विराटनगर औद्योगिक क्षेत्र पनि लोडसेडिङ मुक्त, जेठ १५ पछि सबै उद्योगलाई नियमित बिजुली
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बुधबारदेखि विराटनगर औद्योगिक क्षेत्रलाई पनि लोडसेडिङ मुक्त गरेको छ । एक साता अघि मात्र परीक्षणको रुपमा हेटौडा–वीरगञ्ज औद्योगिक करिडोरमा लोडसेडिङ हटाएको विद्युत प्राधिकरणले बुधबारदेखि विराटनगर पनि लोडसेडिङ मुक्त गरेको हो । अब क्रमश अन्य औद्योगिक क्षेत्रलाई लोडसेडिङ मुक्त बनाउने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । उनले बुटवल, भैरहवा र नेपालगञ्ज औद्योगिक क्षेत्रमा आउदो जेठ १५ गतेपछि लोडसेडिङ मुक्त गर्ने तयारी भइरहेको सुनाए । विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा साँझ पिक आवरमा दैनिक ३ घण्टासम्म लोडसेडिङ गर्दै आएको छ । अब विराटनगर र वीरगञ्ज औद्योगिक क्षेत्रमा लोडसेडिङ हुने छैन् । औद्योगिक क्षेत्रमा ३ सय मेगावाट बराबर लोडसेडिङ हुदै आएको थियो । नियमित रुपम बिजुली आपूर्ति भएपछि माग पनि घटेर २०० मेगावाटमा झर्ने उनले जानकारी दिए । औद्योगिक क्षेत्रलाई लोडसेडिङ मुक्त गरेपछि मुलुकको उद्योग उत्पादनमा विस्तार हुने भएको छ । अधिकारीका अनुसार हाल बिजुलीको माग १ हजार २८५ मेगावाट छ । भारतबाट समेत गरी १ हजार ७५ मेगावाट आपूर्ति भइरहेको छ । यस्तै २१० मेगावाट अपुग भएको छ । भारतबाट मात्रै ५०१ मेगावाटसम्म बिजुली आयात भइरहेको छ । २ वर्षअघि विद्युत प्राधिकरणले ग्राहस्थलाई नियमित रुपमा बिजुली आपूर्ति गर्न थालेको हो । नियमित रुपमा बिजुली आपूर्ति भएपछि औद्योगिक उत्पादनमा वृद्धि भएको सरकारी तथ्याँकले देखाएको छ । नियमित रुपमा ऊर्जा आपूर्ति भएपछि औद्योगिक उत्पादन क्षमता बढेर ५८ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले जनाएको छ ।
सेयर बजार घट्दा जीबन बीमा कम्पनीको नाफामा गिरावट, नेपाल लाइफले गर्यो २० करोड नोक्सानी व्यवस्था
काठमाडौं । सेयर बजार घटेपछि अधिकांश जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाफामा गिरावट आएको छ । पछिल्लो समयमा सेयर बजारमा निरन्तर गिरावट आएपछि जीवन बीमा व्यवसाय गर्ने अधिकांश कम्पनीको असर नाफामा परेको हो । जीवन बीमा कम्पनीले १० प्रतिशतसम्म सेयर बजारमा लगानी गर्न पाउने व्यवस्था छ । बजार घटेका कारण नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा २० करोड ३८ लाख रुपैयाँ नोक्सानीको व्यवस्था गरेको छ । ठुलो रकम कर्जा नोक्सानीमा राख्नु पर्दा नेपाल लाइफको चालु आर्थिक वर्षको ९ महिनामा नाफा ६.३७ प्रतिशत मात्र बढेको छ । गत चैतसम्म कम्पनीले ४३ करोड ५७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४० करोड ९६ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आवको चैतसम्म नेपाल लाइफले ८२ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ५४ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको थियो । नोक्सानी व्यवस्था नगरेको भए २० करोड ३८ लाख रुपैयाँ नाफामा बढ्ने थियो । सेयर बजार घट्दै गएपछि बुक भ्यालुमा नोक्सान देखिएको नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झा बताउछन् । कम्पनीले हालसम्म ६३ अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । चालु आवमा मात्रै १० अर्ब ७७ करोड रुपैयाँ आर्जन गरेको कम्पनीले जनाएको छ । कम्पनीसंग हालसम्म ११ लाख १२ हजार ५७९ बीमालेख रहेको छ । अधिकांश बीमा कम्पनीले सेयरमा लगानी गरेका छन् । “१० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था हुँदाहुँदै हामीले ४ प्रतिशत मात्र सेयर बजारमा लगानी गर्दा २० करोड बढी नेक्सानीको व्यवस्था गर्नुपरेको छ” उनले भने “२ वर्षअघि सेयर बजार बढ्दा ५० करोड रुपैयाँ कमाएका थियौ अहिले घटेको छ ।” सेयर बजार बढेपछि यसको कर्जा नोक्सानीबाट सो रकम नाफामा फिर्ता हुने उनको भनाई छ । १ हजार ८८१ अंक पुगेको सेयर बजार अहिले घटेर १ हजार ३५० अंकमा छ ।
आरएसडिसी लघुवित्तले २१ करोड ५९ लाखको हकप्रद जारी गर्ने, पायो बोर्डको अनुमति
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले २१ करोड ५९ लाख ७० हजार रुपैयाँको हकप्रद जारी गर्ने भएको छ । संस्थाले सो मात्राको सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अन्तिम अनुमति पाईसकेको छ । बोर्डको अनुमति अनुसार कम्पनीले ६० प्रतिशत (अर्थात २१ लाख ५९ हजार ७०० कित्ता) सेयर निष्काशन गर्ने भएको छ । उक्त सेयर जारी गर्न कम्पनीको धितोपत्र तथा बिक्री प्रबन्धकको रुपमा एनआईबीएल एस क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ३५ करोड ९९ लाख रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ५७ करोड ५९ लाख रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८५९ रुपैयाँ रहेको थियो ।
रिलायन्स फाइनान्सका सीईओ श्रेष्ठको कार्यकाल चार बर्ष थपियो
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिल श्रेष्ठको कार्यकाल थपिएको छ । कम्पनी सञ्चालक समितिको गत वैशाख २४ गते बसेको बैठकले श्रेष्ठको कार्यकाल थप्ने निर्णय गरेको हो । श्रेष्ठले अब आगामी चार बर्षसम्म सीईओको रुपमा रिलायन्स फाइनान्सको नेतृत्व सम्हाल्नेछन् ।
ललितपुरको देउराली भन्ज्याङमा ११\२ हेक्टर जग्गाभित्र शहिद पार्क बन्ने
काठमाडौं । ललितपुरको देउराली भन्ज्याङमा ११\२ हेक्टर जग्गामा शहिद पार्क निर्माण हुने भएको छ । सरकरले यस योजनालाई राष्ट्रिय गौरबको आयोजनाको रुपमा लिएको छ । गोदावरी क्षेत्रलाई पर्यावरणीय पर्यटक क्षेत्रको रुपमा विकास गर्न युवा जागरण पर्यावरणीय मन्च र फुल्चोकी एकीकृत बिकास कार्यक्रमले गर्दै आएको जनाइएको छ । गोदावरी नगरपालिका वडा २ र महालक्ष्मी नगरपालिका वडा ९ र १० भित्र पर्ने करिब ११\२ हेक्टर जग्गामा शहिद पार्क निर्माण गर्ने तयारी भइरहेको हो । यस सम्बन्धमा बृहत कार्य–योजना डीपीआर समेत तयार गरी बातावरणीय प्रभाब मुल्यांकन् समेत तयारी गरि प्रतिबेदन स्वीकृत गराउने सम्बन्धमा काम अघि बढिसकेको छ । सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र बन तथा भूसंरक्षण मन्त्रालयबाट इआइए सम्बन्धि क्षेत्र निर्धारण प्रतिबेदन तथा कार्यसूची टीओअर प्रतिबेदन सुझाब सहित स्वीकृतका लागि जनसंख्या तथा बाताबरण