अकस्मात् बजार अनुगमन: म्याद नाघेका वस्तु नष्ट
काठमाडौं । पृथ्वीराजमार्गको धादिङ खण्डमा जिल्ला अनुगमन समितिले बजार अनुगमन शुरु गरेको छ । अकस्मात् बजार अनुगमनमा पुगेको टोलीले बेनीघाट रोराङ गाउँपालिका क्षेत्रमा रहेका बजारबाट ठूलो मात्रामा म्याद नाघेका वस्तु बरामद गरेको सहायक प्रजिअ धोलकराज ढकालले बताए । बिस्कुट, चाउचाउ, चियापत्ती, विभिन्न ब्राण्डका जुस, लेज, कुरकुरे लेज आदि बरामद गरी नष्ट गरिएको छ । गाउँपालिकाको मौवाखोला क्षेत्रमा बजारमा बिक्री गरिएका बिस्कुट थोक बिक्रेताले नै म्याद गुज्रेपछि पठाएकाले धेरै सामग्री बजारमा म्याद नाघेको भेटिएको व्यवसायीको भनाइ छ । मदिराजन्य वस्तु अनुमति नलिई बिक्री वितरण गर्न नपाइने कानूनी प्रावधान विपरीत बिक्रीवितरण गरिएका १० भन्दा बढी पसलबाट मदिरासमेत अनुगमन टोलीले बरामद गरी नष्ट गरेको छ । अनुगमन निरन्तर गरिने र यात्रु लक्षित होटल तथा खाद्य पदार्थको गुणस्तर सुधार गर्न अनुगमनले नियमन गर्ने अनुगमनमा सहभागी प्रजिअ भगिरथ पाण्डेको भनाइ छ । आज भने गजुरी क्षेत्रमा अनुगमन भइरहेको छ । रासस
भोजपुर-काठमाडौँ आजदेखि हवाई उडान पुन सुचारु
काठमाडौं । आजदेखि भोजपुर—काठमाडौँ हवाई उडान पुन सुचारु हुने भएको छ । नेपाल वायुसेवा निगमले नयाँ भाडादर लागू गरेसँगै पुनः उडान सुचारु हुने भएको हो । हवाई सेवाको भाडादर भने रु एक हजार ३५० ले वृद्धि भएको छ । राष्ट्रिय ध्वाजाबाहक निगमले इन्धनको मूल्यवृद्धि गरेकोे भन्दै भोजपुरदेखि काठमाडौंको पनि भाडा बढाएको वायुसेवा निगम भोजपुरका प्रमुख नारायण पुरीले जानकारी दिए । बढेको भाडासहित काठमाडौं—भोजपुरको भाडा पाँच हजार १३० पुगेको छ । गत जेठ ८ गतेदेखि ट्वीनअटर जहाज मर्मत गर्नुपर्ने भएकाले निगमले हवाई सेवा अवरुद्ध गरेको थियो । निगमले भोजपुरदेखि काठमाडौँ मंगलबार, बिहीबार, शुक्रबार र शनिबार हप्तामा चार दिन उडान भर्ने गरेको छ । हवाई सेवा सुचारु भएपछि यहाँका सर्वसाधारण खुसी भएका छन् ।
अल्फाविटाको ४९ प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्दैछौं- द्विराज शर्मा
अल्फाविटा नेपालको पुरानो र अग्रणी एजुकेशन कन्सल्टेन्सी हो । २७ वर्ष पुरानो यस कन्सल्टेन्सीबाट ४० देशका २५० भन्दा बढी कलेजमा हरेक वर्ष हजारौंको संख्यामा विद्यार्थीहरुले शैक्षिक परामर्श सेवा लिइरहेका छन् । अल्फाविटालाई विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श सेवा दिने कम्पनी बनाउने र त्यसलाई पब्लिक लिमिटेड कम्पनी बनाउने सोचका साथ काम अगाडि बढिरहेको बताउने अल्फाविटा ग्रुपका कार्यकारी अध्यक्ष द्विराज शर्मासँग सीमापारीको शिक्षाको महत्वको साथै अल्फाविटाको भावी योजनाबारे गरिएको विकास वहस यस पटक । कार्यकारी अध्यक्ष, अल्फाविटा ग्रुप २७ वर्षअघि अल्फाविटा एजुकेशन कन्सल्टेन्सीको स्थापनाको सोच कसरी आयो ? यस संस्थाको स्थापनाको क्रममा जोडिएको एउटा ऐतिहासिक पक्ष म जोड्न चाहान्छु । मेरो बुबा शिवप्रसाद शिवाकोटी झापा विद्रोहमा क्रियाशिल हुनुहुन्थ्यो । