विकासन्युज

संविधान दिवसमा उद्योगीदेखि बैंकरसम्म सुप्रवल जनसेवा श्रीबाट विभूषित

  काठमाडौँ । सरकारले संविधान दिवस अवसरमा विभिन्न उद्योगी व्यवसायीलाई मानपदवी, अंकार र पदकद्धार विभूषित गरेको छ । सुप्रवल जनसेवा श्रीबाट नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभत्त श्रेष्ठ विभूषित भएका छन् । सुप्रवल जनसेवाबाट विभूषित हुनेमा गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छा, आइएमई ग्रुपका उपाध्यक्ष हेमराज ढकाल, व्यवसायी मीनबहादुर श्रेष्ठ र देविप्रकाश भट्टचन र राजेन्द्र मल्ल विभूषित भएका हुन् । चन्द्रागिरी हिल्स लिमिटेका महाप्रवन्धक अभिषेक बिक्रम शाह, प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, वाणिज्य बैँकका सीईओ किरणकुमार श्रेष्ठ पनि विभूषित भएका छन् ।

फर्निचर तथा फर्निसिङ एक्स्पो बिहीबारदेखि शुरु, वास्तुशास्त्र लगायत इण्टेरियर डिजाइन सम्बन्धी परामर्श दिने

काठमाडौं । असोज ४ गते बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जेम फ्लोरिगंको प्रस्तुतीमा आयोजना हुने फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स २०१८’ को तयारी पुरा भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा हुन लागेको एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले एक्स्पोको सबै तयारी पुरा भएको जनाएको हो । प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका सयभन्दा बढी कम्पनीहरु सहभागि हुने एक्स्पोमा ख्याति प्राप्त नेपाली तथा अन्तर्राष्ट्रिय ब्राण्डका फर्निचरहरुको प्रदर्शनी हुनेछ । उक्त अवसरमा नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लिेरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु विक्री वितरण समेत हुने छ । एक्सपोमा प्रदर्शनीको अतिरिक्त अवोलकनकर्ताहरुलाई लक्की ड्र मार्फत आर्कषक उपहार समेत वितरण गरिनेछ । त्यस्तै प्रदर्शनी स्थलमै वास्तुशास्त्रका साथै इण्टेरियर डिजाइन सम्बन्धी परामर्श समेत लिन पाइनेछ । रोबटिक प्रतिस्पर्धा पनि एक्सपोको अर्को आर्कषण हुने छ । विगत वर्षका एक्स्पोको तुलनामा यसपटक प्रदर्शक तथा वस्तु र सेवामा धेरै फरक रहने छ । फर्नेक्स २०१८को टाइटल स्पोन्सर जेम फ्लोरिगं रहेको छ । एक्स्पोको मुख्य प्रायोजक सिमल डेकोर, यती फ्लोरिगं, ग्लेनर डिलाइटरहेका छन् । एक्स्पोलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफकमर्श तथा नेपाल फर्निचर तथा फर्निसिगं व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने छन् । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ । मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष राजेश अग्रवालले बताए । उनले नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन उपभोक्तालाई आग्रह गर्दै नेपाल फर्निचर तथा फर्निसिङमा आत्मनिर्भर हुने बाटोमा रहेको जानकारी गराए । प्रदर्शनीमा फर्निचरको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने आयोजकको भनाई छ । यसका अलावा फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ । एक्स्पो व्यवस्थापन गरेको इभेण्ट सोलुसन प्रा.लि.का प्रबन्ध निर्देशक विजय सागर प्रधानले फरक शैलीमा आयोजना हुने एक्स्पोको सबै तयारी पुरा भएको बताए । फर्निचर क्षेत्रको प्रविधि अवलोकनकर्ताको मूख्य आकर्षण बन्न सक्ने उनको भनाई छ । एक्स्पो असोज ४ गतेदेखि ८ गतेसम्म चल्ने छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले विगतसन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको कम्पनीले जनाएको छ ।

