विकासन्युज

बन्दीपुर केवलकारको आईपीओ बिक्री खुला, २० हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । बन्दीपुर केवलकार एवं टुरिजमले आज भदौ ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५८ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा र १० प्रतिशत अर्थात् ५ लाख २९ हजार ४ सय कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।  अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई ४३ करोड ४१ लाख ८ हजार रुपैयाँको ४३ लाख ४१ हजार ८० कित्ता सेयर बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।  कम्पनीको आईपीओमा भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो समयमा पूर्ण बिक्री नभएमा आवेदन दिने समय भदौ २५ गतेसम्म लम्बिनेछ ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

अर्थबाट साढे ७५ करोड निकासा, बिहीबारसम्म उखु किसानको खातामा रकम

काठमाडौं । सरकारले उखु किसानहरूलाई प्रोत्साहन, अनुदान  बापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले यसका लागि ७५ करोड ४९ लाख ३८ हजार २४० रुपैयाँ निकासा गरेको हो । निकासा गरिएको रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठकले यसपटक उखु किसानलाई प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो । यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् । यसअघि उखु किसानहरूले प्रति क्विन्टल ७० रुपैयाँ प्रोत्साहन स्वरुप पाउँदै आएका थिए । कृषि मन्त्रालयले उखु किसानलाई यतिनै रकम उपलब्ध गराउन  मन्त्रिपरिषदमा प्रस्ताव लगेको भएपनि मुलुकको आर्थिक अवस्था, आवश्यकताका आधारमा ३५ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो । यसैबिच काठमाडौंमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधिबीच सिहंदरवारस्थित मन्त्रालयमा वार्ता भएको छ । वार्तामा मन्त्रालयका तर्फबाट कृषि विभागका उप-महानिर्देशक ललनकुमार सिंह, मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल तथा उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी भएका थिए ।  उखु किसानका तर्फबाट श्यामबाबु रायलगायत सहभागी थिए । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मङ्गलबार नै उप-महानिर्देशक सिंहको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेका थिए । 

इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कारवाही र जरिवाना नहुने

काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा जरिवाना वा कारवाहीमा परिने भनी गरिएका प्रचारमा सत्यता नभएको स्पष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारी धनी कारवाहीमा पर्ने तथा जेल जानुपर्ने भनी भएको प्रचारमा सत्यता नभएको विभागले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको छ । विभागले तत्काललाई कुनै पनि प्रकारको दण्ड जरिवाना नगरिने र आफू अनुकूल सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वःस्फूर्त ढङ्गले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटाइजेसनको कार्यमा सहयोग गर्न अनुरोध गरेको छ । विभाग एवं प्रदेश कार्यालयबाट जडान सहजताका लागि उक्त स्थानमा पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको र सेवाग्राही तथा सवारीसाधनको सहजताका लागि आवश्यकताअनुसार थप प्रबन्ध गरिएको जानकारी दिएको छ । इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने भाषाका सम्बन्धमा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट सम्झौतामा उल्लेख भए बमोजिम अंग्रेजी लिपी प्रयोगमा कुनै संवैधानिक र कानुनी त्रुटी नदेखिएको भनी फैसला भएको स्पष्ट पारेको छ । 

