आइएमई जनरल इन्स्योरेन्स र ग्राण्डी हस्पिटलबीच क्यास लेस सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापा र ग्राण्डी हस्पिटलका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म ग्राण्डी हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । सोही अवसरमा इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापाले हस्पिटलसँगको सहकार्यमा कम्पनीका ग्राहकहरुलाई बीमालेखमा तोकिएको सिमासम्म क्यास लेश हस्पिटलाईजेशन सुविधा प्रदान गर्ने इच्छा व्यक्त गरी संझौता गरेकोमा अस्पतालको संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिएका छन्। साथै, कार्यक्रममा हस्पिटलले आफ्ना ग्राहकहरुलाई इन्स्योरेन्ससंग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन आग्रह गरेका छन् । साथै, उनले अस्पताल र अस्पतालसंग आवद्ध सदस्यहरुलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा यस इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने बताएका छन् ।
एईसीसी ग्लोबलको ‘अष्ट्रेलियन एप्लिकेशन्स् डे’ शुरु, २८ वटा विश्वविद्यालय सहभागी
काठमाडौं । एईसीसी ग्लोबलको सर्वाधिक ठूलो अष्ट्रेलियन शैक्षिक मेला “अष्ट्रेलियन एप्लिकेशन्स् डे जुन २०१८” को शुरु भएको छ । उक्त मेलाको उद्घाटन नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले गरेका हुन् । कार्यक्रममा २८ विश्वविद्यालय तथा कलेज प्रतिनिधिहरुको सहभागिता रहेको थियो । जसमा विद्यार्थी र तिनका अभिभावकले प्रत्यक्ष रुपमा ती प्रतिनिधिहरुसँग कोर्स, शुल्क एवं छात्रवृत्तिसम्बन्धी आफ्ना जिज्ञासाहरु राख्ने अवसर प्राप्त गरे । यस कार्यक्रमको मुख्य आकर्षण प्रतिनिधिहरुद्वारा स्पट असेस्मेन्ट तथा फाइनेन्सियल एवं भिसा गाइडेन्स बुथ रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले आफ्ना जिज्ञासाहरु प्रस्तुत गरे र एईसीसी ग्लोबलका दक्ष भिसा अफिसरहरुले उचित सल्लाहसुझाव सहित मद्दत पुर्याए । बैँकिङ पार्टनरको रुपमा एनआईसी एसिया, नेपाल एसबीआई, सानिमा बैंक, सिद्धार्थ बैंक र एभरेष्ट बैंक गरी ५ विभिन्न बैंकहरुले कार्यक्रममा उपस्थित सहभागीहरुलाई उत्कृष्ट अफरहरु प्रदान गरे । यस कार्यक्रममा ब्रिटिस काउन्सिल नेपालको पनि सहभागिता रहेको थियो । “विद्यार्थीहरु विश्व विद्यालय सम्म पुग्न नसक्ने अवस्थामा हामीले विश्वविद्यालयलाई नै विद्यार्थी सामु ल्याउने सक्दो प्रयास गरेका र्छौँ”, एईसीसी ग्लोबलका डेष्टिनेशन हेड सैलेश कुमार झाले भने । साथै, यस मेला आगामी जेठ २३ गते चितवनको भरतपुर गार्डेन रिसोर्ट र २४ गते पोखराको होटल पोखरा ग्राण्डीमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म आयोजना गरिने छ ।
तनहुँको फुस्रेटारमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर
काठमाडौं । ग्लोबल आइएमई बैंकले तनहुँ जिल्लाको फुस्रेटारमा नयाँ एक्सटेन्सन काउण्टर शुरु गरेको छ । सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा एक्सटेन्सन काउण्टरको शुरुवात गरेको हो । हाल बैंकले १२९ शाखा, १३१ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८७ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त सेवा प्रदान गर्दे आइरहेको छ ।
