विकासन्युज

अन्नपूर्ण क्षेत्रमा पर्यटककाे संख्या बढेपछि होटलको क्षमता विस्तार हुँदै

पोखरा । अन्नपूर्ण आधार शिविर घुम्न जाने पर्यटकलाई पर्याप्त सेवासुविधा उपलब्ध गराउन व्यवसायीहरुले होटलको क्षमता तथा सङ्ख्या विस्तार गर्न थालेका छन् । शिविर जाने पर्यटकलाई सेवा दिइरहेका यहाँका २६ होटलले पर्यटकको चाप थेग्न नसकेपछि क्षमता तथा सङ्ख्या विस्तार गर्न लागिएको हो । अन्नपूर्ण क्षेत्रमा वर्षेनी बढीरहेको पर्यटकको सङ्ख्यालाई दृष्टिगत गरी अन्नपूर्ण गाउँपालिकाले त्यसको तयारी थालेको हो । लगभग ४० वर्षअघिसम्म अन्नपूर्ण आधार शिविर जाने पर्यटक त्यहाँका भेडीगोठ र चित्रा/भकारीले बारेका झुपडीमा बस्ने गरेका थिए । विसं २०४३ मा स्थापित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को विशेष पहलमा २०४९ सालपछि उक्त क्षेत्रमा होटल सञ्चालनमा आएका हुन् । एक्यापले निर्धारण गरेको मापदण्डअनुसार पदयात्रा मार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छे आधार शिविर र अन्नपूर्ण आधार शिविरसम्म २६ होटल सञ्चालन गरिएको थियो । मापदण्डअनुसार प्रत्येक होटलमा ६ कोठाका दरले हालसम्म १५६ कोठामा पर्यटकलाई बस्ने व्यवस्था मिलाइएको छ । वर्षेनी बढिरहेको पर्यटकको चापका कारण होटलको सङ्ख्या थप गर्ने विषय केही वर्षअघिदेखि उठे पनि त्यो कार्यान्वयनमा आउन सकेको थिएन । होटलबाट यसअघि एक्यापले नै राजश्व उठाउँदै आएकामा चालू आर्थिक वर्षदेखि अन्नपूर्ण गाउँपालिकाले राजश्व उठाउन थालेको छ । कार्यविधिका आधारमा यहाँको पर्यावरणीय संरक्षण समेतलाई ख्याल गर्दै होटेलको क्षमता एवं सङ्ख्या विस्तारका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको गाउँपालिकाका प्रमुख युवराज कुँवरले बताए। नजरमान गुरुङको संयोजकत्वमा गठित कार्यदलले अध्ययन थालिसकेको जानकारी दिँदै उनले कार्यदलको प्रतिवेदनअनुसार होटेलको क्षमता एवं सङ्ख्या वृद्धि गरिने बताए। कार्यदलका सदस्य ललित गुरुङका अनुसार गत वर्षमात्रै अन्नपूर्ण आधार शिविरसम्म ३२ हजार विदेशी पर्यटक पुगेका थिए । “अन्नपूर्ण क्षेत्रमा होटल सञ्चालन शुरु गर्दा तत्कालीन समयमा ५ हजारको सङ्ख्यामा विदेशी पदयात्री आएको तथ्याङ्क छ”, गुरुङले भने, “हाल त्यसको ६ गुणाभन्दा बढी विदेशी पर्यटक यस क्षेत्रमा आएका छन्, पछिल्लो समयमा यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।” पथप्रदर्शक एवं सहयोगी र आन्तरिक पर्यटक समेतलाई हेर्दा अघिल्लो वर्ष झण्डै ८० हजार पर्यटकले अन्नपूर्ण आधार क्षेत्रको भ्रमण गरेका थिए । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो । ८ हजार ९१ मिटर उचाइ रहेको अन्नपूर्ण प्रथम हिमाल आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । अन्नपूर्ण हिमालको आरोहण गरिएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनिएको हो । घान्द्रुकबाट पदयात्रा गर्दै आधार शिविरसम्म पुग्न बाह्य पर्यटकले सामान्यतः चार दिनको समय छुट्याउने गरेका छन् भने आन्तरिक पर्यटक तीन दिनमै पुग्छन् । अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार विगतमा पदयात्रामा आउने बाह्य पर्यटकले स्थानीयवासीले पकाएको दालभात, ढिँडोजस्ता लेकाली खाना खानुपर्ने बाध्यता रहेकामा पछिल्ला वर्षमा यहाँका होटलले विदेशी परिकार पनि तयार गर्न थालेका छन् । विसं २०४३ मा एक्याप स्थापना भएयता स्थानीयवासीलाई विभिन्न समयमा तालीम दिइएको छ भने होटलले विदेशी परिकार बनाउन सक्ने तालीम प्राप्त कर्मचारी राख्न थालेका छन् । होटलको क्षमता एवं सङ्ख्या विस्तारका साथै प्रकृतिको अनुपम बरदानयुक्त पदमार्ग क्षेत्रका देउरालीको पूर्वतर्फको पहाडमा रहेको बुद्धाकृति, दोभान र हिमालको बीचमा अवस्थित अति प्राचीन पूजनीयम् बराह र सो मन्दिर परिसरबाट देखिने १०८ धारा, झिनुडाँडास्थित तातोपानीको कुण्डजस्ता स्थललाई थप व्यवस्थित गर्दै त्यसको प्रचारप्रसार गर्नु अपरिहार्य भएको स्थानीयवासी बताउँछन् । रासस