पल्सरले तीन वर्षसम्म सहिद स्मारक ए डिभिजन लिगको टाइटल स्पोन्सर गर्ने

काठमाडौं । नेपालकै सबैभन्दा लोकप्रिय तथा विश्वासिलो मोटरबाइक ‘पल्सर’ ले फुटबल लिग सहिद स्मारक ए डिभिजन लिगको टाइटल स्पोन्सरको सम्झौता गरेको छ । उक्त सम्झौतामा एचएच बजाजका प्रवन्ध निर्देशक शेखर गोल्छा र अखिल नेपाल फुटवल संघबाट बजार व्यवस्थापनको जिम्मेवारी पाएको रामसार मिडियाका प्रबन्ध निर्देशक राज हुमागाईबीच हस्ताक्षर भएको हो । सम्झौता अनुसार पल्सर आगामी तीन वर्षसम्मका लागि सो लिगमा अनुबन्ध हुनेछ । एचएच बजाजका प्रबन्ध निर्देशक गोल्छाले भने, ‘हाम्रो यो सहकार्यको मुख्य उद्देश्य भनेको नेपाली युवा तथा नेपाली खेलकुद क्षेत्रलाइ अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने रहेको छ । यससँगै हामीले विभिन्न अर्वाड कार्यक्रम मार्फत सहभागीता जनाइरहेका छाैँ, जसमध्ये पल्सर स्पोर्टस् अर्वाड एक उत्कृष्ट अर्वाड अन्तर्गत पर्दछ ।”

‘४८ घण्टाभित्र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए टिकट बुकिङ खुला नगर्ने’

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले मङ्गलबार साँझ विज्ञप्ति जारी गरी चाडवाड शुरु हुनु अघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनु राम्रो नभएको भन्दै फिर्ता लिन माग गरेको हो । “चाडपर्वमा यात्रुलाई सहजरूपमा आवतजावत गर्न असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गरेका छौँ, ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नभए टिकट बुकिङ अग्रिमरूपमा खुला गर्न सक्दैनौँ”, विज्ञप्तिमा भनिएको छ । भदौ ३१ गते यातायात व्यवस्था विभागमा बसेको विभाग र महासङ्घबीचको बैठकले असोज ५ गते अग्रिम बुकिङ खुला गर्ने निर्णय गरेको थियो । रासस

कक्षा १२ को मौका परीक्षाको नतिजा आज, हेर्ने कसरी ?

काठमाडौं। कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षाको नतिजा आज बुधबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सम्बन्धि सबै काम पूरा गरी १० बजे बोर्ड बैठक बोलाएको थियो। बोर्डले गत १६ भदौंमा ग्रेड वृद्धि मौका परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा डि प्लस वा सोभन्दा मुनी कुनै एक विषयमा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीलाई परीक्षामा सहभागी गराइएको थियो । नोट: ग्रेडवृद्धि परीक्षामा सामेल हुने बिद्यार्थीले पहिलो भन्दा कम ग्रेड ल्याएमा पहिलेकै ग्रेड राखिन्छ । नतिजा कसरी हेर्ने ?  नतिजा प्रकाशित भैसकेपछी आफ्नो मोबाईल को म्यासेज बक्समा गइ NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा एसएम्यस पठाएर आफ्नो नतिजा हेर्न सकिन्छ। उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर १२३४५६७८ हो भने NEB १२३४५६७८ लेखेर ३१००३ मा पठाउन आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ। श्रोत- मेरो स्टडी

५ कट्ठा १८ धुर सार्वजनिक जग्गामा ७ तले होटल निर्माण गर्न खोज्ने सुभाषराज काफ्ले विवादमा

