सिटिजन्स बैंकद्धारा ७३० भूकम्प पिडित परिवारलाई आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्पबाट अति प्रभावित भूकम्प पिडितलाई नगद वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले धादिङ्ग जिल्लाको सेमजोङ्ग गा.वि.स.मा गत असार २० देखि २२ गतेसम्म तीन दिने नगद वितरण कार्यक्रमको आयोजना गरेको थियो । बैंकले विश्व खाद्य कार्यक्रमद्वारा संचालित वेल्ट हंगर हिल्फको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरेको थियो । विशेष गरि भूकम्प प्रभावित परिवारलाई लक्षित उक्त नगद वितरण कार्यक्रममा बैंकले ७३० परिवारलाई आर्थिक सहयोग स्वरुप नगद वितरण गरी सो कार्यक्रम सफलता पूर्वक संचालन गरेको छ ।
बजारमा ९९ करोडको सेयर कारोबार, नबिल बैंकको मात्रै २४ करोडको प्रमोटर सेयर बिक्री
काठमाडौं । मंगलबारको सेयर बजारमा साँढे ९९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४९ कम्पनीको १९ लाख ३० हजार कित्ता सेयर करिब ९९ करोड ६३ लाख रुपैयाँमा सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नबिल बैंकको प्रमोटर सेयर बिक्री भएको छ । सो बैंकको एकैदिन २४ करोड ६१ लाख रुपैयाँ बढीको प्रमोटर सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११२४ रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १९ रुपैयाँले बढी हो । त्यस्तै, यस बैंकको प्रमोटर सेयर ११०० रुपैयाँदेखि ११३४ रुपैयाँ सम्ममा किनबेच भएको छ । मंगलबारको नेप्से परिसूचक ९ दशमलब ७९ अंकले बढेर १५८५ अंकमा पुगेको छ । करिब दोहोरो अंकले बढेको बजारमा कारोबार भएका सबै समूहको परिसूचक हरिया देखिएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६० अंकले उकालो लागेको छ । त्यस्तै, होटल, हाइड्रोपावर र विकास बैंक समूहको परिसूचक क्रमशः ३५, १५ र १३ अंकले उकालो लागेका छन् । बजारमा दुई बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्था र कुबेर मर्चेन्ट फाइनान्सको सेयर मूल्य क्रमशः ९.९८ र ९.६२ प्रतिशतले वृद्धि भएका छन् । उता नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरको मूल्य करिब ९.०९ प्रतिशतले घटेको छ ।
डलर सटही सुविधाले होटल क्षेत्रमा उत्साह
काठमाडौं। होटलमा आफ्ना ग्राहकलाई डलर सटहीमा समस्या व्यहोर्दै आएका होटल व्यवसायीलाई राष्ट्र बैंकको मौद्रिक नीतिले राहत प्रदान गरेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुरुप अब होटलले आफ्ना ग्राहकलाई ३०० अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका हुन् । यसअघि होटललाई यस्तो सुविधा नुहँदा पर्यटकले सास्ती व्यहोर्ने गरेका थिए । होटल एसोसिएसन अफ नेपाल (हान)का महासचिव विनायक शाह डलर सटही सुविधाले होेटललाई सेवा सम्पादन तथा पर्यटक पाहुनाका लागि सहज हुने बताउँछन् । उनले रकमको हिसाबले थोरै देखिए पनि नीतिगत सुरुवात भएको र यसको व्यवस्थापनलाई प्रभावकारी बनाउन थप पहल गरिने बताए । होटलले अहिलेसम्म ग्राहकलाई सटही सुविधा नदिए पनि बिल तिर्दा