प्राचीनकालदेखिकोे मौलिक परम्पराका रुपमा रहिआएको छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा गरम मसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको छ । साउनमा गाउँघरमा पनि खेतिपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खिर खुवाउने चलन चलेको विश्वास गरिन्छ । साउन भगवान शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने यसका जानकारहरूको भनाइ छ । तर यसको कुनै शास्त्रीय वचन भने कतै पाइँदैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृकार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् । चामल, सावदाना, सेवइ, मकै, गाजरलगायतको खिर पनि बनाउने गरिन्छ । सावदानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउनमा हरिया मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन नेपाली समाजमा छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरिएको छ । नेपाली समाजमा असार १५ गते दही चिउरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउखट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने मौलिक चलन रहिआएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रूपमा मनाउने निर्णय गरेको छ । प्रशोधित दूधमा तीन प्रतिशत चिल्लो, ४.७ प्रतिशत ‘ल्याक्टोज’ र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने बोर्डले जनाएको छ । यस वर्ष आठौँ खिर दिवस मनाउन लागिएको हो ।