एक लिटर नेपाली लुब्रिकेन्ट किन्दा २०० रुपैयाँ देशलाई फाइदा हुन्छ-भोलेश्वर दुलाल
भोलेश्वर दुलाल, प्रबन्ध निर्देशक, पूर्वाञ्चल ल्युव आयल भोलेश्वर दुलाल पूर्वी नेपालमा सफल उद्यमी हुन् । उनले स्थापना गरेका पूर्वाञ्चल ल्युव आयल, पूर्वाञ्चल पोलिमयर उद्योगका साथै विभिन्न ब्राण्डका लुब्रिकेन्ट, फेविकल, पेन्ट्स उत्पादन गर्दै आएको छ । उनको ट्रेडिङ कम्पनी सत्कार मेसिनरी कन्सर्नले किसानहरुलाई आवश्यक मेसिनरी सामानको व्यापार गर्छ । कोरियामा बनेको जेडआईसी लुब्रिकेन्सदेखि गाडीका स्पेयर पाट्स, टायर आयातको व्यापारमा पनि उनी जम्दै गएका छन् । उद्योग, व्यापारका साथै उनी सामाजिक काममा पनि सक्रिय छन् । दुलाल नेपाल जेसिसको पूर्व राष्ट्रिय अध्यक्ष समेत हुन् । प्रस्तुत छः उद्योग र व्यापारको अवस्थाबारे उनीसँग गरिएको विकास वहस । पूर्वाञ्चल ल्युव आयल उद्योगको अवस्था कस्तो छ ? हामीले विजनेश शुरु गरेको २६ वर्ष भयो । पूर्वाञ्चल ल्युव आयल उद्योग सञ्चालनमा आएको १९ वर्ष भयो । पूर्वाञ्चल ल्युव आयलले पीएलओ, स्टार र मेघा ब्राण्डका लुब्रिकेन्ट उत्पादन गर्दै आएको छ । पूर्वाञ्चल पोलिमयर उद्योगले फेविकल उत्पादन गर्छ । पूर्वाञ्चल ल्युव आयल हाम्रो धेरै मिहेनतमा स्थापना भएको हो । जतिबेला गल्फ लुब्रिकेन्टस् मात्र हुन्थ्यो, त्यतिबेला हामीले धेरै मिहेनत गरेर पूर्वाञ्चल ल्युव आयल स्थापना गरेका हौ । शुरुमा पीएलओ ब्राण्ड लुब्रिकेन्ट लिएर बजारमा जाँदा नेपाली ब्राण्ड बेच्दैनौ भन्थे डिलरहरुले । तर आज उनीहरुलाइ नेपाली ब्राण्ड नभई नहुने अवस्था आएको छ । स्थापनादेखि नै हामी कहिल्यै पनि आत्तिएनौ, मात्तिएनौं । अरु ब्राण्डभन्दा नेपाली ब्राण्डको मूल्य केही कम नै राख्यौं । गुणस्तरमा हामीले सम्झौता गरेनौं । पीएलओले नेपाल गुणस्तर चिन्ह पाएको छ । गुणस्तरीय व्यवस्थापन प्रणाली अन्तराष्ट्रिय स्तरको बनाएर आईएसओ २००१ लिने हाम्रो तयारी छ । नेपाली ब्राण्डमा हामी नम्बर वान भएका छौं । वर्षमा १०० करोड रुपैयाँ बराबरको लुब्रिकेन्ट बेच्छौं । हामी ४/५ प्रकारको ग्रिज बनाउँछौं । हाइड्रोलिक आयल, ट्रास्फर्मर आयल, स्पेन्डल आयल, कटिङ आयल, ब्रेक आयल, गेर आयल लगायत धेरै प्रकारका आयल बनाउँछौं । त्यस्तै पेट्रोल इन्जिन आयल, डिजेल इन्जिन आयल बनाउँछौं । विभिन्न नामका ८५ प्रकारका लुब्रिकेन्ट नेपालमै उत्पादन गर्छौ । एउटै कम्पनीले पीएलओ, मेगा, स्टार जस्ता फरक नामका ब्राण्ड उत्पादन गर्नुको कारण के हो ? हामीले एक ठाउँमा एउटा डिलर दिएपछि अर्को डिलर दिदैनौ । पीएलओ माग र बिक्री बढेपछि डिलरसिपको माग पनि एकदमै बढ्यो । नेटवर्क विस्तारले बजार विस्तारमा सहयोग नै गर्छ । हामीले नेटवर्क विस्तार र उत्पादनमा पनि विविधिकरण गर्ने योजनासहित हामीले स्टार ब्राण्ड बनायौ । आज स्टार ब्राण्डको लुब्रिकेन्ट नै वार्षिक २८ करोड रूपैयाँको