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वमन्त्री सीपी मैनाली, राधाकृष्ण मैनाली सबै राजनीतिमा सँगै हुनुथ्यो । २०२८ सालमा उहाँलाई राजद्रोह मुद्दा लाग्यो । २०२९ सालमा उहाँ भारत निर्वासित हुनुभयो । झापामा भएको हाम्रो सबै सम्पत्ति राष्ट्रिय करण भयो । २०४६ सालको आन्दोलनपछि हामी सहपरिवार नेपाल फर्कियौं । बुबाविरुद्ध लागेको राजद्रोहको मुद्दा फिर्ता भयो । सरकारले क्षतिपूर्ति स्वारुप ५ लाख रुपैयाँ हामीलाई दियो । साथै बुबाको काकाको छोरा गंगा उप्रेति (हाल प्रज्ञा प्रतिस्ठानको उपाध्यक्ष) ले केही रकम सापटी दिनुभयो । त्यहि पैसाले दाई युवराज शर्माको अगुवाईमा एल्फाविटा शुरु गरिएको हो । त्यतिबेला कन्सल्टेन्सी थिएन । कोचिङ, ट्युसन, ट्राभल्स् एण्ड टुर गाईड, टिकेटिङ, कम्प्यूटर ट्रेनिङ हुन्थ्यो । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पनि अल्फाविटामा नै कम्प्यूटर सिक्नु भएको हो । कोचिङमा पनि साइन्सको कोचिङ बढी पढाउने उदेश्यले अल्फाविटा नाम राखिएको थियो । पुरुषोत्तम विष्टले नाम जुराउनु भएको । हामी त्यतिबेला पार्टरन थियौ । अहिले सबै पार्टनरहरुले छोड्नु भयो र म एक्लै छु । तपाई यस कन्सल्टेन्सीको व्यवसायमा केन्द्रीत हुनुको कारण ? म सन् १९९६ मा भारतबाट नेपाल आएको थिएँ । ६ महिना दाईले शुरु गरेको व्यवसायमा सहयोग गरे । त्यसपछि पढ्न सिंगापुर गएँ । मार्केटिङ, पब्लिक सिलेशनमा पोष्ट ग्राजुएट गरेँ । मलाई सिंगापुर लैजान अञ्जना दिदी (सरदचन्द्र शाहको श्रीमती) ले सहयोग गर्नु भएको थियो । सिंगापुरमा मेरो एक जना साथी फुतुफुतु नेपाल आउने र सिंगापुर जाने गरेको देखेँ । मलाई एक पटक घर (नेपाल) आउन पनि धेरै गाह्रो हुने । पछि मैले थाहा पाएँ उनी नेपाली विद्यार्थीलाई सिंगापुरमा भिसा मिलाउने काम गर्दा रहेछन्, त्यसैबाट राम्रो पैसा आम्दानी हुँदो रहेछ । मैले सोचेँ –म त झन् सिंगापुरमा नै बसेर पढेको । मेरो चिनजानको नेटवर्क झ्न ठूलो छ । अर्काको देशमा पीआर, सिटिजनसिपको लागि संघर्ष गर्नुभन्दा नेपालमा नै फर्कन्छु भनेर सोचे । मैले मेरो परिवार पनि मिस गरिरहेको थिए । दाजुभाई पनि सँगै बस्न नपाउने । मेरी श्रीमती, त्यतिवेलाकी गर्लफ्रेड पनि काठमाडौंमा नै बस्ने । सन् २००१ मा मैले काठमाडौं फर्कन निर्णय गरेँ । काठमाडौं फर्कदा मसँग ५०० डलर थियो । त्यतिबेला दाई युवराजले