नेपाल साझेदार बैठक सोमबारदेखि शुरु
काठमाडौं । नेपाल सरकारका सहसचिव शुरेश अधिकारीले मानवीय क्षेत्रमा रेडक्रसले गरेका कामले नेपालीहरुको सँकटासन्नता कम गर्न मद्दत गरिरहेको बताएका छन् । असोज १ गतेदेखि शुरुभएको नेपाल साझेदार बैठकलाई सम्बोधन गर्दै उनले भने- समुन्नत नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्त गर्न रेडक्रसका गतिविधिहरु अत्यन्त सहयोगी छन् । नेपाल रेडक्रस सोसाइटी, रेडक्रसको अन्तर्राष्ट्रिय महासँघ र रेडक्रसको अन्तर्राष्ट्रिय समितिको सँयुक्त आयोजनामा सोमबारदेखि काठमाडौमा शुरु भएको २ दिने बैठकमा १८ वटा विभिन्न देशका रेडक्रस रेडक्रिसेन्ट सोसाइटीका प्रतिनिधिहरु, नेपाल सरकारका प्रतिनिधि, सँयुक्त राष्ट्रसँघ नियोग तथा विज्ञहरु र रेडक्रस अभियानका अँगहरुका प्रतिनिधि गरी ७१ जनाको सहभागिता रहेको नेपाल रेडक्रसका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । कार्यक्रमको अध्यक्षता गर्दै नेपाल रेडक्रसका अध्यक्ष सँजीव थापाले हरेक दुइवर्षमा आयोजना गर्दै आइएको यो साझेदार बैठकले सँगसँगै सोच्ने, सँगसँगै योजना बनाउने र सँगसँगै काम गर्ने रेडक्रसको परिपाटीलाई थप सुदृढ गर्नेछ । रेडक्रसको अन्तर्राष्टिय महासँघ एशिया प्रशान्त क्षेत्रका उपनिर्देशक मार्टिन फलरले बैठकमा उपस्थित विज्ञहरुको ज्ञान, सीप र अनुभव आदान प्रदान हुँदा साझा नेतृत्व विकास गर्न र रेडक्रससँगको आपसी साझेदारीलाई पुनर्ववल प्रदान गर्न मद्यत पुगिरहेको धारणा व्यक्त गरेका छन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले नेपाल सरकारको प्राथमिकता क्षेत्रमा रेडक्रसले काम गरिरहेको उदारण प्रस्तुत गरेका थिए । विशेष प्रस्तुतीको क्रममा सँयुक्त राष्ट्रसँघका आवासीय प्रतिनिधि भेलरी जुलियानले नेपालको वर्तमान सँघीय संरचनाका आधारमा काम गर्दा अवसर र चुनौती दुवै रहेको उल्लेख गर्दै राज्यको स्थानीय र प्रादेशिक सँरचनासँग समन्वयमा काम गर्नुपर्ने आवश्यकता औँल्याए । यसैक्रममा आइसीआरसीका प्रतिनिधि आन्द्रे पाकेले नेपाल रेडक्रसको कानुनी अवस्थाको सुदृढिकरण हुनुपर्नेमा जोड दिएका थिए । विश्व र नेपालको मानवीय सेवा सन्दर्भ, अवस्था, चुनौती तथा अवसरहरुका बारेमा विज्ञहरुको प्यानल छलफल समेत आजै आयोजना गरिएको थियो । छलफलमा क्यानेडियन रेडक्रसका म्याक डोनाल्ड, आइसीएमएकका डा. राम थपलिया, मिडिया एक्शनका लक्ष्मण दत्त पन्त लगायत रेडक्रस अभियानका प्रतिनिधिहरुले अवस्थाको विश्लेषण गरेका थिए । साझेदारीको ढाँचा, प्रकृया सहित नेपालमा सञ्चालन गरिने रेडक्रस गतिविधिलाई सहयोग गरिने क्षेत्रको पनि पहिचान गरी भोली कार्यक्रम सम्पन्न हुनेछ । कार्यक्रमको तेश्रो दिन नेपाल रेडक्रसमार्फत् विभिन्न जिल्लाहरुमा सञ्चालित गतिविधिहरुको अवलोकनार्थ विदेशी पाहुनाहरु फिल्ड भ्रमण समेत गर्ने कार्यक्रम रहेको छ ।
