विकासन्युज

रामेछापको हस्तकला संघको भवन शिलान्यास

काठमाडौं । नेपाल हस्तकला महासंघको सकृय सदस्य संघ रामेछाप हस्तकला संघको कार्यालय भवनको शिल्यान्यास भएको छ । रामेछापको मन्थलीमा रहेको उक्त संघको उद्घाटन महासंघका अध्यक्ष धर्मराज शाक्यले गरेका हुन् । कार्यक्रममा रामेछाप हस्तकला संघका अध्यक्ष चूडादेवसिंह लामाले भवन निमाणको लागि सोही संघका उपाध्यक्ष सुनिता योन्जनले ६० लाख रुपैयाँ बराबरको करीव ८ आना जग्गा दान दिएको बताएकी छिन् । साथै, सो जग्गामा संघको कार्यालय भवन निर्माण गर्न थप सहयोग जुटाउन प्रयास भैरहेको उनले बताइन् । सो अवसरमा नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले संघ स्थापना भएको छोटो अवधिमै रामेछाप हस्तकला संघले स्थानीय हस्तकलाको प्रवद्र्धन तथा विकासमा खेलेको महत्वपूर्ण भूमिका प्रति सराहना व्यक्त गर्दे भवन निर्माणको लागि महासंघबाट सक्दो सहयोग गर्ने बताएका छन् । २०६८ सालमा स्थापना भएको रामेछाप हस्तकला संघले जिल्लाका हस्तकला वस्तुहरुको उत्पादन तथा बजार विकासमा उल्लेखनिय भूमिका खेल्दै आईरहेको छ ।

कैलाश विकास बैंक हेटौंडामा पनि, थप तीन स्थानमा खोल्ने तयारी

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले आफ्नो ५२औँ शाखा मकवानपुर जिल्लाको हेटौंडामा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राजकुमार न्यौपानेले गरेको हुन् । बैंकले सोमबार(आज)देखि उक्त शाखाबाट कारोबार शुरु गरेको छ । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ५२ पुगेका छन् भने एटीएम संख्या २२ पुगेका छन् । बैंकले निकट भविष्यमा धनुसाको जनकपुर, नवलपरासीको कावासोती र वर्दघाट तथा अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

मेगा बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । मेगा बैंक नेपाल र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्ता सम्झौता पत्रमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख व्यापार अधिकृत प्रयास श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, अब ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने मेगा बैंकको विश्वास छ ।

२६ देश सहभागी हिमालयन ट्राभल मार्ट सकियो, दक्षिण एसियालाई टुरिज्मको मुख्य गन्तब्य बनाइने

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको नेतृत्व, नेपाल पर्यटन बोर्डको र पाटा नेपाल च्याप्टरको संयुक्त आयोजकमा सञ्चलित हिमलयन ट्राभल मार्ट सकिएको छ । मार्टको दोस्रो संस्करण पर्यटन क्षेत्रका बिभिन्न संघ संस्थाहरुको सहयोगमा राजधानीमा सम्पन्न भएको हो । कार्यक्रममा २६ वटा देशहरुबाट ५९ बायर्स सहभागी थिए । नेपाल, भारत, भुटान, दक्षिण कोरिया, इन्डोनेशिया, टर्की र युएइ लगायत सातवटा देशहरुबाट ५२ वटा बिक्रेताहरुको सहभागिता थियो । कार्यक्रममा नेपालल गायत दक्षिण एशियाका सवै पर्यटन ब्यवसायीहरुलाई समाबेश गरिएको बताइएको छ । जेठ १८ देअि २० सम्म चलेको सो कार्यक्रमको मुख्य विषय ‘सस्टेनेबल रोड टु फाइभ मिलियन भिजिटर्स वाई २०३०’ थियो । त्यस विषयमा कार्यक्रममा विभिन्न देशहरुबाट आएका पर्यटन विज्ञहरुले आफ्ना धारणा राखेका थिए । कार्यक्रमको अवसरमा पराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सामाजिक सञ्जाल र नयाँ मिडियाको महत्वको उजागर गर्दै पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने बताए । त्यस्तै संस्कृतिक पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले नेपालमा पर्यटन विकास र विस्तारको प्रचुर सम्भावना भएको चर्चा गरे । हिमालयन ट्राभल मार्ट २०१८ को सफलताले नेपाललाई दक्षिण एसियालाई टुरिज्मको मुख्य गन्तब्यको रुपमा स्थापित गरेको बताइएको छ ।

भूकम्प प्रभावित चार जिल्लाका ६७५ स्थानमा निःशुल्क इन्टरनेट सुविधा, हेराैँ कहाँ कहाँ ?