भ्रष्ट्राचार अभियोगमा एकै दिन ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । भ्रष्ट्राचारको अभियोगमा एकै दिन ४ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न समयमा पक्राउ गरेको अभियुक्तमाथी मुद्दा दायर गरिएको हो । मुद्दा दायर हुनेहरुमा रामाशिष साह, बिक्रान्त शुक्ला, अहमद खान र गिरवललाल धोवी रहेका छन् । वीरेन्द्र ऐश्वर्य उमावि लिम्सा, जाजरकोटका निमावि तहका विज्ञान विषयका शिक्षक रामाशिष साहको आईएससीको प्रमाणपत्र नक्कली भएको पुष्टी भएको हो । यसैगरी नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्र, नेपालगञ्ज, बाँकेमा कार्यरत ३ जनाले विद्युत मिटर नामसारी र नयाँ जडान गर्ने प्रयोजनका लागि घुस मागेपछि अख्तियारको टोलीले पक्राउ गरेको थियो । चारै जना विरुद्ध बिगो जरिवाना र कैदको माग गर्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
नेपाल क्यान्सर अस्पताल दोस्रो बर्षमा प्रवेश, गुणस्तरीय उपचार सेवा दिन सफल
काठमाडौं । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर स्थापनाको एक वर्ष पार गरी दोस्रो बर्षमा प्रवेश गरेको छ । ललितपुरको हरिसिद्धमा रहेको यस हस्पिटल क्यान्सर बिरामीहरुलाई अन्तराष्ट्रिय उपचारात्मक सेवा दिने र क्यान्सरका चुनौतिहरुसँग सामना गर्ने उद्देश्यले स्थापित भएको हो । यस हस्पिटल निजी क्षेत्रबाट सञ्चालित पहिलो क्यान्सरमुखी सेवाग्राही अस्पताल हो, जसले नेपाली जनताको आर्थिक पहुँचभित्र रही गुणस्तरीय क्यान्सर उपचार सेवा दिईरहेको छ । आज भन्दा एक वर्ष अगाडी भारतको नयाँ दिल्लीस्थित राजिव गान्धि क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा यस अस्पतालको स्थापना भएको थियो । क्यान्सर उपचारका लागि विदेश जाँदा हुने सामाजिक, आर्थिक र भौतिक नोक्सानीलाई निर्मूल पार्ने उद्देश्यले यस हस्पिटलले आफ्ना कार्यक्रमहरु संचालन गर्दै आएको छ । साथै, नेपालमै जुनसुकै क्यान्सर रोगको उपचार यस हस्पिटलमा हुने विज्ञप्तिमा जनाइएको छ । हाल यस अस्पतालमा उपलब्ध उपचारात्मक सेवाहरुलाई मुख्यत तिन विभागमा समेट्न सकिन्छ । मेडिकल अन्कोलोजी अन्तर्गत नेपाल क्यान्सर अस्पतालमा अस्ट्रेलियन दिशा निर्देशनको केमोथेरापी र ओशा गाइडलाइन्समा आधारित सुरक्षित केमोथेरापी तैयारी सेवा प्राप्त हुनु दुई मुख्य विशेषता हुन् । यसैगरी, सर्जिकल अन्कोलोजी अन्तर्गत हेड एण्ड नेक सर्जरी, थोराकिक सर्जरी, हेप्याटोबिलिरी सर्जरी, ग्यास्ट्रो इन्टेस्टटिनर सर्जरी, ब्रीस्ट सर्जरी, सफ्ट टिस्यु एण्ड बोन ट्यिुमर सर्जरी, निँउरो सर्जरी, यूरो ओनकोलोजी सर्जरी, ग्यानाई ओनकोलोजी सर्जरी, प्लास्टिक सर्जरी आदिको व्यवस्था रहेको छ । सर्जरी डिपार्टमेन्ट अन्तर्गत नेपालमा नै भर्खर सुरु भएको अन्कोप्लास्टिक ब्रेस्ट सर्जरी पनि यस अस्पतालको एक प्रमुख बिशेषतामा पर्दछ । स्तन क्यान्सरको शल्यक्रिया गर्दा पुरै स्तन फाल्नुको सट्टा उक्त स्तनलाई बचाउनु नै अन्कोप्लास्टिक ब्रेस्ट सर्जरीको मुख्य उद्देश्य हो । त्यस्तै, सर्जिकल र प्याथोलोजीको संगममा रहेको फ्रोजन सेक्सन सेवा पनि नेपाल क्यान्सर अस्पताल ले दिंदै आएको अवगत गराइन्छ । क्यान्सरको शल्यक्रियाको क्रममा पुरै ट्युमर निकालियो कि निकालिएन भन्ने तुरुन्त जांच गर्न मिल्ने फ्रोजन सेक्सन प्रक्रियाले यस अस्पतालमा हुने शल्यक्रियाहरुको गुणस्तर बढाएको छ । त्यसैगरि रेडिएशन अन्कोलोजी अन्तर्गत यस अस्पतालमा ब्राकी थेरापी र एक्सटर्नल बिम रेडियोथेरापी सेवाहरु उपलब्ध छ । डियोथेरापी अन्तर्गत उपलब्ध एक्स्टर्नल बिम रेडियोथेरापीमा संसारकै उत्कृस्ट लिन्याक मेशिन ‘भेरियन टु बिम टु’ यस अस्पतालमा उपलब्ध भएको यस विज्ञप्तिमा जनाइएको छ ।
बामपन्थी सरकारले पूँजी बजार मास्छ ? चीन, लाओस र भियतनाम किन देखाए अर्थमन्त्रीले ?
