विकासन्युज

बुढानिलकण्ठमा नेपाल इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर, सर्लाही शाखा स्थानान्तरण

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १३ स्थित चुनिखेलमा आफ्नो आठौ एक्स्टेन्सन काउन्टर खोलेको छ । उक्त काउन्टरको उद्घाटन बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल र वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । बुढानिलकण्ठस्थित १३ नम्बर वडा कार्यलयमा खोलिएको काउन्टरले चुनिखेल क्षेत्रको वडा सम्बन्धी सम्पूर्ण आर्थिक कारोबार गर्न सहयोग गर्नेछ । साथै, काउन्टरले सात हजारको संख्यामा रहेका स्थानीय जनतालाई वित्तिय साक्षरता प्रदान गरी बैंकिङ कारोबारका लागि प्रोत्साहन गर्नेछ । त्यस्तै, सर्लाहीको बरहथवास्थित गुदारी बजारमा रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको शाखालाई स्थानीय माग अनुसार इलाका प्रहरी कार्यालय अगाडि स्थानान्तरण गरिएको छ । ८० हजारको हाराहारीमा रहेका स्थानीयलाई छिटो, छरितो र उत्कृष्ट वित्तिय सेवा दिन बैंक प्रयासरत रहनेछ । सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार बैंकले सेवा विस्तारको अभियानलाई निरन्तरता दिइरहेको बैंकले जनाएको छ ।

दुई कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

काठमाडौं । मंगलबारको सेयर बजार सामान्य अंकले उकालो लागेको छ । सोमबार केही अंकले घटेर थामिएको बजार मंगलबार भने २.४१ अंकले बढेर १२५८.८१ अंकमा पुगेको छ । बजार समान्य अंकले बढेपनि दुई कम्पनीको सेयर मूल्य भने ९ प्रतिशत बढीले बढेको छ । सबैभन्दा बढी अरुण काबेली पावरका लगानीकर्ताले ९.८४ प्रतिशत कमाएका छन् । संस्थाको सेयर मूल्य प्रतिकित्ता २६६ रुपैयाँ रहेको छ । त्यस्तै, अघिल्लो दिनको तुलनामा भार्गव विकास बैंकको सेयर मूल्य ९.२७ प्रतिशतले बढेर प्रतिकित्ता १६५ रुपैयाँ पुगेको छ । दिनभरको बजारमा कुल १६९ कम्पनीको सेयर कारोबार भएको छ । सो दिन १५ लाख ४४ हजार कित्ता सेयर ४५ करोड ८६ लाख रुपैयाँमा किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनीको ३ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७३ रुपैयाँ रहेको छ । त्यस्तै, बजारमा होटल, बैंकिङ र फाइनान्स समूह ओरालो लागेका छन् भने अन्य बाँकी समूह उकालो लागेका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक ७३ अंकले बढेको छ ।

गुहेश्वरी मर्चेण्टले ४ करोड २१ लाख रुपैयाँ नगद लाभांश दिने, सेयर मूल्यमा गिरावट

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले सेयरधनीलाई ४ करोड २१ लाख ५ हजार ६०० रुपैयाँ नगद लाभांश दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट कर सहित सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव असोज १ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । नगद लाभांशको घोषणा गरेसँगै मंगलबार संस्थाको सेयर मूल्यमा गिरावट आएको छ । संस्थाले बाेनस सेयर नदिने भएपछि लगानीकर्ताहरुमा निरासा छाएकाे सेयर मूल्यबाटै बुझ्न सकिन्छ ।

