लोकभाका बिलाउँदै गएको अवस्थामा आफ्नो संस्कृतीलाई जीवन्त राख्न लागिपरेको छुः अन्जान गौतम
गुल्मी दरबार गाउँपालिका झिरबासमा जन्मिएका गायक अन्जान गौतम लोक तथा दोहोरी गायक हुन। ४ बर्षअघि संगीतको दुनियाँमा प्रस्थान गरेका उनले यसलाई आफ्नो जीवनको एउटा सहि निर्णय रहेको बताउँछन्। काब्रेपोखरी मा.वि जुगुम गुल्मीबाट एसएलसी दिएका उनले प्लस टु बागबजारको काठमाडाैं मोडल कलेजबाट गरेपछि अपोलो ईन्टरनेसनल कलेजबाट बीबीए गरिसकेपछि सांगितिक दुनियाँमा छिरेका हुन्। हाल उनी शंकरदेव क्याम्पसमा मास्टर डिग्री अध्ययन गरिरहेका छन्। सांगीतिक यात्राका विषयमा गायक गाैतमसंग विकासन्युजका लागि डोमी शेर्पाले गरेको कुराकानी । यहाँलाइ संगीत प्रति रुची कसरी बढ्यो? म सानै हुँदादेखी नै संगीत प्रति झुकाव राख्थें। आमाबुवाले केही गर्न नसके पनि यसले गाएर चाँही खान्छ है भन्नु हुन्थियो। सानैबाट घरमै खुब गाउँने गरिन्थियो। यताउता गाउँमा हुने कार्यक्रमहरुमा पनि म गाउँने गर्थे। त्यसरी गाउँदै जाने क्रममा मेरो संगित प्रति झनै रुची बढ्दै गयो । कसरी गीत रेकर्ड गरिदोँ रहेछ भनेर जान्ने पनि मेरो ठुलो ईच्छा थियो । त्यही सिलसिलामा स्नातकपछि म यस संगितको दुनियाँमा प्रवेश गरेको हुँ। तपाईंले अहिलेसम्मको कति वटा गीत रेकर्ड गराईसक्नु भयो? मैले अहिले सम्म ४ वटा तीजको, एउटा दोहोरी र दसैंको गीत रेकर्ड गराई सकेको छु। तीजको गीत बढी भए पनि मैले लोकगीतलाई बढी प्रथामिकता दिने प्रयासमा छु ।किनभने म आँफैमा पनि लोकभाका प्रेमी हुँ। लोकभाका बिलाउँदै गएको अवस्थामा म एक युवा भएको हिसाबलेले आफ्नो संस्कतीलाइ जीवंत राख्नुपर्छ भन्ने मेरो सोच रहेको छ। मेरा सबै गीतहरु युट्युबमा उपलब्ध छन्। दर्शकको प्रतिकृया कस्तो पाउनु भएकाे छ? दर्शकको राम्रो प्रतिकृया रहेको छ । जसको कारण मलाई हरदम गाउन प्रोत्साहन मिलेको छ। ब्यवसायीक हिसावमा राम्रो हुन नसके पनि दर्शकको मनमा ठाउँ पाएको छु। युट्युब र स्टेज कार्यकरम आम्दानीका श्रोत रहेको छ। अहिलेसम्म आमदानी सन्तोषजनक रहेको छ। मैले अहिलेसम्म सबै गीतहरु स्पोन्सरबाटै गरेको छु। मेरो बिदेशमा दाजुभाई र साथीहरु हुनुहुन्छ, उहाँहरुकै सहयोगमै अहिलेसम्म मेरो सांगीतिक यात्रा अघि बढीरहेको छ । औपचारिक रुपमा तपाईले संगीत सिक्नु भयो कि भएन ? अँह, मैले अहिलेसम्म औपचारिक रुपमा संगीत सिकेको छैन। म अहिले अब अर्को दोहोरी गीत रेकर्ड गर्ने क्रममा छु । पढाईको लागि बाहिर जाने तयारिमा छु । त्यसैले गर्दा पनि मैले मेरो ट्रेनिङमा ध्यान दिन पाईरहेको छैन । तर म अब म ट्रेनिङ लिने तयारिमा छु। बाहिर जानअघि ट्रेनिङ लिएर बिदेशमा गएर पनि त्यसलाई निरन्तारता दिने सोच मैले बनाएको छु। मैले अझै यो क्षेत्रमा धेरै गर्न बाँकी छ। बिदेश गएर संगीत बिर्सिने त हैन? त्यसतो त होईन संगीतमा सधैं मन मुटुमा रहिरहन्छ। ठाउँ परिवर्तन गरेर संगीतलाई बिर्सिने हुँदैन। म जहाँ भए पनि संगित सधैं म संगै रहनेछ। अहिले आएको नयाँ गीत कस्तो रहेको छ? अहिले मेरो गीत तीजकाे टिपिकल गीत हाे। यसमा देवी घर्ती र मेरो स्वरमा छ। यसमा लय शब्द पनि मेरो छ। यसमा अरेन्ज कृष्ण भान्जाले गर्नुभएको हो भने रेकर्डिङ बागबजार सांगरा स्टुडियोबाट गरेको हुँ। कस्तो दर्शकले तपाईंको गीत मनपराउने गरेका छन ? मेरो संगीत मनपराउनु हुने प्राये युवाहरु भन्दा पनि युवा अवस्था पार गरेका मानिसहरु हुनुहुन्छ। भ्याली भन्दा बाहिर रहेको दर्शकहरुको माया बढी पाइरहेको महसुस हुन्छ मलाई।