बिक्री छ । त्यसपछि फेरि हाइग्रेडमा मेगा लुब्रिकेन्ट उत्पादन थालेका छौं । यो प्रडक्ट देशभर बिक्री शुरु गरेका छौं । यो ब्राण्ड किन्दै भन्न परेको छैन । बजारमा यसकाे माग राम्रो छ । उत्पादन वृद्धिको योजना के बनाउनु भएकाे छ ? १९ वर्ष अघि जडान गरिएका मेसिनहरु पुराना भए । प्रविधिमा पनि धेरै परिवर्तन आयो । त्यसैले हामीले हालै नयाँ मेसिन राखेको छौं । पहिलाको भन्दा १० गुणा बढी उत्पादन क्षमता भएको मेसिनहरु जडान गरेका छौं । मेसिन खरिदका लागि मात्र ७ करोड रूपैयाँ लगानी गरेका छौं । अटोमेटिक फिलिङ प्लान्ट, कुकिङ प्लान्ट, व्लेण्डिङ प्लान्ट सहित फूल अटोमेटिक प्लान्ट लगाईसकेको छौं । वर्षमा एक लाख किलोलिटर लुब्रिकेन्ट उत्पादन गर्न सक्छौं । अब वार्षिक ५०० करोड मूल्य बराबरको लुब्रिकेन्ट माग हुँदा पनि उत्पादन गर्न सकिन्छ । नयाँ प्लान्ट सञ्चालन गरिसकेका छौं । साथै, गुणस्तरमा विशेष ध्यान दिनको लागि क्यास्ट्रोलमा २८ वर्षसम्म काम गरेका अनुभवी केमेस्ट्री डा आँचल कान्ति मण्डललाई नियुक्त गरेका छौं । उनले काम थालेको पनि एक वर्ष भईसकेको छ । लुब्रिकेन्ट बजारमा पीएलओको हिस्सा कति हो ? मूल्यको आधारमा नेपालमा १४ अर्ब रुपैयाँ बराबरको लुब्रिकेन्ट खपत हुन्छ । कुल बजारमा नेपाली उत्पादनको हिस्सा २८ प्रतिशत छ । नेपाली प्रडक्टको बजारलाई १०० प्रतिशत आधार मान्ने हो भने पीएलओको बजार ३२ प्रतिशत छ । सबै लुब्रिकेन्टको बजारमा पीएलओको हिस्सा ८ प्रतिशत रहेको छ । नेपाली उत्पादन र विदेशी उत्पादनबीच प्रतिस्पर्धा कस्तो छ ? मूल्य, गुणस्तर, बजारमा सहज उपलब्धता लगायत सबै हिसावले पीएलओ सबैभन्दा राम्रो ब्राण्ड हो । तर नेपालमा उपभोक्ताले आफ्नो छनोटमा लुब्रिकेन्ट मोटरमा हाल्न पाएका छैनन् । सिप्रदीबाट गाडी किनेकाले म्याक नै हाल्नुपर्ने बाध्यता सिर्जना गरिएको छ । टाटाको गाडीमा म्याक नै हाल्नुपर्छ, म्याक नहाले गाडीको इन्जिनमा हामी ग्यारेन्टी लिदैनौ भनेर उपभोक्तालाई बल्याकमेलिङ गरिराखेको छ । बजार वाईक बेच्दै आएको गोल्छाले सर्भो लुब्रिकेन्ट ल्याएर त्यसै गरेको छ । सर्भो नहाले मोटरसाईकलमा ग्यारेन्टी हुँदैन भनिरहेको छ । त्यस्तै, होण्डाले होण्डा आयल ल्याएर त्यसरी नै उपभोक्तालाई किन्न वाध्य बनाएको छ । गाडी विक्रेतालाई यसरी उपभोक्तालाई वाध्यतामा राखेर लुब्रिकेन्ट बेचिरहेका छन् । यो गलत अभ्यास हो । यसले उपभोक्ताको मौलिक अधिकार खोसेको छ । यस विषयमा हामीले सरकारको ध्यानाकर्षण गराएका छौं । सरकारले नयाँ नियमावली ल्याएर यस्तो गलत काम रोक्छौं भनेको छ । सरकारले यस्तो नियम ल्याएर लुब्रिकेन्टको ग्रेडको आधारमा प्रयोग गर्न पाउने अधिकारी उपभोक्तालाई दिने हो भने नेपाली प्रडक्टको खपत धेरै बढ्छ । अहिले पनि विदेशी लुब्रिकेन्ट र नेपाली लुब्रिकेन्टको एमआरपी उस्तै हुन्छ । तर विदेशी ब्राण्ड बेच्नेले एमआरपीमा नै