डनबस्को कलेजलाई बढी समय दिनुभएको थियो । अल्फाविटा बेच्यो भने पाँच लाखमा पनि नबिक्ने अवस्थामा थियो । मैले शुरुमा सिंगापुर विद्यार्थी पठाउन थाले । पछि चीन, अमेरिका, बेलायत, अष्ट्रेलिया हुँदै अहिले करिव १५ देशका २५० वटा यूनिभर्सिटीमा विद्यार्थी पठाउँछौं । उनीहरुले हामीलाई विश्वास गरेका छन्, उनीहरुको एजेन्टको रुपमा हामीले काम गरिरहेका छौं । सिंगापुर पढ्दा काठमाडौंमा गल्फ्रेड कसरी बनाउनु भयो ? मञ्जु ओली (हाल शर्मा)लाई मैले डनबस्कोमा भेटेको । उनीकी बहिनी त्यहाँ पढ्थिन, बहिनीसँगै आउँदा उनलाई चिनेको । पछि हाम्रो सम्बन्ध राम्रो भयो । पछि उनले डनबस्कोमा पढाइन पनि । विवाह भएपछि हामी काम पनि सँगै गर्न थाल्यौ । आँट थियो भएङ्कर । दुबै जना मिलेर काम गर्न थालेपछि संस्था पनि बलियो भयो । उनी हाल अल्फाविटामा प्रबन्ध निर्देशकको भूमिकामा छिन् । तपाईहरु दुई जनाको प्रेम र व्यापार सँगै मौलाएछ, होइन ? हो । हामी सँगै अगाडि बढेका छौं । हाम्रो ग्रोथ अर्गानिक छ । हामी अहिले पनि विगतको समिक्षा गर्छौ । मञ्जुले ममा अलि परिवर्तन आएको बताउँछिन् । म एरोगेन्ट भए रे, अरुलाई नटेर्ने, अलि अप्ठ्यारो, अलि बढी रिसाउन थालेको छु रे म । रिसाउने घरमा कि अफिसमा ? यस्तो भयो, जिम्मेवारी बढ्यो । प्रेसर हुन्छ । कम्पनीको ग्रोथसँगै हाम्रो सोच पनि परिवर्तन हुनुपर्यो । १५ वर्षअघिको सोचले त अफिस चल्दैन । संस्थागत किसिमले जानुपर्यो । हामी भन्दा धनीका छोराछोरी हाम्रो अफिसमा आएर काम गरेका हुन्छन् । उनीहरुको सोच अनुसार हामी परिवर्तन हुनुपर्यो । ५०० सय डलर (२५÷३० हजार रुपैयाँ) बाट शुरु भएको यो व्यवसाय अव त धेरै अगाडि बढिसक्यो । अल्फाविटाको अहिलेको भ्यालु कति हो ? त्यो हिसाव नै गर्नुपर्छ । अल्फाविटाको ब्राण्ड भ्यालु पनि करोडौंको हुन्छ । जग्गा, भवन लगायत सम्पत्तिको मूल्य पनि धेरै हुन्छ । करिव १० अंकमा होला । त्यसमा बैंकको ऋण पनि हुन्छ । वार्षिक व्यापार कति हुन्छ ? अल्फाविटा कन्सल्टेन्सी मात्र होइन, बैंङकेट छ, यससँग सम्बन्धित अरु विजनेश पनि छन् । राम्रो छ, ग्रोथ छ । पहिला हामी पाँच दाजुभाईको सँगै लगानी थियो । ठूलोदाई भीष्मले म्यानपावर कम्पनी चलाउनुहुन्छ । माइलोदाई र यूवराज दाईले ह्वाइटहाउस कलेज, स्कूल चलाउनु हुन्छ । कान्छो भाईले अष्ट्रेलियमा कलेज चलाउँछ । अहिले अल्फाविटा मैले मात्र हेर्छु । कामको प्रेसर मलाई बढी छ । ४ अंकको व्यापारलाई १० अंकमा पुर्याईसक्नु भयो । अब किन प्रेसर लिने ? धनी भएपछि, ठूलो व्यवसाय गरेपछि आनन्द हुनुपर्ने होइन र ? बजारमा प्रतिस्पर्धा छ । निश्चित टार्गेट लिएर काम गर्नुपर्छ । टार्गेट पूरा गर्ने प्रेसर हुन्छ । प्रविधिमा ठूलो परिवर्तन