माछापुच्छ्रे बैंकद्धारा स्मार्ट बचत खाताको ग्राहकलाई बीमा रकम भुक्तानी
काठमाडौं । माछापुच्छ्रे बैंकले भक्तपुरकी बिन्दिना त्यातलाई स्मार्ट बचत खाताको बीमा अन्तर्गत ४३ हजार ८ सय ८६ रुपैयाँ भुक्तानी गरको छ । त्यातले ३ महिनाअघि माछापुच्छ्रे बैंकको भक्तपुर शाखामा स्मार्ट बचत खाता खोलेकी थिइन् । ५ हजार रुपैयाँ न्यूनतम मौज्दात राखी खोल्न मिल्ने स्मार्ट बचत खातामा ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, १ लाख रुपैयाँसम्मको अस्पताल भर्ना खर्च र ५ हजार रुपैयाँसम्मको औषधी खर्च जस्ता सुविधाहरु निःशुल्क पाउँदै आएका छन् । स्मार्ट बचत खाता खोलेकी त्यातले अस्पताल भर्ना खर्चको दाबी गरी उक्त रकम प्राप्त गरेकी हुन् । त्यातले आफ्नो उपचार खर्च बैंकबाट फिर्ता पाएकोमा विश्वास नै नलागेको बताइन् । बैंकले अब बचत खातामा प्रदान गर्दै आएको ब्याजदर वृद्धि गरि ७ प्रतिशत पुर्याएको छ । बैंकले विभिन्न बचत खाताहरुमा ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ । ग्राहकहरुले स्मार्ट बचत खाता तथा तलब व्यवस्थापन खातामा ७ प्रतिशत ब्याजदर पाउन सक्नेछन् । यो व्यवस्थासँगै ग्राहकहरुले बैंकले प्रदान गर्दै आएका अन्य सुविधा सहित आफ्नो बचतको उच्चतम प्रतिफल पाउने भएका छन् । मुद्दती निक्षेपमा पनि बैंकले १०.५ प्रतिशतसम्मको उत्कृष्ट ब्याजदर दिदैं आएको छ ।
२८ किलोमिटर चक्रपथमा ३ वर्षभित्र मोनोरेल, लागत ११६ अर्ब
काठमाडौं । चक्रपथमा मनोरेल बन्ने पक्का भएको छ । चिनियाँ कम्पनी सिसिआरसीले गरेको प्रारम्भिक अध्ययनमा चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने प्रतिवेदन सार्वजनिक गरेको हो । मोनोरेल निर्माणका लागि १ खर्ब १६ अर्ब लागत लाग्ने काठमाडौं महानगर पालिकाका पुर्वाधार विकास प्रमुख महेश काफ्लले जानकारी दिए । उनका अनुसार रेल चिनियाँ लगानीमा निर्माण हुनेछ । आयोजनाको डीपीआर निर्माणको लागि ६ महिना लाग्नेछ । त्यसको ३ वर्षपछि मोनोरेलको काम सम्पन्न हुनेछ । प्रतिवेदनमा भौगोलिक वातावरण सबै प्रकारले उपयुक्त हुने जनाइएको छ । मोनोरेल निर्माणका लागि चिनियाँ कम्पनी र महानगरपालिका बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार कम्पनीले मोनोरेल निर्माण सम्पन्न गरेपछि लागत खर्चको सिमीत ब्याजदर तिर्दै जानेछ ।
एनआईसी एशिया बैंकले ल्यायो ०.९ प्रतिशत ब्याजमा चमत्कारिक सवारी र घरजग्गा कर्जा
काठमाडौं । एनआईसी एशिया बैंकले एकै पटक दुई नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले चमत्कारिक सवारी कर्जा र चमत्कारिक घर जग्गाकर्जा योजना सार्वजनिक गरेको हो । बैंकले ”एनआईसी एशियाको साँच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार” भन्ने नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको छ । यस योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहनेले समेत चमत्कारिक लाभ उढाउन सक्ने बैंकले जनाएको छ । तुरुन्तै कर्जा स्वीकृति हुने, अधिकतम १५ बर्षसम्मको कर्जा भुक्तानी अवधि, न्यून मासिक किस्ता रकम सवारीको मुल्यअनुसार मासिक ११ हजार रुपैयाँबाट नै किस्ता रकम शुरु हुने, आंशिक अथवा पूर्ण रुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने व्यवस्था रहेको बैंकले जनाएको छ । यस योजना अन्तर्गत मासिक ब्याजदर ०.