सुजुकी जेन्युइन पार्ट्सको नयाँ आउटलेट बाफलमा
काठमाडौं । सुजुकी जेन्युइन पार्ट्सको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको डिलर एभ मोटर्सले आफ्नो सीआरओ अर्थात सर्टिफाइड रिटेल आउटलेट खोलेको छ । काठमाडौंको बाफलमा माँ सन्तोषी अटो पार्ट्सको नाममा सो आउटलेट खुलेको हो । आज एक कार्यक्रमकाबीच सीजी होल्डिङ्सका नायब महाप्रबन्धक श्यामबहादुर श्रेष्ठले सो आउटलेटको उद्घाटन गरे । सो अवसरमा श्रेष्ठले सुजुकीका कुनै पनि सवारी साधनमा जेन्युइन पार्ट्स प्रयोग गरेमा सवारी साधनको आयु लामो हुने, यात्रा सुरक्षित रहने र पर्फमेन्स उत्कृष्ट हुने भएकाले सके सम्म सवारी साधनमा जेन्युइन पार्ट्स नै प्रयोग गर्नु पर्ने बताए । एभ मोटर्सका सञ्चालक दिलिप सिग्देलले हाल कम गुणस्तरका नन-जेन्युइन पार्ट्सको प्रयोग बढ्दो क्रममा रहेकाले उपभोक्ताहरुले जेन्युइन पार्ट्सको महत्व बुझ्नु पर्ने बताए । सीआरओ शुभारम्भको अवसरमा एक महिना सम्म पार्ट्समा १० प्रतिशत छुट उपलब्ध गराइने माँ सन्तोषी अटो पार्ट्सका सञ्चालक राज सुवेदीले जानकारी दिए । माँ सन्तोषी अटो पार्ट्स एभ मोटर्स अन्तर्गतको दोस्रो रिटेल आउटलेट हो । यो भन्दा पहिले सुकेधारामा एभ मोटर्सले आफ्नै आउटलेट सञ्चालन गरिरहेको छ । एभ मोटर्स सुजुकी जेन्युइन पार्ट्सको उपत्यकाका लागि आधिकारिक डिलर हो ।
रुपन्देहीमा अशोक लेलैण्डका छ थान गाडी गुड्ने, मंसिरसम्म ३० वटा बस सञ्चालनमा
काठमाडौं । रुपन्देहीमा पहिलो पटक छ थान सुविधा सम्पन्न अशोक लेलैण्डका बसहरु लुम्विनी मेट्रो सिटिद्धारा संचालनमा आएका छन् । उक्त बसहरुमा एसी, सिसि टिभी, डिजिटल डिस्प्ले तथा यात्रुहरुलाई चढ्न र ओर्लन सजिलो होस भन्ने हेतुले दुई ढोका दिईएका छन् । कम्पनीका अध्यक्ष धनबहादुर अधिकारीका अनुसार नेपालमा सबैभन्दा बढी सिट क्षमता भएको सिटी बस हामीले संचालनमा ल्याएर सरकारको मास ट्रान्सर्पोटेसनको नितिलाई अगाडी बढाएको बताए । विद्यार्थीलाई ४५ प्रतिशत छुट, “क”वर्गका अपाङ्लाई निःशुल्क, ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिईने प्रा.लि. का सञ्चालक कर्णबहादुर केसीले जानकारी दिए । भाडाको हकमा नेपाल सरकारले तोके वमोजिम एसी डिलक्सको भाडा विनियोजन गरिने छ । बसको साँचो हस्तान्तरण कार्यक्रममा आई.एम.ई. मोटर्सका प्रमुख अधिकृत सुरज भट्टराईले नेपालमा अशोक लेलैण्डको माग बढिरहेको र यसको पछाडी न्युनतम मर्मत खर्च र किफायती ईन्धन खपत तथा मजबुतीको नाम अशोक लेलैण्ड रहेको बताए । हाललाई एक करोड चुक्ता पुँजीबाट शुरु भएको प्रा.लि.ले पहिलो चरणमा वुटवलबाट वेलहिया, लुम्विनी, वर्दघाट, तौलिहवा र कृष्णनगरकालागि बसहरु संचालनमा आउनेछन् । असोजभित्र १० वटा र मंसिरसम्म ३० वटा बस पुर्याई प्रदेश ५ का १२ वटै जिल्ला तथा काठमाडौं, पोखरा, विराटनगर र काकरभिट्टासम्म सेवा विस्तार गर्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ ।