आएको छ । अष्ट्रेलियाको कलेजले काठमाडौंबाट अष्ट्रेलिया जान इच्छुक विद्यार्थीलाई सोझै तान्न सक्छ । एकसे एक स्र्माट केटाहरु बजारमा आएका छन् । सिगापुरबाट म नेपाल फर्कदा विदेशबाट नेपाल फर्कने म मात्र हुँ कि जस्तो लाग्थो । अहिले धेरै नेपाली विदेशमा टन्नै पैसा कमाएर नेपाल आएका छन्, उनीहरुले लगानी गरिरहेका छन् । धेरै पैसा कमाउनेहरु आक्रामक रुपमा लगानी गर्छन् । पैसा धेरै कमाएपछि हौसिएर लगानी गर्न आउनेहरु अन्तिममा डुब्ने नै हुन् । तर उनीहरुले बजार विगार्छन् । त्यसको नकारात्मक असर हामीले पनि बेहोर्नुपर्छ । यी चुनौतिहरु मैले देखेको छु । साथै मैले अरु धेरै काम गर्नुछ । तपाईको कर्पोरेट ड्रिम के हो ? अल्फाविटालाई यस क्षेत्रको अग्रणी र नमूना संस्था बनाउन चाहान्छु । यो कम्पनीमा शुरुमा बुबाको लगानी रह्यो । दाईले काम शुरु गर्नुभयो । अहिले मैले यो कम्पनी समालेको छु र कम्पनी राम्रो भईरहेको छ । यो कम्पनी अझै बलियो र राम्रो होस् भन्ने सोचसहित यस कम्पनीलाई पब्लिक कम्पनी बनाउने योजना बनाएको छु । वार्षिक ५० करोडभन्दा बढीको कारोबार हुन थालेपछि ५१ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने सोच छ । ४/५ वर्षभित्र तपाई पनि यो कम्पनीको सेयरधनी बन्न सक्नुहुन्छ । पब्लिक कम्पनी बनाउने उदेश्यले यस कम्पनीको संस्थागत विकास गर्न, कम्पनीलाई पारदर्शि र विश्वसनिय बनाउन गर्नुपर्ने कामहरु थालिसकेको छु । करमा क्लियर हुने, डकुमन्टेहरु सहि तरिकाले बनाउने, राख्ने काम थालिसकेको छु । त्यसबाट आएको पैसाले होटल वा सिमेन्ट उद्योगमा लगानी गर्ने सोच बनाईरहेको छु । तपाई शिक्षा क्षेत्रमा भिजेको मान्छे, देश विदेशको शिक्षा बुझेको मान्छे । तर अल्फाविटाको सेयर बेचेपछि त्यो पैसा किन होटलमा वा सिमेन्टमा लगानी गर्ने ? किन नेपालमा अन्तराष्ट्रिय स्तरको स्कूल वा कलेज खोल्न लगानी नगर्ने ? किन विदेशी विद्यार्थीलाई नेपालमा पढ्न आउने वातावरण नबनाउने ? त्यो पनि गर्ने मेरो मन छ । तर मलाई के पनि लाग्छ भने शिक्षामा भन्दा होटलमा वा उत्पादन मुलक क्षेत्रमा लगानी गर्यो भने त्यसमा बढी राम्रो गर्न सक्छु । फेरि मलाई के थाहा छ भने शिक्षा क्षेत्रमा पैसा कमाउन सकिदैन । नयाँ नयाँ लगानी गर्दै जानुपर्छ । उद्योगबाट पैसा कमाइन्छ । बरु उद्योगबाट राम्रो पैसा कमाईयो भने त्यसपछि शिक्षा क्षेत्रमा लगानीगर्दा राम्रो हुन्छ । त्यसले इज्जत पनि दिन्छ । हो, शिक्षा क्षेत्रमा गरिएको लगानीलाई इज्जतसँग जोडेर हेरिन्छ । तर नेपालका एजुकेशन कन्सल्टेन्सीहरुले धनीका छोराछोरी र अलि बढी क्षमता भएका युवालाई एजुकेशन भिषाको नाममा विकशित देश पठाउने तर वास्तविक अर्थमा म्यानपावरको भूमिका