काठमाडौं । आइतबार प्रतिनिधी सभाको बैठकमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भनेका थिए–‘कम्युनिष्ट सरकार भएका देशमा लगानी भित्रिदैनन् भन्ने हो भने चीन, भियतनाम र लाओस हेरे पुग्छ । लगानी भित्र्याउन लगानी सुरक्षा र सुशासन चाहिएको हो जुन हामी उपलब्ध गराउँछौं ।’ तर त्यसकै भोली पल्ट उनै खतिवडाले सम्हालेको अर्थमन्त्रालयको प्रवेशद्धारबाट आधा दर्जन व्यक्ति निरास मुद्रामा बाहिरिँदै थिएँ । उनीहरु मध्येकै एकजना भन्दै थिए–‘बामपन्थी सरकारले पूँजी बजारलाई डुबाउने भयो, अहिले त म केहि बोल्दिन तर यहि अवस्था जारी रहे केहिदिनपछि मुख खोल्छु ।’ बामपन्थी सरकारले पूँजी बजार डुबाउन लाग्यो भन्दै निरासापूर्ण अभिव्यक्ति दिने व्यक्तिले आफ्नो पहिचान गोप्य राख्न चाहेको संकेत गरेका थिए । उनकै आसयलाई बुझेर यहाँ उनको नाम उल्लेख नगरिनु उपयुक्त हुन्छ । अर्थमन्त्रालयको मुल प्रवेशद्धारबाट निरास मुद्रामा बाहिरनेहरु थिए सेयर बजारका लगानी कर्ताहरुले गठन गरेका बिभिन्न संघ संगठनका नेतृत्वकर्ता । सके अर्थमन्त्री, नसके अर्थ र राजश्व सचिवलाई भेट्न मन्त्रालय पुगेका उनीहरुले वित्तिय व्यवस्थापन विभागका प्रमुख उत्तर कुमार खत्री र राजश्व तर्फका केहि कर्मचारीलाई मात्रै भेट्न पाए । मन्त्रालयको सुवर्ण हलमा राखेर केहि समय सेयर बजारको विद्यमान अवस्था र लाभकरमा गरिएको नयाँ व्यवस्थाका बारेमा ब्रिफिङ गरे । सहसचिव खत्री र राजश्व तर्फका केहि कर्मचारीहरुले ’तपाईहरुका कुरामा हामी सकारात्मक नै छौं, अब सचिवज्यूहरु र मन्त्रीज्यूसम्म पुर्याउँछौं’ मात्रै भने । उनीहरुले बोनस र हकप्रद सेयरमा लाभकर गणना गर्ने नयाँ बिधि असान्दर्भिक र पूँजी बजार बिरोधी भएको व्यवहोरा लेखिएको ज्ञापन पत्र पनि बुझाए । सेयर बजारका लगानीकर्ताको हित संरक्षण गर्न भन्दै गठन भएका तीन वटा सस्थाका प्रतिनिधी अर्थमन्त्रालय पुगेका थिए । उनीहरुको सामुहिक निचोड थियो– नयाँ लाभकरले पूँजी बजारको विकास गर्दैन भन्नेबारे अर्थमन्त्रालय कन्भिन्स छ तर राजश्व कन्भिन्स भएन, उनीहरुले कुरा बुझेका छन तर नियतै खराब देखियो ।’ मन्त्रालयबाट निरास बन्दै निस्केका उनीहरु तुरुन्तै नेपाल धितोपत्र बोर्डको कार्यालय पुगेका थिए । बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की र निर्देशक निरज गिरीलाई पनि उनीहरुले आफ्ना गुनासो राखे । अध्यक्ष कार्की र गिरीले करको बिषय आफ्नो क्षेत्राधिकार भित्र नपर्ने तर अर्थमन्त्रालयलाई निर्णय पुनरावलोकनका लागि आग्रह गर्ने प्रतिवद्धता व्यक्त गरे । तर आइतबार देखि नै बोनस र हकप्रद सेयरको कारोबारमा तोकिएको नयाँ लाभकरको दर अनुसार कर संकलन भने सुरु भैसकेको थियो । सिडिएसका प्रवक्ता सुरेश न्यौपानेले कर कार्यालयको पत्र अनुसार आइतबारबाटै कर