गण्डकी विकास बैंकले १५ लाखसम्मको विना धितो कर्जा दिने, बचत खातामा दैनिक ७ प्रतिशत व्याज
काठमाडौं । गण्डकी विकास बैंकले विना धितो १५ लाख रुपैयाँसम्मको प्रोफेसनल कर्जा बजारमा ल्याएको छ । उक्त कर्जा डाक्टर, इन्जिनियर, प्राध्यापक, वकिल, चाटर्ड एकाउन्टेन्ट लगायत ख्याती प्राप्त संघ संस्थामा कार्यरत कर्मचारीहरुलाई प्रदान गरिनेछ । बैैंकले बचत खातातर्फ दैनिक ७ प्रतिशत व्याज तथा अन्य आर्कषक सेवा सुविधा सहितको साधारण बचत खाता बजारमा ल्याएको छ । उक्त खातामा एटीएम, एबीबीएस, मोबाइल बैंकिङ, आश्वा सेवा लगायत ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा समावेश गरिएको छ । त्यसैगरी, बैंकले कर्मचारीहरुलाई लक्षित गरी दैनिक मौज्दातमा ७ प्रतिशत व्याज प्रदान गर्ने गरी कर्मचारी तलब खाता पनि बजारमा ल्याएको छ । जसमा निशुल्क एटीएम, एबीबीएस, मोबाइल बैंकिङ, आश्वा लगायतका थुप्रै सेवा प्रदान गर्नुको साथै ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा पनि समावेश गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी दिए । यी सेवाहरु बैंकका ७६ वटै शाखाहरुबाट प्रदान गरिनेछ । ग्राहकहरुले जुनसुकै शाखा कार्यालयबाट पनि यी सेवा लिन सक्नेछन् । कर्मचारी बचत खाता शैक्षिक तथा विभिन्न संघ संस्थामा कार्यरत कर्मचारीहरुको लागी उपयुक्त रहेको छ ।
सनराइज बैंकद्धारा नेपाल बाल संगठनलाई सहयोग
काठमाडौं । सनराइज बैंक लिमिटेडको एघारौं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल बाल संगठनका १८० जना बालबालिकाहरुलाई सहयोग सामाग्रीहरु वितरण गरेको छ । बैंकले प्रत्येक वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनमा रहेका बालबालिकाहरुलाई विभिन्न सामाग्रीहरु वितरण गर्दै आईरहेको छ । यस वर्ष पनि बैंकले आफ्नो एघारौं वार्षिकोत्सवको उपलक्ष्यमा खाद्य सामाग्री, जाडो महिनाको लागि लुगा, भाँडाकुडाँ, तथा तन्ना वितरण गरेको छ । उक्त सामाग्रीहरु बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालकहरु ई. बच्छराज तातेड्, ओमकृष्ण जोशी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य एवं बैंकका कर्मचारीहरुले वितरण गरेका छन् ।
प्रोस्टाइल म्यान हन्ट इन्टरनेसनल को घोषणा
काठमाडौँ। डाबर नेपालको प्रोस्टाइल र ग्रुप अफ इभेन्ट एन्टरटेनरर्स (जिइइ) बीच प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१८ आयोजना गर्ने समझदारी भएको छ । प्रोस्टाइल र जिइइले आगामी प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१८ को घोषणाका साथै यो प्रतियोगिताका लागि आवेदन खुला गरेका छन् । इन्टरनेसनल क्लबले सोमबार सानेपामा आयोजित एक कार्यक्रममा प्रतियोगिताको आवेदन खुला गरिएको घोषणा गरिएको छ । कार्यक्रममा भाग लिन ईच्छुक पुरुषहरूले म्यानहन्ट नेपालको फेसबुक