बेचिरहेका छन् । तर डिलरलाई ३० प्रतिशतसम्म छुट दिएका हुन्छौं । डिलरले रिटेलरलाई ३० प्रतिशत छुट दिएको हुन्छ । २० प्रतिशतसम्म छुट दिएका छौं । नेपाली ब्राण्ड बिक्री हुँदा तीन तहमा नेपालीले फाइदा लिएको हुन्छन् । यसबाट धेरै नेपालीले राम्रो आम्दानी पनि गरेको छन् । रोजगारीको अवसर सिर्जना गरेको छन् । प्रत्यक्ष अप्रत्यक्ष रुपमा सरकारलाई ठूलो मात्रामा कर आम्दानी भएको छ । नेपाली उत्पादन बिक्री हुँदा प्रतिकेजीमा १०० रुपैयाँ विदेश जान्छ भने विदेशी ब्राण्ड बिक्री गर्दा प्रतिकेजी ३०० रुपैयाँ विदेश जान्छ । त्यसले न रोजगारी सिर्जना गरेको छ न नेपालीलाई राम्रो फाइदा दिएको छ । उपभोक्ताले एक लिटर नेपाली लुब्रिकेन्ट किन्दा २०० रुपैयाँ देशलाई फाइदा हुन्छ । यस्तो जानकारी भएका उपभोक्ताले नेपाली लुब्रिकेन्ट प्रयोग गर्न सक्छन् ? विभिन्न कम्पनीहरुले ५ वर्ष, ८ वर्ष वा १० वर्ष वारेन्टी गरेर सवारी बेचेका हुन्छन् । त्यो वारेन्टी अवधि भर गाडी बेच्ने कम्पनीले नै बेच्दै आएको लुब्रिकेन्ट मात्र किन्न उपभोक्तालाई वाध्य पारिएको छ । वारेन्टी अवधि सकिएपछि उपभोक्ता आफ्नो रोजाई अनुसारको वर्कशपमा गएर सर्भिस गराउन थाल्छन् । त्यतिबेला उनीहरुले आफ्नो रोजाई अनुसारको लुब्रिकेन्ट प्रयोग गर्न पाउँछन् । हामीले बजारमा भएको यस्तो ठगी रोक्न सरकारसँग लविङ गर्दै आएका छौं । हालै अर्थमन्त्री युवराज खतिवडासँग पनि यस विषयमा गम्भिर छलफल भयो । उहाँले नेपाली उद्योगलाई प्रवद्र्धन गर्ने, नेपाली उत्पादनलाई प्रयोग गर्न प्रोत्साहित गर्ने र उपभोक्तालाई खरिदमा छनौटको अधिकार सुरक्षीत बनाउने गरी काम गर्छु भन्नु भएको छ । रातो कितावमा नेपाली उत्पादन १० प्रतिशत महँगो भए पनि नेपाली नै प्रयोग गर्ने भनिएको छ । त्यो कार्यान्वय गर्न नियमावली जारी भएको छैन । अर्थमन्त्रीले छिट्टै नियमावली बनाएर जारी गर्छु भन्नु भएको छ । नेपाली उत्पादन सरकारी कार्यालयले नकिन्ने समस्या छ । नेपाली लुब्रिकेन्ट प्रतिलिटर ४०० रुपैयाँमा किन्न पाइन्छ । तर सरकारी कर्मचारीले प्रतिलिटर ७०० रुपैयाँ पर्ने विदेशी लुब्रिकेन्ट किन्छन् । किनकी उनीहरुले त्यसमा कमिशन पाएछन् । सरकारी कर्मचारीहरुले कतिसम्म बद्मासी गरिरहेका छन् भने १००० लिटरको विल बनाउने, ५०० लिटर किनेको छ । १००० लिटरको विल बनाएर लिन्छन् । एकातिर कमिशन पाउँछन् अर्कोतिर खरिद बिल बढीको बनाएर दोहोरा लाभ लिन्छन् । विदेशी कम्पनीसँग एमआरपीमा किन्छन् । नेपाली कम्पनीले एमआरपीमा २० प्रतिशत छुट दिदाँ पनि किन्दैनन् । यस्तो कमिशन खेलको हामीले खुलेर विरोध गरेको छौं । मन्त्रीलाई, तीनै तहका जनप्रतिनिधिहरुलाई कमिशनको खेल, अटोमोवाईल व्यवसायीले उपभोक्तालाई ठगेको कुरा राखेको छौं । खासगरी हामीले अर्थमन्त्री युवराज खतिवडाबाट यो विषयमा बढी सहयोगको अपेक्षा गरेका छौं । नेपाली लुबिकेन्टले प्रयोग गर्ने