सिरहा-उदयपुर जोड्ने अन्तरप्रदेशीय नयाँ मार्ग खुल्ने

काठमाडौं । सिरहाको गोलबजारदेखि उदयपुरको कटारी-६ स्थित रिस्कुसम्मको झण्डै २२ किलोमिटर लामो अन्तरप्रदेशीय नयाँ सडक मार्ग खोलिने भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, सप्तरीद्वारा निर्माण गरिने यो सडक पूर्व-पश्चिम राजमार्गलाई चुरे क्षेत्र पार गर्दै मदन भण्डारी लोकमार्गमा जोड्नेछ । आयोजनाअन्तर्गत चालु आर्थिक वर्ष २०८२/८३ मा प्रारम्भिक चरणका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सघन सहरी आयोजनाका इञ्जिनियर उदय नारायण चौधरीले भने, ‘सडक निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन र प्रारम्भिक वातावरणीय मूल्याङ्कन तयार गर्न पाँच सदस्यीय सहयोग समिति गठन भइसकेको छ । अब हामी चाँडै नै सडकको काम सुरु गर्छौँ । चालु आवमै करिब तीन किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छौँ ।’ नयाँ सडक मार्ग गोलबजारको पुरानो चोहर्वा बजारबाट सुरु भई घुर्मी बजार हुँदै चुरेफेदीका वस्तीहरू पार गर्दै उदयपुरको रिस्कुसम्म पुग्नेछ । निर्माण पूरा भएपछि मदन भण्डारी राजमार्गसम्मको पहुँच सहज हुनेछ । अहिले रिस्कुवासीलाई सिरहाको मर्चैया वा सप्तरीको कदमहा बजार हुँदै लामो र घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । यसले उनीहरूको समय, खर्च र ऊर्जा दुवै खर्चिन्थ्यो । नयाँ सडकले दुरी छोटो हुने र बजारसम्म पुग्न सहज हुने भएकाले विशेष गरी चाडपर्वको समय घरायसी सामान तथा लत्ताकपडा किनमेल गर्न गोलबजार जान झन्झट नहुने उनीहरू बताउँछन् । गोलबजार-१० निवासी क्षेत्रकुमार आले भन्छन्, ‘सडक कालोपत्रे भएपछि यातायात सहज हुनेछ, व्यापार–व्यवसाय फस्टाउने र सहरी पूर्वाधारमा गति आउने विश्वास छ ।’ गोलबजारका व्यापारी सञ्जय यादवले नयाँ सडकले पहाड र तराईबीच हुने ढुवानी सहज बनाउने बताए। यस सडकले उदयपुरको उत्पादनलाई गोलबजारको व्यापारिक केन्द्रसम्म ल्याउन र त्यहाँबाट तराईको उपज पहाड पठाउन सहज हुने भएकाले कृषि क्षेत्रको विकासमा टेवा पुग्ने उनको भनाइ छ । ‘पहाडमा हुने उत्पादन तराईमा र तराईमा हुने उत्पादन पहाडमा पठाउन सजिलो हुनेछ । ढुवानी लागत कम हुँदा व्यापारमा प्रतिस्पर्धा बढ्नेछ,’ उनले भने । आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि पूर्व कानुन मन्त्री तथा प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठ, मधेस प्रदेशसभा सदस्य मनोजकुमार सिंह, गोलबजार नगर प्रमुख श्यामकुमार श्रेष्ठ, सम्बन्धित वडाध्यक्षहरू तथा आयोजना इञ्जिनियर चौधरीको सहभागितामा अनुगमन र समन्वयको संरचना बनाइएको छ । पूर्वमन्त्री श्रेष्ठले समितिलाई एक महिनाभित्र सडकको ट्रेस (मार्ग) निर्धारण गरी प्रतिवेदन पेस गर्न निर्देशन दिए ।  ‘कामको जिम्मेवारी लिनेले निष्क्रिय बस्न मिल्दैन । समयमै काम सम्पन्न गर्नुपर्छ, नभए विगतझै बजेट फ्रिज भएर जान्छ । त्यसैले, सक्रियताका साथ लाग्न सबैलाई विशेष आग्रह गर्दछु,’ उनले भने ।  साथै उनले उदयपुरतर्फको कामका लागि जनप्रतिनिधिसँग समन्वय भइरहेको जानकारी दिए । सिरहा-उदयपुर जोड्ने यो अन्तरप्रदेशीय सडकमार्गले दुर्गम क्षेत्रलाई सहरी पूर्वाधारसँग जोड्नेछ । आवागमनमा सहजता ल्याउनुका साथै व्यापार, कृषि, पर्यटन र स्थानीय सेवा सुविधामा दीर्घकालीन प्रभाव पार्ने चोहर्वा बजार विकास समितिका अध्यक्ष नागेन्द्र कुमार महतोको भनाइ छ ।