भने डलरमै तिर्न पाउने सुविधा दिँदै आएका थिए । अब भने होटलमा बसेका ग्राहकलाई थोरै डलर भए पनि बैङ्क वा मनी एक्सचेञ्ज मै गएर साट्नुपर्ने बाध्यता हटेको छ । “बारम्बारको आग्रहपछि राष्ट्र बैङ्कले ठूलो निर्णय लिएको छ, यसले होटल व्यवसायमात्र नभई पर्यटन क्षेत्रमै सकारात्मक सन्देश पुगेको छ, अब डलर सटही कसरी व्यवस्थापन गर्नेबारे राष्ट्र बैङ्कले परिपत्र गर्नेछ,” शाहले भने । मौद्रिक नीतिअनुसार इजाजत प्राप्त होटलले आफ्नो सेवा बिक्री गर्दामात्र सटही दिन सक्ने व्यवस्था रहेकामा अब उप्रान्त होटलमा बस्ने आफ्ना ग्राहकलाई आवश्यक परेमा प्रतिग्राहक अधिकतम ३०० अमेरिकी डलर बराबरसम्म सटही दिन सक्ने व्यवस्था गरिनेछ । भारत भ्रमणमा जानेलाई भारु एक लाखसम्म नगद प्रदान गर्ने व्यवस्था रहेकामा बिरामीबाहेक अन्य विभिन्न प्रयोजनका लागि जाँदा भारु ५० हजारभन्दा बढीको सटही सुविधा लिनुपर्दा अनिवार्य रुपमा कार्ड वा बैङ्किङ उपकरणमार्फत सटही प्रदान गर्ने व्यवस्था राष्ट्र बैङ्कले गरेको छ । विदेशी मुद्रा सटही सम्बन्धमा अनौपचारिक कारोबारलाई नियन्त्रित गर्ने प्रयोजनका लागि प्रचार–प्रसार बढाउँदै देशका पर्यटकीय तथा मुद्रा सटही कारोबार हुने विभिन्न स्थानमा विदेशी मुद्रा इजाजतप्राप्त संस्थाबाट मात्र साट्नु पर्ने व्यवस्थालाई प्रभावकारी बनाउने जनाइएको छ । उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धि गर्न जोड दिएको मौद्रिक नीतिले पर्यटन उद्योगलाई अघिल्लो वर्ष झैँ यस वर्ष पनि उच्च प्राथमिकता दिएको छ । आर्थिक सर्वेक्षण २०७३७/४ अनुसार आव २०७३/७४ को प्रथम आठ महिनासम्म (पर्यटन विभागमा दर्ता भएका) तारास्तरका होटल संख्या १२० पुगेको छ । सोही अवधिमा तारास्तरबाहेकका पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या ९८५ पुगेको छ भने तारास्तरका होटलको संख्या १० हजार ७१ तथा पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या २८ हजार १७१ पुगेको छ । रासस
रानीपोखरीको पुनःनिर्माणको काम असार मसान्तसम्म सक्न निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणको काम छिटो सक्न ठेकेदारलाई निर्देशन दिएको छ । सम्झौतानुसार यही असार मसान्तसम्म काम सक्नुपर्ने भए पनि अझै धेरै काम बाँकी रहेकाले कामपाले अबको केही समयमा काम नसके कारबाही गर्ने चेतावनी दिएको प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । रानीपोखरी पुनःनिर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले भने गार्डेनरको जिम्मा आफूहरुलाई भए पनि यसको ढाँचा कामपाले नदिँदा काम रोकिएको बताए । कामपाले ढाँचा दिएको दुई महिनाभित्र नै आफूहरुले सबै काम सक्ने जिकिर उनले गरेका छन् । कँडेलका अनुसार छ करोड २९ लाख रुपैयाँमा आफूहरुलाई पोखरीको माटो निकाल्ने, साजसज्जा, पर्खाल बनाउने जिम्मा दिएको र अहिलेसम्म अन्य काम भइसकी साजसज्जाको काम मात्र बाँकी रहेकाले केही समयमा नै काम सक्ने जानकारी दिए । प्रताप मल्लले कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन दुई वर्ष लगाएर विसं १७२७ मा पोखरी निर्माण गराएको इतिहासमा उल्लेख छ । धेरै नदी, कुण्ड र तीर्थस्थलका जलले भरिएको ऐतिहासिक महत्व बोकेको ‘विष्णुतीर्थ’को पुनःनिर्माणको मौका छोपी पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा कामपाले विकास गर्दैछ । गत पुसको पहिलो सातामा नै पोखरीमा रहेका माछा बालाजु बाइसधारा र कमलपोखरीमा सारिएको छ । पोखरीको दक्षिणपट्टि प्रताप मल्ल र उनका छोराहरुसहितको सेतो हात्तीको मूर्ति छ । यस्तै पोखरीका चारैदिशामा गणेशलगायतका मूर्ति पनि छन् । विसं २०७२ को भूकम्पले पूर्ण रुपमा क्षति पु¥याएको भाइटीकाका दिन मात्रै खुल्ने रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर यस वर्षको तिहारमा पनि सर्वसाधारणले प्रयोग गर्न नपाउने भएका छन् । रानीपोखरीको सबै पुनःनर्माणको काम कामपाले नै गर्ने भनिए पनि बालगोपालेश्वर मन्दिर नियम विपरीत निर्माण गरेको भन्दै पुरातत्व विभागले आफूले नै निर्माण गर्ने जनाई रोक लगाएपछि हालसम्म काम अघि बढ्न सकेको छैन । रासस
चीनसँग इन्धन किन्ने कुरा गरे सत्ता पल्टिन्छ
काठमाडौं । ‘ चीनसँग इन्धन किन्ने कुरा गरे भने सत्ता पल्टिन्छ, अहिलेका प्रधानमन्त्रीले त्यस्तो शाहस गर्दैनन् ।’, यो कुनै सामान्य नागरिकको आक्रोश होइन । यीनी हुन आपुर्ति मन्त्रालयका सहसचिव मुकुन्द पौडेल । उनकै भाषामा भन्ने हो भने चीनसँग पेट्रोलियम पदार्थ खरिद गर्ने सम्झौता कार्यान्वयन गर्ने हिम्मत अहिलेको सरकारले गर्नै सक्दैन् । उनी आफैं भन्छन–‘चीनबाट इन्धन खरिद गर्ने काम पहिले नै अघि बढाएको भए देशले कोल्टे फेरि सक्ने थियो, तर त्यस्तो गर्ने हिम्मत कसैले गर्दैनन्, किनकी सत्ता ढलिसक्छ ।’ भारतले नाका बन्दी लगाएर पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेपछि तत्कालिन केपी ओली नेतृत्वको सरकारले चीनबाट इन्धन खरिद गर्ने विकल्प अघि सारेको थियो । सोही क्रममा नेपाल आयल निगमका महाप्रबन्धक गोपाल खड्काले सन २०१५ अक्टोबर २८ तारिखका दिन चीन सरकारको पुर्ण स्वामित्व रहेको पेट्रो चाइनासँग ३३ प्रतिशत इन्धन खरिद गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको थियो । तर सो सम्झौता अनुसार चीनबाट इन्धन ल्याउन यथेष्ठ पहल कदमी भएको छैन् । सोही सम्झौता अनुसार चीनले १००० मेट्रिक टन पेट्रोलियम पदार्थ अनुदानमा दिएको थियो । सो इन्धन रसुवागढी नाका हुँदै नेपाल भित्र्याइएको थियो । नेपाल आयल निगमका डेप्युटी जनरल मेनेजर नागेन्द्र साहले पुर्व सम्झौता अनुसार ३३ प्रतिशत इन्धन खरिद गर्ने बारे पटक पटक छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको बताए । ‘चीनसँग ३३ प्रतिशत इन्धन खरिद गर्नेबारे पटक पटक छलफल भएको छ तर कर छुटको विषय र सडक पुर्वाधार विकासका कारण टुंगोमा नपुगेको हो’, साहले भने । भारतबाट इन्धन आयात गर्दा कुनै पनि कर नलाग्ने र चीनले पनि सोही अनुसार छुट दिनुपर्ने उनले बताए । | व्यवस्थापिका संसदको बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध उप समितिका संयोजक सुभाषचन्द्र ठकुरीले मुलुकलाई संकट परेका बेला गरिएको सम्झौता कार्यान्वयन हुनुपर्ने बताए । उनले भने–संकटका बेलामा हामीलाई इन्धन देऊ भनेर सम्झौता गर्ने तर संकट टरेपछि वेवास्था गरिनु हुन्न, भोली फेरी संकट आउन सक्छ । नेपालले वैदेशिक व्यापारका लागि उत्तरको ढोका, दक्षिणको ढोका र हवाई मार्गको पहुँचलाई पनि व्यापक रुपले विस्तार गर्नुपर्ने पनि उनले बताए । तत्कालिन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा जारी गरिएको संयुक्त वक्तव्यको एक बुँदा
सेञ्चुरी कमर्सियल बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता २९५ रुपैयाँ मात्र
काठमाडौं । मंगलबार सेञ्चुरी कमर्सियल बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ४० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९५ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ३३३ रुपैयाँ रहने छ ।
विद्युत प्राधिकरणले राजधानीमा ५ वटा व्यापारिक कम्प्लेक्स बनाउने, १५ वटा सहायकको कम्पनी त्यसैभित्र रहने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नाफा बढाउने तथा जग्गा अतिक्रमणबाट जोगाउने लक्ष्यसहित उपत्यकाभित्र खाली जग्गामा व्यापारिक कम्पेक्स बनाउने योजना अघि सारेको छ । उपत्यकाभित्र प्राधिकरणको नाममा रहेको खाली जग्गामा ‘प्राधिकरण पूर्वाधार विकास आयोजना’ अन्तर्गत व्यापारिक कम्प्लेक्स निर्माण गर्न लागिएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । व्यापारिक कम्प्लेक्स बनेपछि हाल भाडामा बसिरहेका प्राधिकरण अन्तर्गतका कम्पनीहरू राखिने छन् । कार्यालय प्रयोजनबाट वाँकी हुन आएको भवन भाडामा लगाउने प्राधिकरणको सोच छ । अहिले प्राधिकरणले गठन गरेका १५ वटा कम्पनीको आफ्नो कार्यालय भवन नभएको पनि उनले जानकारी दिए । त्यतिकै उपयोग विहिन बनेका जग्गाको सहि सदुपयोग गर्दा आम्दानी बढ्नुका साथै आफूले भाडा पनि तिर्न नपर्ने उनको भनाइ छ । हाल प्राधिकरणको रत्नपार्कमा ४ रोपनी, लैनचौरमा ५ रोपनी, महाराजगंजमा ३ रोपनी, स्वयम्भुमा ८ रोपनी र लगनखेलमा १० रोपनी जमिन रहेको छ । प्राधिकरणको नाममा रहेका खाली जग्गामा अतिक्रमण बढेकाले प्राधिकरण प्रयोजनाका लागि आवश्यक जमिन छुट्यार बाँकी स्थानमा ठूला पूर्वाधार निर्माण गर्न लागिएको हो । प्राधिकरणका अनुसार स्वयंभु, महाराजगंज, लगनखेलमा र रत्नपार्कको खाली जमिनका पहिलो चरणमा कम्प्लेक्स बनाइनेछ भने लैनचौरस्थित ट्रान्सफर्मर मर्मत केन्द्र खरिपाटीमा सारेर पूर्वाधार खडा गरिने प्राधिकरणले बताएको छ । उपत्यका पछि अन्य जिल्लाको खाली जग्गा पनि उपयोगमा ल्याउने प्राधिकरणले जनाएको छ ।
निगम धान्ने ग्राउण्ड ह्याण्डलिङ सुधार गर्न १० करोडका र्याम बस भित्रियो, भुटान एयरलाइन्सको टुंगो आज नलागे रद्द