काठमाडौं । मेचीनगर नगरपालिका–१० को धुलाबारीमा सार्वजनिक हितका लागि छुट्याइएको पाँच कट्ठा १८ धुर जग्गामा निजी होटलको निर्माण थालिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीको मेचीनगर कमिटीले आपत्ति जनाएको छ । नेकपा झापा जिल्ला कमिटी सदस्य देवकुमार राईको नेतृत्वमा मङ्गलबार पार्टीको प्रतिनिधिमण्डलले नगरपालिकासमक्ष ज्ञापनपत्र बुझाउँदै सो जग्गामा होटलको निर्माण तत्काल रोक्न माग गरेको हो । एक दशक अघिसम्म नेपाल चिया विकास निगमको प्रधान कार्यालय रहेको चार हजार १५७ वर्ग मिटर क्षेत्रफल भएको सो जग्गा निगमले ऋण बुझाउन नसकेपछि कृषि विकास बैंकले काठमाडौँका सुभाषराज काफ्लेलाई गत वर्ष बिक्री गरेको थियो । काफ्लेले किनेपछि सो जग्गालाई प्लटिङ गरी घडेरी बिक्री गर्ने योजनाअनुसार मेचीनगर नगरपालिकाबाट कित्ताकाटको सिफारिश लिँदा सार्वजनिक प्रयोजनका लागि पाँच कट्ठा १८ धुर जग्गा खाली छाड्ने सहमति भएको थियो तर जग्गाधनी काफ्लेले हालै सो खाली छाडिएको जग्गामा सात तले होटल निर्माण गर्ने भनी मेचीनगर नगरपालिकाबाटै निर्माणको अर्को सिफारिश लिएपछि सार्वजनिक जग्गामा मास्ने षड्यन्त्रविरुद्ध उत्रिनुपरेको नेकपा मेचीनगरका नेता माधव अर्याले बताए । सार्वजनिक प्रयोजनका लागि भनी एकपटक कित्ताकाट भई नक्शासमेत बनिसकेको जग्गामा शुरु गरिएको होटल निर्माण रोक्न नगरपालिकाले अविलम्ब पहल गर्नुपर्ने ज्ञापनपत्रमा जोडदार माग गरिएको छ । पार्टीले बुझाएको ज्ञापनपत्र उपप्रमुख मीना उप्रेतीले ग्रहण गर्दै यस विषयमा नगरका प्रमुख विमल आचार्यले नै जवाफ दिनुपर्ने प्रतिक्रिया दिए । नगरपालिकाले सार्वजनिक हितका लागि छुट्याइएको जग्गामा किन होटल निर्माणका लागि सिफारिश ग¥यो भनी प्रश्न गर्दा नगर प्रमुख विमल आचार्यले नगरपालिकाले होटल निर्माणका लागि स्वीकृति नदिएको बताए । रासस

बुटवल उपमहानगरपालिकाको १५ वर्षे दीर्घकालीन विकास गुरुयोजना सार्वजनिक

काठमाडौ। बुटवल उपमहानगरपालिकाले आफ्नो १५ वर्षे दीर्घकालीन विकास गुरुयोजना सार्वजनिक गरेको छ । त्यसमा पाँच वर्षे आवधिक योजना समेटिएको छ। उपमहानगरपालिकामा एक वर्षअघि जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो वर्षलाई अध्ययन वर्षका रूपमा लिँदै अब समृद्धिको आधार वर्षका रूपमा दीर्घकालीन योजनासहित महत्वपूर्ण काम अगाडि बढाएको हो । उपमहानगरपालिकामा मङ्गलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा गुरुयोजना निर्माणको निम्ति विज्ञसमूह, विषयगत विज्ञ उपसमूह, निर्देशक समिति र सल्लाहकार समिति गठन गरेर वडावासी तथा विभिन्न सरोकारवाला निकायसँग सुझाव सङ्कलन गरिएको नगरप्रमुख शिवराज सुवेदीले जानकारी दिए। उनले विभिन्न विषयगत समितिमा छलफल गर्ने काम सम्पन्न गर्दै तेस्रो नगरसभाबाट उपमहानगरपालिकाको एकीकृत विकास गुरुयोजना पारित गरिएको जानकारी दिए। साथै नगर पाश्र्वचित्र निर्माण गर्ने कामसमेत सम्पन्न भएको बताए। तत्कालीन अङ्ग्रेज सेनालाई पराजित गरेको जितगढी किल्लामा कर्णेल उजिरसिंहको पूर्णकदको शालिक बनाइने भएको छ । सो किल्लामा विशाल राष्ट्रिय झण्डा फहराउने गरी ढाँचा तयार भइरहेको प्रमुख सुवेदीले बताए। विभिन्न विज्ञसँगको अन्तरक्रिया र छलफलमार्फत ऐतिहासिक धरोहरकारुपमा रहेको सो किल्लाको संरक्षण गर्न कार्यपालिकाको बैठकबाट वैशाख ७ गतेलाई जितगढी विजयोत्सवका रूपमा मनाउने निर्णय भएको जनाइएको छ । बुटवल उपमहानगर वडा नं १ र २ लाई पुरातात्विक बस्तीका रूपमा विकास गर्ने र बुटवल १ मा अवस्थित पुरानो नगरपालिका भवन भएको स्थानमा बटौली सङ्ग्राहलय निर्माण गरिने भएको छ । सो कामका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने काम अगाडि बढाइएको छ । हिल पार्कमा विशाल बुद्ध मूर्ति साथै बुद्धिष्ट पार्क निर्माण गर्न सर्भे तथा जग्गा यकिन गर्ने काम सम्पन्न गर्दै डिपीआर तयार पार्ने काम भइरहेको नगरप्रमुख सुवेदीले बताए। सो बुद्धमूर्ति लुम्बिनीको मायादेवी मन्दिर परिसरबाटसमेत देख्न सकिने बताइएको छ । यस्तै शिवनगर सामुदायिक वनमा ‘रामपिथेकस जियोलोजिकल पार्क’ बनाउन सर्भे तथा जग्गा यकिन गर्ने काम भइरहेको छ । मिलन पार्कको विकास गर्न गुरुयोजना निर्माण गर्दै पूर्वाधार निर्माणको काम शुरु भएको छ । पशुपतिनाथको महिमासँग जोडिएको सेमलारको नरैनापुर धाम र त्यसक्षेत्रको ताललाई जोडेर विशेष पर्यटकीय क्षेत्र बनाइने छ । पार्क संरक्षण गर्न पर्खाल निर्माण गर्ने काम भएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए। अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्र्न अव्यवस्थित बसोवास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षण कार्यदल गठन गर्दै करीब १६ हजार घरघुरीको लगत सङ्कलन गरी अमिनमार्फत नापी गर्ने प्रक्रिया अगाडि बढाइएको नगर प्रमुख सुवेदीले जानकारी दिए। रासस