आज देशभर साधारणतया बदली हुने, कोशी र गण्डकीमा भारी वर्षा

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने तथा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भागका केही स्थानका साथै  तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुने महाशाखाले प्रक्षेपण गरेको छ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

ऊर्जामन्त्री खड्कासँग दक्षिण कोरियाली राजदूतबीच शिष्टाचार भेट

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताई योङबीच शिष्टाचार भेट भएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा द्विपक्षीय सहकार्यका विविध विषयमा कुराकानी भएको मन्त्रीको सचिवालयले जनाएको छ ।  भेटमा आगामी सेप्टेम्बर १६ देखि १८ सम्म कोरियामा हुन लागेको ग्लोबल इन्फ्रास्ट्रक्चर कर्पोरेसन कन्फरेन्स (जिआइसिसी) २०२५ को तयारीसम्बन्धी विषयमा समेत छलफल भएको थियो । सो अवसरमा राजदूत योङले कन्फरेन्समा हालसम्म ३५ देशएका थिए । उक्त कन्फरेन्समा नेपालका ऊर्जा परियोजनाहरूलाई अन्तरराष्ट्रियजगत्मा प्रस्तुत गर्न यसलाई महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्न सकिने विश्वास व्यक्त गरे । भेटमा अपर त्रिशूली-१ जलविद्युत् आयोजना र प्रसारण लाइन आयोजनासहित नेपालमा कोरियाली सहयोगमा अघि बढिरहेका विभिन्न परियोजनाका बारेमा  समेत छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री खड्काले नेपालमा भइरहेको कोरियाली सहयोग र लगानीप्रति आभार व्यक्त गर्दै प्रसारण लाइन र अन्य ऊर्जा पूर्वाधार परियोजनामा भइरहेको सहकार्यलाई सकारात्मक मोडमा अघि बढाइरहन प्रतिबद्धता जनाए ।  उनले नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा अझ बढी कोरियाली लगानी आकर्षित हुने विश्वास व्यक्त गरे । 

तयारी नपुगेको भन्दै एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले यही भदौ १३ गतेका लागि तय गरिएको १०औं केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने भनिएको उक्त बैठक तयारी नपुगेको कारण स्थगित गरिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।  एमालेले बैठक दोस्रो विधान महाधिवेशनको तयारीका लागि बोलाएको थियो । गौतम भने, ‘विधान संशोधनमा आएका सुझावलाई समेटेर केन्द्रीय कमिटी बैठकमा प्रतिवेदन प्रस्तुत गर्ने तयारी थियो, तर सुझाव आउने क्रम जारी रहेकाले बैठक स्थगित गर्नु परेको हो । चाँडै नै नयाँ मिति तोकिने छ । ’ एमालेले विधान संशोधनसम्बन्धी प्रस्तावमा सुझाव दिन मातहतका कमिटीहरूलाई यही भदौ १० गतेसम्मको समयसीमा दिएको छ ।  एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही भदौ २० देखि २२ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ । महाधिवेशनमा २,१२८ जना प्रतिनिधि र २६४ जना आयोजकसहित कुल २,३९२ जनाको सहभागिता हुने बताइएको छ । 

गौतमबुद्ध र पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि अर्थ मन्त्रालयमा उच्चस्तरीय छलफल

काठमाडौं । गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका विषयमा अर्थ मन्त्रालयमा उच्चस्तरीय छलफल गरिएको छ ।  छलफलमा दुवै विमानस्थलमा दीगो रूपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न आवश्यक कार्ययोजना र रणनीतिबारे गहन बहस भएको मन्त्रालयले जनाएको छ ।  त्यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भार वहन क्षमताको व्यवस्थापन तथा गौतमबुद्ध र पोखरा विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्नका लागि थप सम्भावित उपायहरूको पहिचान गरी कार्यान्वयनमा लैजाने विषयमा पनि छलफल भएको हो ।  उक्त छलफलमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, विभिन्न मन्त्रालयका सचिवहरू र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायत सहभागी थिए ।