सिद्धार्थ क्यापिटलको साधारणसभा असोज २५ मा, ३० प्रतिशत लाभांश दिने

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको ७ औं वार्षिका साधारणसभा असोज २५ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ । गत आर्थिक आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ६ करोड रुपैयाँ नगद लाभांश बाँड्ने भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने छ ।

अमेरिका चीन प्रति झनै आक्रमक, २ खर्ब डलर बराबरको चिनियाँ वस्तुमा कर लगाउने डोनाल्ड ट्रम्पको घोषणा

बीबीसी । अमेरिकाले चीनसँगको व्यापार युद्धलाई झनै चर्काउने संकेत दिँदै २ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर लगाउने घोषणा गरेको छ।अहिले सम्मकै सबैभन्दा धेरै भनिएको अमेरिकी कर करिब ५ हजार सामानमा लागु हुने बताइएको छ। यसअघि चीनले अमेरिकी करको बदला लिने चेतावनी दिँदै आएको थियो। चीनमा उत्पादित हाते झोला, कपडा लगायतका सामानमा अमेरिकाले कर लगाउने घोषणा गरेको छ। तर स्मार्ट वाच र अग्ला कुर्सी जस्ता समानमा कर लगाइएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको नयाँ कर नीतिको चीनले प्रतिकार गरे त्यसलाई अझ बढाएर २० प्रतिशत पुर्‍याइदिने चेतावनी दिएका छन्। पछिल्लो कर अहिले सम्म अमेरिकाले चिनियाँ सामानमा लगाएको कर मध्ये सबै भन्दा धेरै हो। नयाँ कर आउने सातादेखि लागु हुने बताइएको छ। राष्ट्रपति ट्रम्पले नयाँ करले अमेरिकाको कोषमा धेरै पैसा ल्याउनेू बताएका छन्। उनले त्यसका अतिरिक्त थप २ खर्ब ६० अर्ब डलर बराबरका चिनियाँ आयातमा कर लगाउने चेतावनी दिएका छन्। उनले बेइजिङलाई उनले ठान्ने गरेका असमान व्यापारिक अभ्यासहरूलाई बदल्न धेरै मौकाहरू दिइएको बताएका छन्। ट्रम्पले देशको अर्थतन्त्र जोगाउने काम आफ्नो काँधमा आएको बताएका छन्। पछिल्लो घोषणा सँगै करिब २ खर्ब ५० अर्ब डलर बराबरका चिनियाँ समानमा अमेरिकी कर लाग्ने भएको छ। यसअघि अमेरिकी करको बदलामा चीनले ५० अर्ब डलर बराबरको अमेरिकी सामानमा कर लगाइदिएको थियो। त्यतीबेला चीनले अमेरिकाको राजनैतिक प्रभाव क्षेत्र मानिने किसानका उत्पादनलाई निशाना बनाएको थियो। व्यापार युद्ध रोक्न दुई पक्षबीच मे महिनामा वार्ता भए पनि त्यो फलदायी भएन।