पेजबाट थप जानकारी लिन सक्ने छन् । फेसबुकमा नै उपलब्ध गराइएको आवेदन फारम का्ित्तक २४ सम्म सानेपा स्थित जिइइको कार्यलयमा वाजिइइको इमेलमा बुझाइसक्नु पर्नेछ । यो प्रतियोगितमा आवेदन दिन १८ देखि ३४ वर्षका नेपाली युवाहरू हुनुपर्ने छ जसको उचाइ ५ फिट ८ इन्चभन्दा बढी र कम्तीमा एसएलसी पास गरेको हुनुपर्छ । यो प्रतियोगिताको ग्रान्डफिनाले मङ्सीर २१ गते होटेल अन्नपूर्णमा हुने आयोजकले जनाएको छ । विजेताले भियतनाममा आयोजित हुने म्यानहन्ट इन्टरनेसनल २०१९मा नेपालको प्रतिनिधित्व गर्नेछन् । दोस्रो र तेस्रो स्थान हासिल गर्ने विजेताहरूले क्रमशःमिस्टर ग्लोबल २०१९ तथा मिस्टर युनिभर्सल एम्बेसेडर २०१९ मा भाग लिनेछन् । प्रोस्टाइल डाबर नेपालको एक उत्कृष्ट उत्पादन हो जुन नेपाली पुरुषहरूकै लागि भनी उत्पादन गरिएको हो । कपालको नरमपन तथा चमकलाई कायम राखी चायाँ हटाउनमा प्रोस्टाइल प्रभावकारी छ । यसको सुगन्धले ताजापनको अनुभव गराउँछ र प्रयोगकर्ताको आत्मविश्वास बढाउँछ ।
जनता अवकाश कोषले १ प्रतिशतका दरले नाफा वितरण गर्ने
काठमाडौं । जनता बैंकले सञ्चालनमा ल्याएको जनता अवकाश कोषले वचत मौज्दातको १ प्रतिशतका दरले नाफा वितरण गर्ने भएको छ । कोषको आइतबार बसेको सञ्चालक समितिले नाफा वितरणको निर्णय गरेको हो । समितिले गत आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।आयकर ऐन, २०५८ बमोजिम आन्तरिक राजश्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषको रुपमा स्वीकृती प्राप्त गरी बि.सं. २०६० सालमा सिद्धार्थ अवकाश कोषको नाममा स्थापना भई सेवा प्रदान गर्दै आइरहेकोमा गत असार १ गतेबाट कोषको नाम परिर्वतन भई जनता अवकाश कोषको नाममा संचालनमा रहेको छ । कोषले हाल ४५० वटा संगठित संस्थाका १२ हजारभन्दा बढी सहभागीलाई सेवा प्रदान गर्दै आएको छ । कोषले संचालन गरेका अवकाश योजनामा बार्षिक ८.५ प्रतिशतका दरले ब्याज प्रदान गर्नुका साथै संचित रकमको ९० प्रतिशत सापटी लिन सक्ने व्यवस्था रहेको छ । कोषले सहभागीहरुलाई सुत्केरी स्यहार खर्च १० हजार र काजक्रिया खर्च १० हजार रुपैयाँ व्यवस्था गरेको छ ।
मेरो भाईको हत्या नै भएको हो, उसले आत्महत्या गरेको होईन- मृतक उप्रेतीकी दिदी
काठमाडौं । मोरङको विराटनगरस्थित् नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत सौरभ उप्रेतीको आत्महत्या नभएर हत्या गरिएको आफन्तले दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा पीडित परिवारले पत्रकार सम्मेलन गरेर प्रहरीले नै अपराधीहरुलाई उन्मुक्ति दिएको र प्रमाणहरु नष्ट गरेको भन्दै परिवारले सडक आन्दोलनको घोषणा समेत गरेको छ । मृतकका बुबा अजुर्न उप्रेतीले प्रेस विज्ञप्ती वाचन गर्दै छोराको हत्यामा संलग्न अपराधीलाई कानुन अनुसार कारबाही गर्न सरकार असफल भएको आरोप लगाएका छन् । मृतक उप्रेतीकी आमा गोपिनी सापकोटाले बुढेसकालको