खेल्छन् भन्ने आरोप पनि लागेको छ नि ? नबुझेका मान्छेहरु त्यस्तो भन्छन् । बरु समस्या कहाँ छ भने ९० प्रतिशत एजुकेशन कन्सल्टेन्सीहरु विद्यार्थीको करिअर काउन्सिलिङ गर्दैनन्, कलेज काउन्सिलिङ गर्छन् । अधिकांश एजुकेशन कन्सल्टेन्सी सञ्चालकको छ भने उनीहरु विदेशमा पढ्न जान प्रयास गरे, तर भिषा पाएनन् । अलिअलि मेसो बुझे, अनि आफै एजुकेशन कन्सल्टेन्सी खोले । त्यहाँभित्र समस्या छ । तर मलाई कसैले तपाईले भनेजस्तो आरोप लगाउँछ भने म उसलाई मुखभरी जवाफ दिन्छु । अल्फाविटाको कुरा गर्नुहुन्छ भने यहाँ काम गर्ने अधिकांश कर्मचारी अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायत देशमा पढेर नेपाल फर्केकाहरु छन् । म आफै विदेशमा पढेर आएको हुँ । हामीले विदेश पठाएका विद्यार्थीहरुको करिअर विग्रेको हामीले देखेका छैनौ । त्यही भएर हामीकोमा विद्यार्थीहरुको भीड लाग्छ । पढ्नका लागि विदेश नै किन जानु पर्ने ? विदेशका विश्वविद्यालयहरुको क्रेडिविलिटी बढी हुन्छ । विदेशमा पढ्दा धेरै देशको साथीहरु हुन्छन् । त्यो नेपालको क्लासमा पाइदैन । म पनि सिंगापुरमा बसेर नपढेको भए लाटो नै हुन्थे होला । त्यहाँ मैले धेरै देशका साथीहरुसँग संगत गरे । उनीहरुबाट मैले धेरै कुरा सिकेँ । नेपालीहरु विदेशमा पढ्न जानुलाई ब्रेन ड्रेन भनेर आलोचना गरिन्छ । त्यो मूर्खहरुले गर्ने आलोचना हो । विदेश जानु भनेको ब्रेन गेइन गर्नु हो, ब्रोन ड्रेन होइन । नेपाललाई माया गर्नको लागि नेपाल नै बस्नुपर्छ भन्ने छैन । अमेरिका वा युरोप जहाँ बसेर पनि नेपालको हितमा काम गर्न सकिन्छ । नेपालमा बसेर अमेरिकाको कम्पनीको काम गर्न सकिन्छ । आफ्नो छोराछोरीको भविष्यबारे के सोच्नु भएको छ ? दुई छोरी र एक छोरा छन् । उनीहरु नेपालमा नै पढिरहेका छन् । तर उनीहरुलाई मैले विदेश देखाएको छु, घुमाएको छु । उनीहरुले विदेशको सुखदुःख सबै देखेका छन् । उनीहरु पढ्न विदेश गए पनि काम नेपालमा नै गर्छन । मैले छोराछोरीलाई भनेको छु कि देशलाई आवश्यक पर्यो भने एक जना राजनीतिमा पनि जानुपर्छ । विदेश बसेर अंग्रेजीमा नेताहरुलाई गाली गर्नु हुँदैन ।
सेयर कारोबार नगर्न ब्रोकरलाई लगानीकर्ताको दवाव
काठमाडौं । सरकारले बोनस सेयर र हकप्रद सेयरमा लगाएको लाभकर नहटाएसम्म कारोबार नगर्ने लगानीकर्ताले ब्रोकरलाई दवाव दिएका छन् । सेयर लगानीकर्ता संघलगायत अन्य लगानीकर्ताका संस्थाले सेयर कारोबार नगर्ने दवाव दिएका हुन् । लाभकरको निर्णय फिर्ता नभएसम्म सेयर कारोबार नगर्ने ब्रोकरलाई अनुरोध गरिएको सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुलेलले बताए । “सबै ब्रोकर कम्पनीलाई सेयर कारोबार नगर्न भनेका छौ” उनले भने “हेरौ उहाँहरुले