मन्त्रालयमा पत्राचार भइसकेको जनाइएको छ । जनसंख्या तथा बाताबरण मन्त्रालयबाट प्रस्तावित आयोजनाको क्षेत्र निर्धारण कार्यसूचीमा उल्लेखित सास्कृतिक संग्रालय, केबुलकार, शहिद पार्क, भ्यु टावर, होटल तथा रिसोर्ट, बुद्ध स्तुपा, गुम्बा, प्याराग्याइडिङ्ग र साइकलिङ्ग ट्रैक तथा रोड निर्माणजस्ता आयोजनाको क्षेत्र निर्धारण गर्न सम्बन्धित कार्यालयलाई जानकारी गराइ आयोजनाको कार्य क्षेत्र निर्धारण भइसकेको बताइएको छ । गोदावरी नगरपालिका वडा २ र महालक्ष्मी नगरपालिका वडा ९ र १० भित्र पर्ने पूर्व माथिल्लो पात्लेको सिमाना, पश्चिममा पात्लेछापबाट गोदावरी आउने सडक बाटो, उत्तर कोट गाउ जाने बाटो, दक्षिण चापाखर्क जाने बाटो चार किल्लाभित्र पर्ने करिब ११\२ हेक्टरमा शहिद पार्क निर्माण हुने भएको हो । बिशंखु इलाका बन कार्यालयका प्रतिनिधि, सिस्नेरी इलाका बन कार्यालयका प्रतिनिधि, सामुदायीक बन उपभोक्ता समितिका प्रतिनिधि, फुल्चोकी एकीकृत बिकाश कार्यक्रमका प्रतिनिधि, युवा जागरण पर्यावरणीय मन्च अध्यक्ष, हलेसी इञ्जिनियरिङका प्रतिनिधि समेतको निरिक्षणबाट नापजाच गरि क्षेत्र निर्धारण गरेको समेत जानकारी गराइएको छ ।
आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पतालबीच क्यासलेस सेवा सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बि एण्ड बि अस्पताल प्रा.लि.बीच ग्राहकहरुलाई नगद रहित (क्यासलेस) हस्पिटलाइजेशन सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठ र बि एण्ड बि अस्पतालका तर्फबाट उप निर्देशक डा. निरजलाल बैद्यले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात यस इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म बि एण्ड बि अस्पातालबाट नगद रहित हस्पिटलाईजेसन सेवा पाउन सक्नेछन् । साथै, ग्राहकहरुको स्वास्थ सेवामा सहजपहुचलाई सुनिश्चित गर्नेछ । यस इन्स्योरेन्सले बैंक तथा वित्तीय संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी तथा व्यापारी लगायत सम्पूर्ण ग्राहकहरुसँग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै जाने प्रतिवद्धता जनाएको छ ।
टाटा मोटर्सले भित्र्यायो २७ लाखको नयाँ टियागो डुअल टोन मोडल
काठमाडौं । टाटा मोटर्सले आफ्नो पछिल्लो गाडी टियागो मोडलको अपार सफलता पछि आफ्नो पुराना तथा नयाँ संभावित ग्राहकहरुको लागि नयाँ टियागो डुअल टोन मोडल सार्वजनिक गरेका छ । नेपला बजारमा भित्र्याइएको उक्त गाडी एकदमै नयाँ, स्पोर्टी र विश्वसनीय रहेको कम्पनीको भनाइ छ । कम्पनीको अनुसार १.२ लि. को रिभोटोर्न ईन्जिन रहेको गाडीमा ८५ पि.एस. पावर रहेको छ । साथै गाडीले प्रतिलिटर २३.८४ कि.