९ प्रतिशत, प्रशासनिक सेवा शुल्कमा विशेष छुट र घर जग्गा, सवारी दुवै कर्जा लिने ग्राहकहरुलाई विशेष छुटको ब्यवस्था गरिएको छ । यस्तै, बैंकले सार्वजनिक गरेको चमत्कारिक घर जग्गा कर्जा योजना अन्तर्गत आफ्नो आम्दानीअनुसार मासिक किस्ता निर्धारण गर्न सकिने, अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि, आंशिक अथवा पूर्ण रुपमा विना कुनै शुल्क पूर्वभुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने रहेको बैंकले जनाएको छ । कर्जा रकम घटाई नयाँ किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने, मासिक ब्याजदर ०.९ प्रतिशत मात्र, प्रशासनिक सेवा शुल्कमा विशेष छुट, आधार दरमा भएको परिवर्तन अनुसार मात्र ब्याजदर परिमार्जन हुने भएको छ ।
मुक्तिनाथ विकास बैंकले १९ प्रतिशत बोनस दिने, सेयरको पनि मूल्य बढ्यो
काठमाडौं । मुक्तिनाथ विकास बैंकले १९.२१ प्रतिशत लाभांश दिने भएको छ । बुधबार बैंक सञ्चालक समितिले गत वर्षको नाफाबाट १८.२५ प्रतिशत बोनस सेयर र ०.९६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको सेयर पुँजी २ अर्ब ५९ करोड १७ लाख रुपैयाँ छ । गत वर्षको नाफाबाट ४९ करोड ७८ लाख रुपैयाँ लाभांश बाड्न लागको बैंकले जनाएको छ । सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भई साधारणसभाबाट पास भएपछि सेयरधनीले उक्त बोनस सेयर पाउने छन् । बुधबार बैंकको सेयर प्रतिकित्ता ४१० रुपैयाँमा कारोबार भएको छ । बोनस सेयरको घोषणासँगै विहीबार सेयर मूल्य बढेको छ ।
ठगी गर्ने ३३७ ट्याक्सीलाई कारबाही
काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको विशेष अभियानअन्तर्गत ३३७ ट्याक्सी कारबाहीमा परेका छन् । भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो । महाशाखाले यही भदौ २१ गतेदेखि उक्त अभियान सञ्चालन गर्दै आएकोे छ । भदौ २१ मा ७१, २२ मा ६१, २३ मा ५१, २४ मा ४०, २५ मा ४१, २६ मा ४९ र २७ मा २४ ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरिएको थियो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सी चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।“महाशाखामा ट्याक्सीले यात्रुलाई ठगेको गुनासो धेरै आएपछि विशेष अभियान सञ्चालन गरेका हौँ”, उनले भने, “यात्रु ठग्ने ट्याक्सी चालकलाई कारबाहीका लागि निरन्तर अभियान सञ्चालन गरिन्छ । ” महाशाखाले विशेष अभियान सञ्चालनका लागि ५० ट्राफिक प्रहरी खटाएको छ । नियन्त्रणमा लिएका ट्याक्सीलाई यातायात व्यवस्था विभागद्वारा प्रत्यायोजित अधिकार अन्तर्गत ३ हजार रुपैयाँसम्म जरिवाना गरिएको महाशाखाले जनाएको छ । महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टले ठमेल, शिक्षण अस्पताल, माछापोखरी, कलङ्की, कोटेश्वर, विमानस्थललगायतका क्षेत्रमा बढी ट्याक्सीबाट ठगी हुने गरेको पाइएको बताए। “सबै ट्याक्सी चालकले ठगी नगरे पनि अधिकांंश ट्याक्सी चालकले ठगी गरेको पाइयो”, उनले भने । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा १० हजार ६४५ ट्याक्सी सञ्चालन हुन्छ । रासस
इटालियन मोटरसाइकल एसडब्लुएम नेपाल, मूल्य २३ लाख रुपैयाँ