१० हजार मेगावाट बिजुली उत्पादन गर्न स्थानीयकाे सेयर लगानीबाटै ४४ अर्ब जुट्ने

काठमाडौं । नेपालमा जलविद्युत आयोजना बनाउन स्थानीय बासिन्दालाइ सेयर जारीबाट मात्रै ४४ अर्ब रुपैयाँ लगानी जुट्ने देखिएको छ । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम ( आईएफसी) ले गरेको एक अध्ययनले १० वर्षमा १० हजार मेगावाट आयोजना बनाउन स्थानीयबाट मात्रै ४४ करोड अमेरिकी डलर लगानी जुटाउन सकिने देखाएको हो । आईएफसीले तयार पारेको नेपालको विशिष्ट लाभ बाँडफाँड अभ्यासको पहिलो गहन विश्लेषणले ‘स्थानीय सेयर’ किनेर जलविद्युत आयोजनाहरूमा लगानीको अवसर प्रदान गर्दा सो रकम बराबरको लगानी जुट्ने देखाएको हो । तीन वर्षमा १३ वटा सानादेखि तथा मझौला जलविद्युत कम्पनीहरूले स्थानीय सेयरमार्फत १ अर्ब रुपैयाँ भन्दा बढी पूँजी संकलन गरेका छन् । नेपालले आयोजनाबाट प्रभावित समुदायका लागि जलविद्युत विकासकर्ताले आफ्नो कुल पूँजीको १० प्रतिशतसम्म सेयर प्रदान गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । यस्तो व्यवस्थाले स्थानीय जनताको स्वामित्व बढेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले सेयर लगानीमा हुन सक्ने जोखिम न्यून गर्न र लगानीकर्ताहरूका लागि अवसर वृद्धि गर्नका लागि बढीभन्दा बढी सामूदायिक शिक्षाका साथै नियमनमा सुधारको आवश्यकता भएको औल्याएको छ । पछिल्लो समयमा स्थानीयबासिन्दाले जलविद्युतमा लगानी बढाएको उल्लेख गर्दै आईएफसीले सेयर बजारको संयन्त्रले कसरी काम गर्छ भन्ने विषयमा व्यापक रूपमा आम मानिसमा बुझाइ कमी रहेको र लगानीकर्ताका जोखिम कम गर्न प्रभावकारी सुरक्षा उपायहरूको अभाव रहेको निष्कर्ष समेत निकालेको छ । थुप्रै गरिब र ग्रामीण घरपरिवारले स्थानीय सेयरमा लगानीका लागि चर्को ब्याजदरमा ऋण लिने र आफ्ना आधारभूत सम्पत्तिहरू बेच्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्ययनले उनीहरूमा सेयरमा लगानीबाट अवास्तविक प्रतिफल प्राप्त हुने अपेक्षा रहने गरेको र उनीहरू नोक्सानीको जोखिमका विषयमा समेत अनभिज्ञ रहने गरेको पाएको छ । २०७१ साल यता सेयर बजारमा लगातार मूल्य घट्दै गए पनि स्थानीय सेयरको माग निरन्तर किन बढ्दै गइरहेको छ भन्ने प्रष्ट पारेको आईएफसीको भनाई छ । अध्ययनले दिएका सुझावहरूमा वित्तीय जानकारी आम नागरीकले पनि सहजै बुझ्न सकिने गरि सरलीकरण गर्नुपर्ने, आयोजनाको बोलपत्रसम्बन्धी कागजपत्रमा स्थानीय सेयर आवश्यकताका विषय परिभाषित गर्नुपर्ने, आर्थिक तथा सामाजिक समुदायले स्थानीय सेयर किन्नका लागि कम–जोखिमयुक्त संयन्त्रहरू तयार पार्नुपर्ने, सेयर बाँडफाँड प्रक्रियालाई कम्प्युटरकृत गरिनु पर्ने तथा सबै आयोजनाहरूलाई आफ्ना सूचना अनलाइनमा अनिवार्य रूपमा राख्न लगाइ पारदर्शिता र जवाफदेहिता बढाउनु पर्ने लगायत रहेका छन् । “नेपालको स्थानीय सेयरको मोडल विशिष्ट छ । यसले जलविद्युतमा निजी क्षेत्रको लगानीमा स्थानीय समुदायको महत्वलाई बोध गरेको छ” आईएफसीका लागि नेपाल, बंगलादेश, भुटानका देशीय निर्देशक वेन्डी वेरनरले भने “आईएफसीको लक्ष्य दिगो जलविद्युत विकासमा निजी क्षेत्रको योगदान सुनिश्चित तुल्याउनु हो र हरेक नागरिकको पहुँचभित्र हुने यो लगानीको अवसरले सम्भावित प्रतिफल र आयोजनाको जोखिमलाई सन्तुलित तुल्याउँनेछ ।”