कतिको सहयोग गर्नुहुन्छ ?” यस्तै स्टक ब्रोकर एसोसियसनका पुर्वअध्यक्ष तथा कालिका सेक्युरिटिजका प्रवन्ध सञ्चालक नरेन्द्र सिजापतिले लगानीकर्ताबाट कारोबार रोक्न औपचारिक पत्र नपाएको बताए । उनले सामाजिक सञ्चालबाट मात्र यस्तो जानकारी पाएको बताए । विकास न्युजसंग कुरा गर्दै सिजापतिले भने “लगानीकर्ताले किनबेचको आदेश दिएपछि कारोबार गर्नुपर्छ नत्र भने नियामक निकायले कार्वाही गर्ने छ ।” कसैले किन्न र बेच्न आदेश दिएन भने कारोबार स्वत बन्द हुने उनको भनाई छ । आइतबारदेखि लाभकर लागु भएको विरुद्धमा लगानीकर्ताहरुले सोमबार सेयर कारोबार बन्द गर्न अनुरोध गरेका थिए । सोमबार ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । नियामक धितोपत्र बोर्डका सहायक प्रवत्ता निरन्जय घिमिरेले यस विषयमा अहिले नबोल्ने भन्दै पन्छिए ।
भ्याटको दायरामा थपिए ३७ उद्योग व्यवसाय, इँटादेखि व्युटी पार्लरसम्म(सूचिसहित)
काठमाडौं । सरकारले थप ३७ वटा उद्योग तथा व्यवसायलाई मूल्य अभिवृद्धि कर (भ्याट) को दायरामा ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेका सार्वजनिक बिधेयक अनुसार देशभर सञ्चालनमा रहेका १३ प्रकारकार उद्योग व्यवसाय र महानगरपालिका तथा उपमहानगरपालिका भित्र सञ्चालित थप २४ वटा उद्योग व्यवसायलाई भ्याटको दायरामा ल्याएको हो । अब क्रसर उद्योग, ब्युटी पार्लर, पार्टी प्यालेसदेखि कलरल्याबसम्म भ्याटको दायरामा आएका छन् । सरकारले देशैभर सञ्चालनमा रहेका इँटा उद्योग, मदिरा डिष्ट्रिब्युटर, वाइन सप, सफ्टवेयर, ट्रेकिङ, र्याफ्टिङ, अल्ट्रालाइट फ्लाइट, प्याराग्लाइडिङ, पर्यटक सवारी, क्रसर, बालुवा खानी, स्लेट र चुनढुंगा उद्योग लगायतका उद्योग व्यवसायलाई भ्याटमा समावेश गरेको आन्तरिक राजश्व विभागले जनाएको छ । त्यस्तै, महानगरपालिका र उपमहानगरपालिका भित्र सञ्चालित हार्डवेयर, सेनिटरी, फर्निचर, फिक्स्चर, फर्निसिङ, अटोमोबाइल्स, मोटर पार्टस्, इलेक्ट्रोनिक्स, मार्बल, शैक्षिक परामर्श, डिस्को थेक, हेल्थ क्लब, मसाज थेरापी, व्युटीपार्लर, क्याटरिङ, पार्टी प्यालेस व्यवसाय, पार्किङ सेवा, मेसिनरी उपकरण प्रयोग भएको ड्राईक्लिनर्स परेका छन् । यस्तै वारसहित रेष्टुरेन्ट , आइसक्रिम उद्योग, कलरल्याब, कलरल्याब, बुटिक, सुटिङ सर्टिङसहितको टेलरिङ व्यवसाय, शिक्षण संस्था वा स्वास्थ्य संस्था वा अन्य निकायमा युनिफर्म आपुर्ति गर्ने व्यक्तिलाई अनिवार्य रुपमा भ्याटमा दर्ता भएर मात्रै कारोबार गर्न भनिएको छ । विभागले प्रस्तावित नयाँ क्षेत्रलाई भ्याटको दायरामा ल्याउन कर कार्यलयहरुलाई पत्राचार समेत गरेको छ ।सरकारले आगामी आर्थिक बर्षमा राजश्वको दायरा फराकिलो पार्ने क्रममा यी नयाँ क्षेत्रहरुलाई भ्याटको दायरामा तानेको हो । संघीयता कार्यन्वयनका लागि धेरै बजेटको आवश्यकता परेपछि सरकारले नयाँ क्षेत्रलाई पनि करको दायरामा ल्याएको हो । सरकारले आगामी आर्थिक वर्षमा ८ खर्ब ३१ अर्ब रुपैयाँ राजश्व संकलन लक्ष्य लिएको छ । यो लक्ष्य पुरा गर्न सरकारले कर लाग्ने नयाँ क्षेत्रको खोजी गरिरहेको छ ।
