झापा इनर्जीले भदौ २० गतेदेखि आईपीओ बिक्री गर्ने
काठमाडौं । झापा इनर्जीले भदौ २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता, कर्मचारीका लागि ११ हजार ४०६ कित्ता र बाँकी रहेको ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुक लागि बिक्री खुला गर्ने भएको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले छिटोमा भदौ २४ गते र ढिलोमा असोज ३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
२० प्रतिशत नगद लाभांश बाँड्ने ग्लोबल आइएमईको घोषणा
काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौ १० गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित २० प्रतिशत अर्थात् ९ करोड ८७ लाख ८३ हजार रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले असोज १ गते होटल ले हिमालय लाजिम्पाट काठमाडौंमा दिउँसो साढे ४ बजे १८औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ । यस्तै, सञ्चालक समितिको विसं २०८१ पुस १६ गते बसेको बैठकबाट स्वतन्त्र सञ्चालकमा नियुक्ति भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।
सिक्लेस हाइड्रोको ७३ लाख ८४ हजार कित्ता सेयरको लकइन असोज १० गते सकिने
काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको सेयरको लकइन अवधि एक महिनापछि सकिने भएको छ । कम्पनीको सेयरको लकइन अवधि असोज १० गते समाप्त हुने भएको हो । कम्पनीका अनुसार संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र कम्पनीका कर्मचारीहरूको गरी कुल ७३ लाख ८४ हजार ५ सय कित्ता सेयरको लइकन सकिन लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार संस्थापक सेयरधनीको ६५ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको ८ लाख ५० हजार कित्ता र कम्पनीका कर्मचारीको ३४ हजार ५ सय कित्ता सेयर लइकन सकिने कम्पनीले जनाएको छ सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरुको हकमा भने खरिद बिक्री गर्न नपाउने कम्पनीले जनाएको छ । आईपीओ बिक्री गरेर सेयर बाँडफाँडपश्चात् ३ वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीलाई छुट्याएको सेयर लक इनमा राख्नु पर्ने नेपाल धितोपत्र बोर्डले व्यवस्था गरेको छ ।
तेह्रथुम पावरको सेयर कटअप मूल्य ३२५ रुपैयाँ निर्धारण, १२ गतेदेखि रकम फिर्ता
काठमाडौं । तेह्रथुम पावर कम्पनीको सेयरको कटअप मूल्य निर्धारण गरिएको छ । कम्पनीले लिलामीमा बिक्री गरेको सेयरको कटअफ मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ निर्धारण भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार तेह्रथुमको सर्वसाधारण समूहको सेयरको कटअफ मूल्य ३२५ रुपैयाँ कायम भएको छ । तेह्रथुम पावरले असार १६ गतेदेखि साउन ११ गतेसम्म १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा बिक्री नभएको सर्वसाधारण समूहतर्फको ४ लाख १८ हजार ७३८ कित्ता सेयर गत साउन २७ गतेदेखि भदौ ३ गतेसम्म लिलामीमा बिक्री गरेको थियो । कम्पनीको उक्त सेयर खरिदका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्रहरुको प्रशोधन गरि निष्काशनकर्ता कम्पनीले भदौ १० गते बाँडफाँड गरिएको जनाएको छ । कटअफ मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । बाँडफाँडको विवरण बिक्री प्रबन्धकको वेबसाइटबाट हेर्न सकिनेछ । बाँडफाँडमा नपरेको सेयर बापतको रकम फिर्ता भुक्तानी भदौ १२ गतेदेखि आवेदकले आफ्नो आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा आइपीएस मार्फत रकमान्तर गरिने कम्पनीले जनाएको छ ।
श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आज भदौ ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूलाई छुट्याइएको छ । यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतका दरले ३ लाख ९ हजार ९३८ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले छिटोमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभए असोज ९ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नबिल बैंकको तानसेन पाल्पा र फरसाटिकर रुपन्देही, एनएमबि बैंकका तानसेन र फरसाटिकर तथा ग्लोबल आइएमई बैंकका तानसेन शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।