लागु भैसकेको बताएका छन् । नयाँ करको दर कार्यान्वयन भैसकेकाले पनि निर्णयबाट फर्कन भने त्यहि सहज नरहेको अर्थमन्त्रालयले बताएको छ । अर्थमन्त्री डा. खतिवडालाई धर जग्गा र पूँजी बजारप्रति अनुदार व्यक्तिको ट्या लाग्दै आएको छ । तर उनले पटक पटक सेयर बजारलाई पूँजी संकलनको अस्त्रका रुपमा स्विकार गर्दै आएका छन् । यद्यपी बजेट मार्फत गरिएको नयाँ व्यवस्थाले भने सेयर बजार प्रति अर्थमन्त्रीको सार्वजनिक धारणामाथी फेरी पनि आशंका जन्माएको छ । चीन, लाओस र भियतनाम देखाउन अर्थमन्त्रीले आफ्नै देशको सेयर बजारलाई भने किन निरुत्साहित पारिरहेका छन् ? उनले एक अर्ब भन्दा बढि लगानी भएका सबै कम्पनीले सेयर बजारमा सूचिकृत हुनुपर्ने बताएर सेयर बजारको दायरा फराकिलो बनाउने प्रयास गरिरहेका छन् । तर त्यहि सेयर बजारमा नयाँ कर थपेर लगानीकर्तालाई निरुत्साहित पार्ने प्रयास किन भैरहेको छ ? अर्थमन्त्रीज्यू, चीन, लाओस र भियतनाम देखाएर स्वदेशी लगानीकर्तालाई चाँही किन बिच्काएको ?
भाटभटेनी अनलाइनलार्इ ईसेवाले किन्याे, अब ईबैंकिङबाट भुक्तानी गर्न सकिने
काठमाडौं । नेपालको चर्चित अनलाइन सपिङ पोर्टल भाटभटेनी अनलाइन डटकमलाई एफवान सफ्ट ईन्टरनेशनल प्रा. लि. ले एक्वायर गरेको छ । अब इसेवा लगायत नेपालका अधिकांश बैंकका मोबाईल बैंकिङ र ईबैंकिङ मार्फत् भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । साथै, ईसेवाबाट भुक्तानी गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्था समेत गरिएको छ । ईसेवा पसल डटकमले ग्राहकको सुविधालाई ध्यानमा राखि विभिन्न किसिमका छुट र अफर पनि सार्वजनिक गरेको छ । साथै, कम्पनीले अधिकत्तम २४ घण्टा भित्र निशुल्क डेलिभरी गर्नेेछ । विगत छ वर्षदेखि सञ्चालनमा आएको भाटभटेनी अनलाइन डटकमलाई अझ सशक्त र सबैको पहुँचमा पुर्याउने उद्देश्य साथ एक्वायर गरेको एफवान सफ्ट ईन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले बताए । ईसेवा पसल डटकमका सीईओ मनिस श्रेष्ठले एफवान सफ्टसँगको सहकार्यले अब अनलाइन सपिङको क्षेत्रमा ठुलो फड्को मार्ने विश्वास व्यक्त गरेका छन् । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाललगायत विदेशी मुलुकमा विक्री वितरण गर्दै आएको छ । नेपाल सरकारले नगद कारोबारलाई घटाएर डिजिटल कारोवारलाई प्रोत्साहन गर्ने नीति लिइरहका बेला एफवान सफ्टले पनि यस अभियानलाई टेवा पुग्ने सफ्टवेयर निर्माण गर्दै आएको छ । कम्पनीले चार सयभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ ।
कालिमाटीबाट कृषि क्षेत्रकाे बिचौलिया बिरुद्धकाे अप्रेसन शुरु- कृषिमन्त्री चक्रपाणी खनाल