काठमाडौं/नाडा अटो शोको अवसरमा इटालियन मोटरसाइकल एसडब्लुएम नेपालमा सार्वजनिक गरिएको छ । एसडब्लुएम मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता ज्ञान अर्थमुर्भस प्रा. लि.ले यो बाइक भित्र्याएको हो । एसडब्लुएमका आरएस ३००आर, सुपर ड्युअल ६५०टी र सिल्भर भेस ४४० का मोडल भित्र्याइएका छन् । आरएस ३०० आरको मूल्य १६ लाख, सुपर ड्युअल ६५०टीको २३ लाख रुपैयाँ र सिल्भर भेस ४४० को मूल्य चौध लाख पचास हजार कायम गरिएको छ । ईन्डुरो, क्लासिक र एड्भेन्चर टुरर मोटरसाइकलको रुपमा यी मोटरसाइकलले नेपाली बजारमा अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको कम्पनीको निर्देशक दीपेश श्रेष्ठले बताए । इटालियन कम्पनी एसडब्लुएमले सन् १९७१ देखि मोटरसाइकल उत्पादन थालेको थियो । फरक बनावट र आकर्षक डिजाइनका कारण सो कम्पनीका मोटरसाइकल लोकप्रिय छन् । एसडब्लुएमका सबै मोडलका बाईक तथा यसका इन्जिनहरुको डिजाईन एवं उत्पादन÷एसेम्ब्ली लेम्बोर्डिया, ईटालीमा अवस्थित फ्याक्ट्रीमा भएको हो । कम्पनीले बालुवाटारमा शोरुम र वर्कशप खोलेको छ । निकट भविष्यमा चितवन, पोखरा, बुटवल र धरानमा डिलर खोल्ने तयारी भएको श्रेष्ठले जानकारी दिए ।
संसारकै सबैभन्दा लामो केबल कार नेपालमा बन्दै, बिरेठाँटीदेखि मुक्तिनाथसम्म ८३.६५ किलोमिटर
काठमाडौं । संसारको सबैभन्दा लामो केबल कार नेपालमा बन्ने भएको छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथमा संसारकै लामो केबल कार निर्माण हुन लागेको हो । कास्कीको बिरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म ८३.६५ किलोमिटर लामो केबलकार निर्माण गर्न लागिएको हो । हालसम्म विश्वमा १५ किलोमिटर भन्दा लामो केबलकार निर्माण भएका छैनन् । संसारकै लामो केबलकार निर्माण गर्न लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालीबिच १८ महिनाभित्रै विस्तृत परियोजना प्रस्ताव(डीपीआर) बनाउने सम्बन्धी सहमति पत्रमा हस्ताक्षरभएसँगै केबल कारको काम अघि बढेको हो । कास्कीको बिरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म ८३.६५ किलोमिटर लामो केबलकारको निर्माण लागत करिब ३४ करोड अमेरिकी डलर बराबर हुने प्रारम्भिक प्रक्षेपण गरिएको छ । यो केबल कार निर्माण भएमा पोखराबाट मुक्तिनाथसम्मको यात्रा केहि घण्टामै सिमित हुनेछ । डीपीआर निर्माण सम्बन्धी सम्झौता पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मुक्तिनाथ दर्शन प्रालीका अध्यक्ष अरुण कुमार सुवेदीले हस्ताक्षर गरेका हुन् । बिरेठाँटीमा मुल स्टेशनसहित केबलकारका ६ वटा स्टेशनहरु रहनेछन् । घोरेपानी, तातोपानी, लेते मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथमा सब स्टेशनहरु निर्माण हुनेछन् । २०७५ बैशाख १५ गते प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बोर्डको बैठकले बिरेठाँटी मुक्तिनाथ केबलकारको डीपीआर तयार पार्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार बोर्डले मुक्तिनाथ दर्शन प्रालीसँग सम्झौता गरेको हो । सम्झौता अनुसार प्रालीले आगामी १८ महिनाभित्र डीपीआर तयार गरेर बुझाउने छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरुको पवित्र तिर्थस्थलका रुपमा रहेको मुक्तिनाथमा केबल कार निर्माणले पर्यटन प्रवद्र्धनमा ठूलो मदत गर्नेछ ।