चार किलोमा पहिरो, मुग्लिन सडक एकतर्फी
रत्ननगर, चितवन । चितवनको नारायणगढ —मुग्लिन सडकखण्डअन्तर्गत चारकिलो भन्ने स्थानमा आज बिहान ४ः५५ बजे पहिरो खस्दा सडक एकतर्फ मात्र सञ्चालन भएको छ । राति परेको पानीका कारण यहाँ पहिरो खसेको हो । अहिले पनि पानी पर्ने क्रम चितवनमा रोकिएको छैन । चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अहिले पहिरो पन्छाउनका लागि स्काभेटर पठाइएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा दुई दिन अघि मात्रै पहिरो खस्दा तीनघण्टा यातायात अवरुद्ध हुन पुगेको थियो । यहाँ पटकपटक पहिरो खस्ने गर्छ । अहिले रात्रि गाडीको चाप रहेकाले सो गाडी कटाएर पहिरो पन्छाइने पन्तले बताए । नरायणगढ—मुग्लिन सडकखण्ड चौडा पार्ने काम अहिले अन्तिमतिर पुगे पनि भित्तो काटिएको क्षेत्रमा बेलाबेलामा पहिरो खस्ने गर्छ । रासस
विद्युत् भुक्तानी गर्न कार्यलय जानु पर्दैन, अब ई-सेवाबाट
कैलाली । कैलालीमा विद्युत् भुक्तानी ई–सेवाबाट गर्न सकिने व्यवस्था शुरु गरिएको छ । ई–सेवा धनगढीले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएकाे हाे । जिल्लाको धनगढी, टीकापुर, अत्तरिया, सुख्खडलगायत क्षेत्रका विद्युत् उपभोक्ताले विद्युत् महसुल ई–सेवाबाट बुझाउन सक्ने व्यवस्था गरेको धनगढी ई–सेवाका सञ्चालक कलम बमले जानकारी दिए । सम्मेलनमा नेपाल विद्युत् प्राधिकरण, धनगढी वितरण केन्द्रका प्रमुख धीरेन्द्रकुमार यादवले ई–सेवाबाट विद्युत् महशुल बुझाउँदा समयको बचत, अनावश्यक झण्झटलगायतबाट ग्राहकले छुटकारा पाउने विश्वास आफूले लिएको बताए । उक्त सेवाबाट सहजैरुपमा विद्युत्को महशुल तिर्न सकिने भएकाले सेवाग्राहीले विद्युत् केन्द्रसम्म धाउनु नपर्ने प्राधिकरणले जनाएको छ । धनगढी वितरण केन्द्रअन्तर्गत ४३ हजार तथा अत्तरिया विद्युत् वितरण केन्द्रअन्तर्गत १० हजार गरी कूल ५३ हजार विद्युत् उपभोक्ताले उक्त सेवाबाट आफू अनुकूल जहाँसुकैबाट पनि विद्युत् महशुल तिर्न सक्ने व्यवस्था प्राधिकरणले गरेको छ । यसअघि प्रभु बैंक, एसबीआई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, महालक्ष्मी बैंकसहित आठवटा वित्तिय संघसंस्थाबाट विद्युत् महशुल तिर्न सकिने व्यवस्था रहेको प्रमुख यादवले पत्रकार सम्मेलनमा जानकारी दिए । रासस