काठमाडौं । कृषक तथा उपभाेक्ता नठगिउन् भन्नेमा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सचेत छ। कालिमाटीमा रहेकाे पसलहरुकाे बारेमा धेरै गुनासा र निवेदन म कहाँ आए । त्यसलाई मन्त्रालयले सुक्ष्म अध्ययन गर्यो । उत्पादन गर्ने कृषक र उपभोत्ताबीच धेरै अन्तर भेटियो । किसानले उत्पादन गरेको सामान बजारसम्म आइपुग्दा धेरै महंगो हुने गरेको देखिन्छ । ३/४ वटा तह पार गर्नु परेको देखियो । बजार र स्टल कब्जा गर्ने, एउटा स्टलको स्पेस भाडामा लिएर ८ देखि १० हजार रुपैयाँ मात्र समितिलाई बुझाउने र विचौलियाले २ लाखसम्म लिने गरेको अनुगमनको क्रममा पाइयो । ढाँट्नलाई अनेक प्रयत्न गरेको पाइयो । एउटा व्यक्तिले १५ वर्षसम्म बस्न पाउने कार्यविधि छ । अब त्यो खारेज हुन्छ । नयाँ कार्यविधि बनाइन्छ । कालिमाटीमा बस्न चाहनेलाई गोला प्रथाद्धारा ठाउँ उपलब्ध गराइन्छ । पहिलेदेखि बसिरहेकालाई हटाउने चाहना होइन । तर नयाँ कार्यविधि पालना गरेर मात्र बस्न दिइने व्यवस्था गरिन्छ । किसानलाई मर्कामा पार्दैनौं । बीचमा हुने चलखेल अन्त्य गर्न अनुगमनबाट शुरु गरेका छौं । मन्त्रालयले आफ्नो दायित्व पूरा गर्छ र एउटा विधि बनाउँछ । त्यो पालना गर्नेलाई मात्र बस्न दिइन्छ अरुलाई हटाइन्छ । माापदण्ड पूरा नगर्नेलाई पसल दिइदैन । अर्को कालिमाटी बजारमा माछा खान लायक नभएको पाइयो । झिंगा भन्केका छन् । त्यसलाई यही हालतमा राखिन्दैन । त्यसलाई भत्काइन्छ । बाधा उत्पन्न गर्न खोज्ने कसैलाई छोडिदैन । राज्यलाई कमजाेर बनाउनेलाई छोडिदैन । एकछिनलाई प्रचार गर्न र तमासा देखाउन अनुगमन गरेको लाग्ला त्यसरी अनुगमन गरिएको होइन । कालिमाटी काठमाडौंको आवश्यकता पूरा गर्ने गरी बजार निर्माण गरिन्छ । नत्र बजार अन्तै सारिन्छ । अहिले विभिन्न १० नाकाहरुबाट बजार निर्माण गर्ने गरी स्थानहरुको अध्ययन हुदैछ । मन्त्रालय छलफलमा जुटेको छ । ती नाकाहरुमा किसानको उत्पादन सिधै आउने गरी व्यवस्थित बजार निर्माण गरिन्छ । विचौलियाको अन्त्य हुन्छ । कालीमाटीमा जो स्टल लिएर अरुलाई भाडामा लगाएर आफु अन्तै बसेका छन् , त्यस्ताकाे स्टल तुरुन्तै खारेज गरिन्छ र बजारलाई नयाँ ढंगले अघि बढाइनेछ । तरकारी उत्पादन गर्ने किसानद्वारा सरकारले प्रतिवन्ध लगाएको विषादी प्रयोग गरेको छ भने त्यसलाई तत्काल अनुगमन गरी कारर्वाही गरिन्छ । सरकारले जुन विषादी प्रयोग गर्न अनुमति दिएको छ त्यसलाई क्रमसः कम गर्दै लगिन्छ । विकृतिको पोको धेरै ठाउँमा छ । कालीमाटी बजारमा एउटा कोल्डस्टोर तत्काल खाँचाे छ । पसलको आकार प्रकारमा पनि हेरफेर गरिन्छ । त्यासो गरे माछाको हालत सुघ्रिनेछ । त्यसका लागि सरकारले पहल गर्नेछ । (अाज (सोमबार) बिहान कालिमाटी फलफूल तथा तरकारी बजारमा गरिएको आकस्मिक अनुगमन पश्चात कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले राखेको धारणा साथमा कृषि राज्यमन्त्री रामकुमारी चाैधरीकाे समेत सहभागिता थियाे । )