पोखरा–बागलुङ सडक असोज २० गतेसम्म दैनिक सात घण्टा बन्द

काठमाडौं। मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड फराकिलो बनाउने र सुधार गर्ने क्रममा दैनिक सात घण्टा बन्द गर्न थालिएको छ । गत असारदेखि निर्माण कार्य थालेको मध्यपहाडी लोकमार्ग आयोजनाले असोज २० गतेसम्म दैनिक सात घण्टा पर्वत खण्ड बन्द गर्न थालेपछि यात्रुलाई समस्या परेको छ । सडक विस्तारका लागि पर्वतको सिमाना अँधेरीखोलादेखि खहरेगेटसम्म असोज १ गतेदेखि दैनिक सात घण्टा बन्द गर्न थालिएको हो । लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवादेखि बेतनीबीचको माहुरी भीर र दोबिल्लादेखि चुवासम्मको चुवा भीरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम भइरहेको छ । सडकमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म दुई घण्टा, दिउँसो १ बजेदेखि ४ बजेसम्म ३ घण्टा र साँझ ६ बजेदेखि राति ८ बजेसम्म दुई घण्टा सडक बन्द भइरहेको निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीले जानकारी दिएको छ । असोज २० देखि दशैँ शुरु हुने र मुक्तिनाथ पुग्ने पर्यटकको चाप बढ्ने भएकाले सडक बन्द नगरिने निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले बताए। सडक खुला हुँदा सबै प्रकारका सवारी साधन आवतजावत गर्न कुनै समस्या नहुने गरी व्यवस्थापन भइरहेको उनले बताए। असोज ५ देखि हुने नेपाल जेसिजको क्षेत्र ‘ख’ सम्मेलनका बेला सडक किनारमा राखिएको निर्माण सामग्रीलाईसमेत हटाएर सडक फराकिलो बनाउने काम भएको म्यानेजर भुसालले बताए। आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुङ्गासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरोन्नतिको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कम्पनीले रु ८३ करोड ९८ लाखमा पर्वत खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको छ । अहिलेसम्म १५ प्रतिशत काम सकिएको छ । अहिले सबै ठाउँबाट काम शुरु गरिएको र दशैँ तिहारपछि कामलाई अझै तीव्र बनाउने बताइएको छ । मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा–बागलुङ खण्डलाई नयाँ स्वरुपको बनाउन मर्मतसम्भार तीव्र पारिरहेको छ । लोकमार्ग पुरै नयाँ स्वरुपमा विस्तार र स्तरोन्नति गर्ने काम भइरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारीअनुसार तीन वर्षभित्र पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ । विसं २०५० मा निर्माण सम्पन्न भएको सडकका धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको अवस्थामा स्तरोन्नति गर्न थालिएको हो । सवारी साधनको चाप बढेकाले साँघुरो सडकमा ठाउँठाउँमा जामसमेत हुने गरेको थियो भने साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी सञ्चालनमासमेत जोखिम बढेको थियो। रासस