काठमाडौं । नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका १८७, काभ्रेपलाञ्चोक जिल्लाका २८९, नुवाकोट जिल्लाका १५९ र रसुवा जिल्लाका ४० स्थानमा सो सेवा सञ्चालनमा ल्याइसकेको छ । भूकम्पबाट अति प्रभावित चार जिल्लाका जम्मा ७४७ सेवा केन्द्रमा यो सेवा उपलब्ध गराउने कम्पनीको योजना अनुसार हाल सम्म ९० प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको छ । आगामी असार मसान्त सम्ममा बाँकी सम्पूर्ण स्थानमा सेवा उपलब्ध गराउने लक्ष्य अनुरुप दु्रत गतिमा काम भइरहेको छ । समग्रमा हालसम्म २८४ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १४७ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २४४ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट चलाउन सकिने व्यवस्था गरिएको छ । जिल्लागत रुपमा हेर्दा सिन्धुपाल्चोकका ८४ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ४१ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ६२ विद्यालय, काभ्रेपलाञ्चोकका १२६ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ५८ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र १०५ विद्यालय, नुवाकोटका ५७ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ३६ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ६६ विद्यालय तथा रसुवाका १७ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १२ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ११ विद्यालयमा सो सेवा सञ्चालन गरिएको छ । सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबीपीएस गतिको अनलिमिटेड इन्टरनेट सेवा २ वर्षसम्म निःशुल्क उपभोग गर्न पाउने व्यवस्था गरिएको छ । कम्पनीले इन्टरनेट सेवा उपलब्ध गराउनका लागि स्थान अनुसार वाइम्याक्स बेस स्टेशन, थ्रीजी डिभाइस र ईभीडीओ उपकरणको व्यवस्था गरेको छ । यसका लागि विभिन्न स्थानमा सर्भिस प्वाइन्ट स्थापना गरिएको छ । सर्भिस प्वाइन्टमा आवश्यकता अनुसार वाइम्याक्स, जीएसएम, सीडीएमए र एडीएसएल मार्फत इन्टरनेट सुविधा उपलब्ध गराइएको छ । भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग गत २०७४ बैशाख २१ मा भएको सम्झौताअनुसार नेपाल टेलिकमले यी क्षेत्रमा आवश्यक सेवा उपलब्ध गराउन थालेको हो । यस आयोजना अन्तर्गत टेलिकमले भूकम्पबाट अति प्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका विभिन्न स्थानमा दुर्त गतिको इन्टरनेट सेवा उपलब्ध गराउनेछ । साथै, यो सेवाको सञ्चालन तथा मर्मत कार्यमा पनि कम्पनीले भूमिका निर्वाह गर्नेछ ।

७३ मेगावाट बिजुली उत्पादन बन्द, मर्मत जारी रहेको विद्युत प्राधिकरणको भनाई

काठमाडौं । प्राविधिक समस्याले गर्दा ७३ मेगावाट बिजुली उत्पादन बन्द भएको छ । चिलिमे, मैलुङखोला, कुलेखानीको १ र २ आयोजनाको दुई विद्युतगृहबाट बिजुली उत्पादन बन्द भएको हो । चिलिमे–त्रिशुली ६६ केभी प्रसारणलाइन आइतबार अपरान्ह १ बजेर ५० मिनेट जादा तार चुँडिएपछि चिलिमेको २२ र मैलुङखोलाको ५ गरी २७ मेगावाट बिजुजी बिद्युत प्रवाह बन्द भएको छ । आइतबारदेखि कुलेखानी दोश्रो जलासययुक्त बिद्युतगृहको दोश्रो युनिटको जेनेरेटरको आर फेजमा इन्सुलेसन रेजिस्ट्यान्स अत्यन्त कम भै रोटरमा नै समस्या भएको देखिन आएपछि मर्मतको अवस्थामा रहेको नेपाल विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । कुलेखानी दोस्रोको १६ मेगावाट र कास्केड बिद्युतगृह भएकाले त्यसका कारण कुलेखानी पहिलोको एउटा युनिट ३० मेगावाट गरी ४६ मेगावाट उत्पादन हुन नसक्ने अवस्थामा पुगेको उनले जानकारी दिए ।काठमाडौंबाट आईतबार प्रस्थान गरेको प्राबिधिक टोलीलाई केही स्थानीयबासिन्दाका अबरोधका कारण मर्मत कार्य गर्न बिलम्ब भएको उनको भनाई छ । यस्तै मोदी–लेखनाथ–पोखरा १३२ केभी प्रसारणलाइन टावर मर्मतका लागि बन्द अवस्थामा छ । टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारणलाइन नियमित मर्मत सम्भारका लागि बन्द अवस्थामा रहेको उनले जानकारी दिए । ७३ मेगावाट बिजुली प्रणाली बाहिर भएपछि लो भोल्टेजले गर्दा कुनै ठाउँमा बिद्युत सेवा अवरोध भएको छ ।