परिवार नियोजनको लागि श्रीमान/श्रीमतीबिच मिलेमतो हुनु जरुरी

काठमाडौं। महिला तथा पुरुषको ईच्छा अनुसार कहिले, कति फरकमा, कति वटा बच्चा जन्माउने वा नजन्माउने भनी गरिने योजना नै परिवार नियोजन हो। यसका लागि महिला तथा पुरुषले परिवार नियोजनको बिभिन्न स्थायी तथा अस्थायी साधनहरु प्रयोग गर्न सक्छन्। परिवार नियोजनको लागि बिर्सिन नहुने कुराहरु – श्रीमान र श्रीमती बिच मिलेमतो हुनु पर्दछ। – आफ्नो परिवारको कती बच्चा जन्माउने भन्नेमा निर्णय गरिनु पर्दछ। – बच्चा कहिले जन्माउने भनेर सल्लाह गर्नु पर्दछ। – पहिलो र दोस्रो बच्चा बिच केही बर्ष जन्मा अन्तर राख्न्नेमा उचित निर्णय लिनुपर्दछ – परिवार नियोजनको स्थायी अस्थायी साधनहरु अपनाउने बारेमा सही निर्णय लिनुपर्दछ। परिवार नियोजन गरेपछी हुने फाईदाहरु – नचाहेको गर्व नबस्ने भएकोले समस्या आउँदैन। – श्रीमान/श्रीमती दुवै मिलेर आफ्नो जिन्दगीलाई सुखी बनाउन सक्दछन्न। – आमा स्वस्थ भएपछी जन्मने बच्चा पनि स्वस्थ हुन्छ। – बच्चा जन्मिएपछी आमाले आफ्नो स्वास्थ्यको स्याहार गर्ने मौका पाउने हुनाले शरीर स्वस्थ बनाउन पाउँछन्। – बाबुआमाले आफ्नो बच्चालाई चहिने जस्तै: खानेकुरा, लत्ताकपडा, शिक्षा-दिक्षा, राम्रो भबिस्य आदिको बारेमा ध्यान पुर्याउन पाउँछन्। – बच्चाले आफुलाई चाहिने समय निकल्न सक्दछन्। परिवार नियोजणका विधीहरु र त्यसबाट पुग्ने फाईदाहरु भिन्नाभिन्नै परिवारको भिन्नाभिन्नै आवश्यकता हुन्छ। हरेक परिवार नियोजनका बिभिन्न स्थायी अस्थायी साधनहरुमध्ये बाट आफ्नो लागि उपयुक्त एवं शाही एक साधन रोज्न सक्छन्। १. बन्ध्याकरण – स्ठायी तरिका २. तीन महिने सुई – ३ महिनासम्म प्रभावकारी ३. आई.यु.सि.डी – १२ बर्षसम्म प्रभावकारी – गर्भको चाहणा भएमा तुरुन्त झिक्न सकिने ४. ईम्प्लान्ट – ५ बर्ष प्रभावकारी ५. खाने गर्भणिरोढ चक्की(पिल्स) – दिनहुँ खाए प्रभावकारी हुने ६. कन्डम – प्रयोग गर्न सजिलो – सही तरिकाले प्रयोग गरे प्रभावकारी – एचआईभी र यौनसम्पर्कबाट हुने संक्रमण विरुद्द सुरक्षित राख्छ   श्रोत – ओके परिवार स्वास्थ्य सेवा

पूर्व-पश्चिम रेलमार्ग, निजगढ एयरपोर्ट र ६ वटा सुरुङमार्गमा लगानी जुट्योः अर्थमन्त्री