इन्धनकाे भाउ बढ्यो, पेट्रोल प्रतिलिटर ११४ र डिजेल १०१ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । असोज १ गते राती १२ बजेदेखी लागू हुने गरि निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा  थप गरी समायोजन गरेको छ। हवाई ईन्धन र एलपी ग्याँसको मूल्य यथावत राखिएको निगमका प्रवत्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार पेट्रोल प्रतिलिटर २, डिजेल र मट्टितेल ३ रुपैयाँ बढेको छ । भाउ बढेपछि पेट्रोल प्रतिलिटर ११४, डिजेल र मट्टितेल १०१ रुपैयाँ पुगेको गोइतले जानकारी दिए । मूल्य बढाए पनि पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ९२¸ डिजेलमा२ रुपैयाँ ७२ र ग्याँसमा प्रतिसिलिण्डर ३०९ रुपैयाँ ७९ पैसा घाटा हुने उनले बताए । समग्रमामूल्य बढेपनि निगमलाई १५ दिनमा करीब ३१ करोड ६७ लाख रुपैयाँ घाटा हुने गोइतको भनाई छ। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यन भएको छ । इण्डियन आयल कर्पोरेशनबाट १६ सेम्टेम्बरमा प्राप्त मूल्य बढेर आएकोले यसकाे विश्लेषण गरी समायोजन गरिएको गोइतको भनाई छ । मूल्य समायोजन पश्चात भारतको रक्सौल भन्दा नेपालको वीरगंज तर्फको सीमामा पेट्रोलमा प्रतिलिटर २९ रुपैयाँ ४४ र डिजेल २८ रुपैयाँ ४४ पैसाले नेपाल तर्फ नै सस्तो कायम हुन पुगेको छ । यसले गर्दा खुला सीमाका कारण नेपालबाट भारतमा चोरी पैठारी हुने संभावना छ ।

टिभीएसले खोल्यो थप १० नयाँ शोरुम, कहाँ कहाँ ?

काठमाडौं । टिभीएस मोटर कम्पनीको नेपालको लागि अधिकारिक बिक्रेता जगदम्बा मोटर्सले देशभर आफ्नो थप १० अत्याधुनिक शोरुमहरु उद्घाटन गरेको छ । केहि समय अघि मात्र बजारमा ल्याइएको टिभीएस अपाचे आर आर ३१०, टिभीएस अपाचे आर टि आर १६० फोर भी र टिभीएस एनटोर्क १२५ स्कुटर पनि उपलब्ध रहने छ । यहि असोज १ गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आयका नयाँ अत्याधुनिक शोरुमहरु काठमाडौँको कान्तिपथ, कुपन्डोल, टुसाल, र काठमाडौँ बाहिर इनरुवा, राजविराज, सिराहा, धादिड्ड, गरुडा, कावासोती र डडेलधुरामा रहेका छन् । ग्राहकहरुले यी शोरुमहरु मार्फत टिभीएसका विभिन्न मोडलका मोटरसाइकल र स्कुटरहरु खरिद गर्न सक्नेछन् ।

माेबाइल फुटे, हराए वा चाेरी भएमा मेराे सुरक्षाले दिन्छ डाटासहितकाे नयाँ सेट

काठमाडौं । मेरो सुरक्षाप्रालि र प्रिमियर इन्स्योरेन्सकाबीचमा मोबाइल बीमा सम्बन्धि सम्झौता भएको छ । मेरो सुरक्षाले दिँदै आएको मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुनेहरुको मोबाइल बीमा गराउने लक्ष्यका साथ एक कार्यक्रमका बिच दुई संस्थाका प्रमुख कार्यकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मेरो सुरक्षाका प्रमुखकार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले मोबाइल बीमा सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बीमा प्रिमियर इन्स्योरेन्समा हुनेछ । यस अघि मोबाइल प्रोटेक्सन प्लानका रुपमा मात्र शुरु भएको सेवा अब मोबाइल इन्स्योरेन्समा रुपान्तरण भएको हो । ‘मेरो सुरक्षासँगको सहकार्यले मोबाइल प्रयोगकर्ताले सहज रुपमा आफ्नो मोबाइलको बीमा गराउन सक्ने विश्वास हामीले लिएका छौं ।’ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले भने । ‘कुनै कारणले मोबाइल फुटेमा, आगो वा पानीले मोबाइलमा भौतिक क्षती पुगेर मोबाइल नचल्ने भएमा वा हराएमा वा चोरी भएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटा सहित नयाँ मोबाइल सेट उपलब्ध गराउँछ ।’ मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवारले भने । मोबाइल प्रयोगकर्ताले मेरो सुरक्षाको मोबाइल एप तथा वेबसाइटबाट सिधै मेरो सरक्षा प्रोटेक्सन प्लान खरीद गरी मोबाइलको बीमा गराउन सक्छन् । सेवा सुरु गरेको छोटो समयमा नै सेवाग्राहीमाझ लोकप्रिय बनेको मोबाइल प्रोटेक्सन प्लान २५ हजार बढीले खरिद गरिसकेका छन् भने मेरो सुरक्षाको मोबाइलएप ४० हजारभन्दा बढी डाउनलोड भैसकेको छ । सोही कार्यक्रममा महानायक राजेश हमाल मेरो सुरक्षाको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । ब्राण्ड एम्बेसडर नियुक्त भएका हमालले मेरो सुरक्षा नेपालको सन्दर्भमा फरक किसिमको सेवा भएको भन्दै यसबाट आममोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलको सुरक्षा गर्न सक्ने बताए । मोबाइल फुट्ने, हराउने वा चोरी हुने, जस्ता समस्या समाधानका लागि मेरो सुरक्षाको प्रोटेक्सन प्लानले दिने बीमा योजना उत्तम विकल्प हुने हमालको भनाई थियो । राजधानीका ४ सय बढी मोबाइल आउटलेटबाट मोबाइल किन्दा मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानबाट बीमा योजनामा सहभागि हुन सकिने मेरो सुरक्षाले जनाएको छ । दशैं पछि राजधानी बाहिरबाट पनि मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानबाट बीमा योजना शुरु हुनेछ । मोबाइल प्रोटेक्सन प्लानलिनका लागि प्रत्येक वर्ष मोबाइलको खरिद मूल्यको ५ प्रतिशत रकम भुक्तान गर्नु पर्ने हुन्छ । यसका साथै सेवाग्राहीले मोबाइल किनेर मेरो सुरक्षा एप डाउनलोड गरी सिधै मोबाइलको बीमा गराउन सक्छन् । यसरी मोबाइलको बीमा गर्दा लाग्ने शुल्क खल्ती, आई पेका साथै १५ वाणिज्य बैंकका अनलाइन बैंकिंगबाट भुक्तान गर्न सकिन्छ । मेरो सुरक्षाले दशैं, तिहारको अवसरमा मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुनेहरुलाई एक लाख रूपैंयाको निशुल्क दुर्घटना बीमा उपलब्ध गराउने जनाएको छ ।