भाडामा वृद्धि भएपछि विमान सेवा फेरि बन्द

दाङ । दाङको विमान सेवा फेरि बन्द भएको छ । जनप्रतिनिधिहरु निर्वाचित भएपछि तुलसीपुर उपमहानगरपालिकाले २०७४ पुस १९ गते बाजागाजासहित पहिलोपटक समिट एयरसँग सम्झौता गरी विमान सञ्चालन गरेको थियो । स्थानीय तहमा निर्वाचन अगाडी तुलसीपुर उद्योग वाणिज्य संघले केही समयसम्म निजी विमान कम्पनीसँग समन्वय गरी विमान सेवा सञ्चालन गरेको थियो । पटक पटक सञ्चालन र बन्द हुँदै आएको विमान सेवा बन्द भएपछि यहाँका स्थानीयवासीले फेरि नेपालगञ्जबाटै विमान सेवा लिनुपर्ने बाध्यता भएको स्थानीयवासी पवन बुढाथोकीले बताए । तुलसीपुर उपमहानगरपालिका र समिट एयरबीच गत पुसमा प्रतियात्रु रु सात हजार २०० भाडा लिने सहमति भएको थियो । सोही सहमतिअनुसार १९ पुसमा समिट एयरले पहिलोपटक दाङको टरीगाउँ हवाईमैदानबाट उडान भरेको थियो । इन्धनको मूल्य वृद्धि भएको भन्दै समिट एयरले प्रतियात्रु रु दुई हजार ६८० रुपैयाँ एकतर्फीरुपमा भाडामा वृद्धि गरेपछि तुलसीपुर उपमहानगरपालिकाले समन्वय गर्न छोडेको छ । भाडा वृद्धिसँगै यात्रु पाइन छोडेपछि गएको जेठ १३ र २० गते समिट एयरले उडान भर्न सकेन । समिट एयरले हप्तामा आइतबार र बुधबार दुईपटक उडान भर्ने सहमति गरे पनि पछिल्लो समय आएर आइतबारमात्रै उडान भर्दै आएको थियो । “अघिल्लो आइतबार काठमाडौं जानका लागि नौजना यात्रु थिए”, तुलसीपुर उपमहानगरपालिका सूचना अधिकारी झरेन्द्र खरेलले भने, “उताबाट पुरानो भाडादरमा उडान भर्न नसकिने भन्दै उडान रद्द भएको बताएपछि टरीगाउँ हवाईमैदानमा जहाजको पर्खाइमा बसेकालाई पैसा फिर्ता दिएर पठायौँ ।” हप्तामा एकपटक उडान भर्दै आएको समिट एयरले पुसदेखि जेठसम्म ६ महिनाको अवधिमा तीनपटक उडान रद्द गरेको सूचना अधिकारी खरेलले बताए । नियमित उडान पनि नहुने, महँगो भाडादरले हवाइ सेवा सञ्चालन गर्न निकै कठिनाइ र समस्या भएको उपमहानगरपालिकाले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आपसी सहमतिका आधारमा गरिएको सम्झौताविपरीत काम गर्नु राम्रो नभएको भन्दै पुनर्विचारका लागि विमान कम्पनीलाई अनुरोध गर्ने बताए । “हामीलाई बिनाजानकारी भाडा वृद्धि गरेको खबर आयो, पुरानै भाडामा उडान भर्नका लागि विमान कम्पनीसँग समन्वय गरिरहेका छौं”, उनले भने । सम्झौताअनुसार काम नभए नयाँ र धेरै विमान भएको विमान कम्पनीसँग समन्वय गरेर उडान सेवा सञ्चालन गर्ने प्रमुख पाण्डेले बताए । विसं २०११ मा स्थापना भएको हवाईमैदान २०१६ सालदेखि सञ्चालनमा आएको थियो । पछिल्लो समयमा घाँसेमैदान हवाईमैदान पछिल्लो समयमा १० करोड रुपैयाँ लगानीमा ७०० मिटर धावनमार्ग कालोपत्र भएको थियो । विमानस्थल सानो भएकाले ठूला विमान अवतरण गर्न नसक्ने भन्दै त्यसको स्तरोन्नतिका लागि पहल गर्नुपर्ने स्थानीयवासीको माग छ । रासस