मि. माइलेज दिने कम्पनीको दाबी छ । गाडीको थप विशेषताहरुमा दुईवटा एसआरएस एअर ब्याग्स, अटोमेटिक ब्रेकिङ सिस्टम, रिभर्स पार्किङ सेन्सर, मल्टी ड्राईभ मोड रहेको छ । जसमा आठ वटा स्पिकर सहित हर्मनको ईन्फोटेनमेन्ट सिस्टम, २४ वटा युटिसलटी स्पेस र २४२ लिटरको बुट स्पेस उपलब्ध छ । गाडीको आधिकारिक विक्रेता कम्पनी सिप्रदीले ग्राहकहकहरुलाई आफुले लगानी गरेको मुल्यमा राम्रो मोबिलिटी दिन चाहेको भन्दै उक्त गाडी सर्वजनिक गरेको बताएको छ । टाटा टियागोको सफलता मनाउँदै कम्पनीले वर्तमान तथा संभावित ग्राहकहरुलाई नयाँ मोडलमा केही विशेष दिन खोजेको जनाएको छ । कम्पनीको अनुसार टियागो डुअल टोन स्टाईलिस र फ्रेस हुनुका साथै आकर्षक मूल्यमा उपलब्ध छ । नयाँ थप आकर्षक विशेषताहरुसहित आएको टियागो डुअल टोन टाटा ब्राण्डका गाडीहरु थप आकर्षक, सामाजिक प्रतिष्ठा र प्रगतिको थप पहल गरिएको छ । फुल अप्सन मोडलकोको उक्त टियागो डुअल टोन मोडल गाडीलाई कम्पनीले २६ लाख ९५ हजार रुपैयाँ मुल्य तोकेको छ ।
साउथ एसियन कन्ट्रिज एसएमई फोरमको नेतृत्वमा घरेलु महासंघलार्इ, अध्यक्ष सुरेश प्रधान
काठमाडौँ । साउथ एसियन कन्ट्रिज एसएमई फोरमको यसपटकको नेतृत्व आगामी दुई वर्षका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघले लिएको छ । महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधानले उक्त नेतृत्व लिएका हुन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसिएसआई), भारतको फेडेरेशन अफ एसोसिएसन अफ कटेज एण्ड स्मल इन्डष्ट्रिज (एफएसिएसआई), बंगलादेशको नेशनल एसोसिएसन अफ स्मल एण्ड कटेज इन्डष्ट्रिज अफ बंगलादेश (एनएएससीआइबी) र भुटानको भुटान चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिको अगुवाईमा सन् २००५ मा भारतको कोलकतामा स्थापना भएको साउथ एसियन कन्ट्रिज एसएमई फोरमको नेतृत्व नेपाल घरेलु तथा साना उद्योग महासंघले लिएको हो । हालै काठमाडौंमा सम्पन्न तेस्रो सम्मेलनले फोरमको अध्यक्षमा महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधानलाई चुनेको हो । सम्मेलनमा भारत, बंगलादेश, श्रीलंकाका साना तथा मभौला व्यवसायीका छाता संस्थाका प्रतिनिधि र छिमेकी राष्ट्र चीनका साना तथा मझौला व्यवसायी पर्यवेक्षकको रुपमा उपस्थिति रहेको थियो । यसअघि फोरमको नेतृत्व सम्हालिरहेका बंगलादेशको नेशनल एसोसिएसन अफ स्मल एण्ड कटेज इन्डष्ट्रिज अफ बंगलादेश (एनएएससीआइबी) का अध्यक्ष मिर्जा नुरुल घानी सोभोन तेस्रो सम्मेलनबाट महासंघका निवर्तमान अध्यक्ष प्रधानलाई नेतृत्व हस्तान्तरण गरेका हुन् । फोरममा नेपाल र महासंघकोतर्फबाट उपाध्यक्षद्घय शोभा गुरुङ र शिवप्रसाद कट्टेललाई चयन गरिएको छ । यसैगरी सदस्यहरुमा श्यामप्रसाद गिरी, मुकेश उपाध्याय, मोहन कटुवाल, डम्बरप्रसाद रेग्मी, महेन्द्रबहादुर चित्रकार, जानकी प्रधान, सदस्य एवं नेपाल च्याप्टरको प्रवक्तामा गौतमप्रसाद भुषाललाई चयन गरिएको बताइएको छ । फोरमको दोस्रो सम्मेलन सन् २०१६ को जनवरी महिनामा बंगलादेशमा सम्पन्न भएको थियो भने काठमाडौंमा हालै सम्पन्न तेस्रो सम्मेलनको मूल विषय ‘एक्सपाण्डिङ एमएसएमईज लिंकेज वियोण्ड द बोर्डर’ मा छलफल भएको थियो । फोरमको पहिलो बैठकले नेपाल च्याप्टरको सचिवालय नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रिय कार्यालयमा राख्ने निर्णय गरेको छ । नेपालमा साना तथा मझौला उद्योग व्यवसायको क्षेत्रमा काम गर्ने इच्छुक संघ संस्थाको प्रतिनिधिहरुलाई पनि नेपाल च्याप्टरमा सहभागी हुन आमन्त्रण गर्ने निर्णय समेत फोरमको पहिलो बैठकले गरेको छ ।