भारतमा पनि बैंक मर्जर सुरु, बैंक अफ बरौडा, बिजय र डीना बैंक गाभिने

एजेन्सी । नरेन्द्र मोदी सरकारले सार्वजनिक क्षेत्रका ३ बैंकलाई गाभ्ने भएको छ । बैंक अफ बरौडा, डिना बैंक र विजय बैंकलाई गाभ्न लागेको हो । बैंकिङ क्षेत्रलाई अझ मजवुत बनाउन गाभ्न लागेको हो । भारतको बैंकिङ क्षेत्रमा अत्याधिक खराब कर्जा बढेपछि सरकारले सुधारका लागि गाभ्ने योजना ल्याएको डीएफएस सचिव राजीवकुमारले बताएका छन् । ३ वटा बैंक एकआपसमा गाभिएपछि भारतको तेस्रो ठुलो बैंक हुने फाइनान्सियल एक्सप्रेसले जनाएको छ । दुई राम्रा र एक कमजोर बैंक गाभिन लागेको भारतका वित्तमन्त्री अरुण जेट्लीले बताएका छन् ।

वायुसेवा निगमका कर्मचारी सबैभन्दा धेरै तलब खाने छन: मदन खरेल

काठमाडौं । नेपाल वायु सेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष मदन खरेलले सोमबारदेखि कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाल्दै खरेलले निगमका कर्मचारीहरुलाई सबैभन्दा धेरै तलब खाने वातावरण बनाउने बताएका छन् । खरेलले निगममा काम गर्ने सबै जनाको हैसियत समान रहको र संस्था विकासका लागि एकजुट भएर अघि बढ्नु पर्ने बताए । उनले भने एनएसीको कर्मचारी सबैभन्दा धेरै तलब सुविधा खाने कर्मचारी हुनेछ त्यसका लागि मैले काम गर्नेछु । उनले अब एनएसीले जहाज थप्दै जानु पर्ने र आफ्नो कार्यकालमा कर्मचारीहरुले सहयोग गर्ने विश्वास व्यक्त गरे । खरेललाई स्वागत गर्दै प्रवन्ध निर्देशक सुगतरत्न कंशाकारले आफु खरेलको सल्लाहकार बन्न तयार रहेको बताए । नेपाल विश्वमै सबैभन्दा हवाई भाडा महंगो भएको देश भएको बताउँदै यसमा एनएसीले भाडा घटाउन हिम्मत गर्नुपर्ने बताए । खरेल एनएसीको नयाँ सदस्य भएर आउनुमा कुनै विवाद नरहेको र मन्त्रालयले गरेको निर्णय सबै कर्मचारीले सम्मान गर्नुपर्ने बताए । स्वागत कार्यक्रममा बोल्दै आधिकारीक ट्रेड युनियनका अध्यक्ष सुभाष डाँगीले नयाँ जहाज थप्ने विषयले वर्षेनि विवाद थपेको बताउँदै एकै वर्ष धेरै जहाज थप्ने निर्णय गर्नु पर्नेमा जोड दिए । उनले नव नियुक्त अध्यक्षले कर्मचारीलाई खुशी पारेर काम गर्ने वातावरण बनाउने विश्वास व्यक्त गरे ।