नयाँ ऊर्जा प्रविधिमा चीन विश्वमै अग्रस्थानमा, ४० प्रतिशत हिस्सा
काठमाडौं । चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गर्दै विश्व स्तरमै अग्रस्थान हासिल गरेको छ । हालसम्म चीनले नयाँ ऊर्जासम्बन्धी विश्वभर दर्ता भएका कुल प्रविधिगत अधिकारहरूमध्ये ४० प्रतिशतभन्दा बढी अधिकार प्राप्त गरेको चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रमुख वाङ होङझीले जानकारी दिए । उनले भने, ‘चौधौं पाँच वर्षीय योजना (सन् २०२१–२०२५) अवधिभर चीनले ऊर्जा प्रविधिमा निरन्तर नवीनता ल्याउँदै धेरै क्षेत्रमा विश्व कीर्तिमान कायम गरेको छ ।’ प्रविधि रूपान्तरण र ऊर्जा भण्डारणमा चीनको अग्रता सौर्य ऊर्जाको रूपान्तरण दक्षता (घामबाट विद्युत् उत्पादन गर्ने क्षमता) मा चीनले उल्लेखनीय सुधार गर्दै उच्च स्तरको प्रविधि विकास गरेको छ । त्यस्तै, समुद्री हावाबाट ऊर्जा उत्पादन गर्ने विशाल क्षमताका पङ्खा प्रणाली (टरबाइन) निर्माणमा पनि चीनले अग्रता लिएको बताइएको छ । नयाँ प्रविधिमा आधारित ऊर्जा भण्डारण प्रणालीहरूको विकास र कार्यान्वयनमा समेत चीन अहिले विश्वकै अगाडि रहेको छ । वातावरणमैत्री र दिगो विकासमा योगदान प्रविधिगत नवप्रवर्तनका साथै चीनले वातावरण संरक्षण र हरित विकासमा विशेष जोड दिएको छ । चिनियाँ प्रविधिहरू अहिले विश्वका धेरैजसो देशहरूमा निर्यात भई प्रयोगमा आइरहेका छन्, जसले स्वच्छ ऊर्जा प्रणाली निर्माणमा महत्वपूर्ण योगदान दिइरहेका छन् । वाङ होङझीले भने, ‘हामी स्वच्छ, सुरक्षित र भरपर्दो ऊर्जा भविष्य निर्माण गर्न निरन्तर रूपमा अनुसन्धान, विकास र लगानीमा ध्यान दिइरहेका छौं । चीन नयाँ ऊर्जा क्षेत्रमा विश्व समुदायसँग सहकार्य गर्दै अघि बढ्न चाहन्छ । विश्वव्यापी रूपमा बढ्दो जलवायु संकट र ऊर्जा आवश्यकतालाई मध्यनजर राख्दै, चीनले ऊर्जा प्रविधिको क्षेत्रमा गरेको उल्लेखनीय प्रगति तथा प्रविधिगत स्वामित्वमा लिएको अग्रता विश्वकै लागि प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ ।
बन्दीपुर केवलकारको आईपीओ बिक्री खुला, २० हजार कित्ता आवेदन दिन सकिने
काठमाडौं । बन्दीपुर केवलकार एवं टुरिजमले आज भदौ ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५८ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा र १० प्रतिशत अर्थात् ५ लाख २९ हजार ४ सय कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई ४३ करोड ४१ लाख ८ हजार रुपैयाँको ४३ लाख ४१ हजार ८० कित्ता सेयर बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो समयमा पूर्ण बिक्री नभएमा आवेदन दिने समय भदौ २५ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
अर्थबाट साढे ७५ करोड निकासा, बिहीबारसम्म उखु किसानको खातामा रकम
काठमाडौं । सरकारले उखु किसानहरूलाई प्रोत्साहन, अनुदान बापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले यसका लागि ७५ करोड ४९ लाख ३८ हजार २४० रुपैयाँ निकासा गरेको हो । निकासा गरिएको रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठकले यसपटक उखु किसानलाई प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो । यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् । यसअघि उखु किसानहरूले प्रति क्विन्टल ७० रुपैयाँ प्रोत्साहन स्वरुप पाउँदै आएका थिए । कृषि मन्त्रालयले उखु किसानलाई यतिनै रकम उपलब्ध गराउन मन्त्रिपरिषदमा प्रस्ताव लगेको भएपनि मुलुकको आर्थिक अवस्था, आवश्यकताका आधारमा ३५ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो । यसैबिच काठमाडौंमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधिबीच सिहंदरवारस्थित मन्त्रालयमा वार्ता भएको छ । वार्तामा मन्त्रालयका तर्फबाट कृषि विभागका उप-महानिर्देशक ललनकुमार सिंह, मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल तथा उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी भएका थिए । उखु किसानका तर्फबाट श्यामबाबु रायलगायत सहभागी थिए । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मङ्गलबार नै उप-महानिर्देशक सिंहको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेका थिए ।