काठमाडौं । पूर्व पश्चिम रेलमार्ग, निजगढ विमानस्थल र ६ वटा सुरुङमार्गका बनाउन लगानी जुटेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालयमा आयोजीत नियमित पत्रकार भेटघाटका क्रममा ती मेगा प्रोजेक्टहरुका लागि लगानीको श्रोत जुटाईसकेको घोषणा गरेका हुन् । ‘पूर्व पश्चिम राजमार्गको कुन कुन ठाउँमा कसले लगानी गर्ने भए, पूर्वपश्चिम रेलमार्गको कुन कुन ठाउँमा कसले लगानी गर्ने भए, ठूला विद्युत आयोजनामा कसले कहाँ लगानी गर्ने भए, हवाई एयरपोर्टको काम कहाँ पुग्यो ? ६ वटा सुरुङमार्गका कुरा पनि छन्, एक महिना कुर्नुस अर्काे पत्रकार सम्मेलनका लागि थाँती राख्छु, परिपक्क नभएसम्म भन्दिन, यी सबैमा दातृ निकायहरुसँगको सहमति माथिल्लो चरणमा पुगिसकेको छ ।’, अर्थमन्त्री डा. खतिवडाले भने । ९४५ किलोमिटर लामो पुर्व पश्चिम रेलमार्गमा चीन, भारत, दक्षिण कोरिया र जापान सरकारका सहयोग नियोगहरु मार्फत ०.१ प्रतिशत सहुलियत ऋण लिनेबारे अर्थमन्त्रालयले सहमति गर्न लागेको श्रोतले बतायो । त्यस्तो ऋण ४० बर्षभित्रै तिरिसक्नुपर्ने व्यवस्था गर्न लागिएको रेल विभाग सम्वद्ध श्रोतले भन्यो । त्यस्तै, २५ सय हेक्टर क्षेत्रफलमा निर्माण हुने निजगढ विमानस्थलको पहिलो चरणका लागि १२१ अर्ब बजेट लाग्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ । ८ हजार ४५ हेक्टर जमिन ओगट्ने विमानस्थलको निर्माणका लागि भने ७ खर्ब लाग्ने भनिएको छ । सरकारले चालु आर्थिक बर्षको बजेट मार्फत नौबिसे–नागढुंगा सुरुङ मार्गको निर्माण आरम्भ गर्ने भनेको थियो । त्यसका लागि टेण्डर समेत आव्हान गरिसकिएको छ । त्यस बाहेक टोखा–छहरे–गुर्जुभञ्ज्याङ, सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड, कोटेश्वर–जडिबुटी, खुर्काेट–चियाबारी, विपिनगर–खुटिया–दिपायल र थानकोट–चित्लाङमा सुरुङमार्ग निर्माण निर्माण गर्ने भनेको थियो । उनले नयाँ सरकार गठन भएपछि ५१ अर्ब थप वैदेशिक सहयोग प्रतिवद्धता आएको जानकारी पनि दिए । त्यस बाहेक शान्ति कोषमा रहेको युरोपियन युनियनको एक अर्ब र जर्मन सरकारको १६ करोड खर्च गर्ने अख्तियार पाएको जानकारी दिए । त्यस्तै एसियाली पुर्वाधार विकास बैंकले तामाकोशी ५ आयोजनामा लगानी गर्ने सहमति व्यक्त गरेको पनि बताए । हाल आफु लगानीको श्रोत जुटाउन लागि परेको स्पष्ट पारेका थिए ।