काठमाडौं । राष्ट्रिय ध्वाजबाहक नेपाल वायुसेवा निगमलाई अहिलेम्म घाटामा जानबाट जोगाउने र उडान घाटाको अवस्थामा पनि सहज बनाउँन सहयोग पुर्याउँने ग्राउन्ड ह्याण्डलिङ सेवा सुधार हुँदै गएको छ । निगमले वार्षिक २ देखि साढे दुई अर्ब रुपैयाँको कारोबार गरिरहेको विमानस्थलको यो सेवालाई थप प्रभावकारी बनाउन, हरेक यात्रुले वायुसेवा निगमलाई मात्रै गाली गर्ने पाटोलाई नै हटाउन र यात्रु सेवालाई उत्कृष्ट बनाउँन प्रयास गरिरहेको बताएको छ । निगमले निगमले भर्खरै यो सेवामा क्रमागत सुधार भएकोले निगमले अन्तर्राष्ट्रिय मान्यता प्राप्त आइसागो अवार्ड पाएको छ । निगमले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आइसागो प्रमाणपत्र प्राप्त गरेको हो । निगमले उत्कृष्ट ग्राउन्ड ह्यान्डलिङ (भूमि सेवा) बापत अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको हो । आइएटिएज सेफ्टी अडिट फर ग्राउन्ड अप्रेसन विश्वका ग्राउन्ड ह्याण्डलिङ गर्ने उत्कृष्ट एयरलाइन्सलाई सर्टिफाइ गर्छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्ड सर्भिस प्रोभाइड’ गरेबापत अन्तर्राष्ट्रिय प्रमाणपत्र पाएको हो । विमानस्थलमा हाल निगमका ग्राउन्ड ह्यान्डलिङ, इन्जिनियरिङ, क्यास र क्वालिटी फ्लाइट सेफ्टी विभागमा नौ सय भन्दा बढी कर्मचारीले निरन्तर गरेको प्रयास नै यो सफलता भएको निगमले जानकारी दिएको छ । निगमले ग्राउन्ड ह्याण्डलिङ सेवा प्रभावकारी बनाउनै दशकपछि २ वटा र्यामबस पनि भित्र्याएको छ । निगमले दुई दिन अगाडि मात्रै भित्र्याएको यी दुई बसमा करिब १० करोड रुपैयाँ खर्च भएको वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । उनका अनुसार निगमले जर्मनीबाट भित्र्याइएको यी दुई वस विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलबाट यात्रुलाई अन्तर्राष्ट्रिय उडानका जहाजसम्म पुर्याउने काम गर्छ । जहाज विमानस्थलमा अवतरण गरेपछि यात्रुलाई बाहिर ल्याउने र जहाजसम्म पुर्याउँन यो वसको प्रयोग हुन्छ । हाल यात्रु बोक्नका लागि पाँचवटा मात्रै यस्ता बस छन् । निगम एक्लैले विमानस्थलबाट उडान गर्ने सबै यात्रुलाई सेवा दिनुपर्ने भएकोले पनि बस कम भएकोले थप गरेर सेवा सुधार गर्न लागिएको हो । दुवटा वस आइसक्यो अब अगामी आवमा थप २ वटा ल्याउने गरी प्रक्रिया अगाडि बढाएको पनि निगमले जानकारी दिएको छ । भुटान एयरलाइन्स भाडामा लिने प्रक्रिया आज तय नभए रद्द भुटान एयरलाइन्स भाडामा लिने प्रक्रिया आज तय नभएर यसका सबै काम रद्द हुने भएको छ । निगमसँग भएको वोइङ जहाज विग्रिएको, एयरवस २ वटाले मात्रै सवै गन्तव्यमा उडान धान्न नसक्ने भएकोले निगमले २ महिनाका लागि भुटान एयरलाइन्सको जहाज भाडामा लिने प्रक्रिया अगाडि बढाएको थियो । १५ वर्ष भन्दा पुराना जहाज खरिद गर्न नपाइने सर्तमा जोडेर हवाई क्षेत्रकै नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छैन । यो जहाज ल्याउने प्रस्तावको अन्तिम स्वीकृतिलाई फाइल पर्यटन मन्त्रालय पठाएको छ । पर्यटन मन्त्रालयले आज सोमबार अनुमति नदिए जहाज ल्याउन ढिलो हुने र निगमका उडान कटौती गर्नै पर्ने भएकोले पनि जहाज भाडाको प्रक्रिया रद्द हुने पनि कंसाकारले जानकारी दिए ।