मुलभूत कच्चा पदार्थ विदेशबाट नै आयात हुन्छ । तयारी बस्तु उपत्पादन हुन्दा कति प्रतिशत उपयोगिता बढ्छ ? न्यूनतम १०० देखि १५० प्रतिशतसम्म भ्यालु एड भएको हुन्छ । सरकारले १० प्रतिशत मात्र भ्यालु एड भयो भने पनि उद्योग मान्ने भनेको छ । बेस आयल मात्र आयात हुने हो । बट्टा नेपालमा बन्छ । कार्टुन नेपालमा बन्छ । स्टीकर नेपालमा बन्छ । व्लेण्डिङ यहि हुन्छ । नेपाली श्रमिकले काम गर्छन् । नेपालको बिजुली खपत हुन्छ । पीएलओ कै कुरा गर्दा २०० भन्दा बढी कर्मचारीको तलब पाउँछन् । देशभरका डिलर, रिटेलर, तिनका कर्मचारी, उनीहरुको परिवार पालिएका छन् । सरकारले कर पाउँछ । कम्पनीले नाफा लिन्छौं । मूल्यको हिसावले १५० प्रतिशतसम्म भ्यालु एड हुन्छ र पनि विदेशी लुब्रिकेन्ट भन्दा सस्तो मूल्यमा उपभोक्ताले नेपाली लुब्रिकेन्ट प्रयोग गर्न पाएका छन् । पीएलओ लुब्रिकेन्ट निर्यातकाे तयारी भएकाे छ ? हामी तत्काल नजिकका देशहरुमा निर्यातको तयारीमा छौं । बंगलादेश, पाकिस्तान, बुटान, श्रीलंका, माल्दिभ्स, वर्मा लगायत १० वटा देशहरुमा नियातको तयारी गरिरहेका छौं । धेरै ठाउँमा वितरक तयार पनि गरेका छौं । हामीले ती देशहरुमा विभिन्न तहमा सर्भे गरेको छौं । हाम्रो प्रतिस्पर्धी क्षमताको विश्लेषण गरेको छौं । नेपाली लुब्रिकेन्ट विदेशमा प्रतिस्पर्धी हुनुको आधार के के हुन् ? विभिन्न ६३ देशमा बनेका लुब्रिकेन्ट नेपालमा बिक्री भएका छन् भने नेपाली ब्राण्ड विदेशमा नजाने कुरै भएन । विदेशी लुब्रिकेन्ट भन्दा नेपाली लुब्रिकेन्टको मूल्य २० प्रतिशत सस्तो छ । नेपाली श्रमिक सस्तो छ । नेपालमा बिजुली सस्तो छ । यसले हाम्रो उत्पादन लागत कम हुन्छ । सरकारले पनि निर्यातका लागि इन्सेन्टिभ दिएको छ । हामीलाई बढी मूल्य तिर्नु पर्ने भनेको ढुवानी भाडामा मात्र हो । भाडा कम गर्नको लागि हामीले बेस आयल ल्याउने कन्टेनरबाट नै तयारी लुब्रिकेन्ट निर्यात गर्ने तयारी गरेका छौं ।
निर्मला पन्तलाई न्याय माग्दै नेकपाका कार्यकर्ता सडकमा
काठमाडौं । कञ्चनपूरमा बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय माग्दै नेकपाका कार्यकर्ता सडकमा उत्रिएका छन् । शुक्रबार नेकपाको भातृ संगठन अनेरास्ववियुको सरस्वति क्याम्पस कमिटीले ठमेल-लैनचौर क्षेत्रमा जुलुस निकाल्यो । सैयौं युवा विद्यार्थी सहभागी भएको जुलुसलाई नेकपा केन्द्रिय सदस्य दिलु कुमारी पन्त, अनेरास्ववियुका केन्द्रिय सचिव सुदेश पराजुली लगायतले सम्बोधन गरेका थिए । नेकपा केन्द्रिय सदस्य दिलुकुमारी पन्तले बलत्कार तथा हत्या जस्ता जघन्य अपराधमा संलग्नहरुलाई महिनौंसम्म पक्रेर कारवाही गर्न नसक्नु दुई तिहाई बहुमत प्राप्त बामपन्थी सरकारका लागि लज्जाको बिषय भएको बताइन् । उनले आधा आकाश ढाक्ने महिलाहरु असुरक्षित रहने मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति कसरी सम्भव छ भन्ने प्रश्न समेत गरेकी थिइन् । सरकारले अपराधीलाई पक्रन नसकेको हो वा पक्राउ गर्न नचाहेको हो नागरिक दुविधामा परेको उनको आरोप थियो । अनेरास्ववियुका केन्द्रिय सचिव सुदेश पराजुलीले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्टलाई तत्काल पक्राउ गर्न अनुरोध गरे । उनले बिष्टलाई २४ घण्टा भित्र पक्राउ गरेर कारवाही नथाले देशैभर आन्दोलन गर्ने चेतावानी पनि दए । सरकार निर्मलाले न्याय कहिले पाउँछिन भन्ने ब्यानरमा प्रर्दशन गरेका उनीहरुले हत्यारालाई फाँसी दे, महिला हिंसा बन्द गर लगायतका नारा लगाएका थिए । दुई तिहाई बहुमत प्राप्त सरकारले बलत्कार तथा हत्या जस्तो गम्भिर अपराधमा संलग्नलाई महिनौंसम्म पक्राउ गर्न नसक्नुले नागरिकमा सरकार र न्याय प्रति नै अविश्वास पैदा भएको अनेरास्ववियुका केन्द्रिय सदस्य अशोक थापाले बताए ।
स्वास्थ्य क्षेत्रमा बन्द, हड्ताल वर्जित
काठमाडौं । सर्वोच्च अदाततले स्वास्थ्य सेवा बन्द हड्तालजस्ता कार्य नगर्न नेपाल चिकित्सक सङ्घको नाममा आदेश जारी गरेको छ ।न्यायाधीश दीपकराज जोशीको एकल इजलासले स्वास्थ्य सेवाजस्तो आधारभूत क्षेत्रमा बन्द हडताल नगर्ने सङ्घको नाममा आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “सङ्घको भदौ २६ गतेदेखि स्वास्थ्य सेवा बन्द गर्ने भनिएको निर्णय अर्को आदेश नभएसम्म तत्काल कार्यान्वयन नगर्ने नगराउनु ।” उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता विष्णुप्रसाद तिमिल्सनाले स्वास्थ्य क्षेत्रजस्तो आधारभूत क्षेत्रमा बन्द हड्ताल गर्न नहुने भन्दै रिट निवेदन दायर गरेका थिए। सङ्घले मुलुकी अपराध ९संहिता० ऐन २०७४ संशोधनका विषयलाई लिएर आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । सरकार र सङ्घबीच वार्तापछि पाँचबुँदे सहमति भएको थियो ।
दर्जनौ पुल आयोजना अलपत्र पार्ने विवादास्पद पप्पु कन्ष्ट्रक्सन राष्ट्र बैंकको भवन बनाउन छनौट
काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त नेपाल राष्ट्र बैंकको भवन बनाउन विवादस्पद पप्पु कन्ट्रक्सन कम्पनी प्राइभेट लिमिटेड प्राविधिक रुपमा छनौट भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले बोलपत्र आब्हान गर्दा भाग लिने मध्ये पप्पुलगायत १२ निर्माण व्यवसायी प्राविधिक रुपमा पास भएका छन् । पप्पुले एसआरबीसीसंगको संयुक्त उपक्रम (जेभी) संग बोलपत्र पेश गरेको आयोजना कार्यान्वयन इकाईले जनाएको छ । धरहराको सुपरीवेक्षणको काम गर्नका लागि छनौट भएको पप्पुले राष्ट्र बैंकको भवन बनाउन प्राविधिक रुपमा सक्षम प्रमाणपत्र सरकारबाट पाएको छ ।