अवैधरुपमा नदी दोहन गर्नेबाट ३८ लाख असुल

काठमाडौं। सिन्धुपाल्चोकका विभिन्न नदीमा अवैधरुपमा गिट्टी, बालुवा निकाल्नेबाट जरिवानास्वरुप दुई महिनामा रु ३८ लाख ५२ हजार ५० असुल गरिएको छ । असारदेखि भदौ महिनासम्म नदीबाट गिट्टी बालुवा निकाल्न नपाइने नियम छ । तर पनि लुकिछिपी अवैध काम गर्नेलाई प्रहरीको सहायतामा पक्राउ गरी कारवाहीको दायरामा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म ३६ टिपर, १८ मिनिट्रक, १३ स्काभेटर, दुई डोजर, १२ ट्याक्टर, एक जेसिभी नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइएको छ । त्यसैगरी एक ट्याक्टर, दुई स्काभेटर र दुई मिनि टिपर कारवाहीको क्रममा रहेको पनि प्रहरीले जानकारी दिएको छ । प्रहरी नै तस्करसँग मिलेको आरोप लाग्न थालेपछि केही प्रहरीमाथि विभागीय अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो । उहाँले आरोप पुष्टि भए कडा कारवाही गरिने साथै तस्करलाई सजिलै उन्मुक्ति नदिने पनि बताए। जिल्ला समन्वय समितिको खातामा जरिवानस्वरुप उठाएको रकम जम्मा भए पनि खाता भने बन्द छ । प्रदेश सरकारले खाता सञ्चालनको लागि नयाँ कार्य विधि नबनाएकाले सो रकम सञ्चालन गर्न नसकिएको जिल्ला समन्वय समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिए। बर्खाका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने नियम भए पनि जिल्लाका सानाठूला सबैजसो नदीमा तस्करले गिट्टी, बालुवा निकाल्ने गरेका छन् । उनीहरुले नदीको धार नै परिवर्तन हुने गरी जथाभावी नदीजन्य पदार्थ निकाल्ने गरेका छन् । यसले नदी आसपासका बस्ती, विद्यालय, पुलसमेत जोखिममा परेका छन्। रासस

महोत्तरीमा विधार्थी गुन्द्री बोकेर विद्यालय जान वाध्य

काठमाडौं। महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा पठनपाठन खुलाचौरमा गरिँदै आएको छ । कक्षा कोठा अभावमा विद्यार्थी खुलाचौरमा पढ्न बाध्य छन् । कक्षा आठसम्म अध्ययन/अध्यापन हुँदै आएको उक्त विद्यालयका बालबालिका विद्यालय परिसरभित्र आँपका रुखमुनि स्लेट (पाटी) र कापी लिएर पढ्दै गरेका देखिन्छन् । बढी रेखदेख गर्नुपर्ने शिशुदेखि तीन कक्षासम्मका बालबालिकालाई खुलाचौरमा रुख मुनि राखेर पढाउने गरिएको छ । उनीहरुले आफ्ना लागि भुइँमा ओछ्याउन बोरा, गुन्द्री र पिरा घरबाटै ल्याउने गरेका छन् । विसं २०३९ मा प्राथमिक विद्यालयका रूपमा स्थापित सो विद्यालयमा २०६९ सालदेखि कक्षा आठसम्मको पठनपाठन हुँदै आएको छ । विद्यालयमा हाल ४९३ विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक वंशीधरप्रसाद साहले जानकारी दिए। “कक्षा कोठा अभावमा तीन कक्षासम्मका झण्डै २०० विद्यार्थीलाई खुलाचौरमा राखेर पढाउँदै आएका छौँ,” उनले भने। हाल उपलब्ध भवनमा कार्यालय सञ्चालन र कक्षा चारदेखि आठसम्मका विद्यार्थी मात्रै राख्न सकिने अवस्था छ । विद्यालयलाई जिल्ला शिक्षा समन्वय इकाइले दुईकोठे पक्की भवन निर्माणका लागि रु १६ लाख उपलब्ध गराएको छ । नगरपालिकाको शिक्षा शाखा, विद्यालय प्रशासन र स्थानीय जनप्रतिनिधिले तदारुकता नदेखाउँदा भवन निर्माण हुन सकेको छैन । शिशुकक्षाका बालबालिकाले शैक्षिक सामग्रीसमेत पाउन सकेका छैनन् । प्रधानाध्यापक साह शैक्षिक सामग्री खरिदका लागि रु १८ हजार प्राप्त भएको बताउँछन्। “भवन नभएका कारण सामग्री खरिद गर्न सकेका छैनौँ,” उनले भने। “सामग्री राख्न सुरक्षित कोठा चाहिन्छ ।” करीब ५०० विद्यार्थीलाई आठ शिक्षकले पढाउँदै आएका छन् । विद्यालयसँग १७ कट्ठा जग्गा छ । जग्गाधनी पूर्जा भने विद्यालयलाई हालसम्म प्राप्त नभएको प्रधानाध्यापक साहले बताए।