महाकालीको दोधारा-चाँदनी झोलुंगे पुल चुँडिदै,जुनसुकै बेला पनि पुल टुट्न सक्ने
कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीको मल्टीस्पान झोलुंगे पुल ठाउँठाउँमा चुँडिन थालेको छ । पुलमा बिछ्याइएका धातुका पाता, फलामे डोरी र मुख्य रड मर्मत सम्भारको अभावमा चुँडिन थालेका छन् । १ हजार ४५२ मिटरमा बिछ्याइएका पाता र फलामे डोरी चुडिएका छन् । महाकाली नगरपालिका–६ का वडाध्यक्ष दिलबहादुर सिजालीले चाँडै पुल टुट्ने अवस्थामा पुगेको बताए । पुलको धेरैजसो स्थानमा बिछ्याइएका पाता टुटेका र चारैतिरका फलामे डोरी चुँडिन थालेका कारण जुनसुकै बेला पनि पुल टुट्न सक्ने अवस्थामा रहेको सिजालीले जानकारी दिए । पुलका नटबोल्ट र रड खसेका छन् भने जाली च्यातिएका छन् । पैदल, मोटरसाइकल तथा साइकलयात्रीको क्षमताभन्दा बढी भार बढ्दै गएकाले पुल कमजोर बन्दै गएको स्थानीय टीका उपाध्यायले बताए । उनले भने, “पुल कति बेला टुट्ने हो भन्ने थाहा छैन । कुन दिन भाँचिन्छ भन्ने पिरलो छ ।” महाकाली नगरपालिका र भीमदत्त नगरपालिकाले मिलेर तत्कालै पुलको मर्मत गर्नुपर्ने उनको भनाइ छ । “कति बेला दुर्घटना हुन्छ, कस्को ज्यान लिने गरी पुल भाँच्चिने हो कुन्नि थाहा छैन” उपाध्यायले भने । पुलको तेस्रो टावर नजिक पुल पूर्णरुपमा भाँचिने अवस्थामा रहेको हुँदा सरकारले प्राविधिक बोलाएर मर्मत सम्भार गर्न लाग्नुपर्ने स्थानीय बासिन्दाले बताएका छन् । महाकाली नदीपारिका साविकको दोधारा र चाँदनी गाविस हालको महाकाली नगरपालिकाका स्थानीयबासी १३ वर्ष अघि सदरमुकाम आउजाउ गर्न भारतीय बाटो वनबासाको प्रयोग गर्थे । भीमदत्त नगरपालिकाको वडा नं १३ र महाकाली नगरपालिका–४ मा पर्ने महाकाली नदीमा विसं २०६१ मा ९ करोड ४२ लाख रुपैयाँको लागतमा झोलुंगे पुल निर्माण भएपछि सर्वसाधारणले राहत महसुस गरेका थिए । पुल पर्यटकको आकर्षणका रुपमा समेत रहेको छ । “महाकालीमा पक्की पुल निर्माण नहुञ्जेल हामीले झोलुंगे पुलको संरक्षण गर्न आवश्यक छ”, स्थानीय गगन सिंहले भने । सम्बन्धित निकायको चरम लापर्बाहीका कारण दक्षिण एशियाको दोस्रो लामो झोलुंगे पुल मर्मतको अभावमा चुँडिने अवस्थामा पुगेको उनको भनाइ छ । सरकारी उदासीनताका कारण निर्माणको एक दशकमै मर्मत सम्भारको अभावमा अहिले पुल जीर्ण बनेको स्थानीयको बुझाइ रहेको छ । दोधारा चाँदनीलाई सदरमुकामसँग जोड्न पुल निर्माण गरिएको हो । अहिले दैनिक करीब तीन हजार यात्रुले पुलबाट ओहोरदोहोर गर्छन् । पुल बनेपछि जिल्लाका ५०–६० हजार सर्वसाधारण प्रत्यक्ष लाभान्वित छन्, तर सर्वसाधारणभन्दा पनि भारतीय बजारबाट अवैध कारोबार गर्ने व्यापारीले बढी पुलको प्रयोग गर्दै आएका कारण पुलको यो अवस्था भएको बताइएको छ । रासस