एकमात्र छोराका हत्यारालाई सरकारले कारबाही नगरेको भन्दै आपत्ति प्रकट गरेकी छिन् । उनले भनिन्,‘मेरो छोरा अरुभन्दा विरलै क्षमता भएको मानिस थियो, बालापनदेखिनै उसको क्षमता देखेर यसलाई धेरै समय धर्तीमा बाँच्न दिदैनन् भन्ने लाग्दथ्यो, हुनपनि त्यस्तै गरे, राजा वीरेन्द्र र मदन भण्डारीको हत्याकाण्डलाई एकादेशको कहानी बनाउने देशमा हाम्रा सन्तानका हत्यारालाई यो राज्यले समात्न सक्छ कि सक्दैन् ? दुईतिहाईको सरकारसँग न्याय दिने क्षमता छैन्, पीडितहरुले आँशु झार्दै बस्नुपर्छ, हाम्रो आँशुले अपराधीलाई पोल्नेछ, एकदिन कानूनको भागिदार हुनेछ ।’ त्यस्तै पत्रकार सम्मेलनमा साउन १५ गते राती हत्या गरिएको आरोप लगाउँदै मृत्तक उप्रेतीका मामाका छोरा श्याम सापकोटाले उक्त घट्नाका प्रमाणहरु प्रहरीले नै नष्ट गरेको बताए । उनले शक्तिशाली अनुसन्धान आयोग गठन गर्न सरकारसँग माग गरे । उनले भने,‘मोरङ एसपी मनोज केसीसहितको टोलीले यस घट्नालाई गम्भिर भएर लिएको पाईँदैन, ४८ दिनसम्म पनि हामीले न्याय नपाउने र दोषी खुलेआम हिड्ने हो भने यस देशमा कसरी न्याय सम्प्रभुताको अनुभव गर्ने ?’ सरकार अपराधीलाई संरक्षण गर्दैछ भनेर उनको आरोप छ । उनले थपे,‘किटानी लिनसमेत मानेको छैन्, घट्नाको निश्पक्ष छानविन हुनुपर्छ भन्नेमा हामी छौं । प्रहरी प्रशासन कसरी पीडितलाई झन पीडा दिन सकिन्छ भनेर लागेको देखिन्छ, सरकार सफल बनाउन जनताको साथ आवश्यक हुन्छ । तर, प्रहरी पशासन सरकारलाई असफल बनाउन खोज्दैछ ।’ उदयनारयण सापकोटाले उक्त घट्ना भएको स्थानमा भेटिएका छुरा र काँडे लठ्ठी समेत प्रहरीले बरामद नगरेको भन्दै मृतक उप्रेतीको न्यायका लागि मोरङमा आन्दोलनको राँको बालिने चेतावनी दिए । उनले भने, ‘पछिल्लो समयमा मलुकभर बलात्कार हत्याका श्रीङ्खलाबद्ध घट्नाहरु बढिरहेका छन्, निर्मलाका हत्यारालाई कारबाही गर्न भन्दै सडकमा ओर्लेका अर्को एकजना मानिसले ज्यान गुमाउनुपर्यो, त्यस्तै हामीले पनि सौरभको मृत्युलाई न्यायमा परिणत गर्नको लागि गोली खानुपर्छ भने तयार छौं । गृहमन्त्री रामबहादुर थापाले आफ्ना सुरक्षा अंगहरुलाई आदेश दिए हुन्छ, हामी छाति थाप्न तयार छौं, कुनै व्यक्तिको रहस्यमय तरिकाले हत्या गरिन्छ, अनि अर्को व्यक्तिले मृतकको न्यायको लागि गोली खानुपर्छ, सँगै बसेर पढेका र शंका लागेका कुवर थापा र शत्रुधन यादवलाई सोधपुछ गर्दा हामीलाई किन सोध्ने ? भन्ने ठाउँमा भन्छौं भनेर जवाफ दिन्छन् ।’ मृतक उप्रेतीकी दिदी सोनु उप्रेतीले मुलुकमा न्यायको दियो निभ्न थालेको भन्दै सरकारलाई सचेत हुन आग्रह गरेकी छिन् । उनले भनिन्, ‘मेरो भाईको हत्या नै भएको हो, उसले आत्महत्या गरेको होईन, रहस्यमय हत्यालाई प्रहरीले प्रमाणहरु नष्ट गरेर काल्पनिक रुपमा आत्महत्या गरेको भनेर भन्छ, प्रहरीले जाहेरी लिँदैन, हामीले यस सरकारबाट न्याय पाउँदैनौं भने हामी कहाँ जाने ?’