दश महिनामा पाैने १० खर्बकाे अायात हुँदा साढे ६६ अर्बकाे निर्यात, ब्यापार घाटा ९ खर्ब नाघ्याे

काठमाडौं । सरकारले स्वदेशी उत्पादन वृद्धि गर्दै आयात घटाउने भनिरहदा गएको दश महिनामा मुलुकको व्यापार घाटा ९ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालय, भन्सार विभागको अनुसार साउनदेखि यता वैशाखसम्ममा विभिन्न मुलुकबाट नेपालमा ९ खर्ब ८२ अर्ब रुपैयाँको विभिन्न वस्तुहरु आयात भएको छ भने निर्यात ६६ अर्ब ६४ करोड रुपैयाँको मात्रै भएको छ । आयात र निर्यातलाई तुलना गर्दा व्यापार घाटा ९ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । गएको आर्थिक वर्षको सोही अबधिमा उक्त व्यापार घाटा ७ खर्ब ४६ अर्ब रुपैयाँ मात्रै थियो । गएको आर्थिक वर्ष २०७३/७४ को दश महिनाको अबधिमा मुलुकबाहिरबाट आयात ८ खर्ब हुदा निर्यात ६० अर्ब रुपैयाँको मात्रै भएको थियो । त्यासको तुलनामा यो आर्थिक वर्ष व्यापार घाटा गएको वर्षभन्दा २२.७२ प्रतिशत बढेको छ । सबैभन्दा बढी भारतसँग नेपालको व्यापार घाटा ६ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । भारतबाट नेपालमा ६ खर्ब ४९ अर्ब रुपैयाँको आयत हुदा निर्यात ३८ अर्ब रुपैयाँको मात्रै भएको छ । दोस्रोमा चीनसँग १ खर्ब २४ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । गएको दश महिनामा नेपालबाट चीनमा १ खर्ब २७ अर्ब रुपैयाँको विभिन्न वस्तुहरु आयात भएकोमा निर्यात २ अर्ब ६६ करोड रुपैयाँको मात्र गर्न सकिएको विभागको भनाइ छ । विभागको तथ्याङकअनुसार गएको दश महिनामा सबैभन्दा बढी आयात भारतबाट भएको छ । कुल आयातको ६६.१ प्रतिशत वस्तु भारतबाट मात्रै आयात गरिएको देखिन्छ । सबैभन्दा बढी निर्यात पनि सोही देशसँग ५७.२ प्रतिशत भएको छ । त्यस्तै सो अबधिमा दोस्रो बढी आयात गरिएको मुलुक चीन हो भने निर्यात यूएसएमा भएको छ । कुल आयातको १३ प्रतिशत चीनबाट आयात भएको छ भने कुल निर्यातको ११ प्रतिशत यूएसएमा निर्यात नेपालबाट विभिन्न वस्तुहरुको निर्यात गरिएको छ । विभागको अनुसार गएको दश महिनामा मुलुकमा कुल १० खर्ब ४९ अर्ब रुपैयाँको व्यापार भएको छ । त्यसमा आयतको हिस्सा ९४ प्रतिशत छ भने निर्यातको हिस्सा ६ प्रतिशत मात्रै छ । आयात र निर्यातको अनुपात १४ गुणा पुगेको छ ।