आर्थिक प्रस्ताव खोल्न बाँकी रहेको आयोजना कार्यान्वयन इकाईले जनाएको छ । आर्थिक प्रस्तावमा सबैभन्दा सस्तो दर भएमा पप्पुले राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पाउने छ । पप्पुले ठेक्का पाएमा राष्ट्र बैंकको भवन निर्माण पनि अनिश्चित बन्नेछ । आयोजना कार्यान्वयन इकाईले असोज ५ गते बिहान ११ बजे आर्थिक प्रस्ताव खोल्ने जानकारी दिएको छ । सबैभन्दा कम दर प्रस्ताव गरेको पाइएमा पप्पुले राष्ट्र बैंकको भवन बनाउने ठेक्का पाउने छ । पप्पुले ठेक्का पाएका कुनै पनि आयोजना निर्धारित समयमा सकिएको छैन् । पप्पुमाथि गुणस्तरहीन काम गरेको आरोप लाग्दै आएको छ । उसले ७ किलोमिटर भन्दा बढी लामो पुल अायाेजनाकाे ठेक्काको काम गर्न बाँकी रहेको छ । पप्पुले वर्षोदेखि पुल निर्माण अलपत्र पारेर छाडेको छ । पप्पु कन्ष्ट्रक्सन संघीय समाजवादी फोरमका अध्यक्ष हरिनारायण रौनियारको हो । उनले हालै एक दैनिक अखवारमा अन्तरवार्ता दिदै पप्पुमाथि लागेको आरोप सत्य नभएको दावी गरेका छन् । अहिले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले पप्पुले लिएका आयोजनाको अध्ययन गरिरहेको छ । अध्ययन प्रतिवेदन आएपछि कार्वाही प्रक्रिया अघि बढाउने मन्त्री रघुवीर महासेठले बताएका छन् । राष्ट्र बैंकको भवन बनाउन प्राविधिक प्रस्ताव पास हुनेमा क्यापसिटी गौरी पार्वती जेभी, कुमार सीएफसी जेभी, सीआर ५ स्वच्छन्द जेभी, जीआईएसी, शर्मा लाभा जेभी, जेटिक रमन जेभी रहेका छन् । प्राविधिक रुपमा सफल हुने अन्य कम्पनीमा सीसो समानन्तर जेभी, बीएलके रसुवा रोशन जेभी, एसआरबीसी पप्पु जेभी, चाइना रेल्वे गजुरमुखी जेभी, बिल्ल कन्टेक जेभी, तँदी केसी जेभी र बीकोइ हेविइ जेभी रहेका छन् ।
सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशक खोज्दै, असोज १२ गतेसम्म आवेदन दिन आब्हान
काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया सुरु गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशक नियुक्त गर्नका लागि दरखास्त आब्हान गरेको छ । मन्त्रालयले कार्यकारी निर्देशकका लागि असोज १२ गतेभित्र दरखास्त दिन आब्हान गरेको छ । कार्यकारी निर्देशक बन्न अर्थशास्त्र, वाणिज्यशास्त्र, इन्जिनियरिङ र व्यवस्थापन जुनसुकै विषयमा स्नातकोत्तरसम्म अध्ययन पुरा गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।
तारागाउँ रिजेन्सी होटल्सको नाफा घट्यो, गत वर्ष २५ करोड मात्र
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको गत आर्थिक वर्षमा नाफा घटेको छ । गत आर्थिक वर्ष ०७४/०७५ मा होटल्सले २५ करोड ७० लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा होटल्सले २८ करोड ७ लाख रुपैयाँ गरेको थियो । गत वर्ष होटलको नाफा ३ करोड रुपैयाँ घटेको छ । होटलको ब्याँकेट हल र मिटिङ रुम रिनोभेसनको कामले बन्द भएको र सञ्चालन खर्च बढेका कारण नाफ घटेको कम्पनीले जानकारी दिएको छ । होटल्सको प्रतिसेयर आम्दानी (ईपीसी) १३ रुपैयाँ ६३ पैसा रहेको छ । गत वर्ष बिक्रीबाट हुने आम्दानी ५ करोड बढेर १ अर्ब ४७ करोड रुपैयाँ आम्दानी भएको थियो । अघिल्लो वर्ष १ अर्ब ४२ करोड रुपैयाँ रहेको होटल्सले जनाएको छ ।
पुर्वपश्चिम रेलमार्गमा सहयोग गर्न अर्थमन्त्रीको आग्रह
काठमाडौ । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको भौतिक पूर्वाधारको विकासमा सहयोग गर्न जापान सरकारसँग आग्रह गरेका छन् ।शिष्टाचार भेटवार्ताका लागि बिहीबार अर्थ मन्त्रालय पुगेका नेपालका लागि जापानी राजदूत मासामिची साइगोलाई भौतिक पूर्वाधारका क्षेत्रमा लगानीका लागि अनुरोध गरेका हुन्। आर्थिक तथा सामाजिक विकासका लागि नेपालमा लामो समयदेखि सहयोग गर्दै आएको जापान सरकारबाट थप सहयोगको अपेक्षा गरेको भन्दै अर्थमन्त्री डा खतिवडाले आफूहरु आर्थिक विकास तथा समृद्धिको मार्गमा केन्द्रित रहेको बताए। अर्थमन्त्रीले डा खतिवडाले पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि जापानी आयात निर्यात बैंकबाट सहुलियत ऋण उपलब्ध गराइदिनसमेत राजदूतलाई आग्रह गरेका थिए । सो अवसरमा राजदूत साइगोले जापान सरकारको सहयोगमा निर्माण भएको सिन्धुली– बर्दिबास सडकको शीघ्र मर्मतका विषयमा अर्थमन्त्रीलाई आग्रह गरेका थिए । जापानी राजदूतले पछिल्लो समयमा नेपालमा लगानीका लागि जापानी व्यवसायी इच्छुक रहेको र आकर्षितसमेत भएको बताएका थिए । रासस
काठमाडौं-पटना-बोधगया सिधा यातायात सुचारू, अनलाइनबाटै टिकट काट्न सकिने
काठमाडौं । काठमाडौदेखि भारतको बिहार राज्यका मोतिहारी, मुजफ्फरपुर, पटना, बोधगयाका लागि सिधा यातायात सेवा सुचारू भएको छ । बिहार राज्यपथ परिवहन निगम र स्वयम्भू मञ्जुश्री यातायात प्रा.लि.को सहकार्यमा काठमाडौंदेखि पटना बोधगयासम्म सेवा सञ्चालन भएको हो । बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरीले संयुक्त रूपमा उक्त सेवाको शुभारम्भ गरेका छन् । यसैगरी जनकपुरदेखि पटनाका लागि ३१ गते आइतबारदेखि सिधा बस सेवा शुरू हुनेछ । सोही कार्यक्रमको उद्घाटन प्रदेश नं.२ का मूख्यमन्त्री लालबाबु राउतले गर्ने कार्यक्रम रहेको छ । स्वयम्भू मञ्जुश्री यातायातले भारतका नयाँ क्षेत्रमा यातायात सञ्चालन गरेसँगै अनलाइनबाट बस टिकट काट्न सकिने सेवाको व्यवस्था गरेका छन् । अबदेखि यात्रीहरूले www.manjushreeyatayat.com.np मार्फत् अनलाइन टिकट काट्न सक्नेछन् । यसैगरी बस सेवाको वेबसाइट बससेवा डटकम (www.bussewa.com) तथा बस सेवाको मोबाईल एप्स, इसेवाको वेबसाइट तथा मोबाईल एप्लिकेशनबाट समेत टिकट काट्न सकिनेछ । इसेवा एकाउन्ट नभएका यात्रुले आफ्नो टोल छिमेकमा रहेका इसेवाकाजोन तथा पोइन्टबाट टिकट काट्न सक्नेछन् । साथै भविष्यमा आइएमइ पे, इप्रभु तथा एनआइसी एसिया बैंकमार्फत् समेत टिकट काट्न सकिनेछ । राजधानीमा आयोजित बस उद्घाटन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातयातमन्त्री रघुवीर महासेठले दुई देशका बीचमा यातायात सञ्चालन हुँदा दुई मुलुकका जनतालाई आवतजावतमा सहजता हुने बताए ।